तपाईंले तपाईंभित्रको ‘तपाईं’लाई चिन्नुभएको छ ?
अहो, कति गाह्रो प्रश्न ।
मलाई पनि आफूभित्रको ‘म’ चिन्न मन लागेको छ । तर कसरी ? प्रश्न गहिरो छ । सायद तपाईंलाई पनि आफू भित्रको ‘आफू’ चिनौँ लाग्छ होला ।
मेरो हातमा यस्तै खालको पुस्तक छ । नितिन मिश्रकृत उपन्यास “म र ‘म’” । खासमा यो उपन्यास उपन्यासकारले आफैँलाई खोज्न प्रयास गरेर लेखेको पुस्तक जस्तो अनुभव हुन्छ ।
० ० ०
म र ‘म’ सुवास र ‘सुवास’को कथा हो । सुवासको अन्तर्द्वन्द्व हो । राम्री श्रीमती, प्यारी छोरी हुँदाहुँदै पनि सुवासले अमेरिकाको बोस्टनमा आफैलाई खोजिहिँड्छ । आफूजस्तो भीडमा हराएको मान्छेलाई खोजिहिँड्छ । यसैबिचमा सीमा नाम गरेकी केटीको फेसबुक फ्रेन्ड रिक्वेस्टले ऊ उथलपुथल हुन्छ । आफैँलाई खोजी हिँड्ने एउटा युवा धेरै वर्षअघि नेपालमा छँदा काठमाडौँबाट विराटनगर रात्रीबसमा यात्रा गर्दा भेटिएकी युवती अचानक अमेरिकामा भेटिन्छे, फेसबुकको सहारा लिएर ।
यो यात्रा नै उसको जीवनको यात्रा बन्न पुग्छ ।
सीमा विराटनगर जाँदा नाइट बसमा भेटिएकी केटी । तिखी, भावुक, थोरै बोल्ने, टिप्पणी दिन नहिचकिचाउने स्वभावकी । कल्पनाभन्दा एकदम फरक । कल्पना उसकी बहिनी ।
यता दिदी बहिनी घुम्न भनी हिँडेका उता सुवास र उसको साथी अनिल बिदामा आफ्नो गाउँ फर्केका । बसमा चार जना दुई जोडी कुराकानी हुन्छ । अनिल गफैगफमा कल्पनालाई पट्याउन खोज्ने । तर सुवास चाहिँ सीमासँग बोल्नको लागि पनि आफैँभित्र द्वन्द्व गरिरहनुपर्ने । अनिलको जबरजस्तीमा केही बोल्नुपर्दा विषय सोच्नुपर्ने । प्रसङ्ग ठ्याक्कै रोकेर के बोल्ने नबोल्ने भई संवाद अगाडि बढाउन नसक्ने । यसै गरी एकर्कामा थोरै परिचित हुन्छ । स्पर्श बढी हुन्छ । हो कि जस्तो गरी सुवासको मन सीमाप्रति झुक्न खोज्छ यसलाई प्रेम नै भनी नामकरण दिन्छ । यो बेलाको तारजडित फोन नम्बर साटासाट गरी छुटिन्छन् । आधा कथा यही सकिन्छ भने अर्को आधा काठमाडौँबाट फेरि सुरु हुन्छ ।
० ० ०
प्रेममा समयावधि हुँदैन । प्रेमले कति नजिक कति टाढाको प्रश्न उठाउँदैन । प्रेमले शारीरिक सम्बन्धको गहिराइमा मात्र आफूलाई खोज्दैन । जति भावनात्मक गहिरो सम्बन्ध हुन्छ त्यति नै प्रेम गर्नेहरू बिच प्रेम फुलिरहन्छ चाहे ती दुईको भेट भइरहोस् या नहोस् । आफू हुनुमा उसलाई खोज्छ र ऊ हुनुमा आफूलाई पाउँछ । यसरी प्रेमको यात्रा कहिल्यै टुङ्गिँदैन विसङ्गतिमा नै किन नहोस् । सच्चा प्रेमको सच्चा पात्रहरू हुन् सीमा र सुवास । यसरी यस उपन्यासले प्रेम के हो ? विवाह के हो ? प्रेम प्राप्ति के हो ? असफल प्रेमले मानिसलाई कुन अवस्थामा गएर पछारिदिन्छ ? दुवै विवाहित हुँदाहुँदै पूर्व प्रेमी-प्रेमिकाको सम्बन्ध मौलाउनु के उचित छ ? पक्का अनुचित पनि त नहोला । उपन्यास आफै त द्वन्द्वात्मक छ नै पाठकलाई पनि आफ्नो कलहभित्र खिच्न सफल भएको छ ।
