मेरो र उसको घर नजिकै थियो । पुस्तौंपुस्तादेखि सँगै, जुम्लादेखि नै ।

हामी पनि सँगै खेल्थ्यौँ । मभन्दा तीन वर्ष जेठी थिई ऊ । मभन्दा बाठी थिई । हामीलाई कुन जात ठूलो, कुन सानो ? थाहा नै थिएन । उसको घरमा गएर म खाना खान्थेँ । आमाले  भन्नुहुन्थ्यो, “कर्म नचलुन्जेल खाँदा  केही फरक पर्दैन  ।” कसैले त्यो घरमा मासु खायो भनेर कसैले सुनाइदिँदा आमाले “धातुरोग थियो, सेतो पिसाब गर्थ्यो, अब ठीक  हुन्छ भनेर जवाफ दिनुहुन्थ्यो ।

बाल बिन्दासका थिए ती दिनहरू। दिनहरू उकालिँदै थिए । जवानी चढ्दै थियो । हामी छिप्पिदै थियौँ ।

चन्द्र कटवाल

गाउँमा मानिसहरूको आवात-जावत हुन थाल्यो । हल्ला आउन थाल्योः

उनीहरू त घर नागिदिन्छन् रे !

बुटमा स्प्रिङ लगाका हुन्छन् रे !

राजनीतिकर्मी हुन् रे !

म यस्ता उम्दा मान्छेसँग भेट्न आतुर थिएँ । एकदिन राति उस्कै घरमा आएछन् । सबै समान हौँ भन्ने कुरा  ‘प्राक्टिकल्ली’ देखाएछन्, “म कम्रेड पहाड। हेर्नोस् जनै लगाको ! खाना हाल्नुहोस्, खान्छु !”

मजस्ता केटाकेटीबाहेक अरूले खाना त परै जावस्, पानी पनि पिएका थिएनन् उसको घरमा  ।

गाइँगुइँती हल्ला फैलियो,  ऊ पनि कम्रेड भै’छ । मनमा अनेकौं कुरा खेले । म पनि कम्रेड हुन्छु । ऊ आओस् मात्र !  म शनिबारको बाटो हेरिरहन्थेँ  ।

छुट्टीमा म ऊसँग बाख्रा चराउन जान्थेँ । तर अब शनिबार नै खल्लो लाग्न थाल्यो ।  एकदिन एक्कासि एक हुलसँग स्कूलमा आई  हेडसरतिर हेरेर भनी,  “अब स्कूल बन्द गर्नु पर्छ।”

हेड सर थर्थर हुनुभो,  “तिमीहरू ठूलो जातकाले हामीलाई दबाएका छौ । तिमीहरू सामन्ती शोषक हौ । अब समानता बन्दुकको नालबाट लिनुपर्छ ।”   म अक्कनबक्क भएँ ।

स्कूल त पढेको थिएँ, तर यस्ता कुरा  पर्घेल्न सक्ने भएको थिइनँ ।  ऊसँग कति कुरा सोध्न मन थियो । सब चकनाचुर भयो । मलाई जातदेखि  रिस उठ्यो, म उसको जातको हुनुपर्ने कि ऊ मेरो जातको ?

पहिले निकै केयर गर्थी  । उसले सानो चक्कु भिरेकी थिई । मलाई पनि चक्कु भिर्न निकै मन थियो । उनीहरू पल्लो गाउँ लागे । हामी घर आयौं ।

गाउँमा खैलाबैला मच्चियो ।  बिहान आमाले भर्खर ठेकीमा दहीहालेर मदानी घुमाउदै हुनुहुन्थ्यो,  एक्कासि ऊ आई दलबलसहित ।  आमाले भन्नु’भो, “कान्छी  ! त्यहाँ बाहिर बस्, म आउँछु।”

“कान्छी हैन, कम्रेड भन्नुहोस्,”  ऊ कड्की । आमा चुइँक्क बोल्नु भएन । ऊ सरासर आमा भएको ठाँउमा गई।

मदानी समातेर घन्किघन मोही पार्न लागी । मतिर हेरेर थर्काउदै भनी, “म पहिले अरूले कुखुरा काटेको हेर्न डराउने, अहिले मान्छे काट्न डराउँदिन ।” मिसन कम्पिलिट । उनीहरू त्यहाँबाट गए ।

आमाले गालामा हात राखेर भन्नुभयो, “यस्तो कसले बनाए छ ? यो उही बम्मकली  हो त ? कति मायालु थिई, जंगलीमुसा पसेपछि घरमुसाको सत्यानास !”

म सानै थिएँ । उसका आमा-बाबु निकै मद्दत गर्थे । उसका बाले बारी जोत्न सघाँउथे ।  त्यसको पर्म फर्काउन मेरी आमा उनीहरूको मकै गोड्न, धान रोप्न जानुहुन्थ्यो ।  कहिलेकाहीँ यो वर्षको पर्म अर्को वर्ष तिर्नु पर्थ्यो ।

असारमा राम्रोसँग रोपाई भएन भने खान पुग्थेन । आमाले माइत गएर  पिठो ल्याउनुपर्ने स्थिति थियो । हाम्रो भन्दा उनीहरूकै खेतबारी ज्यादा थियो । तर हामी सामन्ती भयौँ |

