प्रेरणा हराए । अचानक हराए । काठमाडौंमा कतै देखिएनन् पनि र कसैले उनलाई भेटेनन् पनि । अमेरिकामा पनि कसैले देखेनन् र आएको थाहा पनि पाएनन् ।

कस्तो अचम्म ! उनको नवीनतम लघुकथा संग्रह ‘बिसौं शताब्दीको अद्वितीय खेल’ पुस्तकको विमोचनको भोलिपल्ट देखि उनी बेपत्ता बने ।

करीब दुई महिना बेपत्ता बने ! अभिन्न र पुरानो मित्र भएको कारण उनको अमेरिका फिर्ता हुने समय मलाई थाहा थियो । तर अमेरिका आइपुगेको खबर आएन । धेरै चोटि उसको फोनमा सम्पर्क गर्ने प्रयत्न बेकाम बन्यो । उनको फेसबूक अपडेट भएनन् । इमेलको जवाफ आएन । उनका अरू नजिकका सँग यता आइपुगेको सोधखोज गर्दा पनि अत्तोपत्तो पाउन सकिएन ।

कतै नेपाल मै पो छन् कि ?  नेपालमै रहेका उनी सँगका नजिकका साहित्यिक मित्रहरूसँग खै खबर गर्दा पनि उनको अवस्था पत्तो लागेन । सबै भन्थे उनको पुस्तक ‘बिसौँ शताब्दीको अद्वितीय खेल’को विमोचनको भोलि पल्ट अमेरिका उड्ने कार्यक्रम थियो । त्यस पछि कसैले उनलाई देखेनन् र भेटेनन् पनि । उनी लामो समय सम्म बेखबर बने !

धेरै लामो सङ्गत गरेको मित्र । अमेरिकाको साहित्यिक कार्यक्रमका अभिन्न सहयोद्धा । हामी बीच साहित्यिक कुरा बाहेक अन्य विषय गौण हुन्छन् । प्रवासमा दुई दशक भन्दा धेरै समय हामीले साहित्यिक प्रकाशन र कार्यक्रमका खाका र कार्यक्रम सम्पन्न गर्नमा बिताएका अभिन्न मित्र । प्राय जसो दैनिक कुराकानी हुन्थ्यो  । नभए मेसेन्जरमा खबर आदानप्रदान हुने गर्थ्यो । अचानक सम्पर्क टुटेको करीब दुई महिना बढी नै भैसकेको थियो । चिन्ता त हुने नै भयो ।

सञ्चार र प्रविधिले उन्नत विकास भएको युग । धेरै सम्पर्क गर्ने प्रविधिको विकास हुँदा हुँदै पनि के कारणले हाम्रो सम्पर्क हुन सकेन ? प्रश्न गम्भीर र जटिल थियो । बर्तमानमा हामी बाँचेको युगमा सामाजिक सञ्जाल र प्रविधिको विकासले संसारको कुनै कुनाको मान्छेसँग सम्पर्क गर्न असम्भव छैन । तर थाहा छैन नेपाली साहित्यका वरिष्ठ साहित्यकार मित्र कोही, कसैसँग बिना सम्पर्क धेरै समय चूपचाप बसे ।

कोही भन्थे लेखक ठूलो साधनामा लीन छन् । कुनै नेपाली साहित्यको गहन सिर्जना गर्नमा व्यस्त छन् । कोही भन्थे उसको साधनामा हामी बाधक हुनुहुन्न । म उनको अन्तरङ्ग मित्र र लामो सङ्गतको भएको कारणले त्यो कुरा मान्न मेरो मनले मान्दै मानेन । त्यो उनको स्वभाव पनि थिएन । थुप्रै वर्षको उनी सँगको सङ्गतको प्रभावले गर्दा त्यस्तो कुरामा मेरो विश्वास थिएन ।

मित्र गोविन्द गिरी प्रेरणाको खोज तलासको समूहमा जोडिए वरिष्ठ साहित्यकार कृष्ण धरावासी र गीतकार ज्ञानेन्द्र गदाल ।

