अहिले जहाँ पूना इन्स्टिच्यूट छ, त्यहाँ सन् १९३० तिर प्रभात फिल्म स्टुडियो थियो । त्यहाँबाट विभिन्न सिनेमाहरु बन्थे । त्यहाँ अनन्त मराठे पाँच वर्षो उमेरमा बाल कलाकारका रुपमा काम गर्न आइपुगेका थिए । त्यहाँ आइपुग्नु उनको बाध्यता थियो । उनी पाँच वर्षो छँदै उनका तीन भाइ र एक बहिनी थिए, जो त्यो उमेरमै टुहुरा भएका थिए । स्टुडियोको अगाडि उनीहरुको एउटा रेष्टुराँ थियो, जहाँ भारतीय खानाहरु खुवाइन्थ्यो । रेष्टुराँ राम्रै चलेको थियो । अनन्तको पिताको देहान्तपछि रेष्टुराँ चलाउने अनुभवी हातको अभावमा क्रमशः रेष्टुराँ घाटा भयो र बेच्न बाध्य हुनु पर्यो ।
घरको मुली नहुँदा त्यो घरमा निकै अभाव शुरु भयो । अभाव पूरा गराउन अलि चल्तापर्ूजा मानिने अनन्तलाई फिल्म स्टुडियोको कलाकारको रुपमा उभ्याउनु पर्ने भयो । उनको कमाइमा अब घर आश्रति हुन पुग्यो । तर यो भाग्यमानी बालकले एक समय यति उधुम मच्चायो कि उसको घरमा घिउबिना कुनै खाना पाक्दैनथ्यो । यति धेरै कमाई हुन थाल्यो अभिनयबाट । तर त्यो घरमा कहिल्यै पैसा बचाउनु पर्छ र पैसा बचायो भने भविष्यमा काम लाग्छ भन्ने सोच कहिल्यै आएन । कमाइ हुञ्जेल घरभरि सधैँ दशैँ र दिपावली आउँथ्यो ।
अनन्त त्यहाँ महिनाको चालीस रुपियाँ तलबमा काम गर्थे । त्यसबेला चालीस रुपियाँमा प्रशस्त खान लाउन मात्र पुग्ने मात्र होइन कि रामरमाइलोका लागि समेत प्रशस्त पुग्ने गर्दथ्यो । त्यतिबेला प्रायः धार्मिक चलचित्रहरु बन्ने गर्दथे, तिनलाई देशभर निकै रुचाइन्थ्यो । धार्मिक चलचित्रमा पैसा लगानी गर्नु भनेको सुरक्षित लगानी ठानिन्थ्यो । त्यसबाट धेरै नाफा नभए पनि लगानी डुब्दैनथ्यो, फाइदा हुँदा पनि यति धेरै हुन्थ्यो कि त्यसबाट निकै चलचित्र बनाउन पैसा पुग्थ्यो ।
अनन्त एउटा असल कलाकार थिए । उनी गीत गाउँथे, अभिनय गर्थे । त्यसैले उनकोे माग अरुकोभन्दा ज्यादा थियो । उनको कपाल लामो र लगभग सबै भगवान्को अनुहारसँग मिल्दोजुल्दो भएकाले दक्षिण भारतीय र उत्तरी भारतीय सबै किसिमको चलचित्रमा उनी देखिन्थे ।
सन् १९४० को शुरुवातमा प्रभात फिल्म कम्पनीमा ‘गोकुल’ चलचित्र बन्ने भयो । यसबेला अब अनन्तलाई नलिने र नयाँ अनुहार खोज्ने प्रभात फिल्मले जनायो । दर्ुइ सयभन्दा बढी व्यक्तिहरु अडिसन दिन आइपुगे । तर कोही पनि गोकुल बन्न लायक देखिएन । प्रभातका चर्चित निर्देशकहरुको बैठक बस्यो र निर्णय गर्यो, त्यो भूमिका अनन्तलाई नै दिइनर्ुपर्छ ।
अनन्त र उनका मामा मिटिङमा समावेश भए । ‘अर्को महिनाबाट गोकुल शुरु हुन्छ तिमीलाई केही भन्नुछ -‘ निर्देशकहरुको समूहले सोधे । अनन्तले भने- ‘मेरो मासिक तलबमा केही विचार गरिदिनु पर्यो !’ अनन्तका मामा बिच्किए- ‘चालीस रुपियाँ ठीकै त छ नि, किन चाहियो अरु थप -‘ तर अनन्त अडिग रहे । निर्देशकहरुको समूहले उनलाई सोधे- ‘कति चाहन्छौ ?’ ‘मलाई मासिक चार हजार रुपियाँ तलब चाहिन्छ नत्र म यहाँ काम गर्दिनँ !’ अनन्तको जवाफले उनका मामा पाँच बित्ता माथि उफ्रिए ।
