
“ऐया ऽ ऐया ऽऽ हे ईश्वर ! मलाई किन मर्न दिएनौ ?” केही दूरबाट अत्यन्त करुण स्त्रीआवाज आइरहेको थियो । ती युवती रोइरहेकी ठाउँ नजिकै ऋषि मरीचिको आश्रम थियो । ऋषिले शिष्यहरूलाई बोलाए र आफूसहित स्त्री रोएको आवाज आएको दिशातिर हिँडे ।
एउटी जवान स्त्री रूखमुनि पल्टिएकी थिइन् उनको पैतालाबाट रगत चुहिरहेको थियो । शरीरका कपडा काँडाले धुजाधुजा भएका थिए । आँखाबाट आँसु चुहिरहेको थियो । ऋषि मरीचि र उनका शिष्यहरू ती स्त्रीको दुर्दशा देखेर द्रवित भए । ऋषि उनको नजिकै गए र स्नेहपूर्वक सोध्न थाले ।
“हे नानी ! यस्तो दुर्दशा परेकी तिमी को हौ ? कहाँ जान आयौ ?” उनी बोल्नै पनि सक्ने अवस्थामा थिइनन् । उनले ऋषिको अनुहारमा हेरिन् । उनको आँखाले पीडा मात्र बोलिरहेका थिए । ऋषिले तुरुन्तै आफ्नो तपोबलले उनको शरीरमा शक्ति सञ्चार गरिदिए र शिष्यहरूसमेत भई आफ्नो कुटीमा लिएर गए । कुटीमा पुगेपछि ऋषिले अरू सोधपुछ शुरु गरे ।
“हे गुरु ! म हजुरको प्रश्नको जवाफ एक वाक्यमा दिन सक्दिनँ । यसका लागि हजुरले एउटा सिङ्गो घटना सुन्नु पर्ने छ ।” ती स्त्रीले ऋषिका सामु हात जोड्दै भनिन् ।
“भन त्यो घटना पनि म सुन्न चाहन्छु । ऋषि हुँ तर कसैको पीडामा बेखबर बन्न सक्दिनँ ।” ऋषिले अनुमति दिए ।
“हे ऋषिवर ! केही वर्ष अघिको कुरा हो ऋषि विश्वामित्रले ठूलो तपस्या गर्नुभएछ । उहाँको तपस्याबाट इन्द्रको अमरावती काँप्न थालेछ । अब यी तपस्वीले मेरो इन्द्रावती नै लिन्छन् कि क्या हो भन्ने आशङ्का बढेकाले देवराज इन्द्रले मेनका अप्सरा र वायुलाई इन्द्रको तपस्या भङ्ग गर्न भनेर पठाउनुभएछ । मेनका ऋषि विश्वामित्रको नजिकै आएर नाच्न थाल्नुभयो ।
अनेक भावभङ्गीले नाचगान गर्दा पनि विश्वामित्रले आँखा खोल्न भएन । अन्ततः वायुले मेनकाका वस्त्रहरू एकपछि अर्को गर्दै उडाएर विश्वामित्रको शरीरमा स्पर्श गर्न पुर्याउनु भएपछि विश्वामित्रको आँखा खुल्यो । आँखा सामुन्नेमा अर्धनग्न सुन्दरी देखेर उहाँ मोहित हुनुभयो र सुखभोग गर्नुभयो । केही समयपछि एउटी कन्या जन्मिइन् । मेनकाको पृथ्वीलोकको भोग पनि सकियो । जन्मेकी कन्यालाई छोडेर उहाँ अमरावती जानुभयो । आमाले समेत त्यागेकी ती विचरी कन्यालाई बाबु विश्वामित्रले झनै सजिलै गरी त्याग गरिदिनुभयो । ती अभागी कन्यालाई ऋषि कण्वले फेला पार्नुभयो । उहाँले उसलाई अत्यन्त स्नेहपूर्वक कुटीमा लगी पालनपोषण गर्नुभयो ।
