भानुभक्तलाई आदि कवि मानेर आएको नेपाली साहित्यको इतिहासमा अनेकौं त्यस्ता व्यक्तिहरू आए जसले यसको रथलाई निरन्तर तानिरहे र आज पनि तानिरहेका छन् । अघि लगिरहने पुस्ता आइरहेसम्म जे कुराको पनि आफ्नो दीर्घ इतिहास निर्माण भई रहन्छ । निकै लामो समय नेपाली साहित्यले एउटै विधालाई मात्र चिन्यो र काव्यको समुद्र उराल्यो । साहित्य भन्नु नै कविता हो भन्ने आधारको स्थापना भयो । हरेक पुस्तामा यदि कसैले यो मार्ग रोज्यो भने उसले कविता नै लेख्यो ।
संस्कृत साहित्यको पृष्ठभूमिबाट उदय भएको नेपाली कविताले पनि संस्कृत काव्य परम्परालाई अँगाल्दै छन्दोबद्ध शिल्पको आधार स्थापना गर्यो । धेरै कालसम्म फुटकर कविताहरूमै रमायो यो । कविताबाट काव्यतिर चढ्न पनि निकै उकालो मान्यो, महाकाव्य त हिमाल नै थियो । धेरैपछि जब शाकुन्तल लेखियो, महाकाव्यले खाता खोलेको थियो । बिस्तारै निबन्ध, कथा र उपन्यासतिर पनि यसले आफ्ना पखेटाहरू फटफटाउँदै जान थाल्यो तर पनि समालोचना भने कतै गर्भगृहतिरै अल्मलिइरहेको हुनुपर्छ ।
जब हामी नेपाली समालोचनातिर चिहाउन थाल्छौ, त्यहाँ सारै थोरै अनुहारहरू देखिन थाल्छन् । थोरै अनुहारमा पनि झन थोरै अनुहार देखिन्छन् जसले नेपाली समालोचनाको यात्रालाई स्वादिलो बनाए । त्यस्ता केही नामहरूमा हामी टाडैबाट गुञ्जिरहेको एउटा नाम सुन्छौँ डा. तारानाथ शर्मा अर्थात् ताना सर्मा ।
यिनको जन्म नेपालको सुदूर पूर्वी जिल्ला इलामको बरबोटे भन्ने ठाउँमा भएको हो । यो ठाउँ इलामबजारबाट केही उत्तर चुरेघाटीतिर जाने बाटोमा पर्दछ । यहाँ यिनी वि.सं. १९९१ असार ९ गते जन्मिएका हुन् । भनाइ छ– त्यो ठाउँको नाम बरबोट रहनुमा त्यहाँ एउटा अत्यन्त ठुलो बरको रुख थियो रे । त्यसको फेदलाई बार जना मानिसले दुबैतिर हात समातेर फेरो मार्दा पनि फेरो पुग्दैन थियो रे । त्यसबेलाको सबैभन्दा ठुलो बरको रुख भएकोले त्यस ठाउँको नाम बरबोटे रहन गएको रहेछ । उनी पिता प्रजापति र माता देवकी उपाध्यायका जेठा छोरा थिए ।
त्यही ठाउँमा जन्मिएका उनले पाँच वर्षको उमेरदेखि नै घरैबाट शिक्षाको आरम्भ गरे । उनका बाबु प्रजापति उपाध्याय (भण्डारी) त्यस समयका राम्रो पढालेखा कहलिन्थे । उनैले आफ्ना छोराछोरीको पढाइलाई महत्त्व दिएर घरमै शिक्षक राखेर पढ्ने व्यवस्था मिलाएका थिए । पछि छरछिमेककाहरूले पनि आफ्ना छोराछोरी पढाउन रहर गरेपछि नजिकै अलिकति जग्गा किनेर सानो कटेरो हाली त्यसैमा शिक्षक राखेर संस्कृतको पढाइ गराउन थाले । उनको प्रारम्भिक शिक्षा संस्कृत भाषामा भए पनि पछि उनी अङ्ग्रेजी भाषाका विद्वान् भए ।
