जानुका खतिवडा नेपाली आख्यानको आकाशमा हालको चर्चित नाम । यसअघि चार वटा कृतिहरू प्रकाशित भैसकेको उनको ‘आतोओडा’ पाँचौँ कृति हो ।

m’आतोओडा’ सन्थाल भाषामा गाउँ बस्तीलाई बुझाउने शब्द  हो । सन्थाल समुदायको दैनिकी,
पढेर नथाकिने, रोक्न मनले नमान्ने । पाठकहरूलाई भावुक बनाउने, मन दुखाउने र गम्भीरतापूर्वक चिन्तन गर्न बाध्य बनाउने उपन्यास ‘आतोओडा’ हो । पछाडि परेका/पारिएका सन्थाल समुदायको समग्र सामाजिक सम्बन्ध झल्काउने कृति हो ‘आतोओडा’ । सन्थाल समुदाय जुन आम नेपाली समुदाय भन्दा बिलकुलै फरक भएको बताइएको सबुद प्रमाण हो यो । यसमा उनीहरूको सम्पूर्णताको खुलासा गरिएको छ । राज्यको नजर नपरेको अझै भनौँ बेखबर भएको सन्थालहरूको संसारलाई यहाँ पढ्न सकिन्छ ।

यहाँ सन्थालहरू राज्यबाट उपेक्षामा परेको /पारिएको कुरालाई ऐना जस्तै देखाइएको छ । उनीहरूका दुख पीडा र दैनिकीका सुसेलीहरू सुसाएको छ यसमा । आर्थिक रूपमा पछौटे, चेतनास्तर कमजोर भएको सन्थाल समुदाय मूलधारमा किन समाहित हुन सकेन वा समाहित गराइएन भन्ने कुरालाई सोच्न बाध्य गराउने आतोओडाले पाठकको हृदयमा गहिरो भाव उत्पन्न गराउँछ । भन्न सकिन्छ यस उपन्यासमा समाज शास्त्रीय सोच अभिव्यक्त भएको छ ।

झापाको दक्षिणी भेगमा बस्छन् सन्थालहरू । उनीहरूको अवस्था भुइँमान्छेको भन्दा फरक छैनन् । पहिचानविहीन अवस्थामा भएको यो जातिका मान्छेहरू अनागरिक बनाइए । अधिकार विमुख पारिए । अभावका घुट्काहरू पिएर बाँचेका उनीहरूका कथा व्यथाहरूमा भक्कानिएकी उपन्यासकारले त्यो सम्प्रदायको समग्रतालाई तीतो सत्यको रूपमा पोख्ने सफल प्रयास गरेकी छन् । आतोओडा सन्थालहरूको दैनिकीपरक उपन्यास लाग्छ । उनीहरूको संस्कृति र सभ्यताले समग्रतामा सन्थाल जातिकै स्केच यसमा उतारिएको देखिन्छ ।

जानुका खतिवडाले सबकुछ खोतलेर कोरेकी छन् । सबै कुरालाई पुस्तकमा उधिनेकी छन् । समाज बदलिँदा पनि ,पटक पटक राजनीतिक परिवर्तन भएर जनाधिकार प्राप्त भएको सुगा रटान हुँदा पनि पुरानै संस्कार र संस्कृतिको निरन्तरता दिनेहरूको कथा र व्यथा छ यहाँ । सदियौँदेखि भुइँमान्छेबाट आममान्छेमा उठ्न नसकेका सन्थाल जातिको जीवनानुभूतिले ओतप्रोत छ ‘आतोओडा’ । सन्थालहरूको समाज, त्यहीँका विभिन्न पात्रहरूको गतिविधि, उनीहरूको समस्याको यथार्थतालाई उपन्यासले उद्घाटन गरेजस्तो लाग्छ ।

