५. त्रिपिटकः बौद्ध दर्शनको धर्मग्रन्थ 

त्रिपिटकको उत्पत्ति

बौद्ध धर्मको धार्मिक ग्रन्थ त्रिपिटक हो । त्रिपिटक मुख्यतः तीन अलग अलग विचारधारा समावेश छन् । त्रिपिटकमा कुन कुन विचारधारा समावेश छन् र यसको जन्म कसरी भयो भन्ने तथ्य पहिले हेरौं ।

त्रिपिटक “त्रि” र “पिटक” शब्दको सन्धी भई “त्रिपिटक” बनेको छ । ‘त्रि’को अर्थ तीन र ‘पिटक’को अर्थ बौद्ध ग्रन्थ हो । तसर्थ, त्रिपिटक तीन पिटकहरूको संयुक्त रूप हो । यसको विस्तृत व्याख्या तल यसै खण्डमा दिएको छ ।  बुद्धले जति पनि प्रवचन दिए, ती सबै मौखिक थिए । बुद्धको महापरिनिर्वाणपछि शिष्यहरूका बीचमा मतभेद उत्पन्न भयो । बुद्ध जीवित छँदा कुनै विषयमाथि विवाद उत्पन्न भए सीधै बुद्धलाई सोधिन्थ्यो तर बुद्धको महापरिनिर्वाणपश्चात् कसलाई सोध्ने ?

शिष्यहरूका बीचमा पनि वैचारिक विविधता छँदैथियो । कुनै विवाद भएमा कोही भन्थे– बुद्धले यसो भनेका थिए । अर्कोले भन्थ्यो– बुद्धले उसो भनेका थिए । यस्तै विवाद र मतभेदको समाधानार्थ तीन पिटकको जन्म भयो– ‘सूत्त पिटक’, ‘विनय पिटक’ र ‘अभिधम्म पिटक’ । यी तीन पिटकमा बुद्धका उपदेशहरूलाई संकलन गरिएको छ जसलाई ‘त्रिपिटक’ भनिन्छ ।

त्रिपिटकका तीन पिटकहरू एकै समयमा आएका होइनन् । यिनीहरू दुई चरणमा आएका छन् ।

यहाँ ध्यान दिनुपर्ने विषय के छ भने बुद्धपछि उनका विचारबारे विवाद बढ्दै गएपछि बुद्धका अनुयायीहरूले सर्वप्रथम बुद्धको महापरिनिर्वाणको दोस्रो वर्ष विवाद समाधान गर्न राजगृहमा पहिलो बौद्ध संगीति आयोजना गरे । यस संगीतिमा ‘बुद्धले के के बोलेका थिए’ भन्ने विषयमा सहभागीहरूले लिपिबद्ध गर्ने काम गरे । यस प्रथम संगीतिले दुईवटा पुस्तकहरू जारी गर्यो– (१) सूत्त पिटक । (२) विनय पिटक ।

५.१ सूत्त पिटक

सूत्त पिटकलाई सूत्र पिटक पनि भनिन्छ । यसमा खासगरी बुद्धका सिद्धान्तलाई तर्क र संवादका माध्यमले लिपिबद्ध गर्ने काम भएको छ । अझ यसलाई सम्झना लायक हुने गरी सूत्रका रूपमा गुद्यमा, मुक्त छन्द र छोटा कथाहरू बनाई बुद्धका ज्ञान र सिद्धान्तलाई संग्रह गरिएको छ ।

सूत्त पिटक जब लिखित रूपमा आयो, यसमा जम्मा पाँच निकाय भएर आयो । निकाय भनेको समूह वा भाग हो । सूत्त पिटकका ती पाँच निकायहरू हुन्– (क) दीर्घ निकाय (ख) मज्झिम निकाय (ग) संयुक्त निकाय (घ) अंगुत्तर निकाय (ङ) खुद्दक निकाय ।

पिटक लेखिनुअघि भिक्षुहरू आपसमा सुत्तलाई मौखिक पाठ गर्दथे । यी निकायहरूमा बुद्धका उत्कृष्ट शिष्यका उपदेशहरूलाई पनि बुद्धद्वारा अनुमोदित मानी लिपिबद्ध गरियो । लिपिबद्ध गरिएका यी सुत्तका भूमिकामा ती कहिले, कुन ठाउँमा, कुन व्यक्तिले, कुन व्यक्तिलाई उपदेश वा प्रवचन गरेको हो ? र त्यसमा श्रोताहरूमा कस्तो प्रभाव छोड्यो भन्ने समय सूची पनि राखिएको छ । यसमा बुद्धका महान् शिष्यका जीवन घटनाहरू पनि उल्लेख गरिएको छ ।

सूत्त पिटकमा बुद्धको जीवनी, धर्म, दर्शन, इतिहास आदि समावेश भएका छन् । यसमा बुद्धले बोधगयामा बुद्धत्व प्राप्तिदेखि उता ४५ वर्षसम्म ज्ञानको प्रचासप्रसार गरेको इतिहास र कुशीनगरमा महापरिनिर्वाणसम्मका घटनाहरूलाई उल्लेख गरिएको छ । ज्ञान प्रचारप्रसारको दौरान बुद्धले को कोसँग भेटघाट गरे, आफ्ना शिष्यहरूको साना ठूला समस्याको मार्गदर्शन कसरी गरे ? यस दौरान कस्ता खालका चुनौतीसँग बुद्धले जुध्नुपर्यो भन्ने कुरा पनि यसैमा समावेश छन् ।

सूत्त पिटकमा आर्य सत्यको शिक्षादेखि नैतिक शिक्षासम्मको ज्ञान छ । यसमा उल्लेख भएका सबैभन्दा महत्वपूर्ण ज्ञान अष्टाङ्गिक मार्ग, सात बोध्याङ्ग, आठ सम्यकप्रधान पाँच इन्द्रिय, प्रतीत्यसमुत्पाद र स्कन्ध आयतन हुन् । यसैले सूत्त पिटक बौद्धमार्गीहरूको सवैभन्दा महत्वपूर्ण ग्रन्थ पनि हो ।

५.२ विनय पिटक 

विनय पिटकमा भिक्षु वा भिक्षुणीहरूले पालन गर्नुपर्ने नियम, अनुशासनको बारेमा उल्लेख छ । यसको अतिरिक्त उनीहरूले कस्तो आचारण, बोली वा विनयशीलता अपनाउनुपर्छ भन्ने कुरा उल्लेख भएकोले नै यसलाई विनय पिटक भनिएको हो ।

५.३ अभिधम्म पिटक

बुद्धको मृत्युपश्चात् पहिलो संगीतिमा लिखित दुई पुस्तकपछि पनि बुद्ध धर्ममा धेरै विवादको श्रृङ्खला चलिरहे । पहिलो संगीतिको करिब १०० वर्षपछि बुद्धमार्गीहरू एक आपसमा मिलेर बस्नै नसक्ने गरी विभाजित भइसकेका थिए । यसै विषयको टुङ्गो लगाउन उनीहरूले वैशालीमा दोस्रो संगीतिको आयोजना गरे । यही दोस्रो संगीतिमा तेस्रो पिटकको जन्म भयो “अभिधम्म पिटक” ।

दोस्रो संगीतिले अभिधम्म पिटक मात्र लेखेन, यसमा दुई विचारधारा प्रमुख रूपमा अगाडि आए– (१) थेरवाद (२) महासांघिक दल ।

यी दुई दर्शन सुरु भएको लामो कालखण्डपछि सन् १९५१ मा भारतीय विद्वान् डा.भीमराव अम्बेडकरले बौद्ध दर्शनमा तेस्रो नयाँ विचाराधाराको स्थापना गरे । यसलाई (३) अम्बेडकरको नवयान पनि भनिन्छ ।

० ० ० ०

६. थेरवाद-हीनयान 

यस सम्मेलनमा पारित अभिधम्म पिटक थेरवादीहरूको नजिक छ । साथै, यो विचारधारा बुद्धको मूल विचारसँग पनि सबैभन्दा नजिक देखिन्छ । थेरवाद समयसँगै अगाडि जाँदा पछि “हीनयान” बनेर प्रसिद्ध भयो । यसको अर्थ हो कठिनयान । हीनयान भन्नुको अर्थ सानो गाडीमा कठिन यात्रामा निस्किए जस्तै हो ।

