परिवित्तीय साहित्य
परिवित्तीय साहित्य अथवा पर्यावरणीय साहित्यलाई बुझ्नको लागि हामीले पर्यावरणलाई बुझ्नु पर्ने हुन्छ । पर्यावरणलाई सजिलो भाषामा परिवेश, वातावरण आदि शब्दद्वारा बुझ्न सकिन्छ । हाम्रो वरिपरि भएका रुख-पात, नदी-खोला खहरे, पहाडा, जङ्गली अथवा पाल्तु जीव, घर, पसल, कल कारखाना आदि आदि सबैलाई एकैसाथ भन्दा परिवेश भनिन्छ । पर्यावरणलाई ठुलो परिधिभित्र आबद्ध भएको पाइन्छ । यसले भूमण्डल, जलमण्डल, वायुमण्डल आदि सबैको परिवेशलाई एकैसाथ समेटेको हुन्छ । पर्यावरणभन्दा पहिला त प्राकृतिक परिवेशलाई नै बुझिन्छ । तर प्राकृतिक परिवेशमा आफ्नो प्रभाव छोडेर त्यसलाई दूषित पारी पृथ्वीको सन्तुलन विनष्ट गर्ने मानव सृष्टि साधनहरूलाई पनि परिवेशका अङ्ग भनिएको छ ।
मान्छे जति जति विज्ञानका नयाँनयाँ उद्भावपट्टि एकोरिँदै छन् उतिउति प्रकृतिको चोखोपन मासिँदैछ । मान्छेले परको नहेरेर ‘छिटै पाऊँ तातै खाऊँ’ खालको चिन्ताले गरेका कर्महरूको फलस्वरूप वायु, पानी, माटो आदि सबै थोक नै प्रदूषित भएको छ । वन ध्वंस, जङ्गली जनावरहरूको हत्या जुन हिसाबमा हुँदै छन् यसले जलचक्र, नाइट्रोजन चक्र, खोराकी जाल आदिमा नराम्रो प्रभाव पारेको छ । विज्ञानका नयाँ आविष्कारहरूले मान्छेलाई बाह्यिक दृष्टिमा उपकृत गरेको छ, भित्री आँखाले हेर्दा थाहा लाग्छ बाटोमा गुडेका वाहनहरू, पहाड र नदी खन्दै हिँडेका जेसीबी अथवा अरूअरू अत्याधुनिक साधनले भविष्य पिँढीका निम्ति केही राखेर जान दिने छैनन् ।
पोलिथिन नराम्रो चिज हो भनेर जानेर पनि मान्छे त्यसको प्रयोग गर्न पछि हटेका छैनन् । स्वच्छतामाथि धेरै विज्ञापन निस्किन्छन्, वन ध्वंस र वन्यप्राणीको हत्यामा रोक लगाउन चोरी सिकारीहरूको विरुद्धमा ऐन बनिएका छन् । तर चोरी कर्म रोकिएका छैनन् । पर्यावरणमा आएको खतरा एकजना व्यक्तिको कर्मद्वारा भएको होइन र यसमा रोक लगाउन अथवा पृथ्वीलाई पुनः उद्धार गर्ने काम पनि एकजनाले गर्न सक्ने काम होइन । त्यही सोचले नै सृष्टि भएको छ पर्यावरणीय साहित्य ।
साहित्यले समाजलाई उसको अनुहार देखाइदिन्छ, कुनै विज्ञापन अथवा ऐनले ल्याउन नसकेको परिवर्तन साहित्यले ल्याउन सक्छ । कविता, कथा, उपन्यास, नाटक, निबन्ध आदि साहित्यका विविध विधाहरू पर्यावरणका समस्याहरूलाई विषयवस्तु बनाएर रचना हुनु नै पर्यावरणीय साहित्यको मूल उद्देश्य हो । यसले समस्या देखाइदिनु मात्रै होइन त्यसको समाधान पनि दिने विषयमा गुरुत्व दिएको पाइन्छ ।
लेखकको परिचय :
