साधारणता शरद् ऋतु भन्ने बित्तिकै एउटा रमाइलो यामको सम्झना र छवि आँखाअघि र मन-मस्तिष्कभरि उदाउँछन् । शायद माथवरसिंह छेत्री र प्रभावती छेत्रीले पनि शरद् ऋतुको रम्यतासित रिझिएर नै आफ्नो प्रथम सन्तानको नाम शरद् जुराएका होलान् । यस ऋतुको आफ्नै वैशिष्ट्य छ, वर्षाको उद्दाम सङ्गीतको न्यूनता, शिशिरको उजाडता, ग्रीष्मको उखरमाउलोपन, प्रकृतिमा देखा पर्ने न्यास्रोपन, खडेरी, आँधी, हुरी, बतास, यी सबैको आभासदेखि अलग्ग – एउटा मीठो आकर्षण बोकेको शरद् ऋतु – हो, ठीक यस्तै शान्त र सौम्य व्यक्तित्वका धनी थिए शरद् छेत्री ।

उनी मेरा शोधनायक, मेरा पथप्रदर्शक र अभिभावक । आस्थाको शिखर महाकाल बाबाको पवित्र दार्जिलिङदेखि सयौँ भञ्ज्याङ र देउराली छिचोल्दै उनको नाम, छवि, व्यक्तित्व र कृतित्वसँगै उनलाई सगरमाथाको देश, नेपाल र त्यहाँको सर्वोच्च शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयको परिवेशमा पुऱ्याउन पाउँदा तथा उनको नाम र कर्मले आफैले पनि चिनारी पाएको क्षण सम्झेर आजपर्यन्त नतमस्तक छु ।

उनैकी एक मात्र सुपुत्री शैलीका, नाम सुहाउँदो सुन्दर शैलीकी धनी, साहित्य क्षेत्रमा अकस्मात् देखा परिन् ‘एक हरफ बाटो’ लिएर । देख्नमा र जान्नमा सन् २०१९ मा प्रकाशित यो उनको प्रथम कृति तर आद्योपान्त पढेपछि पाठकवर्गलाई थाहा हुन्छ – अङ्ग्रेजी भाषा-साहित्यकी विशिष्ट अध्येता पहिल्यैबाट सक्षम लेखिका बनिसकेकी थिइन् ।

एक हरफ बाटो

एक हरफ बाटो

त… सर्जकको जन्म कसरी र कुनबेला हुन्छ ? त्यो भन्न गाह्रो छ… अनिश्चित छ । एक हरफ बाटो जन्मनुभन्दा शायद धेरै अघिबाटै सर्जक शैलीका जन्मिसकेकी थिइन् । पृथ्वीमा आमाको गर्भबाट अवतरण हुनुको प्रसङ्गबाट बेग्लिएर सिर्जनाको मीठो चेतले उनले अक्षरको गर्भाशयबाट सेतो कागज र संवेदनाको उर्वरा भूमिमा पदार्पण गरिसकेकी थिइन् मीठो र मोहक शैलीकी धनी शैलीकाको काँचुली फेरेर ।

इडिपस ग्रन्थिको अथाह मोह र युगौँदेखिको सञ्चित श्रद्धा आनुवंशिक चैतन्यको पराकम्पनले, गुरुत्वाकर्षणले शायद उनले त्यतैतिर अक्षरको सूर्योदय फेला पारेकी थिइन् ।

उनको अन्तरचेतनाले त्यतै अक्षर, शब्द, भाव, भाषा, अभिव्यक्ति, जीवनका अन्तरङ्ग कुराहरू, तथ्यहरूको खजाना आविष्कार गऱ्यो र हामी पाठकवर्ग भाग्यशाली बन्यौँ उनको कलमबाट निःसृत अमर भावगङ्गाका अक्षर कोसेलीहरू पाएर । साहित्यका साउँ अक्षर छिचोलेपछि उनले मानव जीवनको मर्म बुझिन्, पारस्परिक साइनोको महत्त्व केलाइन्, जीवनजगत्को गरिमा नियालिन् र लेख्नुको आनन्द र सन्तुष्टि थाहा पाइन् । अस्पतालमा मृत्युशैय्यामा परेका पिता शरद् छेत्रीले प्रत्येक क्षण हेर्न चाहेको प्रिय व्यक्ति शैलीका नै थिइन् अर्थात् शरद् पुत्री शैलीका ।

