
बुढानीलकण्ठ मन्दिरको पूर्वतर्फ लेमन ट्री नामको एउटा पाँचतारे होटेल रहेछ । कार्यक्रममा सामान्य सहभागीका रूपमा म त्यहाँ पुगेकी थिएँ । होटेलको सभाहल साहित्यकार कलाकारले खचाखच भरिएको थियो । म कुनामा खाली रहेको एउटा कुर्सीमा लपक्क टाँसिएँ र कार्यक्रमको भव्यतामा हराएँ । सरासर फोटो खिचें र तस्वीर कस्ता आए भनी मोबाइलमा हराएँ । माथि मञ्चमा आयोजकहरू के के भनिरहेका थिए, खासै ध्यान दिन भ्याइरहेकी हुन्न ।
‘तैं तैं धिताल’ । आफ्नो नाम सुन्दा झसङ्ग भएँ । आवाज आएको दिशातिर हेरें । यो त मञ्चबाट पो रहेछ ।
‘तैं तैं धिताल’ मात्र त पक्का भनिएन । आफ्नो नामबाहेक अगाडि पछाडिका शब्दहरू मेरो प्रिय कानले पक्रिन सकेन । त्यो बेला कान भन्दा आँखा र औंलाहरूले बढी काम गर्दै थिए मोबाइलको स्क्रीनमा ।
नाम सुन्ने बित्तिकै मुटु ढुक्क फुलेर आयो । किन मेरो नाम बोलाइयो, भेउ नै पाइनँ । कुर्सीहरूको लहरमा अलि पर साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला हुनुहुन्थ्यो । मेरो अलमल देखेर उहाँले भन्नुभयो, मञ्चबाट बोलावट भएको छ, छिटो जाऊ ।’
म छक्क परेँ । कहाँ जाने ? के गर्न जाने ? कसरी जाने ? प्रधानमन्त्रीका लागि ठीक पारिएको मञ्चमा जानु ? म अलमलमा परिरहेँ । मञ्चबाट पुनः नाम बोलाइयो, ‘म्यान्माली नेपाली साहित्यकार तैँ तैँ धिताललाई मञ्चमा आएर आसन ग्रहण गरिदिनहुन विनम्र अनुरोध गर्दछु…।”
० ० ० ०
प्रसङ्ग ‘हिमवतखण्ड कला–साहित्य संस्कृति सम्मिलन’को हो – २०८१ चैत १, २, ३ । जहाँ विश्वभरका नेपालीभाषीहरूको लोकसंस्कृतिका विषयमा साझा कुराहरू खोजिएको थियो । नेपाली भाषा साहित्यमा रुचि राख्ने र यही विषय पढ्न आएकी मलाई यो कार्यक्रमले आकर्षण नगर्ने कुरै थिएन । त्यसमाथि यो कार्यक्रममा सहभागी हुन म्यान्मा देशीय हिन्दू धार्मिक संघका शिक्षाविभाग प्रमुख ज्ञानबहादुर थापा बगालेले मलाई निम्तो पठाउनु भएको थियो । यद्यपि दश वटा कामका बीचमा यो कार्यक्रममा पुग्न सक्छु–सक्दिनँ शंकामै थिएँ ।
अर्को दिन पुनः ज्ञान सरको म्यासेज आयो । म्यासेजमा लेखिएको थियो – बर्माको नेपाली लोकसंस्कृतिका विषयमा तिमीले हाम्रो देशका नेपालीहरूका तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने जिम्मेवारी सुम्पेको छु । हाम्रो इज्जत राख्नू ।
नाइँ भन्ने आँट आएन । हुन्छ भन्ने हिम्मत पनि जागेन । ज्ञान सरको विशेषता, कुरा नकार्न मौका कहिल्यै दिनुहुन्न । तिमीले नगरे कसले गर्छ ? भन्दै राम्रा काम गर्न उहाँ सधैँ हौसला दिनुहुन्छ ।
मेरो नराम्रो बानी के छ भने, नयाँ केही गर्नु परे शुरूमा नाइँ भनिदिने । कसैलाई चोट पुर्याउन होइन, ‘म गर्न सक्दिनँ’ जस्तो लाग्ने, डराइहाल्ने र आफ्नो कमजोरी पहिल्याइहाल्ने । यही बानीको कारण मैले धेरै पटक धेरै राम्रा अवसर घुमाउनु परेको पनि थाहा छ । यो पनि थाहा छ – कमजोरी नभएको मान्छे भन्ने हुँदैन, कमजोरीलाई नै बल बनाउनु पर्छ ! यति कुरा थाहा हुँदाहुँदै पनि मुखबाट नाइँ आइहाल्ने !
