काठमाडौं : कथालय इन्कले सुप्रसिद्ध लेखक भवानी भिक्षुका कथा, उपन्यास, कवितालगायत कृतिको सम्पूर्ण सर्वाधिकार लिएको छ । भिक्षुका सम्पूर्ण कृति कथालयकै विभाग वी रिड प्रकाशनबाट छाप्ने गरी परिवारसँग सम्झौता भइसकेको कथालयका सह-संस्थापक तथा निर्देशक राजीवधर जोशीले बताए ।

भिक्षु जीवित हुँदासमेत उनका कृतिले पुनर्मुद्रणको अवसर नपाएको र हाल बजारमा अभाव रहेकाले क्रमशः सबै पुस्तक प्रकाशन गर्दै लैजाने योजना रहेको जोशीको भनाइ छ । ‘यही सिलसिलामा लोकप्रिय उपन्यास  ‘पाइप नं. २’ प्रकाशनमा ल्याइसकेका छौं,’ उनले भने, ‘भिक्षुका किताब पुरानो समाजका तस्बिर हुन्, जो बजारमा दुर्लभ छन् । नेपाली साहित्यलाई महत्वपूर्ण योगदान गरेका लेखकलाई नयाँ पुस्ताले पनि पढून् भन्ने हाम्रो अपेक्षा हो ।’ पाइप नं. २ पहिलोपटक २०३४ सालमा साझा प्रकाशनबाट छापिएको थियो ।

शुक्रबार भिक्षुका छोरा सव्यसाचीलाई ‘पाइप नं. २’ हस्तान्तरण गरेपछि उपन्यास औपचारिक रूपमा बजारमा पठाइएको निर्देशक जोशीले जानकारी दिए ।

‘पाइप नं. २’ कस्तो उपन्यास हो ?

यो उपन्यासले २०२० को दशककी एक शिक्षित महिला नेलीका मुखबाट मान्छेको तन, मन र परिवेशको कथा भन्छ । एउटी विद्रोही प्राध्यापिकाले जीवन र जगत्का रहस्यहरूको व्याख्या कसरी गर्छे, उपन्यासले उसको चरित्रलाई दह्रो गरी उभ्याएको छ ।

पहिले आफ्नो आवश्यकता पूर्ति गर्न पैसाका लागि यौनकर्ममा लागेको भए पनि उच्च शिक्षा पूरा गरेपछि ऊ त्यस्ता कामबाट टाढिन्छे । र, बम्भोलासँग नजिकिन्छे । उनीहरूको सम्बन्धबाटै उपन्यास अघि बढिरहन्छ । यौनकर्मबाट टाढिएकी ऊ विवाहका लागि तयार होली ? के बम्भोलाले उसको मन बुझ्न सक्ला ?

पात्रहरूको मनोविज्ञान केलाउन सफल भिक्षुको यो उपन्यासले दुराचारबाट सदाचार, अनैतिकबाट नैतिकतातर्फको यात्रा तय गरेको छ ।

को हुन् भिक्षु ?

अवधी मातृभाषा भएका र हिन्दी–संस्कृतमा शिक्षादीक्षा पाएका भिक्षुका रचना विषयवस्तु र शैलीका हिसाबले मात्र होइन, भाषिक सौष्ठवका हिसाबले पनि महत्वपूर्ण छन् । नेपाली कवितामा छायावादको थालनी गर्ने भिक्षुका कथा र उपन्यास स्वच्छन्दतावादी र मनोविश्लेषणवादी धाराका प्रतिनिधि रचना मानिन्छन् ।

सुरुमा हिन्दीमा लेख्न थालेका भिक्षुले पछि नेपाली भाषामा साहित्य सिर्जना गरे र नेपाली भाषाले नै उनलाई विशिष्ट लेखकका रूपमा स्थापित गर्यो । उनका प्रकाशित कथासंग्रहमा ‘गुनकेसरी’ (२०१७), ‘मैयाँ साहेब’ (२०१७), ‘आवर्त’ (२०२४) र ‘अवान्तर’ (२०३४) छन् । ‘सुभद्रा बज्यै’ (२०१९), आगत (२०३२), पाइप नं. २ (२०३४) र सुन्तली (२०४०) उनका प्रकाशित उपन्यास हुन् । छाया, प्रकाश, परिष्कार जस्ता कवितासंग्रहका साथै उनले एकांकी र निबन्ध पनि लेखेका छन् ।

उनी सशक्त मनोवैज्ञानिक आख्यानकार हुन् । उनी नारी मनोदशा र दमित यौनको सजीव र सूक्ष्म चित्रण गर्छन् । ‘आगत’ उपन्यासका लागि उनलाई २०३२ सालमा साझा पुरस्कार तथा मदन पुरस्कार दिइएको थियो । त्रिभुवन प्रज्ञा पुरस्कारबाट पनि सम्मानित उनी नेपाल प्रज्ञा प्रतिष्ठानको संस्थापक सदस्य थिए ।