अद्वैत वेदान्तको एउटा महत्त्वपूर्ण ग्रन्थ हो अष्टाबक्र गीता । यसमा अष्टाबक्रको वर्णन छ । नेपाली बृहत् शब्दकोशअनुसार वेदान्त भन्नाले षड्दर्शनमध्ये अद्वैतवादको वर्णन गरिएको एउटा दर्शन हो । ब्रह्म सत्य, जगत् सबै मिथ्या भन्ने दर्शन अद्वैतवाद हो । अर्को अर्थमा आत्मा, परमात्मा र जगतसम्बन्धी वैदिक मान्यताको प्रतिपादन गर्ने उपनिषद् र आरण्यक आदि वेदको अन्तिम भाग, वेदको निचोड पनि अद्वैतवाद नै हो ।
अद्वैतवादको यति कुरा किन उल्लेख गरिएको हो भने अष्टाबक्र गीता यसको एउटा भाग हो । तसर्थ, अष्टाबक्रको थालनी गर्नुभन्दा पहिला अष्टाबक्र गीता जान्नु जरुरी छ । यसमा अष्टाबक्रसम्बन्धी सबै तथ्यहरू पाइन्छ । अष्टाबक्र भन्नाले आठ ठाउँमा बाङ्गिएको वस्तु हो तर यो कथा अष्टाबक्र गीतामा वर्णित आठ ठाउँमा बाङ्गिएका ऋषि अष्टाबक्रको हो ।

अष्टाबक्रकाे काल्पनिक तस्बिर
वैदिक साहित्यमा ऋषि उद्दालक एक चर्चित ऋषि हुन् । उनका छोरा श्वेतकेतु र छोरी सुजाता थिए । ऋषि उद्दालकका धेरै चेलाहरूमध्ये एक चेलाको नाम कहोड थियो । वेद वाचन र वेद अध्ययनमा कहोडको विशेष चाख थियो । उनी दैनिक बिहान बेलुका नै वेद पाठ गर्ने गर्दथे । यो उनको नियमित कर्म थियो । ऋषि उद्दालकले आफ्ना चेला कहोडलाई वेदको सम्पूर्ण ज्ञान दिए । कहोडलाई वेदको सम्पूर्ण ज्ञान दिएर ऋषि उद्दालक विश्राम लिन चाहन्थे । यसर्थ, उनले आफ्नी छोरी सुजाताको कन्यादान पनि कहोडसँग नै गरिदिए ।
गुरु उद्दालकबाट कन्यादान लिएपछि कहोड पनि घरजम गरी बसे । वेद पाठ उनको दिनचर्या नै थियो । रहँदाबस्दा सुजाता गर्भवती भइन् । जसै सुजाताको पेटमा बच्चा हुर्कंदै गयो, गर्भे बच्चाले आफ्नो पिता कहोडले गरेको वेद पाठ सुनेर नै अध्ययन गर्न थाल्यो । एक दिन सधैँ जस्तै कहोड वेद पाठ गरिरहेको बेला सुजाताको पेटबाट गर्भे बच्चा बोल्यो, “पिताजी, तपाईंले वेदवाचन गरिरहँदा शब्दोच्चारणमा गल्ती गरिरहनुभएको छ ।”
जन्मँदै नजन्मिएको बालकले पेटभित्रबाटै आफ्नो पठन-उच्चारणमा गल्ती भएको आरोप सुनेर रिसाउँदै कहोडले भने, “तँ जन्मँदा अष्टबक्र भएर जन्म लिनेछस् ।” पिताजीले नजन्मँदै पुत्रलाई श्राप दिए । त्यसपछि उनको नाम नै अष्टाबक्र रहन गयो । पिताजीले गर्भमै श्राप दिए तापनि अष्टाबक्र पिताजीसँग रिसाएनन् । कहोडले दैनिक पढ्ने वेद भने उनले दैनिकै सुनिरहे ।
००००
कहोडको शास्त्रार्थमा पराजय
