स्नातक परीक्षा सकिएको भोलिपल्ट मदन पुरस्कार वितरण समारोहको मिति तोकिएको थियो । मदन पुरस्कारका बारेमा धेरै सुने पनि त्यस समारोहमा उपस्थित हुने अवसर भने साहित्य अध्येता शरद प्रधानले जुराइदिनु भएको थियो ।
योजना बनिसकेको थियो तर अफिस पुग्नेबित्तिकै मिटिङ्मा मेरा हाकिम अश्विनी कोइरालाले साहित्यपोस्टले आयोजना गरेको सिनेमा हेर्ने र त्यसका बारेमा लेख्ने जिम्मा मलाई दिनुभयो । मेरो योजना के छ, समय छ–छैन केही नसोधी दिइएको यो जिम्मा मेरालागि अप्रत्याशित र रिस उठ्दो थियो ।
एकछिन अलमलिएँ । कुन सिनेमा हो, कुन समय हो ? मदन पुरस्कारको कार्यक्रमसँग जुध्यो भने मेरो इच्छा यो वर्ष पूरा नहुने भयो । अर्को वर्ष मौका नमिल्ने पो हो कि ? फेरि सम्पादकले अह्राएको काम नगर्ने पत्रकारको लिस्टमा परिने हो कि ? त्यसमाथि नेपाली सिनेमासँग मेरो गहिरो सम्बन्ध छ । बर्मामा नेपालीभाषा सिक्ने माध्यम नै नेपाली सिनेमा थियो । सिनेमा हेर्ने कार्यक्रम छुटाउने मन पनि भएन ।
पछि थाहा भयो, २ बजेदेखि मदन पुरस्कारको कार्यक्रम रहेछ । साहित्यपोस्टको सिनेमा हेर्ने कार्यक्रम चाहिँ साँझ पाँच बजे । ललितपुरको मदन पुरस्कार गुठीबाट सिनेमा हेर्ने स्थल सुकेधाराको अस्कार कलेजको सिनेमा घर पुग्न करिब १ घण्टा छुट्याउनु पर्ने । यही कारण मदन पुरस्कार कार्यक्रम पूरा नगरी हतार हतार सरद सर र म साहित्यपोस्टले साहित्यकारहरूका लागि दसैँ शुभकामना आदानप्रदान तथा सिनेमा हेर्ने कार्यक्रममा ५ बजे पुग्यौँ ।
सिनेमाको नाम रहेछ– महानगर । सिनेमाको सुरुवात मोटर साइकल दुर्घटनाबाट सुरु हुन्छ । एउटा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिएर ड्राइभर भाग्छ । मोटरसाइकल चालक त्यहीँ बेहोस हुन्छ । त्यस्तो बेलामा उसलाई बचाउन दुई अपरिचित जोडी लाग्छन् । त्यही बाइक आशीषले चलाउँछ र बिरामीलाई च्यापेर मेनुका पछाडि बस्छिन् ।
बिरामीलाई अस्पतालमा त पुर्याउँछन् । तर बिरामी को हो ? आफन्त कसरी फेला पार्ने ? यसैमा केही समय बित्छ । संयोगवश बिरामीकै मोबाइलमा डायल भएका नम्बरहरूबाट उसको परिवारसँग सम्पर्क हुन्छ । उनीहरू नआउन्जेलसम्म ती दुई अपरिचितहरू बिरामी रुँगिरहनु पर्छ । यहीँबाट सिनेमाले गति लिन्छ ।
समय सेकेन्ड सेकेन्ड बित्दै जान्छ र दुई अपरिचितहरू बाध्यताले एकअर्कासँग बोल्नुपर्ने हुन्छ । यसैबीच थाहा हुन्छ, केटो बोलक्कड छ । केटीलाई अनेक प्रश्न सोधिरहन्छ । केटी भने सकेसम्म बोल्दिनन् । बोल्नै परे कम शब्दमै काम चलाउँछिन् । केटी जति कम बोल्छिन्, बोलक्कड केटोमा ती युवतीप्रति आकर्षण बढ्दै जान्छ ।
यसैबीच उनीहरूलाई भोक तिर्खाले अस्पतालको क्यान्टिनसम्म लैजान्छ । जहाँ भेटिएको बालमजदुरको काटिएको औँलाले युवतीको ध्यान आकर्षित गर्छ । त्यति मात्र होइन, ऊ जाडोमा न्यानो लुगाबिना काममा खटिएको हुन्छ ।
बिरामीका आफन्तहरू आएपछि युवकले बिरामीको बाइक लिएर युवतीलाई उसको कोठासम्म पुर्याउँछ । त्यसपछि सिनेमाले कथामा जुन मोड ल्याउँछ, खासमा त्यही नै ‘महानगर’ सिनेमाको कथा हो ।
महानगर पूर्णतः एक रातको कथा बोकेको सिनेमा हो । यही कारण सिनेमाको पोस्टरमा सानो अक्षरले एक रातको काठमाडौँ (One Night in Kathmandu) पनि लेखिएको छ । तर यो कुरा सिनेमा हेरेपछि मात्र बुझिन्छ ।
रातभर युवक र युवती काठमाडौँका अनेक गल्ली, फाँड र डाँडाहरूमा रात बिताउँछन् । यही रात उनीहरूको सम्पूर्ण कथा थाहा हुन्छ । रातको सुनसान सडकमा कुकुर भुकेको आवाजले काठमाडौँलाई कता कता जीवित बनाउँछ । फाट्टफुट्ट कुद्ने सवारी साधन, एकादुई पागल वा रक्स्याहाले काठमाडौँमा उनीहरूबाहेक अरू पनि मान्छे छन् भन्ने सङ्केत दिन्छ ।
