मिना र शान्ति दुई जना टाइपिस्ट थिए । शान्तिले टाइपराइटिङ सिक्न लागेको बखत उसको बिहे भइसकेको थियो । केवल उसले चाहिएजति पैसा खर्च गर्न नपाएर टाइपिङ सिकी कतै कुनै नोकरी भेट्टाए पचास-साठी रुपियाँ महिनाको आम्दानी सक्थ्यो र यसो कहिलेकाहीँ चाहिएको चिप्लो सारी र हलुङ्गो नीलो रङको साटनको ब्लाउज पनि हाल्न हुन्थ्यो तथा सिनेमा पनि जान पाइन्थ्यो भनेर ऊ टाइपिङ सिक्न गएकी थिई।

पतिगृहमा एउटी बूढी सासू मात्र थिइन् र एउटा बच्चो देवर ! लोग्नेचाहिँ कुनै अड्डामा पचास-साठी रुपियाँ मासिकको क्लर्क थियो। पत्नीले टाइपराइटिङ सिक्न जान सुरु गरेको बखत उसको मनमा चिसो त अलिकता परेको थियो, तर सिकिसकेपछि केही आम्दानी होला, कहिलेकाहीँ उसले पनि स्वास्नीसँगै नयाँसडक डुलेर केही किन्न हुने अथवा अरूहरूले झैं सिँगारिएकी, ठाँटिएकी पत्नी लिई सिनेमा जान सकिनेछ भन्ने रहरको प्रभावले उसको तात्कालिक पुरुष उद्वेगलाई दबाई टाइपराइटिङ सिक्न कुनै अड्काउ पारेको थिएन । पार्न खोजे पनि कदाचित् पत्नीलाई रोक्न सक्तिनँ कि भन्ने अचेतन आशङ्का पनि मनको कुनै कुनामा रहिरहेर झन् उसले स्वभावतः चुप लाग्न परेको हो कि जस्तो लाग्दछ।

शान्ति टाइपिङ स्कुलमा जान लागेपछि क्लर्क लोग्नेले स्पष्टै लक्ष्य गर्न सकेको थियो कि उसकी पत्नी अब दिनहुँ राम्री हुँदै आएकी, सिँगारिई नै रहने र अझै प्रसन्न, हँसिली, आत्मविश्वस्त तथा केही अंशमा लोभलाग्दी किसिमसित चञ्चला मानौं त्यसको बिहा भएकै छैन र अब बिहा हुनै आँटेको छ कि जस्तो हुन गएकी छे। लोग्नेचाहिँले यो पनि अनुभूति पायो कि कदाचित् ऊ पनि कुनै तरुनी भएकी केटीसित प्रेम गर्न लागेको छ, केटी ऊतिर आकर्षित छे, अलिअलि माया गर्न लागेझैँ पनि गर्छे, तर केही अबेला छ अर्थात् उसले एउटा कृत्रिम किसिमले कुनै केटीसित प्रेमको कोर्टसिप गरेझैं आनन्द पाउन लागेको थियो । यस्तो अनुभूति उसले आफ्नो जीवनमा यसभन्दा अघि कहिल्यै पाएको थिएन ।

शान्तिले चारपाँच महिनामा टाइपराइटिङ सिकी प्रमाणपत्र उपलब्ध गरी र चाकरी कोसिस गरेर सचिवालयको एउटा विभागमा उसले सर्भिस पनि भेट्टाई । केही दिनपछि त्यहीँ नजिकै भएको एउटा अन्य विभागमा काम गरिरहेकी मीनासित उसको दोस्ती भएको थियो ।

सचिवालयमा दुईतीन महिनासम्म शान्तिको कितापदर्ता आदि हुने औपचारिक कारबाही आदिमा ढिला भएर उसले तलब पाएकी थिइन । त्यतिन्जेल घरमा लोग्नेसित पनि अलि झर्कोकै वातावरण देखिएको थियो । बिहानै उसलाई चाँचाँडै ठिक्क दस बजे खान पर्ने, त्यसपछि आधा घण्टा आफूलाई सिँगार्नमा लागेर साढे दस बजे हिँडी एघारमा अफिस पुग्नुपर्दा ऊ घरकी बुहारी र पत्नी जस्ती रहनै नगई त्यस घरकी बिहा नभएकी कुनै छोरीबेटी जस्तै बन्न गएकी थिई । यसले सासू, देवर र केही अंशमा लोग्नेमा पनि एउटा असन्तुष्टिको उकुसमुकुस अवश्य पारेको थियो, तर जब तीन महिनाको एक सय असी रुपियाँ पहिलो पटक उसले एकैमुस्ट सासूको अगाडि लोग्नेका हातमा राखी, उस बखत त्यो जम्मै नरमाइलोपनाको असर एकैछिनमा कता विलुप्त भएर गयो पत्तै भएन ।

त्यसको दोस्रो दिन लोग्नेका साथ स्वस्तिक स्टोरमा गई उसले एउटा सारी किनेकी थिई, दुईतीन पिस ब्लाउजको कपडा पनि किन्न परेको थियो र पसलेको चालीसपचास रुपियाँको बिल तिर्न जब बेपरवाहीसाथ उसको लोग्नेले रुपियाँ झिकी काउन्टरमा फाल्यो उस बखत उसमा पनि एउटा गौरवको अनुभूति भएको कुरा शान्तिले पनि थाहा नपाई रहिन । अझ लोग्नेतर्फबाट झन् आत्मविश्वस्त भएकी थिई। फेरि लाडे भएर त्यस कपडा पसलमै उसले रञ्जनामा चलिरहेको ‘देवदास’ फिल्म हेर्न ढिपी गरेकी थिई र दुवैले बालकनीमा पहिलो पटक सँगै बसी सिनेमा हेरेका थिए ।