असमको शोणितपुर जिल्लाको सितलमारी गाउँमा सन् १९६० जनवरी १ मा जन्मिएका देवेन सापकोटा असमेली नेपाली साहित्यका एकजना सुपरिचित व्यक्ति मात्रै नभएर वर्तमान विश्व साहित्यको एउटा जल्दोबल्दो विधा, पर्यावरणीय साहित्यका पहिलो पङ्क्तिका र सुपरिचित साहित्यकार हुन् । जानुका देवी र गङ्गाराम सापकोटाका काइँला छोरा देवेन सापकोटा वर्तमान गुवाहाटी खानापारा स्थित भेटेनेरी कलेज, असम कृषि विश्वविद्यालयका पोल्ट्री विज्ञान विभागका प्राध्यापक एवम् विभाग प्रमुख हिसाबले कर्मरत छन् ।

पृथिवीका सुस्केराहरू
असीको दशकदेखि नै विभिन्न पत्रपत्रिकामा आफ्ना रचनाहरू प्रकाशित गर्दै आएका डा. सापकोटाले सन् २०१९ मा नियात्रा निबन्ध विधाको पुस्तक ‘यता हुँदा उताको झझल्को’ प्रकाशन गरेर असमेली नेपाली साहित्यमा आफ्नो नाम दर्ता गर्नुका साथै आफूलाई कीर्तिमान साबित गरेका छन् । साहित्य सेवाद्वारा पृथ्वीको लुटिँदै गएको समृद्धि फर्काइल्याउने काममा व्रती भएका डा. सापकोटा वर्तमान पर्यावरणीय साहित्य सिर्जनामा जुटेर असम तथा उत्तरपूर्वका पहिलो पर्या साहित्यकार (कवि, कथाकार) हिसाबले स्थापित भएका छन् ।
हुन त समालोचना विधामा भने असम तथा भारतकै वरिष्ठ साहित्यिक, समालोचक हिसाबले पूर्व स्थापित व्यक्तित्व श्री ज्ञानबहादुर छेत्रीलाई असमको तेजपुरबाट रहेको पाइन्छ जो परिवित्तीय साहित्य सिद्धान्तलाई उत्तरपूर्व भारतको समालोचना विधामा भित्र्याउने पहिलो साहित्यकार हुन् । उनले आफ्नो पुस्तक ‘उत्तर आधुनिक सिर्जना र समालोचनाका आधारहरू’मा परिवित्तीय सिद्धान्तबारे विस्तृति व्याख्या अघि सारेका छन् । डा. देवेन सापकोटाको बारेमा काठमाडौँ-नेपाल निवासी वरिष्ठ साहित्यकार, ‘उत्तर आधुनिक विमर्श’का स्रष्टा डा. गोविन्दराज भट्टराईले ‘पृथिवीका सुस्केराहरू’ कथासङ्ग्रहको भूमिकामा यसरी लेखेको पाइन्छ – ‘साहित्य सिद्धान्तको सहाराले होइन विज्ञानको चेतनाले आयाम परिवर्तनको ‘ट्य्राकिङ’ गर्ने अर्का विद्वान् रहेछन् असममा । जसको शुभ नाम हो डा. देवेन सापकोटा र नेपाली साहित्यका पाठकलाई डा. देवेन नाम नौलो छैन’ ।(पृष्ठ-३)
डा. देवेन सापकोटाका अहिलेसम्म प्रकाशित मौलिक कृतिहरू यस प्रकार छन् –
क) यता हुँदा उताको झझल्को, नियात्रा, सन् २०१९ (असम नेपाली साहित्य सभाको ‘साहित्य प्रभात’ पुरस्कार प्राप्त)
ख) ‘मनोराग’, कथा सङ्कलन; सन् – २०२०
ग) ‘परिश्रान्त पृथिवी’, पर्याकविता सङ्कलन; सन् २०२१
घ) पृथिवीका सुस्केराहरू, पर्याकथा सङ्कलन; सन् २०२३
यसैगरी डा. सापकोटाले विभिन्न पत्रपत्रिका, स्मृतिग्रन्थ आदि सम्पादन पनि गरेको पाइन्छ । साहित्य सिर्जनाको साथसाथै साङ्गठनिक क्षेत्रमा पनि आफ्नो योगदान पुर्याउँदै आएका डा. सापकोटालाई विभिन्न संस्थाहरूसित संलग्न भएको पाइन्छ । उनी एकजना कुशल सङ्गठक हुन् ।
