
विद्वानहरूले मानवजीवनलाई विभिन्न कुरासँग तुलना गरेका छन्, कसैले यात्रा त कसैले नाटक । अनि कतिले अनवरत रूपमा बगिरहने नदीसित । जसले जेसित तुलना गरे पनि सबै ठीकै हुन् लाग्छ ।
यात्रासँग तुलना गरेर हेरौँ । यात्राका क्रममा भेटिने असङ्ख्य सहयात्रीसँगको सहयात्राप्रति गौर गरेर हेर्दा कति जनासँग क्षणिक साथ जुटेको हुन्छ भने कति जनासँग दिगो र अमेट साथ रहेको हुन्छ । भेटिनु र छुट्टिनु, परिस्थिति र मनस्थितिसित सम्बन्धित छन् । क्षणिक भेटमै पनि कतिपय व्यक्तिहरूसित बडो हार्दिकता र आत्मीयता स्वतः सञ्चार हुन्छ . कोहीसँग भने वर्षौं साथसङ्गत रहेर पनि नदीका दुई किनाराझैँ टाढा–टाढा हुन्छ । यसैले लाग्छ, कतिपय सम्बन्धमा पूर्वजन्मको सञ्चित केही सकारात्मक प्रदोलनको दिगो प्रभाव रहेको हो कि ?
सम्बन्धको सिलसिलामा आफ्नै विषयमा भन्नुपर्दा सानैदेखि अन्तर्मुखी स्वभावकी हुनाले मेरो मित्रताको परिधि त्यति फराकिलो रहेन । तर जतिजनासँग पनि मैत्री सम्बन्ध गाँसियो त्यति थोरैसँग गहिरो र आत्मीय सम्बन्ध रह्यो । खुलेर भन्ने हो भने अरूसँग धक फुकाएर बोल्न सकेकी उही शिक्षण पेशा अपनाएरै हो, नत्र म एक नम्बरकी निमुखा । जीवनको उत्तरार्द्धमा आइपुग्दासम्म पनि मेरो मित्रताको परिधि केही केही मात्रामा सीमित नै छ भनूँ, त्यस्तै विद्यावारिधिको क्रममा पाँच÷छ वर्ष काठमाडौँको त्रि.वि.वि. धाउने क्रममा मित्रहरूको एउटा सीमित परिधि नै कमाउने सुअवसर जुटाउन सकेकी हुँ । मित्रताको एउटा सीमित तर गर्वलाग्दो परिधिभित्र पर्ने आत्मीय जनहरूमा नारीहरूमा मात्र नभई पुरुषहरू पनि पर्छन् । तीमध्ये आज पुर्ख्यौली भूमि नेपालका केही आत्मीय व्यक्तिहरूलाई मनबाटै आभार प्रकट गर्दै सम्झनाको सन्दुक खोल्न चाहन्छु ।

प्रा.डा. गोविन्दराज भट्टराई
सन् २००७–८ देखि २०१२–१३ सम्मको काठमाडौँको त्रि.वि.वि.सँग सम्बन्धित शोधयात्रासँगसँगै त्यहाँको बसाइ अवधिभरिका क्षणहरूमा सौभाग्यवश जोडिन गएका केही आत्मीय जनहरूसितका अमूल्य सम्बन्धहरू साँच्चै नै बिर्सी नसक्नुका छन् । त्रि.वि.वि.सँग जोडिनअघि नइ दम्पतीसँग सन्त तेरेजा स्कुलकी सहशिक्षिका विजया नेपालको सौजन्यले सम्पर्क स्थापित भएको कुरालाई यहाँ राख्न चाहन्छु ।
