साहित्य लेखन र पठनमा रुचि राख्ने मान्छे म । त्यसमा पनि पछिल्लो चरणमा हास्यव्यंग्य लेखनमा लहसिपछि नेपालबाट सिद्धहस्त हास्य व्यंग्यकारहरूका पुस्तक मगाएँ । त्यसमा कमै नाम सुनिएका र चिनिएका राजेन्द्र कार्कीको ‘खाइराइड’ नामक पुस्तक पनि थियो ।

शुरूमा सिद्ध हस्त भनेको सिद्ध हस्तै हो नि भन्ठानेर सुपरिचित लेखककै किताब पढें । त्यसपछि, पालो आयो खाइराइडको । किताबको नामले मलाई एकै छिन् रिंग्यायो । थाइराइड भन्ने रोग त सुनेकै थिएँ । यो खाइराइड चाहिं के रहेछ भन्ने कौतुहलताले कुत्कुत्यायो । यसकारणले पनि हो दोस्रोमा छानियो – खाइराइड ।

नेपाली साहित्य बजारमा ‘निबन्ध’ कमै आउँछन् । झन् हास्यव्यंग्य निबन्ध त औंलामा गन्न पनि मुश्किल पर्ला । त्यस्तो वेलामा पहिलो संस्करण प्रकाशन भएको वर्ष दिन नपुग्दै  खाइराइडको दोस्रो संस्करण आइसकेको भन्ने सुनियो । त्यस कुराले त झन् मलाई पुस्तक पढ्न ऊर्जा प्रदान गर्‍यो ।

शुरूमै पल्टाएँ शीर्षक निबन्ध – “खाइराइड” । पढेपछि थाहा भयो- नेपाली हास्यव्यंग्य साहित्यको इतिहासमा नयाँ युगको शुरूवात भएछ ।

खाइराइडको राइड लिएपछि ओर्लन मनै लागेन । हुन त जीवनमा रमाइलोको लागि रडाइहरू धेरै चढियो – अग्ला राइड, होचा राइड, एक्सप्रेस राइड, स्लो मोसन राइड । ती सबै राइडहरू भौतिक थिए । तिनीहरू रोमाञ्चक अवश्य थिए तर तिनले दिने रमाइला अनुभूतिहरू क्षणिक थिए । खाइराइड चाहिं बौद्धिक राइड थियो । खाइराइडको राइडले  मनोरञ्जन मात्र दिंदैन, आफैंलाई चिन्ने अवसर समेत दिन्छ । आफू बाँचेको समय, समाज, राजनीति र सामाजिक सम्बन्धलाई नजीकबाट नियाल्ने मौका पनि दिन्छ । तसर्थ राइडका अनुभूतिहरू चाहिं स्मृतिको पानामा जीवन पर्यन्त जीवित रहने खालका छन् । यो एक विविधताले भरिपूर्ण ३१ वटा  बौद्धिक राइडको प्याकेज हो ।

यति  पढिसकेपछि खाइराइड भित्रका राइडहरूको टिजर चाख्ने अभिलाषा तपाईंमा पक्कै जाग्यो होला, होइन त ? एक पटक राइड लिइसकेपछि तपाईं आफैं पनि खाइराइडको स्वघोषित ब्रान्ड एम्बासेडर बन्न कम्मर कस्नु हुनेछ। सामाजिक सञ्जालमा खेताला लगाएर आफ्ना सिर्जनाको विज्ञापन गर्ने साहित्यकारका लागि खाइराइड “बुझ्नेको लागि श्रीखण्ड नबुझ्नेको लागि खुर्पाको बिंड” जस्तै हो ।

