केही महिनाअघि एक साहित्यकारसँग कफी भेटमा थिएँ ।  उहाँले अहिलेको साहित्यले समाजलाई सही रूपमा चित्रण गर्न नसकेको गुनासो गर्दै हुनुहुन्थ्यो । पछिल्लो समय बजारमा आएका पुस्तकहरूको समीक्षा गर्दै जाँदा संवाद अलिकति लम्बियो ।

विषय केन्द्रित गफ गरिरहनु भएको उहाँले एक्कासि धार परिवर्तन गर्नुभयो । साहित्यबाट व्यक्तिगत जक्सनतिर मोडिनुभयो ।

अस्वाभाविक रूपमा प्रश्न तेर्साउनु भयो, “अजवीजी तपाईंको श्रीमान् के गर्नुहुन्छ नि ?”

प्रश्न गर्नुपर्ने कारण पनि थिएन र आवश्यकता पनि ।

त्यसैले मैले उहाँतिर प्रतिप्रश्न सोझाएँ, “किन होला ? साहित्यबाट मेरो श्रीमानको काम कहाँबाट मिसियो सर ?” अर्को प्रश्न उहाँकै लागि अस्वाभाविक बन्यो ।

भेटेर गफ गर्ने पूर्वनिर्धारित योजनाअनुसार चर्चित मिडियाकर्मीसँगको कुराकानीमा थिएँ ।  मिडिया उद्योगको अहिलेको अवस्था र खास गरेर आर्थिक मन्दीसँग जोडिएका विषयमा छलफल हुँदै थियो । आर्थिक मन्दीले मिडिया क्षेत्रमा निकै प्रभाव पारेको र नयाँ आउने पत्रकारलाई कठिन हुने उहाँको आकलन थियो ।

मिडिया संस्थाका विषयवस्तुपछि उहाँले मेरो व्यक्तिगत विषयतिर कुराकानी मोड्न खोज्नुभयो । प्रश्नहरू आउन थाले ।

“तपाईंको के छ ? यही फिल्डमा टिकिन्छ त ? अनि तपाईंको श्रीमान् के गर्नुहुन्छ नि ?”

उहाँको आशय थियो – महिलाहरूलाई सञ्चार पेसामा टिकिराख्न खास जरुरी हुन्न, किनभने उनीहरूका लागि श्रीमानले कमाइहाल्छन् । तपाईंको श्रीमान् के गर्नुहुन्छ नि ? उहाँको यो प्रश्न सहज थिएन । नियत के थियो ? उहाँलाई नै थाहा होला । यति स्पष्ट भयो कि महिला आत्मनिर्भर हुन सक्छन् भन्ने उहाँको बुझाइमा समस्या देखियो ।

श्रीमानको काम र कमाइबारे चासो राख्ने व्यक्ति भने उहाँहरू मात्रै हैन । भेटेका प्रायजसो पुरुषलाई उत्सुकता हुन्छ ।

अफिसियल भेटघाटकै क्रममा सरकारी अफिसरले, ड्रेसमै मर्यादा मिचे ।

कार्यकक्षमै उहाँले जिज्ञासा राख्नुभयो, ‘अजवीजी तपाईंहरू कति घुम्नुहुन्छ है । पैसाले कति पुगेको हो । हामीसँग त घुम्नलाई पैसै छुट्याउन सकिन्न । श्रीमानले टन्नै कमाउनुहुन्छ जस्तो छ । फेरि यो चाहियो भनेर भनिदिए भो । सजिलो छ नि महिलाहरूलाई…’

सामाजिक सञ्जालमा प्राय सक्रिय देखिन्छु म । धेरैका लागि यो अनौठो लाग्छ । यस्तैमा एक दिन साँझकाे समयमा मिल्ने साथीको फोन आयो । के कसो छ हालखबर ? उनले प्रश्न गरे ।

जवाफ दिन नपाउँदै अर्को प्रश्न आयो, “के-के गरिराछौ ?”

त्यसपछि त उनीसँग सरोकार नै नभएको अनावश्यक प्रश्न सोझाए, “कहिले गाडी चलाएको भिडियो देखिन्छ त कहिले राम्रा राम्रा ठाउँको फोटो ? को सँग जाने गरेको छौ ? यसो हामीलाई देखाए हुने नि । भिडियो खिचिदिने व्यक्तिसँगको भिडियो पनि अपलोड गर न….”

