“के गर्न लाग्नुभयो भाजुलाल, दाजु ?”

“यसै बसिराख्या ।”

“आज कति दिन भयो ?”

“उन्नाइस । हैन, बिस दिन भो ।”

“कर्मको लेखा ।”

“के गर्नु !”

“उल्टो भयो – तपाईं गएर छोरो रहनुपर्ने…।”

“भनेर के गर्ने ! देउतालाई उही चाहियो ।”

हुन पनि भाजुलाल बिचरोको सर्वनाश नै भएको थियो । त्यस बुढेसकालमा सुतीसुती दूधभात खानुपर्ने बेलामा अपरझटको व्यथाले एउटा मात्र छोरो जुजुलाल खसिदियो । बूढी जहान, भरखरकी उमेरदार बुहारीलाई लिएर उनले बाँच्नुपरेको थियो— इच्छा नभए तापनि हृदयमा पिर,चिन्ता, तापको बोझ बोकेर भए तापनि । शरीरका अङ्गप्रत्यङ्ग सबै सुकेर गइसकेको थिए । पहेँलो चेहरा, फुस्रा आँखाका नानी, हातभरि मोटामोटा नागबेली नसाहरूले नागले झैँ उनलाई  बेह्रेर राखिछाडेका थिए ।

लामो श्वासप्रश्वसपछि उनले भने- “मलाई मेरो छोरो गएको भन्दा पनि यो शिल्पकारी गयो, यो कला लोप हुने भयो भन्ने बढ्ता दुःख छ । म मरेपछि यो मिहिन काम फेरि कसले गर्न सक्छ ? ऊ तयार भएर आएको थियो ! एकदुई वर्षमा पूरा हुन्थ्यो ।”

भाजुलालका यस्ता विरहका कहानी सुनेर सानुमानलाई पनि भित्र वेदना भएर आयो, किनकि उनी पनि शिल्पकार नै थिए । भाजुलालको जस्तो हात्तिदाँतको होइन, उनी श्रीखण्ड, रक्तचन्दन आदि मूल्यवान् काठहरूका अनेक कलापूर्ण कृतिहरू बनाउँदथे ।

चैतको महिना, बाहिर उराठिलो घाम लागिरहेको, नजिकैबाट तमौटेहरूले लगातार ट्याङट्याङ परस्परमा जुआरी खेलेर भाँडा बनाइरहेको अप्रिय आवाज आइरहेको थियो । यसै औसरमा उनको भित्र दिलले पनि एक आवाज दियो- “नबाँचूँ अब । कसको निम्ति बाँच्छस् ?”

हरेक दिन बिहानबेलुकी एकान्त स्थानमा बसेर बूढीले बहाएको आँसु, बुहारीले छोडेको हुँक्कहुँक्कको वेदनायुक्त स्वरले उनलाई बाधामाथि अतिशय बाधा थपिदिन्थ्यो ।

कलाकारमाथि पर्ने कालको कुदृष्टि बालिस्टमा लेटीलेटी खाने समाजका कीटाणुहरूमाथि किन नपरेको होला ?

यसै औसरमा पल्लापट्टि घरको झ्यालबाट एक बोलाहटको आवाज आयो—

“भाजुलाल पाजु !”

“ज्यो, किन ?”

“तपाईंलाई खोज्न को आएको छ तल ।”

चिन्ताले खाइसकेको कमजोर जीउ बिस्तारै उठाएर बार्दलीमा उभिएर उनले सोधे- “को ? खै ? ए ! माथि आउनुहोस् ।”

ती आगन्तुक एक भक्त थिए किनभने उनको वसन्ती वेशभूषा र तिलक आदिबाट जसले पनि बताउन सक्थ्यो उनी वैष्णव हुन् ।

सानुमानचाहिँ दुई जनाको कुराकानीमा बस्नु सभ्यताको अज्ञानता हुन्छ भन्ने ठानेर होला ती माथि कोठामा आएको छिनभरपछि जुरुक्क उठेर आफ्नै घरतिर आए ।

ती भक्तले भाजुलाललाई एउटा चित्र- घुँगुरिएका रौँ, मयूर मुकुट, बाहुमा बाजू, कङ्कण, लामो वनमाला, हातमा मुरली लिएर मोहनी अवतारमा उभिएका श्रीकृष्णको चित्र देखाएर भने- “मलाई यस्तै मूर्ति बनाइदिनुपर्यो- सफा सेतो दूध जस्तो हस्तेहाडको ।”

