वैदिककालीन ऋषि विश्वामित्रको अद्भुत वृत्तान्त हो यो –

प्रजापतिका एक पुत्र कुश थिए । कुशका छोरा कुशनाभ भए । कुशनाभका छोरा राजा गाधि भए । राजा गाधिकी रानीको नाम सत्यरानी थियो (गाधिकी रानीको नाम आधिकारिक स्रोतमा नभेटिएको तर आवश्यक भएकोले काल्पनिक नाम सत्यरानी राखिएको छ । -लेखक)

यिनै राजा गाधि र सत्यरानीका छोरा विश्वामित्र र छोरी सत्यवतीले जन्म लिएका थिए । विश्वामित्र “विश्व” र “मित्र” सन्धि भएर बनेको शब्द हो । तसर्थ, विश्वामित्रको अर्थ सबैसँग मैत्री र प्रेम हो । जन्मका आधारमा विश्वामित्र क्षेत्रीय कुलमा जन्म लिएका एक राजपुत्र अर्थात् राजकुमार थिए ।

हिन्दु परम्परामा विश्वामित्रको ठूलो स्थान छ । जन्मले यिनी क्षेत्रीय भए पनि पछि तपस्याद्वारा ठूलो साधना गरी ब्राह्मणत्व ग्रहण गरेको हुनाले विश्वामित्र ब्राह्मण र क्षेत्रीय गुणले सुसम्पन्न थिए । गायत्री मन्त्रको लेखन पनि विश्वामित्र ऋषिले नै गरेका थिए । विश्वामित्रकी बहिनी सत्यवतीको विवाह ऋषि ऋचिकसँग भएको थियो ।

विश्वामित्र ऋषिले एक पटक देवताहरूको स्वर्गलोकभन्दा भिन्नै अर्को स्वर्गलोकको निर्माण गर्ने उद्देश्यले भयङ्कर तपस्या गरिरहेका बेला इन्द्रको कोपभाजनमा परे र उनको यो योजना नराम्रोसँग असफल भयो ।

0000

विश्वामित्र र त्रिशंकुको कथा –

विश्वामित्रले अर्को स्वर्गलोकको निर्माण गर्न खोजेको कथा निकै रोचक छ । यो कथा त्रिशंकु राजा र त्रिशंकु स्वर्गको उत्पत्तिको कथा पनि हो । यो कथा रामायणको बालकाण्डमा पढ्न पाइन्छ । कथाअनुसार उस बेला अयोध्यामा पृथु नाम गरेको एक प्रसिद्ध सूर्यवंशी राजा थिए । राजा पृथुपछाडि उनका छोरा सत्यव्रत अयोध्याको राजा भए । यो कथाको मुख्य पात्र पनि राजा सत्यव्रत हुन् ।

सूर्यवंशी राजा सत्यव्रतले लामो समय राजकाज गरी वृद्धावस्थामा प्रवेश गरेपछि राज्यका उत्तराधिकारी उनकै छोरा हरिश्चन्द्रलाई राजपाठ जिम्मा लगाए । यो अयोध्या राज्यको कुरा हो । राजा सत्यव्रत अत्यन्तै धार्मिक थिए । यसकारण उनी स्वर्गका लागि योग्य व्यक्ति पनि थिए, तर राजा सत्यव्रतलाई जिउँदै स्वर्ग जाने इच्छा भयो । जिउँदै स्वर्ग जाने राजाको यो इच्छाको कारण विश्वामित्र कथामा जोडिन्छन् र यो रोचक कथाको जन्म हुन्छ । राजा सत्यव्रतलाई यस कथाले त्रिशंकु नामले पनि चिनाउँछ ।