‘म यति असल कलाकार हुँदाहुँदै पनि तपाइँहरुले दुई सय जनाको अडिसन लिनु भयो । जबकि मैले तपाईंहरूलाई भनेकै थिएँ, म यो काम गर्न तयार छु । तपाइँले मेरो हृदय तोड्नु भएको छ र फेरि तपाइँहरू मलाई नै लिन खोजिरहनु भएको छ भने मैले तपाइँसँग मेरो इच्छा बताउन पाउनु कि नपाउनु ?”, तार्किक कुराले निर्देशकहरुको मुखमा बुझो लाग्यो र उनीहरुले अनन्त मराठेलाई गोकुलमा मात्र खेलाएनन्, त्यसपछि उनको तलब चार हजार मासिक पनि हुन थाल्यो ।
यसपछि अनन्तको घरमा झन् ठूलो खुशियाली छायो । स्वर्णिम दिन गुजार्यो उनी र उनको परिवारले ।
सन् १९६० पछि भारतभर स्टुडियोको प्रभाव घट्दै गयो र स्वतन्त्र निर्माताको बाढी आयो । त्यहाँका कलाकार पनि विस्तारै स्वतन्त्र निर्माताकहाँ काम गर्न जान थाले । चलचित्रको ट्रेण्ड परिवर्तन भयो र सामाजिक चलचित्रको बाढी आयो, धार्मिक चलचित्रहरू हराउन थाले । यस्तो अवस्थामा धार्मिक चलचित्रका कलाकार अनन्त मराठेले विस्तारै काम पाउन छाडे । अनन्तले सन् १९४० कै दशकमा एउटी रुपवती केटी प्रभासँग बिहे गरेका थिए र उनको कोखबाट तीन सन्तान जन्मिएका थिए ।
अनन्तको युवावस्थामा निकै पैसा भयो । उनीसँग उनका चार पाँच जना चम्चा हरदम हुन्थे । उनको पालामा पैसालाई अन्य कुरामा इन्भेष्ट गर्नुपर्छ भन्ने थाहा थिएन । जति पनि कमाए, त्यो सबै सकिन थाल्यो । ती तीन सन्तानलाई सिनेमाको प्रभावबाट टाढै राखे । किनभने उनलाई थाहा भइसकेको थियो, सिनेमाको सफलता भनेको क्षणिक हो । उसबेला उनले राम्रोसँग पढ्न लेख्न नपाएकाले अधवैशे अवस्थामा अरु के काम गर्ने – समस्या थियो । आफ्ना छोराछोरीले यो अवस्था भोग्नु नपरोस्, उनी त्यही चाहन्थे ।
एकातिर घरमा आर्थिक अभाव छ तर एउटा स्तरमा हुर्किए तीन बच्चाहरू । जहाँ ट्यूसन, लुगाफाटा, दुई वटा चप्पल हुन्थे नै, राति सुत्नेबेलामा नाइटवेयर हुनै पर्ने । यस्तो स्तर थियो उनको परिवारको तर अभाव त थियो नै । घरका मुलीले कसरी त्यस्ता खर्चहरू धानिरहेका थिए भन्ने कुरा छोराछोरीलाई भेउ थिएन ।
फिलोसफीमा अनर्स सकेपछि एमए गर्ने विचार थियो सिमन्तिनीलाई तर कलेज शुरु गर्नुअघि समय रह्यो । उनको दिदीको बिहे सकियो । पढाइमा उहाँको रुचि नभएपछि उनको बिहे भयो र उनको दाजुले एउटा सानोतिनो काममा अल्झिए ।
राजकमल स्टुडियोमा २० वर्षको उमेरमा सिमन्तिनीले अन्तरवार्ता दिइन् ।
नोकरी गर्ने इच्छा त उनको थिएन तर त्यहाँबाट यस्तो कर आयो कि बाध्य भएर केही दिनका लागि मात्र भए पनि काम गर्ने सोचले त्यहाँ काम गरिन् । त्यसबेला चार सय पचहत्तर तलब दिने भयो । त्यसबेला त्यति तलब पाउनु ठूलो कुरा थियो । त्यहीबेला उनकी एउटी साथी थिइन्- राजकमलमा । उनले जिस्क्याउन थालिन्- तिमीलाई एउटा केटोले मन पराउँछ । उनले हावामा लिइन्, किनभने यसअघि कलेजमा हुँदा यस्तो अनेकन् प्रस्ताव उनले पाएकै थिइन् । त्यो ठूलो कुरा भएन । तर उनले नाम सोधिन्- के नाम हो त्यसको ?