ऋषि कण्वको आश्रमछेउमा एउटा बालमृग पनि थियो । ती कन्या त्यही बालमृगसँग खेल्थिन् । ठूली हुँदै गएपछि उनी ऋषिको काममा सघाउँथिन् । फूल टिपेर पूजाका लागि व्यवस्था मिलाइदिने र फलफूल खोज्न सघाउने काममा उनी लाग्न थालिन् । समय बित्दै गयो र कन्या पनि बढ्दै गइन् । बालअवस्थाबाट उनको यौवनावस्था शुरु भयो ।
एक दिन अपराह्नतिर ऋषि कण्व ती कन्यालाई आश्रममा छोडेर कतै गएका थिए । मृग आश्रम भन्दा पर केही चरिरहेको थियो । अचानक घोडाको पदचाप सुनियो । ती कन्या आश्रमबाट दौडिएर घोडाको पदचाप आएतिर पुगिन् । घोडाचढीले धनुवाण झिकेर त्यो सुन्दर मृगतिर सोझ्याउँदै थिए ।
ती कन्या परैबाट चिच्याइन्, “खबरदार यो मृगमाथि बाण नहानियोस्, मर्नैपर्छ भने मलाई मार्नुहोस् ।” ती युवती मृगको अघिल्तिर गएर उभिइन् । घोडचढी चकित परे । उनले ताँदोमा चढाएको बाण झिके र ठोक्रोमा राखे । उनी घोडाबाट ओर्लिए र ती कन्यासँग सोधपुछ शुरु गरे । ती कन्याले त्यो मृग कण्व ऋषिले पालेको बताइन् । उनको कुरा सुनेर ती घोडचढी चकित परे । “तिमीलाई लाखलाख धन्यवाद । म ठूलो अपराध गर्नबाट बचेँ” उनले भने । ती हस्तिनापुरका राजा दुष्यान्त रहेछन् ।
राजा भएपछि त्यो राज्यभित्र बाँच्ने र आश्रय लिने सम्पूर्ण प्राणीको रक्षा गर्नुपर्ने ठाउँमा यस्तो शिकार गर्ने भनेर ती युवतीले र्याखर्याख पारेपछि राजाले युवतीसँग क्षमा मागे । उनी ती युवतीप्रति निकै आशक्त भइसकेका थिए । त्यस दिनदेखि ती राजा तिर्खा लागेको बहानामा त्यस आश्रमको वरिपरि आउन थाले । धर्मपिता नभएको बखत ती कन्या पनि राजासँग समय बिताउन थालिन् । पिताको अनुपस्थितिमा नै उनीहरूले गन्धर्व विवाह गरे । राजाले विवाहको चिह्नको रूपमा एउटा औँठी दिएर उपयुक्त समयमा लिन आउने विचार गरेर हिँडे ।
समय बित्दै गयो । एक दिन त्यस कुटीमा ऋषि दुर्वासा आए । ती कन्या राजा दुष्यन्तकै बारेमा सोच्दै थिइन् । दुर्वासाले अलक निरञ्जन पानी प्यास लाग्यो भनेको कुरा उनले सुनिनन् । उनी त एकाग्र भएर उनै राजा दुष्यान्त र प्रेमका बारेमा सोच्दै थिइन् । त्यतिका बेला सम्म अलक निरञ्जन भन्दा पनि त्यस कुटीबाट कुनै प्रतिक्रिया नआएपछि दुर्वासा ऋषि रिसाए । उनले ठूलो स्वरले चिच्याएपछि मात्र कन्याले सुनिन् र झसङ्ग भएर बाहिर निस्किन् ।