अक्षरका फूलहरूमा एउटा नजानिँदो आकर्षण हुन्छ जुन इन्द्रेणीमय हुन्छ र मनको घामपानीले बिस्तार बिस्तार थाहै नदिई मनको भित्री तहसम्म उज्यालो किरण छर्नका साथै एउटा अज्ञात मोहनीले लट्याइदिन्छ र मनको तलाउमा तरङ्गहरू स्वतः तरङ्गित बन्दै साहित्यका पाखा पखेराहरूसमेत परकम्पित बन्छन् र त्यहाँ सृजनाका बत्तीहरू आनन्दका लहर फैलाउँदै झलमल्ल बल्न थाल्छन्… ठीक यस्तै बत्तीको मोहनीले सर्जक शैलीकाका मनका पाखाहरू बलेको हुनुपर्छ ।

साधारण पाठकबाट सर्जक बन्दासम्मका अक्षरयात्राहरूमा उनले के के भोगिन्, के के अनुभूत गरिन् ? सिर्जनाको यात्रा भनेको त्यति सरल र सहज यात्रा कहाँ हो र हामीले सोचेजस्तो ? यो दुर्गम यात्रामा फूलहरू सँगसँगै तीखातीखा काँडाहरू पनि हुन्छन्, हात समातेर डोऱ्याउने बलिया शुभचिन्तकहरू पनि हुन्छन्  र उचालेका कदम खस्क्याउने नकारात्मक छलीहरू पनि हुन्छन् तर आफू उभिएको धरतीमा बलियोसँग उभिन सक्ने, दह्रिन सक्ने शरद् पुत्रीका निम्ति आफ्ना पिताका आड-भरोसा, उनका महान् वाणीहरू र मौनतामै धेरै कुरा सिकाउन सक्ने उनका अमर वाणीहरू र परोक्ष ढङ्गमा पस्केका मौन निर्देशनहरू – शायद यिनै कुराहरूबाट सर्जक शैलीकाले आफ्ना निम्ति एउटा मूल राजपथ तयार पारिन् ।

त्यसपछि यति भने निर्धक्कसँग भन्न सकिन्छ- ‘हुने बिरुवाको चिल्लो पात’ । शरद् पुत्री शैलीकाले सबल लेखिकाहरूका हाँचमा आफ्नो नाम दर्ता गरिसकिन् !

तीन खण्डमा सोह्र वटा लेख समेटिएको एक हरफ बाटोमा जीवनजगत्का महत्त्वपूर्ण पक्षहरूको परिचय पाइन्छ । प्रेमिल संसारका इन्द्रधनुषी पाटाहरू, बोधिसत्त्वसँग सम्बन्धित वैज्ञानिक प्रामाणिकताहरू, थ्री-डाइमेन्शनल सौन्दर्यबोध, ‘स्तूप’ र हिन्दू रहस्यवादी कनेक्सन, बौद्ध रहस्यवादको विचलन, बौद्ध-विवेक, स्वतन्त्रता सौन्दर्यअन्तर्गत पर्ने प्राचीन सौन्दर्य, सार्त्र, ओशोका स्वतन्त्रता सूत्र, नारी स्वातन्त्र्यका डार्विनको सिद्धान्त, नारीका शारीरिक प्रकृति, शरीर विज्ञान, रजोधर्म, रजस्वलासम्बन्धी विभिन्न समस्याहरू र समाधानबारे पनि लेखिकाले खुलस्त रूपमा चर्चा गरेकी छिन् ।