मेरो बानी उहाँलाई थाहा नहुने कुरा भएन । उहाँले फेरि फोन गर्नुभयो र हौसला दिँदै भन्नुभयो, “तिमी आफैँले भोगेका कुरालाई प्रस्तुत गर्ने हो । त्यसमाथि आवश्यक डाटा म दिइहाल्छु । चिन्ता गर्नुपर्दैन ।”
उहाँले यति भन्दा पनि कताकति डर हट्न सकेन । उहाँले भन्नुभयो, “साहित्य नै पढिरहेकी छौ । साहित्यकै नामी पत्रिकामा काम गर्छौ । तिमीले पनि नाइँ भन्यौ भने हामीले कसलाई अराइपराइ गर्ने ?”
मैले हस् भनें । शायद मुखले मात्र ।
तीन दिन त्यसैगरी बित्यो । शायद बिताएँ । बिन्दास बसिरहेको बेला चौथो दिन ज्ञान सर आफैंले कल गर्नुभयो र सोध्नुभयो, “कहाँ पुग्यो कार्यपत्र ?”
नराम्ररी तर्सें । उहाँका शब्दका वाणबाट जोगिन चाहें । र तयारी गर्दैछु भनें । तर त्यतिञ्जेलसम्म थाहा थिएन । के कसरी कहाँबाट शुरू गर्ने ?
आखिरी परेपछि प्रधान सम्पादक अश्विनी कोइरालाको अगाडि पुगें र समाधान सोधें । उहाँले शशी लुलुम्बु र फूलमान बलको नाम लिनुभयो । उहाँहरूको नम्बर दिनुभयो ।
दुई दिनपछि कोइराला सरले हिमवत खण्ड साहित्य सम्मिलन देशको महत्त्वपूर्ण साहित्य सम्मेलन भएकोले यसमा हेलचेक्राइँ नगर्न चेतावनी दिनुभयो । खासमा मैले सम्बन्धित व्यक्तित्वहरूलाई फोन नगरेको कुरा उहाँले थाहा पाइसक्नु भएको रहेछ ।
आफूलाई प्रश्न गर्न वाद्य भएँ । खासमा म प्रश्नहरूबाट भाग्ने गर्छु ताकि आफ्नो कमजोरी आफैंलाई थाहा नहोस् ।
‘काम नगर्ने बहाना खोजेको त हैन नि ?’
‘किन जे कुरा पनि ढिलो गरिरहेकी ?’
‘कि बर्माको नेपाली लोकसंस्कृति बारे लेख्न डराएकी ?’
यस्तै कारणहरूले गर्दा घरमा पनि स्कूलमा पनि ‘ढिलीमाया’को नामले परिचित थिएँ ।
फेरि गहिरिएर सोचें – ढिलो गर्नुको कारण लेख्न डराएको, लेख्न डराउनुको कारण यथार्थ कुरा समावेश गर्न नसकूँला कि, मोगोकभन्दा बाहिर अन्य ठाउँको जानकारी नभएकोले लेख्दा म्यान्माली नेपाली लोकसंस्कृतिप्रति न्याय गर्न पो नसक्ने हो कि !
तर अठोट गर्छु – हैन, आवश्यक तथ्यांक ज्ञान सरले दिनुहुन्छ । न्याय नै गर्न नसके पनि अन्याय त नगरूँला नि ! अब लेख्छु ।
त्यसपछि पहिले शशी लुलुम्बु र त्यसपछि फूलमान बललाई सम्पर्क राखें ।
शुरूशुरूमा फोन नउठ्दा उहाँहरू निकै ठूलो र व्यस्त व्यक्तिहरू जस्तो लागेको थियो । तर पछि उहाँहरूले नै कलब्याक गर्नुभयो र बागबजारमा भेट्ने व्यवस्था मिलाइदिनुभयो । सोचेभन्दा सरल र सहयोगी व्यक्तित्व हुनुहुँदो रहेछ दुवै जना । उहाँहरूले ‘मदन भण्डारी कला–साहित्य प्रतिष्ठान’ले गर्न लागेको हिमवत खण्ड साहित्य सम्मिलनको निमन्त्रणा पत्र, समय तालिकासहित मैले गर्नुपर्ने कार्यपत्रको सूचि थमाइदिनु भयो ।
मसँग सामग्री साधन तथा समय सीमित थियो । उहाँहरूको हौसलाले केही सहज भयो ।
त्यसपछि रातारात ज्ञानबहादुर सरले दिनुभएको तथ्याङ्कहरू उतारें । बर्माबाट नेपाल आउँदा गोप्य धन जस्तै लुकाउर ल्याएको ठाकुर प्रसाद गुरगाईंको किताब पुनः अध्ययन गरें । जब लेख्न बसें, ल्यापटपले काम गर्न छाड्यो । तनाव शुरू भयो । वेलावेला बिग्रिने ल्यापटपले मलाई वेलावेला सचेत गराइरहन्छ – ‘एक दिन यसरी नै तेरा सबै चीज मेटिन्छन् ।’
तर सौभाग्यवश ज्ञान सरबाट प्राप्त तथ्याङ्कहरू मेटिएको रहेनछ । अनुभव गर्छु, भाग्य नराम्रो नै किन नहोस् तर सबैभन्दा खराब हुन सक्दैन । खराब भित्र पनि राम्रो पाइन्छ जस्तो कि मान्छे !
