हाम्रो संवादमा सम्बोधन अनिवार्य छ । अङ्ग्रेजीमा ‘You’ भनी सबैलाई सम्बोधन गर्न सकिन्छ तर हाम्रो सम्बन्धका तहहरू ‘तँ’, ‘तिमी’, ‘तपाईँ’ र ‘हजुर’ छन् । खास गरी काठमाडौँमा एउटा वर्गमा ‘हजुर’ नै भन्नुपर्ने, र पुछारमा ‘स्यो’ जोड्ने अभ्यास छ । यस्तो भाषा प्रयोग गर्नेहरू दुईथरी छन्: स्वाभाविक रूपमा बोल्नेहरू र अरूको प्रभावले वा रहरले बोल्नेहरू । यस्तो चलन भएकामध्ये एउटा ठुलै समूहले ‘तपाईँ’ भन्नुलाई सभ्य मान्दैन । सामान्यतः सानो बालकले यदि कसैलाई ‘तँ’ भन्यो भने उसलाई ‘तपाईँ’ वा ‘हजुर’ भन्न सिकाइन्छ । त्यसैले भन्न सकिन्छ, सम्बोधन संस्कारजन्य कुरा हो । हुन त, सुदूरपश्चिम लगायत अन्य केही भेगमा जाति तथा भूगोल विशेष समूहभित्र सानाले ठुलालाई तिमी भन्ने चलनसमेत पाइन्छ ।

मान्छे जीवनको कालखण्डमा अनेक मानिसहरूसँग नजिकिन्छ र टाढिन्छ । विशेष गरी हजुर, तपाईँबाट सम्बन्धको सुरुवात हुन्छ, कसैसँग तिमीबाट त विरलैसँग तँबाट हुन्छ । प्राय: सम्बन्ध औपचारिकताबाट प्रारम्भ भएर अनौपचारिकतामा पुग्छ । कोही एक घण्टामै घनिष्ठ मित्र बन्छन्, कोही जुनीभर बन्दैनन् । धेरै जनासँगको सम्बन्ध न अघि बढ्छ, न पछि हट्छ । आफ्नै साथी बरु त्यति नजिकको लाग्दैन तर उसले चिनाइदिएको नयाँ साथी ऊभन्दा धेरै निकट हुन सक्छ ।

कसको मनको तार कोसँग कहाँ कतिबेला जोडिन्छ कसैलाई थाहा हुँदैन । एउटालाई नराम्रो लाग्ने मान्छे अर्कोलाई राम्रो लाग्छ, एउटालाई घमन्डी लाग्ने अर्कोलाई प्रस्ट विचारको लाग्छ । मानिसको रुचि, पृष्ठभूमि, अध्ययन, वैचारिक धरातल, संस्कार आदि अनेक कुराको महत्त्वपूर्ण भूमिका हुन्छ । कहिलेकाहीँ दुई विपरीत धारका मानिसको घनिष्ठ सम्बन्ध कसरी बनेको होला भनेर अचम्म लाग्छ । सम्बोधनमा मानिसहरूबिचको दूरी र आत्मीयता पनि झल्कन्छ । एउटै उमेर समूहमा पनि जसलाई एउटाले तँ भन्छ, अर्कोले तिमी भन्छ, उसैलाई अर्कोले तपाईँ भन्छ, फेरि अर्कोले हजुर भन्छ । जिन्दगीको कुन मोडमा कोसँग कहाँ कसरी भेट भएको थियो त्यसले धेरै अर्थ राख्छ ।

सम्बन्धमा धेरै पटक उमेर वा नाताले पनि फरक पार्छ । कहिलेकाहीँ नाताले आफूभन्दा सानोलाई पनि काका/काकी र भर्खरकालाई हजुरबा/हजुरआमा भन्नुपर्ने हुन सक्छ । भावना वा मित्रताको कसीले पेसा वा पदले पनि सम्बोधनलाई असर गर्छ । कसैले कसैलाई तँ भनेको देख्दा हेपे जस्तो लाग्छ, कसैलाई कति धेरै माया गरे जस्तो लाग्छ । श्रीमानलाई तिमी भनेको सुन्दा आदर नगरेजस्तो लाग्छ, तर श्रीमतीलाई भन्दा केही पनि लाग्दैन । सासूले बुहारीलाई हजुर, तपाईँ भनिन् भने व्यङ्ग्य हानेको मानिन्छ ।