भाजुलालको ‘हुन्छ’ भन्न पनि सकेनन् फेरि ‘हुन्न’ भन्न पनि । ‘हुन्छ’ भनूँ नैराश्यपूर्ण अन्धकारमा रुमलिएको जीवनले अब के काम गर्न सक्ला जस्तो उनलाई लाग्यो, ‘हुन्न’ भनूँ आफ्नो सीपको प्रख्यातिले आफ्नो नाम सोधीसोधी घरको द्वारसम्म आएर आग्रह गरेका एक भक्तलाई विमुख पठाउन उनको भावुक दिल र पेशाले दिँदैनथ्यो, मान्दैनथ्यो ।

उनले हक्क न बक्क परेर शून्य मस्तिष्कले ती भक्तको चेहरामा हरि मात्र रहे ।

“काम गाह्रो भएको हुनाले तपाईं बनाउन सक्नुहुन्न कि ?” संशय लागेको छाँटले भक्तले सोधे ।

यस्तो वाक्य सुनेपछि भाजुलाल अनुहार केही लाललाल पारेर अभिमानयुक्त वाणीमा बोल्दै गए-

“नसक्ने कुरा होइन, कस्तोकस्तो सीपको काम गरिराख्या मान्छे, यो के छ र ? डेढडेढ हात, दुईदुई हात अग्लो पशुपतिनाथको, मछेन्द्रनाथको, कृष्णमन्दिरको कतिकति मन्दिर बनाइसक्यो यही हातले । जस्ताको तस्तो । फोटो खिचेको जस्तो । सिङ्गोसिङ्गो हात्तिदाँतमा जालीदार बुट्टा, रामायणको कथा, बुद्धचरित्रको कथा कस्तोकस्तो काम गर्यो । अरू सानोतिनो पानबुट्टा, किश्ती, फूलदान त्यस्तो त कतिकति ! यो जाबो कृष्णको मूर्ति बनाउन सक्तिनँ ? के छ र यसमा ?”

त्यो उमेर, त्यस्तो जीर्णशीर्ण बूढाको त्यस्तो गर्जन सुनेर ती भक्तले केही उत्तर नदिई गम्भीर भएर एकोहोरो सुनी मात्र रहे र अन्त्यमा शान्त मुदले नरम शब्दमा बोले- “नसक्ने भनेको होइन मैले । ललितपुरको इखालखु (जुमबहाल) टोल हस्तेहाडको काममा यसै प्रख्यात । उसमाथि शिल्पकार भाजुलालको हात ! थाहा छ मलाई तपाईंकै यही सानो कोठाबाट तयार भएर निस्केका कलात्मक कृतिले हाम्रो नेपालको नाम उज्ज्वल पारिदिएको छ, गौरव बढाइदिएको छ ।”

“हो, चिह्नेको त रहेछ नि ।”सरल र निष्पाप दिलदेखिको उद्गार केही मुस्कुराहटका साथ निस्कियो- “अघि ‘बनाउन सक्नुहुन्न कि’भनी किन होच्याएको त ? कति दिनमा तयार पार्नुपर्ने ?”

“जति सक्यो उति चाँडै । कति दिन लाग्छ मलाई थाहा छैन । हस्तेहाडको गिँडोलाई साकार सुन्दर मूर्ति बनाउनुपर्ने । म के भनूँ ।” ती भक्तले घाँटीमा लट्केको तुलसीको मालाको एकएक दाना अनायास चलाउँदै भने ।

“हुन्छ, म बनाइदिन्छु । बैना छोड्नाेस् ।”

उनले त्यो अडर लिनाका दुई कारण थिए – एक सधैँ छोरालाई सम्झेर झोक्राएर कति बस्नु, काममा लागेपछि मन बहलिन्छ । आर्को, खर्चको दुःख छ । दुईचार रुपियाँ भए पनि आम्दानी त हुन्छ ।

“जम्मा मोला कति ?”

“मोलको कुरा नगर्नोस् । ऐले दश रुपियाँ बैना छोड्नोस् । मूर्ति तयार भएपछि तपाईंलाई खुशी तुल्याएर तपाईंले दिएको लिने । तपाईं ईश्वरको भक्तितिर लागेको मान्छेसित केको मोलमोलाइ ?”

