निबन्धकारको परिचय :

नेपाली साहित्यमा लीलबहादुर छेत्रीको स्थान महत्त्वपूर्ण रहेको छ। उनको जन्म १ मार्च, १९३३ मा गौहाटीमा भएको हो । उनका मातापिताको नाम स्व. पवित्र छेत्री र प्रेमबहादुर छेत्री हो। उनले आफ्नो प्राथमिक शिक्षा शिलाङबाट ग्रहण गरेका थिए । उनले स्नातक भने गाैहाटीको प्रसिद्ध कटन कलेजबाट अर्थशास्त्र अनर्स विषय लिएर सन् १९५६ मा स्नातक अध्ययन गरेका हुन् । त्यसपछि गौहाटी विश्वविद्यालयबाट सन् १९५८ मा अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययन समाप्त गरेका हुन् ।

लीलबहादुर क्षेत्री

आफ्नो सरकारी सेवाका क्रममा उनले सन् १९५९ देखि २१९६७ सम्म आकाशवाणी गौहाटीमा नेपाली कार्यक्रम परिचालन गरेका थिए । त्यसबिचमा उनले सन् १९६२ देखि नै आर्य विद्यापीठ भन्ने महाविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापकको नियुक्ति पाएका थिए । उनले गौहाटीको आखाशनवाणी केन्द्रको उक्त सेवालाई छोडेर महाविद्यालयमा नै पूर्णकालीक सेवा प्रदान गरिरहे । उनले त्यहाँ लगभग बत्तीस वर्ष जति प्राध्यापन गरेर सन् १९९४ मा सेवानिवृत्त भएका हुन् ।

लीलबहादुर छेत्री असमका विभिन्न साहित्यिक संस्थासित सक्रिय रूपमा संलग्न थिए । उनलाई हाम्रो ध्वनि पत्रिकाको सर्वेक्षणअनुसार असमका नेपाली लेखकहरूबिचमा शताब्दी पुरुष भन्ने उपाधि पनि प्रदान गरिएको थियो । उनले दियालो पुरस्कार, भानुभक्त पुरस्कार पश्चिम बङ्गाल सरकार (१९८५), साहित्य अकादमी पुरस्कार, नयाँ दिल्ली, १९९७, वेदनिधि पुरस्कार, काठमाडौँ, अगम स्मृति पुरस्कार, सिक्किम, अभिजमान स्मृति, कुवैत, नइ-देरूनिख अन्तर्राष्ट्रिय पुरस्र, हरिभक्त कटुवाल स्मृति पुरस्कार, पद्म प्रसाद ढुङ्गाना, पुरस्कार, देवकोटा शतवार्षिकी भानुजयन्ती समारोह, आदि हुन् । यसबाहेक उनलाई द्विशतकीय भानुजयन्ती समारोह, काठमाडौँ, भानु प्रतिष्ठानद्वारा रथारोहन सम्मान, बग्गीमा नगर परिक्रमा आदिद्वारा सम्मानित पनि गरिएको थियो ।

उनी एक सफल उपन्यासकार, कथाकार, निबन्धकार हुन्। उनको पहिलो रचना सन् १९४९ मा शालाङको एउटा वाणी प्रिन्टिङ प्रेसबाट प्रकाशित भएको थियो । उनी गौहाटीका साहित्यिक परिवेशलाई मलजल दिन काम गरिरहेका छन् । हालसम्म उनका प्रकाशित पुस्तकहरूको सूचि यस प्रकारको हुन्छ- बसाईं (१९५७), अतृप्त (१९६८), ब्रह्मपुत्रका छेउछाउ (१९८६), प्रतिध्वनि विस्मृतिका (२००४) जस्ता उपन्यास प्रकाशित छन् । उनका तीन दशक बिस अभिव्यक्ति (१९८३), लीलबहादुर छेत्रीका कथाहरू (१९९७) र कहिल्यै नफुक्ने गाँठो (२०१३) गरी तीन वटा कथासङ्ग्रह प्रकाशित छन् ।