सशरीर स्वर्ग जाने आफ्नो इच्छा पूरा गर्न राजा सत्यव्रत आफ्ना गुरु वशिष्ठकहाँ गएर आफूलाई जिउँदै स्वर्ग जाने इच्छा रहेको र यसका लागि विशेष यज्ञ गरिदिन आग्रह गरे । सशरीर स्वर्ग जानु प्राकृतिक नियम विरुद्ध हुन्छ भनेर गुरु वशिष्ठले उनको अनुरोधलाई अस्वीकार गरे । गुरुको अस्वीकृतिपछि राजाको इच्छा झन् तीव्र हुँदै गयो । राजाले जेठा गुरुपुत्र शक्तिलाई पनि आफ्नो इच्छापूर्तिका लागि यज्ञ गरिदिन आग्रह गरे । यसबापत मागे जति धनसम्पत्ति एवम् प्रसिद्धि दिने लोभ पनि देखाए । राजाले सम्पत्ति एवम् प्रसिद्धिको लोभ देखाई प्राकृतिक नियमविरुद्ध स्वर्गमा जाने यस्तो जघन्य कर्मका लागि प्रोत्साहन गरेको भनी शक्तिले क्रुद्ध हुँदै राजालाई ‘चण्डाल भई त्रिशंकु बन्नु’ भनी श्राप दिए । गुरु वशिष्ठ र गुरुपुत्र दुवैबाट सहयोग प्राप्त गर्न नसकेपछि सत्यव्रत उर्फ त्रिशंकु आफ्नो इच्छा पूर्तिका लागि उपायको खोजीमा वन जङ्गलतिर विचरण गर्न थाले ।

जङ्गलमा सत्यव्रतको भेट ऋषि विश्वामित्रसँग भयो । भेटमा राजाले विश्वामित्रलाई आफ्नो उद्देश्य बताउँदै गुरु वशिष्ठ एवम् गुरुपुत्र शक्तिद्वारा उनको इच्छा नजरअन्दाज गरी आफूलाई अपमान गरेको कुरा सुनाए । राजाको कुरा सुनी विश्वामित्रले राजालाई सहयोग गर्ने वचन दिए । वशिष्ठद्वारा अस्वीकृत प्रस्तावलाई यसरी विश्वामित्रले स्वीकार गर्नुको कारण उनीहरूका बिच भएको शत्रुतापूर्ण सम्बन्ध थियो । यिनीहरूको वैमनश्यताको कारण यो अध्यायको तल छ ।

विश्वामित्रले तुरुन्तै सत्यव्रतलाई जिउँदै स्वर्ग पठाउने यज्ञको प्रारम्भ गर्ने वचन दिए । त्यसपछि विश्वामित्रले उनका छोराहरूलाई बोलाएर यज्ञका सामग्री तयार गर्न अह्राए । आफ्ना शिष्यहरूलाई वनमा रहने सबै ऋषिमुनीहरू एवम् वशिष्ठसहित उनका पुत्र शक्तिलाई पनि यज्ञमा बोलाउनू भनी आदेश दिए । विश्वामित्रको निमन्त्रणा पाएर वशिष्ठसहित सबै ऋषिमुनीहरू उपस्थित भए तर शक्तिले यज्ञमा आउन अस्वीकार गरे । चण्डाल जजमान र क्षेत्री पुरोहित भएको यज्ञमा जान सकिँदैन भन्ने उनको आरोप थियो । वशिष्ठका छोरा शक्तिको जवाफ सुनेर रिसाएका विश्वामित्रले उनलाई कालपासले बाँधेर ल्याई सात सय वर्षसम्म चण्डाल योनीमा विचरण गर्नू भनी श्राप दिई यमलोक पठाइदिए ।

यसपछि यज्ञ प्रारम्भ भयो । यज्ञको समाप्तिपछि “आ-आफ्नो भाग लिन आउनू” भनी विश्वामित्रले सबै देवताहरूलाई आह्वान गरे तर गलत उद्देश्यका लागि गरेको यज्ञ भनी कुनै पनि देवताहरू प्रसाद लिन आएनन् । देवताहरूसँग रिसाएका विश्वामित्रले मन्त्र पढ्दै अर्घ्य लिएर अकाशतिर जल छर्किए र जजमान राजा सत्यव्रततिर हेरे ।

