
‘चिठी पाएर मेरा हर्षका आँशु खसे बाबु, त्यसबेला । म दुई चोटि रोएको छु छोराको उपलब्धिमा । पहिलोचोटि, उसले लेखेको एउटा किताब, जो मलाई समर्पण गरेर पठाएको थियो, त्यो पढेर मेरा आँशु खसे । अवश्य यी आँशु उपलब्धिको हर्षमा होइनन्, किताबको कथामा फेला परेको मर्मपीडाले खसेका थिए । नेपाली जीवनको छवि, त्यस वेदना थियो त्यस कथामा ।
अर्कोचोटि, उसले एम.ए. मा उत्तीर्ण भएको चिट्ठी पाएर खसेका थिए हर्षका आँशु ।’ (पृष्ठ २२७)
कमाण्डिङबाका अभिव्यक्ति हुन् यी उपन्यास ‘प्रतिध्वनिहरू विस्मृतिका” भित्र अभिव्यक्त भएका । तर बसाइँ उपन्यासको एकपाना पल्टाएपछि समर्पण पृष्ठमा आँखा पर्दा पढ्नुपर्छ —
‘जसले शिक्षा जगतमा द्रुतगतिले अघि बढायो, जसका प्रेरणाले नेपाली साहित्यको सुनौलो पथमा बामे सर्न अग्रसर भएँ, उनै पुज्यपिता श्री प्रेमबहादुर क्षेत्री असिस्टेन्ट कमान्डेन्टका चरण कमलमा बालकको प्रथम प्रयास सभक्ति समर्पण ।’
२०१४ सालमै उपन्यासकार लीलबहादुर क्षेत्रीले यस उपन्यासको प्रमुख पात्रसँगको आफ्नो नाताको रहस्य खुस्काइसक्नुभएको रहेछ । अर्थात यो उपन्यास स्वयं उपन्यासकार लीलबहादुर क्षेत्रीका पिता प्रेमबहादुर क्षेत्रीको कथा रहेछ ।
२०३२ सालतिर पढेको थिएँ ‘बसाइँ’ उपन्यास । म भन्दा तीन वर्ष जेठो त्यो उपन्यासले साह्रै नै प्रभाव पार्यो मलाई । मैले त्यो सिङ्गै उपन्यास त्यसैबेला आमालाई पढेर सुनाएँ र प्रत्येक पानासँग आमाका आँखा रसाउँथे । पहाडबाट बसाइँ हिँड्नु पर्दाको त्यो पीडाले आमालाई साह्रै नराम्रो गरी छोएको थियो । झण्डै त्यस्तै बसाइँको कथा थियो हाम्रो पनि जसलाई मैले ‘आधाबाटो’ उपन्यासमा लेखेको छु । बसाइँ उपन्यासले म र मेरी आमामात्र होइन प्रत्येक पहाडे नेपाली आँखा रसाउँछन् र तिनले झलझली आफ्नो विगत देख्छन् । लीलबहादुर क्षेत्रीको नाम त्यसैबेला कण्ठ भएको थियो ।
सन् १९८० तिर फेरि अर्को उपन्यास पढेँ मैले उहाँको — अतृप्त शीर्षक थियो त्यसको । बसाइँ उपन्यासले पारेको एक किसिमको छापको अतृप्तले मेटेर अर्कै छाप टाँस्यो मभित्र । नेपाली पहाडे जीवनको दुर्दान्त कथा बोकेको बसाइँ एक यथार्थवादी सामाजिक उपन्यासको सुन्दर धरातललाई समातेको थियो । तर यो अतृप्तले एउटा अनौठो यौन मनोविज्ञानको रहस्यलाई उचालेको पाएँ । आदर्शता त्याग्न नसकेको र आधुनिकतातिर झुक्न थालेको एउटा अनौठो युवा मनको विचित्र चित्रण पाएँ त्यो उपन्यासमा । अत्याधुनिक चेतन भएकी सीता सावित्री जस्ती आदर्शवान पत्नीको कल्पना गर्ने एउटा युवकको अनौठो मनोवैज्ञानिकता त्यसमा छँदाछँदै पनि आसामे समाजमा नेपालीहरूको अवस्थाको सामाजिक चित्रण गर्न पनि त्यसले बिर्सेको छैन । गाउँले जीवनको बाह्य पीडा लेख्न सक्ने ठानेको मैले तर अतृप्तमा अनौठो अर्कै लीलबहादुर क्षेत्रीलाई भेटेर आश्चर्यचकित भएको थिएँ । धेरैले बसाइँ उपन्यासकै चर्चा जतै पनि गर्छन् तर मैले त सबैभन्दा बढी अंक ‘अतृप्त’लाई नै दिएँ पछिसम्मै ।