खाइराइडका थ्रिलिङ राइडहरूमा प्रवेश गर्नुअघि तपाईंको जम्काभेट प्रा. डा. खगेन्द्र लुइँटेलको प्रतिक्रियासँग हुन्छ, जहाँ प्रा. डा.  लुइँटेल भन्छन्, ” … कतिपय निबन्ध त यस्तो संवेदनशीलताले भरिएका छन् कि एक चोटि मान्छेको मन-मस्तिष्क हल्लाउँछ । सोच्न बाध्य बनाउँछ । थोरै कृतिले पनि गोपालप्रसाद रिमाल, गुरुप्रसाद मैनाली जीवन्त छन् नेपाली साहित्यमा । राजेन्द्रजीलाई पनि यतिले नै बचाउँछ ।…” ।

खाइराइडमा राइड लिइसकेका अर्का विद्वान केदार शर्मा भन्छन्, ” … एउटा सफल कृतिको सबैभन्दा ठूलो पहिचान भनेको त्यसले सोच्न बाध्य बनाउँछ । यस कृतिका जुनसुकै निबन्ध पढ्नुहोस्, सोच्न बाध्य बनाउँछ ।”

नेपाली साहित्यको प्रतिष्ठित पत्रिका साहित्यपोस्टले भनेको छ “विषयवस्तु, प्रस्तुति र बिम्बात्मक व्यंग्यको प्रयोगले कार्कीका निबन्धहरू रसिला बनेका छन् । उनका व्यंग्यहरू समाज तथा व्यक्तिका प्रवृत्तितिर सोझिएका छन् । उनका व्यंग्य–निबन्धमा हास्तचेतका साथै विचार, मौलिकता तथा दार्शनिकताको ओज दर्बिलो छ ।” अरू पनि  धेरै प्रतिष्ठित साहित्यकार र पत्रकारका प्रतिक्रिया छन् । अब त्यताको बेलिबिस्तार तिर नलागौं ।

विद्वान पाठकहरूकै शब्दलाई सापट लिएर भन्दा “सोच्न बाध्य” बनाउनुमा कुनै पनि रचनाको अस्तित्व अड्किएको हुन्छ । सबैले लेखिरहेकै कुरा लेखेर, सबैले लेखेकै भाष्य प्रयोग गरेर, सबैले लेखेकै तरिकाले लेखेर त सबै साहित्यकार भएकै छन् । तर जसले इतिहास बनाएका छन्, साहित्यलाई नयाँ उचाइ दिएका छन् आफू बाँचेको समयको आवाजलाई सबैभन्दा वास्तविक र प्रभावकारी ढंगले सम्प्रेषण गरेका छन्, ती थोरै छन्, भिन्न छन् र इतिहासका कुइनेटाहरूमा बसेर पथप्रदर्शन गरिरहेका छन् । खाइराइड पनि त्यस्तै एउटा पानी ढलो हो भन्न डराउनु पर्ने देखिंदैन । फित्कौली वा नरनाथ लुइँटेलको प्रकाशक्यौलीले पनि यो तर्कलाई टेवा दिएको छ ।

नेपाली हास्यव्यंग्यका हस्ती तथा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले भूमिकामा कार्कीलाई प्रश्न सोधेका छन्, “तपाईं यत्रा बर्ष कहाँ भागेर, लुकेर बस्नुभएको थियो मित्र ?”

मलाई पनि यो किताबको राइड लिइसकेपछि त्यही प्रश्न सोध्न मन लाग्यो । तर चमत्कारिक सिर्जना गर्न पक्कै पनि गहन अध्ययन र चिन्तन गर्नुपऱ्यो होला । पच्चीस वटा किताबको काम एउटै खाइराइडले गर्ने भएपछि किन पो मान्छेलाई वर्षैपिच्छे किताब जन्माएँ भनेर फुर्ती लगाइराख्नु पऱ्यो र ? बाख्राले पाठा ब्याए जस्तो आफैं पैसा खर्च गरीगरी किताब ब्याउनु भन्दा त ती पैसाले लासा घुम्न गए भैगो नि । कम से कम दम्भको पारो बढ्दैन। किताबका रासमा मुसाले गुँड बनाउन पाउँदैन । जीवन यात्राको बायोडाटामा एउटा ठाउँ थपिन्छ अनि मुख पनि फेरिन्छ ।