अबेरसम्म अफिसमै बसी त्यो काम सकें । भोलिपल्ट शशी लुलुम्बुलाई लेख पठाउन मेल मागें । रातको अबेर जब आफ्नो कार्यपत्रको संक्षेपीकरणलाई मेल गरें, ढुक्कले निदाएँ ।
महिलाहरू स्वभावैले तनाव बोकेर हिँड्छन् । जुन दिन कार्यपत्रको सार तयार भयो, मनले अर्को प्रश्न उठाउन थाल्यो, लेखेर त पठाएँ तर मञ्चमा कसरी प्रस्तुत गर्ने ? सम्मिलनका सदस्यहरूसँग कुरा गर्दा नै थाहा पाएकी थिएँ, लेखेर मात्र हुन्न, मञ्चमा बर्माको लोकसाहित्यका विषयमा विशेष प्रस्तुति नै दिनुपर्छ ।
त्यसमाथि कुन पहिरन लगाउने भन्ने प्रश्न पनि उठ्दो रहेछ । पुरुषहरूमा शायद त्यस्तो प्रश्न आउँदैन कि ? उनीहरू निस्फिक्री मन लागेका पहिरन लगाएर मञ्चमा चढ्छन् । म पनि पहिरनलाई महत्त्व दिनुपर्छ भन्ने युवती त होइन तर बर्मेली छनक दिने पहिरन लगाउनुपर्छ भन्ने सोचले थोरै आत्तिएकी थिएँ । बर्माबाट नेपाल आउँदा दुब्ली पातली थिएँ । मसँगै मेरा पहिरन दुब्ला पातला नै थिए । नेपालको हावापानी र मायाले मोटाएँ तर मेरा बर्मेली पहिरन मोटाएका थिएनन् । मेरो तनावको मूल कारण त्यही थियो ।
० ० ० ०
चैत १ गते
दोस्रो दिन मेरो प्रस्तुति थियो । तर अघिल्लो दिनको चहलपलह कस्तो हुन्छ थाहा पाउने रहर थियो । कार्यक्रम कस्तो हुँदो रहेछ, कति मान्छेहरू जम्मा हुँदा रहेछन्, बुझ्नु पनि थियो । नेपाली साहित्यका सबैजसो हस्ती जम्मा हुन्छन् भन्ने सुनेकी थिएँ । मिलेसम्म उहाँहरूलाई चिन्ने रहर पनि थियो । यही लोभले लागें, राष्ट्रिय सभागृहको प्रेक्षालयतिर जाँदाजाँदै बाटोमा लुगा सिलाइदिने पसलेलाई सांगुरिएका आफ्ना कपडा बनाउन दिएँ । “यी कपडा मलाई आजै साँझ चाहिन्छ । भोलि मञ्चमा चढ्ने कपडा हुन्, इज्जत राखिदिनु होला ।” मैले टेलर दाजुलाई साँगुरा कपडाको महत्त्व पनि बुझाइदिएँ ।
तीन दिनको कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभागृह झकिझकाउ थियो । स्वयंसेवकहरूको हतारो असारे किसानको जस्तै थियो । सभाहलको बाहिर पुस्तक विक्री भइरहेका थिए । कुनामा दर्जनौ कलाकारहरूले प्रत्यक्ष चित्रहरू कोरिरहेका थिए । साहित्यकारहरूको भेटघाट, कुराकानी, हाँसो र तर्क चलिरहेकै थिए । साँच्चै नै मैले सोचेभन्दा भब्य नै हुने रहेछ कार्यक्रम भन्ने बोध हुन थाल्यो ।
कला र कलाकारले भरिएको कोठामा पुग्दा आफैं रङ्गिन भएको अनुभव भयो । कलाकारले कोरेको रङहरूले मलाई तानिरह्यो । वरपर डुल्दै कलाका अनुपम सिर्जनाहरूको आनन्द लिएँ । कलाकारहरूको खुशी, व्यस्तता र तन्मयतालाई आत्मसात् गर्दै प्रेक्षालयभित्र प्रवेश गरें ।
कुर्सीहरू भरिएका थिए । म उभिएर हेरिरहें कोही परिचित व्यक्ति भए उतै गएर बस्न । एकजना स्वयंसेवक बहिनी आइन् र भनिन्, “बसिदिनुस् न, एकै क्षणमा पूर्व राष्ट्रपतिको आगमन हुँदैछ । हामीलाई व्यवस्थापन गर्न सजिलो हुन्छ ।”
नबसी सुख भएन । त्यहीँको खाली कुर्सीमा बसें । छेउमा एकजना सज्जन रहेछन् । म बर्माबाट आएको भन्ने थाहा पाएपछि उनले कुराकानी शुरू गरे । बर्माको राजनीतिदेखि नेपालको राजनीतिसम्म कुरा हुन थाले । आखिर समय कटाउने त हो भनेर म पनि उनका चासोहरूमा सम्मिलन भएँ ।