उपन्यासकार सन्थाल जातिको मर्मज्ञ बनेकी छिन् । कटु यथार्थ र सत्यतालाई जीवन्त रूपमा पस्किएकी छिन् । सामाजिक विषयवस्तुलाई घोलेर उपन्यासको रचना गरेकी छिन् । यसमा साहित्यिक सिप, भाषा सौन्दर्य सबकुछ प्रयुक्त गरेकी छिन् । पुस्तकले सन्थालको मर्म र व्यथाको यथार्थ चित्र प्रस्तुत गरेको छ । विषयवस्तुको उठान, त्यसको मार्मिकता र गहनता साँच्चै सह्रानीय पक्ष मान्न सबैलाई कर लाग्छ । भाषिक सरलताभित्र सन्थाल जातिको यथार्थ आएको छ ।

उनीहरूका विभिन्न दृष्टान्तका दैनिकीहरू चित्रित भएका छन् । यसमा जीवनको मूल्य बुझ्ने सन्देश छ । मानव जिजीविषाको तृप्तिको चाहको प्रकटीकरण भएको छ । भविष्यप्रतिको आशावादीता पनि अटाएको छ त्यहाँ । विभेदको पर्खाल भत्काउने उत्साही पात्रहरूको लाइन पनि छ । यथार्थवादी दृष्टिचेत  त्यहाँ सामेल छ । सन्थाल समुदायका प्रतिनिधिमूलक पात्रहरू फूलमुनि, बुधिन, तुरसा, लुखी, मुन्द्री, मङ्लु, सुराहीहरूको दैनिकीको कथा हो यो । उनीहरू मार्फत सन्थालहरूको जनजीवन प्रेम, विवाह सम्बन्ध पढ्न र बुझ्न सकिन्छ । मनका अतृप्त रहरहरू साँचेका फूलमुनि र बुधिनका रहरहरू अधुरो भएका कुरा छन् यहाँ । उनीहरूका मूल्य र मान्यता,रहनसहन रीतिरिवाज जान्न सकिन्छ । अभावको कोलाहल देख्न सकिन्छ त्यहाँ ।

सन्थाल जातिका दुःखका पहाड चढ्न सकिन्छ त्यहाँ । प्रतिकूल परिस्थितिका बिचमा जुधेका उनीहरूका सङ्घर्षका गाथा हेर्न सकिन्छ  । समस्या र अभावमा जकडिएका सन्थालहरूको समग्र जीवन परिवेश जान्न सकिन्छ । मायाप्रेम र समर्पणको भावात्मक विषयको शाश्वततालाई भेट्न सकिन्छ । समग्रमा सन्थाल जातिका बारे पाठकको कौतुहलता मेटाउँछ उपन्यासले । यहाँ तिनका सूक्ष्म सन्दर्भहरू पनि समावेश छन् । भन्नै पर्छ सन्थाल जातिका विद्यमान अशिक्षा, भोक,अधिकारविहीन स्थिति, सम्बन्धका उतारचढाव लगायत तिनले भोग्न बाध्य अनेकानेक दुर्नियतिका मार्मिक पीडाहरूका सादृशिक घटनाहरू पढ्न, बुझ्न सकिन्छ ।

पुरातनबाट उत्सर्जित कथा पनि छ यहाँ । रुढीको भासमा भासिएको कथा छ यहाँ । राज्यको उपेक्षामा परेजस्तो लाग्छ यो जाति । सन्थालमा पुस्ताको हिसाबले पनि प्रौढ पुस्ताले यथास्थितिवादको अनुसरण गर्दै निरन्तरता दिएको छ । विद्रोह ओकल्ने र परिवर्तन खोज्ने दोस्रो पुस्ताको पात्रले प्रतिनिधित्व गर्छ । परिवर्तनको मुद्दालाई बोक्ने सन्थाल पुस्ताको कथा यही छ । परम्परागत ढाँचामा बदलाव हुनपर्छ भन्ने भाव यो पुस्ताले गर्छ । उनीहरूको क्रान्तिचेत स्वभाव पढ्न सकिन्छ यहाँ । पीडालाई एकापसमा साट्ने र बाँड्ने पात्र पनि यहाँ छन् । सन्थाल जातिका राम्रा कुरा पनि छन्, नराम्रा पक्ष पनि छन् । जाँडले मात्तिएर झैझगडामा रुमल्लिनेहरू पनि छन् । मायाप्रीतिका कथा पनि छन् । सन्थाल समुदायका अँध्यारा पक्षहरूको खोजी र उजागर पनि गरेको छ कृतिले ।