“शम्भू प्रधान, नेपाली हो,” साथीको जवाफ थियो । सिमन्तिनीले प्रधान थर त गुजरातीहरुको मात्र सुनेकी थिइन्, नेपालीको पनि प्रधान हुन्छ भन्ने थाहा थिएन । त्यसैले अचम्म लागेर उनी भेट्न गइन् । भेट्दा त शम्भुको अनुहारको रङ गुलाबी भयो । बोल्न पनि सकेनन् । अर्को दिन अफिस आउँदा त सिमन्तिनीलाई नै हेरिरहेको ! उनलाई हलुका अप्ठेरो लाग्यो ।
बेलुकी शम्भु त उनलाई घरसम्म पुर्याउन जान थाले । सिमन्तिनीले पर्दैन भन्दा पनि अटेर गर्न थालेपछि भने उनलाई ज्यादै अप्ठेरो लाग्न थाल्यो तर पछि उनीहरू नजिकिन थाले । अब झगडा पनि हुन थाल्यो तर त्यो झगडा पनि दुवैलाई रमाइलो लाग्न थाल्यो । जागीर खान थालेको एक महिनापछि उनीहरू दुवैले निर्णय गरे- अब बिहे गर्नुपर्छ ।
सिमन्तिनीले घरमा कुरा उठाइन्- “म एउटा केटोलाई मन पराउँछु तर केटो नेपाली हो ।”
सिमन्तिनीका बा-आमा बुरुक्क उफ्रिए र पूरै अस्वीकार गरे ।
“मलाई खबर गरिन छोरीले नभन्नुहोला, तर मैले बिहे गर्ने केटो उही हो”, छोरीको कठोर आवाज सुनेपछि बा-आमाले पनि भनिदिए- “मेरा दुइटी छोरी थिए तर हाम्रालागि एउटी मरी । आजदेखि सम्बन्ध रहेन ।”
सिमन्तिनीले त्यसपछि मन्दिरमा बिहे गरिन् केही नेपालीहरुको उपस्थितिमा । शम्भु प्रधान दङ्ग भए । यसपछि सिमन्तिनीको नाम परिवर्तन भयो- नूतन प्रधानको रुपमा । उनले भनिन्, ‘पहिले हामीले कोर्ट म्यारिज गर्यौँ त्यसपछि त्यहाँको आर्य समाजमा बिहे गर्यौँ । बुवाआमा आएनन् न त दाजु उनको विवाहमा उपस्थित भए ।’
त्यसपछि नूतनको प्रगति शुरु भयो । बम्बैजस्तो ठाउँमा उनीहरूले राम्रो फ्ल्याट किने ।
शम्भु प्रधानको परिवारमा पहिल्यैदेखि अन्तरजातीय विवाह भएको थियो । परिवारमा बुहारीको रुपमा एडजस्टमेन्टको समस्या रहेन तर धार्मिक रुपमा भने त्यस्तो समस्या देखिएन । बुहारी भनेपछि दलाउनु पर्छ भन्ने सोचकी सासूसँग शुरुका दिनमा निकै समस्या उनले भोगिन् । तर शम्भुकी माहिली दिदी (आमाजु)ले उनलाई निकै सघाइन् । चार पाँच दिनभित्र भाषा बुझ्न थालिन् । अनि विस्तारै उनी भिज्न थालिन् । नेपालीमा सोध्थे- बुझेर अंग्रेजीमा उत्तर दिन्थिन् उनले । शुरुका दिनमा यसरी उनले भाषा सिकिन् ।
सम्झनाको मेकिङ