“दुष्ट ! तँ कसैलाई सम्झिएर अतिथि सत्कारको मर्यादाबाट च्युत भइस् त्यसकारण तैँले जसलाई सम्झिरहेकी छस् त्यसले तँलाई बिर्सोस् ।” छिटै क्रोधमा आएका दुर्वासाले श्राप दिए । श्राप पाएपछि ती कन्याले रोइकराइ गरिन् । ऋषिलाई थप आदर सत्कार पनि गरिन् । केही बेरपछि ऋषिको क्रोध सामान्य भयो ।
“हे ऋषिवर ! मजस्ती अनजानलाई हजुरले किन श्राप दिनुभयो ? तपाईंजस्तो महात्मालाई यस्तो कार्य गर्न सुहाउँछ र ?” ती कन्याले हात जोड्दै भनिन् ।
“हे नानी ! मेरो अवगुण भनेकै रिसाउने हो । मैले यस मामिलामा कहिल्यै सुधार गर्न सकिनँ । वास्तवमा अन्यत्रजस्तै म यहाँ पनि क्रोधमा आएछु र श्राप दिइहालेँ । दिइसकेको श्राप फिर्ता हुँदैन तर त्यसलाई कम भने गर्न सकिन्छ । उसले दिएको कुनै उपहार देखायौ भने उसले तिमीलाई चिन्नेछ ।” दुर्वासाले सान्त्वना दिए र बाटो लागे । आफूसँग उपहारको रूपमा राजाको औँठी भएकाले ती युवती पनि आश्वस्त भइन् ।
समय निरन्तर बगिरह्यो आफ्नै गतिमा तर राजा ती युवतीलाई लिन आएनन् । युवतीको पेट बढ्दै गयो । एक बिहान ऋषि कण्व नैमिसारण्य क्षेत्रमा स्नान गर्न जाने तयारीमा थिए । छोरीले बान्ता गर्न थालिन् । महात्माले ध्यानदृष्टिले विचार गरे । उनले राजा दुष्यान्तले छोरीलाई फसाएको जानकारी पाए । उनले छोरीसँग यस विषयमा केही सोधखोज गरे । उनले नढाँटी सारा वृत्तान्त सुनाइन् ।
उनले भनिन्, “बाबा ! मलाई श्राप दिनुहोस्, मैले हजुरको मर्यादा नाघेर अपराध गरेँ । हजुरजस्तो महात्माले मलाई जीवन दिनुभयो । माता भने पनि पिता भने पनि तपाईं बन्नुभयो तर आज मेरो सानो भूलले सारा कुरा समाप्त भयो ।” ती युवती हात जोड्दै बाबुको पाउमा परिन् ।
===
मरीचिलाई घटना सुनाउँदा सुनाउँदै ती युवती रोकिइन् । उनको शब्द रोकिनुको कारण आँखाले देखाइरहेको थियो । जब आँखामा आँसुको बाढी आउँछ तब शब्द आर्द्र हुन्छ र गलाबाट निस्कन मान्दैन । त्यस्तै भयो उनको । मरीचि ऋषि निकै भावुक भए । उनका आँखा पनि रसाए ।
“तिमी किन रोयौ ? के पिताजीले ती युवतीलाई दण्ड दिए ?”
“होइन महात्मा । दिएको भए न्याय नै हुन्थ्यो ।”
“कसरी ?”
