यस वर्ष बेलायती प्रख्यात निर्देशक गाय रिचीले हलिउडका लागि बनाएको फिल्म द कोभनेन्ट गोली र बमका विष्फोटले भरिएको एक्सन फिलम हो । गज्जबकै थ्रिलर फिल्म हेरेर तपाईंले स्वयं अफगानिस्तानको उकुसमुकुस महसुस गर्नसक्नु हुन्छ ।
सन् २०१८ ताका अफगानिस्तानमा तैनाथ एक जना अमेरिकी सेनाका सर्जेन्ट जोन किन्लेको भूमिकामा ज्याक गायलेनहलले अभिनय गरेका छन् । यसको मुख्य कथा के छ भने अफगानिस्तान युद्धताका ज्याकको जिन्दगी अफगानी गाइड अहमद (डार सलिम)ले बचाउँछन् ।
एउटा धुँवाधार युद्धमा जब सर्जेन्ट किन्ले घाइते हुन्छ र उसको आँखा खुल्छ, ऊ अफगानिस्तानमा हुँदैन । ऊ त अमेरिकामा हुन्छ । यसपछि उसको सैन्य जिम्मेवारी सकिन्छ । ऊ अमेरिकामा साधारण जीवन बिताउने प्रयास गर्छ तर सक्दैन । उसलाई सधैँभरि अफगानी गाइड अहमदको सम्झनाले सताउँछ । उसलाई बचाउन उसले गरेको दुःखले अभिभूत भएर ऊ अहमदलाई तालिबानीहरूबाट जोगाउन पुनः अफगानिस्तान फर्कन्छ । एउटा सेनाको सर्जेन्टले सजिलै फर्कन भने सक्दैन । अनेक किसिमका लफडा हुन्छन् । आफ्नो जीवन उसको ऋणी रहेको ठान्दै किन्लेले अहमदलाई जोगाउन मोलेको जोखिम निकै सुन्दर तरिकाले यस फिल्ममा देखाइएको छ ।
हुन त गाय रिची थ्रिलर फिल्मका उस्ताद हुन् । उनका फिल्ममा हास्य र थ्रिलको निकै रमाइलो घुलन हुने गर्छ तर यसमा हास्यरस गायब छ । उनले विषयको गाम्भीर्यलाई त्यही कोणमा देखाएका छन् ।
अफगानिस्तानमा अमेरिकाले २० वर्ष युद्ध चर्कायो । अमेरिकाले अफगानिस्तानबाट २०२१ मा आफ्ना सारा सैन्य टुकडीलाई फिर्ता बोलायो । त्यसयता हलिउडले धेरै फिल्म वार अन टेररमाथि बनाइसकेको छ । जसमध्ये डार्क जिरो थर्टी, हार्ट लकरजस्ता फिल्मले दर्शकलाई विषयको गाम्भीरता सिकाएका छन् ।
एकताका जब अमेरिकाले भियतनाम युद्ध हारेर फर्केको थियो, त्यो बेला हलिउडले साँच्चिकै उम्दा फिल्महरू बनाएको थियो । एपोकलिप्स नाउ (१९७९) र डियर हन्टर (१९७८)लाई सिनेमाप्रेमीहरूले विरलै बिर्सने फिल्म हुन् । यतिबेला भने हलिउडले सोही स्तरका फिल्महरू बनाउन नसके पनि युद्धलाई एक नजरबाट हेरिरहेको छ । तीमध्ये ‘द कोभनेन्ट’ र हालै रिलिज भएको ‘कन्धहार’ पनि एक हो ।
अफगानिस्तानमा २० वर्ष युद्ध चल्नु हुन्थ्यो कि हुन्नथ्यो भन्ने विषयमा अमेरिका दुई भागमा विभक्त भएको देख्न सकिन्छ । हालै प्यु रिसर्च सेन्टरले गरेको सर्भेमा अफगानिस्तानमा चलेको युद्धका बारेमा राजनीतिक पार्टीहरूको एक मत देखिदैन । तर २० वर्ष युद्ध चलेको भए पनि त्यहाँका सर्वसाधारणका लागि शायदै प्राथमिक विषय बन्यो ।
