नेपाल बाहिर रहेका दुई ठूला संस्थाहरुले पहिलो पटक संयुक्तरुपमा अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तरगतको भाषा, साहित्य, संस्कृति र सम्पदा विभाग र भाषा र साहित्य क्षेत्रमै क्रियाशील अन्तर्राष्ट्रिय नेपालीसाहित्य समाज गरी दुई महत्त्वपूर्ण संस्थाले यस्तो प्रतियोगिताको घोषणा गरेका हुन् । नेपालबाहिर बसेका १९ वर्ष मुनिका नेपाली बालबालिकाहरुको साहित्यिक साक्षरता वृद्धिका लागि उक्त प्रतियोगिता गरिएको दुवै संस्थाका प्रमुखहरुले जनाएका छन् । गैरआवासीय नेपाली संघका तर्फबाट भाषा, साहित्य, संस्कृति र सम्पदा विभागका प्रमुख हिक्मत थापा र अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले लामो गृहकार्यपछि उक्त प्रतियोगिताको घोषणा गरेका थिए ।

चार जना प्रतियोगीलाई सम्मान गरिने उक्त प्रतियोगिताको कुल राशी दुई हजार डलर (करिब २ लाख २५ हजार रुपैँया ) रहेको छ । जसअन्तर्गत पहिलो हुनेलाई १ हजार डलर, दोस्रो हुनेलाई ५ सय डलर र तेस्रो हुनेलाई ३ सय डलर पुरस्कारसहित सम्मान गरिनेछ । त्यसैगरी अंग्रेजीमा कविता सिर्जना गर्नेहरुमध्ये उत्कृष्टलाई दुई सय डलरको पुरस्कारले सम्मान गरिनेछ ।

‘विदेशमै जन्मिएका अथवा सानैमा विदेश पुगेका कतिपय नेपाली बालबालिकाले नेपाली भाषा र संस्कृति बिर्सदै जाने खतरा बढेको छ,’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ भन्छन्, ‘पहिलो पुस्ताको नेपाली भाषा, साहित्य रसंस्कृतिको ज्ञान दोस्रो पुस्तामा हस्तान्तरण गरिएन भने हाम्रो मेहेनत खेर जान सक्छ । त्यो बचाउन हामीले यो प्रतियोगिता गरेका हौँ ।’

नेपालबाहिर करिब ५० लाख नेपाली पुगेको अनुमान छ । तीमध्ये १० लाख परिवार परिवारसहित विश्वभरि छरिएका छन् । प्रतियोगिताले ती १० लाख परिवारका सन्तानलाई समेट्ने अपेक्षा गरिएको छ ।

‘हामीले धेरैअघिदेखि दोस्रो पुस्ताका ज्ञान र सीप नेपाली भाषामा प्रकाशन प्रसारण गर्न सकियोस् भन्ने सदिच्छा राखेका थियौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँगको सहकार्यले यो सम्भव भएको छ ,’ गैर आवासीय नेपाली संघअन्तरगतको भाषा, साहित्य, संस्कृति र सम्पदा विभाग प्रमुख हिक्मत थापा भन्छन्, ‘यस प्रतियोगिताले उनीहरुको प्रतिभा मात्र बाहिर ल्याउँदैन, नेपाली भाषा रसंस्कृतिको हितका लागि दोस्रो पुस्तालाई पनि तयार पार्न मद्दत गर्छ ।’

प्रतियोगितामा डायस्पोरामा बसेका १९ वर्ष मुनिका बालबालिका र किशोर किशोरीले भाग लिन पाउने व्यवस्था गरिएको छ । सञ्चारमाध्यमहरुमा प्रकाशन नभएको दुई सय शब्द सम्मको कविता पठाउन प्रतियोगिता व्यवस्थापन टिमले आग्रह गरेको छ । आफू बसेको देशको ठेगाना र सम्पर्कसहित एक व्यक्तिले एउटा मात्र कविता पठाउन पनि व्यवस्थापन टिमले प्रवासी नेपालीहरुलाई आह्वान गरेको छ ।

‘यो प्रतियोगितामा बढीभन्दा बढी सर्जकहरुको संलग्नता होस् भनेर हामीले रचना पठाउने समय केही समय सारेका हौँ,’ अनेसासका केन्द्रीय अध्यक्ष पौडेल भन्छन्, ‘कोरोनाका कारण बालबालिका र किशोर पुस्तामा पनि एक प्रकारको त्रास थियो । यस्तो बेलामा उनीहरुलाई केही समय दिनु नै हितकर हुने भएकाले प्रतियोगिताको समय हामीले जनवरी २५ सम्म सारेका हौँ ।’

गैर आवासीय नेपाली संघका अनुसार विश्वका सयभन्दा बढी देशमा नेपालीहरु पुगेका छन् । परिवारसँग बसेका नेपाली केटाकेटीहरुले घरबाहिर स्थानीय भाषा बोल्नुपर्ने बाध्यता र घरमै पनि पर्याप्त नेपाली भाषाको अभ्यास हुन नपाउँदाका कारण नेपाली भाषा बिर्सदै गएका छन् । नेपाली भाषामा आकर्षित गर्दै लेखपढ गर्ने संस्कार बसाउन पनि यस किसिमको प्रतियोगिता फलदायी हुने विश्वास अनेसास बाल साहित्य समितिका संयोजक डा. केशव शर्माको छ ।