त्यसैबीच संस्कृतिक झाँकीहरूको आगमन भयो प्रेक्षालयमा । झाँकीहरूका साथमा ‘सय थरी बाजा एउटै ताल’ नामक गीतको धून बजिरहेको थियो भने सांस्कृतिक टोलीहरूले त्यै आआफ्नै बाजागाजा बजाउँदै नाच्दै, हाँस्दै, रमाउँदै प्रेक्षालयमा प्रवेश गरिरहेका थिए ।
वातावरण संस्कृतिमय हुनुका साथै लाग्यो हरेकको मन पनि संस्कृतिमय भइरहेको थियो, लोकलय ढुकढुकिरहेको थियो । छेउमा बस्ने सरले जति पनि झाँकी आउँथे, त्यसको परिचय गराइदिनु हुन्थ्यो । उनकै कारण त्यहाँ देखाइएका झाँकीहरूको परिचय प्राप्त भयो । नेवारी, लिम्बु, देउडा, पहाडी, मैथिली र हिमाली सबै झाँकी हेर्दाहेर्दै कति समय बित्यो पत्तै भएन ।
यसै बीचमा पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको आगमन भयो । एकै पटक वातावरणको अनुहार परिवर्तन भयो । पूर्व राष्ट्रपतिको आगमनपछि ठ्याक्कै १ बजेबाट शुरू भयो ।
‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन’को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “मानव सभ्यताको उद्गम हिमवतखण्डका राष्ट्रहरूबीच एकता हुनु जरूरी छ । यसका बारेमा अध्ययन, अनुसन्धान गर्नुपर्छ र भइरहेको पनि छ । सम्मिलनले हिमवतखण्ड भित्रको भाषा, कला, साहित्य र संस्कृतिको विकासमा मद्दत पुग्छ, नेपालीलाई एकतामा बाँध्ने काम पनि गर्दछ ।” नेपालीभाषीलाई एकता चाहिएको सही कुरा हो र बाँध्ने काम भने अझै कम भइरहेको छ कि जस्तो लाग्यो ।
० ० ० ०
चैत २ गते
एकदुई गर्दै समस्या हट्दै गयो भने एकदुई गर्दै समस्या थपिंदै गयो । शायद जीवन भनेको यही हो । खासमा जुन दिन मञ्चमा आफ्नो प्रस्तुतिका लागि उक्लनुपर्ने थियो, त्यसको ठीक अघिल्लो दिन महिलाहरूले नियमित भोग्ने पीडादायी समस्या शुरू भएको थियो । यी दिनहरू महिलाका लागि निकै गाह्रो हुने गर्छ । म पनि गाह्रो हुने समूहमा पर्छु । विशेषगरी दोस्रो दिन ।
बिहानको सात बजेसम्म पनि ब्यूँझेकी थिइनँ । हतारहतार उठें अनि भारी मन लिएर तयारी गरें ।
बिरामी अनुहारलाई शृङ्गार गर्न निकै कठिन लाग्यो । पेनकिलरको सहारा लिएँ । अनुहारमा नारीपीडा नदेखियोस् भन्ने चाहाना थियो । साथमा महान् व्यक्तिहरूसँग हाँसेर कुरा गर्न पाऊँ भन्ने पनि थियो । तनाव र झ्याउ कम होस् । मेकअपले नारीको तनाव हटाउन नसके पनि लूक परिवर्तन गराउन सक्छ ।
जसोतसो नयाँ ऊर्जा समेटर कार्यक्रम स्थलमा पुगेँ, समयमै । मान्छेहरूको आइजाइ हुँदै थियो । आँखा अगाडि भेटिनु भयो, कवि–नियात्राकार भवानी खतिवडा । साहित्यपोस्टबाट ५० हजार रुपियाँ पुरस्कार पाउनु भएकी भवानी म्यामको लेखनबाट म प्रभावित छु । उहाँसँग झ्याम्मिनु स्वाभाविक नै हो । उहाँले त्यहाँ उपस्थित धेरैसँग परिचय गराउनु भयो । उहाँको मायालु व्यवहार सधैँ पाइरहूँ भन्ने लागिरह्यो ।
संस्थाका अध्यक्ष तथा कवि विजय सुब्बा भेटिनुभयो र भन्नुभयो, “तैं तैं भन्ने तपाईं नै हुनुहुन्छ । हिजैदेखि अचम्म लागिराथ्यो त्यो नाम सुनेर ।”
“तैं तैं भनी बोलाउँदा, तपाईंलाई अपमान भएको महसूस हुँदैन ।” भन्नुभयो डमरू सरले, “तँबाट नै तैँ तैँ भएको होइन र ?”