शान्तिको साठी रुपियाँ महिनावारी क्रमशः चालीस मात्र भई घरमा आउन थाल्यो, किनभने तलब पाउनेबित्तिकै सचिवालयस्थित होटेलको सातआठ रुपियाँ उसले तिर्नुपर्दथ्यो र दसबार रुपियाँ ऊ राख्थी महिनाभरि कहिलेकाहीँ सिनेमा हेर्न र केही किनमेल, खान पर्ने खर्च आवश्यक थियो, तर त्यस गृहस्थीमा त्यसको महिनावारी चालीस रुपियाँले गृहस्थीको आवश्यकताभित्र आफ्नो ठाउँ बनाइसकेको थियो । ती अब अनिवार्य अर्थात् त्यति नभई चल्न नसक्ने हुन गएका थिए ।

यसैले त्यस घरमा शान्तिको अवस्थिति पत्नी र बुहारीको मात्रै नरही चालीस रुपियाँको प्रमुख अनिवार्यताको पनि हुन गएको थियो र त्यो त्यस घरमा बस्ने एउटी केटी टाइपिस्टले झैँ लाउनु, घुम्नु, बस्नु, खानु, जानु, आउनु र कमाउनुको बेग्लै किसिमको व्यक्तित्वमा मान्य तथा निश्चित हुन गएकी थिई । यो ठीक हो कि शान्तिको लोग्नेको अन्तरमा शान्तिको वर्तमान बेपरवाही र ऊ ठीक उसमुनि भएकी निर्विरोध अनुवर्तिनी पत्नीभन्दा केही अलग्गकी युवती जस्तोको कुरा (जो हुनु नपर्ने हो भन्ने) कहिलेकाहीँ परिलक्षित हुन्थ्यो । तर उसलाई घरको बहाल, परिवारको खर्च, साहू र पसलेहरूको बाँकी तिर्न, चाडबाडमा मालसामान जोरजाम गर्ने अनेकौँ काम हुन्थे, अतः यतातिर त्यो धरै आग्रहशील हुन पाउँदैनथ्यो ।

अझ यो जम्मै टन्टामा महिनाको चालीस रुपियाँको पत्नीप्रदत्त आयको पनि एउटा खास महत्त्व भएर उसको त्यस क्षणिक मानसिक प्रभावलाई तुरुन्तै पन्छाउन पूर्ति मिल्थ्यो । बाहिरतिर ऊ पनि गृहस्थी र सानो आम्दानीको बोझले थिचिए पनि एउटा युवक नै थियो र त्यसका युवकोचित लालसा, आवेग, मोज इत्यादिका स्वाभाविक आनन्दहरू त्यसको आय र परिस्थितिसँग नमिल्ने भए पनि केवल शान्ति अब एउटी टाइपिस्ट केटीको माध्यमले उसलाई त्यो केही अंशमा उपलब्ध भएर त्यस उल्लासमा उसले नरमाई सुख पाएन ।

विशेषतः आफ्ना अनेकौँ कठिनाइहरूभित्र ऊ एक किसिमको हलुङ्गोपनाको उपलब्धि गर्थ्यो र शान्तिसँग उसको हृदयको आघातसङ्घात पत्नीजस्तोको प्रतिको नभई एउटी टाइपिस्ट केटीका प्रति भएको जस्तो हुन्थ्यो, जसको प्रेमाघातको गाँठो उसलाई फुकाउनु सुल्झाउनु थियो र यसरी माथिल्लो मनस्तरमा ऊ उल्लसित नै हुन्थ्यो। यस वातावरणमा सम्पूर्णतः नमिल्ने अनफिट भएको केवल शान्तिकी सासू मात्र थिइन्, तर त्यहाँ पनि महिनावारी चालीस रुपियाँको गरुङ्ग्याइँ भएर गृहस्थी र परिवार चलिरहेकै थियो ।

सचिवालयमा दिउँसो दुईतीन बजेतिर मीना उसलाई चिया खान बोलाउन आउँथी । दुवै सँगै तलको होटेलमा जान्थे । त्यहाँ भएको एउटा बेग्लै कोठामा दुवै बसी चिया खाने गर्थे र उस बखत तिनीहरूमा मज्जाको किसिमको कुराकानी गफगाफ हुन्थ्यो ।

मिना नवयुवती कुमारी र चञ्चला पनि थिई । कुरा ऊ नै सुरु गर्थी। मोजको कुरा नभएर दुवै पूर्ण मनोयोगसित आनन्द लिन परस्पर भाग लिन्थे ।

मिना भन्थी, ‘लौ, कल्पना गर कि तिम्रो बिहा भएको छैन । केटाकेटी भएकै छैनन्, लोग्ने एकातिर छँदै छ, केको बिहा, होइन ? आफैँ कमाउने आफैँ खाने हगि ! अँ, अब भन कि कसैले तिमीलाई माया गर्न थालेको छ, अझ त्यो धनी पनि छ, उसले तिमीलाई सिनेमा जान निम्त्यायो भने तिमी के गछ्र्यौ ? भन त !’

‘धत्, यस्तो पनि हुन्छ ? किन कसैसित सिनेमा जाने ? जानैपरे तिमी साथी छ्यौ, सँगै जाऔँला नि ?’

‘हत्तेरी, फेरि तिमी लोग्नेवाल्नी बन्यौ, भनें नि मान तिमी मिस छ्यौ, मिस ! कसैले तिमीलाई प्रेम गर्न थालेको छ, तिमीले पनि थाहा पाइसकेकी छ्यौ कि त्यो तिमीलाई चाहन्छ, हेलमेल पनि छ । अनि सिनेमा जान निम्त्यायो भने के भन्ने तिमीले ? अब भन !’

‘जान्नँ भन्दिन्छु, अरू के ? बडो निम्त्याउने !’

