
स्थापित साहित्यकार बखतबहादुर थापाका परदेश, कुहिरो र काग, आधात, कालचक्र, कम्प्युटर आतङ्क, जङ्गे र जङ्गेको डायरी जस्ता कृतिहरू प्रकाशित भइसकेको छन् । कृतिकार थापाको पछिल्लो कृति ‘शीर्षकसँगै सरिता’ नामक कथासङ्ग्रह बजारमा आएको छ । विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित कथाहरूको सङ्कलन गरी सङ्ग्रहका रूपमा प्रकाशित यसभित्र तेइस वटा कथा सङ्गृहीत छन् ।
प्रकृतिका विभिन्न विषय र त्यसले पारेको प्रभावलाई मानवीकरण गरी रचना गरिएका विभिन्न शीर्षकका कथा समावेश गरिएको यस सङ्ग्रहमा शीर्षकका मर्म बोकेको ‘सरिताको आत्मकथा’ समेटिएको छ । प्रकृति प्रदत्त खोला, नाला, नदीमाथिको मानिसको मिचाहा प्रवृतिले विस्तारै बढ्दै गएको प्रदुषणलाई कथामा स्पष्ट पारिएको छ । नदीलाई मानवीकरण गरी नदीमाथिको ज्यादतीको चित्रण कथामा गरिएको छ । प्रकृति र मानवको परिपूरक सम्बन्धमा देखिएका

बद्रीप्रसाद ढकाल
असमानता प्रकृतिमाथि मानिसको हेपाहा, मिचाहापनलाई कथामा चित्रण गर्दै विश्वव्यापीकरणमा हरितगृह प्रभावजस्ता समस्याको चित्रण पाइन्छ । त्यस्तै ‘जुलुस’ शीर्षक कथामा मानिसकै चरम लापरवाहीका कारण धुवाँ र धुलोले पारेको स्वास्थ समस्याको भित्रण गर्दै विकास निर्माणका नाममा वर्षैंसम्म भत्काइएका भग्नावशेषको अवस्थालाई देखाउन खोजिएको छ ।
‘काल’ कथामा जनसङ्ख्या वृद्धिसँगै अन्य विस्थापित सहरीकरण, मान्छेको गलत प्रवृति र विज्ञानको चमत्कारले देखिएको विकराल अवस्थाको चित्रण गरिएको छ । मन र साथीहरू कथामा मान्छेको महत्वकांक्षी र भौतिकवादी सोचका कारण दया, माया, उपकार, सहयोगजस्ता कुराहरू बिस्तारै हराउँदै गएका छन् । मानिसले मानिसलाई हेर्ने, भेट्ने र सहयोग गर्ने प्रवृत्तिमा भरपूर स्वार्थ मिसिएको अवस्थाको वर्णन गरिएको छ ।
‘इज्जत’ कथामा पितृसत्तात्मक पारिवारिक स्वभावले किचिएको परिवारको कथालाई प्रस्तुत गरिएको छ । आफ्नी श्रीमती र छोराछोरीमाथि हरदम हैकम राख्ने बाबुको विचलित मानसिकताको चित्रण गर्दै मानिसको स्वभाव युगसापक्ष नभएमा साहाराहीन जीवन बिताउन बाध्य हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । साथै श्रीमती र छोराछोरीमाथि हैकम चलाउने मनोवृतिले वाक्क भएर घरछोडेर हिँडेको अवस्थालाई देखाइएको छ । भूकम्पले कति मानिसहरूको जीवन तथा भौतिक सम्पत्तिको तहसनहस भएको र बाँच्नेहरूको पनि भय त्रासको मानसिक अवस्थाबाट गु्ज्रिनु परेको यथार्थलाई ‘अशक्त प्याउली प्रकाश प्रजापति र भुइँचालो, भग्नावशेष र त्रास’ कथामा प्रस्ट पारिएको छ । साँच्चै प्राकृतिक प्रकोपमा परेका मानिसको मानसिक विश्लेषण गर्न सबल यी कथाहरूमा भूकम्पले पारेको विध्वंससँगै त्यसको परोक्ष र प्रत्यक्ष प्रभावलाई सूक्ष्म रुपमा केलाइएको छ ।