सन् २००१ सेप्टेम्बर ११ का दिन अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावर आक्रमण गरेपछि इराकसँगै अफगानिस्तानमा पनि युद्ध चल्यो । युद्ध गर्दै जाँदा अमेरिकाले अन्य किसिमका युद्ध भने हार्दै गएको देखिन्छ । खासगरी अहिले युक्रेन युद्धमा यत्रा पश्चिमा मुलुकहरूको सहयोगको बाबजुद पनि खास परिणाम अझै आउन सकेको छैन ।
यस्तोमा अमेरिकाको युद्धनीति सर्वसाधारणको प्रश्नको घेरामा परेको छ । सबैभन्दा लज्जास्पद त त्यो बेला भयो जब अमेरिकी र बेलायती सेनाले अफगानिस्तान छाडेको दुई सातामा नै तालिबानले राजधानी काबुल कब्जा गरिसकेको थियो । सर्वसाधारण देश छाड्न आतुर थिए । कतिपय प्लेनको चक्कामै चढेर देश छाड्न चाहन्थे ।
गाय रिचीकोद कोभनेन्ट सोही सन्दर्भमा बनेको हो । जसमा अमेरिकालाई सहयोग गरेका तर तालिबानको तारोमा परेका स्थानीय गाइडको मूल कथामा यो फिल्म बनेको भए पनि फिल्मले अमेरिकी सर्जेन्ट किन्लेलाई बढी महत्व दिएको छ ।
स्थानीय अफगानीहरूले गरेका सहयोगमाथि अनेक फिल्म बनेका छन् । पछिल्लो समय रिलिज भएको ‘कन्धहार’ले अफगानिस्तानमा फँसेका एक बेलायती सैन्य जासुसको कथा देखाएको छ । जसलाई बचाउन अर्का स्थानीय अफगानी व्यक्तिको सहयोग लिने प्रयास गरिएको छ । यो फिल्म केही हावा भए पनि यसले उठाएको विषय भने रोचक छ । कुनै समय पाकिस्तानको आईएसआई जासुसी संस्थाको काम भनेको पश्चिमा जासुस, पत्रकार वा अन्य सर्वसाधारणलाई पक्रनु र ठूलो रकम अमेरिकी प्रशासनबाट ऐंठनु हुन्थ्यो । यो व्यापार एक समय निकै चम्केको थियो । यहाँ आईएसआईका एक एजेन्टको रोचक भूमिका छ, जसले बेलायती जासुसलाई पक्रेर ठूलो रकम उठाउन निकै खतरा मोल्छन् ।
युद्धले मनोरञ्जन उद्योगलाई दिएको यो अवसर टेलिभिजनले पनि मज्जाले उपयोग गरेका छन् । द युनाइटेड स्टेट्स अफ एआईको एउटा कथामा एक जना अफगानी गाइड अमेरिकामा सेनाको घरमा पुग्दाका अप्ठेराहरू देखाइएको छ । त्यस्तै २०१६ मा एउटा कमेडी फिल्म ह्विस्की टेङ्गो फक्ट्राक्टमा पनि अफगान गाइडको चरित्र रोचक छ । तर ती सबैमा गाइडको स्तर निम्नस्तरकै छ । कुनै खास गतिलो कामका लागि तिनलाई छानिएको छैन ।
गाय रिचीले लामो समयदेखि अफगान युद्धमाथि फिल्म बनाउने प्रयास गरिरहेका थिए । उनले कयौँ खतरनाक कथा नसुनेका पनि होइनन् तर उनलाई यो फिल्मको कथा चाहिँ प्रेरक पनि लाग्यो । त्यसैले उनले यो फिल्म बनाएँ भन्ने बयान दिएका छन् ।