‘कस्तो कुरा गरेकी, कसरी जान्नँ भन्छ्यौ ? ऊ तिमीलाई माया गर्छ, तिमी उसकी प्रेमिका हौ । जान्नँ भनेपछि उसले दुःख मान्दैन र ?’

‘माने मानोस्,’ शान्तिले भनी, ‘मेरो मन, मैले जान्नँ भनी नै दिएँ, अनि ?’ ‘गइनौ भने ऊ बोल्नै छोडिदिन्छ, निन्याउरो अनुहार लाएर चुपचाप कतै भेट भए यसो तिमीतिर हेर्छ, मुख फर्काउँछ, जान्छ । तिमीलाई दुःख पनि लाग्दैन ?’

‘केको दुःख ? नबोले नबोलोस्, पर्दैन । नुन खाएको कुखुरा झैं भइरहोस्, मेरो के त ?’

‘फेरि त्यही कुरा ! दुःख नलागिछोड्छ र ? तिमी उसकी प्रेमिका, यतिका दिनसम्म उसलाई हेर्न, ऊसित प्रेमको कुरा गर्न पाए मनमा कस्तोकस्तो सुख लाग्ने, हेर्न नपाए मुटु नै दुखेजस्तो हुने, केके हराएको, के गुमाएको भइरहने हुन्छ। यस्तो माया गरिराखेको प्रेमीको मन खुम्च्याएपछि उसको चित्त दुख्दैन ? अनि निन्याउरो मुख लाएर तिमीलाई मुटु नै नराख्ने केटी भन्ठानी ऊ भित्रभित्रै रोयो, चुपसितै कल्प्यो भने कस्तो हुन्छ त ?’

अनि मीनाको यो कुरा सुनेर शान्तिलाई कस्तोकस्तो लाग्थ्यो । एकछिन ऊ चुप लागेर सम्झन्थी कि ‘साँच्चीकै यस्तो भए उसलाई सहिनसक्नु हुन्छ कि ? तर यस्तो त अझसम्म कहिल्यै भएको छैन ! हुन्छ होला त ? अहँ, केको प्रेमको टन्टा ?’ ऊ हाँसेर भन्थी, ‘अहँ, मलाई त केही हुँदैन जस्तो लाग्दछ । प्रेम नै किन गर्नु ? किन उदास, निन्याउरो । ‘

“छि:, ‘ कुरा काट्तै मीना भन्थी, ‘त्यसो भए किन बिहा गरेकी ? लोग्नेसित पनि माया छैन क्यारे । यति पनि अझसम्म थाहा नपाएकी ? मुटु नफुटी छोड्छ र ? हरे, बरबरी आँसु खस्छ, बरबरी ! कुन्नि केके हुन्छ बाबै ! किताबसिताबमा पनि पढेकी छैनौ ? आइमाई भएर पनि माया गर्नु र माया गरिन पनि कहिल्यै नपाएकी, छिः !’

यस्तै कुरा तिनीहरूमा चल्दथे र अफिसमा टाइपिङ टेबुलको सामुन्ने बसी काम भए टाइप गर्दै, नभए त्यसै ती दुवै भर्खरै भएका कुराहरू मनमनै अनेकौँ रूपमा लम्ब्याउन थाल्दथे र आफ्ना काल्पनिक सुखदुःखमा रमाउन लाग्थे । कहिलेकाहीँ चिया पसलमा नगए पनि, तर फुर्सतको बखत यसो अफिसको बरन्डामा पनि कुनै झ्यालको सामुन्ने उभी तिनीहरू छेउ न टुप्पाको बिना आवश्यकताको फजुल कुरा गर्दथे र दायित्वविहीन निरर्थक नतिजामा पुगेर कहिले मीना र कहिले शान्ति विवादविजय गर्दथे ।

तिनीहरूले यसमा एउटा खास किसिमको उत्तेजना अथवा हारजितको आन्तरिक अनुभव गर्ने गर्दथे र त्यसबाट कुनै एउटा अव्यक्त प्रेरणा तिनीहरूमा सञ्चित हुन्थ्यो । धेरैजसो तिनीहरू प्रेमको कुरा, केही परिमाणमा लुगा, सारी र कुनै खास ढाँचाको कटिङ भएको वा विशिष्ट रङको ब्लाउजको कुरा र कहिलेकाहीँ दुईएक दिनअघि नै हेरेको सिनेमाका नायकनायिकाको कुरा गर्थे ।

सचिवालयको चियापसलको कोठामा एक दिन जब दुवै चिया खाइरहेका थिए एउटा युवक पनि त्यहीँ बस्न आयो, तर कोठामा दुई जना केटी मात्र देखेर ऊ लगत्तै फर्क्यो । दुवै अट्टहास गरेर हाँसे । हाँसेको युवकले पनि सुन्यो । बाहिर त्यो बसेको ठाउँबाट ती दुवै छड्के देखा पनि पर्दथे । ऊ चुपचाप चिया खान लाग्यो । एकछिनपछि उतातिरको कोठामा, तर नजिकै बसिरहेको युवकले नसुन्ने गरी, शान्तिले भनी, ‘यसरी हाँसेको उसले के भन्ठान्यो होला हँ ?’

‘के भन्यो होला, हामीभन्दा तल्लो खालको उसको व्यक्तित्व हो भनी सम्झ्यो होला ! यहाँ बस्नै सकेन ! हामी आगो पो त, आगो ! थाहा छ ?’

‘भइस् आगो, भोलि यदि उसैसँग तेरो बिहा भए जुत्ता पुछ्नुपर्छ, व्यक्तित्व रे !’

‘थाहै छैन तिमीलाई, आइमाई सधैँ माथिल्लो तहका, लोग्नेमानिसले कहिल्यै पनि हेप्न सक्तैन ! लौ त मसँग कसैले बोल्ने-हेप्ने हिम्मत गरोस् त !’