हीनयान परम्परामा पछि दुई विचार परम्पराको आगमन भयो ।

६.१ वैभाषिक

यस सम्प्रदायमा बौद्धमार्गीहरू बाहिरी वस्तुको सत्ता वा उपस्थिति तिनीहरूको स्वलक्षणका रूपमा प्रत्यक्ष मान्दछन् । स्वलक्षण भनेको कुनै वस्तु बन्नका लागि भएको सङ्घातको अवस्था हो । सङ्घात भन्नाले दुई वा दुईभन्दा बढी तत्वहरूको मेल हुनु हो । सङ्घातकै आधारमा वस्तुको चित्तको, चैतन्यको र जगत्को रचना भएको हुन्छ । तसर्थ, वैभाषिकहरू बाहिरी वस्तुको अस्तित्व तिनीहरूको सङ्घाती विशेषताको आधारमा प्रत्यक्ष मान्दछन् ।

यसैले यस विचारलाई प्रत्यक्षवादी वा सर्वास्तिवादी भनिन्छ । सर्वास्तिवाद भनेको “बाहिर जति पनि वस्तु देखिन्छन् ती सबै प्रत्यक्ष र सत्य हुन् र कुनै पनि वस्तुको अस्तित्व (असत्)विना पनि वस्तुको स्वत्व र अस्तित्व हुन्छ” भन्ने मान्यता हो । ती दृश्य वस्तु हुन् वा यो संसार, कुनै न कुनै सङ्घातबाट बनेको हुन्छ । इन्द्रियसँग सङ्घात हुने ती तत्वहरू पन्च संकन्ध हुन्ः रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान । तसर्थ, चित्त, चैत्यन्य र यो सम्पूर्ण जगत्को तिनै पाँच स्कन्धको कुनै न कुनै किसिमको समिश्रण वा मेलबाट निर्माण भएको हुन्छ ।

वैभाषिको अर्थ वैकल्पिक अथवा खण्डखण्ड हो । जति पनि पदार्थ वा वस्तु देखिन्छन्, ती सत्य हुन् । ती देखिएको वस्तुहरू दुई तरिकाले बनेका हुन्छन् । एक थरी छन्– जो स्वयम्मा छन्ः अणु वा तत्व । अर्को थरी छन्– जो आफू हुन अर्कोसँग मिल्दछन् । फरक शब्दमा, दुई वा दुईभन्दा बढी पदार्थको सङ्घात भएर बन्ने पदार्थ वा यौगिक ।

माथि पहिलो अनुच्छेदमा पाँच स्कन्धको कुरा आयो, तिनै स्कन्धहरूले अनुभूति र पदार्थको स्तरमा विभिन्न विचार, सुख–दुःख र भावहरूको उत्पन्न गर्दछन् । जस्तो–

—  रूप = रूप भनेको जसले रूप वा आकार लिन सक्छ ।

—  वेदना = वेदना भनेको इन्द्रिय सम्पर्क आउँदा पाइने अनुभूति हो । वेदनाले दृश्य वस्तु कस्तो छ ? भन्ने अनुभव दिन्छ । यस्तो अनुभूति आन्तरिक र अदृश्य हुन्छ । यसले चित्तलाई जागृत गर्दछ ।

—  संज्ञा = संज्ञा भनेको रचना भएको वस्तुको नाम हो । रचना भएपछि त्यसले नाम प्राप्त गर्दछ । देखिएको वस्तु त्यहीँ संज्ञाको आधारमा प्रतीत हुन्छ ।

— संस्कार = संस्कार भनेको पूर्व जन्मको उपस्थिति हुनु हो वा पूर्व जन्म, पूर्व कर्म आदिको अनुभव हुनु हो । यसैको कारणमा मानिस संसारमा आउँछन् । जन्म, पुनर्जन्म भइरहने कारण पनि संस्कार नै हो ।

— विज्ञान = चित्तमा जुन चेतना छ त्यो विज्ञान हो । अन्य धर्म दर्शनहरू यसलाई आत्मा पनि भन्दछन् । बौद्ध दर्शनले आत्मालाई अस्वीकार गर्दछ तर आन्तरिक चेतना नै विज्ञान हो ।

आत्माबारे बौद्ध धर्म के भन्छ ?

एकपटक वसुवन्ध र भिक्षुहरू गौतम बुद्धसँग अभिधम्मको बारेमा सोध्न गए । बुद्धले उनीहरूलाई भने, तिमीहरू सौत्रान्तिक मार्ग लेऊ । सौतान्त्रिक मार्ग नै किन लिनु भने यो बुद्धको मुखबाट निस्केको बुद्धवाणी हो र यही नै सत्य पनि हो । यसै क्रममा आत्माको बारेमा सोधिएको प्रश्नबारे बुद्धले भने, “आत्मा भन्ने कुनै छुट्टै वस्तु वा अन्य केही हुँदैन । जो पाँच स्कन्ध छन्, तिनै पाँच स्कन्धको निश्चित सङ्घातबाट चेतना बन्छ । त्यो चेतना भन्नु नै आत्मा हो ।”

वैभाषिकका अनुसार वस्तु-पदार्थ सर्वास्तिवादी हुन्छ । यिनै पदार्थहरू मानिसभित्रका स्कन्धहरूसँग सङ्घात भएर धारणा बनाउँछन्, अनुभूति गर्दछन् । तसर्थ, पदार्थको सङ्घातमा चित्तको तटस्थताले मानिसले निर्वाण प्राप्त गर्न सक्दछन् ।

६.२ सौत्रान्तिक

वैभाषिक र सौत्रान्त्रिक एउटै विचार सम्प्रदाय हीनयानी भएकोले यिनीहरूको बीचमा ठूलो भिन्नता देखिँदैन । सौत्रान्तिक विचारका पक्षपातीहरू पदार्थ प्रत्यक्ष रूपमा देखिँदैनन्, अनुमेय हुन्छ भन्छन् । जति पनि बाह्य पदार्थ देखिन्छन्, ती सबै सापेक्ष मात्र हुन् । भन्नुको मतलब पदार्थलाई प्रत्यक्ष रूपमा देख्नि सकिँदैन, जसलाई बाह्य अनुमानवाद पनि भनिन्छ । यस विचार परम्परामा शक्ति वा सत्ताको अवस्था बाहिरदेखि भित्रतर्फको अथवा अन्तर्मुखी स्वभावको हुन्छ । यिनीहरूको मतमा पदार्थहरू प्रत्यक्ष देखिँदैनन् केवल अनुमानित हुन्छन् । यसो भन्नुको मतलब देखिएको वस्तुहरू सबै क्षणिक मात्र भएकोले ‘ती थिए’ भन्ने अनुमानका आधारमा पहिचान गर्ने हो । देखिएको भनिएको वस्तु राम्ररी देखिनसक्दै नस्ट भइसकेको हुन्छ । हर वस्तुको सूक्ष्म अवस्था “सर्वम् क्षणिकम् क्षणिकम्” हुन्छ ।

हुनलाई सौत्रान्तिकहरू पनि वैशेषिकले जस्तो वस्तुको उपस्थितिलाई सर्वास्तिवादी नै मान्दछन् तर वस्तुलाई वैशेषिकले जस्तो प्रत्यक्ष हुन्छ भन्ने मान्दैनन् । “सर्वम् क्षणिकम् क्षणिकम्” वा सबै वस्तुको उपस्थिति क्षणिक हुने भएकोले त्यो वस्तुको विषयमा के हो ? भन्ने सोचिनसक्दै, भन्नै नपाई त्यसले आफ्नो रूप, स्थान र समय बदली त्यो नस्ट भइसकेको हुन्छ तर त्यसले चित्तमा एउटा भाव वा असर भने छोड्दछ । त्यही भावका आधारमा वस्तुको अनुमान मात्र लगाउन सकिन्छ “त्यो वस्तु त्यहाँ थियो, यस्तो थियो, उस्तो थियो” भनेर ।

