दलित हुँ म
पहुँच बाहिरको
न कसैले छुन सक्छ
न मैले छोएको पानी चल्छ
म त सानो जात
सानै मेरो काम
दलित हुँ म
इज्जतको सिकारी
सिकार खेल्न हिँडेको ।

दलित हुँ म
तिरस्कृत समाजको गहिराई
बाँजो खेत, आकासे पानीबाट हुने भरपाई
टिपेर ल्याउँथे मोती म नि
खोल्दिए नालाको पानी, सामन्तको रजाइ

जति मिहिनेत गरे नि घृणा, अपहेलितको पात्र
दलित हुँ म
पहुँच बाहिरको
न कसैले छुन सक्छ
न मैले छोएको पानी चल्छ

म सधैँ दलित नै रहन्छु
सूर्योदय हुन्न यावत् एक नासको
मेरो शिल्प, मेरो कला, मन्दिर भित्रको सौन्दर्य
मेरो कलाको पूजा, मेरो अपहेलना
अनेकौँ त्रास बीचको तिर्सना
छुवाछुत, जात, दलित कसको हो यो सिर्जना ?

दलित हुँ म
पहुँच बाहिरको
न कसैले छुन सक्छ
न मैले छोएको पानी चल्छ

सायद अपहेलना
तिरस्कार मेरो जन्मसिद्ध अधिकार
खस्रो अन्डकोस बनी
हुर्केको अपहेलित गुडको छानो
न चन्दन को वृक्ष नै हुँ म
न कहिले थिएँ कलिका
अपहेलित सदैव आभास चिन्तन
ओइ, परै बस् दुर्गन्धित छस् भन्छन् ।

सायद गुरु रविदासको शिक्षा बञ्चित थियो
दलित हुँ म
पहुँच बाहिरको
पीडा दलितको
सृजनात्मक रचना कवि कवीरको
मेरो पहुँच बाहिरको ?

दलित हुँ म
साधु तुकाराम महाराज
ब्राह्मण गुरु मेरा शिष्य
ढोगी पिउँथे पानी पैतालाको मानी सुद्ध

दलित हुँ म,
सातौँ शताब्दीको नन्दन र
शिव मानेर पुज्छन् मलाई

मन्दिर तिरुपुन्कुरको
पण्डित,ब्रह्मिन सबै जात मेरो पैतालाको
भगवान मानी  पुज्छन् मलाई

म स्वामी हुँ ती सबैको

दलित हुँ म
अपहेलित छु
पहुँच बाहिरको
सोच एउटा रोग मेरो
कर्म हो विजय भोग
सानो ठूलो हुन्न कोही
ज्ञान सिद्द प्राप्ति अनुपम सोच
जीत इज्जत प्राप्ति
कर्म असल फल भोग

दलित हुँ म