स्कूल बन्द भयो । म पनि सिपाही भएँ । खेत बारी बाँझै रह्यो ।  उनीहरूको र हाम्रो परिवारमा आउजाउ बन्द भयो ।  जातिको तगारो लगाए ।  धेरै समयपछि म गाउँमा गएँ । पहिलेको सामाजिक सम्बन्ध पातलिँदै गएछन् । हिजोको नाताहरूको सट्टा आज तल्ला जात र उपल्लो जात भनेर झन् गहिरो जातिबाद र घृणा रोपेछन् ।  जेठाबाले भन्नुहुन्थ्यो, “बाबै ! यो राजनीतिले फुटाउँछ”  । हो रहेछ, आजकल हरेक सम्बन्धहरू राजनीतिको आधारमा निर्धारित रहेछन् ।   मानिसहरू सदरमुकामतिर सरेछन् । एउटा भने निकै आलिसान बंगला बनाएका रहेछ बाटैमा ।  गेटसहितको । म यो गाउँका सबैलाई चिन्थें । तर त्यो बंगला लोकलको थिएन ।

रोडबाट मेरो घरभन्दा पहिला उसको घर आउथ्यो । सुनेको थिएँ, ऊ लडाईंबाट घाइते भएकी छे । उसका बाबुको  देहान्त भैसक्यो । दाजुभाइहरू सुर्खेत सरिसके ।  घरैभरि झिङ्गा भन्केका । पहिलेको सफासुगर हुने घर एकछिन पनि बस्न नसकिने हालत । भुइँमा पल्टिरहेकी । बोल्न खोज्ने, बोली नबुझिने ।  लडाइँमा गोली लागेको  प्यारालासिस  भाको छ ।

“यिं भान्ज, नआउदो क्या आयो । हामीकन यस्तै बनाइदियो । भाइभाइ लडाई दियो । हामीकन पहिला भन्ना मस्तै दु:ख छन् । क्या बिष्ट, क्या हामी, सबै मिलेका छियौं, बसेका छियौं । ध्यौको बैरीका आखाँ लाग्या । तिनीहरूको कहिल्यै भलो नहोस् । सिरान महाबै छन्, गोणेन मस्ट छन् ।”

आखाभरि आँसु ल्याएर धरधरी रोइन् । मेरा पनि आँखा रसाए ।  उनले पकाएको  कति पटक खाएको थिएँ । मैले त अझै पनि कर्म चलाएको छैन, त्यही हातको खान पाउँछु भनेर ।

मैले सोधेँ,  “माइजू, त्यो बाटोको ठूलो घर कसको हो नि  ? भयङ्करको छ |”

“कम्रेड पहाडको हो । ह्वाँको काडमाण्डौमा पनि घर छ । छोराछोरी अमरिका पढ्नुहुन्छ । म पनि ह्वाँकै घरमा काम गर्छु । त्यसैले खान-पिउनु गुजारा चलेको छ |”

“ए ए, मलाई पनि याद आयो । उहाँको नाम त चर्चित छ । सबैभन्दा पहिले हाम्रो गाउँमा आउने अनि यो बम्मकलीलाई पार्टीमा लैजाने पनि उहाँ नै हो नि है !”

“हो -हो भान्जा, हो ।”

हो त रहेछ कति समानता भैसकेछ । बम्मकलीले मुख उघारेर हेरेँ । आँखाबाट आँसुको बलिन्द्रधारा बगेको थियो ।

म भारी मन लिएर त्यहाँबाट घरतिर लागेँ ।

भोलिपल्ट  गाउँमा कार्यक्रम रहेछ । एकहुल बडीगार्डसहित कम्रेड पहाड गाउँमा आए । मानिसहरू जम्मा भए ।

“हाम्रो बलिदानीले प्राप्त भएको उपलब्धि अझै पनि गुम्ने खतरा छ । अझै पनि सामन्तिहरू सलबलाउन खोज्दैछन् । उपल्लो जात भन्नेहरूका ठाउको काट्नु पर्छ ।  हामी एकै जात ।”

अस्ति गाउँमा एकजनाले मान्छे मार्दा पनि उनको पार्टीको भनेर जोगाएका रहेछन् कम्रेडले । त्यसैले उनको डर सबैले मान्दा रहेछन् । उनले  आफ्नो  गार्डसँग सोधे,  “वई, त्यो पानी ल्याएर आउने कुन जातकी  हो ?”,  गार्डेले खानेखुसी गर्दै खुस्खुसायो । उनीहरू पानी नपिएर गए ।

फेरि अर्को टोली आयो | उहाँहरू पनि सिधै त्यही बस्तीमा गए ।  सुकिलामुकिला कपडा लगाएका  भन्न थाले,  “आमा, हामी हजुरहरूकै लागि काम गर्न आएको । हजुरहरू हेपिनु भएको छ, चेपिनु भएको छ ।  हामी समानता एनजीओबाट आएका ।”

पहिलेको झल्कोले गर्दा यिनीहरूलाई रेस्पोन्स गरेनन् । कुनै काम गर्न पनि दिएनन् ।  यिनीहरूले  पनि एनजीओ, हाम जिओ, तुम जिओ, भनेर फेरि उचाल्ने र पछार्ने त होलान्, है ?

यो सबै दृष्यावलोकन गर्दै म अगाडि बढ्दै थिएँ  । मेरा नजर  कम्रेड पहाडको  कम्पाउन्डमा रहेको एउटा बोर्डमा  गएर टक्क रोकिए ।  त्यसमा लेखिएको  थियो,  “अल आर इक्वेल” । तर त्यसको मुनि  सानो अक्षरमा लेखेको रहेछ, नजिकै गएर ध्यान दिएर हेरेँ, “सम आर मोर ईक्वल द्यान अदर।”  जर्ज वरेल