० ० ० ०

निबन्धकारका रूपमा लीलबहादुर छेत्री –

लीलबहादुर छेत्री एकजना विशिष्ट निबन्धकार हुन् । आफ्नो लेखनको लामो समसम्म उनले कथा, उपन्यास बाहेक निबन्ध लेखनमा पनि रुचि देखाएका छन् । उनका विभिन्न पत्रिकातिर छरिएका निबन्धहरू धेरै छन् । तीमध्ये केही लेखलाई सङ्ग्रह गरेर पुस्ताकार रूपमा प्रकाशित गरेका छन् । उनका प्रकाशित निबन्ध पुस्तकहरूमा ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ (१९६१, सानो पुस्तिकाका रूपमा), ‘पूर्वाञ्चल भारतीय नेपाली भाषा-साहित्य र पत्रकारिताको इतिवृत्त’ (१९९७, खोजमूलक), ‘झ्याउरे पार्टीमा लाग्दा’ (१९९९), ‘पूर्वोत्तर भारतीय साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन’ (२०००), ‘सिमलको भुवा’ (२०१२) ‘छरिएका बिस्कुन’ प्रकाशित छन।

लीलबहादुर छेत्रीका निबन्धहरूलाई मूलतः दुई प्रवृत्तिमा खुट्याउन सकिन्छ- वस्तुपरक र आत्मपरक । विषयवस्तुका आधारमा वर्गीकरण गर्दा चारवटा बनाउन सकिन्छ- भाषा साहित्यको सर्वेक्षणमूलक, समालोचनामूलक, विविध विषयमूलक र आत्मपरक। ‘असममा नेपाली भाषा र साहित्यको साह्रोगाह्रो’ र ‘पूर्वाञ्चल भारतीय नेपाली साहित्यको र पत्रकारिताको इतिवृत्त’, ‘पूर्वोतर भारतीय साहित्य समाजको ऐतिहासिक दिग्दर्शन’, ‘’छरिएका बिस्कुन’  जस्ता पुस्तिका र पुस्तक भाषा साहित्यको सर्वेक्षणमूलक वर्गभित्र पर्दछन् ।

यी पुस्तकहरूमा असममा नेपालीहरूको बसोबास, असमलगायत पूर्वाञ्चलका सबै प्रान्तमा नेपाली भाषा र साहित्यको प्रयोग र सिर्जना परम्परा, प्रवृत्ति, समस्या, विचार मन्थन आदि जस्ता कुरा पाइन्छ । असमेली नेपाली भाषा र साहित्यमा अनुसन्धान गर्नेका  निम्ति उनका यी पुस्तकहरू उपयोगी रहेका छन् । छेत्रीका केही निबन्धहरूमा समालोचनाधर्मिता पनि पाइन्छ । केही लेखकका पुस्तकको भिका रूपमा, पुस्तकको समीक्षाका रूपमा, कुनै सामान्य पुस्तक निरूपणका रूपमा पाइन्छन् ।

यस्ता निबन्धमा कृति र कृतिकार र कृतिको परिचय, विश्लेषण, प्रवृत्तिगत मूल्याङ्कन आदि जस्ता गुण पाइन्छन् । उनका यस्ता केही निबन्धहरूमा भानुभक्तको नारी भावना, कवि पद्मप्रसाद ढुङ्गाना र उनका कृतिहरू, कवि रविन्द्रनाथमाथि एक विहङ्गम दृष्टि, असमका नेपाली लेखहरूमा असमिय साहित्यको प्रभाव, मोतीराम भट्ट- नेपाली साहित्यका एक युग प्रवर्तक प्रतिभा, शरणार्थी धरावासीको लीला रचना आदि हुन् । यसै गरी सांस्कृतिक, सामाजिक चिन्तनपरक निबन्ध पनि रहेका छन् । यसपछि उनका केही निबन्धहरू आफ्नो बारेमा, आफ्ना, साहित्य प्रकाशन र साहित्यिक यात्रा, अनुभव, अनुभूति आदिलाई अभिव्यक्त गरेका छन् ।

लीलबहादुर छेत्रीका निबन्धहरूमा विभिन्न विषयवस्तु पाइए तापनि जीवनका भोगाइ, अनुभव र अनुभूतिलाई विशेष महत्त्व दिइएको पाइन्छ । उनका निबन्धहरूमा असममा गोर्खाहरूको बसोबासो गर्दाका समस्या कठिनाइ, इतिहास, सङ्घर्ष र अस्तित्वका कथा व्यथालाई आफ्नो विषयवस्तु बनाएका छन् । उनले आफ्ना केही निबन्धहरूमा असमका धेरै पक्षबारे प्रकाश पारेका छन् । यसै गरी उनका केही निबन्धहरूमा हाम्रा चाडबाड, भानुभक्तबारे आफ्नो विचार, आफ्ना बाल्यकालीन घटनाहरू, जीवन अनुभव, आफ्नो बारेमा विभिन्न विचार विनिमय अभिव्यक्त गरेका छन् ।