धेरै मित्र र शुभचिन्तकका फोन बज्न थाले । उनको खै खबरका हाल सोध्न थाले । तर म नाजवाफ बने ।

धरावासीले उनको छोराको साथीसङ्गी देखि अन्यसँग खोज तलासको दायरा फराकिलो बनाए । ज्ञानेन्द्र जीले धेरै तिर फोन घुमाए । थुप्रै साहित्यिक र नजिकका मित्रहरूले चासो देखाउन थाले । तर केही समय पछि अचानक एकदिन ज्ञानेन्द्र जीले खबर ल्याए ।

‘साहित्यकार मित्र गोविन्द त यतै अमेरिकामै छन् ।’

‘कहाँ छन् ?’

‘यतै भर्जिनियाको घरमै छन् ।’

‘के कस्तो स्थिति छन् ?’

‘सबै रामै सकुशल नै छन् ।’

‘हँ साँचै हो र ?’

अचम्म । यस्तो त कहिले भएकै थिएन । काठमाडौं छोडेको देखि डालस विमानस्थल पुगेको खबरसम्म फेसबुकमा पोस्ट गर्ने मित्र । के भो ? रहस्य गर्भ मै रह्यो ।

सोधें ‘उनीसँग नै कुरा भएको हो ?’

भन्छन्, “गोविन्द जी श्रीमती सहित यतै छन् र उनीसँग वार्ता गरेकै हो ।”

कृष्ण धरावासी जी र म छक्क पर्यौं । तर हामी कसैसँग पनि उनले सम्पर्क गरेका थिएनन्  । कारण र अवस्थाको कुनो कुनो खोतल्ने प्रयत्न गरियो ।  तर कुनै त्यस्तो तत्व फेला पार्न सकेनौ । किन उनी कसैसँग सम्पर्क गर्न अनिच्छुक बने ? प्रश्न यथावत् रहे ।

करीब तीन महिना सम्पर्क विहीन बनेका गोविन्द जी एक दिन कृष्ण धरावासी कहाँ पुगेछन् । त्यहींबाट कृष्णजीले अप्रत्याशित रूपमा फोनमा मलाई जोडिदिए । उनको फोन र कम्प्युटर यात्रामा हराएको कारण सम्पर्क गर्न वञ्चित बनेको उसको स्पष्टीकरण । तर हामी कसैले यो ‘कारण’ प्रति चित्त बुझाएनौं । कारण जे होस् जस्तो होस् मित्र सकुशल रहेछन् । त्यो भन्दा ठूलो खुशीको कुरा के हुन्छ र । अब हाम्रो साहित्यिक अभियानले झन् गति लिनेछन् । यो सुखद कुरा हो ।

उनी सम्पर्कमा आएको केही दिनपछि हाम्रो पारिवारिक भेट भो । उनले नेपालबाट कोसेली लिएर आएछन् । उनको नवीनतम कृति “बिसौँ शताब्दीको अद्वितीय खेल” लघुकथा संग्रह ।

नेपाल स्रष्टा समाज, काठमाडौंबाट प्रकाशित यस पुस्तकमा पचास वटा लघुकथा समावेश छन् । नेपाली साहित्यमा विविध विधामा कलम चलाउन सक्ने सिद्धहस्त साहित्यकार गोविन्द गिरी प्रेरणाको अर्को उनको नयाँ विधा लघुकथा संग्रह भर्खरै प्रकाशित कृति हो । तीसको दशक देखि नै साहित्यिक अनेक विधामा कलम चलाएका साहित्यकार गोविन्द गिरी प्रेरणाले आफ्नै सम्पादनमा ‘नेपाली लघुकथा’ नामक पत्रिकाको प्रकाशन पनि गरेका थिए ।