आफ्नो प्रिय जन्मथलो दार्जिलिङ, यसको पूर्व इतिहास, शिक्षा प्रचार, धर्म प्रचार, दार्जिलिङे भाषा, राजनैतिक विचलन, अविस्मरणीय तथा ऐतिहासिक १९८६ को आन्दोलन, २०१७ को १०५ दिने जातीय अस्मिताको मागलाई लिएर गरिएको आन्दोलन, दार्जिलिङवासीलाई आफू नेपाली हुनुको परिचय खुलाउन सक्नुपर्ने समस्याबारे समेत उनले प्रकाश पारेकी छन् ।

पहिलो खण्ड ‘चिन्तनभुइँ’का अन्तिम दुई अध्याय ‘स्त्री र प्रश्न’ र ‘कस्तो छौ ?’ झट्ट हेर्दा र सुन्दा अत्यन्त साधारण लाग्न सक्छन् तर यी दुवै अध्याय सर्जक शैलीकाका विस्तृत अध्ययन र गहन चिन्तनले टम्म भरिएका छन् । एउटी बालिकाको नारी देहयष्टिसम्मको अद्भुत यात्रा, सामाजिक तहमा उसको स्थान र मान्यता, पुरुष संसर्गबाट प्राप्त सन्तुष्टि/असन्तुष्टि, सफलता/असफलता, प्रेम, दमन, प्रताडना, वितृष्णा, उत्पीडन, स्वअस्तित्वको जगेरा, आत्मरक्षा, अस्मिताको खोजी, किनारीकरण आदिलाई बडो सुचारु ढङ्गले केलाएर प्रस्तुत गरिएका छन् । अति साधारण भलाकुसारीको भाषा ‘कस्तो छौ ?’ले व्यक्ति मनमा निम्त्याउन सक्ने अनेक प्रकारका सकारात्मक/नकारात्मक विचारहरूका सम्भावनाहरूबारेका गहन कुराहरू यसमा राखिएका छन् ।

बहुचर्चित कवि जीम मोरिसनलाई एउटा साक्षात्कारमा ‘जीम, हाउ आर यू ?’ भन्ने प्रश्न गरिँदा उनले यस प्रश्नलाई युवा पुस्ताको अति प्रिय सम्बोधन प्रश्नका रूपमा स्वीकार गर्दै व्यक्तिको सामाजिक जीवनलाई उजागर गर्ने निरर्थक तथा निरुद्देश्य तर तानासाही प्रश्नको वर्गमा यस प्रश्नलाई राखिएका कुरालाई सर्जक शैलीकाले प्रकाश पारेकी छिन् ।

सुन्दा सामान्य लाग्ने यस प्रश्नले सोधिएका व्यक्तिप्रति कस्तो किसिमको प्रभाव पार्न सक्छ सोबारेमा उनको विचार यस किसिमको छ- “…यो प्रश्नले मानव चिन्तनको यान्त्रिक अनि वस्तुगत व्यवस्थाबाट मानव मनलाई जबरजस्ती कुल्चिए तापनि वा यो प्रश्नले मानव विचारलाई उत्सुक नयाँ मोड दिए तापनि कुनै पनि मुहूर्तमा हठात् सोधिने यो प्रश्न- ‘कस्तो छौ?’-को सहज उत्तर दिनुअघि हजारपल्ट सोच्नु अनिवार्य छ ।” (पृ. 88)

‍‍‍‍० ० ० ०

दोस्रो खण्ड ‘सम्बन्धको डोरी’ अन्तर्गतका पाँचवटा अध्यायमध्ये प्रथम ‘शारदीय पीडा’मा सर्जक शैलीकाको पितृप्रेम, पिताको माहात्म्य, सपनाको मूल्य आदिलाई अत्यन्त सुदक्षतापूर्वक चर्चा गरिएको छ । छोरी लेखिका बन्छे भन्ने कुरामा सर्जक शैलीका स्वयम् अनभिज्ञ रहे तापनि उनका बाबा विश्वस्त थिए आफ्नी छोरीको प्रतिभाप्रति ।