लीलबहादुर छेत्रीका निबन्धहरूलाई अध्ययन गर्दा वैचारिक पक्ष प्रबल देखिन्छ । कुनै पनि विषयमा लेख्दा त्यसका पृष्ठभूमि, त्यसबाट उब्जेका विचार, भाव आदिलाई केलाउने गर्दछन् । उनको निबन्धगत विषयहरूमध्ये नेपाली समाज र संस्कृति, मानसिकता, समस्या समाधान कमजोरी आदि पक्षलाई चिन्ने प्रयास गर्दछन् ।

० ० ० ०

पाठ्य निबन्धको विश्लेषण-

नेपाली संस्कृतिमा मादल शीर्षकको निबन्ध झ्याउरे पार्टीमा लाग्दा निबन्ध सङ्ग्रहमा सङ्गृहित छ । यसमा तीन पृष्ठमा सानाठुला गरेर जम्मा नौ वटा परिच्छेदहरू रहेका छन् । पहिलो परिच्छेदमा संस्कृतिको महत्त्वबारे प्रकाश पारिएको छ । निबन्धकारका अनुसार संस्कृतिले कुनै पनि जातिको परम्परा, सभ्यता आदि दर्साउँछ ।खानपीन, रहन सहन, रीति-तिथि, धर्म-कर्म, पूजा व्रत, कला आदि जम्मैलाई संस्कृतिले समेटेको हुन्छ । यी संस्कृत नै कुनै पनि जातिको सभ्यता र संस्कृति कस्तो छ भन्ने परिचय दिने कसी हो । दोस्रो परिच्छेदमा नेपाली संस्कृति धेरै सम्पन्न छ । हाम्रो संस्कृतिमा वैदिक, तिब्बती र मङ्गोलहरूको रहनसहन र बौद्धिक छाप परेको पाइन्छ । यी बाहेक हाम्रो आफ्नै मौलिक र पेवा संस्कृति पनि विकसित भएको छ ।

हाम्रो आफ्नै किसिमको धार्मिक परम्परा रहिआएको छ । नेपालीहरू उहिलेदेखि नै काशीहम्बा मान्छन्, बूढी बजै मान्छन्, मौलाको पूजा गर्छन्, सिमेभूमे, गोठधूप, कुल-कुलाइनको पूजा गर्दछन्, धामी झाँक्री र जोगीले फेरि लाउने गर्छन् । हाम्रा लोकगीतहरू सङ्गिनी, तामाङ सेलो, धाननाच, झ्याउरे, रतेली, बालन आदि हाम्रा आफ्नै उपज हुन् । यी वस्तुहरू अरूका प्रभावमा सिर्जित नभएर हाम्रो मौलिक परम्परा हुन् । हाम्रो लोकपरम्परा, लोकधर्म र लोकसङ्गीत तीनै कुराको मिश्रणले नेपाली संस्कृतिको निर्माण भएको छ ।

तेस्रो परिच्छेदमा नेपाली लोकगीत र लोकहतियारका रूपमा खुकुरीको महत्त्व बारे चर्चा गर्छन् । हाम्रो लोकगीत विशिष्ट छ । जब नेपाली लोकगीतको कुरा हुन्छ तब मादल प्रमुख भएर आउँछ । हामीलाई चिनाउने मादल र खुकुरी दुई कुरा मुख्य हुन् । खुकुरीले हामीलाई वीर जातिका रूपमा चिनाउँछ भने मादलले भने हामीलाई संस्कृति वीरका रूपमा चिनाउँछ । हाम्रो अन्य लोकबाजाहरू ट्याम्को, दमाहा, शहनाइ, बिनायो, सरङ्गी, टुङ्ना, मुर्चुङ्गा, खैँजडी, मुजुरा, डमरु झ्याम्टा आदि हुन् । यीमध्ये पनि मादलले हामीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउँछ । यो हाम्रो प्रतिनिधि वाद्य वादन हो । मादलले युद्धका सेनालाई पनि जोस जाँगर प्रदान गर्छ । हाम्रो मादलको लयमा अङ्ग्रेज सैन्य अधिकारी पनि नाच्ने गर्छन् ।

