युद्धका भौतिक अवशेषहरू युद्ध पछिको केही दशकमा बिलाएर जान सक्छन्, पछिल्लो पिँढीका लागि केवल ’परिकथा‘ बन्न सक्छ यौटा पिँढीले भोगको कटु यथार्थ । समाज विकासको क्रममा केही मुठ्ठीभरहरूको लहडमा लडिएको युद्ध प्रकारान्तरले किंवदन्ती बन्न सक्छ तर इतिहासको एउटा खास काल खण्डमा एउटा युगले भोगेको पीडा त्यति सजिलोसँग नामेट हुन सक्तो रहेनछ ।

द्वितीय विश्वयुद्धले भत्काएका भौतिक संरचनाहरू सङग्रहालयहरूमा सीमित होलान् आज पनि तर युद्धको वीभत्सताले तत्कालीन समाजमा छोडेको घाउ जापानी स्रष्टा केन्जुवारा ओइको “एउटा व्यक्तिगत कुरा” मार्फत आज पनि विश्वका कैयन् विश्वविद्यालयका विद्यार्थीहरूमार्फत सम्प्रेषण भइरहेकै छन् ।

युद्ध भोग्नेहरू र त्यसबाट बाच्न सफल भाग्यमानीहरूसमेत एउटा निश्चित सीमा आयु नाघेर बिदा भैसकेका हुन्छन् धर्तीबाट, अमेरिकामा श्वेत र अश्वेतबिचको गृहयुद्ध चलेको करिब दुई शताब्दी बितिसकेको छ तर “टोनी मोरिसन” कि अश्वेत पात्र “ सेथ” अझै पनि आफ्नी प्यारी छोरी विलभिडलाई अमेरिकन श्वेतहरूको कहालिलाग्दो वर्वरताबाट बचाउन हातेआरीले घाँटी रेटिरहेकी छन् विश्वविद्यालयहरूका पाठ्यक्रमहरूमा । युद्धको परिणाम सकारात्मक नकारात्मक न्यायपूर्ण अर्थात् वर्वरतापूर्ण जे भनिए पनि यो दृष्टिकोणको कुरा हो । परिणाम जस्तो ठानिए पनि, जसरी विश्लेषण गरिएपनि युद्धका लागि निश्चित सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक कारणहरू विद्यमान हुन्छन् नै ।

नेपालमा पनि विगतको दशकमा चलेको माओवादी जनयुद्धका कारणले देशले १५ हजारको ज्यान लियो, दुश्मनको रूपमा अथवा क्रान्तिकारीको रूपमा जे भनिए पनि एउटा विकासोन्मुख र भरखरै प्रजातन्त्रको प्रादुर्भाव भएको एउटा सानो तर भौगोलिक र प्राकृतिक सम्पन्नताले भरिएका १५ हजार मान्छेका सपनालाई युद्धले च्यातिदियो । अप्रत्यक्ष वा प्रत्यक्ष रूपमा देश र विदेशमा गरेर करोडौँ मानिसहरू प्रभावित भए, घट्दो बढ्दो रूपमा यसको प्रभाव अरू धेरै वर्षहरूसम्म रहिरहने छ । देशको राजनीतिले निश्चित गति लिन सकेको खण्डमा युद्धका भौतिक विनाशहरूको पुननिर्माण होला तर युद्धले दिएको मानसिक क्षतिको निरन्तरता कालान्तरसम्म रहिरहनेछ सामाजिक र व्यक्तिगत दुवै तहमा ।