त्यतिखेर घट्टेकुलो भनेको कुन ठाउँको नाम हो हामी तीन बहिनी (नीना राई, साङ्मु लेप्चा र म) अनभिज्ञ नै थियौँ । ज्ञानेन्द्र दाहालका भाइले हामी काठमाडौँ साङ्मुका श्रीमान् सुरज मोक्तान, एलआरआई क्याम्पसमा त्यतिखेर कलङ्कीमा कार्यरत भएको बेला एउटा फ्ल्याट भाडामा लिएर बसेका थिए, त्यही घरमा बस्ने हिसाबले गएका थियौँ, रातभरिको बसको यात्राले थकित भएर पुगेका थियौँ, उनै भाइले दिउँसो आफू चढेको मोटर साइकलका पछिपछि आउने सङ्केत दिँदै घट्टेकुलो, नवगृहमा पुर्याउने काम गरेका थिए ।
नरेन्द्रराज भाइले फोन गरेर त्रि.वि.वि.का नेपाली विभागका डीन महोदय रमेश कुँवरसँग सम्पर्क गरी हाम्रो विषयमा जानकारी दिए, बहिनी इन्दिराले शैलेन्दुप्रकाश नेपालसित सम्पर्क गरी भोलि त्रि.वि.वि.मा भेट गर्ने चाँजो मिलाइदिइन् । यी जम्मै कुराहरू एउटा लेखमा उल्लेख गरिसकेकी हुनाले पुनः दोहोर्याउने आवश्यकता नपर्ला ।
सन् २..८ तिरको कुरो हो काठमाडौँको न्यू रोडतिर सपिङ गर्दै जाँदा त्यहाँ एक ठाउँमा बेच्न राखिएको किताबहरूमध्ये दुई चारवटा मन परेकाहरू छान्ने क्रममा झमक घिमिरेको जीवन काँडा कि फूल शीर्षक किताबले मेरो ध्यानाकर्षण गरिहाल्यो । घरमा ल्याएर पढ्न सुरु गरेँ, त्यसको भूमिका मैले पूर्णतः आँसुसँगै पढिसिद्ध्याएँ,
डा. गोविन्दराज भट्टराई
भूमिकाकार डा. गोविन्दराज भट्टराईको भाषा र शैलीले मनलाई भित्रैसम्म छोयो । यी भूमिका लेखकलाई भेट्न पाए हुन्थ्यो भन्ने मनमा लाग्यो । कान्तिपुरका संवाददाता भाइ गणेश राईमार्फत पाएको फोन नम्बरद्वारा उनीसँग बात हुँदा उनले मेरा श्रीमान् केवल हाङ्गखिम र मलाई अर्को बिहान आफ्नो घर, सुकर्म टोलमा आउने निमन्त्रणा दिए । नक्खुबाट मनोज बरालको गाडी चढेर हामी उनको घर पुग्यौँ । प्रथम भेटमै वर्षौंदेखिका आफन्तजन भेटेको अनुभवले हामी दुवै पुलकित थियौँ । उनकी अर्धाङ्गिनी डा. अन्जना बस्ती भट्टराईको आतिथ्यबाट हामी अझ आभारी बन्यौँ । भाइ देवेन्द्र पनि घरमै भेटिएका थिए ।