उहाँले अझै थप भन्नुभयो, “मेरो नाम याद हुन्छ कि हुन्न कुन्नी ?”
बदलामा मेरो हातमा खोपेको डमरूको ट्याटु देखाउँदै भनेँ, “हातमै डमरू खोपेकी छु । तपाईँको नाम कसोरी बिर्सूंला र !”
कार्यक्रम शुरू भयो । सञ्चालक हुनुहुन्थ्यो, शशी लुलुम्बु । जसै कार्यक्रम अगाडि बढ्यो मेरो हडबड पनि शुरू हुन गयो ।
अगाडिको पंक्तिमा बसिरहनु भएका प्रा.डा. रमेशप्रसाद भट्टराई, प्रा. डा. दिवाकर प्रधानज्यू, श्री गङ्गाप्रसाद उप्रेतीज्यू, डा.विजय सुब्बाज्यूहरूको अगाडि म बाबुरोले के कुरा बोलूँ । हेर्छु, मेरो अघिल्तिर दिग्गज व्यक्तिहरू हुनुहुन्छ । मैले प्रस्तुत गर्ने कार्यपत्र कस्तो होला ? म कल्पनामै काँप्न थालें । मञ्च भन्ने बित्तिकै नर्भस हुने बानी अझै गएको रैनछ जस्तो लाग्यो ।
मञ्चमा ध्यान दिन पुग्छु । थाइल्यान्ड, तिब्बत, भारतका सिक्किम, असम, मेघालय, मणिपुर, उत्तराखण्ड, उत्तर बङ्गाल, भुटान, तिब्बत, बङ्गलादेशका वक्ताहरू एकपछि अर्को गरी आफ्ना कार्यपत्र मीठा शब्दहरूले सजाएर, स्पष्ट नेपालीमा धाराप्रवाह प्रस्तुत गर्दै जानुभयो । आफ्नो विचार, सत्यतथ्य र नेपालीपन, नेपालीमनबाट श्रोताहरूको मन जित्दै जानुभयो ।
म भने आफ्नो पालो पर्खिंदै, मनभित्र जाग्दैगरेको अनौठो छटपटीलाई बोध गर्दै, तेजले चलिरहेको नाडीको चाल छाम्दै, गडबड भइरहेको पेटदुखाइ थाम्दै असजिलोपनलाई नियन्त्रणमा ल्याउन प्रयास गरें । सुकिरहेको ओठलाई पानीले बिझाएँ । आफूलाई सम्हाल्दै, एक गहिरो श्वास लिएँ र सधैं आफैमा भनिरहने वाक्य भित्रभित्रै दोहोर्याएँ, “ यस्, आइ कन डु इट ।”
आफ्नै परिस्थिति देखेर आफैमाथि फिस्स हाँस्दै खिसीट्यूरी पनि गरें । आफैलाई सम्झाएँ पनि, “धत्, यस्तो पनि हुन्छ ? कता गयो तेरो आत्मविश्वास ? कता गयो तेरो हिम्मत ? सम्झिन्छु, जीवनको क्षणिकतालाई व्यक्त गर्ने बर्माको प्रचलित त्यो जनउक्ति – सात दिनको प्रशंसा, सात दिनको निन्दा ।”
त्यसै बीच मेरो पालो आयो । मञ्चमा आफूलाई सजिलो हुनेगरी राखेँ । माइक मिलाएँ र मञ्चबाट दर्शकहरूलाई हेरें । उहाँहरू तयारीमा हुनुहुन्थ्यो मेरो कुरा सुन्न । अनि शुरू गरें – “नमस्ते, मेङ्गलाबा !”
