साहित्यकार अम्बिका पोखरेलले गत मङ्सिर २९ गते मा सामाजिक सञ्जालमा एक फोटो अपलोड गरेकी थिइन । जहाँ उनी बेहुलीको भेषमा थिइन, सँगै थिए नवविवाहित पति । दायाँबायाँ उभिएका थिए उनकी छोरी अर्पणा पोखरेल र ज्वाइँ । आकासे रङ्गको साडीमा सजिएकी अर्पणा आमाको विवाहमा सरिक हुँदा निकै खुसी देखिन्थिन् । अम्बिकाको विवाहले समाज परिवर्तनको एउटा पाइला भनेर चर्चा परिचर्चा पाएको थियो ।
अम्बिकाका श्रीमान् जनयुद्धका क्रममा मारिएका थिए । उनी २० वर्षको हुँदा नै पती वियोगमा परेकी थिइन । एक छोरीको पालनपोषण गर्दे एकल जीवन बिताउँदै आएकी अम्बिकाको छोरीले नै अग्रसरता लिएर पुन विवाह गराइदिएकी हुन् ।
केही समयअघि मेघा बैककी पूर्व सिइओ रविना देशराजले पनि विदेशी नागरिकसँग विवाह गरेकी छन् । उनको विवाह समारोहका फोटा तथा भिडियो सामाजिक सञ्जालभरि फैलिएका थिए । समाचारका हेडलाइन बनेका थिए । अझ उनीहरूको विवाहमा परिवार र छोराछोरीले दिएको साथ तारिफयोग्य थियो ।
आमाहरूको पुनर्विवाहमा छोराछोरीले साथ दिएको दृश्य निकै घतलाग्दो देखिन्थ्यो । उनीहरू नाचेको, गीत गाएको रमाउँदै हरेक मान्यता पालना गरेको देख्दा यस्तो लाग्छ हामी बदलिरहेका छौं । हामी बदलिन चाहन्छौं । जिम्मेवारीको भारले थिचिरहेका आमाहरूलाई खुल्ला संसारमा रमाउनको लागि छाडिदिन चाहन्छौं ।
बाबु वा आमाको पुनर्विवाह हेर्न हुँदैन भन्ने किंवदन्ती सुनेरै हुर्किएका हौं हामी । कसैलाई नराम्रो तरिकाले गाली गर्नुपर्दा अझै पनि ‘बाउको बिहे देखाइदिउँला’ भन्ने गरिन्छ । बाबु वा आमाको बिहे भन्नासाथ घरमा कुनै अप्रिय घटना घटेको दृश्य मनमा आउँछ । परिवार वियोगको तितो सम्झना स्मरण हुन्छ । बाबु वा आमाको पुनर्विवाहलाई नराम्रो अर्थमा बुझ्ने गरिन्छ ।
तर अब समय बदलियो । समाजका चालचलन र मान्यता पनि बदलिने क्रममा छन् । हामीले हाम्रो सोचलाई पनि बदल्न जरुरी छ । यो लेख विशेष रूपमा कुनै कारणवश एक्लिएका आमाहरू पुनर्विवाहको विषयमा केन्द्रित रहनेछ । एक्लो भएको बाबुको पुनर्विवाहमा खासै समस्या छैन । श्रीमती मरेको केही समयमा नै श्रीमानले विवाह गर्न मिल्ने र पाउने धार्मिक र सांस्कृतिक छुट छ । अझ सामाजिक रूपमा त छोराछोरी नै जन्ती गएर बाबुको पुनर्विवाह नै गरिदिने गरेको देखेका छौं ।
तर कलिलै उमेरमा एक्लिएका आमाहरूलाई हामीले जिम्मेवारीको बोझ बोकाएर घरभित्रै थुन्ने गर्छौं । छोराछोरीको मुख हेरेर बस भन्छ समाज । कर्तव्य पूरा गर्नुपर्छ भन्दै अल्मलाउँछौं हामी । एक्लिएकी छोरी, बुहारी र दिदीबहिनीलाई पुनर्विवाह गर भनेर हौसला दिन सकभर हामी अघि सर्दैनौं ।