त्यस बेला जनकपुरको मिथिलामा राजा जनकको दरबारमा खुब शास्त्रार्थ हुन्थ्यो । यस्तो शास्त्रार्थ राजा जनककै अगुवाइमा हुन्थ्यो । वैदिक साहित्यमा मिथिलाबाहेक यस्तो शास्त्रार्थ थलोको चर्चा कतै पाइँदैन । यसर्थ, मिथिलामा देश-विदेशबाट अनेक शिष्य, गुरु, शास्त्री, आचार्यलगायत वेदज्ञहरूको शास्त्रार्थका लागि सधैँ जमघट हुन्थ्यो । जसले अब्बल शास्त्रार्थ गर्छ र सबैलाई परास्त गर्दछ, उसले दुवै सिङमा दश-दश वटा सुनका सिक्का बाँधेका एक हजार गाईहरू पाउँदछ भन्ने सर्त थियो । त्यति बेला जनकको दरबारमा हुने कुनै पनि विद्वत् सभामा अब्बल हुने विद्वानले पाउने पुरस्कार सिङमा सुनजडित गाईहरू नै हुन्थे ।
कहोडलाई परिवार पाल्न केही धनको आवश्यकता थियो । अझ उनमा ऋषि उद्दालकको शिष्य एवम् वेदज्ञ भएको अहङ्कार पनि थियो । त्यसैले, उनी शास्त्रार्थ गर्न भनी मिथिलामा राजा जनकको दरबार गए । त्यस शास्त्रार्थ सम्मेलनमा उनले उपस्थित सम्पूर्ण महिला, सज्जन, विद्वान्, राजा, शास्त्री, आचार्य आदिसँग शास्त्र चर्चा गरी सबैलाई परास्त गरे ।
विजयी भावमा देखिएका ऋषि कहोडका साम्ने त्यहीँ बेला बन्दी नाम गरेका एक आचार्य उपस्थित भए र कहोडलाई शास्त्रार्थ गर्न चुनौती दिए । कहोडले उनको चुनौती स्वीकार गरे । आचार्य बन्दीको सर्त थियो, जो शास्त्रार्थमा पराजित हुन्छ, उसले जलसमाधि लिनुपर्छ । सर्त कडा थियो तर कहोडले सर्त मञ्जुर गरे । कहोड र बन्दीको बीचमा कडा शास्त्रार्थ भयो । अन्तमा, कहोड पराजित भए । जितें भनेको शास्त्रार्थ हार्नुपर्यो । शर्तअनुसार उनले जलसमाधि लिए । उनी तलाउमा डुबेर मरे ।
उताबाट कहोडको मृत्युको खबर आयो । यता कहोडकी पत्नीले अष्टाबक्रलाई जन्म दिइन् । अष्टाबक्र जन्मँदै अत्यन्तै कुरूप थिए । उनको पछाडिको ढाड बाङ्गो थियो । शरीर, घाँटी र टाउको तीनतिर भए जस्तो थियो । हात खुट्टा र औँलाहरू बाङ्गा थिए । एउटा शरीर आठ ठाउँमा बाङ्गिएका थियो । हेर्दै विद्रूप देखिने अष्टाबक्र जन्मँदै पिताको काखबाट पनि वञ्चित हुनुपर्यो ।
रूपहीन, हेर्दै घिनलाग्दो भएर जन्मिएका अष्टाबक्रले मावलीपट्टिका हजुरबुबा उद्दालकलाई पिता मानेका थिए । उनले मामा श्वेतकेतुलाई दाजु सरह माने तर कुरूप अष्टाबक्रलाई श्वेतकेतु घृणा गर्थे र उनको विद्वताको ईर्ष्या पनि गर्थे । एक दिन अष्टाबक्र हजुरबुबा उद्दालकको काखमा बसेका बेला श्वेतकेतुले उनलाई पिताको काखबाट ठेलेर निकाले । उनले अष्टाबक्रलाई भने, “यो तिम्रो बुबाको काख होइन, मेरो बुबाको काख हो ।” दाइ ठानेका मामाले यसरी आफ्नो अपमान गर्छन् भन्ने उनलाई कहिल्यै लागेको थिएन । आफ्ना पिताको काख रित्तो भएपछि नाताभित्रकै काखको अधिकारी अरू नै कोही हुँदो रहेछ भन्ने कुरा पनि अष्टाबक्रले बुझे ।