सर्जक छोरीले सर्जक पितालाई आद्योपान्त रूपमा पढेकी थिइन्, उनको हरेक गतिविधिलाई नियालेर हेरेकी थिइन् र उनको मृत्युशय्यासम्मको यात्रामा मानस पुत्रीका रूपमा रहेर सबै कुरा अन्तर्मनमै केलाएकी थिइन् र त्यही यात्राबाट उठेर उनी सिर्जनाको फाँटिलो राजपथमा निर्धक्कसँग हिँड्ने भइसकेकी थिइन् ।

दोस्रो परिच्छेद ‘म साधु बन्न सक्दिनँ, सरी बाबा !’मा पिता शरद् छेत्रीको इमानदारी र सोझोपनको फाइदा उठाएर ठग्ने कलकत्ताका प्रोफेसनल ठगबाट ठगिएको पाइएको अमूल्य शिक्षाबारेको सुन्दर घटना छ । त्यसरी ठगिँदा पनि त्यस ठगप्रति नकारात्मक भावना नराखेर उल्टा परिस्थितिले त्यसरी ठग्नु बाध्य बनाएको होला भन्ने सोच राखेर क्षमाशील बनेका आफ्ना पितालाई उनले साधु प्रवृत्तिको क्याटेगोरीमा राखेर हेरेकी छिन् । सिलगढी जाने क्रममा खचाखच मानिसको भीडभित्र कसैले आफ्नो घाँटीबाट नेकलेस तानेको अनुभव हुँदा उनले कसेर एक थप्पड हानेकी थिइन् । त्यस ठिटोले काम्दै ‘सरी’ भने तापनि बसका मानिसहरूले कुद्दै गरेको बसबाट त्यसलाई सडक किनारमा फ्याँकिदिए । उनले तत्कालै आफ्ना पितालाई सम्झिइन् जो अत्यन्त दयावान् र क्षमाशील थिए । त्यही प्रसङ्गमा उनलाई लाग्यो कि उनी आफ्ना पिताजस्ता क्षमाशील बन्न नसक्ने रहिछन् ।

तेस्रो लेख ‘पातको फ्रेम र बाबाको चिट्ठी’ पनि ज्यादै रोचक र संवेदनशील छ । किशोर वयमा पुगेपछि प्रायशः किशोर किशोरीहरू विभिन्न आदत र सनकसँग हुर्कंदै जान्छन् । उमेरको वृद्धिसँगै कति त्यस्ता आदतबाट मुक्त हुन्छन् भने कति विभिन्न आदतका शिकार बन्न पुग्छन् । सर्जक शैलीका छेत्रीमा ट्राइफोलिया रिपेन्सको चारपाँच पाते झार बटुल्ने सनक सवार भएको थियो । वनस्पति विज्ञानका एक शिक्षकले तीनपाते झारविषय पढाएको समयमा त्यस्ता चारपाँच पाते खोजेर राखे परीक्षातिर मात्र नभई अन्य कुरोमा पनि सफलता हासिल गर्न सकिन्छ भन्नेजस्तो वाक्यले उनको मनमा गहिरो जरा गाडेको फलस्वरूप स्कूल जाँदा पनि मूल बाटो छोडेर अर्कै जङ्गली झारयुक्त गोरेटो भएर हिँड्ने गरेकी थिइन् । कथा रोचक तरिकाले अगाडि बढ्दै जान्छ ।

आफ्ना पिताको देहावसानपश्चात् एक दिन उनले आफ्ना पिताको पुस्तकालयमा खचाखच भरिएको किताबको थाकबाट एउटा प्याकेट फेला पारिन् जसमा त्यही ट्राइफोलियाका पातको पुरानो फ्रेमसँगै पिता शरद् छेत्रीले लेखेका एउटा सानो पत्र पनि हात पारिन् । जुन पत्र उनलाई नै सम्बोधन गरिएर लेखिएको थियो । जसमा जीवनलाई नाटकसँग तुलना गरेर उनलाई जीवनको परिभाषाबारे सम्झाइएको थियो र त्यो पातको फ्रेमलाई लिएर पनि धेरै कुरा खुलस्त पारिएको थियो । साधारण तर जीवनोपयोगी कुराहरूलाई सललल बग्ने शैलीमा बडो आकर्षक ढङ्गमा व्यक्त गर्न सक्ने कला शैलीकासँग छ जुन साँच्चै प्रशंसनीय छ भन्न सकिन्छ ।