आफूले अङ्ग्रेजी भाषा पढ्न थालेको बारेमा उनले एक अन्तर्वार्तामा भनेका छन्– म त्यस्तै छ सात वर्षको हुँदो हुँ । संस्कृतका व्याकरण, लघुकौमुदी आदि सबै परर पढ्न सक्ने भएको थिएँ । एकदिन बाटोमा एउटा कागज भेटेँ । टिपेर हेरेको अक्षरहरू त छापिएका थिए तर, मैले केही पनि बुझिनँ । अनि मलाई सारै नराम्रो लागेर रुन थालेँ । म रोइरहेको परबाट आउँदै गरेका दुईतिन जना मध्ये एकजना लाहुरेले किन रोएको बाहुन नानी ? कसले कुट्यो भनेर सोध्यो । मैले उसलाई त्यो कागज देखाएर म सबै कुरा पढ्न सक्छु तर यो कागज पढ्न नसकेकाले रोएको भने । उसले त्यो कागज हेरेर यो त अङ्ग्रेजी अक्षर हो । अङ्ग्रेजी नपढेकाले यो पढ्न कहाँ सक्छन् त । मैले लाहुरमा गोरा साहेबहरूसँग काम गरेको छु । अब म पनि आफ्ना छोराहरूलाई आफूसँगै लगेर अङ्ग्रेजी पढाउने विचारमा छु । तिमी पनि पढ अनि जान्ने हुन्छौ । त्यसपछि मैले घरमा गएर त्यो कागज बालाई देखाएर आफ्नो पिर पोखेँ । मेरो कुरो सुनेपछि बाले मलाई अङ्ग्रेजी पनि पढ्न सिकाउने व्यवस्था मिलाउनु भयो । शिक्षाप्रतिको उनको हुटहुटी यही भनाइबाट छर्लङ्ग हुन्छ ।
उनी नौ वर्षको हुँदा उनको परिवार इलामको बरबोटेबाट इलामकै फिक्कल भन्ने ठाउँमा सर्यो । यो ठाउँ झापाबाट इलाम जाँदा बीचबाटोमा पर्छ । त्यहीँबाट भारतको दार्जीलिङतिर जाने बाटो पनि छुट्टिन्छ । त्यहाँ एक स्वामीश्वरानन्द नामका संन्यासीले स्कुलको स्थापना गरेका रहेछन्, त्यसैमा उनको पढाइले निरन्तरता पाउन थाल्यो । यस्तै बेलामा एकपल्ट उनका पिताजी काम विशेषले भारतको कलकत्ता पुगेका बेला बाटो अल्मलिएर एकजना अङ्ग्रेजजस्तो अग्लो गोरो मानिसलाई सोध्दा त्यसले हेपेर साइनबोर्डतिर देखाउँदै त्यहीं लेखेको छ त, हेर न भनेछ । उनले साइनबोर्डका अक्षर अङ्ग्रेजी भएकाले पढ्न सकेनछन् । उनी कलबत्ताबाट फिर्दा ईखालु भएर फिरेछन् । अनि गाउँमा आएर छोराछोरीलाई अङ्ग्रेजी पढाउनकै लागि नयाँ स्कुलको स्थापना गरेर त्यही पढाउन थालेपछि तारानाथको पढाइ संस्कृतबाट सदाको लागि मुक्त भएर अङ्ग्रेजीतिर लागेछ ।
उनका पिताजीलाई अङ्ग्रेजीको भूत चढेपछि त्यसले ओर्लिने नामै लिएनछ । अनि उनलाई फिक्कलबाट दार्जीलिङको खर्साङ भन्ने ठाउँमा लगी स्कुल भर्ना गरिदिए । त्यहीबाट उनले माध्यामिक शिक्षा पूरा गरे । त्यसपछि दार्जीलिङ्को प्रसिद्ध सेन्ट जोसेफ कलेजबाट आइए उत्तीर्ण गरे, जहाँ हाम्रा पूर्व राजा र राजकुमारहरू वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रले पनि पढेका थिए । आइए उत्तीर्ण गरेपछि उनलाई त्यहाँभन्दा नेपालतिरकै धेरै मानिसहरू भेटिने ठाउँमा पढ्न मन लागी भारतको बनारस गए । त्यहाँबाट उनले स्नातक तह उत्तीर्ण गरे । त्यसपछि घर फर्केका उनलाई बाबुले अब तेरो पढाइ पूरा भयो । यहाँभन्दा उता पढाउन सक्दिनँ । अब गाउँमै स्कुलतिर जागिर खाएर तैंले यी सबै भाइबहिनीहरूलाई पढाउनुपर्छ भनेर जिम्मा लगाए । तर उनको पढाइतिरको धोको पूरा भएकै थिएन । उनले सुनेका