० ० ०
सुवास बिदेसिएर पनि मातृभूमिको काख खोजिहिँड्ने दोधारे जीवनको एक जिउँदो नमुना हो ।
सुवास अन्तर्मुखीको उदाहरण हो भीडमा आफूलाई एक्लो पाउँछ, अस्तित्व खोजिहिँड्छ । कुनै निष्कर्षमा नपुग्ने अन्तर विचारहरूसँग सङ्घर्ष गरी बस्छ ।
सुवास एक काँतरको पनि परिभाषा हो, समस्यासँग सामना गर्नुको साटो समस्याबाट भाग्न खोज्छ । शरीरको चाहना र आत्माको आकाङ्क्षामा ऊ आफैलाई रोगीतुल्य बनाउँछ । केटीलाई फोन गर्न समेत ईश्वरसँग सहयोग लिन्छ । ऊ आफैलाई थाहा हुँदैन ऊ कस्तो परिवेशमा बाँच्दै छ । जीवनले, असफल प्रेमले ऊसँग कस्तो खेल खेलिरहेको छ र त्यसमा ऊ एक अलौकिक पात्रको नाउँमा परिचित भइरहेको छ ।
हुन त मान्छे कुन मुडमा आएर के बिगार गर्ने हो र कुन मुडमा आएर सप्रिने हो आफै अनभिज्ञ नै भइदिन्छ । अनभिज्ञ हुनुको कारण हो ऊ आफूले आफैलाई सम्हाल्न नसक्नु, कोहीसँग पनि आफ्नो सत्य ओकल्न नसक्नु, वर्तमानलाई अतीतमा अल्झाउनु, परिस्थितिलाई स्पष्ट रूपमा नबुझ्नु त्यही सिलसिलामा उब्जेको द्वन्द्वलाई झाँगिन दिनु जस्तै सुवासको म र ‘म’ प्रतिको संवादले सुवासलाई मात्र हैन पाठकलाई पनि आफ्नो ‘म’प्रति शङ्का लाग्छ ।
– “यस्तै छ ‘म’ काे छल गर्ने बानी ।
‘म’ कसैमाथि दया गर्दैन ।
‘म’ कसैकाे कुरा सुन्दैन । म सुन्छ त केवाल आफ्नाे ।
‘म’ दया गर्छ त केवल आफैँलाई ।
‘म’ का लागि केवल एक मात्र मार्ग छ, त्याे हाे – ममार्ग ।”
‘म’मार्गले कतिलाई अनिलजस्तो बनायो त कतिलाई सुवास जस्तो । जे होस् कल्पना र अनिलले भने सुवास र सीमाको चरित्रलाई उकास्ने काम गरिदिएको छ ।
उपन्यासभरि सुवासको ममार्गमा म र ‘म’ सधैँ विपरीत भएर उभिरहेको हुन्छ । प्रायजसो ‘म’कै जित हुन्छ । म हिस्स परी हारमा निसास्सिन्छ । तर यो सब प्रेमकै कारण हो कि…। जुन बेला सुवास सीमासँग पहिलो डेट गर्न फोन वार्ता सफल हुन्छ त्यस बेला म र ‘म’बिच एकापसमा मेल खाएका थिए । सँगै थिए । सँगै हाँसे । त्यस बेलाको ‘म’मार्गले भने सही बाटोमै सफर गरेको थियो । सुवासको प्रेम सफल भएको भए सुवासको म-द्वन्द्व सकिन्थ्यो कि । मानौँ प्रेम परिस्थितिअनुसार फुल्ने, झर्ने काम गर्दो रहे छ । यसरी उपन्यासमा प्रेमको पर्खाइ छ, पर्खाइमा भासिएको गहिरो प्रेम छ ।