“बाबुआमाले त्यागेर गएकी एउटी कन्यालाई उठाएर लगे, स्याहारसुसार गरे । बाबुआमाको माया दिए र त्यत्रो बनाए । त्यसैले आफ्नो पतिसँग एक वचन नसोधी त्यो अपरिचित शिकारी राजासँग प्रेम गर्नु भयङ्कर ठूलो अपराध थियो होइन र ? त्यस्तो अपराध गर्दा पनि उनले किञ्चित पर्वाह गरेनन् । उल्टै पुत्रीको खुशी मेरो खुशी भनेर चित्त बुझाए ।” आँसु पुछ्दै बोलिन् युवती ।
“ऋषि कण्व महात्मा हुन् । उनले तपबाट पनि प्राप्त गर्न नसकिने धर्म गरेछन् । त्यो ख्यालख्याल काम थिएन । ती कन्या पनि धन्य हुन् जसले त्यस्ता महात्मालाई पिताको रूपमा ग्रहण गर्न पाइन् तर नानी ! त्यो प्रेमलाई अपराध नभनूँ सामान्य भूल चाहिँ थियो । कुन मानेमा भने प्रेम गरे पनि समर्पण गर्नु हुने थिएन । प्रेम र वासना फरक कुरा हुन् भनेर खुट्याउन सकिएन भने प्रेमलाई वासनाको रूपमा बुझ्ने काम हुन सक्छ । ठीकै छ तिम्रो भावुकताभित्र पनि उनको पिताजीप्रतिको स्नेह र आदर रहेछ, मैले बुझेँ थप कुरा सुनाऊ ।” मरीचिले आग्रह गरे ।
“ती युवतीको पिताजीले आश्रमको नजिक आउने मानिसहरूसँग अनुरोध गरेर ती कन्यालाई घर पाठउने निधो गरे । उनले कन्यालाई गृहस्थ धर्मका नियमहरू सिकाए । बुहारी भएर जानुपर्दा गर्नु पर्ने तथा निर्वाह गर्नुपर्ने भूमिका सुनाए । उनका अनुपम उपदेश र सल्लाह सुनिन् ती कन्याले । अन्ततः ती पिताजीले अनुरोध गरेका मानिसहरू आए र पाल्की चढाई हस्तिनापुरतिर पठाए । पठाउने बेलामा उनको पिताजी रोएको देखिएनन् तर उनको मौनताले आँसुको बाँध बाँधिरहेको अनुमान गर्न सकिन्थ्यो । शायद छोरी केही पर पुगेपछि उनी रोए होलान् । बाटामा नदी पर्दथ्याे । उनले डोली बोक्ने र भारी बोक्नेहरूलाई खाजा खान भनिन् । आफू पनि मुख धोएर खाजा खानका लागि नदीमा गइन् । ती कन्यालाई दुभार्ग्यले खेदेको उनले हातमुख धुँदै गर्दा उनको त्यो उपहारको औँठी पानीमा खस्यो । उनले चाल पाइनन् ।
उनीहरू हस्तिनापुर दरबारमा पुगे । दरबारको बाहिरी द्वारबाटै उनको पाल्कीभित्र पस्न पाएन । उनले आफू राजा दुष्यान्तको रानी भन्दा कसैले पत्याएन । उनले द्वारपाललाई अनेक विन्ती गरिन् । अन्ततः द्वारपालले त्यो खबर राजाकहाँ पुर्याए । बल्लतल्ल राजाले उनलाई दरबारको सभाहलमा आउन भने । उनले सभाहलमा पुगेर राजालाई प्रणाम गरिन् । उनले आफू रानी भएको र उनको शिशु पेटमा खेलिरहेको कुरा गर्दा राजा लगायत दरवारियाहरूले हाँसोमा उडाए । युवतीले सम्झाउने अनेक प्रयास गरिन् । शिकार खेल्न गएको मृग मार्न खोजेकोदेखि लिएर अनेक कुरा सम्झाइन् । ती सबै निरर्थक भए ।