श्वेतकेतुले अपमान गरेपछि अष्टाबक्रलाई आफ्ना पिताको खोज गर्ने विचार आयो र गएर आमा सुजातालाई सोधे, “माता जी, मेरो पिता कहाँ हुनुहुन्छ ? उहाँको बारेमा भन्नुहोस् न ।” यतिका समयसम्म लुकाएर राखेको कुरा अष्टाबक्रले सोध्लान् भनेर सुजाताले कल्पनै गरेकी थिइनन् तर उनले सोधेरै छोडे । सुजाताले अष्टाबक्रलाई उसका पिताको सबै इतिहास बताइदिइन् । यतिबेला अष्टाबक्र १२ वर्षका भइसकेका थिए ।
००००
अष्टाबक्र शास्त्रार्थका लागि मिथिला प्रस्थान
मिथिला नगरका शास्त्रार्थी आचार्य बन्दीका कारण आफ्ना पिताको मृत्यु भएको बुझेर अष्टाबक्रले बन्दीसँग गएर शास्त्रार्थ गर्ने निर्णय गरे । अष्टाबक्र शास्त्रार्थमा आचार्य बन्दीलाई परास्त गरी पिताको मृत्युको बदला लिन चाहन्थे । यसको लागि अष्टाबक्रले आफ्नी आमालाई साक्षी राखेर बन्दीसँग शास्त्रार्थ गर्ने विचार गरी मामा श्वेतकेतुसमेतलाई लिएर जनक राजाको दरबार गए ।
शास्त्रार्थ सम्मेलनको मूल ढोकामा पुगेपछि द्वारपालले अष्टाबक्रलाई रोके र भने, “बालकहरूलाई यहाँभित्र पस्न मनाही छ ।” त्यस बेला अष्टाबक्र १२ वर्षका मात्र थिए । अष्टाबक्रले द्वारपाललाई जवाफमा भने, “हे द्वारपाल, कसैको कपाल फुलेको छ वा उमेरले वृद्ध देखिन्छ भने त्यो मात्र विद्वान् हुन्छ भन्ने तथ्य सही हुँदैन । जसको बुद्धि तीव्र छ र जो वेदज्ञ छ, ऊ मात्र महान् हो ।”
“बालक सम्झेको त वेदको कुरा गर्छ ।” छक्क पर्दै द्वारपालले अष्टाबक्रलाई ढोका खोलिदिए ।
राजसभामा अष्टाबक्रको अपमान
अष्टाबक्र राजाको सभा हलभित्र पस्ने बित्तिकै आचार्य बन्दीलाई शास्त्रार्थका लागि चुनौती दिए । एउटा कुरूप बालकले शास्त्रार्थमा बन्दीलाई हाँक दिएको देखेर राजा जनकले पत्याएनन् । सभाहलमा भएका सबै विद्वानहरू उनको कुरूप शरीर देखेर हाँस्न थाले । राजा पनि बालकको शरीर देखेर हाँस्न थाले । राजालगायत उपस्थित सबै व्यक्तिहरू हाँसेको देखेर अष्टाबक्र पनि खित्का छोडेर हाँस्न थाले । अष्टाबक्र हाँसेको देखेर राजालाई आश्चर्य लाग्यो ।
उनले अष्टाबक्रलाई सोधे, “सबै किन हाँसिरहेका छन्, म बुझ्न सक्छु तर तिमी स्वयम् चाहिँ किन हाँसिरहेका छौं ?”
अष्टाबक्रले भने, “महाराज ! म तपाईं लगायत सबै अज्ञानीहरूलाई देखेर हाँसको हुँ ।”
अष्टाबक्रको जवाफ सुनेर सभाहल चकमन्न भयो ।
राजाले सोधे, “अज्ञानी”, अर्थात् ?”
अष्टाबक्रले जवाफ दिए, “हो, अज्ञानी । अज्ञानीहरूले कसरी न्याय गर्न सक्छन् ? यिनीहरू सबै मेरो बाह्य रूप र टेढो शरीर देखेर हाँसिरहेका छन् । मेरो बाहिरी टेढो र अपाङ्ग शरीर देख्नेहरूले मभित्रको साङ्ग व्यक्तिलाई कसरी देख्छन् ? हे राजन, जसरी माटाको गाग्रो फुट्दा आकाश फुट्दैन; घरको दलिन बाङ्गो हुँदा आकाश बाङ्गो हुँदैन; त्यसैगरी मेरो शरीर टेढो हुँदा म टेढो हुन्न । यो सत्य नबुझ्ने तपाईंहरू अज्ञानी नभएर को हो त ?”