यज्ञको प्रभावले राजा सत्यव्रतको शरीर स्वर्ग-यात्राका लागि आकाशमार्गतिर उड्न लाग्यो ।

यस्तो अप्राकृतिक घटना हुने सम्भावनाले स्वर्गमा ठुलो खैलाबैला भयो । अन्तमा, देवराज इन्द्रको अगुवाइमा सम्पूर्ण देवताहरू मिलेर सत्यव्रतलाई स्वर्गमा प्रवेश निषेध गरे । स्वर्गको सिमानामा प्रवेश गर्नै लाग्दा देवताहरूले सत्यव्रतलाई मत्र्यलोकतिर नै ठेलेर हत्याइदिए । देवताहरूले स्वर्गको सीमाबाट घचेटिएका राजा पृथ्वीतर्फ नै झर्न लागेको देखी विश्वामित्रले आफ्नो योगबलले सत्यव्रतलाई पृथ्वीमा झर्नबाट बिचमै रोके । फलतः राजा सत्यव्रत स्वर्ग र पृथ्वीको बिचमा तल न माथि “त्रिशंकु” बनेर झुण्डिए । जिउँदै स्वर्ग जाने कुरा अप्राकृतिक हो भनी अगाडि नै ऋषि वशिष्ठसमेत उनका पुत्र शक्तिले अस्वीकार गरेको र शक्तिले क्रोधित भई त्रिशंकु हुनू भनी दिएको श्राप यहाँ आएर सत्य साबित भयो । यसपछि वृद्ध राजा त्रिशंकुका नामले पनि चिनिन थाले ।

घटना यतिमै सीमित रहेन । देवताहरूले सत्यव्रतलाई स्वर्गबाट पृथ्वीतिर घचेटिदिएपछि विश्वामित्रले यस घटनालाई प्रतिष्ठाको विषय बनाए । वशिष्ठसँगको वैमनश्यता अब इन्द्रसँग पनि गाँसिन पुग्यो । विश्वामित्रले आफ्नो वचनको मान जोगाउन स्वर्ग र पृथ्वीका बिचमा नयाँ स्वर्गको निर्माण गरी त्रिशंकुलाई सशरीर त्यहीँ नयाँ स्वर्गमा पठाए । नव निर्मित स्वर्गमा प्रवेश भएपछि त्रिशंकु अब श्रापबाट मुक्त भई पूर्ववत् सत्यव्रत भए । यता विश्वामित्रले नव निर्मित स्वर्गमा सत्यव्रतलाई नै नयाँ इन्द्र बनाउने विचार गरी भयङ्कर तपस्याको प्रारम्भ गरे ।

विश्वामित्रको यो तपस्याबाट देवताहरू चिन्तित भए । यही बेला विश्वामित्रको तपस्यामा मेनकाको प्रवेश भयो । राजा इन्द्रले विश्वामित्रको यही तपस्या भङ्ग गर्न अप्सरा मेनकालाई तपस्या स्थलमा पठाए र मेनकाले विश्वामित्रको तपस्या भङ्ग पनि गराइन् । मेनकाद्वारा विश्वामित्रको तपस्या भङ्गसम्बन्धी चर्चा र त्यसको परिणामबारे माथि नै आइसकेको छ ।

तपस्या भङ्ग भएपछि विश्वामित्रले पनि तपस्या परित्याग गरे । देवताहरूले जिउँदो शरीर धारण गरी कुनै पनि व्यक्ति स्वर्गमा प्रवेश गर्नु सृष्टिको नियम विपरीत हुने भएकोले सत्यव्रतलाई प्रवेश निषेध गरिएको भनेर विश्वामित्रलाई सम्झाए । सृष्टिको नियम विश्वामित्रलाई थाहा नभएको होइन । देवताहरूले सम्झाएपछि विश्वामित्रको अहम् पनि शान्त भयो । उनले देवताहरूलाई भने, “मैले तपस्या स्थगित गरे पनि म आफ्नो कर्मबाट पछि हट्ने छैन ।” फलतः विश्वामित्र र देवताहरूका बिच सम्झौता भयो । सम्झौता के भयो भने- त्रिशंकु नयाँ स्वर्गमा नै बस्नेछन् । देवताहरूले उनलाई कुनै कष्ट दिने छैनन् र त्रिशंकुले पनि इन्द्रको आज्ञा पालन गर्नेछन् ।

