खैरिनीघाटमा आफूलाई कलममा उतार्ने शंकर कोइराला र यस हाँस्यव्यङ्ग्य उपन्यासका शंकर कोइरालामा फरक अनुभूति गरेँ मैले। सुरुमा शीर्षक दिँदै सुरु भएकाले कथासङ्ग्रह हुन् कि भन्ने भान हुने रहेछ तर रमाइलो नै कथा छ यो उपन्यासमा । श्रीमान् र श्रीमती बीच हुने गाली, झगडा, माया अनि धाक-घुर्की मजेदार पारामा लेखेका छन् कोइरालाले यसमा । सरल भाषा र तवरमा लेखेका भएर पढ्न उराठ लाग्दैन बरु आफू नै उपन्यासमा आएका श्रीमान् हुँ भन्ने लाग्छ । विवाहित रहे पनि पुरुषहरूको नारीप्रतिको सम्मोहन र जो देखे पनि मन परिन है वाला महसुस हुने आकर्षण (र प्रेमाकर्षण) को कुरो छ ।

आम नेपाली घर-परिवारमा देखिने दृश्यहरुजस्तो बालबालिकाको पढाइ-लेखाइ , पति र पत्नीबीच हुने संवाद,  खाना-चिया, घर-व्यवहार र साथीसङ्गातीसँग हुने भेटघाट, रक्सीले टिल्लपिल्ल मात्तिने-गफ चुट्न भुल्ने, र आर्थिक आर्जनका लागि हुने दिमागको तनाव र लफडा सत्य घटनावाला लाग्छन् । कथामा पात्र छोरीले प्रयोग गर्ने ठुटा सिसाकलम र फुल्टीपेनले स्कुल बेलाको याद नि दिलायो । कोठाभरि असरल्ल छरिएका किताब कागत वाला प्रसङ्ग सम्झिँदा आफ्नो कोठामा रहेका किताबका चाङ सम्झेँ।

श्रीमान् श्रीमतीबीच हुने सत्य कुरो भन्दा बढी झुटको कारोबार सम्झँदा उपन्यास आइडिअलिस्ट(idealist) लाग्दैन। कोइरालाले के लेखेका हुन् हौ यस्तो भन्ने लाग्छ ! झन् अहिलेको समयमा उर्लंदै कुर्लंदै आएको फेमिनिस्टहरुले त यो उपन्यासलाई आपत्ति प्रकट गर्दै कमजोर कृति मान्न बेर नमान्लान् है ! विवाहित सम्बन्धमा रहेका लेखकले कसरी आफ्नी कम शिक्षित पत्नीलाई नालिस, फिरादपत्र , बिन्तीपत्र, दर्खास्त पत्र आदि लेखेको भन्ने तर खासमा प्रेम पत्र अपरिचित स्त्रीलाई लेखेको प्रसङ्ग छ। पत्नीसँग हरेक कुरा साझा गर्न पट्यार लाग्ने र बोझिलो बोध गर्ने कुरा हेर्दा पात्रको वैवाहिक सम्बन्ध बलियो छैन भन्ने देखाएको नि छ ।

श्रीमान् श्रीमतीको घर-झगडाका कारण बालबालिकामा पर्ने मनोवैज्ञानिक असर, छर-छिमेककालाई मिल्ने बातचित र खुट्टा तनाइको मेसो अनि इज्जतमा लाग्ने प्रश्न चिन्ह बारे मिठो दिव्यज्ञान पनि सामेल छ किताबमा। पारिवारिक र निजी मामिलामा हस्तक्षेप गर्न अरुलाई खुबै मजा आउँछ र अर्ति उपदेश बहुत दिने र हर एक कुरामा आफ्नो बुद्धिमता प्रदर्शन गर्ने नीति पनि देखाइएको छ उपन्यासमा । कोइरालाको यस उपन्यासमा कथन शैली अलि भिन्नभिन्न तर रोचक नै लाग्नेछ । पढ्दै जाँदा कति कति बेर आफूले देखे-भोगे-सुनेका घटनाहरू पनि तरोताजा हुने रहेछ। जस्तो कसैको घरमा झगडा पर्यो, कसैको स्वास्नी पोइला हिँडिन्, कसले कसलाई के भन्यो- गर्यो-ठोक्यो, कसको साँठगाँठ कोसँग छ त भन्ने सब खबर राख्ने टोले काका-काकीहरुको याद आयो।