लीला लेखनमार्फत साहित्य सृजनामा तल्लीन मदन पुरस्कार विजेता कृष्ण धरावासीको एउटा पुरानो कृति “तपाईँ” यस्तै यौटा सामाजिक र ऐतिहासिक दस्तावेज हो जस्ले माओवादी जनयुद्धको एउटा पाटोलाई सम्बोधन गर्ने जमर्को गरेको छ । प्रत्यक्ष रूपमा युद्धमा भाग नलिएरै अर्थात युद्ध नभोगेरै पनि धरावासीले प्रत्यक्ष रूपमा युद्ध भोगेका सयौँ छापामारहरूको तत्कालीन मनोदशालाई आफैँले युद्ध भोगेको जसरी व्यक्त गर्नसक्नु उनको लेखकीय कल्पनाशक्तिको अब्बलता हो भन्ने कुरा पुस्तकको उत्तरार्द्ध पढिसकेपछि मात्र थाहा पाउन सकिन्छ । उनले १० बर्से माओवादी जनयुद्धलाई लेखकीय न्याय गरेका छन् “तपाईँ” मार्फत । वास्तवमै जीवन भोगाइहरूको एउटा शृङखला हो, सुखद र दुःखद घटनाक्रमहरूबिचको एउटा नाप हो जीवन । भोग्नेहरू थोरैले मात्र लेख्न सक्छन् जीवनलाई, फेरि लेख्नेहरू सबैले भोगेका हुँदैनन् । आफ्नो २४० बर्से इतिहास लेखिसकेको छ मुलुकले तर देशले परिवर्तन भोग्न पाएको छैन, लेखकहरूले देशले लेखेको तर भोग्न नपाएको कुरा लेख्नुपर्छ, जो धरावासीले आफ्ना धेरै पुस्तकहरूमा लेखेका छन् । जीवन र जगत्को विषयमा सीमान्त वर्गलाई नायकत्व प्रदान गर्ने उनका कृतिहरू विशेष गरेर उपन्यासहरू सामाजिक यथार्थवादको धरातल टेक्न पुगेका छन् । नारीवाद, आधुनिकवाद हुँदै उत्तराधुनिकवादी लेखनशैलीमा धरावासीका कलम चलेका छन् । यिनै धेरै वादहरूको मौलिक मिश्रणलाई उनी लीला लेखन भन्न रुचाउँछन् सायद ।

धरावासीको “तपाईँ” यस्तै एउटा सामाजिक यथार्थवादमा आधारित कृति हो । सामाजिक शोषण र दमनका विभिन्न रूपहरूको पराकाष्ठालाई झेल्न नसकेर मानिस कसरी आफ्नो परिचय बदलेर, खास परिचय खोज्न विद्रोहको आगोमा फालहाल्न पुग्छ र त्यसमा शीतलता खोज्न पुग्छ भन्ने कुराको नमुना नारीपात्र अस्मिता उर्फ क. सम्झना मार्फत राम्रैसँग उजागर भएको छ पुस्तकभित्र । पञ्चायती व्यवस्थाको पतनपछि देशमा ठूलठूला परिवर्तनका घटना भएको दावी गरिए पनि वास्तवमा झुपरपट्टीमा बस्ने अस्मिता, नुरे, डब्लुहरूका लागि ती परिवर्तनहरूको कूनै बोध हुन पाएन । आखिर बोतल फेरियो तर रक्सी उही पुरानै थियो । गरीब हुनु र सँगसँगै महिला पनि हुनुले अस्मिता जस्ता हज्जारौँ नेपाली चेलीहरू कसरी सम्झनामा परिवर्तन हुँदै वेश्या र सहिद बन्न पुग्छन् भन्ने कुरासम्मको यथार्थ कथाभित्र धेरै सामाजिक तथा सांस्कृतिक मूल्य र मान्यताहरूले काम गरेको छ पुस्तकभित्र जनयुद्धको नाममा भएको युद्धभित्र निर्दोष नागरिकहरू कसरी विद्रोही र सत्ता पक्षको दोहोरो मारमा बाँच्न विवश थिए भन्ने कुराको धरावासीको विश्लेषणले उपन्यासको “तपाईँ” पात्र कतै लेखक स्वयं नै त होइनन् भन्ने भानसमेत पर्न जान्छ बेला बेलामा ।