आज पनि यो विश्वास गरिएको छ कि स्वर्ग र पृथ्वीको बिचमा झुण्डिएको त्रिशंकु स्वर्गमा राजा सत्यव्रत उर्फ त्रिशंकु अहिले पनि बसिरहेका छन् ।

0000

विश्वामित्र एक वैज्ञानिक पनि हुन् –

यस घटनालाई आधुनिक विज्ञानसँग जोडेर हेर्न सकिन्छ । मानिसहरूले पृथ्वीको तल्लो कक्षमा अन्तर्राष्ट्रिय स्पेस स्टेसन खडा गरेको छ । यस स्टेसनमा खगोल शास्त्रीहरू जाने आउने गर्दछन् भने यसबाट चन्द्रमा लगायत अन्तरिक्षको अध्ययन गर्न सजिलो भएको छ । त्यस्तै, विश्वामित्रले खडा गरेको त्रिशंकु स्वर्ग पनि अहिलेको स्पेस स्टेसन जस्तै हो । अर्को दृष्टिमा भन्दा त्यति बेला विज्ञानको विकास आजको भन्दा उच्चस्तरको थियो । वैदिक कालमा एक जना ऋषिको योगबलले अन्तरिक्षमा चाहेअनुसारको स्थान बन्दथ्यो भने विज्ञानको उन्नति उत्तिकै अब्बल रहेको मान्नुपर्छ । आफ्नो योगबल र उच्च चेतनायुक्त गुणले सम्पन्न विश्वामित्र त्यस बेलाको एक वैज्ञानिक पनि थिए ।

0000

ऋषि विश्वामित्र र ऋषि वशिष्ठको शत्रुताको कारण –

राजाका रूपमा विश्वामित्र –

विश्वामित्र राजा गाधि र महारानी सत्यरानीका पुत्र थिए । तसर्थ, उनी राज्यका उत्तराधिकारी थिए । विश्वामित्र कसरी ऋषि बने भन्ने अत्यन्तै घतलाग्दो कथा छ । राजा गाधिले आफ्नो जीवनको उत्तरार्धतिर राज्यबाट अवकाश लिई वानप्रस्थ जीवन निर्वाह गर्ने निर्णय गरे । राजाले राजकुमार विश्वामित्रलाई राजगद्दी सुम्पिए र आफू वानप्रस्थका लागि प्रस्थान गरे । राजा भएपछि विश्वामित्रले आफ्नो नाम जस्तै कर्म गर्दै रहे । उनको राज्य ठिकसँग चलिरहेको छ । उनको राज्यमा प्रजाहरू खुसी र सुखी नै थिए । एक दिन राजा विश्वामित्र मनोरञ्जनका लागि आफ्नी रानीसँग जुवा खेल्न भनी बसे । उस बेला राजा महाराजाहरूका राजदरबारमा मनोरञ्जनका रूपमा जुवा खेल्ने प्रचलन नै थियो । मनोञ्जनका रूपमा खेलिने भए पनि खेल त खेल नै हो । त्यहाँ जीत र हारको कुरा हुन्छ । जित्नका लागि दाउ पेचको कूटनीति हुन्छ, बुद्धि र चालबाजीको प्रयोग हुन्छ । राजा विश्वामित्र र रानीका बिचको खेलमा रानीले खेल जितिन्, राजाको हार भयो ।