जस्तो कुनै स्थानमा देखिएको गिलासबारे केही भन्न नपाई त्यो क्षणभरमै नस्ट भइसकेको हुनाले गिलासले छोडेको भाव वा असरका आधारमा त्यहाँ गिलास थियो भनेर अनुमान लगाउने हो । वस्तुको अस्तित्व क्षणिक भएकोले देखेपछि त्यसको रूप, स्थान र समय परिवर्तन भइसक्ने हुँदा त्यसलाई अर्को देखिएको वस्तुले विस्थापित गरी त्यहाँ नयाँ स्थापित भइसकेको हुन्छ । त्यो नयाँ पनि क्षणभङ्गुर हुनाले  त्यसलाई तेस्रोले विस्थापित गर्दछ ।

यसरी पुरानो विस्थापन र नयाँ प्रतिस्थापन हुने चक्रले वस्तुको सत्वलाई स्थिर हुन दिँदैन । वस्तुको सत्व भनेको वस्तुता हो, वस्तुता नै स्थिर हुन पाउँदैन भन्ने हो । यसलाई क्षणिकवाद पनि भनिन्छ । वस्तुको चरित्र सूक्ष्म रूपमा अस्थिर, परिवर्तनशील, निरन्तर र लीलामय हुन्छ ।

वस्तुको बाह्य अर्थबारे वैशेषिक र सौत्रान्तिक दुवै एक मत छन् तर वस्तुको सादृश्य सत्ता वैशेषिकलाई प्रत्यक्ष र सौत्रान्तिकलाई अनुमेय हुन्छ । यही नै यी दुईको प्रमुख पृथकता हो । वैशेषिक भन्छ, त्यहाँ घडा छ र त्यो प्रत्यक्ष छ तर सौत्रान्तिक भन्छ, त्यो घडा त्यही क्षणमा नस्ट भइसकेकोले त्यहाँ घडा छ भन्ने अनुमान मात्र हो । देखिएको घडा र भनिएको घडा एउटै होइनन् । एउटालाई देखियो तर घडा भनिने बेलासम्म त्यहाँ सयौं घडा परिवर्तन भइसके । “त्यहाँ घडा छ” भनेको कुन चाहिँ घडालाई भनेको हो भन्ने नै अवगत हुँदैन । त्यसैले, त्यो इन्द्रिय वेदनाको प्रभावका आधारमा घडा भनियो । अनुमेय ।

यो व्याख्यापछि सौत्रान्तिकहरूको मुख्य सैद्धान्तिक विचार निम्नअनुसार

(७) महासांघिक दल-महायान 

महासांघिक दल भने अभिधम्म पिटक अर्थात् बुद्धका मूल विचारबाट अलिक दूरीमा देखिन्छ । महासांघिक दल पनि पछि गएर “महायान” बनेर प्रसिद्ध भयो । महायान अर्थात् सहज यान । सहज यान भन्नुको अर्थ ठूलो घरमा धेरै मानिस एकैपटक बास बस्न सक्दछन् ।

महायान परम्परामा पनि पछि दुई विचार सम्प्रदायको आगमन भयो ।

(७.१) शून्यवाद-माध्यामिक शून्यवाद 

माध्यामिक शून्यवादका प्रवर्तक नागार्जुन हुन् । यस दर्शनलाई विकसित गर्ने कार्यमा आर्यदेव, चन्द्रकीर्ति, भाव्य, बुद्धपालित आदिहरूको पनि उत्तिकै भूमिका छ । शून्यवादको अर्थ हो यो संसार शून्य छ । कुनै पनि पदार्थको स्वतन्त्र सत्ताको अस्तित्व छैन । भन्नुको मतलब ज्ञान केवल कल्पना मात्र हो र परमार्थिक तत्व शून्य हो । यो जगत् केवल शून्यको एउटा भ्रम वा चक्र वा भुमरी मात्र हो । जे छन्, ती अर्कोसँग आश्रित छन् । एक नभए अर्कोले प्रमाणित हुने अवसर नै पाउँदैन र ती आश्रितहरू आफ्नो अस्तित्व देखाउन एकक्षण देखिन्छन् र केही समयपछि हराउँछन् । सहायक तत्वको उपस्थितिले मुल तत्व देखिन्छ तर सहायक तत्व नभए मूल तत्व गायव भइहाल्दछ । तसर्थ, स्वतन्त्र र एक्लोको अवस्थामा सबै वस्तु शून्य छन् । तिनीहरूको उपस्थिति छँदैछैन; केवल शून्य छ ।

पदार्थलाई सूक्ष्म रूपमा हेर्दा त्यसको उपस्थितिको एउटा कारण छ । यदि त्यो कारण नभए पदार्थ नै छैन । यो औपनिषदिक मायावाद जस्तै कारणले वस्तुको उपस्थिति गराउँछ तर कारण गायव भए वस्तु पनि गायव हुन्छ, माया जस्तै । अहिले थियो, अहिले छैन । माध्यामिक शून्यवादले भन्छ– न सत् छ, न असत् छ । न सत् र असत् दुवै छ, न सत् र असत् दुवै छैन । न सत्असत् दुवै छ न दुवै छैन । केवल छ त कारणले छ, छैन त कारणले नै छैन ।

दुईवटा उदाहरण लिऊँ ।

पहिले पानीको उदाहरण लिऊँ – पानी हाइड्रोजनका २ अणु (H2)र अक्सिनजनको १ अणु (O) मिलेर बन्दछ H2+O = H2O पानी । २ हाइड्रोजन र १ अक्सिजनको समिश्रणको ‘कारण’ले वस्तु ‘पानी’को अस्तित्व छ । अब हाइड्रोजनका २ मध्ये १ हाइड्रोजन वा दुवै वा अक्सिजनको १ मा १ वटै अक्सिजन विस्थापित गरिदिने हो भने पानीको अस्तित्व छैन अर्थात् पानीको अस्तित्व शून्यावस्थामा हुन्छ ।

दोस्रो उदाहरण लिऊँ – हाइड्रोजन पेरोक्साइड । अघिल्लो उदाहरणको H2 + O = H2O पानीको सूत्रमा भएको अक्सिजनको १ भागमा अरु १ भाग थपिदिने हो भने पानी विस्थापित भई (H2 + O2 = H2O2) हाइड्रोजन पेरोक्साइड बन्दछ । अणु तिनै हुन् तर तिनको संख्या हेरफेर गर्दा पानीको अस्तित्व नस्ट भई हाइड्रोजन पेरोक्साइडको उपस्थिति हुन्छ । अब हाइड्रोजन र अक्सिनजनको यो समिश्रणबाट एक एक वटा अणु हटाइदिने हो भने न पानी रहन्छ, न हाइड्रोजन पेरोक्साइड, शून्य । यसैलाई हामीले “छ भनेर देखिरहेका बाह्य वस्तुहरू पनि कुनै कारणका कारणले छन्, फेरिन्छन् तर कारण नभए तिनीहरू कार्य शून्य हुन्छ” भनेको हो ।

तसर्थ, शून्यवादीहरूको मत छ, कर्मक्लेशको कारणबाट निवृत्त भएपछि जीवनमा निर्वाण प्राप्त गर्न सकिन्छ ।

७.२ योगाचार्य विज्ञानवाद

योगाचार्य विज्ञानवादी सम्प्रदाय तेस्रो शताब्दीमा मैत्रेय र मैत्रेयनाथले स्थापना गरेका थिए । यसलाई पछि असंग र वसुवन्धु दुई दाजुभाइले विकसित गरे । योगाचार “योग” र “आचरण”को सन्धी भएर बनेको शब्द हो । यहाँ विज्ञान भन्नाले मन वा चित्तलाई बुझ्नुपर्छ । योगाचार्य विज्ञानवादका अनुसार मनले नै बाह्य अर्थहरू जन्माउँछ । चरा, पानी, आकाश, नाङ्लो, रुख आदि मनले सिर्जना गर्ने बाह्य अर्थहरू हुन् । मनको विज्ञानमा अनन्त विज्ञानहरू उत्पन्न भइरहन्छन् । सबै मन अर्थात् विज्ञानको शक्तिबाट आउँछन् र तिनै आकार र रूपमा देखिन्छन्, अथवा आलयविज्ञानमा नै सबै विज्ञानहरू उदय भइरहन्छ । “विश्वको मूल तत्वलाई यस दर्शनको परिभाषामा आलयविज्ञान भनिएको छ (दर्शन दिग्दर्शनबाट, राहुल साँकृत्यायन, पृ.४४७) ।”