यति भनिसक्नासाथ ती भक्त दश रुपियाँ गन्दै थिए बिचैमा करुण स्वरले भाजुलालले भने- “के गर्नु, मेरो छोरो खस्यो । म बहुला जस्तो भएको छु । बुद्धि नै ठेकानमा छैन ।”

“ए ! ज्या ! नाश भएछ ।” सहानुभूति दिएर ती भक्तले उठेर जाँदै सोधे, “उसो भए म कहिले लिन आऊँ त ?”

एक बित्ताको हस्तेहाडको गिँडलाई ठाडो दुई फ्याक पारेर त्यसैको एक टुक्रामा प्रातः देखि सन्ध्यासम्म भाजुलाल चलिरहन्थे- कुटकुट-कुटकुट । उनका वरिपरि ठुला र साना अनेक आकार र प्रकारका करिब सवासयजति ज्यावलहरू उनैलाई हेरेर सुतिरहेका थिए, मानो कहिले मलाई पनि उचाल्लान् र म पनि भगवान्को मूर्ति बनाउने काममा शरीक हुन पाउला । जुनजुन बेला जुन ज्यावलको आवश्यक पर्थ्यो त्योत्यो बेला तीती उनी प्रयोग गर्थे । आश्चर्यको कुरा, उनलाई पर्यन्त थाहा थिएन अमुकअमुक ज्यावलको नाम के के हो । तर ती सबलाई उनी स्वयं निर्माण गर्दथे ।

हस्तेहाडको धूलो जस्तै सेतै फुलेका कपाल र दाह्री, नाकको टुप्पामा अडेका मामुली तारको फ्रेमवाल चश्मा, टालेको र मैलो भोटो, सुरुवाल, कसलाई थाहा विश्वविख्यात शिल्पकार भाजुलाल यिनै हुन्, जसका कलाकृति यूरोप, अमेरिकाका सङ्ग्रहालयमा रहेका थिए, कलापारखीहरूले हेरेर आश्चर्यले औँला टोकिरहेका थिए ।

आज पनि त्यही, भोलि पनि त्यही, पर्सि पनि त्यही श्रीकृष्णको मूर्तिको खस्रो खाकामाथि सानो ज्यावलको कुटकुट-कुटकुट ।

केही दिनपछि मूर्ति तैयार भएपछि अन्त्यमा जब आँखा बनाएका थिए, मूर्ति हाँस्यो । साथसाथै उनको रोएको दिल पनि हाँस्यो । उनले त्यस मूर्तिलाई भावुक आँखाले धेरै बेरसम्म हेरिराखे, हेरिराखे । जति हेरे पनि उनका आँखा अघाएनन्, दिल अघाएन । नजाने उनले त्यस नवनिर्मित श्रीकृष्णको मूर्तिमा के देखे !

प्रातः कालको समय, केही परेवाहरू पखेटा केलाएर भर्खरै मात्र झुल्किएको घाम छानामा तापिरहेका थिए । छिनछिनमा चोकको बिचमा उभिएको भोगटेको फूलको बास्ना आइरहेको थियो हररर-हररर । भाजुलालको घर प्राचीनताको स्मारक, उसमाथि उनी बस्ने कोठाचाहिँ तडकभडकरहित, सिधासादा उनको जीवन जस्तै थियो । त्यहीँ कलापूर्ण, तर निकै पुरानो एउटा खटियामाथि उही मूर्तिलाई राखेर उनी त्यसलाई टुलुटुलु हेरिरहेका थिए- एक मन, एक बुद्धि, एक चित्तले ।

यत्तिकैमा तल्लो भर्याङबाट आवाज आयो, साथै “शिल्पकार कहाँ हुनुहुन्छ ?” भन्ने वाक्या पनि । भाजुलालले स्वरले चिने, उनै भक्त आउ । मुखले चाहिँ “माथि माथि पाल्नोस्” भनेर हातले चाहिँ हत्त र पत्त त्यो मूर्तिलाई सिरानमुनि लुकाए । यस्तो गर्नाको कारण क्या हो, केही थाहा भएन ।

ती भक्तले माथि आइपुग्नासाथ, शिल्पकारको अनुहार देख्नासाथ उत्सुकताले भरिएको वाणीमा सोधे, “सकियो ? मूर्ति सकियो ?”

