नेपाली साहित्य परिषद् , मणिपुरद्वारा प्रकाशित रोशन दियालीको पहिलो कथाकृति “लोकताकको आकाशमुनि”काे एक कार्यक्रमका बीच लाेकार्पण गरिएकाे छ । १५ वटा कथाहरू सङ्ग्रहित उक्त पुस्तककाे लाेकार्पण गुगलमिटका माध्यमबाट गरिएकाे हाे ।

कार्यक्रममा मुख्य अतिथि नेपाली साहित्य सभा आसामका सचिव रुद्र बराल रहनुभएको थियो भने साहित्यकार दीपक सुवेदी (नेपाल) ,कवि शुकराज दियाली (दार्जिलिङ), अशोक रसाईली (मणिपुर) क्रमशः विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो । त्यस्तै, कार्यक्रमको अध्यक्षता परिषद्का अध्यक्ष कवि तथा निबन्धकार भवानी अधिकारीले गर्नुभएको थियो ।

होमनाथ चापागाईँ (सहसचिव) ले सञ्चालन गर्नुभएको कार्यक्रममा बसन्ती देवी पौड्याल (काेषाध्यक्ष) ले स्वागत मन्तव्य राख्नुभएकाे थियो । पुस्तक परिचयका रुपमा परिषद्का सचिव दीपक पन्थले पुस्तकको समीक्षात्मक टिप्पणी गर्नुभएको कार्यक्रमा मणिपुरका विभिन्न संघ-संस्था एवं विविध महानुभावहरूको उपस्थिति रहेको थियो ।

कवि गोष्टीको विशेष कार्यक्रममा अनुप शर्मा, पूजा आचार्य , अनुपमा कटेल, अमित अधिकारी (असम), सृष्टि पौड्याल (नेपाल) एवं अनिता सुवेदी (मणिपुर) ले आ-आफ्ना सुमधुर रचनाहरू प्रस्तुत गर्नुभएकाे थियो । कार्यक्रममा मिजोरामबाट लक्ष्मी मिनु, सीताराम अधिकारी, देवी थापा, कृतिमणि खतिवड़ा, विलोक शर्मा, सीतादेवी छेत्री, विशाल केशी, देवी थापा, जनक पौड्याल,  हर्कबहादुर लामगादे, सुमित प्रधान, प्रविन नेपाल आदिकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा परिषद्का सदस्य कृष्णलाल रामुदामुले अतिथि एवं सज्जनवृन्दहरूप्रति कार्यक्रममा सहभागिताका निम्ति आभार व्यक्त गर्नुभएकाे थियो ।

रोशन दियाली भारतीय सेनाको स्वस्थ्य विभागमा सेवारत व्यक्तित्व हुन ।