आलयविज्ञानः आलयविज्ञानको अर्थ मनको आधार वा मनको घर ‘Storehouse Consciousness’ हो । बौद्ध दर्शनमा पाँच इन्द्रिय “रूप, वेदना, स‌ंज्ञा, संस्कार र विज्ञान”को अतिरिक्त “मन”लाई छैठौं इन्द्रिय मानिएको छ जसलाई आधुनिक भाषामा “चेतना” भन्न सकिन्छ । बाह्य जगत्मा चरा, रुख, जनावर आदि देखिन्छ । रातो, सेतो, पहेंलो, रंगिन फूल, सुन्दर फूल भनिन्छ; यो सबै आलयविज्ञानमा उत्पन्न हुने कुरा हो । आलयविज्ञानमा नै असंख्य विज्ञान उत्पन्न हुन्छन् । यस विज्ञानको प्रवाह निरन्तर भइरहन्छ र कार्यसम्पादन गरिरहन्छ ।

यस सम्प्रदायले बाहिरी संसारको उपस्थिति वा पदार्थको अस्तित्वलाई अस्वीकार गरी एक मात्र तत्व विज्ञान (अभौतिक तत्व, मन)लाई मान्दछ । योगाचार्य विज्ञानवादले “मनले अनुभवहरूको सिर्जना गर्दछ र मनबाहिर कुनै संवेदनाको स्रोत छैन” भन्दछ । बाह्य संसारमा देखिने सबै वस्तुहरू यथार्थमा आलयविज्ञानका उपज हुन् र यसलाई मनले अनुभव गर्दछ । मन अथवा विज्ञानभन्दा अतिरिक्त अर्को कुनै सत्ताको उपस्थिति छैन भन्ने मान्यता राख्ने यो दर्शन ‘बाहिर देखिने पदार्थ यथार्थमा शून्य हो’ भन्दछ । ती पदार्थ केवल मनले अनुभव गर्ने मात्र हो, यथार्थमा चाहिँ केही पनि छैन, शून्य छ । जस्तो ‘पहाड’ भन्ने ज्ञान मनभित्र छ र पहाड छ । यदि पहाडको ज्ञान मनमा ज्ञेय नहुने हो भने पहाड नै छैन, हुँदैन ।

यसो भन्नुको मतलब, चित्तभित्र ज्ञात भएका पदार्थ पहाड, समुद्र, वायु आदि जुन पदार्थ छन्, त्यही नै बाहिर पनि देखिन्छन् । यसको अर्थ चिन्ता, पीडा, दुःख, ईर्ष्या सबै विज्ञानले उत्पन्न गर्ने आन्तरिक सत्ता हुन् । तसर्थ, यस दर्शनले योग र आचारणबाट मन र विज्ञानलाई नियन्त्रण गरी मानिसले निर्वाण प्राप्त गर्न सक्दछन् भन्ने मान्यता राख्दछ । यस दर्शनलाई विकसित गर्ने काममा दिङनाग, धर्मकीर्ति र शान्तरक्षित आदि विद्वान्हरूले पनि प्रशस्त काम गरेका छन् ।

यसरी दोस्रो संगीतिले बौद्धमार्गीहरूलाई थेरवाद र महासांघिक दल अर्थात् हीनयान र महायानमा विभाजित गरेपछि यी दुई दर्शनभित्र पनि दु–दुईटा वैचारिक सम्प्रदाय विकसित भए र आजका मितिसम्म बौद्धमार्गीहरूबीच सौत्रान्तिक, वैभाषिक, माध्यामिक शून्यवाद र योगाचार्य विज्ञानवाद गरी चार मुख्य ठूला सम्प्रदायहरू स्थापितै छन् ।

यसको अतिरिक्त बौद्धधर्मका मुख्य चार सम्प्रदायअन्तर्गत अन्य साना–ठूला गरी ३० भन्दा बढी सम्प्रदायहरू उत्पन्न भइसकेका छन् । यी सबै सम्प्रदायहरू विशेष गरी माथिका चार सम्प्रदायका वरिपरि नै देखिन्छन् ।

० ० ० ०

८ नवयानः अम्बेडकरवाद

दोस्रो संगीतिले निर्माण गरेको हीनयान र महायानको लामो कालखण्डपछि १४ अक्टोबर १९५६ मा भारतीय विद्वान् डा.भीमराव अम्बेडकरले बौद्ध परम्परामा तेस्रो धार “नवयान”को विकास गरे । बौद्ध धर्ममा अम्बेडकारका अनुयायीहरू नवयानलाई नवबौद्ध मान्दछन् । नवयान बौद्ध धर्मको पुनर्जीवित रूप हो ।

डा.अम्बेडकरले बौद्ध परम्परामा नवयानको दर्शन अगाडि सार्नुका पछाडि भारतीय हिन्दु परम्परामा भएको वर्णव्यवस्था र यसभित्र स्थापित जातीय छुवाछुतले समाजमा कथित दलित जातिमाथि भएको सामाजिक विभेद कारण बनेको थियो । उनले मानिसमाथि हुने सामाजिक विभेद र जातीय छुवाछुतको यो प्रथालाई अन्त गर्नका लागि बौद्ध परम्परामा नवबौद्ध वा नवयान परम्पराको थालनी गरे । यसैले नवयान बौद्ध सम्प्रदायका अनुयायीहरूलाई “अम्बेडकरवादी बौद्ध” पनि भनिन्छ ।

यहाँ थाहा हनुपर्ने तथ्य के छ भने डा.भीमराव अम्बेडकर स्वयम् कथित शुद्र जातिमा जन्मिएका थिए र उनी बेलायत र अमेरिकाबाट अध्ययन गरी भारत फर्किएपश्चात् पनि कथित अछुत जातिका नाममा धेरै ठाउँमा बहिष्कृत हुनुपरेको र सामाजिक भेदभावको शिकार हुनुपरेको थियो ।

नवयान परम्पराको कुरा आएपछि यसका प्रतिपादक डा.भीमराव अम्बेडकरको छोटो परिचय पनि राख्न उपयुक्त देखिन्छ ।

डा.भीमराव अम्बेडकरः परिचय ।

डा.भीराव अम्बेडकरको जन्म १४ अप्रिल १८९१ मा भारतको मध्यप्रदेश राज्यमा भएको थियो भने ६ डिसेम्बर १९५६ मा दिल्लीमा उनको जीवनले अवकाश लियो । उनका पिताको नाम रामजी मालोजी सकपाल र माताको नाम भीमाबाई मुरबादकर (सकलपाल) थियो । उनीहरू एक दलित परिवारसँग सम्बन्धित थिए र समाजमा अछुत वर्गका रूपमा पीडित हुनुपरेको थियो । दलित र अछतु हुनुको कारणले आफ्नै देशभित्र सामाजिक र आर्थिक रूपमा जुन भेदभाव सहनुपर्यो, त्यसले उनलाई धर्म परिवर्तन गरी बौद्ध धर्ममा जोडिएर “नवयान” बौद्ध परम्पराको सुरुआत गर्न बाध्य पारेको थियो ।

अम्बेडकरको प्राथमिक तहको शिक्षा सन् ७ नोभेम्बर १९०० मा एक सरकारी विद्यालयबाट सुरु भयो । उनका पिता तत्कालीन ब्रिटिश इण्डियन आर्मीको सुवेदार पदमा कार्यरत थिए । उनैले अम्बेडकरलाई सो विद्यालयमा भर्ना गराए । विद्यालय जानुअगाडि उनकी आमाले भनेकी थिइन्, “विद्यालयको पहिलो दिन अत्यन्तै खराब अनुभव हुनेछ तर हार नमान्नू, झगडा नगर्नू र कक्षा नछोड्नू । शिक्षा नै सबैभन्दा ठूलो साधन हो जसले अगाडिको बाटो देखाउँछ । तिमीले योभन्दा ठूला चुनौतीहरूको सामना गर्नुपर्ने छ ।”