‘कामना’ कथाले देशको शान मान र इज्जतका लागि अन्तराष्ट्रिय खेलमा भाग लिएको खेलाडीको दयनीय अवस्थासँगै अनेक तनाव बोकेर दबाबमा सक्रियपूर्वक भाग लिन नसकेको र दुर्बलताका कारण मृत्युशैयामा छट्पटाउनु परेको पीडालाई अभिव्यक्त गरिएको छ ।
‘चक्रब्यूह र जोतिषी’ कथामा परिश्रम नगर्ने तर सफलता हात पार्नका लागि प्रयासरत मानसिकतालाई दुर्बल चरित्रका माध्यमबाट अभिव्यक्त गरिएको छ । आफूसँग क्षमता भए पनि प्रयास नगर्नेको निरासा मात्र हात लाग्छ भन्ने यथार्थको चित्रण गरिएको छ । मनगढन्ते र कपोकल्पित जुक्तिद्वारा युवायुवतीको भविष्य र उन्नतिका लागि विभिन्न चाल बताउने ज्योतिषीकै छोरी घरबाट हराएको र आफैँले उपाए सिकाएको केटोले लगेको व्यङ्ग्यपूर्ण समसामयिकतामाथि चोटिलो प्रहार पाइन्छ ।
‘मातापिताको माया’ कथामा आफ्ना छोराछोरीलाई असल बनाउन आमाबाबुले गरेको सङ्घर्षलाई चित्रण गर्दै आमाबाबुको छोराछोरीप्रतिको धारणालाई अभिव्यक्त गरिको छ । आमाको मायालाई कुनै वस्तुसँग पनि तुलना गर्न सकिँदैन भन्दै मातृवात्सल्यताको गहन विश्लेषण गरिएको छ । ‘मेरी भाउजु र नागा बाबा’ कथामा धामीझाँक्रीको क्रियाकलाप र मानसिक अवस्थालाई चित्रण गरिएको छ । भूतप्रेत भन्ने रोग मानिसको सोचाइभित्र हुन्छ जबसम्म खराब विचार र संस्कारलाई आफ्नो मानसिकताबाट निकालेर फाल्न सक्दैनौँ तबसम्म यस्ता रोगले गाँजिरहन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
‘फेरीवाला’ कथामा वर्षैंदेखि भूतप्रेत भगाउने, दुष्ट आत्माको हानीबाट बचाउनका लागि रातमा हरिणको सिंग बजाउने संस्कारलाई आधुनिकपनसँग जोडेर हेरिएको छ । ‘सालीभेना’ कथामा युवाहरूको लागुपदार्थप्रतिको मोह र त्यसले प्रभाव पारेको पारीवारिक अवस्थालाई देखाउन खोजिएको छ । साली र भेनाको सम्बन्धलाई देखाउँदै निकटताको प्रसङ्गलाई जोड्न खोजिएको छ ।
‘सन्देश’ कथामा सकारात्मक सोच र आत्मबलले जीवन खुसी बनाउँछ भन्दै सत्कर्म र सद्व्यवहारलाई आत्मज्ञानका रूपमा व्याख्या गरिएको छ । शरीरको क्षणभङ्गुरता र अनित्यतालाई सम्झाउँदै मृत्युपछिको सम्मानभन्दा पनि असल कर्मको अनुकरणमाथि जोड दिइएको छ । ‘नेपाल आमा’ कथामा सिद्धान्तहीन राजनीतिले निर्माण गरेका विकृति र विसङ्गतिको चित्रण गर्दै इच्छाशक्तिविहीन नेनृत्व वर्गले गर्दा देश बिग्रेको अवस्थाको सूक्ष्म अवलोकन गरिएको छ । अनेकौँ सम्भावना भएता पनि केवल सान्त्वना र आश्वासनले मात्र परिवर्तन हुँदैन भन्ने सन्देश कथाले दिन खोजेको छ । हामीसँग भएका स्रोत साधनको उपयोग नगरी अरूको तुलना मात्र गर्ने राजनीतिक परिपाटी र सिन्को समेत नभाँची परजीवि बनाउने मानसिकता बोकेका राजनेताहरूप्रति कठोर व्यङ्ग्य गरिएको छ ।
