साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

लकडाउन डायरीः जीवनप्रति झन् माया लागेर आएको छ

सामयिक

 

ratna book ads

टन्टलापुर घाम लागिरहेको छ । मानौं, यसले सबैलाई बाहिर निस्किन आब्हान गरिरहेको छ । यो घामको महत्व बेलायतमा बस्ने जो कोहीलाई निकै हुने गर्दछ । नेपालमा तापेको न्यानो घामको यादमा बेलायतमा जिउनु पनि कम कष्टकर हुँदैन । आठ–नौ महिनाको जाडो अनि धुम्म परेका दिनहरुपछि बल्ल घाम झुल्कने र घाममा घुम्न अनि हिंड्न पाउने आशामा रहेका बेलायतबासीहरुको सपनामा कोरोनाले तुषारापात ल्यायो । घाम लागेको बेला घरभित्र बस्ने बेलायतिहरूको बानी हुन्न र यो नै एक झन् चनौतिको विषय बनेको छ यहाँ । मलाई भने खासै फरक परेको छैन घरमा बस्न । घरमै बसेर काम गरिरहेकी छु र काम बाहेक फुर्सदको समय सकेसम्म धेरै किताब पढेर बिताउने कोशिसमा छु । नेपाली र विश्व साहित्य दुबै पढ्दैछु । म भर्खरै गणेश पौडेलको चाखलाग्दो उपन्यास ‘पैताला’ सकेर नाइजेरियन लेखिका चिमामान्दा अदिचिको उपन्यास ‘अमेरिकाना’ भित्र हराउँदै छु । लकडाउन शुरु भएदेखि पढ्न शुरु गरेको यो मेरो आठौं किताब हो र यसले मलाई निकै छोइरहेको छ । यसबीचमा पढेका अरु राम्रा किताबहरु मध्ये कुमार नगरकोटीको ‘दोचा’, बेलायति लेखक जुलियन र्बान्सको उपन्यास ‘द सेन्स अफ एन एण्डिङ्ग’ र फ्रेन्च लेखिका एण्ड्री रोबीको उपन्यास ‘डबल भिजन’ भने लामो समय मेरो यादमा रहिरहनेछन् ।

वरिपरि सबैतिर शून्य छ । जसरी कोरोनाको कहरले संसारभर असर गरेको छ, त्यसरी नै बेलायतमा पनि सबै कुरा प्रभावित छन् । आजसम्म (बैशाख २६ गते अर्थात ८ मे) को रेकर्ड अनुसार बेलायतमा २०७,००० संक्रमित भएका छन् जसमध्ये ३०, ६१५ को मृत्यु भैसकेको छ । यो डाटाले केयर होम तथा अन्य ठाउँमा भएको मृत्युको आँकडा भने समेटेको छैन । यसै बीच १६४ स्वास्थकर्मीहरूले मृत्यवरण गरेको प्रतिवेदनले जनाएको छ । हरेक दिन समाचारमा मृतकको संख्या बताउँदा कुनै दिन आफू पनि त्यही नम्बर मध्येको एक नम्बर हुन सक्ने डर र सम्भावना रहिरहन्छ मनमा र कहिले काहिँ कहाली लाग्छ । तर, अब दैनिक मृत्युदर भने घट्दै गएको छ जसले केही राम्रो संकेत दिएको छ र लकडाउन पनि केही खुकुलो हुनसक्ने आशा छ ।

किराना पसल, औषधि पसल जस्ता अत्यावश्यक पसलहरू खुल्ला छन् । घरबाट निस्केर व्यायामको लागि बाहिर जाने छुट छ तर अरुहरूसंग दुई मिटरको दूरी कायम राख्नुपर्ने निर्देशन छ । भर्खर लकडाउन शुरु हुँदा साताको अन्त्यमा यस्तै घाम लागिदिएकोले पार्कहरुमा धेरै मान्छेहरु पुग्थे र बेलाबेला भीड तितर बितर गर्न पुलिशहरु तैनाथ देखिन्थे । र, यस्तै भीड भएमा पार्कको यो सुविधा पनि गुमाउनुपर्नेछ भन्ने बेलायति सरकारको चेतावनी पनि बेला बेला आइरहेको थियो संचार माध्यमहरूमा । हिजोआज भने घामले बाहिर जिस्काइरहेपनि केही संयमता आइसकेको जस्तो देखिन्छ बेलायतबासीहरुमा ।