‘बिहा भएपछि थाहा पाउलिस् ! हुकुम चलाउँछ, नाकको चालले काम गर्नुपर्दछ, कुरा नसुने कुटाइ खानुपर्छ !’

‘ओहो, कुटाइ ! खेल हो कुटाइ ! आफ्नो रबाफमा रहे लोग्नेलाई पनि मान गर्न कर लाग्छ । उसले आँखा तर्यो कि आफू पनि राता आँखा देखाएर बाहिर गइदिए बिन्ती गर्न आउँछ। हामीलाई ठगेको पो त ! इज्जत जान्छ, बदनामी हुन्छ, अनेक भन्दछन्, डर देखाउँछन्, हामी डराउन थाल्दछौँ । उसले आँखा तरे इज्जत बढ्ने, हामीले राता आँखा पारे बेइज्जत हुने, क्या मज्जाको कुरा छ ?’

मीना चुप लागी । शान्तिले पनि सोची- ‘हो त नि ! मेरै लोग्ने अब पहिले जस्तो कहाँ हेप्न सक्छ र ?’ उसको मनमा आफ्नो गृहस्थीमा उसका प्रति मूक आक्रोश भए पनि एउटा मूक चापलुसी पनि भइरहेको कुरा उसले सम्झी ! रबाफ राख्न सके केही पनि हुँदैन ।

एक्कासि मीनाले भनी, ‘हामीले हाँसेको कुरा ऊ अब सम्झी नै रहन्छ, मलाई थाहा छ नि ! अनिच्छा, एउटा कुरा भन् त, हामीलाई सम्झँदै उसले हामीमा तुलना गर्छ, हामी दुवैमा को राम्री ? बिहा भइसके पनि राम्री तँ छेस् ! अलि बढ्ता गोरी पनि छेस्, जीउ पनि अँगालो मार्न लोभ लाग्ने ! अँ, ऊ तँतिर तानिन्छ। अनि तँलाई पाए माया गर्थे भनी सोच्तछ ! मानौँ, कल्पना गरौँ कि उसले तँलाई माया गर्न थाल्यो, दिनहुँ आई यहाँ बस्न थाल्यो, बोल्न केही नबोल्ने, तर यसो छड्के तँलाई हेरिहाल्ने ! माया गर्न थालेको पक्कै भयो । अब तँ के गर्छेस् ?’

‘के गर्छु, म ऊसित बोल्दिनँ, माया गरिरहोस् !’

‘कहिले मौकाले एक्लै पायो र माया गरेको जस्तो थाहा हुनै सक्ने कुनै कुरा गर्यो भने के गर्ने ? जबाफ त दिनै पर्ला अनि के गर्ने ?’

‘कस्ती रहिछ यो केटी ! तैंले आफूलाई के भन्ठानेकी छेस् ? सारा दुनियाँले तँलाई हेर्ने बित्तिकै माया गर्न थाल्दछ, होइन ?’

‘ओहो, नगरी सुख पाउँछ र ? मलाई त के लाग्छ भने पाए मसित जो पनि माया गर्न चाहन्छ । मेरा वरपरका सारा युवक मलाई माया गर्न पाए गर्छन् । तर म त मीना हुँ, मीना ! मलाई सजिलैसँग माया गर्नै कहाँ पाउँछन् र ? केही नलागेर पो आफ्नो रबाफ देखाउँछन् । यी मानिसहरूमा छँदै के छ र ? अँ भन् त, उसले तँलाई माया गर्ने लाग्यो भने के गर्ने ?’

‘भनिदिन्छु मेरो लोग्नेले तँलाई जुत्तैजुत्ताले ठटाउँछ, चुप लाग् !’

‘त्यही त, आफ्नो हुती छैन, लोग्नेको रबाफ देखाएर हिँड्ने। यसैले सबै हेपिरहेछन् !

लौ जाऔँ, तर सम्झिराख उसले तँलाई माया गर्न थाल्यो । अब हेरूँ केके गर्छेस् त !’

कुन्नि किन हो शान्तिले त्यस दिन लगातार यस प्रश्नबाट फुर्सतै पाइन, उसलाई कसैले कहिले माया गरेको छ र ? यस सिलसिलाको मानसिक कल्पनामा कैयौं पटक उसको लोग्ने पनि उभियो, तर त्यहाँ लोग्नेबाहेक अरू केही पनि पाइएन । बरु त्यसकै छेउमा आजै चिया खान आएको त्यो युवक पनि उभिदिन्थ्यो, जसलाई मीनाले भनेकी थिई- ‘हामीले हाँसेको कुरा ऊ सम्झी नै रहन्छ, हामीलाई हेर्ने बित्तिकै बाटो छोडेर जान्छ, तर सम्झी पनि रहन्छ’ इत्यादि ।

शान्तिको मनमा लागिरहेथ्यो- माया गर्नु, माया गरिइनु कुनै अर्को कुरो हो, यसमा मनमा कुनै विशेष सुख उम्लन्छ, कुनै विशेष खिचाइ हुन्छ, कुनै यस्तो थोक हुन्छ, जो भन्न सकिँदैन, तर पाइन्छ र पाएर भन्नै नसकिने लाभ हुन्छ, मोह हुन्छ !
उसले युवकलाई पुनः सम्झी- ‘उसले मलाई माया गर्न खोज्छ होला त ?’ तर प्रश्न मनमा नै उठे पनि उसलाई लाज लाग्यो । उसले भरसक युवकलाई नसम्झने चेष्टा गरी, तर एकैछिनमा उसले फेरि सम्झनैपर्यो, उसलाई सोच्नु नपर्ने कुरा किन आयो ? फेरि सोच्न नखोज्दा झन् त्यो सम्झिन जान्छ, त्यही त होइन माया ? उसले फेरि बल लगाएर बिर्सन खोजी, यो क्रम भरदिन चली नै रह्यो ।

दोस्रो दिन दुई बज्न नै अबेला भइरहेको जस्तो लाग्यो । सचिवालयको घण्टामा दुई हान्ने बित्तिकै शान्ति मीनालाई बोलाउन गई । तर यो नयाँ कुरा थियो । उनान्सय प्रतिशत मीना नै चिया खान बोलाउन आउँथी । आज शान्तिले बोलाउन जाँदा उसले अचम्म मान्दै भनी, ‘आज तिमीलाई आत्तुरी कसरी पर्यो ? कि कामै गर्न मन लागेन ?’