खेल जितेपछि रानी जोडजोड हाँस्न थालिन् । रानीको हँसाइले पराजित राजा विश्वामित्र भित्रभित्रै हारको पीडाले कुँडिए र उनलाई अपमान बोध भयो । रानीसँगको हारले पीडित राजाले जुवा खेल्दा प्रयोग हुने सबै पासा फुटाई जुवा खेल्न प्रयोग हुने कपडासमेत च्यातेर फ्याँकिदिए । राजा विश्वामित्र क्रोधित हुँदै दरबार गए ।

दरबार पुगेका राजालाई देखेर उनका भारदारहरूले उनको जयजयकार गर्न थाले । उनले भारदारहरूलाई भने, “मैले के त्यस्तो जयजयकार हुने काम गरेको छु र जयजयकार गरेको हो ?” राजाका भारदारहरू अर्थ नबुझी मौन भए । राजाले भने, “अब म जयजयकार हुने काम गर्नेछु ।” उनले दरबारमा यो घोषणा गरे, “अब हामीले राज्यको बिस्तारमा लाग्नुपर्छ । तसर्थ, राज्यमा भएका १२ वर्षभन्दा माथिका र सबै युवकहरूलाई सैन्य तालिम केन्द्रमा पठाउनू । उनीहरू युद्धका लागि तयार भएर रहनू ।” उनले अगाडि भने, “जुन जुन राजाहरू आत्मसमर्पण गर्दछन्, तिनीहरूलाई आफ्नो साथमा लिनुपर्छ । जसले अवज्ञा गर्नेछन्, हामी उनीहरूसँग युद्ध गर्नेछौँ ।” त्यसपछि विश्वामित्र ठुलो सैन्यशक्ति लिएर राज्य बिस्तारका लागि युद्धमा हिँडे ।

0000

ऋषि वशिष्ठसँग भेट –

राजा विश्वामित्रले धेरै देशका राजाहरूसँग युद्ध गरी उनीहरूलाई आफ्नो अधीनमा लिए । लगातार बाह्र वर्षसम्म राज्य विस्तारको चरण पूरा गरेपछि राजा विश्वामित्र आफ्ना सैन्य बलसहित दरबार फर्किँदै थिए । फिर्ती यात्रामा राजा र उनका सैनिकहरू एक ठाउँमा शिविर खडा गरी बास बस्न पुगे । संयोगले ऋषि वशिष्ठको आश्रम पनि त्यहीँ नजिक थियो ।

राजा विश्वामित्र ठुलो सैन्य बलसहित आफ्नो आश्रमछेउ बसेको सूचना ऋषि वशिष्ठलाई चेलाहरूले दिए । ऋषि वशिष्ठले आफ्ना राजालाई आतिथ्य ग्रहणका लागि आश्रममा निमन्त्रणा गरे । ऋषिको आग्रहलाई राजाले पनि स्वीकार गरे । एकदिन विश्वामित्र केही सैनिक लिएर वशिष्ठका आश्रममा गए । वशिष्ठले उत्साहपूर्वक राजाको सत्कार गरे । केही दिन ऋषि आश्रममा बिताएपछि राजाले ऋषिलाई भने, “हे ऋषि वशिष्ठ, मेरा साथमा धेरै सैनिकहरू पनि छन् । तपाईंलाई यति धेरै सैनिकसहित अतिथि सत्कार गर्न गारो हुने भएकोले आज्ञा दिनुहोस्, हामी बाटो लाग्नेछौँ ।” राजाको यस्तो कुरा सुनेर ऋषिले पुनः बिन्ती गर्दै भने, “हे राजन ! चिन्ता नलिनुहोस् । मलाई यसमा कुनै समस्या हुने छैन ।” ऋषिको अनुरोधलाई राजाले टार्न सकेनन् र केही दिन बस्ने निधो गरे ।