राजालाई लागिरहेको थियो, यत्रो ठूलो शास्त्रार्थ गर्न सामर्थ्य राख्ने राजा हुँ म । यति विघ्न सुन सिङमा बाँधी गाईहरू पुरस्कार बाँड्न सक्ने राजा हुँ म । यत्रो ख्याति, समृद्धि, चर्चा र वैभव भएको राजा हुँ म, तर अष्टाबक्रको एकै प्रहारले मेरो शान क्षणभङ्गुर गराइदियो । म अज्ञानी रहेछु । मलाई यस बालकले कङ्गाल बनाइदियो । राजा जनक त्यो दिन विचलित एवम् अस्थिर रहे ।
राजालाई ठूलो पश्चात्ताप भयो । उनले अष्टाबक्रसँग भोलि सभामा भेट्ने गरी विदा भए । राजा जनकलाई रातभर निद्रा लागेन । अष्टाबक्रको छाया उनको चेतनामा झुल्किरह्यो । यो सामान्य बालक होइन, यसमा केही क्षमता छ । बिहानीपख राजा बाहिर घुम्न निस्किए ।
अष्टाबक्र बाहिर खेलिरहेको देखेर राजा उनीसँग झुकेर भने, “हे महात्मा, म अज्ञानी रहेछु । मलाई ज्ञान दिनुहोस् ।”
राजाको कुरा सुनेर अष्टाबक्रले भने, “हे महाराज, अज्ञानी छु भन्ने कुराको ज्ञान हुनु नै ज्ञानको सुरुआत हो ।”
यसपछि राजा र अष्टाबक्रका बीचमा तत्क्षण लामो संवाद भयो । त्यस संवादमा जीवन र जगतसँग सम्बन्धित थुप्रै प्रश्नोत्तरहरू समावेश छन् ।
(द्रष्टव्यः अष्टाबक्र र राजाका बीचमा भएको यो सम्पूर्ण संवाद अष्टाबक्र गीतामा उल्लेख छ । अष्टाबक्र गीता १२ अध्यायमा विभाजित छ । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने महाभारतमा श्रीकृष्ण र अर्जुनका बीचको प्रश्नोत्तरले भागवत् गीताको जन्म भयो । महाभारतकालीन समयपश्चात् जनकपुर, मिथिलामा याज्ञवल्क्य र गार्गी बीचको प्रश्नोत्तरले बृहदारण्यक उपनिषद्मा ऋचाको निर्माण भयो । त्यसै गरी, यही जनकपुर, मिथिलामा अष्टाबक्र र राजा जनकका बीचको संवादले अष्टाबक्र गीताको जन्म भयो ।)
००००
राजा जनकसँग अष्टाबक्रको प्रारम्भिक सवाल जवाफ
दिउँसो राजसभा हलमा सबै जना उपस्थित भइसकेका थिए । अष्टाबक्र पनि सभाहलमा प्रवेश गरे । आचार्य बन्दीसँग सवालजवाफ गर्नुभन्दा पहिले राजाका प्रश्नहरूको उत्तर दिनुपर्ने नियम थियो । अष्टाबक्रको क्षमतालाई राजाले त बिहानै चिनिसकेका थिए तथापि राजसभामा अरू विद्वत् वर्गका लागि औपचारिक प्रश्नहरू सोधी नियम पूरा गर्नुपर्ने थियो । एक हिसाबले भन्ने हो भने आचार्य बन्दीसँग प्रश्नोत्तरका लागि सभाहलमा राजाले अष्टाबक्रसँग प्रवेश परीक्षा लिए । यहाँ पनि अष्टाबक्र र राजाका बीचमा विविध विषयमा प्रश्नोत्तर चल्यो ।
राजाले सोधे, “हे अष्टाबक्र ! ३० अवयव, १२ अंश, २४ पर्व, ६ ऋतु र ३६० अक्षरका वस्तुको ज्ञान हुने व्यक्ति को हो ?”
राजाको प्रश्न सुनेर अष्टाबक्रले सहजै जवाफ दिए, “हे महाराज ! ३० अवयव, १२ महिना, २४ पर्व, ६ ऋतु र ३६० दिन भएका संवत्सरले तपाईंको कल्याण गरून् ।” राजाको पहिलो प्रश्नमै परास्त हुन्छन् भन्ने ठानिएका बालक अष्टाबक्रको सहज उत्तर सुनेर सभाहल आश्चर्यचकित भयो ।
राजाले फेरि प्रश्न सोधे, “निद्रामा पनि आँखा नचिम्लने को हो ?”
अष्टाबक्रले जवाफ दिए, “निद्रामा पनि आँखा खुला राख्ने जीव माछा हो ।”
राजाले तेस्रो प्रश्न सोधे, “जन्म लिएर पनि चल्न नसक्ने को हो ?”
अष्टाबक्रले जवाफ दिए, “जन्म लिएर पनि चल्न नसक्ने अण्डा हो ।”
चौथो प्रश्न राजा जनकले राखे, “हृदयहीन रहने को हो ?”
“हृदयविहीन रहने ढुङ्गा हो ।” अष्टाबक्रले जवाफ दिए ।
राजाले पाँचौँ प्रश्न सोधे, “सबैभन्दा छिटो बग्ने के हो ?”