भयो पनि त्यस्तै नै । विद्यालय भर्ना भएको पहिलो दिन नै उनले जातीय छुवाछुतको शिकार हुनुपर्यो । विद्यालयमा अन्य विद्यार्थीसरह नराखी उनलाई छुट्टै बस्ने ठाउँ दिइयो । पहिलो दिन नै कक्षाकोठाको सबैभन्दा पछिल्लो स्थानमा राखियो जहाँ उनी आफैंले बस्नका लागि दरी लिएर जानुपर्यो र घर फर्कंदा त्यो दरी लिएरै फर्कनुपर्यो ताकी कक्षाकोठा अपवित्र नहोस् । उनका साथमा कसैले खाना खाएन, पानी पिएन । पानी पिउने विषयमा स्कुलका सहयोगीले उनलाई टाढैबाट पानी दिन्थे । कुनै दिन यस्तो स्थिति बन्यो कि “नो पियन, नो वाटर” अर्थात् विद्यालयमा पियन नआएको दिन उनले पानी पिउने समेत सुविधा पाएनन् ।

बिस्तारै उनले कक्षा ४ को पढाइ पूरा गरे । दलित जातिमा यो सबैभन्दा ठूलो घटना थियो । त्यस दिन अछुत जातिहरूले सार्वजनिक रूपमा उत्सव मनाए । यसबाट पनि बुझ्न सकिन्छ कि त्यसबेला जातीय भेदभाव कुन तहसम्म थियो । त्यस दिन अम्बेडकरलाई उनका हजुरबा केलुस्कारले आफैंले लेखेको पुस्तक “बुद्धको जीवनी” उपहार दिए । यसै पुस्तकबाट अम्बेडकरले बुद्ध र बुद्ध दर्शनबारे थाहा पाए । त्यस पुस्तकबाट उनी निकै प्रभावित भए । भविष्यमा यही पुस्तक उनको जीवनमा हिन्दु धर्म परित्याग गरी बौद्ध धर्म अँगाल्न मद्दतगार भयो ।

भीमराव अम्बेडकरको विवाह १९०६ मा १५ वर्षको उमेरमा ९ वर्षकी एक कन्या रमाबाईसँग भएको थियो । तत्कालीन समयमा भारतमा बालविवाह गर्ने चलन थियो । विवाहको बेला उनी कक्षा ५ मा पढ्थै थिए ।

जसोतसो प्राथमिक तहको शिक्षा पूरा गरी जब अम्बेडकरको परिवार नै १८९५ मा मुम्बई गयो, उनले एल्फिंस्टोन रोडमा रहेको सरकारी विद्यालयमा भर्ना लिए । त्यस विद्यालयबाट उनले १९०७ मा मेट्रिक पास गरे र १९०७ मा एल्फिंस्टन क्याम्पसमा प्रवेश गरे । तत्कालीन समयमा विश्वविद्यालयस्तरसम्म पुग्ने दलित समुदायबाट उनी नै पहिलो व्यक्ति बने । अम्बेडकरले १९१२ मा अर्थशास्त्र र राजनीतिक विज्ञानमा स्नातक गरी बडौदा राज्य सरकारको जागिर खान थाले । त्यसबेला उनका पिता मुम्बईमा बिरामी भए । पिताको रेखदेखका लागि उनी मुम्बई फर्किए । १९१३ मा पिताको निधन भयो ।

सन् १९१३ मा अम्बेडकर अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयमा छात्रवृत्ति लिएर पढ्न गए । त्यतिबेला उनी २२ वर्षका थिए । यो छात्रवृत्ति तत्कालीन बडौदाका राजा सयाजीराव गायकवाड तृतीयद्वारा स्थापित ४ वर्षे छात्रवृत्तिअन्तर्गत पाएका थिए । यो छात्रवृत्तिको शर्त के थियो भने अमेरिकामा पढाइ सकेपछि फर्किएर बडौदा सरकारको अधीनस्थ रही निजामति सेवा गर्नुपर्ने थियो । अमेरिका पुगेपछि उनी एकजना पारर्सी धर्मी भारतीय नागरिक नवलसँग बस्न थाले । (पारसी धर्म त्यसबेला इरान (फारस)को प्राचीन “जरदोश्त” धर्मसँग मिल्दछ । पारसी पन्थ अथवा जोरोएस्टिनिजम फारसको राजधर्म थियो ।)

१९१५ मा अम्बेडकरले कोलम्बिया विश्वविद्यालयमा मुख्य विषय अर्थशास्त्र र अन्य विषय समाजशास्त्र, इतिहास, दर्शनशास्त्र र मानव विज्ञानमा प्रथम शोधपत्र प्रस्तुत गरी स्नातकोत्तर पास गरे । १९१६ मा अम्बेडकरले दोस्रो शोध कार्य “भारतको राष्ट्रिय लाभांश, एक ऐतिहासिक र विश्लेषणात्मक अध्ययन”मा स्नातकोत्तर गरे । अमेरिकाका लागि उपलब्ध ३ वर्षे छात्रवृत्ति उनले दुई वर्षमा पूरा गरे ।

अमेरिकापछि उनी पढ्नैका लागि लण्डन गए र लण्डन स्कुल अफ् इकोनोमिक्समा प्रवेश गरे । त्यहाँ उनले १९१६ मा “ब्रिटिश भारतमा प्रान्तीय वित्तको विकास”मा तेस्रो शोधपत्र तयार गरे । यो शोधपत्र उनले विद्यावारिधिका लागि तयार गरेका थिए । तर १९१७ मा उनलाई बडौदा सरकारले दिएको छात्रवृत्तिको समय सकिएकोले पढाइ नसक्दै उनी भारत फर्कनुपर्यो ।

अलि पछि आफ्नो अधुरो पढाइलाई पूरा गर्न उनलाई पुन ४ वर्षको समय मिल्यो र उनी लण्डन गई बाँकी अध्ययन पूरा गरे । १९१६ मा विद्यावारिधिका लागि तयार गरेको त्यो थेसिसलाई १९२७ मा प्रकाशित गरेपछि मात्र त्यही वर्ष आधिकारिक रूपमा स्कुल अफ् इकोनोमिक्स, लण्डनले उनलाई विद्यावारिधिको दर्जा प्रदान गर्यो ।

यिनी यति मेधावी छात्र थिए कि उनले विभिन्न विषयमा गरी ३२ वटा डिग्री हासिल गरेका थिए, तथापि यी ३२ वटै डिग्रीको आधिकारिक सूची भने पाइएको छैन । १९२१ मा अम्बेडकरले लण्डनबाट विज्ञान स्नातकोत्तरको डिग्री लिए । १९२२ मा उनले “बेरिस्टर एट ल” डिग्री हासिल गरी ब्रिटिस बारमा बेरिस्टर बनेर प्रवेश पनि गरे । १९२३ मा अर्थशास्त्रमा डाक्टर अफ् साइन्स उपाधि प्राप्त गरे । यी र अन्य धेरैवटा विश्वविद्यालयबाट उनले धेरै विषयमा डिग्री हासिल गरेका थिए ।

पढाइसकेर अम्बेडकर भारत फर्किए । उनी यसै पनि बडौदा सरकारको निजामति सेवक थिए । त्यही सरकारको छात्रवृत्ति लिएर विदेश पढ्न गएको कारणले फर्किएर सरकारी काम गर्नु उनको बाध्यता छँदै थियो । तर जातीयताको कारणले उनलाई हवाइ अड्डामा कसैले पनि स्वागत गर्न गएन । भारत आएर उनी सेनाको सचिवको रूपमा काम गरे । यस दौरान उनीमाथि जातीय विभेद फेरि सुरु भयो । सरकारी कर्मचारी भए पनि बास बस्नका लागि उनलाई कोठा चाहिएको थियो । त्यत्रो बडौदा शहरमा उनका लागि कोही बास दिन तयार भएन । अमेरिकामा सँगै बस्ने साथी पार्सी भएकोले उनलाई थाहा थियो, पार्सी धर्ममा जातीय व्यवस्था हुँदैन । तसर्थ उनले पार्सी धर्मको धर्मशालामा केही दिन बस्ने निधो गरी धर्मशालामा कोठा लिए ।