रहेछन्, त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी विषयमा पनि स्नातकोत्तर पढाउन थालेकाले अङ्ग्रेजीका बीस जना विद्यार्थीलाई छात्रवृत्तिमा पढ्न भारतको पटना विश्वविद्यालयमा पठाउन लागेको रहेछ । ती सबै कुरा बाबुलाई बुझाएर साठी रुपैयाँ खर्च मागी उनी काठमाडौं पुगेर त्यो छात्रवृत्तिको प्रतिस्पर्धामा भाग लिई उत्तीर्ण भएर पटना पुगे । त्यहाँबाट उनले अङ्ग्रेजीमा स्नातकोत्तर गरे । नेपाल फर्किए ।
बाबुले रोक्न खोजेको पढाइको लगाम खुस्काएर बड्किएका उनी यतिमै रोकिनेवाला थिएनन् । फेरि अर्को छात्रवृत्तिमा वेलायत पुगेर युनिभरसिटी कलेज अफ नर्थ वालेसबाट भाषा शास्त्रमा उत्तर स्नातकोत्तर गरे । रोकिने रेलगाडी थिएनन् । फेरि अमेरिका पुगी त्यहाँको विस्कन्सिन राज्यको मेडिसन सिटीमा रहेका विस्कन्सिन विश्वविद्यालयबाट भाषा शास्त्रमा नै विद्यावारिधि पूरा गरी त्यही विश्वविद्यालयमा चार वर्ष अध्यापनसमेत गरे । उनलाई अङ्ग्रेजी मातृभाषा भएका गोरेका छोराछोरीलाई समेत उनीहरूकै अङ्ग्रेजी भाषा पढाउने हुनु तैंले भनेर एकदिन बाबुले आशिष दिएका थिए रे । त्यति गरेपछि उनले आफ्ना पिताजीको इच्छा पूरा गरेकोमा सन्तुष्टि मिलेको थियो भन्थे ।
शिक्षाको हुटहुटी होस् त यस्तो पो !
०००
दार्जीलिङ्देखि नै उनलाई साहित्यमा रुचि जागिसकेको थियो । त्यसबेलाका दार्जीलिङ्का चर्चित नेपालीभाषा सेवी डा.पारसमणि प्रधान, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवालीहरूको प्रभाव र संगतमा पुगेका उनले आफू पनि फट्टफुट्ट लेख्न र छाप्न थालिसकेका थिए । उनी त्यही बसिरहेका भए त्यतैबाट नाम कमाएर फर्किने थिए होलान् । तर दार्जीलिङ्ग भन्दा नेपालकै नेपालीसँगको संगतको भोकले उनलाई बनारस पुर्यायो । त्यसबेलाको नेपालको शिक्षा पाउने मुख्य थलोमा दार्जीलिङ् र बनारस नै थियो । दार्जीलिङमा पढ्नेहरू अङ्ग्रेजी प्रधान हुन्थे भने बनारसमा पढ्नेहरू संस्कृत प्रधान हुन्थे ।
बनारसमा पुगेपछि उनको संगत बालकृष्ण पोखरेलसँग भयो । त्यसबेला बालकृष्ण पोखरेलको त्यहाँ एकप्रकारको गहिरो प्रभाव रहिसकेको थियो । उनी अध्ययनशील र तार्किक पनि थिए । भाषा शुद्ध हुनुपर्छ भन्नेमा उनको कडा मत थियो । तारानाथ पनि के कम ! उनी पनि विद्रोही स्वभाव बोकेका युवक । दुबैलाई साथीहरूले भेटाइदिएपछि उनीहरूका बीचमा भाषा साहित्यकै बारेमा प्रशस्त कुरा हुन थाले । यसै बीचमा नेपालबाटै पढ्न गएका कोषराज रेग्मी, उनका भाइ चूडामणि रेग्मी, बल्लभमणि दाहाल, गणेश भण्डारीहरूसँग पनि भेट भई संगत हुर्किंदै गयो । यी सबै एउटा कुरामा सहमत थिए भाषाको शुद्धताका लागि । किनभने त्यसबेला नेपाली भाषामा हिन्दी र उर्दूको अत्यन्तै गहिरो प्रभाव थियो । हामीले देवकोटाकै कविता र निबन्धहरूमा पनि यो प्रभावलाई छर्लङ्ग देख्नसक्छौँ ।