अतृप्त पढेपछि निकै पछिसम्मै उहाँका अरु कृति पढ्न नपाई अतृप्तै हुन गएको यो पाठकमनलाई निकै लामो अन्तरालपछि प्राप्त हुन आयो उपन्यास ‘ब्रह्मपुत्रको छेउछाउ’ । सन् १९८६ मा श्याम ब्रदर्शद्वारा प्रकाशित यस उपन्यासले पुनः एकाएक बसाइँकै जस्तो चर्चा पाउन थाल्यो । एक किसिमले बसाइँकै दोस्रो खण्ड जस्तो लाग्ने यस कृतिमा आसामलाई बीचबाट चिर्दै दुई भागमा पारेर बग्ने विशाल नद ‘ब्रह्मपुत्र’का किनारमा बस्ने मानिसहरूको दुःखको चरमचित्रण छ । खास गरी नेपालका पहाडमा दुःख पाएर सुख खोज्दै मुग्लान पस्ने पहाडे नेपालीहरूले ब्रह्मपुत्रको किनारमा पाएको दुःखको यति जिउँदो चित्रण छ, प्रत्येक पाठक कैयौं ठाउँमा आँखा आँशुले भर्दै अघि बढ्न विवश हुन्छ । ब्रह्मपुत्रको छेउछाउले समेटेको कथावस्तु पहाडे नेपाली मूलका आसामे जीवनको तीतो पीडाको कथा छ । आसाममा नेपालीहरू कसरी मिलेर बसेका छन्, दुःखलाई कसरी खपेका छन्, त्यसको साह्रै सजीव चित्रण छ यो उपन्यासमा । भारतीय साहित्य अकादमी पुरस्कारले सम्मानित त्यो कृति नेपाली पाठकहरूका लागि मात्र छैन पूर्वोत्तर भारतका तमाम साहित्यिक पाठकहरूको सामुहिक सम्पत्ति हो त्यो ।
आसाममा बसेर आसामे र नेपाली जीवनलाई साह्रै नजिकबाट हेर्ने र भोग्ने शैली छ उहाँको । उहाँका कृतिहरू पढ्दा विवाहिता छोरीको उभय मानसिकता जस्तो पाइएको हुन्छ पात्रको सोच । नेपालको पनि अगाधै माया छ र भारतप्रति पनि गहिरो इमान्दारिता छ । जन्मभूमि र कर्मभूमि बेग्ला बेग्लै भएर बाँचिरहेका जातिहरूको नैतिक संकटहरूको जीवन्त चित्रण लीलबहादुर क्षेत्रीका कृतिहरूको यथार्थ पीडा हो ।
…
प्रस्तुत नयाँ उपन्यास ‘प्रतिध्वनिहरू— विस्मृतिका’ को पाण्डुलिपिभित्र चेपिएको एउटा चिठ्ठी थियो क्षेत्री सरको हस्ताक्षरमा । उभिएका थिए ती अक्षरहरू यसो भन्दै — ‘साथमा गाभेको पाण्डुलिपि भनौं प्रुफकपी ‘प्रतिध्वनिहरू विस्मृतिका’ उपन्यास भनेरै लेखियो । टेकाएको छ मेरा पिताज्यूको जीवनीमाथि । ….. । आखिर उपन्यास हो ।’
क्षेत्री सरको चिट्ठी पढिसकेपछि मलाई हर्ष लाग्यो । एकवर्ष अघि ‘आधाबाटो’ उपन्यास प्रकाशित गर्दा मनमा धेरै शंका उपशंका र डरहरू थिए । आफ्नै परिवारका दुःखसुखहरूलाई जस्ताको तस्तै उतारिएको त्यस कृतिलाई उपन्यास मानिएला नमानिएला भन्ने । त्यसको लेखकीयमा एक ठाउँ लेखिएको छ —