“दरबारमा जे पनि आएर रानी बन्न मन लाग्यो भन्दैमा अवसर हुन्छ ?” भारदार र उनका सल्लाहकारहरूले खिल्ली उडाए ।”
“कसको बच्चा पेटमा लिएर राजामो गर्भ भन्ने ? महिला त साहसी नै रहिछे ।” कुनै आवाजले उनको मुटु छेड्यो ।
“म ऋषि आश्रमतिर शिकार खेल्न गएकै छैन अनि तिमीसँग कसरी भेट हुन्छ ?” राजाले तर्क गरे ।
राजाले प्रमाण देखाउन भनेपछि उनले हातको औँलामा हेरिन्, औँठी थिएन । उनी बेहोसझैँ भइन् । अन्ततः राजाले उनलाई दरबारबाट गइहाल्न आदेश दिए । सिपाहीहरूले उनलाई लछारपछार पार्न खोजे । उनी आफैँ बाहिर निस्किइन् । दुर्वासा ऋषिको श्रापले त्यो दुर्भाग्यको क्षण उनले बेहोरिरहेकी थिइन् ।
कहाँ गइन् त ती युवती ?” मरीचिले सोधे ।
“ती त्यो शहरमा अड्न सकिनन् र पिताकहाँ जान पनि सकिनन् । धेरै चोटि मर्ने कल्पना गरिन् तर उनलाई पिताजीको वचनले रोक्यो ।”
उनको पिताजीले भन्ने गरेका थिए । “मृत्यु आफ्नै तालिकामा चल्छ । उसलाई जबर्जस्ती आमन्त्रण गर्नु अपराध हो ।”
उनका पिताजीले भनेका थिए, “छोरी ! अब तिमीले आफ्नो लागि मात्र होइन पेटभित्रको शिशुका लागि पनि खानुपर्छ । अब जिन्दगी तिम्रो मात्र होइन उनको पनि हो । अब तिमीले गर्ने चिन्ताले उनलाई पनि पिरोल्छ ।”
“आहा ! कस्तो गृहस्थ शिक्षा पनि जानेका महात्माले ? तब न ती कन्यालाई त्यो अवस्थादेखि लालनपालन गरे ।” ऋषि मरीचिले कण्वको प्रशंसा गरे । युवतीले फेरि कहानी जोडिन् ।
“ती कन्यालाई पेटभित्रको शिशुप्रति स्नेह जाग्यो र त्यहाँबाट घिसारिँदै भोकै र अनिदै वनतिर लागिन् । उनका पैताला रगताम्य भएका थिए । उनी कैयौँ पटक बाघ र चितुवाको सामुन्नेमा पनि परिन् तर ती जीवले उनलाई खाएनन् । उनी एउटा काँडाघारीमा अल्झिएर रोइरहेको रातमा एक जना धर्मात्मा आफ्ना शिष्यसहित गए र उद्धार गरे । उनले छोरी भन्दै आफ्नै कुटीमा ल्याएर राखे । उनी अहिले सामुन्नेमा बसेर हालखबर सोधिरहेका छन् ।”
“हो भगवान् ! यो के लीला हो ? म कण्वपुत्रीसँग कुरा गरिरहेको रहेछु । कति दुःख पाइछौ तिमीले ? हे नानी ! तिमी मेरी पनि छोरी हौ । ऋषि कण्व मेरा पनि आदरणीय हुन् ।” मरीचिले स्नेह प्रकट गरे ।
“हे नानी ! के तिमी पिता कण्वलाई भेट्न चाहन्छ्यौ ? म समाधि सञ्चार गरूँ ?” मरीचिले सोधे ।
“हे पिता हे ऋषिवर ! यो कष्ट नगर्नुहोस् । यसले मेरो पिताजीलाई सजाय दिनेछ । हिजो मेरो भूलले उहाँलाई दुःख दियो अब अर्को परिवेशले त्यो ज्ञानी मनलाई विक्षिप्त तुल्याउनेछ ।” युवतीले हात जोडिन् ।
