
प्रमाणित भैसकेको कुरा हो, मानिसको पहिलो इमानदार साथी मान्छे होइन, कुकुर हो । इतिहासमा मात्र होइन, किंवदन्तीहरूमा कुकुरसँग मानिसका लाखौँ लाख कथा–व्यथाहरूका थुप्रा छन् । कुनै समयमा मैले धेरै पटक दोहोर्याएर हेरेको एउटा डकुमेन्ट्रीमा भनिएको थियो, ‘मानिस र कुकुरको गहिरो सम्बन्ध ३० हजार वर्षदेखि आजसम्म निरन्तर छ ।’
कुकुरसँग सम्बन्धित धेरै पटक दोहोर्याएको सिनेमा हो, ‘हाची: एउटा कुकुरको कथा’ (Hachi : A Dog’s Tale) । यो सिनेमा म जति पटक हेर्छु आँखा रसाइरहन्छन् । एक वर्षअघि मात्रै अर्को कुकुर प्रेमी दक्षिण भारतीय सिनेमा हेरेकी थिएँ, चार्ली ७७७ । यसमा पनि कुकुर र मान्छेबिचको गहिरो प्रेम देखाइएको छ । नेपालमा हाची र चार्ली जस्ता सिनेमा कहिले बन्छन् थाहा छैन । तर साहित्यमा भने एकादुई पुस्तक पढ्न पाइन्छ, जसले कुकुर र मान्छेबिचको सम्बन्धलाई नयाँ आयामबाट हेरेको छ ।
शङ्कर लामिछानेको निबन्ध ‘जीवन एक प्राध्यापक’मा कुकुरले दिएको जीवन दर्शन र लैनसिंह बाङ्देलको उपन्यास ‘लङ्गडाको साथी’ मा कुकुर र लङ्गडाको अद्भुत प्रेमले हरेक पाठकलाई सोचमग्न बनाइदिन्छ । यस्तै धेरैपछि अर्को उपन्यास आएको छ, फुर्के । जसलाई पढेर पाठक कहिले टिलपिल आँसु बगाउँछ त कहिले खितखिताएर हाँस्छ । कुकुरलाई नायक बनाएर कुकुरकै दृष्टिबाट यो उपन्यास जसरी बगेको छ, जस्तै मै हुँ भन्ने पाठकले पनि लेखक खगेन्द्र लामिछानेको कल्पना शक्तिलाई वाह भन्नेछन् ।
खगेन्द्रलाई मैले पशुपतिप्रसाद सिनेमाबाट चिनेकी हुँ । त्यो फिल्म हेर्दासम्म थाहा थिएन, उनी लेखक पनि हुन् । जब ‘फुलानी’ कथासङ्ग्रह हात पर्यो, कभरमा खगेन्द्रको नाम देखेर छक्क परेँ । कलाकार खगेन्द्र नै फुलानीका लेखक हुन् भन्नेमा शङ्का लागेर गुगल गरेँ । सिनेमाभित्रका पशुपति प्रसाद नै फुलानी रहेछन् । अनि फुलानी नै खगेन्द्र लामिछाने । उनी पहिले लेखक भए कि कलाकार थाहा भएन । बर्मामा मैले फुलानी हात पार्नु र युट्युबमा पशुपतिप्रसाद त्यही बेला रिलिज हुनुले मलाई उनी एकैसाथ लेखक र कलाकार, दुवै एकैपटक भए भन्ने लाग्छ । पाठक र दर्शकले बनाएको अवधारणा नै सार्वजनिक जीवनका व्यक्तिहरूको जीवन हो भने खगेन्द्र लामिछाने मेरालागि लेखक–कलाकार हुन् ।
म नेपाल आएकै बखत उनको पहिलो उपन्यास फुर्के बजारमा आयो । फुलानीका लेखकको अर्को किताब आएको थाहा पाउने बित्तिकै त्यो मेरो पढ्ने सुचीमा परिहाल्यो । विषय के हो, त्यतातिर मैले ध्यान दिइनँ । जसरी सिनेमा हेर्नु नै छ भने त्यसको कथातिर जानु उति राम्रो हुन्न । मैले पनि फुर्केको कथा जान्ने इच्छा हुँदा हुँदै पनि आँखा चिम्लेँ ।