सन्तानका खातिर जिन्दगीको खुसी र रहर मार्ने आमाहरूको के आफ्नै रहर र चाहना हुन्न ? थाके भन्ने छुट छैन ? बढ्दो उमेरसँगै साथ उभिने सहाराको आशा हुन्न ? पक्कै पनि जरुरी छ । संसार जित्नको लागि उडानको पखेटा फट्फटाएका आमाहरूलाई उन्मुक्तिको आभास जरुरी छ ।
एक्लिएको लामो समयपछि पुनर्विवाह गर्दा अम्बिका र रविनाको अनुहारमा देखिएको खुसी र सन्तुष्टि लोभलाग्दो थियो । समस्याग्रस्त सम्बन्धबाट छुटकारा लिएका आमाहरूको पुनर्विवाहको विषयमा सोच्न ढिला नगरौं । उनीहरूलाई स्वतन्त्रताको महसुस गर्ने वातावरण दिने प्रयास गरौं ।
नाति–नातिना, छोरा–बुहारी भएका आमाहरूले बिहे गर्न हुन्न भने साँघुरो मानसिकता त्यागौं । बिहे गरेका आमाहरूलाई हामीले हेर्ने गलत नजरिया बदलौं । जिन्दगी हरेकको आफ्नो हो । यहाँ हर कोही आफ्नो तरिकाले बाँच्न पाउनुपर्छ । हरेकलाई खुसी हुने अधिकार छ ।
सम्बन्ध टुटेर एक्लिएका आमा हुन् या पति वियोगले एक्लो भएका आमाहरू हुन् । कलिलै उमेरमा एक्लिएका आमाहरूलाई जिम्मेवारी र ममताको बोझ बोकाएर सधैंभरी आदर्श र भगवान् बनाउने परम्परा गलत हो । नाबालक बालबच्चा, घर परिवार नातागोता सबै त्यागेर पुनर्विवाह गर्नुपर्छ भन्ने सोच मेरो होइन । तर कर्तव्य र जिम्मेवारी थुपारेर उनलाई आफ्नो जिन्दगी नरक र विरत्तिलो बनाउन बाध्य पार्नु हुन्न । एकल भएका आमाहरू खुसी छैनन् भन्ने मेरो आशय हैन । तर समयको परिवर्तन सँगसँगै जिम्मेवारीले थिचिएका आमाहरूलाई उन्मुक्तिको आभास दिलाउने जिम्मा हामी छोराछोरीको नै हो ।
बाबुको पुनर्विवाहमा रमाउन सक्ने हाम्रो मन, आमाले सहारा खोज्दा किन रिसाउँछ । अझ पुनर्विवाह गरेर गएकी आमासँग सम्बन्ध नै तोड्ने, भेटघाट र आवतजावत नै बन्द गर्ने नराम्रो चलन पनि समाजमा व्याप्त छ । कलिलै उमेरमा एक्लिएकी आमालाई उपयुक्त जीवनसाथी खोज्ने र नयाँ घरजम गराउने जिम्मा हाम्रो पनि त हो । आमाहरू दिल खोलेर हाँसेको देख्दा, पुनर्विवाहमा खुसी भएर मुस्काएको देख्दा सँगसँगै साथ दिने मानसिकता बनाउन जरुरी छ ।
एक अध्ययन अनुसार औसतमा नेपाली जोडी (श्रीमान्–श्रीमान्) करिब ५१ वर्ष सँगै हुन्छन् । कसरी ? पहिला यो तथ्य स्पष्ट गरौँ । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजाअनुसार नेपालीको पहिलो विवाह गर्दाको औसत उमेर १९ वर्ष छ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष देखिन्छ । यसैगरी ३० चैत्र २०७९ मा सार्वजनिक महालेखा परीक्षकको आर्थिक वर्ष ०७८–७९ को प्रतिवेदनअनुसार नेपालीको औसत आयु चाहिँ ७१ दशमलव १ महिना छ । विवाह गर्दाको औसत उमेर १९ र औसत आयु ७१ मान्दा औसतमा नेपाली जोडी सँगै रहने समय ५१ वर्ष देखिन्छ ।