अष्टाबक्रले ढिलो नगरी जवाफ दिए, “सबैभन्दा छिटो बग्ने नदी हो ।”
यसरी, राजाद्वारा सोधिएका सबै परीक्षण प्रश्नहरूको सही उत्तर दिएर प्रवेशिका पास गरेपछि राजा जनकले आचार्य बन्दीसँग शास्त्रार्थ गर्न अष्टाबक्रलाई अनुमति दिए ।
आचार्य बन्दीसँग अष्टाबक्रको पहिलो शास्त्रार्थ
अष्टाबक्रलाई एक आसनमा राखियो भने त्यसको सम्मुखको आसनमा आचार्य बन्दीलाई राखियो । यी दुईको शास्त्रार्थको पहिलो नियम थियो- पहिलो प्रश्न सोध्नेले व्यक्त गरेको एक सङ्ख्यात्मक श्लोकको जवाफमा दोस्रोले दुई सङ्ख्यात्मक श्लोक भन्नुपर्ने र फेरि त्यसपछि तेस्रो, चौथो, पाँचौँ हुँदै बढ्दो सङ्ख्यात्मक श्लोक हुँदै जानुपर्ने थियो (नोट: श्लोकमा प्रश्न सोध्ने भनिए पनि यहाँ गद्यमा प्रश्नहरू राखिएको छ ।) दोस्रो नियम थियो- शास्त्रार्थमा जसले हार्छ, उसले जलसमाधि लिनुपर्ने पुरानै नियम थियो ।
पहिलो प्रश्न कसले गर्ने भनेर एक मुद्राको दुई पाटा दुवैलाई रोज्न लगाएर हावामा घुमाई भुईंमा झारियो । यसका आधारमा पहिलो प्रश्न सोध्ने पालो आचार्य बन्दीले पाए । उनले पहिलो सङ्ख्यात्मक श्लोकमा भने, “एक सूर्यले संसारलाई उज्यालो दिन्छ, देवराज इन्द्र पनि एक वीर र यमराज पनि एक हुन् ।”
अष्टाबक्रले द्वि-सङ्ख्यात्मक श्लोक भने, “इन्द्र र अग्निदेवता दुई देवता हुन् । नारद र पर्वत पनि दुई देवर्षि हुन् । अश्विनी कुमार पनि दुई हुन् । रथमा दुई पाङ्ग्रा हुन्छन् र श्रीमान् श्रीमती पनि एक जीवनका दुई गति हुन् ।”
बन्दीले भने, “संसार तीन प्रकारले जन्मन्छ । कर्म तीन वेदद्वारा प्रतिपादन गरिएको छ । यज्ञ तीनै कालमा गरिन्छ र त्यहाँ तीन लोक र तीन ज्योति हुन्छन् ।”
अष्टाबक्रले थपे, “चार आश्रम, चार वर्ण, चार दिशा र ओंकार, आकार, उकार र मकर चार वाणी रहेको छ ।”
बन्दीले अगाडि भने, “पाँच यज्ञ, पाँच अग्नि, पाँच इन्द्रिय, पाँच दिशाका पाँच अप्सरा, पाँच पवित्र नदी र पङ्क्ति श्लोकमा पाँच श्लोक हुन्छन् ।”
अष्टाबक्रले भने, “६ वटा गाईलाई दक्षिणा दिनु राम्रो, ६ वटा ऋतु छन्, मनसहित ६ इन्द्रिय छन्, ६ कर्म छन् र ६ वटा साधक छन् ।”
बन्दीले सात सङ्ख्याको श्लोक भने, “सात वटा उत्तम घरेलु जनावर छन्, सात जङ्गली जनावर पनि उत्तम छन्, सात सिद्ध पदहरू छन्, सात ऋषिहरू छन् र वीणामा सात वटा तारहरू हुन्छन् ।”
अष्टाबक्र बोले, “आठ वसु छन् । यज्ञमा स्तम्भ कोणको सङ्ख्या पनि आठ नै हुन्छ ।
बन्दी अगाडि बढे, “पितृयज्ञमा नौ समिधा रहेका, प्रकृति नौ प्रकारका रहेका, ठूलो श्लोकमा नौ अक्षर मात्र रहेका हुन्छन् ।”
अष्टाबक्रले पालोमा भने, “दश दिशाहरू छन्, दश दिक्पाल छन्, दश दार्शनिक छन्, दश महिनामा एउटा बच्चा जन्मन्छ र दशमा दश मात्र हुन्छ ।
बन्दीको पालो आयो, “यज्ञमा एघार रुद्र, एघार स्तम्भ र पशुमा एघार इन्द्रिय हुन्छन् ।”
अष्टबक्र नरोकिई बोले, “१२ आदित्य छन्, १२ दिनको प्रकृति यज्ञ हुन्छ, १२ अक्षरको जगती छन्द हुन्छ र १२ महिनाको १ वर्ष हुन्छ ।
बन्दीले अगाडि भने, “त्रयोदशी सिद्ध छन्, पृथ्वीमा तेह्रवटा टापु छन्, …।” यति भन्दैमा बन्दीले अगाडिको श्लोक बिर्सिए र निःशब्द भई चुप लागे ।
चुप लागेका बन्दीलाई अष्टाबक्रले ‘भन्नुहोस् भन्नुहोस्’ भनी समय दिए तर बन्दी पूर्ण रूपमा रोकिए ।
श्लोक बिर्सिएर अबरुद्ध भएका बन्दीको श्लोक अष्टाबक्रले पूरा गरिदिए, “त्रयोदशी सिद्ध छन्, पृथ्वीमा तेह्रवटा टापु छन्,
वेदमा तेह्र अक्षर भएको श्लोकलाई अति श्लोक भनिएको छ; तेह्रौँ दिनको यज्ञमा अग्नि, वायु र सूर्य तीनवटै समाहित हुन्छन् ।”
समय दिँदा पनि बन्दी बोल्न नसकेपछि आधारभूत रूपमा बन्दीको पराजय भयो । यसरी शास्त्रार्थमा बन्दीको पराजय भएपछि अष्टाबक्रले राजातर्फ हेर्दै भने, “महाराज ! शास्त्रार्थमा मेरो विजय भएको छ । मैले बन्दीलाई पराजय गरेको छु ।”
राजाले आचार्य बन्दीलाई सोधे, “हे आचार्य, तपाईं आफ्नो पराजय स्वीकार गर्नुहुन्छ ?”
