
आफ्ना अनुभवहरू समाजलाई दिनु ठूलो उदारता हो । यदि हामीले आफ्नो ज्ञान, क्षमता लुकाउँछौँ र त्यसलाई प्रकट गर्दैनौँ भने त्यो आफैँलाई पनि गह्रौँ भारी हुन सक्छ ।
तपाईंले कविता कहिलेदेखि लेख्न थाल्नु भयो ? सामान्यत: यो प्रश्नसँग जोडिएर आउने धेरैजसो उत्तर हो- ‘मैले कविता स्कुल पढ्दादेखि नै लेख्न सुरु गरेको थिएँ अथवा केटाकेटी उमेरदेखि नै पनि हुनसक्छ । तर पछिसम्म लेखिरहन सकिनँ।’
तर यो उत्तरभन्दा पृथक कविता लेखन र प्रकाशनको उदाहरण हुन् – कवि शीला योगी। शीला योगीकृत कवितासङ्ग्रहको नाम हो – सपनाका मेघमाला। यस सङ्ग्रहलाई पहिलो प्रयासको खुसीका रुपमा लेखकले नै स्वीकारेको र प्रस्तुत कविताहरूका विषय वस्तु, सन्दर्भ र दृष्टिकोणको अध्ययनबाट पनि यी कविता लेखकको बाल्यकाल वा युवा अवस्थाका होइनन् भनेर अनुमान गर्न सकिन्छ।
सेवा निवृत जीवनमा आफ्ना अनुभवहरु लेख्नु र त्यसबाट अरूलाई प्रेरित गर्नु आफैँमा महत्त्वपूर्ण कर्म हो। आफ्ना अनुभवहरू समाजलाई दिनु ठूलो उदारता हो। यदि हामीले आफ्नो ज्ञान क्षमता लुकाउँछौँ र त्यसलाई प्रकट गर्दैनौँ भने त्यसले आफैँलाई पनि गह्रौँ भारी हुन सक्छ । अरूलाई प्रेरणा पनि हुने र आफ्नो भारी पनि कम हुने हुँदा अनुभव किन नबाँड्ने त ? यदि आफ्नो अनुभवको भारी हामीले बिसायौँ लेख सिर्जना मार्फत भने त्यो अरु कसैका लागि अगाडि बढ्ने प्रेरणा स्रोत बन्न पनि त सक्छ। यस्तै अनुभवको सँगालो हो- कवि ‘शीला योगी’कृत कवितासङ्ग्रह – “सपनाका मेघमाला”।
कम्लरी वा कमलरी, एकप्रकारको दासी, जो जमिनदारको घरमा आजीवन निशर्त श्रम पसिना बगाउँछन्, तिनको सम्बन्धमा लेखिएको पहिलो कविता हो, कम्लरी ।
मेरो हुर्कंदै गरेको बाल्यकाल
एकैचोटी कम्लरीको मूल्यमा बिक्री भएछ ।
यो कविताको शीर्षक परम्परागत शैलीकै लाग्छ । कविता पनि परम्परागत शैलीकै बयान वा वर्णन बोकेर अगाडि बढेको छ तर पनि सामाजिक विभेदको यो एउटा पाटोका विरुद्ध विद्रोह,आक्रोस र चेतना मुखरित गरेको छ यस कविताले ।
तिमीजस्ता काला दैत्यहरूलाई
एउटै चिहान बनाउन चाहन्छु
अनि त्यही चिहानमा महिला मुक्तिको विगुल फुकेर
एउटै जातिको मान्छेको बस्ति बसाल्न चाहन्छु ।
कम्लरी,शीर्षकको ५ पेज लामो यस कविताको उद्घोष र सन्देश महत्त्वपूर्ण छ । कविताले विभेदमुक्त समतामूलक समाज निर्माणको अपेक्षा राखेको छ ।