करिब वर्ष दिनपछि किताबको आकर्षक गाता खोल्ने अवसर पाएँ । पढ्न थालेपछि थाहा भयो, फुर्के कुकुरको आत्मकथा पो रहेछ । विधा उपन्यास तर शैली आत्मकथाको ।
फुर्केले आफू सानो छँदाको सम्झेको कुरा हामी पाठकलाई भन्न थाल्छ । यसरी भन्न थाल्छ, मानौँ, फुर्के हाम्रोअघि अप्ठ्यारो परिस्थितिमा उभिएको छ र सिनेको दृश्य जस्तै आफ्नो कुरालाई दृश्यमा वर्णन गरिरहेको छ । अहो, यो दृश्यलाई सिनेमामा उतार्न पाए क्या मज्जा हुन्थ्यो होला…।
आत्मकथा भएकाले यसमा फुर्केको पारिवारिक कथा छ । पहाडी परिवेशको ऊ कसरी उसकी भाइहरूसहित काठमाडौँ आइपुग्छन् र बेचिन्छन् भन्ने कथा छ । नयाँ मालिकले पहिलो पटक मःमः खुवाएको स्वाद उसको जिब्रोमा अडिएको छ । चुरोट र गाँजामा रमाउने आफ्नो मालिक चित्रकारको स्याहार उसले अनुभव गरेको छ । उसको मालिक अनुपमको र उसकी प्रेमीका ऋतुबिचको हिमचिमको अर्थ पनि उसले बुझ्न थालेको छ । अनुपमसँग घुम्दै गर्दा केही महिनामै उसले काठमाडौँको मुख्य मुख्य स्थानहरूका बारेमा राम्ररी भेउ पाउन थालेको छ । गल्लीमा उसका सजातीय साथी र दुस्मनसँग पनि भेटिसकेको हुन्छ ।
उमेर बढ्दै जाँदा उसले आफ्नो घरको छतबाट एउटी सुन्दरी देख्छ, नानी । यही नानीसँग उसको देखादेखबाट प्रेमालाप सुरु हुन्छ । भान्सामा अनुपम र ऋतुको रोमान्स हुँदै गर्दा छतमा फुर्के र नानीको हिमचिम बढ्न थाल्छ । नानीलाई आकर्षित गर्न ऊ उफ्री उफ्री नाच्छ । त्यो नचाइले घाँटीको बाँधिएको सानो घण्टीको सुमधुर धुन अनि फुर्केको व्यवहारले नानीलाई भुतुक्कै पार्छ ।
फुर्के केन्द्रमा छ । त्यसैले ऊ कुकुरहरूका बिच हिरो छ । किनकि मालिक पनि उसको साथमा छ । मालिकले छतमा लामो फलेक राखिदिएर फुर्केको नानीसँग भेट गराइदिन्छ । एक पटक भेट भएपछि फुर्के नानीसँग उडेको सपना देख्छ । सँगै बस्ने योजना बनाउँछ । एकदिन अचानक नानी हराउँछे । त्यसपछि फुर्केको जीवनमा अनेक मोड आउँछन् ।
पढ्दै जाँदा फुर्केको व्यवहारले कतै मुसुमुसु त कतै खितखित पार्छ । कतै आँखाबाट अनायास आँसु टुप्लुक्क खसिहाल्छ । किताब पढ्दै जाँदा मैले मेरा वरपर घटेका सबै कुकुरका घटना सम्झेँ । आमाले एकपल्ट भन्नु भएको थियो, ‘तँ जन्मिएको कहीँ महिना भएको थियो, तँलाई कोक्रामा सुताएर लुगा धुँदै थिएँ । घरको कुकुर छेउमा आएर म नउठुन्जेल भुकिरह्यो । के भएछ भनेर हेर्दा तँ कोक्रोबाट तल लडिसकेकी रहिछस् । कुकुरले तेरो ध्यान राखेको रहेछ ।’