शान्तिले कुनै उत्तर दिइन, ‘जाऔँ’ मात्रै भनी । होटेलमा तिनीहरू सधैँ बस्ने ठाउँमा बसे र चियाको अडर होटेले ठिटोलाई दिइयो । शान्तिले अज्ञात नै बाहिरको टेबुलमा नजर घुमाई, त्यो युवक थिएन । चिया ल्याउन धेरै अबेला नभए पनि उसले, ‘छि: कति अबेला गरेको, चिया ल्याएन’ भन्दै ऊ बाहिर ठिटोलाई भन्न गई । चिया ल्याउनै लागेकाले फर्की । फर्कंदा एक पटक जम्मै हलमा उसको नजर घुम्यो । कुनै सिटमा त्यो युवक थिएन ।

चिया खाँदै मीनाले भनी, ‘त्यो आएन हगि ? आउँछ, आउँछ, अहिले टाइम भएको छैन । तँलाई त आत्तुरी पयो र पो अहिल्यै आइपुगिस् । उसलाई हेर्न मन लाग्यो, होइन ?’

‘छि: कस्ती नकच्चरी !’ शान्तिले भनी, ‘तँलाई यो कुराबाहेक अरू कुरै छैन ! उसलाई हेर्न मलाई केको आत्तुरी ? आए आओस्, नआए नआओस् ! ऊ सधैँ आइरहने थोरै हो ?’

‘ओहो, किन तर्सिनुपर्यो ? उसलाई हेर्ने खोजे के हुन्छ र ? आइमाईलाई कसैले नहेरे, छड्के आँखाले टकटकी लगाएर वा अलि लाज मानेर नहेरे हामीहरू त व्यर्थै हुन्छौं ! फेरि हाम्रो रबाफ नै के ? लोग्नेमानिसको यो ड्युटी हो, ड्युटी ! तिनीहरूले हामीलाई नहेरे हाम्रो हेला गरेको हुन्छ, अपमान हुन्छ बाबै ! बुझिस् ? ऊ आउँछ, नाकले टेकेर आउँछ, अस्तिदेखि नै उसलाई खुलदुली परिसकेकै होला । पख् न पख्, हेरिराख् !

साँच्चीकै एकछिनपछि युवक, जो कदाचित् कुनै गजेटेड अफिसर होला, आयो । आउँदाआउँदै रबाफसाथ उसले चिया ल्याउने अर्डर दियो र अर्कैतिर हेर्न लाग्यो । मीनाले शान्तिलाई चिमोट्दै भनी, ‘हेर् न हेर्, ऊ आइपुग्यो । अब बलजफतीसित तँलाई नहेर्ने चेष्टा गर्दै ऊ अर्कैतिर हेरिरहेछ । उसले थाहा त पाई नै सक्यो, हामी यहाँ छौँ । खालि रबाफ देखाउन खोज्दछ । बेपरवाह जस्तो देखाउन खोज्दछ । यहाँ त उनीहरूको घमण्ड टुट्छ, नटुटी रहँदैन । हामीलाई सबैले हेर्न करै लाग्छ । उसले पनि एकैछिनमा हामी आफैँतिर हेर्न लागेको थाहा पाएर सुटुक्क हेर्छ, पर्खन त पर्खी, हेर्छ है, हेरिराख् ।’

शान्तिले केही नभनी चिया खान लागी । एकैछिनपछि मीनाले बिस्तारै, तर छिटोछिटो भनी, ‘उ: हेर, बिस्तारै हेर्यो ।’

शान्तिले पनि उसले हेरेको थाहा पाइसकेकी थिई । तर पछि मूक भावले नै दुवै त्यस युवकले हेरेको थाहा नपाएझैं गरी चिया खाइरहे । यसरी अप्रत्यक्षतः त्यो युवकलाई मौका दिइयो कि ऊ हेरिरहोस्, हेरोस् स्वास्नीमान्छेको बलियो पुरुषमाथिको बलविजय चरितार्थ होओस् ।

चिया खाई दुवै आफ्ना अफिसमा गए । त्यस दिन दुवैमा अन्य कुरा भएन । मीना पनि कदाचित् केही अप्रत्यक्ष, अचेतन चिन्तनमा लागेकी थिई र शान्तिको मनमा ‘उसले मलाई हेर्दछ’ भन्ने चेतना भरदिन अलिकित रूपमा घुमी नै रह्यो ।
यो क्रम लगातार चली नै रह्यो । कहीँकाहीँ बीचबीचमा युवक चिया खान आउँदैनथ्यो, तर अब ऊ नआए पनि मीना वा शान्ति कोही पनि यता केही दिनदेखि उसको कुरा चलाउँदैनथे । ती अर्कै कुरा गरिरहन्थे, चिया खान्थे र जान्थे । यसरी क्रमशः त्यो सहज ग्राह्य हुन गएको थियो । मानौँ कुनै सम्पर्क नभए पनि अब त्यो अलग्गको कुरा यस्तो वस्तु रहेन, जसलाई नियालेर हेर्नुपर्दछ, थाहा पाउन परोस्, बुझ्नजान्न परोस् ।