‘हरेक बिहानीले शुरुवात गर्छ’ यो सङ्ग्रहको दोस्रो कविताको शीर्षक हो । यसै शीर्षकले समग्र कविता र सन्देश बोकेको छ । अझ यसमा “बिहानीले” पछि नयाँ थपिदिएको भए २ पेजको कविता एकै लाइनमा सकिने देखिन्छ । तर कविताको शीर्षकले नै मात्र दिने निष्कर्ष वा सन्देशले कविताको समग्र परिस्थिति र कविले निर्माण गरेको परिवेशका बारेमा पाठकलाई पूर्ण सन्देश दिन सक्दैन । कविले दिने निष्कर्ष वा परिस्थिति र परिवेशसहित हुनु राम्रो हो । यसरी हेर्दा यो कविताको शीर्षक बिहानी मात्र हुँदो हो त कविले निर्माण गरेको चेतनाको परिवर्तनको र मुक्तिको लामो बाटोमा पाठकलाई डोर्याउन सक्थ्यो कवि भावनाले ।
तिर्खाएको मन, यस कवितामा परिवर्तनका लागि, न्याय प्राप्तिका लागि समग्र मुक्तिको लागि लडेको योद्धा परिवर्तन पछिको वातावरण, चाकरी, चाप्लुसी, अपमान आदि देखेर विरक्त हुन्छ । लोकतन्त्र अपेक्षित परिणाममुखी हुन पो सकेन कि ? यस प्रकारका असन्तुष्टि यस सङ्कलन अन्यत्र पनि सङ्केत गरिएको छ । यो सङ्केत समकालीन नेपाली समाजको तितो यथार्थ हो ।
ऊ मरेकी छैन,बाँचेकी छ
मेरो छोरीको आगमनले
यहाँ रात तर्सिनेछ
भाग्नेछन् अँध्यारोमा कराउने स्यालहरू
म छोरीलाई भेट्नेछु अवश्य
यो पर्खाइ सगरमाथाको अग्लाइभन्दा उच्च छ
यही हो अन्तिम इच्छा ।
अन्तिम इच्छा, यस कविताका यी अन्तिम हरफ हुन् । छोरीको बलिदानी र बिम्बले नयाँ उत्साह सञ्चार गरेको छ परिवर्तन र जीवनमा खुसी ल्याउनका लागि । यस कविताको अन्तिमको एक लाइनमा पनि निष्कर्ष नखुलाएकै भए कविताको तत्त्व जोगिने थियो, जुन कुरा शीर्षकमा पनि थियो । सगरमाथाकै उचाइभन्दा माथि पुगेपछिको प्राप्ति वा तृप्तिको मापन गर्ने मौका पाठकले पनि पाउनुपर्छ । कविताले छोरीको बलिदानी खेर नजाने आशा राखेको छ ।
“गणतन्त्र र नाङ्ग्ले पसलनी” यस कविताले गणतन्त्रका लागि भोको पेट सडकमा लडेकाहरूलाई गणतन्त्र आएपछि महानगरका नायकहरूले प्रहरी लगाएर लखेटेको र तिनका नाङ्ग्ला, डोका र ठेला खोसेको दुखान्त दृश्य सम्झाउँछ । गणतन्त्र स्थापनाका लागि भएको १९ दिनको जन आन्दोलन २०६२-६३ मा मजदुरले बलिदान त गरे तर तिनै गरिखाने वर्ग समुदायप्रति राज्यको व्यवहारले अर्को विद्रोहको लागि छोरीले पनि आमालाई आग्रह गरेको छ –
मेरी छोरी मलाई
अब चुप लागेर बस्न नदिने भैसकी
उसको कुराले मलाई
हिजोभन्दा अझै जोश ल्याउँदै छ
हिजोको भन्दा अझै आक्रोशित तुल्याउँदै छ
र यही नाङ्ग्लो पसलबाट
हिजोको भन्दा चर्को आन्दोलन
फेरि सुरु गरौँ गरौँ लाग्दैछ ।
गणतन्त्र नेताहरूलाई मात्र आएको र उनीहरू नै राजा बनेर राजाकै खोजि गर्न थालेकोमा पनि श्रमजीवी आमालाई प्रश्न गर्छिन् छोरी-
“खोइ त,तपाईंको गणतन्त्र आमा !