निबन्धको चौथो परिच्छेदमा मादलको बनावटबारे केही प्रकाश पारिएको छ । काठको मुढालाई छालाले मोरेर बनाइएको हुन्छ । यसको एकापट्टि अलिकति ठुलो र अर्कापट्टि अलिक सानो हुन्छ । दुवैपट्टि ताललाई सुरिलो बनाउन खरी लाइएको हुन्छ । यसरी हेर्दै आकर्षक मादल हाम्रो संस्कृतिको भिन्न अङ्ग हो । यसको अभाव हाम्रा गीत र नाटक फिका हुन्छन्, अधूरा हुन्छन् ।

निबन्धको पाँचौँ परिच्छेदमा दलका पनि केही भिन्नाभिन्नै आकार प्रकार हुन्छन् । मूल रूपमा माल दुई प्रकारका हुन्छ पूर्वी र पश्चिमा । मूलमा नेपालको पूर्व भागमा प्रचलित मादल पूर्वी हो जो केही ठुलो र ताल पनि गहकिलो हुन्छ । पश्चिम नेपालतिर प्रचलित पश्चिमा मादल भने आकारमा सानो तर छरितो, ताल पनि खिरिलो तीव्र हुन्छ । यसलाई पोथी मादल पनि निन्छ । सोरठी मारुनी गीतमा मादलको ठुलो महत्त्व हुन्छ । सोरठी गीतमा बजाइने मादल भने केही ठुलो हुन्छ । यस किसिमको मादललाई सोरठी मादल भनिन्छ । काठमाडौँमा मादललाई मगखी भनिन्छ ।

छैटौँ परिच्छेदमा मादलको व्युत्पत्ति स्रोत केलाइएको छ । यो मादल शब्द मूलमा संस्कृतको मार्दलाह र प्राकृत भाषामा माद्दला भनिन्छ । यसैको अपभ्रंश स्वरूप मादल हुँदै नेपालीमा आइपुग्दा मादल भएको हो। यद्यपि अन्य वस्तुका तुलनामा नेपाली जातिमा भने मादलको बढी महत्त्व र उपयोगिता पाइन्छ ।

सातौँ परिच्छेदमा नेपाली संस्कृतिमा मादललाई जातीय प्रतीकका रूपमा परिचय दिने प्रयत्न गरिएको छ । नेपाली संस्कृतिमा झ्याउरे गीत अत्यन्तै महत्त्वपूर्ण छ । हाम्रो संस्कृतिमा जसरी हाम्रो रीतिथिति, रहनसहन आचार व्यवहार आदि यही झ्याउरेमा प्रतिविम्बित भएको पाउँछौँ । तामाङको सेलोगीत, लिम्बूहरूको धाननाच, नेवारहरूको लाखेनाच, बाहुन छेत्रीको बालुन, सङ्गिनी, भजन आदि सबैलाई जोड्ने भने झ्याउरे हो भने मादल यसको प्रमुख बाजा हो । यसकारण झ्याउरे नेपाली संस्कृतिको द्योतक हो भने मादल साझा लोकप्रतीक हो । त्यसैले झ्याउरेलाई मादले गीत पनि भनिन्छ ।

मादलबिना प्रायः यी गीत फिका हुन्छन् । मादलेगीत र मादलभित्र हाम्रो नेपाली जातिको जीवन लुकेको छ । मादलसित हाम्रा विगत र वर्तमानका जनजीवन र सङ्घर्षका कुरा गाँसिन आउँछन् । मादलकै सुर र लयमा हाम्रो जनजीवनले गति पाएको छ अभिन्न भएर रहेको छ । यससित हाम्रो अटुट नाता छ । मादलको घिन्ताङमा हाम्रो जीवन बगेको छ छ । यसले कहिले वीररसको सञ्चार गर्छ भने कहिले विरहका पीडा पनि दर्साउन सक्छ ।

निबन्धको आठौं परिच्छेदमा मादलको ध्वनिले हाम्रो चाडपर्व, खानपिन, लोककलालाई झल्काउँछ भनिएको छ । हाम्रो क्षेत्रको प्राकृतिक दृश्य, लाली गुराँस, सयपत्री फूल खानपान सेलरोटी गुन्द्रुक-सिन्कीको अचार, हाम्रो जातीय पोषाक हरा सुरुवाल, टोपी आदिलाई पनि मादलको सम्बन्ध गाँसिएको छ । हाम्रो सभ्यता र संस्कृतिको प्रतीक र जातीय एकता सूत्र हो मादल ।