शान्तिको लोग्ने कुन्नि के पाएर हो अब शान्तिसित धेरै बेरसम्म कुरा गर्न खोज्दथ्यो । ऊ कुरा गर्न पनि गर्थी, बस्न पनि बस्थी, सधैँको झैँ दुवै एउटै कोठामा सुत्न पनि सुत्थे, तर उसको लोग्नेलाई अज्ञातमा नै के लाग्न थाल्यो भने यता केही दिनदेखि उसकी स्वास्नी पहिलेकी झैँ चञ्चला केटी जस्ती रहन गइन ।

उसकी पत्नी टाइपिस्ट भएपछि उसले, जो घातसङ्घातको नयाँ उपलब्धि पाएको थियो, त्यो मानौं लुप्त हुन लागेको थियो । उसकी चञ्चला केटी कुन्नि के हुन जान लागेकी थिई । ‘त्यो चञ्चला मेरै पत्नी हो र त्यो ‘कहाँ जान्छे’ भन्ने स्वबोध हुँदाहुँदै पनि उसलाई अब नयाँ तवरले पाउनुपर्ने जो श्रम, जुन प्रयास यता केही दिनदेखि उसलाई जो गर्नुपरिरहेको थियो र जो गर्नुपरेर ऊ आफ्नो सारा प्रतिकूल गार्हस्थिक हैरानीमा एउटा जीवन बोधक त्राणको अनुभूति पाउने गरी नयाँ तवरले बाँच्न लागेको थियो, त्यो मानौँ क्रमशः हराउँदै जान लागेको थियो ।

मानौँ फेरि त्यस गरिब गृहस्थीमा पनि हुनै पर्ने नियमित स्वास्नी उसकी शान्ति हुन जान लागेकी थिई । त्यही एकनासे बिरसता आउन लागेको थियो  । यसरी शान्तिको लोग्नेलाई मानौँ कुनै यस्तो ठूलो हानि हुन लागेको अनुभव हुन लाग्यो, जसबारे कुनै प्रतिरोध गर्न सकिँदैन, पुर्पुरोको लेख मात्रै भनी स्वीकार गर्ने बाध्यता नै छ । जीवनको आदिदेखि नै यस बाध्यतामा परेको बल्ल उसकी पत्नी टाइपिस्ट हुन लागेदेखि, जो ऊ बाँचेको वा बाँच्न पाउन लागेको थियो, त्यो समाप्त हुन मानौँ त्यही पुरानो बाध्यताले पुनः उसलाई खान मुख उघार्न थाल्यो ।

मीना पनि अब शान्तिसित पहिले जस्तो धेरै कुरा गर्दिनथी यद्यपि ती दुवै सँगै चिया खान्थे र दुवैमा आत्मिक मैत्री छँदै थियो । बरु मित्रताचाहिँ शान्तितर्फबाट बढेर पनि गएको थियो, तर कदाचित् यसको अनुभूति त्यो लिन सक्तिनथी । बरु मीना एक दिन होटेलमा नै त्यो युवक आएपछि झर्कन थाली, ‘यो मोरो किन यसरी त्यहीँ बस्छ ? हामीलाई हेर्नुपर्ने के हामी कुनै तमासा हौं र ?’

शान्तिले हाँस्तै भनी, ‘तँसित बिहा गर्न खोजेको होला, अहिले तेरो जम्मै थोक बुझ्न थालेको छ, पछि तँलाई माग्न आउनेछ, हेर् न ?’

‘माग्न आउनेछ, हुस्सु, मुखमा कालो पोतेर पठाइनेछ मेरो घरबाट ! यस्तासँग मेरो बिहा रे !’

“किन, जागिरे छ, पद पनि ठूलै छ जस्तो लाग्छ । तँभन्दा नराम्रो पनि होइन, तँ ‘मिस’ छेस्, तँलाई हेरिराखेर माया पनि गरिराखेको जस्तो छँदै छ, बिहा गर्न के बाधा ?”

मीनालाई लाग्यो, शान्तिले आफूभन्दा उसलाई नराम्रो ठानी र आफ्नो मुकाबलामा उसलाई हारेको भन्ठानी । ऊ भुतुक्क भई । फन्केर, तर बिरुतारै भनी, ‘तैं बढी राम्री, पोइ छोडेर ऊसितै गए त भइहाल्छ नि ! किन जान्नस् त ?’

कुरा सुन्दानसुन्दै शान्ति एकदम गम्भीर हुन गई, ‘पोइ छोडेर ऊसितै गए त भइहाल्छ नि’ भन्ने वाक्यले च्वास्स उसको मुटु छोयो । ‘पोइ’ र ‘छोडेर ऊसित जानु’ इत्यादि केके हो सोच्तै ऊ चुप लागी । एकछिनपछि मीनाले पनि केके सम्झेर हाँस्तै भनी, ‘नरिसा न नरिसा ! ऊ त तँलाई पो माया गरिरहेको छ । मलाई किन चाहियो ?’