बिहे हुनुभन्दा अघि एक पटक शम्भुले सिमन्तिनीलाई भनेका थिए- मलाई नेपाली भाषामा एउटा सिनेमा बनाउन मन छ । तर दुवैले समयक्रममा त्यो बिर्सिए । जेठी छोरी ईश्वरी जन्मिएपछि भने दशैँमा टीका लगाउन दार्जिलिङ गए । त्यसबेला एक डेढ महिना बसिन् । त्यो बेलामा शम्भुले नूतनलाई सुनाए- सिनेमाको कन्सेप्ट तयार भयो, अब सम्झना बनाउँछु । अलिअलि पैसा आफ्नो थियो, अलिअलि साथीभाइसँग सरसापट लिएर सिनेमा तयार भयो । सिनेमा त हिट भयो तर एउटा निर्माताको हिसाबले त्यो सिनेमाको पैसा उति धेरै आएन । सम्झनाले सम्पादक हराइदियो र एउटा निर्देशक जन्माइदियो । मायालु, बेहुली बनाउन थालेपछि भने बम्बई (त्यो बेला मुम्बई भन्ने चलन आइसकेको थिएन) मा भन्दा पनि नेपालमा नै बसेर संघर्ष गर्ने विचार दुवैमा पलायो ।
उनी अहिले सझिन्छिन्- “म जब जवानीमा प्रवेश गरेँ, त्यो बेला पनि मेरो माइतमा पैसाको अभाव नै थियो । जब बिहे गरेर आएँ र सिनेमा बनाउन थालियो तब पैसाको अभाव शुरु हुन थाल्यो । पैसाको अभावले हामीलाई एक किसिमको जीवनमा अभ्यस्त गरायो । घरिघरि त कस्तो हुन्थ्यो भने पैसाको अभाव नै छैन भन्ने लाग्न थाल्थ्यो किनभने त्यसैमा हामी अभ्यस्त हुन थाल्यौ हामी ।”
लेखिका नूतन
सम्झना बन्दा उनलाई नेपाली भाषा केही आउँदैनथ्यो । उनको काखमा ईश्वरी थिइन्, जसका कारण उनले सिनेमाबारे सोच्न भ्याइनन् । तर सिनेमाको माहौलमा विस्तारै नूतन पनि भिज्न थालिन् र सिनेमा लेख्ने कुरा सोच्न थालिन् । तर शम्भु उनले सिनेमा लेख्न सक्छिन् भन्ने कुरामा शंका गर्थे किनभने उनको विषय नै भिन्नै थियो । तर एक दिन उनले बेहुलीको कथावस्तु लेखिन् र शम्भुलाई देखाइन् । शम्भु त एक पटक चकित भए कि उनमा लेखन कला पनि रहेछ ! बेहुलीको विषयवस्तु उनलाई मन पर्यो र लेखनमा उक्साउन थाले । रवीन्द्रनाथ टैगोरको एउटा कथालाई टिपेर उनले ‘बेहुली’ बनाइन् तर चलचित्र चलेन । तापनि उनले हार मानिनन् । उनको लेखनक्रम त्यसपछि निरन्तर चलिरहृयो । कुनै प्रशंसित भए त कुनै आलोचित । लेखकको कर्म नै त्यही हो, त्यसमा उनी हार मान्दिनन् ।
बेहुली त उनले ३५ सिन एकै झमटमा लेखिसिध्याएकी थिइन् । त्यो शम्भु प्रधानलाई मन परेपछि उनको लेखनयात्रा शुरु भएको थियो ।
रोचक त के छ भने त्यस्तै झमट उनले ‘सोह्र वर्षे जोवन’मा पनि गरेकी थिइन् । तर उनलाई सबैभन्दा माया लाग्छ, ‘सक्कली नक्कली’ फिल्मको ।
आर्थिक समस्या