चौथो अध्यायमा विशेषतः भारतीय नेपाली साहित्यका शिखर पुरुष इबराका रचनाहरूबारे शैलीकाले चर्चा उठाएकी छिन् । इबराका किताबहरू पढ्ने क्रममा उनले यी लेखकका दर्शन, विचार अथवा सिद्धान्तका कुराहरूका प्रसङ्गमा उनका विचारहरू अघिबाटै सुनेजस्ता लागेका अनुभूतिहरू साझा गरेकी छिन् भने उनका मौलिक कृतिहरू पढ्दा अघि कहिल्यै नसुनिएकाजस्ता लागेका कुरा गरेकी छिन् ।

वास्तवमा अगमसिंह गिरी र इबरा दुवैले नै उत्तिकै महत्त्वपूर्ण साहित्यिक कर्म गरेका हुन् भन्ने विचार शैलीकाले प्रस्तुत गरेकी छिन् । ‘पहिल्यै पढेजस्ता: कहिल्यै नपढेजस्ता’ शीर्षकअन्तर्गत राखिएका उनका विचारहरू मननीय छन् ।

‘इट्स भेरी हार्ड टु से गुडबाई’ युवा प्रेमप्रसङ्गलाई लिएर लिखित रचना हो जुन अति संवेदनशील छ । प्रेमी देवेन्द्रको एकपक्षीय प्रेम विह्वलता, ब्लड क्यान्सरबाट ग्रस्त भएपश्चात् मृत्युसम्मुखीन हुँदासम्म मपात्र अर्थात् सर्जकप्रतिको एकोहोरो प्रेम र दार्शनिकताले संवेदनशीलताको चरमसीमा छोएको छ । सर्जकको प्रेमप्रतिको आफ्नै दृष्टिकोण र तटस्थता देखिन्छ ।

तेस्रो खण्ड ‘हरफको बाटो’अन्तर्गत चारवटा विभिन्न विषय छन्- (१) बटरफ्लाई डिस्कोर्स र फरक जुनीको जोखिम, (२) हस्तक्षेप: परीक्षणको बाटो, (३) आफ्नै बाटो खोज्ने गीत र (४) ‘शब्द-यात्रा’को रोमा´च र जोखिम ।

प्रखर प्रतिभाशाली कवि, आख्यानकार मनोज बोगटीकृत लाइफ: अ बटरफ्लाईको पठनपश्चात् आफ्नो मनमा उब्जेका भावनाहरू तथा उनको दृष्टिकोणबारेका बडो रोचक कुराहरू समेटिएका छन् । उनका मतानुसार ‘‘लाइफ: अ बटरफ्लाई आख्यानकार मनोज बोगटीको भाषाखेल, कलाखेल र कथाखेल गर्ने मलिलो ठाउँ हो ।’’

जीवनका विभिन्न रङ्गहरूबारेमा शुरु गरिएका कथाहरूको जीवनका रङ्गहरूमै अन्त्य भएका छन् द्रष्टा शैलीकाको नजरमा । उनका कथाहरू त्यति सहज छैनन् । बालकृष्ण समको फुकेको बन्धनजस्तै उनका कथाहरू पनि विभिन्न सम्भावना र प्रकर्षका खजाना हुन् । मनोज समाजद्वारा निर्मित सहज बाटो र लयमा नहिँडेर स्वयम्द्वारा निर्मित नौलो र जोखिमपूर्ण बाटो हिँड्न रुचाउने फरक धारका व्यक्ति हुन् यसैले उनको यो फरकपन व्यक्तित्वका साथै कृतित्वमा समेत पाइनु स्वाभाविक नै हो । उनी स्वयम् यसरी व्यक्त हुन रुचाउँछन्- म छु नै फरक । खासमा फरक बाँच्नु जोखिमको काम हो । अनफिट काम । मलाई यस्तै जोखिमको काम मन पर्थ्यो । फरक ।