भाजुलालको हृदयमा द्वन्द्व चल्यो- सकियो भनूँ, खै लेऊ त भन्छन् । दिऊँ ? कसरी दिऊँ ? सकिएको छैन भनूँ, झुटो कसरी बोलूँ, मूर्ति तयार भइसकेको थियो । अन्त्यमा उनमा एउटा विचार आयो । अनि उनले भने, “पन्ध्र दिनपछि आउनू भनेको दश दिन पनि पुगेको छैन । बिहीबार बिहीबार आठ, शुक्रबारले नौ दिन भो भर्खर आज ।”

“तैयार नभए तापनि कति सकियो त ? हेरूँ न ।” उही उत्सुकतामा र चञ्चलताको वाणीमा भक्तले सोधे ।

“पन्ध्र दिनपछि आउनोस् ।”

“अहिलेसम्म थालेको पनि छैन ?” आश्चर्यले आँखाका दुवै पुतली फैलाएर उनले फेरि सोधे ।

“पन्ध्र दिनपछि आउनुहोस् ।” भाजुलालले फेरि पनि उही जबाफ दिए ।

“आजको छ दिनमा त पन्ध्र दिन पनि पुग्छ । अवश्य सिद्ध्याउनुपर्छ है । मलाई खाली फर्कन नपारोस् ।” उठेर जाँदै ती भक्तले भने ।

जस्तै तल्लो भर्याङबाट उनी ओर्ल्हेको आवाज आएको थियो अनि भाजुलालले त्यस मूर्तिलाई सिरानमुनिबाट झिकेर त्यही खटियामाथि राखेर उस्तै गरेर शान्त भावले हर्न  थाले टुलुटुलु । हेर्दाहेर्दै परेलासमेत फुलेका उनका आँखाका डीलडीलमा आँसुका दाना छचल्कन थाले टलपल-टलपल ।

० ० ०

पन्ध्रौँ दिनको दिन, तेस्रो प्रहरको समय, ती भक्त आशापूर्ण हृदयले शिल्पकारको कोठामा आइपुगे । उनले श्री कृष्णको मूर्तिलाई सानो खटियामाथि अडाएर राखेको देखे । देख्नासाथ लोभिएको दिलले उनले त्यसलाई आफ्नै हातमा लिएर गहिरोसित हेर्न थाले, हेर्दाहेर्दै भित्र आत्माबाट एक उद्गार निस्कियो, “आहा ! क्या मनोहर मूर्ति !”

भाजुलालको चेहरामा चाहिँ दीनता, उदासीनता, जडता र अकर्मण्यताका झलक देखिन्थे ।

“कति लिनुहुन्छ यो मूर्तिको ?” भक्तले सोधे, “अब कति दिनुपर्यो मैले ?”

भाजुलाल बोलेनन्, केही बोलेनन्, मानो उनका गलामा सारा उर व्यथाहरू थुप्रिएका थिए ।

“भन्नुहोस् न त कति दिनुपर्यो मैले ?” मूर्तिलाई ढोगेर त्यही खटियामाथि राखेर भावुक नयनले हेरिरहेर उनले सोधे ।

भाजुलाल तैपनि बोलेनन् मानो उनको वाक् शक्ति नै लोप भएको थियो ।

ती दुवै जना त्यही एक मूर्तिलाई निर्निमेष दृष्टिले हेरिरहेका थिए, नजाने कसकसले केके देखेका थिए ।

“क्या सुन्दर मूर्ति !”

ती भक्तको हृदयले एक आवाज फेरि बोल्यो ।

“भन्नुहोस् न त कति लिने हो ?”

अनि भाजुलालले जीर्ण स्वरमा भने, “यो मूर्ति तपाईंलाई दिने हैन ।”

“मेरो आडरमा बनाएको होइन ?”

“हो ।”

“अनि ?”

“नदिने ।”

“किन ?”