कतै पाना हेर्दै त कतै दर्शकहरूसँग आँखा जुधाउँदै बर्मामा चल्दैआएको नेपाली लोकसंस्कृतिको परिस्थिति, बर्मामा लोप हुँदै गएको नेपालीपन त्यसको संरक्षण गर्नुपर्ने अवस्था, नेपाली साहित्यको परिस्थिति, बर्मेलीहरूको दृष्टिमा नेपाली चाडपर्वहरू लगायत फरर भन्दै गएँ । बीचमा हतारिएर कताकतै बिग्रिएको पनि पाइयो भने बर्माको प्रचलित गीतमा आफ्नो नराम्रो आवाज भर्न वाद्य पनि भएँ ।
मैले बोलिरहँदा कतै दर्शकहरू चूपचाप अवस्थामा मलाई ध्यानपूर्वक सुनिरहेको देख्दा ऊर्जा पनि थपिंदै गयो । जब म पूर्ण आत्मविश्वासमा पुग्दैथिएँ, समय सकिन लागेको संकेत गर्दै कार्यक्रम सञ्चालक शशि लुलुम्बु मञ्चमा पुग्नुभयो । बोलिरहेको विषय के थियो लर्बरिन पुगेँ । सानो संकेतले पनि कति प्रभाव पार्दोरहेछ भन्ने लाग्यो । अन्त्यमा नेपाली भाषा साहित्यको चुनौती र त्यसको समाधानका केही बुँदा सुनाएर आफ्नो कार्यपत्र सक्दै मञ्चबाट ओर्लें ।
मञ्चबाट ओर्लनासाथ अग्रपंक्तिका दिग्गज साहित्यकारहरूले मेरो प्रस्तुतिलाई प्रशंसा गर्दै हात मिलाउनु भयो । यो उहाँहरूको आशीर्वाद हो, यो उहाँहरूको मूल्यवान् उपहार हो । ओइलाएको पातलाई आकाशको पानीले हराभरा बनाएझैं, म पनि एकाएक जीवन्त भएँ पुरानो परिस्थितिबाट । सपना जस्तो लाग्ने यथार्थ, यथार्थ जस्तो लाग्ने सपना !
ओहो ! मन बुरुकबुरुक उफ्रिरह्यो । लाग्यो – मैले राम्रै गरेछु । यतिको माया र प्रेरणा मैले कहिले पनि पाएकी रहेनछु । हातमा एकएक गरी उपहारस्वरूप पुस्तकहरू आए । सबको नाम मैले टिप्न सकिनँ । र हरकोहीले बधाई दिँदा म खुशी भएँ । हावामा उडिरहें फुरुरुफुरुरु । अघिको सङ्कोच, डर, असजिलो सब एकाएक त्यै वातावरणमा विलीन हुँदै गयो ।
‘मेङ्गलाबा’ भन्ने आवाजतिर फर्किन्छु । अँगालो मार्दै ‘बधाई’ दिनुभयो । साँच्चै रुन मन लाग्यो मप्रतिको उहाँको गौरवान्वित हाँसो देखेर । भावुक भएँ । बुझ्दै जाँदा माण्डलेबाट आउनुभएको दिदी, छोराहरू यतै पढिरहेका छन् ।
त्यसपछि म्यान्मा सम्झें, मोगोक सम्झें, घर सम्झें, आमा सम्झें (यदि मोगोकमा वाइफाइको सुविधा भएको भए आमाले मलाई लाइभ हेर्नुहुन्थ्यो), विशेष पिताजीलाई सम्झें । मनमनमा भनें, “पिताजी ! आइ डिन्ट इट् ।”
बधाई खाँदै खाना खाने ठाउँ पुगेँ । भोक लागेको बेला खाना खाने लाइनमा पनि मसँग फोटो खिच्नेहरूको भीड थियो । मसँग फोटो खिच्न चाहने व्यक्तिहरू हुन्छन् भन्ने मेरो कल्पनामा थिएन । मन पुलकित हुँदै गयो । खाना खाइसकेपछि वरिष्ठ कवि विष्णुविभु घिमिरे सरले भन्नुभयो, “तपाईंको भविष्य उज्ज्वल छ । पूर्ण विश्वास छ, अब तपाईंले नेपाली साहित्यमा केही गर्नुहुन्छ ।”