‘वास्तवमा जीवन नै एउटा उपन्यास हो नि – एउटा लामो आख्यान । जन्मदेखि मृत्युसम्मको एउटा व्यक्तिको जीवन नै एउटा ठूलो आख्यानको समूह हो । एउटा मान्छेको जीवनसँग जोडिन आउने समय र संसारको सबै विषय र तत्त्वहरूले उसको व्यक्तिगत कथा पनि सामाजिक र सांसारिक बन्दछ । एउटा साधारण व्यक्तिको जीवन सिङ्गै राष्ट्र, मानव सभ्यता र इतिहासको सारांश हुन्छ । समाजमा भइरहेका सबै घटनाहरू कुनै परिस्थिति र प्रविधिले घटेका हुन्छन्, तिनलाई भोग्न बाध्य हुन्छ प्रत्येक मान्छे । जब कुनै पनि मान्छेले आफ्नो क्षमताले, बुद्धिले, सम्पत्तिले कुनै कुराले पनि इच्छा अनुसारको जीवनको रचना गर्न सक्दैन र ऊ कुनै परिस्थितिको अघि एक विवश पात्र बन्छ भने त्यो एउटा उसकै वैयक्तिक जीवनको नायक मात्र हो । स्वतन्त्र अस्तित्वको अलग्ग अर्कै कुनै व्यक्ति होइन ।’
साँच्चै आज मेरो हातमा परेको यो उपन्यास त्यस्तै एउटा अनौठो उपन्यास भएर आएको छ । बसाइँ, अतृप्त र ब्रह्मपुत्रका छेउछाउका बारेमा निकै चर्चाहरू भइसकेका छन् । बसाइँको निरन्तरता ब्रह्मपुत्रको छेउछाउ हो भने ब्रह्मपुत्रको छेउछाउको निरन्तरता यो कृति हो भनी मान्न मन लाग्छ । कथावस्तु र विषयले यो कृति लीलबहादुर क्षेत्रीभित्र वर्षौंदेखि निरन्तर प्रवाहित नेपाली जातिको पीडा वेदना र प्रवासीयताको चित्रण हो । उहाँभित्र सधैँ खिलझैं गाडिएर रहेको नेपालप्रतिको माया र भारतप्रतिको कर्तव्यको यो एउटा दस्तावेज हो ।
यो उपन्यास, तर उहाँकै पूर्व उपन्यासहरूको प्रविधिलाई छोडेर नयाँ बाटो हिँडेको छ । यस उपन्यासले औपन्यासिक प्रविधिका – कथानक, प्रारभ्म, उत्थान, उत्कर्ष र समापनको अनुशासनलाई पछ्याएको छैन । उपन्यास हुन धेरै बल पनि गरेको छैन यसले । यसले औपन्यासिक तत्त्वको अनुशासनको खोज गर्दै त्यहाँभित्र नायक, नायिका, खलनायक आदिको संरचना पनि गरेको छैन । मूलतः यो कृति लेखकको कल्पनाशीलता, लेखकीय तारतम्य आदिद्वारा निर्माण गरिएको कल्पना लोकको विचरण होइन । बरु एउटा जिउँदो र यथार्थ जीवनको तस्वीर हो । ‘प्रेमबहादुर क्षेत्री’ अर्थात लेखकका पिताको जीवन सत्य र यथार्थताको तस्वीर रहेको छ यो ।
पहाडको दुःखले विरक्त भएको एउटा युवकलाई पल्टनमा भर्ती हालिदिन भनी झुक्याएर आसामको अनकन्टार गाउँमा पुर्याइए, बिना पारिश्रमिक वर्षौंवर्षसम्म दास जस्तो काममा खटाइ शोषण गर्ने आफ्नै नेपाली दाजुभाइहरूको प्रवृत्तिको नाङ्गो चित्रणबाट शुरु भएको यस कथाले मुग्लान पस्ने अनेकौं नेपालीले पाएका दुःखहरूको प्रतिनिधित्व गरेको छ । संघर्ष र अठोटका साथ लाग्नेहरूका जीवनको सफलता र असफलताको मिथक पनि हो यो उपन्यास ।
यस कृतिलाई उपन्यास मान्दा कमाण्डिङबा अर्थात प्रेमबहादुर क्षेत्री एउटा पात्र हो – धने, मानवीर, गुमाने, काकती बाबु जस्तै । यथार्थ मान्दा लीलबहादुर क्षेत्रीको नितान्त पारिवारिक कथा । तर कथा, लेखकको दिमागको गुजुल्टिएको योजनाबद्ध अभिव्यक्ति मात्र हो त ? भोगिरहेको र भइरहेको चाहिँ के हो ? कमाण्डिङ बाले भन्नु भएको यति लामो २४८ पृष्ठको कथा, उपन्यास कसरी होइन ?