तर शान्तिले कुनै जबाफ दिइन । चिया खाई दुवै अफिसतिर गए ।

त्यस दिन घरमा उसको लोग्नेले अनुभव गर्यो कि आज उसकी चञ्चला उसलाई सहजलभ्य भए पनि ऊदेखि झन् कतै टाढा गएकी जस्ती छे । झन् निर्जीव हो कि, उसलाई रुचाउँदै नरुचाएको हो कि अथवा दुःख सहँदासहँदा वा कामले थाकिसकेर वाक्क परेको हो कि उसले थाहै पाउन सकेन । अनि एकान्त कोठामा उसलाई आलिङ्गन गरी म्वाइँ खाँदा ऊ शिथिल जस्ती हुन गएकी थिई, निःसत्त्व निस्सार ।

शान्ति चारैतिरबाट एउटा विफलताको अनुभव गर्न लागी, मीनाको यस वाक्यले लगातार उसको ज्यान छोड्दैनथ्यो- ‘पोइ छोडेर ऊसितै गए त भइहाल्छ नि !’ मीनाले केही नभने पनि तथा उसको हेलमेल, आत्मीयतामा केही कमी नआए पनि उसलाई लागिरहेथ्यो मानौँ ऊसित मीना पनि पर जान लागेकी छे कि ? लोग्नेचाहिँ पनि हरेस खाएको जस्तो हुन गएको थियो र शान्तिले त्यहाँ पनि हारेकै जस्तो अनुभव गरी । यता त्यो युवक कस्तो हो, के चाहन्छ, के हुने हो, त्यो हेरी मात्र रहन्छ, तर कुनै किसिमको केकस्तो छ, के छ, के भइरहेको छ भन्ने कुराको पनि निधो छैन, निधो हुने पनि होइन ।

मानसिक अव्यवस्थाको यही क्रममा दुईतीन दिनपछि नै एक दिन एउटा खास घटना पनि घट्न आयो । त्यस होटेलमा दिनको दुई बजेदेखि चियापान गर्नेहरू क्रमशः आउन थाल्दथे र लगभग अढाई बजेतिर होटेलको हल भरिभराउ हुन जान्थ्यो । त्यो हूल बचाउन र आपसी कुरा गर्ने सुबिस्ताको लागि नै मीना र शान्ति दुवै दुई बज्न दसपन्ध्र मिनेट बाँकीमा नै आइपुग्थे र त्यहाँ भएको बेग्लै कोठामा बसी चिया खान्थे । त्यो युवक पनि त्यसै बखत आउने गर्थ्यो र उतातिरको हलको एउटा कुनामा एउटै सानो टेबुल राखेको ठाउँमा नै एक्लै बस्ने गर्थ्यो । भीडभाड पनि हुँदैनथ्यो र लगभग त्यो ठाउँ एकान्त नै रहन्थ्यो ।

सबैलाई चिया ‘सर्भ’ गरियो, सबै खान लागे ।

यत्तिकैमा एक जना अलि निकै राम्ररी लाइवरेकी, आधुनिक, पढेलेखेकी जस्ती देखिएकी आइमाई युवकलाई खोज्दै आइन् र आउँदाआउँदै भनिन्, ‘हरे, हजुरलाई त खोज्दाखोज्दै हैरान भएँ, अफिसमा गएँ त्यहाँ हुनुहुन्न, सेक्रेटरीकहाँ, बाहिर पालेसँग सोधें, भित्र हुनुहुन्न अनि उसैले बताएर यहाँ आएँ । यहाँ पनि होटेल रहेको मैले थाहा पाएकी थिइनँ । तर यो त कस्तो फोहोर ठाउँ, छिः ! कसरी बसेको ? लौ न, म ता सारै हैरान भएँ । दूधको कुपन सकियो । अस्ति नै नयाँ कुपन लिनुपर्ने, पैसा जम्मा गर्न भ्याइएन । आज कृषि विभागमा गएकी त दिने जति कुपनहरू बाँडिए रे ! असल दूध अन्त पाइँदैन । रामे पनि दुई दिनदेखि आउँदै आएन । आफैँ आएर पनि नपाइने देखियो । म त हैरान भएँ। हजुर गए कुपन दिन्छ कि ? एकपल्ट जाऔँ न !’

युवकले एकपल्ट यसो मीना र शान्तितिर नजर घुमाएर भन्यो, ‘बस न, बस । चिया त सिद्ध्याऊँ !’

मीनाले शान्तिलाई चिमोटी । कुन्नि किन उसलाई हाँसो उठ्यो, तर मुस्किलसाथ आफूलाई रोकी । शान्तिको अनुहार स्तम्भित जस्तो देखियो । वातावरण नै कुन्नि कस्तो भयो ।

मीनाले बिस्तारै भनी, ‘उसकी स्वास्नी जस्ती छे, हो कि ?’ शान्ति चुप नै बसिरही । युवकले चिया खाँदै कुन्नि कुन प्रभाव अथवा विवशताले एकपल्ट पुनः तिनीहरूतिर सकेसम्म थाहा नहुने गरी नहेरी रहन सकेन । साथै कुन्नि के भएर हो, आउने आइमाईले (जो उसकी स्वास्नी नै थिई) पनि उतैतिर हेरी । यता अज्ञात रूपले नै मीनाको ओठका कुनामा हाँसो फुस्कनै आँटेको पनि उसको नजरबाट लुकिरहन सकेन ।

उसलाई गिज्याएको जस्तो आभास भयो, ‘कस्ता नकच्चरीहरू !’ सुस्तरी भन्दै उसले मुख बङ्ग्याई, ‘यिनीहरू को हुन् हँ ?’ सुस्तरी सोधी ।

‘चुप लाग न ।’ युवकले भन्यो । छिनभरिमा नै एउटा अनौठो किसिमको मूक मानसिकताको सिर्जना हुन गयो, जसमा मीना चपलतापूर्वक प्रसन्न हुन थालेकी थिई । शान्ति आहत हुन गएकी थिई । युवक हतबुद्धि भई उकुसमुकुस पनि गर्न लागेको थियो र भरखरै आएकी उसकी पत्नीचाहिँ अपमानित भएकी र गिज्याइएकी जस्तो अनुभव गर्न लागेकी थिई ।