एन आर प्रकाशनद्वारा बजारमा ल्याइएको डा. देवेन सापकोटाको पर्या–कथासङ्ग्रह हो ؘ– ‘पृथिवीका सुस्केराहरू’ । यो सापकोटाको दोस्रो कथासङ्ग्रह हो । यस कथा सङ्ग्रहमा १५ वटा कथा समावेश छन् । प्रत्येक कथाले पृथिवीका जल्दाबल्दा पर्यावरणीय समस्याहरूलाई प्रकाशमा ल्याउन र ती समस्याको सटिक समाधान दिनको सम्म धेय राखिएको छ ।
यो पुस्तक असमेली पर्यावरणीय साहित्य सिर्जनाको तीन नम्बरमा परेको छ ।
यसअघि पर्यावरणलाई विषयवस्तुको मूल स्रोत बनाएर प्रकाशन गरिएको डा. सापकोटाकै मौलिक कविता कृति (परिश्रान्त पृथिवी, २०२१) पाइन्छ जुन पुस्तक भारतकै पहिलो पर्यासाहित्य कृति हो । असमबाट प्रकाशित दोस्रो पर्यासाहित्य पुस्तक हो असमेली पर्यावरणीय कविता सङ्कलन । डा. देवेन सापकोटा र अनुपमा कट्टेलको संयुक्त सम्पादनमा प्रकाशित भएको यस कविता सङ्ग्रहमा ७० वटा कविता समेटिएका छन् । असमका विभिन्न प्रान्तका प्रवीण र नवीन दुवै वर्गका कविहरूका कविताले स्थान पाएको यो असमेली पर्याकविता सङ्कलनले पर्यावरणका प्राय सबै तत्त्व, तीभित्र समेटिएका सूक्ष्मसूक्ष्म विषयहरू मान्छेको चेतनशील दृष्टिमा झल्काउने प्रयास गरेका छन् । त्यो पुस्तक प्रकाशन गर्नुमा पनि सापकोटाको अहम् भूमिका रहेको छ ।
सङ्ग्रहभित्र:
‘पृथिवीका सुस्केराहरू’ कथासङ्ग्रहमा गाभिएको पहिलो कथा हो ‘रातो टिको लगाएको बोको’ । पशुबली प्रथाको घोर विरोध गरिएको यस कथामा मानवेतर पात्रलाई अनुभवी अन्तरमनको कुरो बोलाइएको छ भने तिनीहरूबिचको कथोपकथनले कथालाई गति दिएको पाइन्छ । निधारमा रातो टिको लगाएर बली दिन भनी लगिएको बोकाले आफूलाई हिँडाइएको बाटाभरि देखेका दृश्यहरू वर्णन गरिएको छ । बोकोलाई बचाउने प्रयासमा मालिक (मसिने दाइ) घाइते भएको र पशु काटिने ठाउँमा मान्छे काटिएको विषयले बलीवेदीका वरिपरि भएका मानिसहरूका मनमा भय, शङ्का साथै एकहुल मान्छेका मनमा बली प्रथा सधैँसधैँका लागि छोड्नुपर्ने भावना उब्जिएको परिस्थितिको वर्णनले समाप्ति भएको पाइन्छ ।
अर्को कथा हो – ‘आतसजबाजी गर्ने राउन्नेहरू’ । यस कथाद्वारा लेखकले संस्कृति मनाउने बाहनाले नचाहिँदा कार्यहरू गर्ने अनि पर्यावरण दूषित पार्ने मानिसहरूलाई सतर्क पार्नुका साथै मान्छेका अविवेकी क्रियाकर्मले अन्य प्राणीहरूलाई कति सङ्कटमा पारेको छ त्यसको विस्तार वर्णन गरेको पाइन्छ । यो कथा दुर्गोत्सवमा षष्ठीका दिन दुर्गा देवीको प्रतिमा मण्डपमा स्थापना गर्ने र विजया दशमीका दिन प्रतिमा नदीमा विसर्जन गर्ने उत्सवमा पुर्खाहरूका दिनदेखि चलिआएको धूपदीपको सुगन्ध, शङ्ख-घण्टाको मधुर ध्वनि, भजनकीर्तन आदि सबैथोकलाई पर पन्छाएर आतसबाजी गर्ने अथवा पटाका, बम आदि पड्काएर जोसिला भई उफ्रिने बानी परेका मान्छेहरूलाई शिक्षा दिन सक्षम बनेको छ ।