विविध कारणले कैयौं जोडी जीवनभर सँगै हुँदैनन् । कतिपय सन्तानले अकालमै बुबा वा आमा मध्ये कोही गुमाउँछौँ । रोग वा दुर्घटनाले उमेरमै बुवा वा आमा गुमाउने सन्तान पनि धेरै छन् । समाजमा अहिले सम्बन्ध विच्छेद स्वाभाविक हुँदै गएको छ । सम्बन्ध विच्छेदकै कारण कोही महिला र पुरुष एकल जीवन जिउँदै छन् । कारण जे भए पनि एकल जीवन बिताउनेहरू धेरै छन् । तर, हामी आमा गुमाए बुबाका लागि सजिलै जोडी खोज्न अगाडी बढ्छौं । एकल आमाका लागि संवेदनाको व्यापार गर्छाैं । भावनाको कुरा गरेर जीवनभर एक्लो बनाउँछौं । उनलाई भन्ने गर्छाैं, छोराछोरीको मुख हेरेर बस । बुहारी आउने बेला भयो, वा ज्वाइँ ल्याउने बेलामा यस्तै अनेक ।
सन्तानको सफलता बाबु आमाको लागि गौरवका विषय हो । खुसी बाबु आमा सन्तानको लागि सम्पत्ति हो । एकल बुवा वा आमाको चाहाना सम्बोधन गर्न नसकेर कतै हामी उहाँहरूको खुसी त मारिरहेका छैनौं । सोचौं, र उहाँहरूको चाहना पूरा गर्ने दायित्व निर्वाह गरौं । तपाईंलाई लाग्दा घर छ, गाडी छ, सम्पत्ति छ, ऐस राम छ, बिरामी हुँदा औषधी उपचार भएकै छ, एकल बा आमालाई अरू के चाहियो ? प्रश्न बिलकुल गलत हुन्छ । बरु यो मनमा यो प्रश्न राखौं कि कतै बुबा वा आमाले एक्लै भएको महसुस त गर्नु भएको छैन ? सहयात्रीले पूरा गर्ने जिम्मेवारी र दिने साथ अभाव भएको त छैन । वा उहाँहरूले साथ खोजिरहनु भएको त छैन । विचार गर्न जरुरी छ ।
एकल आमाले पुनर्विवाह गर्दा समाज बिग्रने पनि हैन । घर भाँडिने पनि हैन । नाता सम्बन्ध टुट्ने पनि हैन । छोराछोरीको जिम्मेवारी पूरा गरेर फुर्सदमा भएका एकल आमाबुवालाई मानसिक साथको जरुरी हुन्छ । कलाकार मदनकृष्ण श्रेष्ठले एक अन्तर्वार्तामा भन्नुभएको थियो, ‘केही नभए पनि बुढेसकालमा कुरा सुनिदिने मानिसको जरुरी हुन्छ । नानी भन्दा हजुर भनिदिने व्यक्तिको आवश्यकता हुन्छ । यसो गर्दैछु भनेर सुनाउने व्यक्तिको जरुरी हुन्छ ।’
बढ्दै गएको उमेरलाई सजिलोसँग कटाउनको लागि, जिम्मेवारीको बोझले जिन्दगीभर दुखको यात्रा गरेका आमाहरूलाई थोरै खुसी बनाउनको लागि पनि सहयात्री आवश्यकता हुन्छ । भनिन्छ – प्रेमले संसार बदलिन्छ । जीवनको उकालो चढ्दै गरेका एकल आमाहरूलाई थोरै भए पनि खुसी दिऊँ । माया ममता र सम्मान दिऊँ । उनीहरूको जीवनलाई खुसीयालीले भरिदिऊँ । कलिलो उमेरमा साथ गुमाएका आमाहरूलाई पुनर्विवाहको अवसर दिऊँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।