ऋषि वशिष्ठले अधिक सैनिकसहितका राजाको सत्कार गर्न कामधेनु गाईलाई बोलाए । कामधेनु गाईका प्रतापले राजा र सम्पूर्ण सैनिकहरूका लागि ८४ व्यञ्जनसहितको राजभोजन र बस्ने व्यवस्था भयो । ऋषि वशिष्ठको आतिथ्य सत्कार पाई राजा एवम् सबै सैनिकहरू पूर्ण सन्तुष्ट भए ।

0000

ऋषि वशिष्ठसँग शत्रुता –

राजा विश्वामित्रलाई वशिष्ठ ऋषिले पालेको कामधेनु गाईले आश्चर्य पार्‍यो । एउटा गाईको यस्तो चमत्कार देखेर राजाले वशिष्ठसँग कामधेनु गाई मागे । राजाको यस्तो माग सुनेर ऋषि बोले, “हे राजन ! कामधेनु मेरो जीवन हो । कुनै पनि मूल्यमा म यो गाई दिन सक्दिन ।” यसरी ऋषिले राजाको मागलाई अस्वीकार गरे । त्यत्रा सैनिकसहितका शक्तिशाली राजाको मागलाई ऋषिले अस्वीकार गरेको राजालाई सह्य भएन । तत्काल कामधेनु गाईलाई बाँधी हिँडाउन राजाले सैनिकहरूलाई आदेश दिए ।

राजाको आज्ञा पाएपछि सैनिकहरूले दाम्लोले बाँधी गाईलाई हिँडाउन थाले । गाई हिँड्न नमानेपछि लौरोले पिटीपिटी गाईलाई दण्ड दिँदै गाईलाई खेद्न थाले । राजाको यस्तो कर्मबाट दुःखी भएर कामधेनु आफ्नो शक्तिले बन्धनबाट छुटी ऋषिकहाँ आएर दुःख पोखिन् । ऋषिले गौमातालाई भने, “हे गौमाता ! म पनि दुःखी छु । विश्वामित्र मेरा यहाँ अतिथि छन्, त्यसैले यिनलाई श्राप दिन पनि सक्दिन । फेरि यी राजासँग यति धेरै सैन्यबल छ । लडेर जित्न सकिँदैन । यसैले म निरुपाय छु, म केही गर्न सक्दिन ।” ऋषिको यस्तो कुरा सुनी कामधेनुले भनिन्, “उसो भए मलाई आज्ञा दिनुहोस् । म यी राजालाई छिनभरमै परास्त गर्नेछु । मलाई यी कुनै कुराको बन्धन छैन ।” अन्य कुनै उपाय नदेखेपछि ऋषिले कामधेनुलाई आज्ञा दिए ।

ऋषिको आज्ञा लिएर कामधेनु गाईले आफ्नो योगबलद्वारा शास्त्रअस्त्रले सुसज्जित हजारौँ वीर योद्धाहरूको उत्पन्न गरिन् । कामधेनुका योद्धाहरूले राजा विश्वामित्रका त्यो विशाल सैनिकलाई क्षणभरमै सखाप पारिदिए । आफ्ना सैनिकहरू यसरी पराजित हुन लागेको देखेर विश्वामित्रका एक सय छोराहरूले एकै पटक ऋषि वशिष्ठमाथि आक्रमण गरे तर ऋषि वशिष्ठले विश्वामित्रका एक छोरा छाडी बाँकी सबैलाई प्रतिकारमा मारिदिए ।

आफ्ना उनान्सय पुत्र र सैनिकहरूको त्यस्तो दुर्गति भएपछि पराजित भएका राजा प्रतिशोधको भावनाले वशिष्ठविरुद्ध उपायको खोजी गर्न थाले । बदलाको भुङ्ग्रोमा बिरोलिएका राजाले बचेको पुत्रलाई राजगद्दी सुम्पिएर हिमालयको गुफामा गई महादेवको कठोर तपस्या गर्न थाले । कठोर तपस्याद्वारा महादेवलाई प्रसन्न पारी उनले धनुर्विद्याको सम्पूर्ण ज्ञानको वरदान प्राप्त गरे ।