“हे नानी ! त्यसो भन्नु हुँदैन । यस्तो दुःखको बेलामा पनि सहयोग र साथ दिन नपाएकोमा झन् दुखी हुनेछन् । मेरो विचारमा उनलाई खबर दिनु उचित हुन्छ ।” मरीचिले भने ।
“हे ऋषिवर ! हजुरलाई गाह्रो भएको भए म यहाँबाट अन्यत्र जान्छु तर मेरो पिताजीलाई खबर नगरिदिनुहोस् । उहाँले यो सहन सक्नु हुनेछैन । दुष्यन्तले श्राप पाउन सक्छन् ।” युवतीले हात जोडिन् ।
“मैले बुझेँ, ती राजाप्रति तिम्रो अपार स्नेह छ । अनि नानी ! म तिमीलाई यहाँबाट पठाउन चाहन्न । मैले त तिम्रो राजाप्रतिको आसक्तिको जाँच मात्र गरेको हुँ । तिमी ढुक्क भएर बस । बरु भन, तिम्रो नाम चाहिँ के हो ?” मरीचिले सोधे ।
“शकुन्तला ।”
“सुन्दर नाम, पिताजीले नै राखिदिनुभएको होला होइन ?” मरीचिले सोधे ।
“पिताजीले भेट्नुभन्दा पहिले मलाई शकुन्त नाम गरेको पन्छीले रक्षा गरेर राखेको थियो अरे अनि पिताजीले घरमा लगेर उसकै नाम मिल्ने गरी शकुन्तला राखिदिनुभएको अरे ।” युवतीले भनिन् ।
मरीचिले टाउको हल्लाए ।
“तिमी निःसङ्कोच मेरो आश्रममा बस ।” ऋषि मरीचिले शकुन्तलालाई सम्झाए ।
“हे पिता ! यसरी यहाँ बसेर सम्भव होला र ?” शकुन्तलाले हात जोड्दै सोधिन् ।
“सम्भव छ, तिमी सधैँ बस्नु पर्ने छैन । एक दिन न एक दिन राजा दुष्यान्तको घैँटामा घाम लाग्नेछ र तिम्रो र उनको भेट हुनेछ । केही नलागे म मिलाउँला त्यो कुराको चाँजोपाँजो । त्यो समयलाई पर्खन अहिलेको समयलाई स्वीकार गर्नुपर्छ । तिमीभित्र भएको शिशुलाई जीवन दिनुपर्छ ।”
ऋषि मरीचिले सम्झाए । शकुन्तलाले आँखाको आँसु पुछिन् । उनको जीवन ऋषि मरीचिको कुटी र आसपासमा बित्न थाल्यो ।
===
एक दिन हस्तिनापुर दरबारमा एक जना माझी गयो । दरबारमा पुगेपछि राजाले माझीलाई दरबार पुग्नुको कारण सोधे ।
“राजन ! म माछा मार्ने मानिस हुँ । तीन दिन अघि माछा मारेर बजारमा बेच्न जाँदा दुई ओटा जनि माछा बाँकी रहे । आफैँले खान्छु भनेर घरमा लगेँ । माछो काट्दा त्यसको पेटबाट औँठी भेटियो ।”
“औँठी बजारमा लगेर बेचेको भए भैहाल्थ्यो त ।” राजाले भने ।
“बेच्न लगेको पनि थिएँ तर व्यापारीले लिन मानेनन् । व्यापारीले यो त राजाको औँठी हो भने ।” माझीले विस्तार गर्यो ।
“खै ? औँठी देखाऊ ।” राजा उसको नजिक गए ।
माझीले औँठी देखायो । औँठी देखेपछि राजा झसङ्ग भए । औँठी हेर्दाह्रदै राजा बेहोस भए । माझी डरले काँप्न थाल्यो । केही बेरपछि राजा होसमा आए । उनको आँखाभरि आँसु भरियो ।
आँसु पुछ्दै भण्डारेलाई भने, “यी माझीलाई एक हजार स्वर्ण मुद्रा दिनू ।”