केही दिनपछि धर्मशालाको कर्मचारीले अम्बेडकरलाई “तपाईं पार्सी होइन रहेछ । किन सुरुमै भन्नुभएन ?” भनी प्रश्न सोध्यो । अम्बेडकरले जवाफमा भने, “तपाईंले पनि त जात सोध्नुभएन । फेरि पार्सी धर्ममा त जाति व्यवस्था नै छैन भने मेरो जातले के फरक पर्छ र ?” त्यसदिन जसोतसो धर्मशाला कर्मचारी र अम्बेडकरको बीचमा सहमति भयो र सोहीअनुसार अम्बेडकरले कुनै एक पार्सी नाम राखी दर्ता गरे । तर दुःखको कुरा त्यसको ११ दिनपछि १०, १५ जना जति पार्सी युवाहरू हातमा रड, लाठी र तरवार बोकी धर्मशालामा अम्बेडकरविरुद्ध खनिए ।

त्यो हुलले भन्दैथियो, “एक अछुत व्यक्ति पार्सी धर्मशालामा कसरी आइस् ? तैंले हाम्रो धर्मशाला अपवित्र गरिस् ।”

अम्बेडकर भने, “तपाईंहरूको धर्ममा त जाति व्यवस्था नै छैन ।”

त्यो हुलले भन्यो, “त्यो सब हामीलाई थाहा छैन । यहाँबाट भाग् छिटो ।”

हिंसा हुने खतरा थियो र अन्तमा त्यो हुलले साँझसम्ममा धर्मशाला छोड्नू नत्र छोडिनेछैन भनी धम्की दिएर हिँड्यो । अम्बेडकरलाई लाग्यो, समस्या गम्भीर छ । यहाँबाट हिँड्नु नै बुद्धिमानी हुने छ । उनी पार्सी धर्मशालाबाट तत्काल निस्किए ।

त्यस दिन उनले एउटा निष्कर्ष निकाले– हिन्दु समाजको एक अछुत व्यक्ति पार्सी समाजको लागि पनि अछुत हुँदोरहेछ ।

अम्बेडकर अर्को दिन आफ्नो कार्यालय गए । उनको पियनले उनलाई पानी यसरी दिन्थ्यो कि कुनै एक खराब व्यक्तिलाई दिइरहेको होस् । फाइलहरू परैबाट फालिदिन्थ्यो यसकारण कि उनलाई नछोइयोस् । अमेरिकाका र ब्रिटिसबाट उच्च शिक्षा हासिल गरेर आएको एक सरकारी कर्मचारीमाथि यो हदसम्मको जातीय भेदभाव राखिन्थ्यो भने उनको समाज कस्तो अवस्थामा रहेको थियो अनुमान गर्न सहजै सकिन्छ ।

अम्बेडकर डेराविहीन भए । उनका एक जना हिन्दु र इसाई धर्मका साथी पनि थिए जो अम्बेडकरसँगै बाहिर पढेर आएका थिए । उनले तीमध्ये हिन्दु साथीसँग अनुरोध गरे, “साँझसम्म पार्सी धर्मशाला छोड्नु छ । केही दिन म तिम्रो घरमा रहन सक्छु ?” हिन्दु साथीले भन्यो, “मलाई त केही समस्या थिएन तर यहाँ जो व्यक्तिहरू काम गर्छन्, यदि तिमी यहाँ रह्यौ भने यी सबैले काम छोड्नेछन् । सब वर्वाद हुन्छ ।”

अम्बेडकरले दोस्रो इसाई साथीसँग पनि कोसिस गरे र भने– इसाई धर्ममा त जाति प्रथा नै हुँदैन । के म तिम्रो घरमा केही दिन बस्न सक्छु ? साथीले भन्यो, “हुनलाई म इसाई हुँ तर केही पिँढी पहिले हाम्रो परिवारले हिन्दु धर्म परिवर्तन गरी इसाई धर्म ग्रहण गरेको हो । हामी इसाई भए पनि अहिलेसम्म पनि हामीमा हिन्दु संस्कार छँदैछ । यदि तिमी मेरो घरमा आयौ भने मेरी श्रीमती भड्किनेछिन् र भन्नेछिन्, कसरी एक अछुत व्यक्तिलाई घरभित्र ल्यायौ ।” दोस्रो साथीले पनि डेरा दिन अस्वीकार गर्यो ।

एकपछि अर्को भइरहेको जातीय विभेदको यो श्रृङ्खलाले उनलाई सरकारी जागिरबाट राजीनामा दिन बाध्य पार्यो । यसबीच उनले धेरै पटक सडकमा पनि रात बिताए । जीवन गुजार्न उनले कोचिङ सेन्टर खोले, परामर्श व्यवसाय गरे तर सामाजिक विभेदको कारण उनी सफल हुन सकेनन् । लगत्तै उनले मुम्बइको सिड्नेम कलेज अफ् कमर्स तथा इकोनोमिक्समा राजनीतिक अर्थव्यवस्थाको प्रोफेसरको जागिर पाए । जातीय विभेदको अर्को कुरूप अवस्था त्यहाँ पनि देखियो । उनले जुन घडाबाट पानी पिए, त्यो अपवित्र भएको ठानी घडा नै फुटाइयो । त्यहाँ अर्को घडा राखियो र उनलाई त्यहाँ पानी पिउन प्रतिबन्ध लगाइयो ।

एउटा अर्को घटना पनि छ । एकपटक उनी केही साथीसँग नासिकबाट अरंगावाद निजी यात्रामा जाँदै थिए । साथीहरूलाई भनिएको थियो, जातिको कुरा कसैलाई नभन्नू । बाटोमा दौलताबाद किल्ला पर्दथ्यो । त्यो एक ऐतिहासिक स्थल थियो । उनीहरूलाई हेरौं भन्ने लाग्यो । अम्बेडकरको टोली दौलताबाद पुगेर एउटा पानीको स्रोतमा हातमुख धोए । कसैले त्यहाँ बताइदियो कि यिनीहरू अछुत समुदायका हुन् । त्यो मुस्लिम समुदायको वस्ती थियो । केही मुस्लिम युवकहरू आएर झगडा गर्न थाले ।

अम्बेडकरले उनीहरूलाई सम्झाए, “तिमीहरू त मुस्लिम समुदायका हौ । मुस्लिम समुदायमा जातीय भेदभाव हुँदैन, तिमीहरूको धर्मले सबै व्यक्तिहरू बराबर हो भन्छ ।”

ती युवकहरूले भने, “यो सबै बेकारको कुरा हो । तिमीहरूले हाम्रो पानीलाई अपवित्र गरिदियौ ।”

हिंसा हुने स्थिति भएकोले कुनै तरिकाले अम्बेडकरको टोली त्यहाँबाट निस्कियो ।

त्यसदिन अम्बेडकरले अर्को निष्कर्ष निकाले, “जो हिन्दु समाजको अछुत व्यक्ति पार्सी र इसाईका लागि अछुत हो, त्यो मुसलमानका लागि पनि अछुत हो । त्यसपछि उनले छुवाछुतविरुद्धको अभियानलाई आफ्नो जीवनको लक्ष्यका रूपमा लिए । उनको अनुभव के रह्यो भने छुवाछुत प्रथा गुलामीभन्दा पनि खराब हो ।