‘चोरी सिकारी र कमलजङ्गको सङ्ग्राम’ शीर्षक कथा असमको काजिरङा राष्ट्रिय निकुञ्जमा गैँडा मारिएका घटनाहरूलाई विषयवस्तु बनाएर लेखिएको छ । यसमा विदेशबाट विशेष प्रभारीका रूपमा निम्त्याएर तीन वर्षको लागि नियुक्ति दिइएका एकजना प्रभावशाली अधिकृत (कमलजङ्ग कुँवर) र उनकी सहयोगी, गुवाहाटी भेटेनेरी कलेजकी इन्टार्नसिप वर्षकी छात्रा (करिश्मा बरुवा)ले अत्याधुनिक प्रविधि प्रयोग गरेर ‘बासेन्जी’ जातको नभुक्ने कुकुरका सहायमा कसरी गैँडा चोर सिकारी समात्न सक्षम भए, त्यसको वर्णन पाइन्छ । विज्ञानसम्मत कौशल प्रयोगको वर्णनले पठनीय र विश्वस्त बन्न पुगेको यो कथा कुनै निकुञ्जमा भइरहेका चोरी कार्यहरू रोक्न सहायक बन्ने आशा गर्न सकिन्छ ।
मान्छे र पशु बीचको आत्मिक सम्बन्धको उत्कृष्ट उदाहरण हुन पुगेको छ चौथो कथा – ‘ब्रह्मादको अन्तिम चित्कार’ । यो वास्तविकतामा आधारित भारतको केरल राज्यको पल्लाट्टू ब्रह्मादत्तन् नाउँको प्रख्यात हात्तीलाई र उसको माउते दामोदरन नायरलाई समर्पण गरेको पाइन्छ । अर्काले पालेको हात्तीको माउते भएर जीवन धाउने एकजना मान्छे मालिकले हात्तीको चरन मासिएको र दिनभरि यताउता हिँडाइरहँदा पनि हात्तीको भुँडी नभरिएको कारण देखाएर हात्तीलाई बेचिदिएको छ । अनि हात्तीलाई अँइच्याउनु पर्ने बाध्यतामा यत्रो दिन आफूले उसलाई दिएको कष्ट सम्झिएर आफूलाई अपराधी ठानी माउतेले आत्महत्या गर्न खोजेर पनि बाँचेको छ । धेरै दिनपछि बिरामी भएर मरेको बेला नयाँ मालिकले मृत माउतेको छेउमा लगिदिँदा एउटै परिवारको सदस्यसरि हात्ती रोएको कुरो पाइन्छ यस कथामा ।
कथा ‘न्यायको तराजुमा टमी’मा प्रभुभक्त विशेषण पाएका कुकुरप्रति आजभोलि मान्छेको आकर्षण बढेको त छ, तर आफ्नो र अर्काको भन्ने भेदभावले गर्दा मान्छेले कुकुरलाई समदृष्टिले हेरेका छैनन् । जसको कारण कसैको घरको पाल्तु कुकुर घरघर नचिनेर बिचल्नी भयो भने त्यसले खाद्य अथवा आदर भेटेन अनि मूल मालिक फेला परे पनि उसलाई आफ्नो नै हो भनेर चिन्न नसक्ता अँगाल्न सक्दैनन् । जस्तै छिमेकी काकासित भेट हुन भनी गएका विनोद पात्र काकाको गेटबाट भित्र पस्न लाग्दा सँगै छिरेको कुकुर काकाहरूको हराएको टमीसित मिल्दोजुल्दो हुँदा परिवारका सदस्यहरूले केही परिमाणले आदर त गरे त्यसलाई । तर आफ्नो हो कि होइन भन्ने भयले उनीहरूलाई अल्झाइरह्यो त्यसको वर्णन पाइन्छ ।
जीविकाको तलासमा मान्छे सहर पस्नु अथवा कर्ममय जीवनको समाप्तिपछि गाउँ फर्किनुजस्ता कुराहरू साधारण दृष्टिले हेर्दा गतानुगतिक घटनाजस्ता देखिए पनि यो विषयसित मान्छेको उमेर र स्वास्थ्य सम्बन्धी धेरै कुरा जोडिएका हुन्छन् । गाउँका मान्छेको आफन्तपनको साथसाथै प्रकृतिको नि:स्वार्थ मायाले भिजेको हुन्छ एउटा गाउँको आकाश बतास । त्यसैले मान्छेका धेरै