किताब अगाडि बढ्दै जाँदा सम्झेँ, १२–१३ वर्षकी हुँदा, भाइको जिद्दीले घरमा पहेँलो रङ्गको कुकुर पाल्यौँ । ऊ जहाँ जाँदा पनि हाम्रो पछि लाग्दथ्यो । मान्छेजस्तै फलफूलदेखि मिठाइसम्म सबै कुरा खान्थ्यो । एकदिन एकाएक त्यो हरायो ।
पछि थाहा भयो, हाम्रो घरको त्यो कुकुर लिसु जातिले चोरेर लगेछन् । त्यसपछि मारेर खाएछन् । लिसुहरू खाइलाग्दा कुकुर चोरेर खान पल्केका छन् । मलाई आज पनि त्यो कुकुर हराएको, खसी झैँ उसलाई मारेर पकाएको कल्पनाले चित्त बाउँडिएर आउँछ । यो किताब पढ्दै गर्दा मेरो मनमा फुर्केलाई पनि कसैले पक्रेर नमारुन् भन्ने चिन्ताले सताइरहेको थियो । तर धन्न, फुर्के काठमाडौँमा थियो र यहाँ कुकुरको मासु खाने मान्छे छैनन्, त्यसैले ढुक्क पनि भएँ ।
यो उपन्यासमा पनि फुर्केलाई माया गर्नेहरू छन्, घृणा गर्नेहरू पनि । डर मानी मानी हिँड्नुपर्ने अवस्था छ र मायाले लुटपुटिने ठाउँहरू पनि छन् । फुर्के समाजको पात्र हो । मानवीकरण गरिएको नेपाली समाजको असली चरित्र पनि हो ।
लेखक लामिछानेको भाषा शैलीको त फुलानी देखि म प्रभावित थिएँ । यहाँ आएर झन् प्रभावित भएकी छु । सरल शब्दमा कुकुरको भावनालाई गहिरो तरिकाले स्पष्ट पारेका छन् । होला र ? हुन सक्ला र ? कुकुरको चेत यति छ र ? त्यसको पछि नलागौँ । लागौँ त फुर्केले दुई जीवन जिउनु परेको छ । घरपालुवा र भुस्याहा बनी । तर जिउने क्रममा ऊ थाकेको थिएन । हार मानेको थिएन । हिम्मत थियो र परिस्थितिलाई मज्जाले व्यवस्थापन गरेको पाउँछौँ । चाहे मानिसहरूबाट दया–माया पाओस् या घृणा–धोका । यस्तो हाम्रो जीवनमा पनि कति होला । यस सब कुरालाई लामिछानेले आकर्षित शैलीमा व्यक्त गर्न सफल भएका छन् । कुनै कुनै वाक्यहरूले अपत्यारिला तर मिठा भने छन् । कुकुरहरूको सोचाइ जुन स्तरमा होस् तर यहाँ व्यक्त फुर्केको स्तर भने मान्नै पर्छ ।
– मेरो कानमा एकोहोरो शङ्ख बजेजस्तो भयो ।
– हाम्रो मायालाई साङ्लाले बाँधेर बाँधिन्न नानी, नडरा ।
– हे भगवान्, मेरो जीवनमा खुसीका पहाड ठड्याएर त्यसमा किन पहिरो चलायौ ।
– मेरो लुते जीवनमा फेरि फूल फुलायौ भगवान् ।
पढ्दै जानु पर्छ कि फुर्के कुकुर हो भनी भुसुक्कै बिर्सिन्छ । र यसरी बिर्साउन सक्नु खगेन्द्र लामिछानेको विशेषता हो ।
साहित्यिक चेत भएको फुर्के तिमीलाई साहित्यिक माया ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