राजेन्द्र कार्की आफूलाई साहित्यकार भन्न पनि धकाउँदा रहेछन् । हेर्नुस् त अचम्म ! आफूलाई महान् साहित्यकार मान्नेहरू चाहिं आफ्ना किताब मानिसले पढिदिउन् भनेर हल्ली खल्ली गर्दै देशदेखि विदेशसम्म विज्ञापनमा होमिनु पर्ने तर आफूलाई साहित्यकार हुँ भन्न पनि डराउने राजेन्द्र कार्कीको “खाइराइड” चाहिं खोजीखोजी स्कूलहरूले आफ्नो पाठ्यपुस्तकको रूपमा प्रयोग गर्ने । आमाकै गर्भदेखि साहित्य लेख्दै आएको हुँ भन्ने साहित्यकारका किताब चाहिं नपढ्ने, तर नयाँ र त्यो पनि कहिल्यै नाम नसुनेका र नचिनिएकाले लेखेको चाहिं पढ्ने ? फेरि सामाजिक सञ्जालदेखि बीसौं पत्रपत्रिकामा समीक्षा पनि निरन्तर रूपमा आइरहने । पाठकहरू पनि बिकेका छन् कि क्या हो भन्ने आरोप लाग्ला भन्ने डर छ ।

यस मामलामा राजेन्द्र कार्कीलाई भैरव अर्यालको एक्काइसौं शताब्दीका अवतार भन्दा मुद्दा नलाग्नु पर्ने हो । तर दर्जनौं साहित्यिक पुस्तक लेखेर कपाल झरिसक्दा पनि कहलाउन नसकेका महान् साहित्यकारहरूको कन्पारो चाहिं नतात्ला भन्न सकिंदैन । यस कुराको फैसला इतिहासको इजलासले गर्ने नै छ।

खाइराइडका रोमान्चक रडाइहरू चढिसकेपछि ती राइडहरूलाई चार वर्गमा बाँढ्न उपयुक्त र सान्दर्भिक लाग्यो:

पहिलो  –  यस समूहका राइडले मान्छेहरू स्वतन्त्र छन् भन्ने कहावतलाई हावा ख्वाइदिएका छन् । मान्छेहरू भागेका भागै छन् । जन्मेदेखि मर्नुभन्दा अघिल्लो दिनसम्म मानिस भागी नै रहेको हुन्छ । सबैभन्दा ठूलो बिजोक त त्यति वेला  देखिन्छ, जब मान्छे कालसँग भाग्ने प्रयासमा आफ्नो सबै थोक गुमाउन तयार हुन्छ । राजेन्द्र कार्कीले भनेका भाग्ने मान्छेका हूलमा तपाईंले आफैंलाई पाउनुभयो भने छक्क नपर्नु होला । आमाको पेटमा पनि कैद भएर जन्मेको मान्छे कसरी स्वतन्त्र हुन सक्छ ?

कार्की प्रश्न गर्छन् एउटा राइडमा, “बिहे किन ?” । कार्कीलाई नै थाहा नभएको बिहे उनले चाहिं किन गरेका हुन् थाहा भएन । हुन त मान्छेले सबै कुरा थाहा पाएर गर्ने भए संसारमा यति बिघ्न दुःख हुने थिएन । यस कुरामा मान्छेको आफ्नो रोजाइले खासै काम गरेको हुँदैन । बिहे गरे पनि नगरे पनि बाँचिरहेमा एक दिन सबैले घाँडो बूढो हुनैपर्छ । बूढो भएपछि आफ्नै बच्चाले घाँडो ठान्न सक्छन् । बिहे नगरी बसेर बूढो भए समाजकाले घाँडो ठान्न सक्छन् । मान्छे जति नै “नामको चाम” को पछाडि कुदे पनि मानिसको चोला परिचयहरूमा साटिएर टुक्रिंदा टुक्रिंदै सकिन्छ । अनि कहाँ छ स्वतन्त्रता ?