रोगहरू निर्मूल हुने गर्छन् गाउँको हरियालीमा रुमलिन पाउँदा, वृद्धावस्थाको एक्लोपन हट्नु मात्रै होइन आयुरेखा बढ्छ साथीभाइहरूसित अतीतका सुख-दुखका गफ गरेर समय बिताउन पाउँदा । यस्तै विषयवस्तु लिएर आत्मप्रकाश गरेको पाइन्छ – ‘शिवकुमार कस्सो धौला पुगेछन्’ । जागिरको सिलसिलामा दिल्ली सहर पुगेका शिवकुमार सेवा निवृत्त भएपछि त्यहीँको वसन्तविहार भन्ने ठाउँमा बस्न थालेका थिए । दश वर्ष नपुग्दै फोक्सोको रोगले ग्रस्त भएर दिल्ली छोडी आफ्नो जन्मथलो गाउँ फर्किआएपछि उनको स्वास्थ्यमा सुधार आएको । र पछि नातिको शिशु अवस्थाको रोग पनि गाउँको परिवेशमा धेरै दिन बस्न पाउँदा निको हुँदै गएको कुराले छोरा बुहारी पनि धौलामै सरुवा भएको कहानी पाइन्छ यसमा ।
सापकोटाको अर्को पर्याकथा हो – ‘एउटा निमुखो परेवा’ । परेवाका खुट्टामा कागज बाँधेर एक ठाउँबाट अर्को ठाउँ वार्ता प्रेरणा गर्ने पुराकालीन चलनको आधारमा लेखिएको यस कथाले जतातता फ्याँकिएका सहजै नपोचिने धागा, डोरी, त्यान्द्रा आदिले पक्षीहरूमाथि पार्ने नराम्रो प्रभावबारे सजग गराउन खोजिएको छ । एकजोड परेवा र दुई शत्रु राष्ट्रका बिचको शङ्कापूर्ण सम्बन्धलाई कथानक बनाएर लेखिएको कथा पढिसकेर आफूले ‘विश्वमा जलवायु परिवर्तनको प्रभाव’शीर्षकले प्रस्तुत गरेको कार्यपत्रमाथि अन्तिमपल्ट आँखा घुमाउन थाले एकजना विमानयात्री । शरणार्थी शिविरमा आफ्ना काकाको देहान्त भएको खबर पाउँदा उनको मनमा जन्मेका भावनाहरूले भारत र पाकिस्तानका मानिसको मनमा जन्मेको शङ्काले गर्दा मर्नुपरेका परेवा जोडीको कहानीसित आफ्ना बाबुका जीवनको भोगाइलाई मिलाउन पुगेको कुरा पाइन्छ । नेपालीभाषी नागरिकलाई भुटानबाट खेदेको प्रसङ्गले कथालाई रोचक बनाएको पाइन्छ ।
यस सङ्ग्रहमा गाभिएको अर्को कथा हो ‘वातावरण-मैत्री कफिनभित्र राज चौधुरी’ । यस कथाद्वारा लेखकले वातावरण हितैषी कार्यको मात्रै होइन एकजना मानिसको जीविकाको एउटा बाटो अनि स्वस्थ जीवन जिउनको निम्ति मान्छेलाई आवश्यक हुने प्रोटिन र खनिज पदार्थयुक्त शाकाहारी खाद्यको अनुसन्धानका साथै त्यसको औषधी गुणबारे पनि जानकारी दिन खोजका छन् । बट्टाई चराको फारम खोलेर कर्मव्यस्त रहेका एकजना व्यक्तिको दर्दनाथ कथा हो । यो पर्याकथाले पक्षीकूलको भोगाइको साथै मान्छेका जीवनको विडम्बना पनि झल्काउन सक्षम भएको छ ।
‘भाले जुधाइ’ शीर्षक कथामा पशुपक्षीलाई लडाइँ गर्न लगाएर आफू आनन्द लिने, बाजी जित्ने चलनको परिवेश पाइन्छ । वर्तमान सरकारले त्यसमा रोक लगाएको छ र पनि लुकिचोरी त्यस्तो खेल चलिरहेको छ भन्ने कुरालाई कथानक बनाएर लेखिएको यस कथाद्वारा लेखकले परिस्थिति तन्त्रमा कुखुराको प्रभावबारे सम्झाउन खोजेका छन् ।