खोइ त, तपाईंको नयाँ नेपाल आमा”
लाङटाङ र आङा आले, लाङटाङ हिमालको काखको समुदायले गरेको विद्रोहको अनुभूति प्रकट भएको छ यस कवितमा ।
धेरै आले र आङाहरू
मैले हेर्दा हेर्दै ढले
बन्दुकको गोली लागेर
… … … … ।
मैले चिनेको छु
मेरो आलेको गोठ भत्काएर
मैदान बनाई परेड खेल्नेहरूलाई
… … … … ।
चोट सहनु झुक्नु होइन । चोटबाट नै परिवर्तनको आगो सल्किन्छ । बस यही सोचेर म, यस्ता कविता शीर्षकबाट पाठक अलमिए पनि एकै पटक आँखाले भ्याउने यस कविताले परिवर्तनप्रतिको तीव्र इच्छाका साथै बलिदान र आँसुको मूल्य खोजेको छ ।
सपनाका मेघमाला, समग्र कविताको शीर्ष कविता रहेको यस कविताले गन्तव्यमा नपुगी सफलताको शिखर पुगेको ठान्नेहरूको रगतमा तातो र मनमा खुसी नहुने सन्देश बोकेको छ । परिणाम हात परेन भनेर निराश नुहुनु बरु आफूसँग भएको तातो र रातो रगत लिएर बलिदानका लागि तयार हुनु । सङ्ग्रहले फुटकर कविता कम तर सपनाका मेघमाला काव्य श्रृङ्खला अलिक बढि बोकेको महसुस हुन्छ ।
तिमीसँग रातो रङ्ग छ बाँकी
छरिदेऊ आकाश नै रातो हुने गरी
बन्द हुन्छन्
बेमौसमी फुल्ने फूलहरू
राता थुम्का थुम्का बनेर बादलहरू मडारिँदै
गडगडाउन सुरू गर्छन्
अनि बर्सिन्छन्
झुप्राका बलेनीहरूबाट राता राता धाराहरू
भो नबनाऊ मन उदास
बर्सिन्छन् फेरि सपनाका मेघमालाहरू ।
लोग्ने मान्छे, लोग्ने मानिसमा पनि स्वास्नी मानिसमा जस्तै मानवीय भावना र आन्तरिक संवेदना हुन्छन् । तर उसलाई कठोर बनाउन प्रयास गरिन्छ र त्यही सिकाइन्छ । रुनु हाँस्नु मानिसका स्वाभाविक गुण हुन् तर लोग्ने मान्छेमा किन मानिसका स्वाभाविक गुण कम महसुस हुन्छन् ? शीला योगीको कवि मन यसरी प्रकट भएको छ-
उसको संवेदनालाई
पुरुषत्वको पिंजडामा कैद गरिएको छ
उसलाई धेरै पटक बहादुरीको तक्मा भिराए
‘तिमी त मर्द हौ’ भनेर … ।
कवितासङ्ग्रहको प्रधान पात्र वा विषयकारुपमा छोरीको सन्दर्भ, पुरातान मान्यता वा विभेद विरुद्धको विद्रोह,परिवर्तनका लागि भएको बलिदानले पूर्णता नपाएकोमा खबरदारी आदि छन् । सङ्ग्रहको प्रकाशकसमेत कविकै छोरी डाक्टर तितीक्षा शर्मा हुनु संयोग मात्र नभएर अवसर पनि हो । स्वयं कविले सामाजिक जीवनमा देखे भोगेका र बुझेका विषय हुनुपर्छ यी । छोरीको साहस र स्वतन्त्रता व्यावशायिक सुन्दरता वा प्रदर्शनीको विषय नहोस भन्ने कविको चाहना छ ।
छोरी !
तिम्रो स्वभिमानभन्दा सुन्दर केही छैन
स्वतन्त्रता र आधिकारका नाममा
तिम्रो शरीरलाई मुनाफाका लागि प्रयोग गर्नु
किनबेच हो मानिसको
यो कुरुपता कसरी सुन्दर हुनसक्छ ?
मलाई विश्वास छ
तिमी झुक्किने छैनौ स्वतन्त्तरताका नाममा ।
-छोरीलाई चिठी,पेज ३९
कविको स्वीकारोक्ति छ- ‘व्यक्तिगत जिवनका भोगाइ, सामाजिक विभेद, नेकपा माओवादीको स-सस्त्र जनयुद्ध, देशभित्रका आन्तरिक समस्या, बाहिरी हस्तक्षेप, राजनीतिक र आर्थिक असमानताका अतिरिक्त नेपाली जीवनलाई नजिकबाट देखे भोगेका अनुभूतिले पनि मलाई कविता कोर्न घचघच्याए ।’
कविमा भएको भावना, अनुभव, विषयप्रतिको दृष्टिकोणका आधारमा अर्को अनुमान गर्न सकिन्छ- कवितामा भन्दा निबन्ध वा संस्मरणमा उनको अभिव्यक्तिमा सहजता र सन्देश प्रकट गर्न सहयोगी हुनसक्छ ।
मेरो प्रेम बसेछ, मूल्यहीन श्रम, जीवित अक्षरहरू, बिराना आफन्तहरू, रित्तो काख, एउटा यात्रा, बेवारिसे वर्तमान, आकाशको रङ, सपनाका गीतहरू, गर्भ, उनकी आमा र जुकाहरूलाई मिल्काइदेऊ समेत २२ वटा कविताको यो सङ्ग्रह एकै बसाइको एकैछिनमा पढेर छिचोल्न सकिन्छ । सबै कविताहरूको बेलिबिस्तारले पनि पाठकहरूका लागि न्याय गर्दैन वा कविताको परख गर्ने मौका दिँदैन । तसर्थ बाँकी कविताको परख गर्ने जिम्मा पाठकहरूलाई नै छोड्दै कविबाट अनुभव र विचारका यस्ता मेघमाला विपना बनेर बर्षिरहून्, शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