निबन्धको अन्तिम परिच्छेदमा निष्कर्षका रूपमा मादलको विभिन्न तवरले महत्त्व दर्साइएको छ । यसले हाम्रो लोकगीतर लोकनृत्यदेखि अझै बाहिर आएर राष्ट्रिय रूपमा पनि मादलले आफ्नो स्थान बनाए छ । असमको परिप्रेक्ष्यमा पनि मादलले हीई विशिष्ट रूपमा चिनाएको छ । चाहे रङ्गाली बिहु होस् चाहे कुनै पर्व, मादलले हाम्रो जातीय नृत्यबाट प्रतिनिधित्व दिइरहेको छ । विश्वमा गोर्खा फौज जहाँ जहाँ पुगेको छ त्यहाँ त्यहाँ मादल घन्किएको छ, जोस सञ्चार गरेको छ, हामीलाई एकताको सूत्रमा बाँधेको छ, विश्वमा हामीलाई चिनाइरहेको छ । यसबाट पनि हामी मादलको महत्त्व बुझ्न सक्छौं । नेपाली संस्कृति र नेपाली जनजीवनको परिचय, लोकगीत र लोकनृत्य आदिमा मादलले जति अन्य कुरै कुराले हामीलाई चिनाउन सकेको छैन भन्ने विचार व्यक्ति गरिएको छ ।

निबन्धको विषयवस्तु, उद्देश्य, विशेषता, भाषाशैलीय विन्यास-

लीलबहादुर छेत्रीको नेपाली संस्कृतिमा मादलको महत्त्व निबन्धलाई न लामो न छोटो बरु मझौला आयामको मान्न सकिन्छ । यस निबन्धमा वस्तुनिष्ठ रूपमा वर्णन गरिएको यद्यपि भावनात्मकता पनि मिसिएको पाइन्छ । यस निबन्धको मूल विषयवस्तु मादल रहेको छ भने मादलबाट उब्जेका अन्य कुरालाई विषयवस्तु बनाइएको छ । संस्कृति के हो ? लोकसङ्गीत लोकको हो अन्य लोकवाद्य के के हुन् र मादलको महत्त्व कस्तो हुन्छ, कतिपय प्रकारको हुन्छ, यसले कस्तो कस्तो भूमिका खेल्दछ भन्ने कुरामा निबन्धकारले निबन्धको विषयवस्तु र उद्देश्य प्रस्तुत गरेका छन् ।

यसमा विभिन्न भावना रहेता पनि मूल रूपमा यसलाई वस्तुपरक निबन्ध नै मान्न सकिन्छ । यसमा मादल विषयलाई केन्द्रबिन्दुमा राखेर लेखिएको छ । मादल र यस सम्बन्धित कुराका प्रसङ्गमा नेपाली संस्कृतिका विशेषता पनि दर्साइएको छ । यसमा संस्कृतिबारे आफ्नो विचार पनि व्यक्त गरिएको हाले यसलाई वस्तुपरक र वैचारिक निबन्धको कोटिभित्र राख्न सकिन्छ । यसमा प्रयुक्त शब्दहरू सबैले बुझ्ने, सहजै अर्थ लाग्ने, सरल र सुललित पाइन्छ ।

उपसंहार-

नेपाली साहित्यमा लीलबहादुर छेत्रीको नाम आदरका साथ लिइन्छ । उनी गौहाटीमा नेपाली साहित्यकारका निम्ति तीर्थ समान भएर रहेका छन् उनले नेपाली उपन्यास क्षेत्रमा कविता, कथा,उपन्यास, निबन्ध, नाटक समीक्षा आदि लेखेर ठुलो योगदान दिएका छन् । ‘झ्याउरे पार्टी लाग्दा’ निबन्ध सङ्ग्रहभित्र रहेको नेपाली संस्कृतिमा मादलको महत्त्व एउटा वस्तुपरक निबन्ध हो । यसमा नेपाली संस्कृति चिनाउँदै झ्याउरे गीत र मादलको महत्त्व दर्शाएका छन् ।