मान्छे र वन्य प्राणीबिचको सङ्घातले जन्माएको अशान्त परिस्थिति, सहरका फुटपाथमाथि थुपारिएको माटो, त्यसमाथि फ्याँकिने पोलिथिन, रक्सीका बोतल, जुत्ता आदिजस्ता चिजहरू जमेर नालो पुरिनाले सृष्टि हुने कृत्रिम बाढी इत्यादि समस्याहरूको उठान गरी लेखिएको कथा हो – ‘माटाको थुप्रो’ । जङ्गल मासिनु, पहाड काटिनुजस्ता घटनाहरूको विरोधमा कथाकारले टड्कारो आवाज निकालेको यस कथामा एउटा सहरे परिवार (म र श्रीमती) र उनीहरूकी छिमेकी स्त्री (साइँली)को कहानी पाइन्छ ।
‘नीलिमा उम्किन पाउलिन् त ? ’ भन्ने कथामा डा. सापकोटाले असमका चिया बगानका मानिसहरूमा देखा पर्ने रोग र चिया बगानमा प्रयोग गरिने कीटनाशक रसायनको नकारात्मक प्रभावबारे चर्चा गरेका छन् । यस कथामा चार वर्षे नर्सिङ कोर्स पढ्दै गरेका दुई सहपाठी युवती र एकजना युवकको कहानी पाइन्छ ।
सहरवासी अचेत मान्छेले आफ्नो घरको फोहोरहरू सही ढङ्गले व्यवस्थापन नगरेकाले आइपर्ने समस्याहरू प्रकाशमा ल्याउने र घरेलु फोहोरको सही व्यवस्थापनबारे ज्ञान दिने कथा हो ‘अशिक्षित ज्ञानी वातावरणप्रेमी’ शीर्षक कथा । यो कथामा एउटा मन्दिरका अध्यक्षद्वारा गाउँबाट ल्याइएका त्यही मन्दिरका चौकीदार (मसिने साइँला) र उनीभन्दा पहिला त्यहाँ खटाइएकी एकै गाउँकी महिला चौकीदार (दमयन्ती) को काम गर्ने तरिका अनि पर्यावरण सचेतताको तुलना गरी मन्दिर दर्शनार्थी र नगरपालिकाका कर्मचारीहरूले अशिक्षित दमयन्तीको सचेतताको प्रशंसा गरेको पाइन्छ ।
‘बोन्साई’ शीर्षक कथामा सहरीकरण र उद्योगीकरणले गर्दा रुखपात मासिएको र रुखहरू एक अर्कासित बात गर्दछन्, संवेदना पोख्दछन् । मान्छेले रुखपातको अनुभूतिसम्म पुग्न सके रुखपातका कुरा बुझ्न सक्दछन् भन्नेलाई कथाकारले वैज्ञानिक र शास्त्रीय युक्ति दर्शाएका छन् ।
बर-पिपलले वातावरणमा धेरै मात्रामा अक्सिजन छोड्दछन्, अक्सिजनबिना जीव बाँच्न सक्दैनन् भन्ने विज्ञानका विषयहरू नजानेका हाम्रा पुर्खाहरूले मानिल्याएका परम्पराको रक्षासूत्रले बँचाइराखेका बर-पिपलप्रति आज पनि उत्तिकै आस्था छ मानिसको । त्यसैले पूजा हुन्छ बर-पिपलको । यी दुई रुखमुनि भगवान्को निवास हुन्छ भन्ने विश्वास छ मान्छेमा । मान्छे अथवा अन्य प्राणीलाई छाया दिनु, चराचुरुङ्गीलाई आश्रय दिनुजस्ता दृश्यमान कुराहरूलाई महान् ठानेर, परजन्मका लागि पुण्य कमाउन भनी पूजा गरिल्याएका बर-पिपलमाथि कसैले बन्चरो चलाउँदा चुप्प बस्न सक्दैनन् भक्तप्राण मान्छे । प्रगतिको नाउँमा दुर्गति भोग्ने र विकासको नाउँमा भविष्य बिगार्ने बानी बसेका मानिसहरूका अविवेकी कामहरू रोक्न गाह्रो हुन्छ । तर ईश्वरले चाहे भने कुनै प्रकारले होस् भक्तको जित हुन्छ नै भन्ने कुरो पाइन्छ डा. सापकोटाको पर्याकथा ‘बर-पिपलको दु:ख’मा ।