अनि उनीहरूको निरन्तरको छलफल भाषाको शुद्धताका निम्ति केही गर्नुपर्छ भन्ने टुङ्गोमा पुग्यो । यही बिचमा बालकृष्ण पोखरेलले आन्दोलनको नाम झर्रो राखौँ भनेर प्रस्ताव गरेपछि सबैले त्यसैलाई सदर गरी २०१३ सालमा नौलो पाइलो नामक साहित्यिक पत्रिकाको सुरुवात गरी बनारसबाट नेपाली भाषाको शुद्धताको आव्हान गर्दै पहिलो आन्दोलनको घोषणा गरियो –झर्रोवाद । अब भाषालाई विशुद्ध नेपालीकरण गर्ने र बोलचालको नेपालीपनलाई नै लेखनमा पनि उतार्ने भनी एउटा अभियानकै थालनी भयो ।
नभन्दै त्यस आन्दोलनले सोचेभन्दा चाँडै र सजिलै चर्चा र समर्थन पाउन थाल्यो । यही आन्दोलनको प्रभावमा परेर उनले आफ्नो नामलाई पनि झर्रोकरण गर्दै तारानाथ शर्माको सट्टा ताना सर्मा लेख्न थाले । यो लेखनको भने निकै आलोचना भयो तर, यसको बारेमा उनले पटकपटक भनेका छन्– त्यसबेला आफ्नो नामलाई छोटकरीमा लेख्नुपर्दा अङ्ग्रेजी किसिमले गर्ने चलन थियो, जस्तो–विश्वेश्वरप्रसाद कोइरालाको वीपी कोइराला, पारसमणि प्रधानको पीएम प्रधान, सूर्यविक्रम ज्ञवालीको एसवी ज्ञवाली आदि । अनि आफूले पनि नेपाली पाराले नै आफ्नो नामलाई छोटो बनाउँदा ताराको ता र नाथको ना भई ताना भएको प्रस्ट पारेका छन् । सर्माको बारेमा पनि स्पष्ट गर्दै नेपाली जिब्रोले तालव्य शलाई भन्दा दन्ते सलाई नै बढी रुचाउँछ भनेका छन् ।
उनीहरूले त्यतिबेला थालेको भाषा आन्दोलनलाई संस्कृतवादीहरूले भने उति मन पराएका थिएनन् तर, जनजिब्रोले झर्रोलाई नै मन पराउने हुँदा त्यो बिस्तारै स्थापित हुँदै गयो । आजको नेपाली भाषा जुन रूपमा छ, यो अवस्थामा आउन सबैभन्दा ठुलो योगदान झर्रोवादी भाषा आन्दोलनकै छ । यसको जस बाकृष्ण पोखरेल र तारानाथ शर्मालाई नै जान्छ । अनि सँगसँगै बल्लभमणि दाहाल, कोषराज रेग्मी , गणेश भण्डारी र चूडामणि रेग्मीको छ । यो आन्दोलनमा सहभागी मध्ये अब एकजना चूडामणि रेग्मी मात्र सतासी वर्षको शरीर बोकेर कृयारत छन् । आज पनि उनी यही आन्दोलनको शङ्खघोष गरिरहेछन् । झापालाई कर्मथलो बनाएर २०२२ सालदेखि उनले विभिन्न पत्रपत्रिकाहरूको सम्पादन गर्दै झर्रोवादलाई बाचाइरहेका छन् । उनको लेखन र सम्पादनमा प्रकाशित कृतिहरू यसका नमुना हुन् । पछि यी अभियन्ताहरू आन्दोलनबाट निस्क्रिय हुँदै जाँदा पनि चूमरे भने आजीवन यसैमा लागिरहे ।
०००
व्यत्तिगत रूपमै उनी सानैदेखि विद्रोही स्वभावका थिए । अङ्ग्रेजी अक्षर लेखिएको कागज भेटेर पढ्न नसक्दा उनी आफ्नै अज्ञानतासँग विद्रोह गरेर रोएका थिए । संस्कृत भाषासँग जोडिएका कयौं कर्मकाण्डका बेपत्ते कुराहरूसँग उनको घोर असहमति थियो । उनी आस्थिक भए पनि मूर्ति पूजाका अत्यन्त आलोचक थिए । भनिन्छ उनले करफोकमा रहेको प्रख्यात……. मन्दिरमा ढुङ्गा हानेका थिए । जनैले जातिपातिको प्रवर्धन गर्ने हुनाले यसको काम छैन भनेर फ्याँकेका थिए र पछिसम्म पनि उनले जनै धारण नगरेको कुरा अन्तर्वार्तामा कतै बताएका छन् । चित्त नबुझ्ने कुरालाई बेवास्ता गरेर उनी बस्न सक्दैन थिए । देखेको र आफूलाई लागेको कुरा प्वाक्क भनिहाल्ने, लेखिहाल्ने बानीले उनीं पटकपटक विवादमा परिरहन्थे तर, आफ्नो भनाइको पक्षमा अचल भएर उभिने ल्याकत पनि थियो उनमा ।