आचार्य बन्दीले स्वीकृतिमा टाउको हल्लाए । बन्दीले हार स्वीकार गरेपछि अष्टाबक्रले अगाडि भने, “पराजय स्वीकार गरिसकेपछि पनि यदि बन्दी मसँग अरू विषयमा शास्त्रार्थ गर्न चाहन्छन् भने मौका दिनेछु ।”
आचार्य बन्दीले प्राप्त मौका स्वीकार गरे ।
अष्टाबक्रसँग र आचार्य बन्दीको दोस्रो शास्त्रार्थ
पहिलो प्रश्न बन्दीले नै सोधे, “प्रपञ्च भनेको के हो ?”
अष्टाबक्रले उत्तर दिए, “यो जो छ र जो देखिन्छ यो सबै प्रपञ्च हो ।”
अष्टाबक्रले सोधे, “जो देखिन्छ, यसको अभिप्राय के हो ?”
बन्दी : “जो देखिन्छ, यो मन र इन्द्रियको विषय हो । म जो स्वयम् जान्दछु त्यही नै दृश्य हो ।”
बन्दी : “जो दृश्य हो उसलाई को जान्दछ ? र स्वयम्लाई कसले देख्छ ?”
अष्टाबक्र : “स्वयम्लाई अथवा आत्मालाई देख्न कसैको सहयोग आवश्यकता हुँदैन । जस्तो कि सूर्यको प्रकाशलाई दियोको जरुरी हुँदैन किनभने सूर्य आफै प्रकाशमय छ ।”
अष्टाबक्र : “यो संसार कहाँबाट कसरी आयो ?”
बन्दी : “यो सृष्टि केवल उसैबाट आयो ।”
बन्दी : “उसैबाट भन्नुको अर्थ के हो ?”
अष्टाबक्र : “त्यो ब्रह्म हो । ऊ ईश्वर हो । उनैले आफ्नो मायाबाट संसारको रचना गरे । त्यस रचनाको पालन गरेका छन् र संहार पनि गर्नेछन् ।”
अष्टाबक्र : “ब्रह्माले यस संसारको सृष्टि, पालन र संहार कसरी गर्छन् ?”
बन्दी : “जसरी माकुराले जाल बनेर सृष्टि गर्दछ, उसैमा विचरण गरेर पालन गर्दछ र त्यसैलाई नष्ट गर्दछ, त्यसरी नै ईश्वरले सृष्टि, पालन र संहार पनि गर्दछन् ।”
बन्दी : “जीव के हो ?”
अष्टाबक्र : “जीव आत्मा हो । यो निर्विकार स्वयम् हो तर अविद्या र अज्ञानको प्रभावमा आएर स्वयम्लाई शरीर र मन ठानेर बस्दछ । यसरी नै, यसले संसारको अनुभव पनि गरिरहेको हुन्छ ।”
अष्टाबक्र : “अविद्या के हो ?”
बन्दी : “अनात्माको आत्मा सम्झनु, निर्विकारको विकारयुक्त सम्झनु र यसै संसारको सत्य सम्झनु नै अविद्या हो ।
बन्दी : विद्या के हो ?”
अष्टाबक्र : “आत्माको ज्ञान नै विद्या हो । यस्तो ज्ञान जसले हामीलाई सारा दुःख, पीडा, बन्धन, अज्ञान, भ्रमात्मक कल्पना आदिबाट मुक्ति दिन्छ, त्यो नै विद्या हो । विद्याले मानिसलाई त्यस्तो दृष्टि दिन्छ जसले स्वयंभित्रको ब्रह्मरूपलाई चिन्न सक्दछ । जसले तेरो र मेरोको भेदबाट मनुष्यलाई छुट्याउँछ ।”
अष्टाबक्र : “ब्रह्मालाई कसरी चिनिन्छ ?”
