‘एक घण्टा अध्ययन, दुई घण्टा लेखन; दुई घण्टा लेखन, तीन घण्टा चिन्तन; तीन घण्टा चिन्तन, हरवक्त मनन्’, भनिन्छ । तर भावनात्मक, कलात्मक, चेतना र चिन्तन-मननले ओतप्रोत भई कोही व्यक्ति आफ्नै भूगोलको विभिन्न क्षेत्रमा अध्ययन गर्न रुचाउँछ भने साहित्य वा कला क्षेत्रमा कसो अब्बल बन्न नसक्ला र !
अध्ययन भनेको पुस्तक पल्टाउनु मात्र होइन हरेक चीजलाई सूक्ष्म नजरले केलाउनु सक्नु पनि हो । महसुस गर्न सक्नु र फरक शैलीमा आफ्नै भूगोलको सेरोफेरोलाई पाठक सामु पस्कन सक्नु नै लेखक बन्नु हो क्यार ! तर त्यतिले मात्र पुग्दैन, यो त मेरो सामान्य बुझाइ हाे ।
देवकोटा, बी.पी, पारिजात जस्ता सर्जकलाई अध्ययन गर्दै आइरहेकाे हामी पाठकको पठकीय मनलाई बाँधिराख्नु, जोगाइ
राख्नु लेखकको कला एंव विशेषता हो। यो समय प्रविधिको अधिकतम उर्जा स्वरूप उतै भिड्भाड जमाइरहेकाे युवा पुस्ता बीच, साहित्यका पुस्तक खासै रुचिका विषय नहुन सक्छन् । यति भन्दा-भन्दै पनि पुस्तकप्रति प्रेम बुझ्नेहरूले भने आफ्नो शाेकलाई प्रविधिमा परिणत नगर्लान् !
पछिल्लो समय प्रकाशित भएका केही चर्चित नेपाली साहित्यका पुस्तकहरु्मध्ये सिपाहीको डायरी पढेर धेरै ठाउँमा मन हुरुक्क भएकै हो। द्वंदकालका तीता भोगाईबाट गुज्रेको हाम्रो समाजमा उक्त पुस्तकले धेरैको मन छोयो । भोगाइबाट टाढा हुने हरुका लागि पनि चासो र जानकारीको बिषयवस्तु पुस्तकमा समावेश थियो नै । साथै लेखकको लेखन कौशलले उत्तिकै लोभ्यायो ।
“त्यसपछि के भयो होला” भन्ने जिज्ञासा पाठक बीच छोडेर उत्सुकता जगाइराखेका लेखक चन्द्र कटवालले भने पाठक मन जोगाइराख्नलाई हो या लेखकीय क्षमाताको भरपूर सदुपयोग गर्न हो “बेपत्ता सिपाही” लिएर बजारमा आइपुग्नु भयो ।
के “बेपत्ता सिपाही’ ले पाठकको क्युरिसिटीलाई पूर्णता दिन्छ त ? यो पनि प्रश्न उब्जिन्छ यसको लागि पुस्तक नै अध्ययन गर्नु पर्छ ।
कम्तीमा पाठकको लगानी खेर नजाओस्। यसमा लेखक सजग भएकै पाइन्छ। चर्चाका लागि चर्चामा आउने पुस्तकहरु भन्दा मौन यात्रामा निरन्तर हिँडिरहने पुस्तक भएकैले होला, गुमसुम पाठक ओगट्न माहिर छ लेखन शैली।
समाज, विज्ञान प्रेम तथा अध्यात्मलाई अँगालेर लेखिएको पुस्तकभित्र द्वंदकालको विषयवस्तु उठान भएपनि नवरसको पूर्ण प्रयोग भेटिन्छ। तसर्थ अन्तिम पानासम्म पुग्दा पनि पुस्तकसँग इरिटेड नहुनु भनेको नेपाली साहित्यमा एउटा इँटा थपिनु हो। पुस्तकभित्रका अनेक किस्साहरूले खित्तित हाँस्न र हुरुक्क भएर रुन बाध्य पार्छ नै। युद्दले भोग्नु परेका कठिनाइ सँगै मानवले खोज्न सकने तमाम सम्भावना र विकल्पलाई नियालेको समेत पाइन्छ।
वर्तमान र भोगिसकेका तमाम घटनाहरु मात्र नभएर दूर दृष्टि राख्न माहिर लेखकले भने पात्रलाई कही कतै लुटुपुटु पार्ने त होइनन् ! पढ्दै जाँदा पात्रको प्रेमले पाठकलाइ त्रसित बनाउनु पनि उक्त पुस्तक को बिशेषता झल्किन्छ। लेखनको गहिराइ सँगै पठनको अनुभूतिमाँ पनि उत्तिकै सोच्न बाध्य पार्ने लेखकले भने निकै जुक्त्ति लगाएको अनुमान पुस्तक पढे पछि गर्न सकिन्छ।
“सिपाहीको डायरी” हुदै “बेपत्ता सिपाही” सम्म आइपुगेका लेखक चन्द्र कटवालले पाठकको मनलाई उडाएर कता मोडलान् त ? कतै आलोकित मार्ग पछ्याउने पो हुन की,पुस्तकको कभरले भने झन सोच्न बाध्य पार्छ। यदि त्यसो हो भने द्वन्दकालका असहनीय वेदनालाई केही मलहम लगाउँछ की त! बिनास संगै बिकासको पनि सम्भावना जगाउने लेखकीय सोचले कतै मानव सोचको बिकासको समभावना चाहेका त होइनन् ! पाठक मनलाई बेस्सरी हुँडल्छ लेखनले। नेपालहुँदै भारतको केदारनाथ पुगेका किस्साहरू दृश्य बनेर आँखै अगाडि जस्तो झुल्किन्छ्न।
“केदारनाथ एक चुनौती थियो। सारा तवाह भएपनि मन्दिर बचेको थियो। साँच्चिनै एकपटक सोच्ने बनाएको थियो।”
“वई भाउअ, तेरा काका काला पहाडया भैगया। त जानेइकि नाई…”
“जव लडाँई चल्छ तव सिपाहीका पाहिला लम्किन्छन रणभूमि तर्फ । नचाहेरै पनि । सिपाही पनि काठका हुँदैनन् । सिपाहीको पनि मन हुन्छ । परिवार हुन्छ । माया हुन्छ ।”
पुस्तक भित्रका केही अंश नियाल्दा सिपाहीको अवस्था मात्र नभएर भेषभूषा र भाषागत रुपमा पनि पुस्तकले सबै ठाउँ ओगटन खोजेको आभाष हुन्छ।
दुइचारवटा पुस्तकको आकार दिदैमा लेखक पूर्ण हुन्छ भन्ने छैन यसकारण पनि कही कतै जोडिएका किस्साहरुले भने केही अपुग भएको जस्तो लाग्नु स्वाभाविक हो। हुनसक्छ अन्य पुस्तकको लागि केही थाती राखेको पनि।
कम्तीमा पुस्तक किनेर पश्चाताप हुने छैन भन्ने कुरामा ढुक्क हुन सकिन्छ। अझै सुन्दर लेखन र थप पुस्तकको कामना !
हामी पाठकलाई टन्नै बधाई अनि शुभकामना !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।