महादेवबाट धनुर्विद्यामा दीक्षित भएपछि विश्वामित्र ऋषि वशिष्ठको आश्रममा पुगे । उनले क्रोधित भई वशिष्ठलाई चुनौती दिँदै भने तिम्रो म सर्वनाश गर्नेछु । ऋषि वशिष्ठले पनि उनको चुनौतीलाई सहर्ष स्वीकारे । उनीहरूको बिचमा घोर लडाइँ भयो । लडाइँमा विश्वामित्रले वरुणास्त्र, रुद्रास्त्र, इन्द्रास्त्र र पशुपतास्त्रले प्रहार गरे । शस्त्रविद्यामा वशिष्ठ पनि कम थिएनन्, उनले विश्वामित्रका ती अस्त्रहरूलाई पलमै निस्काम गरिदिए ।

आफ्नो अस्त्र निष्फल भएको देखी विश्वामित्रले फेरि मानवास्त्र, महानास्त्र, गन्धर्वास्त्र, जुम्भनास्त्र, दार्नास्त्र, बज्रास्त्र, ब्रह्मापास, कल्प, वरुणपाश, पिनाक धनुष, दण्डास्त्र, ऋषिशास्त्र, क्रौनचास्त्र, धर्मचक्र, कालचक्र, विस्त्रलेष्ट, शास्त्रास्त्र, द्वन्द्वास्त्र, षड्यन्त्र, आधार, कलास्त्र आदि लगायतका हतियारहरूले प्रहार गरे । वशिष्ठले ती सम्पूर्ण प्रहारको सामना गरी विश्वामित्रमाथि ब्रह्माण्डीय अस्त्र (ब्रह्मास्त्र)को प्रहार गरे । यस अस्त्रबाट उत्पन्न हुने भयङ्कर आवाजले ब्रह्माण्ड नै बहिरो जस्तो भयो, यसबाट उत्पन्न भएको लाखौँ सूर्य बराबरको प्रकाशले सबैको नेत्रशक्ति गए जस्तो भयो र उत्पन्न ऊर्जाले ब्रह्माण्ड नै ध्वस्त हुने जस्तो भएकोले संसार नै सकसपूर्ण भयो ।

वशिष्ठले प्रहार गरेको यस्तो प्रलयकारी शक्तिको पीडाबाट संसारलाई जोगाउन सबै ऋषिमुनीहरूले वशिष्ठलाई अनुरोध गरे, “तपाईंले विश्वामित्रलाई पराजित गर्नुभयो । अब यस शक्तिको प्रभावलाई निष्क्रिय गर्नुहोस् ।” ऋषिमुनीहरूको यस्तो बिन्ती सुनेर वशिष्ठले आफ्नो मन्त्रले त्यस अस्त्रलाई फिर्ता बोलाए र त्यसको आवाज, ज्वाला र शक्तिलाई शान्त गरे । विश्वामित्रले पनि आफ्नो हार स्वीकार गरे ।

वशिष्ठबाट पुनः पराजित भएका विश्वामित्र हार स्वीकार गरी श्रीमतीसँगै ब्रह्माजीको तपस्या गर्न दक्षिण दिशातिर लागे । यस पटक विश्वामित्रमा वशिष्ठसँगको पहिलो हार जस्तो प्रतिशोधपूर्ण रहेन, तथापि वशिष्ठ र उनका पुत्रले क्षेत्री पुरोहित भएको यज्ञ स्वीकार नगरेको घटनाप्रति भने चिन्तित थिए । विश्वामित्रको तपस्यादेखि प्रसन्न भएर ब्रह्माजीले ऋषिलाई राजर्षिको वरदान दिए । राजर्षिको वरदान प्राप्त भए पनि विश्वामित्रमा भने सन्तुष्ट भएनन् । उनलाई महर्षि हुने इच्छा थियो । तसर्थ, उनले विचार गरे, मेरो तपस्या अझै पूरा भएको छैन । उनले फेरि तपस्यामा जाने निधो गरे ।