बन्दी : “ब्रह्माको सही सामाजिक व्यवहार, आध्यात्मिक चिन्तन ध्यानपूर्वक सुन्ने, नित्य अनुभवमाथि विचार गर्ने तथा निष्कर्षमाथि विचार गर्ने तथा समाधिमा पुगेर चिन्न सकिन्छ ।”
बन्दी : “ब्रह्मज्ञानीका लक्षण के हुन् ?”
अष्टाबक्र : “यदि कसैले ब्रह्मलाई जानेको छु भन्ने दाबी गर्छ भने उसले ब्रह्मलाई जानेको हुँदैन किनभने जसले ब्रह्मलाई
जानेको छ, उसमा ब्रह्म जानेको छु भन्ने अहङ्कार नै मेटिएर जान्छ ।”
बन्दी : “के ब्रह्मलाई तर्कले जानिन्छ ?”
अष्टाबक्र : “ब्रह्मलाई तर्कले जानिँदैन तर तर्क ब्रह्मलाई जान्न सहायक हुन्छ ।”
अष्टाबक्र : “के ब्रह्मलाई प्रार्थना र भक्तिले जानिन्छ ?”
बन्दी : “ब्रह्मलाई प्रार्थना र भक्तिले जानिँदैन तर प्रार्थना र भक्ति ब्रह्मलाई जान्न सहायक हुन सक्छन् ।”
बन्दी : “के ब्रह्मलाई योग र मननले जानिन्छ ?”
अष्टाबक्र : “ब्रह्मलाई योग र मननले जानिँदैन तर ब्रह्मलाई जान्न योग र मन सहायक हुन सक्छन् ।”
अष्टाबक्र : “के ब्रह्मलाई धर्मले जानिन्छ ?”
बन्दी : “ब्रह्मलाई धर्मले जानिँदैन तर ब्रह्मलाई जान्न धर्म सहायक हुन सक्छ ।”
बन्दीले अष्टाबक्रको प्रश्नको उत्तर दिएपछि प्रश्न सोध्ने पालो बन्दीको थियो तर प्रश्नोत्तरको यो सिलसिला चलिरहेको बेला “के प्रश्न सोध्ने” भनेर आचार्य बन्दी अल्झिए । उनको मस्तिष्कमा प्रश्नको पोको नै सकियो उनी मौन भए । बन्दी मौन भएको देखेर अष्टाबक्र बोले, “आचार्य बन्दी, सोध्नुहोस् प्रश्न सोध्नुहोस् ।”
आचार्य बन्दी प्रश्नहीन र निरुत्तर भइरहे । अष्टाबक्रले राजातर्फ हेर्दै बोले, “महाराजा, मैले फेरि पनि आचार्य बन्दीलाई शास्त्रार्थमा परास्त गरेँ ।”
राजाले आचार्य बन्दीतर्फ हेर्दै सोधे, “हे आचार्य बन्दी, तपाईं आफ्नो पराजय स्वीकार गर्नुहुन्छ ?”
बन्दीले सबैका अगाडि अष्टाबक्रसँग शास्त्रार्थमा आफ्नो पराजय भएको स्वीकार गरे ।
००००
आफूसँगै रहेकी माता सुजाताले छोराको ज्ञान क्षमताको साक्षी बन्ने सौभाग्य पाइन् । उनले अष्टाबक्रको शिरमा हात राखिन् । अष्टाबक्रले आमालाई प्रणाम गरे । मामा श्वेतकेतुले बल्ल अष्टाबक्रलाई चिने र उनलाई प्रणाम गरे ।
दोस्रो चरणको शास्त्रार्थमा पनि पराजय भएपछि सभाहलमा विजयी अष्टाबक्रको जयजयकार भयो । उनलाई राजा जनक र उपस्थित विद्वत्वर्गले प्रणाम गर्दै फूल मालाले सुशोभित गरे ।
पराजित आचार्य बन्दीले सभाहलमै घोषणा गरे, “मेरो पराजय भएकोले सर्तअनुसार मैले जलसमाधि लिनुपर्छ । यसका लागि म तयार छु ।”
आचार्य बन्दीको कुरा सुनेर अष्टाबक्रले भने, “आचार्य बन्दी, म तपाईंलाई जलसमाधि दिन आएको होइन । तपाईंको अहङ्कार र शास्त्रार्थमा पराजित हुनेले जलसमाधि लिनुपर्ने तपाईंले चलाएको कुप्रथाले कति जना निर्दोष व्यक्तिहरूले जीवन गुमाउनुपरेको छ । तपाईंलाई सम्झना हुनुपर्छ ऋषि कहोड जसलाई तपाईंले जलसमाधि दिनुभयो; म उनै ऋषि कहोडको पुत्र हुँ । हो, यदि मैले चाहेँ भने तपाईंलाई जलसमाधि दिन सक्छु तर म यस्तो प्रतिशोधपूर्ण कार्य गर्नेछैन । म तपाईंलाई क्षमा गर्दछु । क्षमा नै मेरो प्रतिशोध हो ।”