आकर्षक आवरणमा ९४ पृष्ठको लघुकथा संग्रह ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ पुस्तकको भूमिका नेपाली साहित्यका विद्वान डा. दयाराम श्रेष्ठले लेखेका छन् । नेपाली कथा साहित्यका विद्वान डा. दयाराम श्रेष्ठले यस लघुकथा संग्रहमा समावेश भएका पचास वटा लघुकथालाई विभिन्न प्राकृतिक रङ्गमा चोबलेर रङ्गिन बनाइदिएका छन् । लघुकथालाई विभिन्न कालो रङ्ग, पहेंलो रङ्ग, सेतो रङ्ग अनि छ्यासमिसे रङ्गको गुण सँग तुलनात्मक तवरले प्रष्ट्याएर आमपाठकलाई अध्ययन गर्न सरल बनाइदिएको छ । उनको विचारमा यस संग्रहमा संग्रहित लघुकथा सबै नै उम्दा नभए पनि सबै लघुकथामा कथामा हुनु पर्ने सबै तात्त्विक विशुद्धता पर्याप्त रहेको घोषणा गरेका छन् ।

कथाको परिभाषामा कथा भन्नाले गद्यमा लेखिएको आख्यानयुक्त प्रबन्ध-काव्यको यथाशक्य सानो रूप भन्ने बुझिन्छ। त्यसै गरी लघुकथा भन्नाले आधुनिक कथात्वले पूर्ण भएका ससाना कथा या छोटो कथा भन्ने बुझिन्छ । कथाको सानो रूप नै लघुकथा हो ।

नेपाली साहित्यका बहु विधामा कलम चलाउने प्रेरणा नेपाली साहित्यमा एक दुर्लभ लेखक हुन् भन्दा फरक नपर्ला ! उनी नेपाली साहित्यका एक वेगवान् घोडा हुन् । यसर्थमा कि विगत पाँच दशकदेखि नेपाली साहित्यका विविध विधामा उनको कलम घोडा जतिकै दौडिरहेका छन् । निरन्तरता, इमानदारिता र कर्मठता उनको विशेषता नै हुन् ।

नेपाली साहित्यमा प्रेरणा नहुँदै चिनेको मैले गोविन्द गिरीको नेपाली साहित्यमा लगनशीलता र योगदानको कदर जति गरे पनि कमै हुन् जान्छ । मेरो उनी सँग धेरै लामो साथ सङ्गत भएको अनुभवको आधारमा यो भन्न सकिन्छ साहित्य सिर्जनामा उनी कतै रोकिएको, ठोकिएको र विश्राम लिएको मलाई सम्झना छैन । त्यसैले नेपाली साहित्यमा उनी लामो दौडको घोडा हुन् । जसको जति प्रशंसा गरे पनि कम नै हुन् जान्छ ।

यस संग्रहमा संग्रहित सबै कथामा आमनेपाली समाजमा विद्यमान विकृति-विसङ्गतिको व्यापक रूपमा गतिलो व्यंग्य प्रहार  गरेको पाइन्छ । त्यसैगरी नेपाली समाजको आर्थिक, राजनैतिक र सामाजिक तप्कामा भएका विचलन र अनियमितता प्रति सशक्त रूपमा लघुकथा मार्फत उदाङ्गो पारेका छन् ।

यस संग्रहका भूमिकाकार विद्वान डा. दयाराम श्रेष्ठले आफ्नो भूमिका अन्तर्गत कालो रङ्गको पृष्ठमा लेख्छन्, ‘लेखक गोविन्द गिरी प्रेरणा आफू बसेको समाज, देश र परिवेश सफा, शुद्ध र पवित्र नदेखेर विभिन्न कालो रङ्गको तरेली पत्रैपत्र भएर बसेको देख्छन् । यसै सन्दर्भमा उनी व्यंग्यको धारिलो हतियार लिएर सरकार, प्रशासन राजनीतिज्ञ र अन्य विभिन्न तप्काका खराब आचरणका मसिहा माथि जाई लाग्छन् ।  यसै गरी लेखक आफ्ना लघुकथा मार्फत निडर र कठोरताका साथ ती विसङ्गति, बेथिति र अन्याय प्रति व्यंग्यवाण प्रहार गर्न तम्सिन्छन् । यस परिप्रेक्ष्यमा लेखक सफल भएको ठान्दछु ।