माझी स्वर्ण मुद्रा पाएर खुसी हुँदै फर्के पनि राजा भने निकै वेचैन देखिए ।
उनले मन्त्रीसँग भने, “हे मन्त्रीजी ! मबाट ठूलो भूल भयो । हामीकहाँ केही समय पहिले आउने युवती शकुन्तला थिइन् जसलाई मैले यो औँठी निशानीको रूपमा दिएको थिएँ । विचरीले हराइछन् उनी यहाँ आउँदा खै कसरी बिर्सें मैले कुन्नि । उनी अपमानित भएर गइन् । उनलाई खोज्न मानिस पठाउनुहोस् । उनी हराएको खबर लिएर सोझै कण्व आश्रममा भने नजानू । महात्माले यो कुरा सुने भने सहने छैनन् ।”
राजाले आदेश दिए । मन्त्रीले पनि ती कन्या खोज्न चारैतिर मानिसहरू पठाए । शकुन्तलाका बारेमा कुनै खबर नआउँदै देवता र दानवको युद्धकाे समाचार आयो । राजा दुष्यान्त सहायताका लागि इन्द्रद्वारा निमन्त्रित थिए । उती सेना लिएर दैवी विमानमा चढी अमरावतीतिर गए ।
देव दानव युद्धमा दानवहरूले हारे । युद्ध सकिएपछि दुष्यान्त राजा इन्द्रले पठाएको बग्गीमा चढेर पृथ्वीमा ओर्लिए । उनको दृष्टि एउटा बालक र सिंहमा पर्यो । बालक सिंहको मुख च्यातेर दाह्रा गनिरहेका थिए । त्यो दृश्यले राजालाई चकित तुल्यायो ।
“यो बालक देवता हो कि मानिस ?” दुष्यान्त सोच्न थाले । राजा सिंह परतिर गएपछि बालकको नजिक पुगे ।
“बाबु ! तिमी को हौ ?”
“म राजकुमार हुँ ।”
“तिमी कहाँ बस्छौ ?”
“पिता महाराजले दरबारमा बस्न नदिएर निकालेपछि मेरी आमा र म मरीचि पिताकहाँ बसेका छौँ ।”
“तिम्राे नाम चाहिँ के हो नि ?”
“भरत ।”
“तिम्रो पिता को हुन् ?” दुष्यन्तले बालकको हातमा समाउँदै सोधे । अनायास बालकको नाडीमा बाँधिएको रक्षाकवच डोरो ठूलो आवाज गरेर छिन्यो ।
“मेरो रक्षाकवच किन छिनाइदिनु भएको ? म तपाईंसँग युद्ध गर्छु ।” बालक जमिनमा रहेको धनुष समात्न पुगे । दुष्यन्त छक्क परे ।
“युद्ध गर्नुअघि बडाजनको आशीर्वाद लिनु पर्दैन बाबु ?”
बालक त्यो कुरा सुन्नासाथ मरीचि आश्रमतिर दुगुरे । मरीचि सबै कुरा लुकेर हेरिरहेका थिए । राजा दुष्यान्त पनि आश्रमतिर नै गए ।
“राजन् ! मेरो कुटीमा तपाईंलाई स्वागत छ । तर तपाईं मेरो कुटीमा अवश्य अड्नु हुनेछैन ।” मरीचिले भने ।
दुष्यान्तले ऋषिलाई प्रणाम गर्दै भने, “मैले हजुरका कुरा बुझिन नि ।”
“हे राजन ! यहाँ कुनै कन्या छैनन् जसलाई फसाउन सकियोस् । राजाको काम त कन्यालाई फसाउने, झूटो प्रेम गरेर अलपत्र पारिदिने हो नि होइन ?” मरीचिको कुराले दुष्यान्तलाई मर्माहत बनायो । उनले शकुन्तलाको कुरा सम्झे ।
“हो ऋषिवर ! हजुर मलाई चिन्नुहुन्छ ?”