त्यही स्वभाव उनको लेखनमा पनि आयो, जसले गर्दा अत्यन्त छोटो समयमा उनको चर्चा अकासियो । बनारसबाट फर्केपछि काठमाडौंको साहित्यिक बजारमा ताना सर्माको फरक पहिचान चर्चिन थाल्यो । उनले आफ्नो लेखनलाई निबन्ध, नियात्रा र समालोचनामा केन्द्रित गरे । लेखनमा झर्रा शब्दहरूको प्रयोग र सरल तथा काव्यात्मक लेखनले उनी पाठक बीच घुलमिल हुँदै गए । उनी राम्रा लेखकमात्र थिएनन्, राम्रा वक्ता पनि थिए । मञ्चमा पुगेपछि आफ्नो मतको पक्षमा निर्भीक उभिने शक्ति नै उनको बाँचुन्जेलको पहिचान बन्यो । पहिलोपल्ट २०१९ सालमा नमस्ते नामक निबन्धसङ्ग्रह प्रकाशन हुँदा उनलाई आफू यो कृतिको लेखक म हुँ भन्दै चिनाइरहनु नपर्ने भएको थियो । अत्यन्त परिस्कृत, सुललीत र तर्कपूर्ण ढङ्गले प्रस्तुत गरिएका ती निबन्धहरू पछिसम्म पनि उनका परिचयका माध्यम बनिरहे ।
निबन्धसँगै समालोचनामा पनि उनको अलग्गै दखल बन्दै थियो । हार्दिक रूपमा जसलाई जति नै मानसम्मान गरे पनि लेखनमा भेटिएका त्रुटी वा विमतिलाई अभिव्यक्त गर्न उनी कसैको मुख हेर्दैन थिए । उनको यही बानीले एकपल्ट उनलाई लेखेकै कारणले जेलमा पनि पुर्यायो । उनले राजा महेन्द्रका कविताको जमेर आलोचना गरेपछि उनका भारदारहरूले राजाको विरोध गरेको भनी तीन महिनासम्म जेलमा राखे । त्यसबेलाका नेपालका सबैभन्दा शक्तिशाली मानिसको त्यसरी आलोचना गर्ने कसले सहास गर्दो हो ! तर उनको मत थियो–श्री ५ महेन्द्र वीरविक्रम शाहदेव नेपालको राजा होइबक्सन्छ । मैले उहाँमाथि कुनै आलोचना गरेको छैन । मैले त कवि मवीवी शाहका कविताको पो आलोचना गरेको हुँ । एउटै मान्छे कवि पनि राजा पनि हुन सक्दैन । एकपल्टमा कि ऊ कवि मात्र हुन्छ कि राजा मात्र हुन्छ । कविका कवितामा प्रशस्त कमी कमजोरी हुन्छन् । कवि मवीवी शाहका कवितामा पनि छन् । उनी राजाका कविताको आलोचना गरेकै कारणले थुनिएको कुरा पत्रपत्रिकामा चर्चा परिचर्चा भए । यो कुरा राजा महेन्द्रले थाहा पाएपछि उनी थुना मुक्त भएका थिए ।
एकपल्ट उनले बालकृष्ण समको चिसो चुल्हो महाकाव्यलाई एउटा झुसिलो डकार भनेर लेखिदिए । त्यस लेखले पनि धुमधाम चर्चा पायो । जब कि उनी लेखनाथ, देवकोटा र समलाई नेपाली साहित्यका त्रिदेव भन्थे । तर आलोचना गर्ने बेलामा सममाथिको आफ्नो आस्थालाई आफूमाथि शासन गर्न दिएनन् । एउटा समालोचक कतिसम्म निर्भीक र दृढ हुनसक्नु पर्छ भन्ने उनी एक नमुना हुन् । व्यक्तिगत रूपमा उनको कसैसँग आग्रह थिएन तर उनको तीखो आलोचनाकै कारणले कयौं मानिसहरू उनका विपक्षी हुन्थे । त्यसको प्रभाव उनले धेरै ठाउँमा धेरैपल्ट खप्नु पर्यो ।