बिनोदमणि भट्टराई

एउटा सरकारी प्राथमिक विद्यालयको प्रधानाध्यापकलाई मुख्य पात्रका रूपमा प्रस्तुत गरेर लेखकले तत्कालीन समाजको यथार्थलाई राम्ररी उजागर गरेका छन् । पुस्तकको “तपाईँ” हरेक महरूको प्रतिनिधि पात्र हो । धनेन्द्रबाबुजस्ता सामन्ती सामाजिक संरचनाका खलनायक प्रतिनिधिहरू देशमा परिवर्तन आएपछि पनि कसरी आफ्नो वर्चश्व कायम गर्न सफल छन् भन्ने कुरा पुस्तकले राम्रैसँग प्रस्तुत गरेको छ । आफूलाई सामाजिक परिवर्तनका संवाहक ठान्ने नेताहरू कसरी अस्मिताको नाङ्गो शरीरमाथि खेल्न पुग्छन्, यी सबै घटनाक्रमहरूले कसरी अस्मितालाई कमरेड सम्झना बनेर अस्तित्व खोज्न जनयुद्धको बाटोमा लाग्नु पऱ्यो भन्ने कुरा पनि निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ पुस्तकमा ।

युद्ध आफैँमा क्रूर हुन्छ, कठोर हुन्छ र विध्वंशकारी पनि हुन्छ । जतिसुकै न्यायपूर्ण भनिए पनि युद्ध कहिल्यै सुन्दर फूलजस्तो हुन सक्तैन, युद्धमा मारिएका बेनाम हरू पनि कहीँ न कहीँ कतै न कतै कसैका बाबुहरू, छोराहरू, दिदीहरू, भाइहरू अर्थात् आफन्त नै हुन्छन् । राज्यले विद्यमान समस्याहरूको उचित सम्बाधेन गर्न नसक्ता त्यसलाई युद्धमार्फत सुनुवाइ गराउन खोज्नु कति जायज थियो भन्ने कुरा त भविष्यले नै बताउला तर सुन्दर सपना बुनेका युद्धमा प्रत्यक्ष संलग्न युवाहरूको सपनाको सम्बोधन अब हुनुपर्छ भन्ने कुरा धरावासीको “तपाईँ” ले अप्रत्यक्ष तर गम्भीर ढङ्गले उठाएको छ । माओवादी जनयुद्धलाई प्रत्यक्ष भोगेकाहरू धरावासीको “तपाईँ” पढेर उनको लेखकीयप्रति अनुग्रहित हुन सक्छन् तर तपाईँको “तपाईँ” पात्रसँग उनकी प्रेमिका अझ भनौँ भावनात्मक प्रेमिका क. सम्झना नभेटिएका भए सायद शिक्षक पात्र “तपाईँ” उसको सहयात्री बेनाम पात्रझैँ मारिइन पनि सक्थ्यो भन्ने कुरामार्फत धरावासीले युद्धका कारण मारिएका कैयौँ निर्दोष शिक्षक, पत्रकार र सर्वसाधारणहरूको पीडाको अभिव्यक्ति दिएका छन् ।

