अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरले शृंखलाबद्ध रुपमा गर्दै आएको साहित्यिक कार्यक्रम ‘सर्जक र सिर्जनासँग साक्षात्कार कार्यक्रम’को नयाँ शृंखला सम्पन्न गरेको छ l वैशाख ११ गते शनिबार डिजिटल प्रविधि जुममार्फत् सम्पन्न उक्त कार्यक्रम वरिष्ठ नियात्राकार नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘कङ्गो र इथियोपियाको सेरोफेरो’माथि विशेष परिचर्चा गरिएको थियो l
कार्यक्रम दक्षिण अफ्रिकाका लागि नेपली राजदूत डा. निर्मल विश्वकर्माको प्रमुख आतिथ्य र वरिष्ठ नियात्राकार तथा नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालको विशेष आतिथ्यमा सम्पन्न भएको थियो l अतिथि वक्ताका रुपमा लेखक तथा समीक्षक इश्वर देवकोटा रहनुभएको थियो भने अन्य आमन्त्रित/आगन्तुक वक्ताहरु वरिष्ठ आख्यानकार कृष्ण धरावासी र लेखक ददि सापकोटाले कार्यक्रमका विषयमा टिप्पणी गर्नुभएको थियो l
प्रमुख अतिथि महामहिम राजदूत डा. निर्मल विश्वकर्माले अफ्रिका महादेशमा पनि नेपाली श्रष्टाहरु यति उर्जाशील अवस्थामा पाएकोले आफूलाई खुसी लागेको बताउनुभयो l आफू पनि कुनै समय प्रतिबद्ध लेखक भएको स्मरण गर्दै उहाँले थप्नुभयो – “विशेष नियात्रा लेखन प्रभावकारी हुने भएकोले यसैमार्फत नेपाल र अफ्रिकाका विविध पक्ष जोड्न तपाईंहरु निरन्तर लाग्नुस्, दूतावास आवश्यक सहयोग र साताको लागि तत्पर छ l”
कार्यक्रमका मुख्य वक्ता वरिष्ठ नियात्राकार प्रतीक ढकालले नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि विशेष प्रकाश पार्नुभएको थियो l उक्त पुस्तक २०७३ सालमा विमोचन हुँदा त्यसको टिप्पणीकार आफु भएको र पुस्तक सग्लो पढ्ने अवसर पाएको स्मरण गर्दै ढकालले नेपाली नियात्रा जगतमा महत्वपूर्ण र पठनीय कृतिका रुपमा यस पुस्तकलाई लिनुपर्ने बताउनुभयो l
अर्का वक्ता ईश्वर देवकोटाले पनि ‘कङ्गो र इथियोपियाको सेरोफेरो’ अफ्रिका क्षेत्रलाई प्राथमिकतासाथ वर्णन गरिएको उत्कृष्ट नियात्रा कृति भएकोले एकपटक सबै नेपालीले पढ्नु आवश्यक रहेकाे बताउनु भयाे l
कार्यक्रमका मुख्य आकर्षक तथा ‘कङ्गो र इथियोपियाको सेरोफेरो’ का सर्जक नगेन्द्र न्यौपानेले आफू र आफ्नो कृतिलाई सम्मानपूर्वक उठाएकोमा अनेसास अफ्रिका च्याप्टरलाई धन्यवाद दिनुभयो l उहाँले पुस्तकका बारेमा आफू बोल्नुभन्दा बरु पुस्तक नै पढ्न आग्रह गर्नुभयो l
वरिष्ठ आख्यानकार कृष्ण धरावासीले अफ्रिका महादेश लेख्नेहरुका लागि उर्वरभूमि भएकाले यहाँस्थित नेपाली सर्जकहरुलाई निरन्तर-निरन्तर लेखिरहन आग्रह गर्नुभयो l त्यस्तै लेखक तथा वन्यजन्तुविद् ददि सापकोटाले अफ्रिका महादेशका विषयमा नियात्रा लेख्दा खाली घुमेको, डुलेको, होटेलमा बसेको मात्र होइन कि त्यहाँको प्रकृति, वनस्पति र वन्यजन्तुका विषयमा पनि कलम चलाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो l
कार्यक्रमा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले शुभकामना मन्तव्य राख्दै अनेसास अफ्रिका च्याप्टरले यसरी सर्जक र सिर्जनाको खोजी र पहिचान गर्ने महत्वपूर्ण कार्य गरेर च्याप्टर गठनको छोटो समयमै आफूलाई उत्कृष्ठको कसीमा खरो उतारेको बताउनु भयाे l
अन्तराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरका अध्यक्ष साहित्यकार गणेश खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष सुवास सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य च्याप्टरका सल्लाहकार तथा एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष साहित्यकार हिक्मत थापाले राख्नुभएकाे थियो l
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।