दोस्रो –  यस समूहमा समाज  र प्रकृतिको सम्बन्धसँग समभाव राख्ने रडाइहरू पर्दछन् । सोल्टिनी सँगको रोमान्सको रमाइलोदेखि सासू-बुहारीको गाँड कोराकोर अनि “सरको डर” ले डराएको चाउरेदेखि खाडीबाट बाकसमा फर्किन विवश लाहुरे सम्मको जीवन यात्राको नालीबेली यस समूहका राइडमा समेटिएका छन् ।

“बूहारी सासू” नामको चाकाचुली राइडले बुहारीसासू बीचको ढिकीच्याउँलाई देखाएको छ । यो राइड भनेको ब्यालेन्स मिल्दा कोही पनि नलड्ने र दुवैलाई रमाइलो हुने तर ब्यालेन्स नमिल्दा को लड्छ थाहा नहुने खालको राइड हो ।

“चिनिन” नामको राइडमा पनि कार्कीले मान्छेको सम्बन्धको चियोचर्चो गरेका छन् । चिनिने र नचिनिने, अनि चिन्ने र नचिन्ने कुराहरू बीच चाकाचुली खेल्दै मान्छेको जुनी बित्छ तर चिन्दा के हुने र नचिन्दा के हुने भन्ने सवालको जवाफ कहिल्यै पाइँदैन ।

सम्बन्धको कुरा गर्दा कार्कीले मान्छे मान्छेको  मात्र होइन मान्छे र जनावर बीचको सम्बन्धलाई पनि बाङ्गो हान्न भ्याएका छन् । “कुकुरको भाग्य” शीर्षक राइडमा युधिष्ठिर सँग स्वर्ग जाने कुकुरको चर्चा छ । यो राइड चढेपछि मानिसलाई  मानिसको वास्तविक हैसियत थाहा हुन्छ । यस राइडमा चढेका मान्छेलाई  अर्को जन्ममा के भएर जन्मिन मन छ भनेर सोध्यो भने “कुकुर” भन्ने छन् । अबको जमानामा त्यो पनि धनी शहरमा त गरीब मान्छे भएर जन्मिनु भन्दा कुकुर भएर जन्मिनु उत्तम हुनेरैछ भन्ने आभास यो राइडले दिन्छ । “जनावरलाई गाली किन ?” मा कार्कीले  आफ्नो कमजोरी लुकाउन अरूलाई दोष थोपर्ने प्रवृत्ति प्रति कटाक्ष गरेका छन् ।

तेस्रो –  यस राइडमा राजेन्द्रले लाजनिती र राष्ट्रियताको रोटेपीङ खेलाएका छन् । कामीलाई बेकामी र बेकामीलाई कामी बनाएकाले नेपाली राजनीति लाजनीतिको पर्याय भएको अनुभूति केही राइडहरूमा  गर्न सकिन्छ । चुनाउ पुराणको राइड लिएपछि ढाँटेर र ठगेर गरिखाने चोर बाटो थाहा हुन्छ । त्यो बाटोबाट प्रधानमन्त्री देखि वरदान मन्त्रीसम्म हुन सफल भएका छन् नेपाली नेताहरू। उही नेता वरदानबाट धेरै पल्ट प्रधानमन्त्री भए । चुनावमा सिन्डिकेट लगाएपछि र मान्छे सधैं  भेडा भैरहेपछि गधालाई पनि प्रधानमन्त्रीको वरदान मिल्दो रैछ भन्ने कुरा यो राइड चढेपछि  थाहा पाइँदो रहेछ ।

“देश डुब्यो” नाम दिइएको राइडबाट देखिने रमिताको त के बखान गर्नु र । जो अगुवा त्यही बाटो हगुवा भन्ने उखानले भन्न खोजेको कुरोको चुरो पत्ता लाउन सक्नुभएन भने त्यही राइडमा चढ्दा हुन्छ।