“अवश्य, पुरुवंशी प्रतापी राजा दुष्यान्त जसले कण्वपुत्रीलाई मायाजालमा पारेर गर्भवती बनायो अनि दरबारमा पुग्दा पनि निकालिदियो वन्यजन्तुको आहारा बनाउन ।”
“हो ऋषिवर ! मलाई माफ गर्नुहोस्, त्यो सब मैले जानीबुझी गरेको थिइनँ । खै किन बिर्सें थाहा पनि छैन । परन्तु जब उनलाई दिएको औँठी माझीले दियो त्यसपछि म उनलाई खोज्ने कार्यमा थिएँ । अचानक देव-दानव युद्धमा जानुपर्ने भएकाले म त्यतै गएँ । अहिले फेरि म उनकै खोजीमा भट्कँदै छु मुनिवर ।” राजा दुष्यान्त हात जोडेर ऋषिको छेउमा बसे ।
“पितामह ! म मेरो पिताश्रीसँग युद्ध गर्छु कहाँ छन् देखाइदिनुहोस् त ।” बालक धनु तानेर उभियो । मरीचि छक्क परे ।
“राजकुमार ! तिम्रा पिताश्री यिनै हुन् । अब युद्ध गर्नुपर्दैन ।”
“हँ यो मेरो पुत्र ? कति ठूलो भइसक्यौ ? ऋषिवर ! कोटीकोटी धन्यवाद । म नै यिनको पिता भनेर कसरी पहिचान भयो ?”
“मैले बालकको नाडीमा रक्षाकवच बाँधिदिएको थिएँ यो शर्तमा कि उनको बाबुले छोए मात्र यो आवाजसहित छिन्ने छ । त्यही भयो तपाईंले छोएपछि ।” ऋषिले सुनाए ।
दुष्यान्तले बालकको अनुहारमा हेरे । उनलाई अङ्कमाल गर्न खोजे तर बालक नजिक गएनन् । राजा दुखी देखिए ।
“मेरी शकुन्तला कहाँ होलिन् ?”
“शायद भेट्नुहुन्न शकुन्तलालाई । अब दरबारमा लगेर फेरि हाँस्यको पात्र बनाउन पाउनुहुन्न शकुन्तलालाई ।”
ऋषिका कुरा सुनेर दुष्यान्तको कञ्चटमा चिटचिट पसिना आयो । उनी काल्पनिक भयको संसारका प्रवेश गरे ।
“ऋषिवर ! पानी ! पानी !” राजा चिच्याए । बालकले पानी ल्याइदिए । राजाले कलकल पानी पिए । उनको आँखामा सहस्रधारा आँसु देखियो ।
“हे ऋषिवर ! हजुरको कृपाले मैले हस्तिनापुरको पहरेदार फेला पारेँ । शकुन्तलालाई पाइन भने म पनि जीवनबाट विश्रान्ति लिनेछु ।
हस्तिनापुरमा राज्यभिषेक गराउन सहयोगका लागि याचना गर्छु ऋषिवर ।” राजा दुष्यान्त मरीचिको पाउमा परे । सबै कुरा सुनेर घुँक्कघुँक्क रुँदै शकुन्तला आइपुगिन् ।
“हे राजन ! यो सम्पूर्ण घटनामा तपाईं जिम्मेवार हुुनुहुन्नथ्यो । तथापि मैयाँ शकुन्तलाको दयनीय अवस्था र त्यसपछिको तपाईंप्रतिको निरन्तर प्रेम देखेर मात्र यति परीक्षा लिएको हुँ पछिल्तिर फर्केर हेर्नुहोस् ।” ऋषि मरीचिले भने ।
दुष्यान्त पछिल्तिर फर्के । दुवै आँखाबाट सहस्रधारा आँसु झार्दै उभिएकी शकुन्तलासँग उनको आँखा जुध्यो ।
“प्रिय ! मलाई माफ गर, तिम्रो निष्ठुर दुष्यान्त तिम्रै सामुमा छ ।” दुष्यान्त चिच्याए । दुवै जना अँगालोमा बाँधिए । ऋषि मरीचि पनि हर्षाश्रु झार्दै उभिइरहे ।
(हरि खनाल ‘हरे’को पुस्तक “पौराणिक अमर प्रेमकथाहरू”बाट)

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