दिनभरि अरू पनि धेरै कार्यक्रमहरू थिए । तर महिला हुनुको पीडा, चाहेर पनि स्वास्थका कारण अरू कार्यक्रमको अवलोकन गर्न सकिनँ । दोस्रो दिनको खुशी र केही उपलब्धिलाई मनमा राखेर आफ्नो डेरा फर्किएँ । फर्कंदा बाटोभरि हाम्रा अग्रजहरूले नेपाली भाषा र साहित्य बचाएकोमा धन्यवाद दिइरहेकी थिएँ । उहाँहरूले त्यो दुःख नगर्नु भएको भए आज म मञ्चमा उक्लेर हामीले नेपाली संस्कृति र भाषा बचाएका छौं भनेर गौरव गर्न पाउन्न थिएँ ।
० ० ० ०
चैत ३ गते : समापन कार्यक्रम
बिहानै शशि लुलुम्बु सरले फोन गर्नुभयो र भन्नुभयो, “आज समापन कार्यक्रम छ, तपाईँ आउनु पर्छ है ।”
मैले भनें, “आउँछु सर, दुई बजेतिर पुग्छु ।”
कार्यक्रम हिजोको ठाउँमा थिएन । समापन समारोह बुढानीलकण्ठको एउटा होटलमा रहेछ । ठाउँ भेट्नै गाह्रो भयो । दुई बजे पुग्छु भन्ने सोचेकी थिएँ तर ४ बजे मात्र पुगें । समापन पाँचतारे होटेलको भव्य सभाहलमा भइरहेको थियो । जहाँ देश र विदेशका साहित्यकारहरूले सभाहल खचाखच भरिएको थियो । जुन शुरूमै वर्णन गरेकी छु ।
म हलको अन्तिम लाइनको शुरूको सीटमा बसी मोबाइलमा व्यस्त थिएँ । अचानक आफ्नो नाम सुन्नमा आउँदा मान्छे जसरी एक क्षण तर्सिन्छ त्यसरी नै म तर्सेकी थिएँ । शायद त्यति बेला म, म थिइनँ ।
पटक पटक नाम बोलाएपछि अगाडि मञ्चसम्म पुगें । प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यको लागि ठाउँ राखिएको थियो । म केही सीट छाडेर अप्ठ्यारो मान्दै बायाँ पट्टिको छेऊमा बसें ।
मञ्चमा बसिसकेपछि बल्ल म होशमा आएँ । कहाँ आएर बसें ? के मैले सुन्न गल्ती त गरिनँ ? यो मेरो ठाउँ हैन, पक्कै हैन, ला अब मरियो, लाजमर्दो हुने भयो यति धेरै मान्छेका अगाडि ?
मञ्चमा बसिसक्दा पनि म हलचल गरिरहें । मेरो असजिलो देखेर होला शायद शशी सर आउनुभयो र भन्नुभयो, “औपचारिक पहिरन नभए पनि केही फरक पर्दैन !”
झन् मलाई गाह्रो भयो मञ्चमा बस्न । यस्तो बेला कहाँबाट ल्याऊँ आत्मविश्वास ? मञ्चबाट सबैलाई सरसर्ती हेरें । सबै दिदीबहिनी तथा आमाहरू सारीमा सजिएका थिए । आफ्नो बुद्धुपनलाई सम्झें । नारी, पहिरन र मनोविज्ञान बारे बुझें ।
बिहानको कल याद आयो । औपचारिक कार्यक्रम हो, औपचारिक पहिरन लगाउनु आवश्यक थियो शायद ! मञ्चमा बस्नुपर्छ भन्ने थाहा पाएको भए मैले बर्मेली पहिरन लगाएर आउँथें ।
तर अर्को मनले भनिरह्यो । लुगाले के नै गर्छ र ? के पहिरनले सजिए मात्र म, म हुने हो र ? मेरो पहिचान लुगाले दिने हो र ?