“नेपालीले गर्छ” शीर्षक राइडमा नेपालीको परिचय पाइन्छ । कामले  सिङ्गडा  बनाउन नसक्ने तर गफले देशलाई सिङ्गापुर बनाउने नेपाली नेता भेट्न पर्‍यो भने यो राइड चढे हुन्छ । नेपालीले के गर्छ भन्दा कार्की भन्छन्, “वेला न कुवेला भुक्छ, आफ्नाले आफ्नैलाई टोक्छ, फालिएका हड्डीमा लुछाचुँडी गर्छ ।”

विदेशीको मुख नहेरी मुखमा माडको खडेरी लाग्नसक्छ भन्ने जान्दाजान्दै पनि फेरि विदेशी विरुद्ध भुकेर टिकेको राष्ट्रियता खोज्न जानुपर्‍यो भने नेपाल गए हुन्छ । बुद्धको आदर्शलाई खुट्टाले कुल्चियो अनि “फलानाले  बुद्ध हाम्रो हो” भन्यो भनेर फलाक्यो । राष्ट्रियता बलियो भैहाल्छ । नक्सा चुच्चो बनाएर भित्तामा टाँस्यो राष्ट्रियता बलियो बनायो । यिनै वा यस्तै रमिताहरू राजेन्द्र कार्कीका राइडबाट देख्न सकिन्छ ।

चौथो –  यस प्रकारका राइडहरूले तपाईंलाई कार्कीसँगै प्रवासको भासमा पुर्‍याउँछन् । आधुनिक प्रविधिको प्रयोग गर्न नजानेर लेखक कार्की जिल्लिएका रमाइला प्रसङ्गहरूको बारेमा यस वर्गका राइडहरूबाट जान्न सकिन्छ । कार्कीले बेहोरेको झमेला नेपाल जस्तो  विकासमा पछि परेको देशका नागरिकले बेहोर्नु पर्ने साझा समस्या हो ।

“हाइ हाइ अमेरिका” मा कार्कीले अमेरिकाले विकासमा मरेको फड्कोको बेलिबिस्तार लाएका छन् । तर सिक्नै नचाहनेलाई सिकाएर, अनि हेर्न नचाहनेलाई देखाएर के काम । राजेन्द्रजी, विदेश त घुम्न र डलरमा भुक्तान हुने भत्ता पड्काउन पो आउने हो । हुन त कार्कीले यो कुरो नबुझेका होइन होला । अप्रत्यक्ष रूपमा कार्कीले नेपाली नेतालाई विकास कसरी गर्नुपर्ने रहेछ भनेर पाठ सिकाउन खोजे जस्तो लाग्छ । तर यो विदेशी नेपालीले भनेको कुरा कसले पत्याउने ! तर जति नै नपत्याए पनि विदेशमा बसेर देश बनाउने साहित्यिक इन्जिनियरको लर्कोमा राजेन्द्र कार्की एक्लै छैनन् ।

प्राय: सबै राइडहरूमा कार्कीका तर्क र प्रसङ्ग अब्बल छन् तर एक ठाउँमा चाहिं कार्कीको कुरा पचाउन  महिलावादी वा पुरुषवादी दुवैलाई गाह्रो हुने देखिन्छ ।