‘जस्तो अभावमा पनि ममीले हामीलाई सबथोकका लागि जुटाइदिनु भयो । जब म आमा भएँ र मैले जब त्यस्तै गाह्रा दिनहरु भोग्नु पर्यो, त्यसपछि मैले अनुभव गरेँ, मेरी आमाले कति गाह्रो गरी समस्या टार्नुभयो होला – मलाई त्यसपछि पैसाको मूल्य थाहा भयो,’ उनी सुनाउँछिन् ।
मसँग अहिले के छैन – सबथोक छ । गाडी छ, मोटरबाइक छ । उहाँले (श्रीमान्) ले म तिमीलाई सपिङका लागि न्यूरोडसम्म छाडिदिन्छु भन्नुहुन्छ तर अँहँ म कहिल्यै पनि निजी मोटरमा हुइँकिने रहर गर्दिनँ । मलाई सफा टेम्पो (त्यो बेला उनको विशालनगर घरदेखि न्युरोडसम्म सफा टेम्पो चल्ने गर्थ्यो, जुन अहिले गायब भएको छ) नै मन पर्छ । उसले आखिर ठाउँसम्मै पुर्याइदिन्छ । हो, अलिकति भीँड हुन्छ त के भो ? उनीहरुजस्तै म पनि ‘कमन’ मान्छे हुँ । मैले किन म स्पेशल व्यक्ति हुँ भन्ने सोच्नु पर्यो ? यत्रा मानिसहरुले आखिर त्यो भोगेकै छन्, सहेकै छन् त !
‘मैले अझै पनि छोराछोरीका लागि दिने पकेट मनीमा कुनै परिवर्तन आएको छैन । मैले उनीहरूलाई केही निश्चित रकम दिन्छु । त्यस रकमले तिमी आफ्नो मोटरबाइकको पेट्रोल हाल्छौ कि अतिरिक्त मनोरञ्जनमा खर्च गर्छौ कि या अरु नै केही गर्छौ तर त्योभन्दा बढी म दिन सक्तिनँ । यो नीतिको प्रभाव के भयो भने जबजब घरमा गाह्रो हुन्छ, तबतब यो नीतिले निकै सकारात्मक प्रभाव पारेको हुन्छ ।’
‘जिन्दगी भनेको आज एक दिन मात्र होइन, भोलि-पर्सि पनि हो । पूरा लामो जिन्दगी कटाउनु पर्छ । त्यसका लागि अव्यवस्थित जीवन होइन एउटा अनुशासित जीवन जिउनु पर्छ,’ उनको सिद्धान्त छ ।
ती दिनमा भएको आर्थिक अभावले मेरी छोरीलाई धेरै सिकाएको छ । ऊ पुनामा पढ्दैछे (अहिले त ईश्वरीको सन्तान जन्माएर अमेरिकामा घरजम गरिसकेकी छन्) र अरु साथीको तुलनामा ऊ धेरै गम्भीर विद्यार्थी र किफायती छे । हालैको कुरा हो, उनीहरूको कलेजको कार्यक्रमका लागि उसैले हयात होटलमा आफैँले कुरा गरेर कन्फेरेन्सका लागि ठाउँ बुकिङ गरिछे । एक दिन छोरी त्यो कन्फरेन्सबाट आउन ढिला गरी, मैले उसलाई फोन गरेँ- छोरी ढिला भइसक्यो, कहाँ छौ ?
“म आइपुग्न आटेँ, तीन मिनेटभित्र आइपुग्छु” इश्वरीको जवाफ थियो ।
“किन ढिला त ? ट्याक्सीमा आइपुग्न पनि यति टाइम लाग्छ ?” व्यग्र आमाको चिन्तित प्रश्न थियो ।
“म टेम्पोमा छु । त्यसैले थोरै समय लागेको हो । चिन्ता गर्नु पर्दैन आइपुगी हालेँ” ईश्वरीले फोन काटिन् ।
घरमा चिन्तित आमाको प्रश्न- “ट्याक्सीका लागि त मैले पैसा दिएकी थिएँ, के गर्यौ ?”