यस उपन्यास भित्रका पात्रहरू एक एकछिनमा आउँदै हराउँदै गर्छन् । बारम्बार दोहोरिने र शुरुदेखि अन्तिमसम्म रहने सुनियोजित कथाका झैं छैनन् । जीवनमा त्यस्ता साह्रै स्थिर पात्रहरू नै कति हुन्छन् र ? आफ्नै परिवारभित्रका बाहेक स्वतन्त्र पात्रहरू जीवनकथाका निरन्तरता हुँदैनन् । ती त कुनै खास प्रयोजनका लागि आउँछन् र कता पुग्छन–पुग्छन । सधैं नयाँ नयाँ पात्र घटनाहरूसँग भेट गरिरहनु पर्छ । कमाण्डिङबाका कथामा पनि साना–साना भूमिका कैयौं पात्रहरू आएका छन् – मार्मिक कथा भन्दै ।
ब्रह्मपुत्रको छेउछाउले आसामको ग्रामीण जीवनको चित्रण गरेको थियो । ग्रामीण आसामको दुःखलाई चिनाएको थियो त्यसले । यसले शहरी आसामको चित्रण गरेको छ । गुवाहाटी र शिलाङको स्थापना र विकासको कथा भनेको छ । शिलाङभन्दा पनि खास गरी आसामको राजधानी गुवाहाटीमा नेपाली जातिको स्थापनाको कथा हो यो उपन्यास ।
कल्पना गरी लेखिएका आख्यानमा जस्तो घटनाक्रमको नाटकीयता यहाँ पाइँदैन । यहाँ त जीवन जसरी बितेको छ, त्यसैगरी बगेको कथा पाइन्छ । साँच्चैको जीवनीय कृति छ यो । पाठकलाई भावुक, उत्तेजित आदि बनाई मनोरञ्जन दिनेभन्दा स्वभाविक रूपमा बितेका घटनाहरूको सहज चित्रण बढी जीवनवादी बन्न सक्छ । कमाण्डिङ बाले अब के भन्लान भन्दाभन्दै – पढ्दापढ्दै कृति समापन हुन्छ । बियोगमा सकिएको छ यो कृति पनि । क्षेत्री सरका सबै उपन्यासहरूको अन्त्य प्रायः वियोगान्तक नै छन्– यसले पनि त्यही परम्परालाई थामेको पाइयो ।
विशेषता भिन्न छन् यसमा केही– अरुमा भन्दा । यो एउटा संस्मरणात्मक कृति बनेको छ । इतिहासमय पनि छ । निबन्धात्मक तत्त्व धेरै पाइन्छ यसमा । यसले कथानकको झिनो डोरी कहीँ चुडिन दिएको छैन । पत्रकारिताको अनुभवले निकै सीप देखाएको छ । भाषामा सरलतासँगै केही आञ्चलिकता मिसिएर आएको छ । विधा भञ्जन यसमा प्रशस्त छ ।
जीवनलाई हेर्ने दृष्टिकोण यसमा लीलामय छ । उमेरको बार्धक्यले गर्दा पनि हुन सक्छ, आध्यात्मिकता अलिक छिप्पिएरै पसेको हो कि ? अघिल्ला उपन्यासहरूमा जस्तो कारुणिकता बनाउन वा जीवनसँगै धेरै नै रुन खोज्दैन यसले । यसले कर्मयोगको मार्ग दह्रो गरी समातेको लाग्छ । प्रौढताले लेखकमा भावुकताभन्दा बौद्धिकतालाई उठाउन थाल्दोरहेछ । बुद्धिपक्ष बढी नै उठेको भेटियो यसमा । माधवी लेख्ने मदनमणि दीक्षितले ‘भूमिसूक्त’ मा आइपुग्दा भावनालाई सम्पूर्णतः बहिस्कार गरेको भेटेथें । यस कृतिमा पनि लीलबहादुर क्षेत्रीको बौद्धिकताले निकै शासन जमाएको लाग्छ । तर बिजाउँदैन बौद्धिकता कतै पनि, बरु त्यसले सूक्तिमय अनुभूति दिँदै जान्छ ।
कृतिमा लीलामय अनुभूतिहरू यसरी पढि हेरौं ।