यस अभियान अन्तर्गत अम्बेडकरले दलित समुदाय र अन्य धार्मिक समुदायका लागि आरक्षणका लागि आन्दोलन सुरु गरे । यसका लागि उनले १९२० मा मुम्बइमा मूकनायक पत्रिकाको सञ्चालन सुरु गरे । यो लोकप्रिय पत्रिकाको रूपमा चिनिन थाल्यो । यस पत्रिकामार्फत उनले छुवाछुत र जातीय भेदभावविरुद्धको लडाइमा रुढिवादी राजनेता र मुख्य राजनैतिक समुदायले देखाएको उदासिनताको खुलेर विरोध गरे । यस्ता विभिन्न अभियानको फलस्वरूप एक दिन कोल्हापुर राज्यका एक स्थानीय शासकले अम्बेडकरसँग सहभोजन गरे जसले रुढिवादी समाजको जरा हल्लाउने काम गर्यो ।

उनले दलितहरूको शिक्षा र उनीहरूको जीवनस्तर उकास्ने उद्देश्यले मुम्बइ उच्च न्यायालयमा वकालत पनि सुरु गरे । यस अभियानअन्तर्गत केन्द्रीय संस्था बहिष्कृत हितकारिणी सभाको स्थापना गरे । दलित समुदायको हितका लागि “मूकनायक”, “बहिष्कृत भारत”, “समता”, “प्रबुद्ध भारत” र “जनता” जस्ता पत्रिकाहरू पनि निकाले ।

१९२७ मा अम्बेडकरले छुवाछुतको विरोधमा सार्वजनिक आन्दोलन, सत्याग्रह र जुलुसका माध्यमले सार्वजनिक पिउने पानीमा अधिकार, अछुतलाई मन्दिर प्रवेश खुला गर्नुपर्ने आदि माग राखी कडा आवाज उठाए । सत्याग्रह गरे । १९२७ मा अम्बेडकरको नेतृत्वमा हजारौं अनुयायीहरूले छुवाछुत प्रथाको अन्त्यका लागि प्राचीन हिन्दु पाठ मनुस्मृति आदिको खुलेरै निन्दा गरे र औपचारिक रूपमै हिन्दु प्राचीन पाठ र मनुस्मृतिको प्रतिहरू जलाए । तसर्थ, आज पनि अम्बेडकरका अनुयायी र हिन्दु दलितहरू २५ डिसेम्बरलाई मनुस्मृति दहन दिवसका रूपमा मनाउँछन् ।

यतिमा अम्बेडकरको अभियान सकिएन । १९३० मा उनले कालाराम मन्दिर सत्याग्रह सुरु गरे । यो सत्याग्रह अछुतहरूका लागि मन्दिर प्रवेशको लागि गरिएको अभियान थियो । यो मन्दिर नासिकमा रहेको छ । यसमा करिब १५००० अछुतहरूले भाग लिएका थिए । अम्बेडकरको यस आन्दोलनमा सहभागी हुन र ऐक्यबद्धता जनाउन महाराष्ट्र राज्यका विभिन्न ठाउँबाट हिन्दु धर्म मान्ने मानिसहरूको ठूलो संख्या पनि आएको थियो ।

यस दिन ठूलो संख्यामा अछुतहरू मन्दिर प्रवेश गरी भगवान्को दर्शन गर्न चाहन्थे तर मन्दिरको ढोका उनीहरूको लागि खुलेन । अछुतहरूको प्रवेश निषेधका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । सत्याग्रहीहरूमाथि हिन्दु कट्टरवादीहरूले ढुंगा मुढा बर्साए । धेरै जनामाथि कुटपिट गरे । संख्याको हिसाबले सत्याग्रहीहरू आक्रमणकारीभन्दा धेरै ठूलो संख्यामा थिए तर अम्बेडकरको निर्देशनमा सत्याग्रहीहरूले अहिंसात्मक नीति अँगालेकोले आफूमाथिको आक्रमणको प्रतिकार गरेनन् । यस हमलामा अम्बेडकरसहित धेरै व्यक्ति घाइते भए ।

यो सत्याग्रह ५ वर्ष ११ महिना ७ दिनसम्म चल्यो । नासिकमा रहेको यो कालाराम मन्दिरमा प्रवेशनिषेधको यो प्रथाका विरुद्धममा अम्बेडकरले केही ऐतिहासिक प्रश्नहरू गरे ।

– यदि ईश्वर सबका साझा हुन् भने केही मानिसहरूका लागि मात्र किन प्रवेश दिइन्छ ?

– मन्दिर प्रवेश निषेध दलितहरूको सामाजिक स्तर उकास्ने हिन्दुहरूको अन्तिम उद्देश्य हो ?

– वा यो पहिलो कदम हो ?

– यदि यो पहिलो कदम हो भने अन्तिम लक्ष्य के हो ?

र अम्बेडकरले यी सवालहरूको साथमा यो सार्वजनिक घोषणा गरे– यदि मन्दिर प्रवेश नै हिन्दुहरूको अन्तिम लक्ष्य हो भने दलितहरू यस कुरालाई समर्थन गर्ने छैनन् । हाम्रो अन्तिम लक्ष्य मन्दिर प्रवेशका अतिरिक्त सत्तामा पनि भागिदारी हो । यसै अभियानअन्तर्गत महाड शहरमा रहेको चवादर जलाशयको सार्वजनिक पानी अछुतहरूले पनि भोग गर्न पाउनुपर्ने माग राखी सत्याग्रह गरे ।

अम्बेडकर त्यो बेलासम्म दलित समुदायबाट सबैभन्दा ठूलो नेता बनिसकेका थिए । उनको लोकप्रियता पनि बढिरहेको थियो । उनले मुख्य राजनीतिक दलहरूको दलित प्रथा उन्मूलनको नीति र उदासीनताप्रति कडा विरोध पनि गरे । यसै विषयमा उनले भारतीय राष्ट्रिय काँग्रेस र यिनका नेता महात्मा गान्धीसमेतको आलोचना गरे । गान्धीले अछुत जातिलाई करुणाका वस्तुको रूपमा लिएको अम्बेडकरको आरोप थियो ।

सत्याग्रहको आन्दोलन ६ वर्षसम्म चल्दा पनि मन्दिर प्रवेश निषेध नै रहेकोले हिन्दु धर्मको विभेदकारी, रुढ प्रथाबाट आजित भएर अम्बेडकरले हिन्दु धर्म परित्याग गर्ने घोषणा गरे । यसका अतिरिक्त राजनीतिक र सामाजिक रूपमा लामो प्रयासका बावजुद केही सीप नलागेपछि उनले धर्म पत्यिाग गर्ने निष्कर्षमा पुगे । यसरी हिन्दु सम्प्रदायमा जन्मिए पनि हिन्दु धर्मकै वर्णव्यवस्थाबाट प्रताडित अम्बेडकरले अन्तमा महात्मा गान्धीलगायत तत्कालीन समयका कथित उच्च जातिका अगुवाहरूका विरुद्ध विद्रोह गरी बौद्ध धर्म अपनाएका थिए ।

हिन्दु धर्म परित्याग गरी बौद्ध धर्म स्वीकार गर्ने घोषणा गरेपछि एक जना पत्रकारले डा.अम्बेडकरलाई सोधेका थिए, “तपाईं हिन्दु धर्म परिवर्तन गरी बौद्ध धर्म अँगालिरहँदा हीनयान वा महायान कुन परम्परा मान्नुहुन्छ ?”