“टेम्पोमा १४ रुपियाँमा आउजाउ गर्न सकिन्छ किन सय रुपियाँ खर्च गर्नु ? अलिकति दुःख गर्दा ८५ रुपियाँ बचाउन सकिन्छ भने त्यति दुःख त गर्नु परिगो नि हैन र ! ईश्वरीले थपिन्- “बरु ममी मलाई ट्याक्सी खर्चको पैसा दिन नछोड्नुस् ल ! किनभने नेपालमा मेरो कोर्सको किताब सस्तो पाइँदो रहेछ, त्यो उब्रेको पैसाले किताब किनेर लैजान्छु ।” (उनी त्यो बेला मुम्बईमा पढिरहेकी थिइन् ।)
एउटै रकमले दुई कामलाई सिध्याउने उसको कला, अल्लारे उमेरमा पनि यति गम्भीर र सुझबुझपूर्ण उत्तर पाएर नूतनको आँखामा आँशु रसायो । उनले आँशु लुकाउँदै छोरीलाई अँगालो हालेर भनिन्- “भैहाल्छ नि, पढाइका लागि त म तिम्रो पकेट खर्च कटाउँदिन नि !”
‘सक्कली नक्कली’ फ्लप हुनु उनको आर्थिक जीवनका लागि निकै नै कष्टदायक भए पनि उनको परिवारका लागि असल भयो । “प्रशस्त पैसा भएको भए मेरा छोराछोरी बिग्रिन सक्थे, तर त्यो अभावले जीवनको एउटा पाठ पढाइदियो- मान्छे भएर जन्मिएपछि जस्तोसुकै अप्ठेरो अवस्था पनि भोग्न जान्नु पर्छ”, नूतन अहिले सम्झन्छिन् ।
‘सुनचाँदी’ पछिको जीवन
‘सक्कली नक्कली’पछि ‘सुनचाँदी’ बनाए । थोरै पैसामा । तर यो त्यस बेलाको सबैभन्दा हिट फिल्म बन्न पुग्यो ।
“सिनेमा कला हो र हामी कलाकार हौँ । हामी कमाउन होइन, अरुलाई दिन जन्मिएका हौँ । हामी लिन जन्मिएका होइनौँ”, नूतनको जीवनदर्शन छ ।
टेलिभिजनको प्रवेश
‘सुनचाँदी’पछि ‘१६ वर्षे जोवन’ लेखिन् उनले तर त्यो उति राम्रो चलेन । विषयवस्तुबाट विकेन्द्रित भएको मानियो त्यसको लेखन । त्यसपछि ‘संन्यास’ बन्यो जसलाई दर्शकले राम्रै माने । देशको आर्थिक जर्जर अवस्थाले सिनेमालाई पनि गाँज्यो र त्यो त्यसबेलामा ठीकै चल्यो । तर ‘संन्यास’पछि सिनेमा बनाउने अवस्था रहेन । त्यसपछि उनले टेलिभिजनका लागि लेख्न थालिन् र पहिलो काम टेलिभिजनमा देखियो- ‘पुरुष’ बनेर ।
त्यसमा उनले महिला भएर जन्मिनुको पीडाबारे बोलेकी थिइन् । एउटा महिलाले श्रीमती, बुहारी र आमा भएर कति पीडा व्यहोर्नु पर्छ- त्यसको प्रतिविम्व थियो । सन्तान नजन्माई हुँदैन बुहारी भएर तर सन्तान जन्माएर मात्र उसलाई पुग्दैन, उसले छोरो नै जन्माउनु पर्छ भन्ने हाम्रो समाजको मान्यतालाई देखाइएको थियो ।
यसपछि उनले लगातार टेलिभिजनका लागि चार वर्ष लेखिन् ।
अहिले उनले तीन/चार चलचित्रको पटकथा तयार पारेकी छिन् । उनी राम्रो निर्माताको खोजीमा छिन् ।
(यो आलेख मूलरूपमा इनशाडटकमा २०६२ सालमा प्रकाशित भएको थियो । सामान्य सम्पादनपछि यहाँ पुनः प्रकाशन गरिएको हो । सं.)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।