सिनेमाको मुख्य विशेषता नै सरल र मिठो तरिकाले बहेको साहित्यिक संवाद हो । कतिपय संवादले मुटुलाई चस्स छुन्छ । दुई पात्रमध्ये दुई नै दुःखी छन् तर दुःख भए पनि युवकले बाँच्ने शैली जानेको छ । युवती अबोध छिन् र जीवनको विविध पीडाबाट गुज्रिएकी छिन् । जसलाई पुरुषले शब्द र वाक्यका जादुले लोभ्याउँदै जान्छ र युवतीको जीवन परिवर्तन गर्छ ।
युवती कवि बन्न चाहन्छिन् । उनले आफ्ना डायरीमा लेखिएका कवितामा जीवन पोखिरहेकी हुन्छिन् । युवक टुरिस्ट गाइड हुन्छ तर उसका कुरा माझिएका कविका जस्ता प्रतीत हुन्छ । यही कारण सिनेमामा युवक सुनिरहूँ जस्तो सुनिन्छ भने युवती हेरिरहूँ जस्ती । निर्देशकले दुवैलाई मज्जाले मिलाएर राखेका छन् ।
रातभरिको हिँडाइमा उनीहरूले देशमा व्याप्त बेरोजगार, वैदेशिक रोजगारको कथा, कतारबाट फर्केको युवकमार्फत बियर पाउँछन् । बियरका बोतलबाट जीवनमा आएको परिवर्तन देखिन्छ । बिहान हुँदासम्म युवती अर्कै भइसकेकी हुन्छन् भने युवक आफ्नो स्थानमा पुगिसकेका हुन्छन् ।
यसरी महानगर सिनेमाले नेपालको राजनीतिक, सामाजिक अव्यवस्थित चित्रलाई डटपेनले केरेझैँ देखाएको छ ।
सिनेमाको सबैभन्दा रमाइलो दृश्य दुबैले पिएको बियर र त्यसले उब्जाएको रमाइलो हो । मदिरा कहिल्यै नपिएकी युवतीले जब बियरको चुस्की लिन्छे, ऊ खुल्दै जान्छे । शायद त्यहाँ पिउनुको मज्जा नै बेग्लै होला, चिसो रातमा अनजान साथीसँग । भित्रभित्रै मलाई पनि रोमाञ्च भरिदिन्छ, दर्शकको रूपमा ।
बियरको मातले युवतीलाई गुम्सिएका पीडा ओकल्न मद्दत गर्छ । उसलाई चिच्याउन मन लाग्छ । ऊ यसरी चिच्याउँछे कि मनभित्रको नैराश्य सबै पग्लिन्छ । काठमाडौँ चिसिएको रातमा युवतीका पीडा छ्यालब्याल पोखिन्छन् । मानौँ यो नै सिनेमाको घतलाग्दो पक्ष हो ।
आखिरमा युवतीको “खुसी” भन्ने कविताले सिनेमाको अन्त्यको सङ्केत गर्छ ।
यो सिनेमा वैकल्पिक धारको सिनेमा हो । यसले सबै खालका दर्शकलाई तान्न नसक्ला । कला सिनेमाको लोकप्रियता कतिको छ म अनजान छु । मुख्यतः यसले कलाको गहिराइसम्म पुगेर साहित्यिक पक्षलाई समेट्न सफल भने भएको छ । दर्शकलाई आफूसँगको काठमाडौँको रात्रि जीवनमा दुईजना पात्रहरूसँगै लिएर डुलाउँछ । यसअघि रात्रि काठमाडौँ चियाउने मेरो इच्छा यो सिनेमाले पूरा गरेको छ ।
सुरुमा लागेको थियो निर्देशकले सिनेमाको नाम “महानगर” भनी किन हाइलाइट गरेका होलान् ? तर सिनेमाको मर्म बुझेपछि थाहा भयो, जुन काठमाडौँको परिवेशलाई रात्रि महानगरमार्फत् देखाउनु रहेछ । देशको राजधानी शहर यस्तै सुनसान हो त ? रातमा पनि काठमाडौँ चलायमान हुन सक्दैन ? जनताले देख्ने काठमाडौँको सपना यही हो ? भन्ने प्रश्नहरूको कारणले पनि महानगर फिल्म सन्देशमूलक बनेको छ ।
भीडमा पनि एक्लो हुनुको नाम न हो, काठमाडौँ । युवती महानगर भीडमा हराउनु स्वाभाविक हो । तर युवतीलाई यो महानगरमा एउटा थेरापी चाहिएको थियो, जुन युवकमार्फत् पूरा भएको छ । यसरी महानगरमा आफैँसँग हराएका हजारौँ युवायुवतीहरू कुनै न कुनै रूपमा महानगरले देखाएको थेरापीमा रमाएका छन् ।
यति हुँदाहुँदै पनि यो सिनेमाको मुख्य नारा चाहिँ, “यो पनि टरेर जानेछ” भन्ने नै हो ।
दर्शकका रूपमा भन्ने हो भने, मलाई यो सिनेमाले प्रेरणा दियो । यति सुन्दर सिनेमा देखाउने साहित्यपोस्ट टिम र सिनेमाका निर्देशक मोहन राईलाई हार्दिक धन्यवाद । साहित्यकारका लागि बेला बेलामा यस्ता सिनेमा देखाइयोस् र हामीले यसैगरी लेख्न पाऊँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।