उत्तरमा अम्बेडकरले भने, “मेरो बौद्ध धर्म न हीनयान हुनेछ न महायान । ती दुवै सम्प्रदायभन्दा समानुपातिक रूपमा केही निश्चित भिन्नताहरू हुनेछन् यसमा । म खास बुद्धका मूल सिद्धान्त र विवेकवादी सिद्धान्तको सुरुआत गर्नेछु । बौद्ध धर्ममा हिन्दु धर्मका माथिल्लो र तल्लो जातीय भावना, भेदभाव, देवता, स्वर्ग, नर्क, अन्धश्रद्धा आदिको कुनै स्थान हुनेछैन । जातका आधारमा मानिसहरूको भेदभाव हुने परम्परा बौद्ध परम्परामा छैन तथापि त्यसमा केही हिन्दु धर्मसापेक्ष समस्याहरू छन् । तिनलाई बौद्ध धर्मका व्याख्याताहरूले आफ्नो अर्थमा ढालेका हुन् । त्यसलाई छाडेर सही बौद्ध धर्मको स्थापना हुनेछ । सबैमा समान अधिकार, समता, बन्धुत्व, दया, करुणा भएको यस्तो बौद्ध धम्म हुनेछ ।”

“के यो बुद्ध धर्मको पुनर्जीवन हो ?” भनी सोधिएको प्रश्नमा अम्बडेकरले भने, “म त्यसो भन्दिन, तपाईं भन्न सक्नुहुन्छ ।” अम्बेडकरको यो उत्तरलाई विश्लेषण गर्ने हो भने यो बुद्ध धर्मको पुनर्जीवन नै हो ।

अम्बेडकरको विषयमा यति उल्लेख गर्नुको कारण के हो भने हिन्दु धर्म परित्याग गर्नुभन्दा अगाडि जातीय छुवाछुतको मारमा उनी कसरी पीडित भए ? यो कुरीतिका विरुद्ध कति सङ्घर्ष गरे ? र अन्तमा नतिजा के आयो ? भन्ने देखाउन हो । जब आफ्नै धर्मले चरम जातीय भेदभाव गर्दछ र त्यसको निराकरणको लागि असफल रहन्छ भने त्यहाँ बस्नुको औचित्य रहँदैन । राज्यले धार्मिक भेदभाव, सामाजिक भेदभाव र दलित जातिहरूलाई राज्यमा भागिदारी दिँदैन भने त्यो त्यो धर्ममा बस्नुको औचित्य रहँदैन । अम्बेडकरले हिन्दु धर्म परित्याग गरी बौद्ध दर्शन अपनाउनुको मूल कारण नै यही थियो ।

हिन्दु धर्म परित्याग गर्नुपर्ने कारणबारे माथि वर्णन गरिसकियो । बौद्ध धर्मले जाति व्यवस्थालाई नमान्ने हुँदा अम्बेडकरले १४ अक्टोबर १९५६ मा धम्म परिवर्तन समारोहमा बौद्ध धर्म अंगिकार गरे । तथापि बौद्ध धर्ममा हिन्दु धर्ममा जस्तै कर्म सिद्धान्त र पुनर्जन्म हुन्छ भन्ने जस्ता विश्वास भएकोले १९५६ को सोही समारोहमा बौद्ध परम्परामा केही संशोधनमार्फत २२ प्रतिज्ञा पत्र घोषण गरे । यसलाई भारत सरकार र राज्य सरकारले “नवयान” नामाकरण गर्यो । अम्बेडकरले बौद्ध परम्पराभित्र सुरु गरेका २२ प्रतिज्ञाहरू केके हुन् त हेरौं–

८.१ नवयानः २२ प्रतिज्ञा

(१)     म ब्रह्मा विष्णु र महेशमाथि आस्था राख्नेछैन र उनीहरूको पूजा गर्नेछैन ।

(२)     राम र कृष्ण जसलाई भगवानको अवतार मानिन्छ, म उनीहरूमाथि आस्था राख्दिन । यिनीहरूको पूजा गर्नेछैन ।

(३)     गौरी, गणपति र हिन्दु धर्मका अरु देवी देवतामा म आस्था राख्नेछैन र यिनीहरूको पूजा गर्नेछैन ।

(४)     म भगवान्को अवतारमा विश्वास गर्नेछैन ।

(५)     म भगवान् विष्णुको अवतार हुन्छ भन्ने कुरा मान्नेछैन । म यसलाई केवल दुष्प्रचार मात्र मान्दछु ।

(६)     म पितृहरूको नाममा श्राद्ध गर्नेछैन र उनीहरूको नाममा पिण्डदान गर्नेछैन ।

(७)     म बुद्धका सिद्धान्त र उनका शिक्षाको विरोध हुने काम गर्नेछैन ।

(८)     म ब्राह्मणहरूद्वारा कुनै पनि संस्कार कर्म गर्नेछैन ।

(९)     म मानिसहरूबीच समानतामा विश्वास गर्नेछु ।

(१०)    म समानता ल्याउनका लागि काम गर्नेछु ।

(११)    म बुद्धले बताएका अष्टाङ्ग मार्गमा हिँड्नेछु ।

(१२)    म बुद्धले बताएको पारमिता (उपदेश)को अनुशरण गर्नेछु ।

(१३)    म सबै जीवप्रति समभाव र दयाभाव राख्नेछु । म तिनीहरूको रक्षा गर्नेछु ।

(१४)    म चोरी गर्नेछैन ।

(१५)    म झुठ बोल्नेछैन ।

(१६)    म यौन अपराध गर्नेछैन ।

(१७)    म मादक पदार्थ र अन्य लागु पदार्थको सेवन गर्नेछैन ।

(१८)    म दैनिक जीवनमा अष्टाङ्ग मार्गको अनुशरण गर्नेछु । सहानुभूति र दयाभाव राख्नेछु ।

(१९)    म हिन्दु धर्म त्याग गर्दछु जो मानवताका लागि नोक्सानदायक छ । यो मानवताको विकास र प्रगतिमा बाधक छ किनभने यो असमानतामा आधारित छ । म बुद्ध धर्म अपनाइरहेको छु ।

(२०)    मेरो पूर्ण विश्वास छ कि बुद्ध धर्म नै एक मात्र सच्चा धर्म हो ।

(२१)    म मान्दछु कि मेरो पुनर्जन्म भइरहेको छ । मलाई विश्वास छ कि बुद्ध धर्म अपनाएर मेरो पुनर्जन्म भएको छ ।

(२२)    म आज यो कुराको घोषणा गर्दछु कि आज उप्रान्त म मेरो जीवन बुद्धका सिद्धान्त, उनका उपदेश, शिक्षा र उनको धर्मका अनुसार बिताउँनेछु ।

यसरी, अम्बेडकरले २२ वटा प्रतिज्ञापत्र जारी गरी बौद्ध धर्म अपनाए र यो बौद्ध परम्परामा नवयानको रूपमा स्थापित छ ।

० ० ० ०

९. बुद्धका अन्य २४ उपदेशहरू—

बुद्धले आफ्नो शिष्यहरूलाई २४ वटा गुणहरू पनि बताएका छन्, ती हुन्– (१) अनुराग (२) पराक्रम (३) धैर्य (४) शान्ति (५) महानुभावत्व (६) प्रशस्तत्व (७) श्रद्धान (८) अपीदान (९) निःसङ्ग, अर्थः सांसारिक विषयवासनादेखि अलग भएको (१०) आत्मनियन्त्रण (११) आत्माहवान  (१२) सत्यवादिता (१३) धार्मिकत्व (१४) न्याय (१५) अनृशंस्य (१६) छाया, अर्थः सौन्दर्य (१७) अमानिता, अर्थः मानवता (१८) प्रभुभक्ति (१९) करुणावेदिता (२०) आध्यात्मिक ज्ञान (२१) महोपेक्षा, अर्थः क्षमा (२२) अकल्पता, अर्थः इमान्दारी (२३) अनादित्व, अर्थः आदि पत्ता नलाग्ने (२४) अपेक्षा । यी सबैको व्याख्या गर्न यहाँ सम्भव देखिएन ।

अन्तमा, पहिलो संगीतिमा जन्मिएका सूत्त पिटक र विनय पिटकपछि दोस्रो संगीतिले पारित गरेको अभिधम्म पिटकसमेत मिलेर बौद्ध दर्शनको मूलग्रन्थ त्रिपिटकको जन्म भयो । त्रिपिटकमा जहाँजहाँबाट विचारहरू टिपिए, यसैभित्र अनुबन्धित भए र ती सबै बौद्ध दर्शनका रूपमा परिचित छन् । त्यसैगरी दोस्रो संगीतिबाट स्थापित भएका हीनयान र महायान बौद्ध परम्परापछि सन् १९५६ मा आएर नवयान बौद्ध परम्परा जोडियो । आज बौद्धमार्गीहरू जुनजुन सम्प्रदायमा विभाजित भए पनि तिनीहरू सबै यसै त्रिपिटकभित्र समाहित छन् र बौद्धमार्गीका रूपमा चिनिन्छन् ।

रिचमण्ड, भर्जिनिया, अमेरिका ।