प्रधानमन्त्रीको आगमन भयो र कार्यक्रम भव्य रूपले शुरू भयो ।
“ओहो ! म त बर्माको नेपालीभाषीको प्रतिनिधि भएर पो आएकी छु । कतै मलाई असभ्य ठानें भने हाम्रो इज्जत पो जान्छ कि ! फेरि मनले भन्यो – यस्तो कुरामा अल्झिरहनु हुँदैन । जे भयो सो भयो । नेपालको प्रधानमन्त्रीसँग एउटै मञ्चमा हुन पाउनु भाग्यको कुरा हो । त्यो भन्दा ठूलो भाग्य वरिष्ठ साहित्यकार वैरागी काइँलासँग बस्न पाउनु । ओहो आफ्नो भाग्यलाई स्याबासी दिएँ ।”
मञ्चमा प्रधानमन्त्रीलाई साक्षी राखेर वरिष्ठ कविहरूका कविता वाचन हुन थाल्यो ।
मन भड्कन नदिन कविताहरूमा आफूलाई डुबाएँ । उपस्थित माननीय व्यक्ति र वरिष्ठ साहित्यकारहरूका धीर गम्भीर मन्तव्यहरूलाई केलाउन थालेँ । धारणालाई आत्मसात् गरिरहें । प्रधानमन्त्रीलाई छेउबाटै हेरिरहें । उहाँकी श्रीमतीलाई नियालिरहेँ । उहाँको कविता भनूँ या अभिव्यक्ति, मनपखाला सुनिरहें । जे होस् लेख्नु नै ठूला कुरा हो ।
अन्तिममा हिमवत खण्डको समिति गठनको कुरा भयो । जसमा मेरो नाम पनि थियो, बर्माको प्रतिनिधिका रूपमा । मेरो नाममा पनि ताली बज्यो । यही मौकामा कार्यक्रमका संयोजक विजय सुब्बाले भन्नुभयो, ‘यो अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम हो । कुनै देशको राजनीति दल होइन ।’
त्यो सम्झिँदा म यसमा सहभागी हुन्छु भन्ने थाहा पाएर कतिपय महान् साहित्यकारहरूले राजनीतिबाट सचेत हुन सम्झाउनु भएको थियो ।
आखिर जे जस्तो होस् मेरो सीधा दिमाग र सीधा मनले भन्छ, “विश्वभरिको नेपालीभाषीलाई समेट्ने काम गर्यो हिमवत खण्डले जुन पहिले नै यो कार्य हुनुपर्थ्यो, त्यो विश्वभरको नेपालीभाषीलाई खाँचो थियो ।”
कार्यक्रम सकियो । हिजो कार्यक्रममा उपस्थित भएका म्यान्माली भाइहरू आज पनि आएका रहेछन् । उनीहरूले भने, “दिदी ! तपाईँलाई मञ्चमा देख्दा सम्पूर्ण बर्मेली नेपाली नै मञ्चमा बसेको अनुभव भयो ।” सुनेर आँखा रसायो । मन खुशीले धपक्क बलेको महसूस भयो । भाइहरूको उत्साह र ऊर्जा मैले नियालें । उनीहरूको मप्रतिको गौरवले सब कुरा बिर्सायो ।
* * * *
अस्ति एकजना साथीले भन्दै थियो, “त्यस्तो प्रधानमन्त्रीसँग मञ्च शेयर गरेर एउटा तस्वीर पनि नलिनू तिमी कस्तो मान्छे ?”
हो, म कस्तो मान्छे कस्तो मान्छे ! मैले किन केपी बा (नेपालमा प्रधानमन्त्रीलाई मन पराउनेहरूले बा सम्बोधन गर्दा रहेछन् ।) सँग तस्वीर लिइनँ । लिन मन नलागेर पक्कै हैन । यस्तो घुइँचो थियो कि मलाई लाइन लाग्न मन लागेन । भीडमा हराउन मन लागेन । फेरि केपी बासँग त भीडमा तस्वीर लिएर हैन उहाँकै गृहमा बर्माको नेपाली भाषासाहित्य सम्बन्धी केही विचार र मान्यता सुनाउन पाए, मेरो नेपाल बस्दाको अनुभव साट्न पाए, केही महत्वपूर्ण कुराहरू आग्रह गर्न पाए, उहाँको र उहाँको श्रीमतीको किताब लिन पाए, त्यो बल्ल उपलब्धिमूलक हुन्छ । भोलिपल्ट टेलिभिजनको समाचारमा यही कार्यक्रमको भिडियो आइरहेको थियो । जसमा म पनि देखिएकी थिएँ । त्यति भएपछि मैले थप तस्वीर लिनुपर्छ भन्ने पनि लागेन ।
अन्त्यमा हिमवत खण्ड साहित्य सम्मिलनले मलाई जे दियो, त्यसका लागि धन्यवाद । मञ्चसम्म पुर्याउने गुरु ज्ञानबहादुर बगाले थापा तथा प्रकाश पराजुली सरलाई धन्यवाद ! मञ्च उक्लन योग्य बनाउने साहित्यपोस्टलाई पनि धन्यवाद !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