यो फिल्म बनाउँदा रिचीले केही तथ्यहरूलाई पनि आधार बनाएका छन् । अमेरिकी सरकारलाई सहयोग गर्दा ३०० अफगानी सर्वसाधारणले ज्यान गुमाएका थिए । सहयोग गरेकै कारण हजारौँ अफगानीहरू लुकिछिपी हिँड्न बाध्य छन् र उनीहरूको जुनसुकै बेला हत्या हुन सक्छ । सन् २०१७‑१८ का बेलामा नै यो संख्या थोरै देखिएको र संकटमा भएका सहयोगी अफगानीको संख्या तुलनात्मक रूपमा धेरै भएको देखिएको थियो ।
जसले अफगान युद्धमा अमेरिकी सेनालाई सहयोग गर्छ, उनीहरूलाई अप्ठेरो परेका बेला सहयोग गरिने तथा अमेरिका जान चाहनेहरूलाई अमेरिकी प्रशासनले सघाउने बताइएको थियो तर यो फिल्ममा अहमदलाई अमेरिका लैजान किन्लेले गरेको दुःख र प्रयासप्रति दर्शकहरू आहत हुन्छन् । तर समस्या के छ भने वास्तविकतामा अमेरिकीहरूलाई सहयोग गर्नेहरूको संख्या यति धेरै ठूलो थियो कि ती सबैलाई अमेरिकाले भिजा दिन पनि सक्दैन ।
अमेरिकामा नोकरशाहीतन्त्र कति खत्तम छ भन्ने कुरा म्याथ्यु हिनेम्यानको वृत्तचित्र रेट्रोग्रेडले देखाएको छ । सो वृत्तचित्र अस्करका लागि नामाङ्कनमा समेत परेको थियो तर त्यसलाई पुरस्कृत गरिएन ।
दोस्रो विश्वयुद्धमाथि बनेका युद्धसिनेमाहरूले सन् ४० को दशकदेखि १९९८ सम्म र त्यसपछि पनि लगातार फिल्म बनाउने प्रेरणा दिइरह्यो हलिउडलाई । सन् १९७५ मा भियतनाम युद्ध सकिएपछि अमेरिकाको गल्ती कस्तो र कति थियो भन्ने कुरा प्लाटून (१९८६) जस्ता फिल्महरू बनेका थिए ।
अफगानी मुद्दामाथि सहरा करिमीले २०१९ मा ‘हवा, मरयम, आएशा’ जस्तो राम्रो फिल्म बनाइएको थियो तर त्यसको चर्चा कतै भएन किनभने त्यसले दुवै पक्षलाई नराम्रोसँग फट्कार लगाएको थियो ।
इराक र अफगानिस्तानमा बनेका अधिकांश फिल्मलाई जानी जानी अराजनीतिक बनाइएको छ । ती फिल्मले सेनालाई अति नायकत्वको महिमामण्डन गरिएको छ । वास्तवमा युद्धको गहिरो कारणहरू नपहिल्याई बनाइएका यस्ता फिल्मले दूरगामी प्रभाव पार्दैनन् र खासगरी युद्धका मिहिन कारणलाई उपेक्षा गर्नका लागि पनि सैनिकको महिमामण्डन जरूरी हुन्छ ।
सन् २००५ मा बनाइएको जारहेड नाम फिल्ममा गायेनहाल नै भूमिका निभाएका छन् । यो फिल्मले सन् १९९० को दशकको शुरूवातमा भएको खाड़ी युद्धमा आधारित रही बनाइएको छ । त्यसमा पनि सैनिकहरू राजनीतिबाट परै हुनुपर्छ भन्ने आशयका संवाद छन् । ती संवादले युद्धको मूल कारणमा छिर्नुभन्दा ती प्रश्नहरूबाट तर्काउन, तर्कन भूमिका खेलेको छ फिल्मले ।