युवक चुप लागेर चिया खान लागे पनि सहनै जस्तो नसकेर उसकी पत्नीले फेरि सुस्तरी सोधी, ‘यिनीहरू को हुन् हँ ? यसरी हाँस्ने, लाज न सरमका ! अझ हजुर पनि यहीँ बस्नुभएको छ । छिः, कहाँ आएँ, यहाँ यस्तो पो त…!’ हतारिँदै आँखा तर्दै र आकृतिले अलि झर्कंदै, तर बिस्तारै युवकले भन्यो, ‘छि:, चुप लाग न ! यी टाइपिस्ट पो त ! यिनीहरूको खाल नै यस्तै हुन्छ।’

युवकले भनेको कुरा मीनाले सुनी कि सुनिन, तर सहस्रश्रवणा जस्ती भइरहेकी शान्तिले त्यसको अन्तिम वाक्य नसुनी रहन सकिन- ‘यी टाइपिस्ट पो त, यिनीहरूको खाल नै यस्तै हुन्छ…।’

तुरुन्तै उठेर उसले भनी, ‘उठ मिना, जाऔँ ।’ अनि उसको पाखुरा . समाती जबरजस्ती उठाएर ऊ गई !
अप्रत्याशित भए पनि लगभग मूक नै घटेको त्यो घटना बिलकुलै स्वाभाविक थियो । यसमा कसैको दोष, द्वेष, अपराध थिएन तैपनि यस घटनाले सबैमा विभिन्न क्लेश नउब्जाई छोडेन ।

मीना – शान्तिहरू गइसकेपछि युवकले अज्ञातमा नै अनुभव गर्यो कि पत्नीको क्षोभ हटाउन उसले एउटा नचाहिने वाक्यको प्रयोग गरेर दुइटी नयाँ हृदयकी केटीहरूको स्वच्छन्द र उत्फुल्ल आत्मालाई अकारण चोट पुऱ्यायो र ठान्यो यस अपराधलाई कुटिलता भने पनि हुन्छ, हुन सक्छ ! मीनाचाहिँले आफ्नी प्रिय साथी शान्तिले पाएको अकारण कष्टको र स्वयं अपमानित पनि भएको अनुभव गरी । उसले आफैँ पनि मानी, एकैछिनअघि ऊ पनि शान्तिप्रति केले-केले ईर्ष्यालु हुन गएकी थिई र यसले पनि केही चोट अवश्य नै उसलाई पुऱ्याएको होला !

तर शान्ति, हरे, उसले चारैतिरबाट र स्वयं आफ्नैतिरबाट जो क्लेश, जो चोट, जुन मर्मस्पर्शी कष्ट सहनुको अनुभव गरी त्यो भनिसाध्य छैन । त्यो वाक्य भन्ने त्यस अभागी युवकलाई कदाचित् यो थाहै थिएन कि नारी त्यो जस्तोसुकै भए पनि कुनै मनको विवशताले, जुन बखत आफैँ आफ्नो समर्पणको पाखुरा अगाडि सार्छे उस बखत कसैले उसलाई पछाडि हटाइदिए ऊ आफ्नै नजरमा तल खस्न जान्छे, यस्तो बेइज्जत हुन जान्छ, जसको प्रतिकार संसारका कुनै स्वर्ग, कुनै सम्पत्ति, कुनै सुखमा पनि गर्न सक्ने क्षमता छैन ।

दिनभरि ऊ अफिसका कागतहरू टाइप गरी नै रही, तर उसका आँखामा जम्मै मानौँ त्यही वाक्य लेखिएको देखा परिरहेको थियो- ‘यी टाइपिस्ट पो त ! यिनीहरूको खाल नै यस्तो हुन्छ।’ यस मनोदशामा कहिलेकाहीँ ऊ आफ्नो लोग्नेलाई पनि अज्ञात भावले सम्झन्थी ।

राति सुत्ने बेलामा शान्तिको पतिले आफूलाई, जब एकाएक एउटा बिलकुलै नयाँ किसिमको आवेगउद्वेगपूरित आलिङ्गनको दृढ प्रगाढतामा पायो उसले बुझ्नै सकेन, सधैँ उछिट्टिई नै जस्ती रहने उसकी टाइपिस्टलाई, उसकी चञ्चलालाई आज के हुन गएछ ? ऊ सम्झने चेष्टा नै गरिरहेको थियो कि अँध्यारोमा उसले ऊसितै टाँसिएकी पत्नीको अचानक कुन्नि कुन मूलबाट फुटेर आएको अबाध लगातारको सुँक्क सुँक्क सुन्यो, पत्नीको मुख उठाउने चेष्टा गर्दा तातो आँसुले उसको हात भिज्यो ।

शान्तिको दुःख के हो, केले हो, हतबुद्धि जस्तो भइरहेको उसको लोग्नेले त बुझ्नै सकेन, किन्तु सारा संसारका मन, हृदय र मर्महरूको तादात्म्य राख्ने कुनै बुझ पचाउनेले पनि बुझ्यो कि बुझेन भन्न सकिन्न ।

===

पहिलोपटक ‘मानव’ शीर्षकको कथा प्रकाशन गरी (वि.स. १९९५) कथायात्रा सुरु गरेका कथाकार भवानी भिक्षु (वि.स. १९६६–२०३८) का चर्चित कथाहरूमध्ये एक हो, टाइपिस्ट । यस कथामा भिक्षुले महिला–महिलाबिचको द्वन्द्व, ईर्ष्या तथा मनोविज्ञानलाई सुन्दर लेखन–शिल्पीमार्फत् कहेका छन् ।

भिक्षुका गुनकेसरी (वि.स. २०१७), मैयाँसाहेब (वि.स. २०१७), आवर्त (वि.स. २०२४), अवान्तर (वि.स. २०३४) लगायत कथासङ्ग्रह प्रकाशित छन् । प्रस्तुत कथा ‘टाइपिस्ट’ कथासङ्ग्रह ‘मैयाँसाहेब’मा सङ्ग्रहित छ ।