उपन्यासमा दार्शनिकको रूपमा पनि पाउँछौँ सुवासलाई ।
– सतर्क हुनुपर्छ किनकि भिडमा सुनिएको अर्काको विचार बेवास्ता गर्न सकिन्छ तर एकान्तमा उब्जिएको मनको विचारलाई जित्न सकिँदैन र बेवास्ता गर्न कठिन हुन्छ ।
– अब सबैभन्दा यस संसारमा नजिक मेरो ‘म’ नै त हो नि ।
– अस्तित्व नै गुमाएर साथी बनाउनु पनि त बुद्धिमानी काम हैन नि ।
सुवास आफैमा प्रश्न भनी उभिन्छ भने प्रतिप्रश्नमा पाठक अल्झिन्छन् ।
सरल भाषा प्रयोगबाट अस्तित्ववाद झल्काउने उदाहरण पनि हो म र ‘म’
– प्रश्नहरूका पुलिन्दा छन् तर मलाई कुनै ज्ञान छैन, याद छैन । थाहा छ त केवल ‘शून्य’ मात्र ।
– मजस्तै आफैँमा युद्धमा भएका व्यक्तिहरू कहिले पनि हुने थिएनन् यस संसारमा ।
– हामीलाई पनि जीवन भन्ने रोग लागेछ क्यारे ।
– आकाशतिर हेर्ने, कोठाका भित्ताहरूमा बित्थामा हेर्ने, सुकेका रूखको नाङ्गो तस्बिर हेर्ने, हरियालीमा हराउने, घामको राप लिनेजस्ता नाना भाँती क्रियाकलाप मेरा जीवनमा आइरहेका छन्, म विवश छु, बाध्य छु, पीडित छु र पनि दुई मुठी सास बचाएको छु ।
– जिन्दगी जसोतसो चल्दै छ तर अब म फेरि त्यही पुरानो खोजमा निस्केको छु – आफूजस्तै अर्को खोजेर ‘म’लाई परास्त गर्ने ।
कवितात्मक वाक्यहरूले मलाई लोभ्याउँछ
– हिजो रातिसम्ममा म प्रेममा थिइनँ तर त्यो बिहान मैले आफूलाई प्रेममा पाएँ ।
– मन भने दुई ढुङ्गामा सयर गर्ने तयार छ, दुर्घटना हुन सक्ने भविष्यको बेवास्ता गरेर ।
कतिपय ठाउँमा भने उपन्यासले खितखिताउने गरी हसाइरहन्छ ।
उपन्यासमा सीमा र सुवासको संवाद भने रोचक र आकर्षक छ । रात्रि बसमा भएको संवाद र घटना चाहिँ अलि लामो महसुस हुन्छ ।
पाठकलाई खड्किने विषय के छ भने उपन्यासको सुरुमा सुवास आफ्नै विचारमा डुबुल्की मार्दै गर्दा – “अमेरिका आएको पनि करिब सात वर्ष भएछ ।”
अतीततिर फर्किंदा – “सातआठ वर्षअघि एक दिन, म र साथी कलेजको छुट्टी मनाउन …”
वर्तमानमा आइपुग्दा – “… अनुहारमा त्यही चमक छ जुन दश वर्षअघि थियो ।”
यहाँ समय मिलेको देखिँदैन । सायद सम्पादकको पनि आँखा पुगेन कि ?
पुस्तकको आवरण भने बढो गजबको छ ।
यो पहिलो उपन्यास हो मिश्रजीको ।
मलाई मिश्रजीकै वाक्यबाट भन्न मन लाग्यो, “लोभको कुनै सीमा हुँदैन । लोभको सिमानातिर लक्षित गएर अगाडि बढ्यो भने सिमाना अझै फराकिलो हुँदै जान्छ ।”
लेखनमा अझै पनि लोभ गर्नुहोला । दोस्रो उपन्यासको सिमाना अझै फराकिलो बनाउँदै जानुहोला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।