खाद्यान्न सामाग्री मात्र किन्न जाँदा पनि कोरोना बोकेर आइन्छ कि भन्ने डर छ र सकेसम्म पसल नै नजाउँ भन्ने लागिरहन्छ । खानेकुरा लकडाउन पहिले त सँधै अनलाइन अर्डर गर्ने गरिन्थ्यो तर अब धेरै अनलाइन अर्डर गर्नेको चाप बढेर र ति अनलाइन अर्डर पनि बुढाबूढी तथा अशक्त व्यक्तिहरुको लागि प्राथमिकतामा पर्ने भएकोले अहिले एक महिनासम्म पनि ग्रोसरी स्टोरहरुका वेबसाइटमा कुनै अर्डरको स्लट (समय) देखिएको छैन । त्यसैले, पसल जति कम जान्छु भनेपनि कहिले काहिँ जानु परिरहेको छ । हिजोआज दुई मिटरको दुरीमा लाइन बस्न लगाउन थालिएकोले भने अलि डर कम भएको छ तर घर आएर खाद्यान्न सामाग्री साबुन पानीले सफा गर्न अनि छुटाउन, मोबाइल, व्याड्ढकार्ड आदि सब स्प्रेले सफा गर्न नै समय खर्चिनु पर्ने भैरहेको छ । स्याउ, सुन्तला, अंगुर, आलु सबै साबुन पानीमा केही मिनेट पखाल्ने गरेकी छु र फ्रिजमा हाल्न नपर्ने सामानहरू बाहिर गार्डेनको सेड (स्टोर)मा दुई तिन दिन राखेपछि मात्र भित्र ल्याउने गरेकी छु । मेरा यहाँका नेपाली साथीहरू पनि यस्तै गर्ने गरेको बताउँछन् ।

सम्बन्धित पोस्टहरु

यो समयमा मेडिकल क्षेत्रमा काम गर्ने डाक्टर, नर्श, फार्मसिस्ट साथीहरूको भने निकै माया लागेको छ र उनीहरूको योगदान सोचेर गर्व पनि लाग्छ । भर्खर लकडाउन शुरु भएको बेला खाद्यान्न सामाग्री किन्न जाँदा सामानहरू नपाएको खबर टि.भि. मा थुप्रै आए । केही स्वास्थकर्मीहरू दिनभरीको खटान पछि खाद्यान्न किन्न जाँदा नपाएकोले रुँदै गरेको समाचारमा आए लगत्तै स्वास्थकर्मीहरूको लागि सरकारले केही परिवर्तनहरू ल्याए । मेरी साथी बेलायतकै हस्पिटलमा कार्यरत फार्मासिस्ट निर्मला स्थापित आजकल किराना पसल तथा खाद्यान्न स्टोरहरूमा जाँदा लाइन पनि बस्न नपरेको बताउँछिन् । स्वास्थकर्मीहरुलाई दिइएको विशेष पासबाट उनीहरू सिधै सामान किन्न सक्छन् र अरुहरूलाई झैं लाइनमा बस्नु नपर्ने भएकोमा उनी खुशी छिन् । हाम्रो स्वास्थको खयालमा जुटेका स्वास्थकर्मीहरुको लागि यो सुविधा निकै नै सराहनीय छ । यसबाहेक स्वास्थकर्मीहरुको कामको सराहनामा विभिन्न पसलहरूबाट हस्पिटलहरूमा स्वास्थकर्मीहरूका लागि केक, फलफुल तथा खाना बाँडिएको खबरले निकै खुशी पनि लाग्दछ ।