अन्तिमको कथा हो – ‘प्लास्टिक खाने जीवाणु’ । यस कथामा प्लास्टिकको प्रयोग न्यून गर्ने विषयमा महत्त्व दिएर कथा अघि बढाइएको छ भने प्लास्टिकको पुनः प्रयोगबारे चर्चा गर्ने क्रममा प्लास्टिक कवाडीद्वारा नदीमा बाँध निर्माण गरेको प्रसङ्ग पाइन्छ । कथामा प्लास्टिक विरोधी अभियानको ध्वजा बोक्ने एकजना मेधा सम्पन्न युवक (तेजबहादुर सार्की)अनि प्लास्टिक पचाउन सक्ने जीवाणुको आविष्कार गर्ने युवा विज्ञानी (विजया) को बन्धुत्वले प्रेमको रूप लिएर पछि मिलनको चाहना राखेको कहानी पाइन्छ ।
डा. देवेन सापकोटाका कथामा पर्याचेतना:
कथा अध्ययन गर्ने विभिन्न दृष्टिकोण हुन्छन् । कथामा तत्त्व, कथागत प्रवृत्ति, सामाजिक चेतना, नारी विमर्श, उत्तर आधुनिक, अति उत्तर आधुनिक विमर्श आदिका साथै परिवित्तीय समालोचना, अभिघात सिद्धान्त, सन्दिग्ध सिद्धान्त, भयवाद आदि नयाँनयाँ विकसित भएका साहित्य सिद्धान्तद्वारा कथालाई हेर्न सकिन्छ । डा. सापकोटा कथा लेखनमा खप्पिस भएका हुनाले आफ्नो सिर्जनाको माग बमोजिम कथानक रोजाइमा निपुण देखिएका छन् । कथाका अरू तत्त्वलाई पनि यथावत् अँगालेर मीठो गरी बुनेका छन् । वर्णनात्मक शैलीमा तथा तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएका कथा अधिक छन् । कथन शैली डा. सापकोटाको आफ्नो निजी शैली छ, छोटा-मोटा वाक्य ।
कथाहरूमा भएको पर्या चेतनाबारे चर्चा गर्न आवश्यक छ । यस कथा सङ्ग्रहका कथाहरूमा पाइने पर्यावरणीय चेतना तल उल्लेख गर्ने प्रयास गरिनेछ –
बलि प्रथाको विरोधमा लेखिएको ‘रातो टिको लगाएको बोको’मा लेखकले बलि दिन भनी लगिएको बोकाको मुखबाट एउटा नदीको वर्तमान अवस्थाबारे बोलाएका छन् यसरी – ‘बिचैमा एउटा सानो साँघु रहेछ । केही तल खिरिलो खोल्सो आफ्नै गतिमा बगिरहेको थियो । त्यसको कलकल ध्वनि कुनै निर्बलले बोले जस्तै धिमा थियो । चुँडिएका रङ्गिन माला, राता टाला, पोलिथिनका टुक्राहरू यत्रतत्र देखिए । डिलमा अड्किएर झुन्डिइरहेका । फिरफिर हल्लिरहेका । पुराकालमा त्यो एउटा महापराक्रमी नदी थियो होला । — अस्तित्व नै पो नरहला कि? नरहे दुवै किनारमा खडेरी पो पर्ने हो कि? ’(पृष्ठ-२१)
दोस्रो कथा ‘आतसबाजी गर्ने राउन्नेहरू’मा उत्सवको आड लिएर संस्कृतिको नाउँमा विकृति भित्रिएको विषयमा प्रमुख पात्र प्रकाशद्वारा असन्तुष्टि प्रकट गरिएको पाइन्छ – ’आतसजवाजी गरियो भने पर्यावरणमा ध्वनि र वायु प्रदूषण थपिन्छ । प्रदूषणले पशुप्राणीहरूका प्रजनन र प्रतिपालनमा नराम्रो प्रभाव पार्दछ । … यसलाई जतोतसो रोक्नुपर्छ दाजु ।’(पृष्ठ-२९)
अन्य घतलाग्दा पर्यावाक्यहरू –