(उत्तर नास्ति ।)

“मोल भन्नुहोस् न, जति पर्ने हो म त्यति नै दिन्छु । मलाई धन चाहिएको छैन, मलाई त भगवानकाे माेहनी मूर्ति चाहिएको छ ।” ती भक्तले उदार दिलको परिचय दिँदै भने ।

“जति दिए पनि नदिने ।” ती वृद्ध शिल्पकारले पनि बोले, “मलाई पनि यही मूर्ति चाहिएको छ । दश दिनपछि आउनोस् म तपाईंलाई फेरि अर्को बनाइदिन्छु ।”

आफ्नो आडरमा तैयार भएको, आफूलाई त्यस्तो विधि मन परेका मूर्ति नदिएर फेरि दश दिनपछि आऊ अर्को बनाइदिउँला भनेको सुन्दा ती भक्तलाई केही क्षोभ भयो । के छाँटको तरङ्गी बहुलट्ठी बूढोकहाँ आइपुगेछु भन्ने ठानेर उनले एक आवेशमा भने, “ओमबहालमा तपाईं मात्र हुनुहुन्न शिल्पकार । अरू पनि काम नपाएर यसै बसिरहेका छन् बेकार । फिर्ता गर्नुहोस् मेरै बैना । अन्तै बनाउन लाउँछु ।”

“नरिसाउनोस् न त्यसरी । मै बनाइदिउँला ।” करुण स्वरमा भाजुलाल बोले ।

“भो पर्दैन, दिनुहोस् बैना ।”

त्यसपछि भाजुलाल उठेर आफूसित रहेको जम्मा साढे पाँच रुपियाँ कन्तुरबाट झिकेर बाँकी नपुग स्वास्नी र बुहारीसित मागेर दश रुपियाँ ती भक्तको अगाडि गनेर राखिदिए ।

रिसको एक रन्कोमा रुपियाँ सोहोरेर भक्त पनि केही नबोलेर जुरुक्क उठेर गए ।

बूढा यस्तो चाल देखेर बूढी अगाडि बसेर धेरै कचकच गर्न लागिन्, “बनिसकेको मूर्ति नदिएर झन् बैनासमेत फिर्ता गर्ने । दिएको भए अरू रुपियाँ पनि आउँथ्यो । के खर्च गर्ने अब ? चामल छैन, दाउरा छैन इत्यादि ।”

सासूको यस फतफतमा बुहारीले पनि थपथाप गरिन्, “घरको सुख र दुःख सबैको साझा न हो ।”

दुईतिरबाट दुई जनाको निरन्तर करकरले गर्दा भाजुलालका दुई कानका जाली नै फाट्लान जस्ता भए । असह्य भएर उनले त्यो मूर्ति नदिनाको कारण दीन मुद्रा, क्षीण स्वरमा बताउँदै गए, “म कसरी दिन सक्छु यो मूर्ति ? मेरो प्राणभन्दा प्यारो यो मूर्ति । कृष्णको मुकुट लाएर, हातमा मुरली लिएर मेरो छोरो, मैले शङखमूलको चितामा खरानी पारिसकेको छोरो, फेरि यहाँ आएको छ । हेर्, गडेर हेर्, मुसुमुसु हाँसेर कुरा गर्ला जस्तो गरेर उभिएको छ ।”

लोग्नेको यस्तो कुरा सुनेर बूढीले हातमा त्यस मूर्तिलाई लिएर गहिरोसित हेरिन्, हेर्दाहेर्दै उनलाई भक्कानो छुटेर आयो । अनि उनी त्यसलाई छातीमा लगाएर रुन थालिन्, “मेरो जुजु !”

बुहारीले पनि आफ्नो दिल थामेर बस्न सकिनन् र सासूको हातबाट त्यो मूर्ति खोसेर हेर्न लागिन् । नभन्दै सम्पूर्ण भाव र झल्को आफ्नै स्वर्गवासी लोग्नेको ! उनी पनि त्यो मूर्तिले आफ्नो छातीमा हानेर, कहिले च्यापेर वेदनापूर्ण पुकारमा विलाप गर्न थालिन् ।

सासू र बुहारीका आँसुका धाराका बिचबाट एउटा संयुक्त वाक्य निस्कियो, “दिनु हुँदैन, यो मूर्ति बाहिर दिनु हुँदैन ।”

भाजुलालको मानवी हाडको छोरो चितामा खरानी भएर नाश भए तापनि हस्तेहाडको कृष्णावतार छोरो त कालान्तरसम्मन् संसारमा रहिरहला ।

यही भयो उनको ‘अमर पुत्र’ ।

(“भीमनिधि तिवारीका प्रतिनिधि कथाहरू”बाट)