अफगानी युद्धमाथि अर्को एउटा रोचक फिल्म छ, आउटपोस्ट (२०२०) । यसमा मुख्यधाराका सैनिकहरूले पाउनुपर्ने उपयुक्त गोलीगठ्ठाबाट वञ्चित हुँदा अमेरिकी सेनाले कसरी ज्यान गुमाइरहेका छन् भन्नेबारे चोटिलो कथा भनेको छ । फिल्म निकै रोमाञ्चक बनेको छ । यसमा सैनिकहरूको बहादुरी र हिंसात्मक पक्षलाई डरलाग्दो गरी पेश गरिएको छ ।
युद्धफिल्ममाथि अनुसन्धान गरिरहेका फिल्म समीक्षक डेभिड थम्सनले यस्ता फिल्मको सय वर्षे अध्ययन गरी एउटा किताब निकाल्दै छन्, किताबको नाउँ छः द फेटल अलायन्सः सेन्चरी अफ वार अन फिल्म्स् ।
डेभिड भन्छन्, ‘सर्वसाधारणलाई युद्धफिल्म निकै मन पर्छ । मन पर्नुको कारण चाहिँ मान्छेमा रहेको हिंसाप्रतिको आकर्षण नै हो ।’ उनको धारणामा एन्टी वार फिल्मजस्ता केही कुरा नहुने उनको धारणा छ । फिल्ममेकरको मनशाय नै युद्ध, गोली, हत्याजस्ता कुरालाई उत्तेजक तरिकाले देखाउनु हुन्छ ।
हलिउडका युद्ध फिल्ममा प्रायः पश्चिमा दृष्टिकोण नै पस्किइन्छ । त्यस्ता फिल्मले स्थानीयहरूको धारणा कहिल्यै देखाउँदैनन् । सहरा करिमीको हवा, मरयम, आयशा फिल्मले भेनिस फिल्म फेस्टिभलमा प्रदर्शनको मौका पाएको थियो । यो फिल्मले तीन जना गर्भवती अफगान महिलाको कथा कहेको छ । करिमीले सन् २०२१ मा तालिबानले अड्डा जमाएपछि अफगानिस्तान छाडेर न्युयोर्क डेरा सरेकी थिइन् । अहिले उनी फाइट फ्रम काबुल फिल्म बनाउने तयारीमा छिन्।
उनले बिबिसीसँग भनिन्, ‘मेरो नयाँ फिल्मको कथा काबुलमा सत्तामा अफगानीहरू आउनुअघिको दुई महिना के के भए भनी देखाउनु हो। हाम्रा जस्तो जिन्दगी थियो, मुद्दा, सपना र सुरक्षाको अवस्था थियो, त्यो कस्तो थियो ? त्यसका बाबजुद पनि भविष्यप्रति आशावादी हुने ठाउँ कस्ता थिए भनी देखाउन खोजेकी छु ।’
उनी भन्छिन्, ‘चर्चित हलिउड निर्देशकले अफगानिस्तानका कथाहरू पहाडमा भइरहेका गोलीबारूदबाट मात्र देखाउँछन् । ती अनौठा र रोचक त लाग्छन् तर ती वास्तिवकताभन्दा धेरै टाढा छन् । अफगानी पीडित र अमेरिकी उद्धारकहरूको कथाबाट अघि बढेर देखाउन लायक कयौँ कुराहरू छन्, ती सुनाउन देखाउन बाँकी छन् ।’
अस्ट्रेलियाबाट बनेको सन् २०१८ को फिल्म जिर्घा भने एउटा दुर्लभ उपलब्धि हो । यसमा हिंसाको महिमामण्डन छैन । पश्चाताप कसरी हुन्छ र गरिन्छ भन्ने ज्यादै मार्मिक विषयमाथि फिल्म बनाइएको छ । (बिबिसीमा करिन जेम्सको लेखको व्यापक सम्पादनसहित अनुवाद ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।