‘वनको भू निर्माणमा गैँडाले अहम् भूमिका खेलेको हुन्छ । यसले आहाल बसेर पोखरीका प्राकृतिक प्वालहरू खुल्ला र सक्रिय पार्छ । यसो गरेर जिउमा टाँसिएको हिलोमाटोलाई अर्को ठाउँमा सार्ने गर्छ भूमिको उर्वरा शक्ति यसरी नै बढाउने काम गर्छ ।’(पृष्ठ-४०)
‘जङ्गलमा कछुवा, खरायो जस्ता प्राणीहरू छोटो घाँस खाएर मात्रै जिउँछन् । गैँडाले वनका अग्ला घाँस छोट्याएर साना घाँसलाई फस्टाउन मदत गर्छ । गैँडाको छालामा किर्नाजस्ता परजीवीहरू बसोबास गर्छन् यिनलाई भक्षण गरी आफ्नो क्षुधा मेट्ने जङ्गली चरा त हुन्छन् नै ।’(पृष्ठ-४०)
‘त्यहाँ (पश्चिम बङ्गालको सुन्दरवनमा) हिलोमा उम्रने म्याङ्ग्रोभ नाउँको एक उद्भिद् पाइन्छ । यसको इकोसिस्टम विश्वको सबैभन्दा ठुलो हो । माइग्रोभले नदीको किनारमा उम्रेर त्यहाँको माटोलाई समाएर राख्छ । बगेर जानबाट बचाउँछ । त्यो रुखले भूमिको अवक्षयण रोक्नलाई यहाँ पनि दरिलो काम गर्ला । असमको बाढीको समस्यालाई रोक्न निश्चय मद्दत गर्ला ।’(पृष्ठ-६४)
‘… जङ्गली चराको आन्द्रामा प्रोबायोटिक नाउँको जीवाणु बस्ती बनाएर बसेका हुन्छन् प्राकृतिक रूपमा । अरबौँ खरबौँ सङ्ख्यामा । आजीवन यिनले स्वास्थ्य गुणकारी रसायन निरन्तर उत्पादन गर्छन् ।’(पृष्ठ-८४)
पर्या कथा भनेर विज्ञानका जटिल र बेरस कुराहरू भरिएका छैनन् डा. सापकोटाका कथाहरू । दिल्ली सहरमा रहँदा कहिल्यै स्वच्छ आकाश र चम्किलो जुन नदेखेका पात्र शिवकुमारले धौलाको अभिज्ञता श्रीमतीको मेसेज तथा इमोजीको जवाफमा यसरी वर्णाएका छन् – ‘प्रदूषणले गर्दा दिल्लीका रुखपातहरू धुलाले पुरिएका हुन्थे । तर यताका चाहिँ सफा-सुग्घर । भर्खर पखालेका जस्ता निक्खुर हरिया । दिनको आकाश स्वच्छ निर्मल हुन्छ । बेलुकाकोमा ताराहरू पिल्पिल चम्केर मुस्कुराइरहेका हुन्छन् । मानौँ तिमीहरूको कुशल संवाद सुनाइरहेका ।’(पृष्ठ-६४)
यसरी हेर्दा डा. देवेन सापकोटाका प्रत्येक कथामा चर्चित विषयको विज्ञानसम्मत व्याख्या पाइन्छ । पर्यावरणीय सोचले साहित्यमाथि थिचोमिचो पटकै गरेको छैन । कथाहरू समय उपयोगी र पठनीय छन् ।
निष्कर्ष :
पृथिवी रह्यो भने मात्रै मानिस रहिन्छ । मानिसलाई सभ्यताको भरेङ चढ्न अरूअरू जीवको सहारा चाहिन्छ । प्रगतिको चाहनाले निम्त्याएको दुर्गतिलाई लखेट्न मान्छेले धेरै कसरत गर्नुपर्ने समय आइपुगेको छ । यसमा साहित्यले एउटा ठुलो भूमिका लिन सक्छ । सामाजिक विसङ्गति, रुढीवाद, लैङ्गिक असमानता, तृतीय लिङ्गप्रति न्याय, समलिङ्गी चिन्ता आदिका साथै मानिस र अरू जीवहरूबिच समानता ल्याउनु पहिलो काम हो जस्तो भान भएको छ । डा. सापकोटाको यस कृतिले मान्छेमा पर्याचेतना जगाओस् भन्ने कामनाका साथ यतिमै यो लेखको बिट मार्न चाहन्छु ।
दङ्गिबिल, लखिमपुर(असम)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