यति कमजोर मानसिकता भएका मान्छेका प्रश्नले मथिँगल हल्लाउँछ । उनका प्रश्नले केही बेर आँखा तिरमिरायो । जवाफ दिऊँ कि नदिऊँ ? दोसाँधमा परेँ । होस् भनेर यसै टारिदिएँ…।

उसको प्रश्न मेरो काम र क्षमतातिर भन्दा पनि सामाजिक सञ्जालमा देखिने मेरो व्यक्तित्वको विषयमा थियो । घुम्न, रमाउन र मन लागेको ठाउँमा जान महिलाहरू एक्लै त कहाँ सक्छन् ? भन्ने शङ्काग्रस्त मानसिकताकाे उपज हो ।

यस्तै अवस्थामा कोही पुरुषको व्यवहार देखियो भने महिला मित्रले उनीहरूको कमाइको विषयमा सायदै सोध्लान् । कोही पुरुष मित्रले गाडी चलाएको देखियो भने गाडी कसले किन्दियो भनेर तपाईं सोध्नुहुन्छ ? पक्कै सोध्नुहुन्न ।

तर, महिलाले गाडी चलाएको फोटो देखियो भने तपाईंको मनमा अनगिन्ती नकारात्मक सवाल जन्मिन्छन् । पितृसत्ताले भरिएको तपाईंको मानसिकताले महिला स्वावलम्बी हुन सक्छन् भन्ने कुरा पचाउन नै सक्दैन ।

आफ्नो खुसीका लागि पुरुष मित्रले मात्रै नभएर महिला मित्र बाटै पनि व्यक्तिगत प्रश्नको सामना गर्नुपरेकै हुन्छ । कामको सल्लाह हुँदै गर्दा श्रीमान् पेसा, लोकेसन र कमाइ सोधिनुको अर्थ के हो ? अझ कतिपय महिला दिदीबहिनीलाई जागिरको सिलसिलामा अन्तर्वार्ता दिने स्थानमा समेत व्यक्तिगत प्रश्नको झटारो बर्सिरहेकै हुन्छ ।

प्रत्यक्ष भेटघाट होस् या अप्रत्यक्ष रूपमा हुने कुराकानी वा सामाजिक सञ्जालबाट हुने आतङ्कित प्रश्नको प्रहार होस्, पुरुष मित्र कहीँ न कतै महिलाको व्यक्तिगत विषयमा प्रवेश गर्न खोजेकै देखिन्छ । चिनजान हुन पाको छैन, सामाजिक सञ्जालमा  प्राय सबैको इनबक्समा अनेक थरी सवाल भेटिन्छन् ।

तपाईंको घरमा को-को हुनुहुन्छ ? बच्चा छ छैन ? यदि छ भने समय दिन सक्नुहुन्छ त भनेर शङ्काको प्रश्न समेत थुपारिन्छ । विवाहित महिलालाई श्रीमानको काम र कमाइको विषयमा पनि सजिलै सवाल गर्ने गरिन्छ । यसले समाजका कस्ता मानिसहरू छन् भन्ने उदाहरण पनि देखाउँछ ।

अपवादबाहेक पेसागत रूपमा मानिसहरूसँग भेट्दा महिलाका विषयमा व्यक्तिगत जक्सनमा गएर प्रश्न गरिनु समाजको आमप्रवृत्ति हो । तर, अव महिलालाई हेर्ने दृष्टिकोण बदल्न जरुरी छ । हरेक पेसामा अब्बल क्षमता देखाइसकेका महिलाहरूको श्रीमानको कमाइ खोजिनु, व्यक्तिगत जक्सनमा गएर प्रश्न गरिनु र नितान्त निजी कुरामा चासो राखिनु मनोवैज्ञानिक हिंसा हो । जस्तो सुकै भए पनि हिंसा स्वीकार्य छैन र हुँदैन ।

पत्रकारिता यसै पनि जनसम्पर्क र समाचार स्रोतहरू नियमित भेटघाट र संवाद गर्नुपर्ने पेसा हो । कामको सिलसिलामा आफ्नै पेसा र अन्य पेसाका साथीहरूसँग भेट भइरहन्छ । म मात्रै हैन अन्य सिनियर दिदीहरू हुन् या जुनियर बहिनीहरू हुन, यस्ता प्रश्नहरू सामना गर्नुपरेको सुनाउँछन् । कसैलाई पनि पेसागत विषयको लक्ष्मणरेखा तोडेर व्यक्तिका निजी जीवनका प्रश्न सोध्न जरुरी छैन ।