राजनीतिको ‘र’समेत जनानेका तर समाजमा अन्याय, अत्याचारको पराकाष्ठ बेहोरेका किशोर किशोरीहरू कसरी सजिलैसँग माओवादी युद्धमा भासिएका थिए? तिनीहरूको अदालतले गर्ने न्याय कति परिपक्व हुन्थ्यो ? भन्ने कुरालाई पुस्तकले सूक्ष्म रूपमा उठाएको छ । धरावासीको “तपाईँ” वास्तवमै एउटा अपहरित शिक्षकको कथा हो, एउटी नारी वेश्या र सहिद बन्नुपूर्वको कथा हो, एउटा दाजु बहिनी बेच्ने दलाल बन्नुसम्मको कथा हो, एउटा श्रमजीवी मिस्त्री, केवल मिस्त्रीमात्र रहिरहने सामाजिक परिवेशभित्रको कथा हो, दिनको उज्यालामा समाज परिवर्तनको गफ हाँकेर कहिल्यै नथाक्ने र साँझ पर्न नभ्याउँदै आफैँले सिर्जना गरिएका विवश नारी (नगरबधू)हरूको जिउमा उज्यालो नहुन्जेल खेल्न भ्याउने कथित नेताहरूको कथा हो । यो नेपाली समाजमा रहेका बहुसङ्ख्यक “म”हरूको कथासमेत हो । समग्रमा क. विप्लव र सम्झनाहरूको कथा हो र धरावासीको “तपाईँ” मेरो कथा हो, मेरो यथार्थ हो जो युद्ध भोगेर पनि जीवित छ, निष्प्राण छ तैपनि अस्थितत्वको खोजीमा भिडमा एक्लै दौडि नै रहेको छ ।

अन्त्यमा, जुन अभिलाषा र परिवर्तनका लागि अस्मिता, विप्लव र अरू हजारौँ युवाहरू जसरी जनयुद्धको बलिवेदीमा होमिए के त शान्ति सम्झौता पछिका यी वर्षहरूमा अस्मिता र विप्लवहरूले सोचेजस्तो सामाजिक न्यायको स्थापना हुने प्रक्रियाको सुरुवात हुन सक्यो त देशमा ? अर्थात् धनेन्द्रबाबुजस्ता सामन्त दलालहरूलाई कुनै सजाय दिन सक्यो त जनयुद्धले ? यस्ता यावत् प्रश्नहरूको जवाफमा पुस्तक अनुत्तरित छ, आशा छ, धरावासीले “तपाईँ” को भाग दुई पनि लेख्नेछन् ।

युद्ध दस्तावेजको रूपमा आउँदो पिँढीलाई लेखकहरूले निरपेक्ष सत्यताको पर्दाफास गर्न धेरै बाँकी छ । धेरै अस्मिताहरू यस्तो भएमात्र वेश्या र छापामार बन्नबाट जोगिनेछन् । धेरै नुरेहरू आफ्नै बहिनीको खरिद बिक्री गर्ने दलाल बन्नबाट जोगिनेछन् र धेरै डब्लुहरू मिस्त्रीबाट मिस्त्रीमात्रै रहिरहने सामाजिक विभेदका सिकार बन्नबाट जोगिनेछन् । अन्यथा चितवन माडीहरूका स्मृतिस्तम्भहरूमा वर्षको एकपल्ट फूल चढाएर वा रोल्पा र रुकुमका सहिद गेटहरूमा माल्यार्पण गर्ने परम्पराले मात्र युद्धको गहिरो मानसिक घाउ बोकेका अस्मिता र विप्लवका आफन्तहरूको पिँढी पिँढीसम्म युद्धलाई सम्झिरहनेछन्, नकारात्मक रूपमा । त्यसैले स्वतन्त्र लेखकहरूले अरू धेरै खोज गर्न जरुरी छ, भएको कुरालाई जस्ताको तस्तै पस्किन जरुरी छ, जसले युद्धका कारक तत्त्वहरूलाई सम्बोधन गर्न सकोस्, खबरदारी गर्न सकोस् ।

स्मृतिस्तम्भ भत्कन सक्छन्, सहिद गेटहरू नासिन सक्छन्, राजनितीका ध्रुवहरू परिवर्तन हुन सक्छन्, शक्तिकेन्द्रहरू इधरउधर हुन सक्छन्, नारायणहिटीहरू जङ्गलतिर स्थानान्तरण हुन सक्छन् र जङ्गलका मुठ्ठीभर झुपडीहरू दरबारमा परिणत हुन सक्छन् तर लेखकका दस्तावेजहरू सभ्यताको अन्त्य नभएसम्म जीवित रहन्छन् “तपाईँ” जस्तै ।