“नेपालीले गर्छ” शीर्षक राइडमा कार्कीले लेखेका छन्, “श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतमा तारिक भोग्नेहरूको तर्फबाट एउटा प्रश्न छ – सन्तानोत्पादन प्रक्रियामा भाग चाहिं कसरी लिने ?” यहाँ निर सम्भोग र बलात्कार बीचको फरक ती प्रश्नकर्ताले बुझ्नु पर्ने देखिन्छ । सम्भोग शब्द सम र भोग जोडिएर बनेको छ, जसले परोक्ष रूपमा दुवैको स्वीकृतिमा गरिने शारीरिक सम्पर्कलाई सङ्केत गर्छ भने बलात्कार जबरजस्ती करणी हो । ती तारिक भोगुवाहरूले प्रहरीको हतकडीबाट बच्नु छ भने बुझ्नुपर्‍यो कि बच्चा जन्माउन सम्भोग गर्ने हो बलात्कार होइन । बलात्कार गरेर बच्चा जन्माउनेहरूको जीवन सुखद हुन्छ त ? भन्नेमा शंका गर्ने ठाउँ सधैं रहन्छ।

नेपाली हास्यव्यंग्यका लेखाइमा दुई चरित्र देखिन्छन् – एक घटनाप्रदान र अर्को विचारप्रदान ।  घटनाप्रदान हास्यव्यंग्यले तात्कालिक समयको घटनालाई आफ्नो विषय बनाएको हुन्छ । घटनाप्रदान रचनाहरूको प्रभावकारिता अनन्तसम्म हुँदैन । घटनाको प्रभाव रहेसम्म हुन्छ र नयाँ घटना हुने बित्तिकै त्यो पुरानो भएर सन्दर्भ विहीन बन्छ ।  विचारप्रदान हास्यव्यंग्यले उठाएको विषयवस्तुमा जीवनको दर्शन हुन्छ । एउटा नयाँ सोच र ढङ्गले  उठान गरिएको हुन्छ । तसर्थ  तिनको प्रभाव अनन्तसम्म रहने सम्भावना हुन्छ । कार्कीका धेरै जसो राइडहरू भैरव अर्यालका जस्तै विचारप्रदान छन् । “भाग्दा भाग्दै”,  “जनावारलाई गाली किन ?”, “खाइराइड”, अनि  “नामको चाम्” जस्ता निबन्धको सान्दर्भिकता कहिले हराउँछ र ? सबैको जीवनमा दोहोरिइरहने तीता यथार्थलाई चटपटे स्वादको भाषामा कार्कीले भट्याएका छन् ।

त्यस्तैगरी, हाम्रो समयका धेरै जसो बाङ्गो साहित्य लेख्नेहरूको साझा शिकार नेपाली राजनीति र राजनेता भएका देखिन्छन् । ‘चर्पी’ शीर्षक राखेर कविता लेख्न थाले पनि अन्तिममा गएर नेपाली राजनीति जोडिएकै हुन्छ धेरै जसोका रचनामा । नेपाली नेता र तिनको लाजनीति बाहेक केही पनि लेख्ने विषयवस्तु नपाइराखेका नेपाली लेखकहरूलाई कार्कीले नयाँ बाटाहरू देखाइदिएका छन् ।

‘खाइराइड’का राइडहरूमा लाजनीति मात्र छैन, त्यहाँ नेपाली र विश्व समाजको सजीव चित्र छ । समाज र सामाजिक सम्बन्धका कुरा छन् । त्यहाँ विकास र प्रविधिका कुरा छन् । अनि विकास र विनाशका कुरा छन् । त्यहाँ नेपाली मात्र होइन विश्वको इतिहासका कुरा छन् । अनि सभ्यता र असभ्यताका कुरा छन् । त्यहाँ सत्यको चीरहरणको कहालीलाग्दो कहानी छ अनि पर्यावरणको दोहन विरुद्धको दमदार आवाज छ । त्यहाँ अध्ययन र अनुसन्धान छ ।  विचार र दर्शन छ ।

खाइराइडका राइडहरूले पाठकलाई मात्र होइन लेखकलाई पनि साहित्यको एउटा नवीनतम स्वाद पस्केका छन् भन्दा राजेन्द्र कार्कीलाई धेरै फुर्क्याएको हुँदैन होला । अब लेखकहरूलाई चुनौती आयो फरक तरिकाले सोच्ने कि जडसूत्रवादी हुने ।