लकडाउनपछि पनि विद्यालयहरू स्वास्थकर्मी, पुलिश तथा अरु जरुरी काममा संलग्न व्यक्ति वा परिवारका बच्चाहरुका लागि भने खुल्लै छन् । त्यसैले पनि मेरा केही नेपाली साथीहरू जो शिक्षण पेशामा विद्यालयमा कार्यरत छन्, उनीहरू विद्यालय जाने गर्दछन् । मेरी नेपाली साथी जिलियन ढुंगाना थोरै विद्यार्थी हुने हुनाले हप्तामा पाँचै दिन जानु नपरेको बताउँछिन् किनकि अरु शिक्षक शिक्षिकाको आलोपालोमा कक्षाहरू संचालनमा हुने गर्दछन् । यो सुविधाले गर्दा अत्यावश्यक क्षेत्रमा काम गर्ने परिवार तथा व्यक्तिहरुलाई आफना साना बालबच्चाहरूलाई व्यवस्थापन गर्न अप्ठेरो नपरेको अवस्था देखिन्छ । संयुक्त परिवारमा प्रायः नरहने र बाह्र वर्ष मुनिका बालबालिकालाई घरमा एक्लै छोड्न कानुनी रुपमा नमिल्ने कुरालाई मध्यनजर राखेरै बेलायतमा सरकारले यो व्यवस्था गरेको थियो जुन स्वागतयोग्य पनि थियो ।

विद्यालयहरूमा भने अनलाइन कक्षाहरू संचालनमा छन् । जि.सि.इस.सी तथा ‘ए’ लेभलका परीक्षाहरू स्थगित भएका छन् । तर, विद्यालयबाट आएको रिपोर्टको आधारमा नै यहाँको नतिजा तय हुने भएको छ र यसै अनुरुप मेरी छोरी जो जि.सि.इस.सी परीक्षाको तयारीमा जुटेकी थिइन्, अब विद्यालयकै आन्तरिक परीक्षा दिइरहेकी छिन् । उनको विद्यालय भने अनलाइन मार्फत यावतै चलिरहेको हुँदा उनको जीवनचर्यामा खासै परिवर्तन आएको छैन ।

कोरोनाको कहर जताततै छ । मन बेलाबेला आतंकित हुन्छ । भर्खरै यो लेख लेख्दै गर्दा मेरी नेपाली फार्मसिष्ट साथी निर्मला स्थापितको फोन आयो । उनी आफू काम गर्ने हस्पिटलबाट ड्राइभ गर्दै फर्कँदै थिइन् । उनको आवाजमा जोश थियो, बोलि हँसिलो थियो । खुल्ला बाटोमा ड्राइभ गर्न सजिलो भएको मात्र फरक परेको उनले बताइन् । म जति डराएकी छु, उनमा डर देखिन । म जति आतंकित छु, उनमा आतंक देखिन । साँच्ची, यो समयमा स्वास्थकर्मीहरुले गरिरहेको सेवाको ऋण हामी तिर्न कहिल्यै सक्ने छैनौं । सक्छौं त केवल उनीहरूको सुस्वास्थको कामना गर्न । त्यसैले, सकेसम्म नियमको पालना गरेर घरमै बसौं, आफू पनि बचौं र स्वास्थकर्मीहरूले भोगिरहेको जटिल समस्यामाथि अझ समस्या नथपौं भन्ने लागिरहन्छ । तर, यसै बीच जीवनप्रति भने झन् माया लागेर आएको छ । लाग्दैछ, हरेक दिन अनि हरेक पल जीवनका प्रत्येक स्वास झन् अमूल्य बन्दैछन् । त्यसैले पाएको प्रत्येक दिन खुशीसंग जिउन खोज्दैछु । यतिबेला आध्यात्मिक गुरु अजन ब्राहमको भनाई याद गर्दैछुः ‘‘निश्चित एउटै कुरा छ त्यो हो ‘भविश्य अनिश्चित छ’ । त्यसैले यसको चिन्ता गरेर समय खेर नफाल्नुहोस् ।’’

प्रतिक्रिया
Loading...