‘हस्तक्षेप: परीक्षणको बाटो’मा साहित्यिक धरातलमा उभिएर हस्तक्षेपको प्रसङ्गमा द्रष्टा शैलीका भन्छिन्- “समाजबिना साहित्यिक चेतना अपूर्ण रहन्छ र यो त्यसबेला मात्रै सम्भव हुन पुग्छ, जब समाज अनि साहित्यबीच सम्पूर्णताको विचार, आत्म-नियमनको विचार तथा रूपान्तरण विचारको समाजसित डाइरेक्ट संरचना हुन जान्छ ।”

साहित्यमा जब बिम्ब, प्रतीक आदिको समावेश हुन्छ तब सुनमा सुगन्ध थपिन्छ । द्रष्टा शैलीकाका मतमा कवि बोगटीका कविताहरूमा बिम्बलाई भावगर्भित शब्दचित्रका रूपमा प्रयोग गरिएको पाइन्छ जसले गर्दा उनको सिर्जनात्मक अभिव्यक्तिमा फरक सुगन्ध पाइन्छ । उनका अनुसार हस्तक्षेप पनि पूर्वलेखन कतिपय आन्दोलनहरूको गोहो भएरै आइरहेको आजको रूप हो ।

मार्क्सवाद, विखण्डनवाद, बिम्बवाद, नेचरलिज्म, मनोविश्लेषणवाद, मिथ तथा प्रेमका जटिल पक्षलाई साधारण काव्यभाषाको माध्यमबाट पाठकसमक्ष ल्याउने एउटा निर्दोष कोशिस गरिरहेको देखिन्छ भन्ने धारणा द्रष्टा शैलीकाको रहेको देखिन्छ । सम्प्रति परिवर्तनको स्वप्न द्रष्टाहरूबाटै साहित्यले नयाँ काँचुली फेरिरहनु स्वाभाविक कुरो हो । उनीहरूको पाइला परीक्षणको बाटोमा नै छ भन्ने द्रष्टाको विचार छ ।

‘आफ्नै बाटो खोज्ने गीत’ भन्ने लेखमा गीतको प्रसङ्गमा द्रष्टा शैलीकाद्वारा मनोज बोगटीको रचना र गायक पुष्पन प्रधानको स्वरमा गुञ्जित सुफी आलापमा आधारित ‘ए ! बूढाबा, यो त मेरो समय हो ।’लाई माध्यम बनाएर गीत-सङ्गीत, नृत्यमा निहित नौलोपन र शिल्पबारे विशद चर्चा गरिएको छ ।

नागाजातिको The Songs Of Corn Grinding बाट उद्भूत जुन एकोहोरो ध्वनि सृष्टि हुन्छ त्यसमा समेत सङ्गीतको लय पाइन्छ तथा वैदिक स्तोत्रको लयात्मक उच्चारणलाई पनि सङ्गीतको क्षेत्रमा जटिल राग मानिन्छ भन्ने धारणा द्रष्टाको रहेको छ । उनका अनुसार सडकतिर प्रदर्शन गरिने सपेराको बीनबाट उत्पन्न ध्वनिलाई पनि सङ्गीतशास्त्रमा राग Punnagavarali (पुन्नागाभराली)मा गाभेर हेर्ने गरिन्छ ।

भारतीय नेपाली गीत विधामा कविता विधामा झैँ रहस्यवाद, अस्तित्ववादको गोरेटो हुँदै पाश्चात्य अमेरिकन हिपहप R.A.P. (ऱ्याप) सङ्गीतको स्वरूपसम्म आइपुगेको तथ्यलाई स्विकार्दै द्रष्टा शैलीकाले यस किसिमको परिवर्तन ताल-विधानमा आउँदै गएको परिवर्तन नै प्रमुख कारण हुनसक्ने सम्भावनाका रूपमा मानिलिएकी छन् । गीतले खोजेको नयाँ बाटोलाई आत्मसात् गर्ने नयाँ पुस्ताबाट अब स्वीकृतिको अपेक्षा साँच्न सकिने कुरोमा उनी आशावादी छन् ।