त्यस भेटपश्चात् डा. गोविन्दराज भट्टराईले जति चोटि हामी काठमाडौँ जान्थ्यौँ त्यति चोटि नै घरमा निमन्त्रणा दिने गरेका थिए । प्रायः प्रत्येक चोटि नै, कहिले कुन ठाउँमा, कहिले कता साहित्यकारहरू भेला गरेर साहित्यिक गोष्ठी, अन्तर संवाद, साहित्यिक विमर्श आदिको कार्यक्रम आयोजना गर्ने गर्थे । कुनै–कुनै भेलामा प्रमुख अतिथिको अभिभारासमेत वहन गर्नुपर्ने आग्रह स्वीकार गर्नुपर्दा खुशी लाग्नका साथै कृतज्ञ पनि बन्ने गर्थें । अमेरिकाबाट आएका भुटानी साहित्यकारहरू, कालेबुङबाट आएका एम. बी. प्रधान (हाल स्वर्गीय), प्रज्ञा प्रतिष्ठानको सभागृहमा समेत प्रमुख अतिथिका रूपमा निम्त्याउने गरेका थिए ।
उनको मित्रताको परिधिभित्र डा. विष्णु एस. राई, ध्रुवचन्द्र गौतम, डा. तुलसी भट्टराई, खिमानन्द पोखरेल, शरद प्रधान, प्रमोद प्रधान, विष्णुविभु घिमिरे, हाल स्वर्गीय तेराख खतिवडा, प्रेमप्रकाश फलाहारी बाबा, शारदा सुब्बा, विजय हितान, वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, डा. व्यन्जना भट्टराई, माया ठकुरी, पद्मावती सिंह, भागीरथी श्रेष्ठ, डा. अन्जना बस्ती भट्टराई, सुधा भट्टराई, एल. पी. जोशी, प्रकाश आङ्देम्बे, शशि भट्टराई, अनिता पन्थी, ताप्लेजुङ निवासी बाबुराम श्रेष्ठ, कमलराज भट्टराई, खगेन्द्र भट्टराई, डा. कुमार कोइराला, हरि गौतम, (हाल स्वर्गीय) कमलमणि दीक्षित, शताब्दी पुरुष सत्यमोहन जोशी, (हाल स्वर्गीय । मदनमणि दीक्षित, डा. उषा ठाकुर, कौशल खाकी, धर्मेन्द्र नेम्बाङ, डा. बलराम अधिकारी, रामबहादुर पहाडी, धनकुटे कान्छा, डा. सृजना शर्मा, प्रा. कृष्ण खनाल, लक्ष्मण वियोगी, डा. साधना प्रतीक्षा आदिसँग झापा, काठमाडौँका विभिन्न स्थानहरूमा भेटघाटको सुयोग जुराइदिने उदार हृदयी वरिष्ठ सर्जक डा. गोविन्दराज भट्टराईप्रति साँच्चै आभारी छु ।
एउटा उल्लेखनीय कुरो के छ भने, जति चोटि उनको निमन्त्रणा पाएर हामी सुकर्म टोल पुग्यौँ । उति चोटि उनलाई भुइँमा बाक्लो चिटिक्क परेको डसना ओछ्याएर सानो होचो टेबलमुनि आफ्ना दुवै पाउ तनक्क पारेर लेख्नमा तल्लीन भएको अवस्थामा नै भेटायौँ । उनले समयको सानोभन्दा सानो अंशलाई पनि खेर जान दिएनन् । लेखन-पठनमा समय बितेको बडो रमाइलो लाग्छ, मानो उनी लेख्न-पढ्नकै निम्ति जन्मेका हुन् । उनको हरेक कार्यमा समयको नियमितता हुन्छ तथापि कहिलेकाहीँ आधा रातमा ब्यूँझेका बेला, निद्रा नलागेको बेला उनी केही न केही पढ्छन्, लेख्छन् । कागज र कलमसँग उनको यो आत्मीय नाता अक्षुण्ण छ । साहित्यप्रति यति साह्रो मरिमेट्ने शायदै अन्य कोही छ होला !