‘मेरी सविना मरी’ कथामा एकातर्फी प्रेम र साइवर संस्कृतिलाई जोड्दै मानिसभित्रको महत्त्वाकाङ्क्षा र समस्यालाई प्रस्तुत गरिएको छ । शरीर प्रेमको कारण मानिसका दिमागमा त्यसप्रतिको गलत धारणा बढ्दै गएकाले मानिस बेचैन भइरहेको अवस्थालाई चित्रण गर्न खोजिएको छ ।
‘झगडाले पुर्यायो इच्छा’ कथामा नेपालीहरूको अमेरिकी मोह र मानसिकताको चित्रण गरिएको छ । प्रेममा मानिस झुठ बोल्छन् र यथार्थमा सम्बन्ध जोड्न डराउँछन् भन्ने तथ्यलाई कथामा प्रस्तुत गर्दै महत्त्वाकाङ्क्षाले मानिसलाई विखण्डित बनाउँछ भन्ने सन्देश दिन खोजिएको छ ।
निम्नमध्यम वर्गीए पात्रका समस्यालाई उजागर गर्न सक्षम ‘ऊर्जा’ कथामा सहरमा रिनपान गरेर घर बनाएका घर धनीको बेचैनीको कथा बुनिएको छ । समस्यापर्दा प्रहरी समक्ष पुग्ने सर्वसाधाहरणमाथि प्रहरीले नै जब समस्या थपिदिन्छन् तिनीहरूको अवस्था झन्झन् दयनीय हुन्छ भन्ने अवस्थालाई चित्रण गरिएको छ । ‘साला सुगर’ कथामा बेहोस् भएर लडेको र अस्पतालको बेडमा पगेको अवस्थाबाट कथाको विषय सुरु भएको छ । रोगभन्दा पनि मानिसभित्रको रोग, भोग र शोकले थिलथिलो पारेको समयमाथि चोटिलो व्यङ्ग्य प्रस्तुत गरिएको छ । यस सङ्ग्रहको अन्तिम कथा ‘नीलकण्ठ’मा ढोगी आध्यात्मवादीप्रतिको वितृष्णाका साथै समय र सन्दर्भअनुसार नदेखिएको आस्तिकतामाथि व्यङ्ग्य गरिएको छ ।
यसरी समसामयिक विषयमाथि कथावस्तु निर्माण गरी सुधारको अपेक्षाको उद्देश्य राखिएका कथाकार बखतबहादुर थापाका कथाहरूमा सामाजिक विकृति, विसङ्गति, अन्धविश्वासमाथि चोटिलो व्याङ्ग्य दीन सफल भएका छन् । प्राकृतिक विनाशले मानव जीवनमा पारेको चोट माथिको सान्त्वना दिइएका कथामा मानीसहरूको दयनीय यथार्थलाई समावेश गरिएको छ । भने स्वतन्त्रताका नाममा गरिएका यावत् कर्मले सामाजिक मर्यादा र संस्कारहरू विस्तारै मासिँदै गएको
मानिसका महत्त्वाकाङ्क्षा र स्वार्थी प्रवृतिले गर्दा प्राकृतिक वातावरणमा समेत असर परेको यथार्थलाई चित्रण गरिएको छ । बढ्दै गएको प्रदुषण र त्यसले मानव जीवनमा थपिएका रोगलाई सूक्ष्म ढङ्गबाट केलाउँदै सफा, स्वच्छ र उपयोगी वातावरण निर्माण गर्न आव्हान समेत गरिएको छ । लामा तथा छोटा आयामका तेइस कथा समावेश गरिएको ‘शीर्षकसँगै सरिता’ कथासङ्ग्रह रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो । १८१ पृष्ठको यस पुस्तकमा विभिन्न विषय र प्रसङ्गका कथाले सामाजिक यथार्थको सूक्ष्म चित्रण गरिएको छ । छोटा र सरल वाक्यमा संयोजन गरिएका कथाहरू पठनीय छन् । सङ्ग्रह सङ्ग्रहणीय छ । भन्दै कथाकारलाई आगामी रचनाका लागि शुभकामना अपर्ण गर्दछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