काम र जातको आधारमा पनि सम्बोधन गर्ने तरिका फरक परेको पाइन्छ । एउटा काम गर्ने केटी वा केटा आफूभन्दा ठुलो नै भए पनि तँ भन्ने चलन छ्यापछ्याप्ती छ । अझै चटपट पानीपुरी बनाउने दाइहरू दाइ नै भए पनि तँ भनी बोलाइन्छन् । जातको आधारमा सम्बोधनको त कुरै गरी साध्य छैन । एउटा लुगा सिलाउने दमाई दाइलाई आफ्नो बुवाले ठुलै भए पनि तँ भनेको सुन्दासुन्दै भर्खरको बच्चाले समेत उहाँलाई तँ भनी सम्बोधन गर्न अप्ठ्यारो मान्दैन । त्यतिबेला आफूभन्दा ठुलालाई तपाईँ भनी बोलाउनुपर्छ भनी आफैँले सिकाएको कुरा भुलिदिन्छन् अभिभावक अनि चिया पसलमा आएर आफैँ आजकलका बच्चाबच्ची ठुलाबडालाई सम्मान नै गर्दैनन् भन्दै खोक्छन् । एकातिर हाम्रा नानीबाबुहरू अति शिष्ट देखिए पनि अर्कोतिर उनीहरूमा विभेदकारी मनोविज्ञानले पनि मलजल पाइरहेको छ।

यात्रामा वा नयाँ चिनजानमा कसलाई दाइ, दिदी भन्ने वा भाइबहिनी भन्ने दुबिधा पनि भइरहन्छ । सबैको एकपल्ट उमेर आउँछ, आफूलाई दाइ वा दिदी भनिदिए हुन्थ्यो, पछि फेरि भाइ वा बहिनी भनिदिए हुन्थ्यो । कोही दिदीभन्दा रिसाउँछन् भने कोही बहिनीभन्दा रिसाउँछन् । कसलाई कतिबेला के भनेर सम्बोधन गर्ने भन्न कठिन नै हुन्छ ।

त्यसैले यो दाइ, दिदी भनेको सम्बोधन गर्ने पद वा बहाना हो जस्तो लाग्छ । सहपाठी वा सहकर्मी भए पनि कसैको चाहिँ मलाई सबैले दाइ नै भन्नुपर्छ, दिदी नै भन्नुपर्छ भन्ने अहम् पनि हुन्छ । कहिलेकाहीँ सम्बन्धमा समानता कायम राख्न दुवैले दुवैलाई दाइ–दाइ, भाइ–भाइ पनि भन्छन् । मान्छेलाई न सानो हुन मन लाग्छ न बूढो हुन मन लाग्छ । मान्छे बडो अप्ठेरो प्राणी हो ।

कसको दिमागमा कतिबेला के सनक चढेको हुन्छ भन्न सकिँदैन ।  मेरो आफ्नै कुरा गर्दा सम्बोधनको सुरुवात प्रायः तपाइँबाट नै गर्छु । कतिपल्ट तपाईँ भनेर त कतिपल्ट दिदी भनेर गाली खाएको पनि छु। आफू ठुलै भए पनि सानै सोच्ने र अरू सानै उमेरको भए पनि ठुलै देख्ने प्रवृत्ति नहटेसम्म गाली खाइरहन्छु सायद । यदि अरूलाई तपाईँ भनी सम्बोधन गर्दा र सम्मान गर्दा गाली खाइन्छ भने खान तयार छु तर आफूलाई नै आत्मग्लानि हुने गरी अपमान भने कहिल्यै गर्ने छैन । सम्बोधनमा प्रेम तथा आत्मीयता भए जे भने पनि फरक पर्दैन । हेपेर भनिएको बाहेक सबै सम्बोधन जायज नै लाग्छन् ।

घरमा काम गर्ने, चटपट बेच्ने वा कपडा सिलाउने दाइ नै किन नहुन – आफूभन्दा ठुलालाई आदर गरौँ र सानालाई माया गरौँ । कसैबाट सम्मान पाउनका लागि पहिला आफूले अरूलाई सम्मान गर्ने संस्कारको विकास गरौँ ।