समाजमा महिलाको क्षमतालाई विश्वास नगर्ने र आत्मसम्मानमा ठेस पुर्‍याउने जमात पनि बेग्लै छन् । यस्ता जमातको पहिलो प्रवृत्ति नै महिलाको चरित्रमा प्रश्न गर्नु हो ? काम गर्ने क्षमतामा अविश्वास पैदा गर्नु हो । अनि भ्रम सिर्जना गर्नु हो । आफूले पनि महिलालाई सम्मान नगर्ने र गलत नजरले हेर्ने अनि अन्य व्यक्तिको क्षमतामै प्रहार गर्नु अलि जायज देखिँदैन कि ? हैन भने कुनै महिलासँग कुरा गर्दै गर्दा उसको श्रीमानले के गर्छ ? कति कमाउँछ ? तपाईंलाई किन चासो ? प्रश्न त उठ्छ नै ।

नियत ठिक नभएका र गलत प्रवृत्तिका मानिसले महिलाको पछाडि श्रीमान् खोज्छ । अनि श्रीमानको कमाइको आधारमा उसको वर्गीकरण गर्छ । यसो गरिनु महिलामाथिको अर्को मनोवैज्ञानिक हिंसा हो । यस्ता जमातका हरेक सिपाही मौका पाउनासाथ अन्य हिंसाका लागि तयार भएर बसेका हुन्छन् ।

श्रीमान् कहाँ छन् ? कति कमाउँछन् ? नितान्त घर-परिवार भित्रको मात्रै विषय हो । सडकमा सवाल जवाफ गर्ने, क्याफेमा प्रश्नोत्तर गर्ने र पार्कमा बसेर कुरा काट्ने विषय नै हैन । यतिसम्मको सामान्य चेतना पनि नभएको मानिसले आफूलाई ठुलो मानिस कसरी ठान्छ ? समाजको वरिष्ठ बुजुक हुँ भनेर कसरी भन्छ ? उनीहरूको चेतना र मानसिकता हेर्दा  पेसामा कसरी टिकिरहेको होला भन्ने प्रश्नले घोच्छ मलाई ? पेसागत रूपमा उसको भूमिका ठिक छ भन्ने विषयमा कसरी विश्वास गर्नु । सवाल र प्रश्न गम्भीर नै छ । कुनै महिलासँग उसको श्रीमानको बायोडाटा माग्नु पक्कै पनि सफा नियत होइन ।

व्यक्तिगत कुरा सोध्नै हुन्न भन्दिनँ म । को व्यक्तिसँग कति खुल्ने र कसलाई व्यक्तिगत कुरा सुनाउने भन्ने बिलकुल निजी मामला हो । उनीहरूबिच कस्तो सम्बन्ध छ भन्ने विषयले प्रश्नको दायरा खुलाउने र खुम्चाउने गर्छ ।  जसलाई भेट्यो उसका व्यक्तिगत व्यवहार र जानकारीमा चासो राख्ने तपाईं जोसुकैको आदत छ भने कृपया आजै बन्द गर्नुहोस् । यसले तपाईंको बौद्धिक क्षमता दर्साउँछ । अनि तपाईंको खराब नियतको प्रदर्शन गर्छ । तपाईंको नियत सही नै भए पनि प्रश्न उठ्छ ? तपाईसँग असम्बन्धित जानकारीको बारेमा यति विधि चासो तपाईंलाई किन ?

एक त कामको बिचमा व्यक्तिगत जानकारी प्रवेश गर्दा कुराकानीको विषयान्तर हुन्छ । अर्को असहज वातावरण बन्छ । म मात्रै हैन व्यक्तिगत चासो राखेको कसैलाई पनि मन पर्दैन । यसले तपाईंको थप सम्बन्धमा चिसोपना आउँछ । आफन्त र मिल्ने साथी हुनुहुन्न भने अर्कोको विषयमा चासो नराखेकै ठिक हुन्छ ? उ कति कमाउँछ ? के खान्छ ? के गर्छ ? उसकै जिम्मा छाडिदिनुस् ।

आजको साइवर दुनियाँ हरेक चिज प्रणालीमा हुन्छ भन्ने पनि याद राख्नुहोला । तपाईंको सानो गल्ती तपाईंकै परिवारका लागि ठुलो दुर्घटनाको कारण बन्नु हुँदैन ।