त्यसपछि विश्वामित्र पूर्व दिशातिर गई झन् कठोर तपस्यामा बसे । यस तपस्यामा उनलाई अनेक बाधाहरू पनि आइलागे तर कस्तै बाधा आइपरे पनि बिनाक्रोध विश्वामित्र अविचलित भई तपस्यामा लीन रहे । केही कालपछि जब तपस्याको समयावधि सकियो, विश्वामित्र भोजनका निम्ति बसे । भोजन गर्ने समयमा राजा इन्द्र एक जना भिक्षुक रूपमा आएर भोजनका लागि हात थापे । तपस्या समाप्तिपछि गर्न लागिएको भोजन भिक्षुकद्वारा याचना भएपछि विश्वामित्रलाई लाग्यो, मेरो तपस्या समाप्त भएको छैन र अहिले भोजन गर्ने समय पनि होइन । तसर्थ, विश्वामित्रले भोजन भिक्षुकलाई दिई पुनः निराहार तपस्या सुरु गरे ।

यस पटक विश्वामित्रले तपस्यामा निराहार रहनुका साथै प्राणायाम योगपद्धतिद्वारा सम्पूर्ण श्वासप्रश्वास क्रियालाई स्थिर राखी महादारुण तपस्या गरे । विश्वामित्रको यो तपस्या आमरण तपस्या थियो । यस्तो कठोर तपस्या देखी देवताहरूले ब्रह्मासँग गएर बिन्ती चढाए, “हे प्रभु ! विश्वामित्रको तपस्याले क्रोध र मोहको सीमा पार गरिसकेको छ । यस तपस्याको बलले यिनको शरीरबाट तेज उत्पन्न भएर रातमा पनि सूर्य उदाएसरि उज्यालो भएको छ । यसकारण, हे ब्रह्मा ! अब विश्वामित्रलाई वरदान दिनुहोस् र उनको आकाङ्क्षा पूरा गर्नुहोस् ।”

0000

विश्वामित्र वशिष्ठका बिच सम्झौता र विश्वामित्रबाट ब्राह्मणत्व ग्रहण –

देवताहरूको कुरा सुनी ब्रह्मा पनि खुसी भएर विश्वामित्रकहाँ प्रकट भई उनलाई ब्राह्मणको उपाधि दिए । विश्वामित्रले तब ब्रह्मालाई बिन्ती गरे, हे भगवान् मलाई ओंकार, षट्कार र चार वेदको ज्ञानको वरदान दिनुहोस् । फेरि विश्वामित्रले अनुरोध भावमा भने, जबसम्म ऋषि वशिष्ठ आएर मलाई ब्राह्मण स्वीकार गर्नेछैनन्, तबसम्म म मेरो तपस्या पूर्ण भएको मान्नेछैन । ब्रह्माले विश्वामित्रका सबै इच्छाहरूलाई “तथास्तु” भनी त्यहाँबाट अलप भए ।

विश्वामित्रलाई ब्रह्माले वरदान दिएको कुरा देवताहरूले ऋषि वशिष्ठलाई गएर बेलिबिस्तार लगाए । देवताहरूको कुरा सुनी ऋषि वशिष्ठ पनि उनीहरूसँगै विश्वामित्रकहाँ गएर भने, “हे विश्वामित्र, म तपाईंको ब्राह्मणत्व स्वीकार गर्दछु । तपाईं ब्रह्मर्षि हुनुहुन्छ ।” त्यसपछि विश्वामित्र र वशिष्ठले आपसमा प्रेमपूर्वक अङ्कमाल गरे र उनीहरूको वैमनस्यताको अन्त्य भयो ।

यस प्रकार, एक क्षेत्रीय कुलका राजा विश्वामित्रले सदैव ब्राह्मणत्व ग्रहण गरे ।