उपन्यासमा ठाउँ ठाउँमा सन्थाल जातिको भाषा प्रयोग गरिएको छ तर त्यसलाई अर्थ्याउन शब्दको अर्थलाई नेपालीमा पछाडि राखिएको छ । विभिन्न पात्रहरूमध्ये नारीलाई शक्तिशाली देखाइएको छ ।

उपन्यास छोटो बसाइँमा पढिसकिन्छ । राज्यले अन्देखा गरेकाहरूको समस्या उजागर गर्न उपन्यास सफल देखिएको छ । देशमा अनागरिक भएर बाँच्नुको पीडा छताछुल्ल पोखिएको छ । सन्थाल जातिप्रति उपन्यासकारको प्रेम पोखिएको छ यहाँ । उपन्यासको मुख्य प्रवृत्ति भनेकै लोपोन्मुख सन्थालहरूको यावत यथार्थ र दुःख, पीडाहरूको सार्वजनिककरण गर्नु हो । उपन्यासमा केही नयाँपन छ । सन्थाल समुदायले बोल्ने लोपोन्मुख भाषालाई प्रयोग गरी तिनको अर्थ समेत दिइएको छ ।

उपन्यासकारले यथार्थवादी र सत्यवादी भएर खोज अनुसन्धान गरी आफूले थाहा पाएसम्मका ज्ञानका आधारमा उपन्यास सिर्जना गरेको दाबी सत्यताको धेरै नजिक देखिन्छ । नाटकीयताको रत्तीभर छैन गुन्जायस उनीहरूको यथार्थ छ यहाँ । पाठकलाई सन्थालहरूको छुट्टै परिवेशले छिट्टै तान्न सक्छ । झस्काउँछ उत्तिकै । सीमान्तकृत सन्थालहरूको समग्र मनोविज्ञान बुझ्न पनि यो उपन्यासले सघाउँछ । राजनीतिक परिवर्तनको निम्ति सहभागी हुने सन्थाल प्राप्त उपलब्धिबाट वञ्चित किन भए भन्ने सोच्न बाध्य बनाउँछ । सन्थालहरूको जीवनका बहु आयामिक पक्षहरू पढ्न सकिने गरी उपन्यास लेखिएको छ ।

यथार्थतालाई कलात्मक जलप लगाएर असाध्यै मीठो बनाउन उपन्यासकार सफल देखिएकी छन् । सान्दर्भिक विषयहरूको वरिपरि उपन्यास उभिएको छ । उपन्यासका पात्रहरूको चारित्रिक विशेषताको माध्यमले समग्र सन्थाल जातिकै चरित्रको उद्घाटन गराउन सक्षम देखिन्छिन् जानुका । जुन कुरा उजागर गर्न चाहेकी हुन् सफल छिन् ।

उपन्यास नसकेसम्म पाठकलाई अगाडि तानिरहन्छ । सुदूरपूर्वी नेपालको सीमान्तकृत सन्थाल जातिको समाजका यथार्थ दस्ताबेजको रूपमा उपन्यास छ भन्न सकिन्छ । विषयवस्तुको सारगर्भित उठान गर्न जानुका सफल देखिन्छिन् । स्थानीय भाषाको प्रयोगले उपन्यास मीठो बनेको छ । भन्न सकिन्छ सन्थाल जातिको समग्रता हेर्ने दूरबिन हो ‘आतोओडा’ ।

यति मीठो उपन्यास ‘आतोओडा’ जहाँ सन्थालहरूको समाजको सफल चित्र उतारिएको छ उपन्यासकारलाई हार्दिक बधाई ।