अष्टाबक्रको कुरा सुनेर आचार्य बन्दीले भने, “हे बालज्ञानी अष्टाबक्र ! तपाईंले मलाई क्षमा दिएर जलसमाधिभन्दा ठूलो दण्ड दिनुभयो । म ऋषि कहोडलाई जान्दछु । मेरो कर्मप्रति म लज्जित छु । म पापी हुँ । मैले धेरै पाप गरेको छु ।”
अष्टाबक्रले भने, “पश्चाताप् नै सबैभन्दा ठूलो आगो हो । केही कालसम्म पश्चातापकाे आगोमा जलेर तपाईं पवित्र बन्नुहुनेछ । तपाईंको प्रायश्चित पनि त्यही हो । शास्त्रलाई शस्त्र नबनाउनुहोस् । शास्त्रले जीवनको विकास गर्दछ भने शस्त्रले विनाश गर्दछ । हिंसाले सहिष्णुता ल्याउँदैन, केवल प्रतिशोध र घृणा फैलाउँछ । यी जून, तारा, हिमाल, नदीहरू जति पुराना छन्, हिंसाले कहिल्यै जितेको छैन भन्ने सत्य पनि त्यति नै पुरानो छ ।”
अष्टाबक्रको कुरा सुनेर दरबारको सभाहल गड्गडाहट तालीले गुञ्जियो । अष्टाबक्रले सम्पूर्ण सभासँग बिदा मागे । अष्टाबक्र हिँड्न लागेको देखी उनलाई रोक्दै आचार्य बन्दी आफ्नो असली स्वरूपमा आएर आफ्नो सही परिचय दिए । “हे अष्टाबक्र ! हे महाराज जनक ! हे विद्वत् वर्ग ! म वरुणको पुत्र हुँ । मेरा पिताले यज्ञका लागि धरतीबाट अब्बल ब्राह्मण तथा सन्तहरूलाई स्वर्ग पठाउनका लागि मलाई खटाउनुभएको थियो । त्यसैले, मैले हारेका सबै ब्राह्मणहरूलाई मेरा पिताकोमा पठाएको हुँ । उहाँको यज्ञ अब पूरा भइसकेको छ । यसर्थ, जति पनि ब्राह्मण विद्वानहरू जलमा डुबाइएका थिए, उनीहरू सबै अब नदीको दहबाट बाहिर आउनेछन् ।”
आचार्य बन्दी नदीको किनारमा गए । त्यहाँ सबै ब्राह्मणहरू प्रकट भइसकेका थिए । अष्टाबक्रका पिता ऋषि कहोड पनि त्यहीँ थिए ।
अष्टाबक्रले आफ्ना पितालाई चिने र जमिनमा परी साष्टाङ्ग दण्डवत् गरे । आफूलाई पराजित गर्ने बन्दीलाई हराउन सकेकोमा कहोडलाई पुत्रप्रति गर्व महसुस भयो । उनले छोराको शिरमा आशीर्वादको हात राख्दै पुत्रलाई सामङ्गा नदीमा गएर नुहाउने आज्ञा दिए र भने, “त्यसपछि तिमी मेरो श्रापबाट मुक्त हुनेछौ ।”
अष्टाबक्रसँगै रहेकी सुजाताले कहोडलाई पुन जीवित देख्न पाएकोमा खुसी हुँदै प्रणाम गरिन् । आफ्नी पत्नी सुजातालाई आफ्नै अगाडि देख्न पाएकोमा कहोडले अङ्कमाल गरे । यसरी उनीहरूको १२ वर्षपछि पुनर्मिलन भयो । दुवै अत्यन्तै हर्षित भए ।
पिताको आज्ञा पालन गर्दै अष्टाबक्रले नदीमा गएर नुहाए । अष्टाबक्र तत्कालै पिताको श्रापबाट मुक्त भए । नदीमा स्नानपश्चात् अष्टाबक्रका बाङ्गिएका सबै अङ्गहरू प्राकृतिक स्वरूपमा देखिए । उनी सुन्दर शरीर र अझ धेरै शास्त्राज्ञ भएर फर्किए ।
त्यसपछि राजा जनकले अष्टाबक्रलाई आफ्ना गुरु माने । राजा जनकले महर्षि अष्टाबक्रसँग शास्त्र र जीवन जगतसम्बन्धी धेरै ज्ञान लिएर दीक्षित भए । जय मिथिला, जय जनकपुर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