एक चोटि हामी त्यहाँ पुगेको बेला निकै टाढाबाट एक जना साहित्यकारलाई त्यहीँ भेट्यौँ (नाम स्मरण गर्न सकिएन), उनले नै भनेका थिए, ‘‘यो उनको लेखपढ गर्ने कोठा, कोठा नभएर सुकरातको तपोवन हो ।’’ हो, त्यही दिनदेखि मेरो मस्तिष्कको एउटा सुन्दर भूभागमा ती शब्दहरू कहिल्यै नउप्किने गरी स्वर्णाक्षरमा अङ्कित भएका छन् । नेपाली साहित्यमा उत्तर-आधुनिकतावादका प्रणेताका रूपमा ख्यातिप्राप्त यी सर्जकले बेहिसाब उम्दाउम्दा कृतिहरू सार्वजनिक गरिसकेका छन् ।
नेपाल अधिराज्यभरि मात्र नभएर भारतका विभिन्न स्थानलगायत विदेशतिर समेत अनेकानेक गहन वार्ता र विमर्शमा घण्टौँसम्म धारावाहिक रूपमा अन्तरक्रियामा संलग्न हुनसक्ने तथा कार्यपत्र प्रस्तुत गर्न सक्ने यी सर्जक साँच्चै सरस्वतीकै वरदपुत्र हुन् ।
मसिनो बोली, निरभिमानी, इमानदार, उदार हृदयी, सरल, अनुशासनप्रिय, छक्कापञ्जादेखि कोसौँ टाढा रहने यी सर्जक शालीन व्यक्तित्वका धनी हुन् । यसपालिको साउन–भदौको छोटो बसाइमा एक जना अर्का साधक, चूडामणि गौतमसँग हामीलाई भेट गराउन लगे ।
एघार वर्षको कठोर तपस्यापश्चात् उनले २.५६ पृष्ठको नितान्त नौलो ढङ्गको बृहत्तर नेपाली शब्दकोश तयार पारेका रहेछन् । उनी पनि उस्तै उस्तै सरल र उदार हृदयी व्यक्ति रहेछन् । त्यतिका वर्षको लगानी र साधनाको प्रतिफल स्वरूप तयार पारिएको यति ठूलो पुस्तक, २८९५ ने. रु. मूल्य पर्ने अमूल्य सौगात दिएर उनले हामीलाई ऋणी तुल्याए । सो भेटमा उनले, “म त डाक्टर होइन, मभन्दा त तपाईंहरू महान् हुनुहुन्छ, यसरी बाहिर बसेर पनि भाषा–साहित्यको सेवा गरिराख्नुभा’छ’’ भनेका थिए । यति महान् व्यक्तिको मुखारविन्दबाट यस्तो वाक्य सुन्न पाउँदा म ता छक्क परेँ । अहिलेसम्म जम्मा १.७ वटा पुस्तक लेखिसक्ने यी स्रष्टा साँच्चै कत्ति विनीत ! कत्ति निरभिमानी !!
यसरी विभिन्न व्यक्तित्वहरूसित भेटघाट गर्ने क्रममा अन्य कतिपय वरिष्ठ व्यक्तित्वहरूका प्रसङ्ग पनि आउँछन् तथापि यस लेखको प्रमुख पात्रलाई नै यहाँ प्रस्तुत गर्ने ध्येयले अहिले अन्य कुरा र घटनाहरूलाई थाँतीमै राखी अर्को लेखका निम्ति साँच्न चाहेँ ।
बहुमुखी प्रतिभाका धनी डा. गोविन्दराज भट्टराई नेपाली साहित्याकाशका एक उज्ज्वल नक्षत्र हुन्, एक अनन्य साधक तथा एक महान् विभूति हुन् । लेखेर कहिल्यै नथाक्ने उनी साहित्यका अनन्त स्रष्टा तथा द्रष्टा हुन् । आफ्ना अन्तर्चक्षुका माध्यमद्वारा उनले कुनै पनि साहित्यकारका कृतिलाई सूक्ष्म रूपमा अवलोकन गरी तिनमाथि खूबै सुन्दर ढङ्गले समीक्षा गर्न रुचाउँछन् । साहित्यसँग रुझ्न–भिज्न रुचाउने यिनलाई रातदिन साहित्य सागरमै डुबुल्की मार्न पाए अर्थोक केही चाहिन्न । नेपाली साहित्यमा उत्तर-आधुनिकतावादको प्रविष्टि उनको गहन चिन्तनकै सुखद परिणाम हो । घण्टौँसम्म यस विषयमाथि बहस गर्न सक्षम यी स्रष्टा साँच्चै एक अद्वितीय प्रतिभाका नमुना हुन् ।
नेपाली साहित्यका सुकरात मानिने यिनको तपोवनबाट आगतमा अझ गहन चिन्तनले परिपूर्ण उत्कृष्टतम कृतिरूपी सुन्दर फूलहरू फुलेर साहित्यको बघैँचा नै सुरभिमय बनेको हेर्न पाठक वर्ग प्रतीक्षित रहनेछन् ।
सिंहमारी , दार्जिलिङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