नेपाली साहित्यका सबैभन्दा तीखा र तार्किक आलोचकका रूपमा रामकृष्ण शर्मालाई मानिन्छ । उनी भारतको कालेम्पोङमा बस्थे । उनी कानुन व्यावसायीसमेत भएकाले पनि विषयभित्रका छिद्रहरू केलाउन वकिलीय सीपको प्रयोग गर्थे । उनको तार्किक शक्ति जब समालोचनामा आउँथ्यो, लेखकहरू तिलमिलाउँथे । उनले लेखेको टाक्सिएको नेपाली कविता भन्ने समालोचनाले त्यसबेलाका र अग्रज कुनै कविलाई छोडेको थिएन । उनैले पहिलो पल्ट भनेका थिए– भानुभक्त आचार्य आदिकवि हैनन् । उनीभन्दा अघि पनि धेरै कविहरू छन् । आदि हुनका लागि त्योभन्दा अघि कोही पनि नहुनु हो तर त्यस्तो त छैन । यो विवादले एकपल्ट नेपाली साहित्यको इतिहासको स्थापित मान्यतालाई हल्लाइदिएको थियो । यदुनाथ खनाल र रामकृष्ण शर्माका बिच भएका विवाद र लेखालेखहरूको पनि छुट्टै कथा छ ।
ताना शर्माले पनि रामकृष्ण शर्माकै जस्तो शक्ति आफूमा सञ्चित गरेका थिए । उनको निर्भीकताले नेपाली समालोचनालाई नयाँ मार्गतिर निर्देश गर्न थाल्यो । भानुभक्त आदिकवि हैनन् भन्नेमा यता नेपालमा तारानाथ शर्मा पछि गणेशबहादुर प्रसाई पनि थपिएका थिए । उनी कुनै पनि क्लीष्ठ लेखनका विपक्षमा हुन्थे । तेस्रो आयामका कविताका पनि उनी त्यसै कारणले आलोचक थिए । भानुभक्तदेखि तेस्रो आयामसम्म भन्ने उनको समालोचना सङ्ग्रहले पनि त्यसैकारणले अत्यन्त चर्चा पायो । आफ्ना साहित्यिक त्रिदेव मध्ये एक लेखनाथ पौडेलको पिंजडाको सुगा कवितालाई भगवतीशरण गुप्ताको पञ्जरबद्ध कीर भन्ने कविताको अनुवाद हो भनी ज्ञानमणि नेपालले उठाएको विवादको पक्षमा पनि उनी उभिएका थिए । जस्तै मित्रताभित्र पनि उनी आफ्नो फरक मत सुरक्षित राख्न सक्थे ।
०००
तारानाथ शर्मा समालोचनामा जति कठोर देखिन्छन् सिर्जनामा उनी त्यति नै कोमल छन् । अङ्ग्रेजीमा उत्तर स्नातकोत्तर गर्न बेलायत बसेको बेलाका अनुभवलाई नियात्राका रूपमा प्रस्तुत गरिएका निबन्धहरूको सँगालो बेलायततिर बरालिँदा उनको सर्वश्रेष्ठ कृति मानिन्छ । यस कृतिले २०२६ सालको मदन पुरस्कार पाएको थियो । नेपाली निबन्धमा पहिलोपल्ट मदन पुरस्कार पाउने कृति यही बनेको थियो । आज पाँच दशकपछि पनि यो पुस्तकको लोकप्रियतामा कुनै कमी आएको छैन । चामत्कारिक शैली, विषय वस्तुलाई प्रस्तुत गर्ने फरक ढाँचा र लेखनमा सार्वकालिक चेत कृतिको अमर शक्ति बनेको छ । उनले पनि आफ्नो सबैभन्दा धेरै मन पर्ने कृतिमा यसैको नाम भनेका छन् । पछिल्ला नियात्राकारहरूले यसै पुस्तकलाई गुरु कृतिका रूपमा लिएका छन् । उनको समालोचनात्मक कृति व्यथित र उनको काव्य साधनाले पनि साझा पुरस्कार पाएको थियो ।