यस संग्रहका केही प्रतिनिधि लघुकथाको बारेमा संक्षिप्त रूपमा प्रकाश पार्ने प्रयास गर्नेछु । ‘दन्त्यकथा’ शीर्षकमा पञ्चायती व्यवस्थाको बेलाको झझल्को देखिन्छ । त्यस समयका भुक्तभोगी हाम्रो सम्झनामा आइरहने पञ्चायती व्यवस्थाको सानो अंशको झलक अनुभव गर्न सकिन्छ । राजा महाराजाको नाममा भाइ भारदारले शासन गरेको कथाको सम्झना दिलाउँछ ।

‘स्वतन्त्रता’ पूर्ण प्रजातन्त्र र वाक स्वतन्त्रताको खिल्ली उडाएको एक राजनैतिक व्यंग्य लघुकथा हो । ‘विज्ञप्ति’ मा पद, सत्ता र शक्तिले समाजलाई सत्यको हत्या गरेर असत्यको प्रचार प्रसार कसरी गर्छन् भन्ने कुरा छ । यस लघुकथाले हामीले सानै हुँदा पढेको ‘बादशाहको नयाँ लुगा’ (emperor’s new cloth) कथाको सम्झना ताजै गराउँछ । राजा नाङ्गै सडकमा हिंडेको कुरा भाइभारदार र निरीह जनताले भन्न नसकेको कुरा एउटा सानो बालकले सत्य बोलेको कुराको कथा छ त्यसमा । सत्ताका बुख्याचाहरूले जनतालाई कसरी अन्धो बनाउन प्रयत्न गर्छन् त्यसको एउटा सानो झिल्को हो यो कथा ।

मलाई मन पर्ने अर्को “फुलमतीको सारी” लघुकथा हो । यस कथामा नारी सचेतना, सांस्कृतिक सुधार र सामाजिक विद्रोहको कुरा छ । पुरुष प्रधान समाजमा एक अबोला नारीले विद्रोहको शंखघोष गरेको प्रगतिशील चेतना प्रवाहको कथा छ ।

यस लघुकथा संग्रहमा संग्रहित धेरै कथाहरू निकै उम्दा छन् । केही लघुकथाका कथाहरू नाटकीय जस्ता लागे पनि  प्रस्तुत लेखन शैलीका कारण सहज लाग्छन् । आम पाठकलाई उनको शैली र प्रस्तुतिले गर्दा पात्रहरू सजीव र जीवन्त लाग्दछ । यही नै उनको विशेषता हो । यसर्थ नेपाली साहित्यको लघुकथा विधामा यस संग्रहले आफ्नो विशिष्टता प्रदान गर्न सक्छ भन्ने मेरो विश्वास छ । यस अर्थमा लेखकले नेपाली साहित्यको लघुकथा विधामा गरेको कार्यको सराहना गरिनु पर्छ भन्ने मेरो मान्यता छ ।

पचास वटा लघुकथा संग्रहित यस लघुकथाका सबै कथा एक वा डेढ पन्नामै सीमित छन् । यसर्थ पाठकलाई अध्ययन गर्नको लागि धेरै लामो समय खर्चन आवश्यक पर्दैन । प्राय सबै कथाले एकपटक सोच्न बाध्य पार्छ । किनकि सबै कथाले आजको नेपाली समाज भित्रको कुरीति, विसङ्गति, बेथिति प्रति कडा प्रहर गरी व्यंग्य गरेका छन् । जुन हामीलाई पर्गेल्न हाँडे ओखर जस्तो साह्रो भै फुटाउन कसरत गरिरहन पर्दैन । प्रेरणाका लेखन शैली सरल, सहज र बोधगम्य छन् । जुन उनको लेखन कलाको विशेषता नै हो ।

यसर्थ साहित्यकार गोविन्द गिरी प्रेरणाको यो लघुकथा संग्रह “बिसौं शताब्दीको अद्वितीय खेल” पठनीय र संग्रहनीय छ । लेखक मित्रलाई कृतिको अपार सफलताको हार्दिक शुभकामना !!!

अस्तु !

भर्जिनिया, अमेरिका