– हामी पनि यो संसारी मेलामा रमिते भएर आएका छौं । केही छिनको निम्ति मेला भर्न आएका छौं, समय बितेपछि मेला चल्दै गरेको छोडेर आफ्—आफ्नो घर फर्कन्छौं । (पृष्ठ २०)
– सबै आफ्नै मनको आँखाले हेर्छन । हामी सधैँ दृष्टिभ्रमले पिडित भइरहेका छौं । एउटै कुरालाई कसैले के देख्छ, कसैले के ! (पृष्ठ ७६)
– वास्तवमा कुनै पनि जिनिस आफैँमा के हो, के हो ? (पृष्ठ ८०)
– दुबैले यो संसारको अभिनय समाप्त गरेर आफ्नो वास्तविक रूपमा परिणत भए । (पृष्ठ ८३)
– यसै पनि उपन्यास जीवनकै इतिवृत्ति हो, तर कुनै उपन्यासकारले जीवनको सम्पूर्णता उपन्यासमा दिन सक्दैन, न त जीवनको शेष बिन्दुसम्म पुग्न सक्छ । (पृष्ठ १६४)
– यस संसारमा केही कुरो दिगो छैन । नाम, यश, कीर्ति पनि केही कालको निम्ति हो । आफ्नो कर्तव्य अनुसार राखेको कीर्ति पनि लामो छोटो केही काल सम्झना रहन्छ मानिसलाई यस पृथ्वीमा । (पृष्ठ २२८)
यस्ता अनेकौं सूक्तिमय अभिव्यक्तिहरू पुस्तकभरि जतासुकै पाइन्छ ।
उपन्यासको परम्परागत रुढ मान्यतालाई भत्काउँदै आएको यस कृतिले यथार्थ र सत्य तथ्यलाई नछोपीलेख्ने नयाँ यात्रालाई अँगालेको छ ।
पदमबहादुर क्षेत्री, पहारसिंह गुरुङ, पाण्डुमान राई, लालबहादुर क्षेत्री, वीरबहादुर गुरुङ, मानध्वज बुढाथोकी, छविलाल शर्मा, भीमसिं गिरी, मकरध्वज रावल, लक्ष्मीलाल प्रधान, खड्गबहादुर प्रधान, पञ्जुलाल गुरुङ, पशुपति गुरुङ आदि समाजसेवी व्यक्तिहरूको योगदानको चर्चा गर्दै यस उपन्यासमा प्रयोग भएका पात्र, घटना र कथावस्तु सबै यथार्थ हो भन्ने संकेत गर्नुभएको छ ।
‘आधा बाटो’ उपन्यासको पृष्ठमा –
‘यो उपन्यासमा उल्लेखित सबै पात्र र घटनाहरू वास्तविक हुन्, कहीँ कतै काल्पनि जस्तो लाग्न गएमा त्यसलाई संयोगमात्र भनिनेछ ।’ भनी लेखिएको थियो । यस कृतिमा पनि झण्डै यस्तै अनुभव हुन्छ पढ्दै जाँदा । आसाम बाहिरका पाठकहरूलाई यो कृति उपन्यास हो, आसामभित्रका पाठकहरूलाई यो कृति इतिहास हो । समय र स्थानको अन्तरालले एउटै आख्यान कतै उपन्यास कतै इतिहास बन्न पुग्छ । यो कृति पनि त्यसै गरी भौगोलिक दूरता बढ्दै जाँदा उपन्यास हुने र स्थानीय सङ्कुचनतामा इतिहास बन्ने देखिन्छ ।
जे होस्, लीलबहादुर क्षेत्रीको यो पछिल्लो उपन्यासले नेपाली उपन्यासको सय वर्षको बीट मारेको छ । लेखक, जीवनको उत्तरार्द्धमा पुग्दा उहाँ पनि लीला प्रविधिको छेउछाउतिर उभिन पुग्नुभएको देखें ।
म जन्मनुभन्दा तीन वर्षअघि नै उपन्यास प्रकाशन गरी सक्नुभएका श्रद्धेय लीलबहादुर क्षेत्रीको यो पछिल्लो कृतिमा केही कुरा लेख्न पाएर म धन्य भएको छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