निबन्धबाहेक उनले उपन्यासहरू पनि लेखे तर, उनका उपन्यासहरूले त्यति चर्चा पाउन सकेनन् । उनको सुली नामक उपन्यासको त निकै आलोचना पनि भएको थियो । अमेरिकाको सात वर्षको बसाईलाई लिएर दुई पुस्तक लेखेका छन्– पाताल प्रवास र नेपालदेखि अमेरिकासम्म । पाताल प्रवास निबन्धहरूको सुन्दर संकलन हो । त्यसले अमेरिकालाई जरैदेखि बुझाउन खोज्छ । विस्कन्सिन वरिपरि लेखिएका निकै निबन्धहरू छन् त्यसमा । म सन् २०१४ मा त्यहाँ पुग्दा दिनार श्रेष्ठले कतिपय ती ठाउँहरू घुमाउनुभएको थियो, जसमाथि उनले पाताल प्रवासमा लेखेका थिए । नेपालदेखि अमेरिकासम्म उपन्यास हो तर यो त्यति चलेन ।
स्पष्टवक्ता र निर्भीक स्वभावलाई उनले जीवनभरि कायम राखे । उनी बाघ थिए, बाघै भएर बाँचे र बाघै भएर मरे । उनका लेखनबारेमा प्रशस्त असहमतिहरू हुँदाहुँदै पनि उनी सबैका प्रिय पनि थिए । एउटा समय थियो तारानाथ युगको । कसैलाई स्थापित हुनु छ भने उसलाई तारानाथले नाम मात्र उच्चारण गरिदिए पनि पुग्थ्यो । नेपाली साहित्यमा एकताका उनी पारसमणि थिए, जसलाई छोए त्यो उठ्यो । भिजिटिङ प्राध्यापक भएर अमेरिका, स्पेन लगायत कैयौं देशहरूमा पुगिरहे । त्यहाँ नेपाललाई चिनाइरहे ।
जीवनको निकै पछिल्लो कालसम्म पनि उनी लेखिरहेका थिए । उनले सिर्जना, समालोचना र पाठ्यक्रमसँग सम्बन्धित गरी करिब ११३ कृतिहरू लेखेको देखिन्छ । फुटकर रचनाहरू समेटेर छाप्ने हो भने अझै आठ दश वटा थपिन सक्लान् ।
०००
कलिलै उमेरमा सात सालको क्रान्तिमा इलामबाट झापा झरेर नरेन्द्रनाथ बाँस्तोलाहरूको पछि लागेर क्रान्तिमा सहभागी भए । प्रजातन्त्र आएपछि पहिलो चरणमा उनी वाम विचारबाट प्रभावित थिए । चालिसको दशकतिर उनी दरबारको पक्षमा देखिन्थे । त्यसबेला यिनीसँगै भूपि सेरचन र ईश्वरबल्लभ पनि एउटै धारमा उभिएका भेटिन्छन् । २०४६ को परिवर्तनपछि बालकृष्ण पोखरेल र उनी दुबैजना नेपाली काँग्रेसको पक्षमा खुलेर लागेका देखिन्छन् । त्यसैबेला उनी राइजिङ नेपालको सम्पादक पनि बनेका थिए ।
कतिपय विषयमा उनका आलोचकहरूले उनलाई केही अस्थिर प्रवृत्तिको भनेर पनि भन्ने गरेको पाइन्छ ।
जे भए पनि तारानाथ शर्मा नेपाली साहित्य आकाशको एक यस्तो नक्षत्र हुन् जसलाई जहाँबाट जहिले हेर्दा पनि टिलिलिली… टल्केकै देखिन्छ । सतासी वर्षको उमेरमा डिमेन्सिया रोगले थलिएर २०७८ साल फागुन ३ गते उनले आफ्नो सुन्दर शरीरलाई विसर्जन गरे । नेपाली समालोचनाको एउटा युगको समापन भयो । तर उनका पछि उनको आँट र साहस बोकेर अरु कयौं भविष्यहरू निरन्तर वर्तमान भइरहेका छन् । गर्व लाग्छ, यस्ता मानिससँग पनि निकट बन्न पाइयो जीवनमा, जसले हरेक भेटमा मेरा गतिविधिको जानकारी राखिरहेको सूचना दिन्थे र म सधैँ सतर्क हुन पाउथेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।