बुढा भएका ससुराले आफ्नै ज्वाइँ नचिनेको र अझ ज्वाइँ रहेका पात्र आफैँलाई कालो बकुल्ला जस्तो छु नराम्रो तर ससुरासँग हात मागेको श्रीमती कति सुन्दरी छिन् भन्दा आफूलाई कम आँकलन गरेको हुन् कि भन्ने भान हुन्छ। आफ्नो अनुहार देखेर सडकमा साँढे तर्सिने, नक्कली दाँत लाएको प्रसङ्ग रमाइलो छ। ससुरा वाला प्रसङ्ग बहुत कमेडिक लाग्छ र मुस्कान ल्याउँछ – मूलतः त्यो तीन पल्ट कन्यादान दिएको कुरा । अत: ससुराले दिएको छाता पुरानै भए पनि प्रयोग गर्ने कुरा हल्का इमोसनल र रमाइलो लाग्छ पनि । दाँत उखेल्दै पिच्छे कोही बित्ने घटनाको वृत्तान्त र दाँत दुखेको बखत ससुरा बेमार पर्दा दु:ख सहेको वाला प्रसङ्ग नि रमाइलो लाग्यो। लाम बस्न भन्दा पालो मिच्ने , केही भने निहुँ खोजिहाल्ने नेपालीको बानीमा नि अलिकति व्यङ्ग्य पाएँ।

अन्तरमुखी (introvert) र बहिर्मुखी (extrovert) आनीबानी हुनेहरुका प्रसङ्ग नि आएको छ उपन्यासमा। छाता ओढ्नु बोक्नुका फाइदा, मौसम पूर्वानुमान मेल नखाने स्थिति र भोकको साइकोलोजी पनि मजेदार र वास्तविक अनुभूतिसँग मेल खाने लाग्छन् । मायाप्रेमका नाममा कसरी एकले अर्कालाई धोका दिने र अनेक सपनाहरूको खेती गरिन्छ भन्ने अर्को प्रसङ्ग छ । श्रीसम्पत्ति र ज्यान हृदयदेखि अर्पण तर्पण गर्ने भन्दा कसम खाने र स्वार्थ पूरा भएपछि गायब हुने प्रवृति पनि राम्रोसँग स्केच भएको छ उपन्यासमा ।

अर्काको नाममा प्रकाशित साहित्यलाई दयाराम दाहाल पारामा अलेली यताबाट, केही अर्कोबाट कपि गरेर अनुवाद गर्ने र आफ्नो नाममा प्रकाशन गरेर नाम-दाम-माम कमाउने हर्कत पनि उल्लेख छ उपन्यासमा । अनि कसरी चोखो हृदयले बिना कुनै अपेक्षा अरुलाई साथ सहयोग गर्दा उल्टै अपजस बढी मिल्ने गर्दछ औँ आफ्नो इमानदारीको अरुले लाभ लिन्छन् भन्ने दर्शाएको छ।

स्थान, परिवेश र उद्देश्य अनुरुप शत्रुलाई मित्रु बनाउनपर्ने र मित्रुलाई शत्रुका रुपमा लिन पर्ने अर्को कटु यथार्थ पनि उपन्यासमा अटाएको छ । बालापनाको साथी जवानी र उमेरले आधा आयु ढाकेपछि साक्षात्कार हुँदा के कस्तो हुने र सम्बन्धहरुको तालमेल कसरी परिवर्तन हुने रहेछ भन्ने बुझेँ । चुनावी सरगर्मीताका कसरी उम्मेदवारहरुले खानापिना गिफ्ट देना गर्दै मिठा बातमा चिप्लाएर भोट आफ्नो भागमा पार्ने र जित पश्चात् ( र शक्ति प्राप्त हुनासाथ आफसे आफ हुने यु-टर्न) बदलिने रुप , रोब र ओजको पनि कडक चित्रण पाएँ मैले । उपन्यासमा सत्ता , शक्ति र पैसाको पहुँचका लागि मान्छे कतिसम्मको लालायित र आह्लादित हुन सक्छन् भन्ने अर्को दामी चित्रण छ। अझ केही घटनाहरु त फिलिमका दृश्य झैँ मोहित पार्ने खाले छन्।

आफ्नो आचरण र छवि जे जस्तो होस् , सन्ततिका लागि हरेक अभिभावकले राम्रोमा राम्रो र उत्तममा अतिउत्तम उम्मेदवार नै खोज्दछन् के बिहाका लागि । स्वतन्त्रता, आत्म-सम्मान र नितान्त व्यक्तिगत रुचि अभिरुचिको सत्कार गर्ने वर बधुको खोज त लोकसेवा परीक्षाजस्तै कडा हुन्छ है भन्ने कुरा शानदार तवरले पेस गरेका छन्। राजनीतिक, सामाजिक, आर्थिक, पारिवारिक आशा अपेक्षाले कसरी मान्छेलाई कहिलेकाहीँ निराशा, दुर्व्यशन अनि गलत क्रियाकलापतर्फ धकेल्न सक्छ त भनेर पनि देखाएको छ। मलाई त सबै चीज मिलाएको शानदार, जानदार र वजनदार खिचडी लाग्यो यो कृति – अरुलाई सायद यस्तो नलाग्न पनि सक्छ।

अत: उपन्यासको क्लाइमेक्स पुगेपछि किताबको नामको रहस्य पनि उद्घाटन हुने रहेछ । रोचक नै छ उपन्यास यो , आकारमा सानो भए पनि ! अनि आवरण कभर पनि लोभ्याउने नै खालको छ ।