‘शब्द-यात्रा’को रोमा´च र जोखिम’ लेखमा प्रखर कवि जय क्याक्टसरचित शब्द-यात्रामा जीवनको पक्ष छ, जीवन-सङ्घर्षको नितान्त नौलो चित्रण छ । द्रष्टा शैलीकाका मतानुसार कवि सुधीर छेत्रीपछि विचलन-लेखनका गुणात्मक सजगता कवि जय क्याक्टसका कवितामा नै बढी मात्रामा पाइन्छ । अस्थिर समाजमा घरीघरी देखा पर्ने परिवर्तनसँगै कुनै पनि कविका कवितामा समाजगत परम्पराका विभिन्न रङ्गहरू आफ्नो स्थान ओगट्न आउँछन् र तिनैका छाया र छवि कविताका हरफहरूमा देखा पर्छन् ।

कवि क्याक्टसका कवितामा पनि परिवर्तनशील समाजकै विभिन्न बिम्बहरू समाजको प्रतिनिधित्व गर्दै सुन्दर हरफहरूमार्फत प्रकाशमान भएका देखिन्छन् । सामाजिक विकृति, विचलन, सभ्य समाजको नग्नता, शोषण, नकारात्मकता, कतै उज्यालो भविष्यको अवश्यम्भावी, सकारात्मक पक्षको सौन्दर्यपूर्ण पक्ष सबै-सबै समेटिएका उनका कविताको शृङ्खला अद्भुत मार्ग भएर यात्रारत रहेको देखिन्छ । वर्तमान टेक्निकल युगमाथि समसामयिक दृष्टिकोण राख्दै कतै साइबर संस्कृति तथा भर्चुअल रियालिटीको प्रसङ्ग छेडिएको छ भने मृत्युको अकाट्य सत्यलाई मिथकीय रूपमा प्रस्तुत गरिएको पाइन्छ । काव्यिक सौन्दर्यले ओतप्रोत उनको ‘शब्द-यात्रा’ ओजपूर्ण छ ।

सङ्क्रमण लेखनकै हाराहारीमा अनुहारिन आएको विचलन लेखनको धरातलमामा उभिएर सशक्त कविता लेख्ने कविहरूमध्ये जय क्याक्टस एक उज्ज्वल नक्षत्र हुन् । हार्दिक तथा बौद्धिक पक्ष दुवै समेटिएका उनका कवितामा क्रान्ति, दर्शन, राजनीति, समाज तथा वर्तमान विश्वको स्थितिबारेको सोच र संलग्नताको प्रत्यक्ष अनुभूति निहित रहेको देखिन्छ ।

समाजमा एक प्रतिष्ठाप्राप्त, सशक्त लेखकमा दह्रिएका आफ्ना पिता स्वनामधन्य शरद् छेत्री वास्तवमा एक असल पिता, पति र इमानदार व्यक्ति थिए । शरद्पुत्री शैलीकाले आफ्ना लेखक पिताकी अनुगामिनी बनेर साहित्यक्षेत्रमा पदार्पण गरिन् । साधारण कुरामा पनि गहन सोच राख्ने उनमा जीवनजगत्का विभिन्न विषयहरूलाई हेर्ने फरक दृष्टिकोण छ ।

जीवनका विभिन्न आयामहरूलाई केलाउने अनुपमअनुपम कलाकी स्वामिनी उनमा गहन चिन्तन प्रस्तुत गर्ने अद्भुत सीप छ । भाषिक प्रयोगमा दक्षता वहन गर्ने यी शरद्पुत्रीको साहित्य-भूमि उर्वरा छ । अभिव्यक्ति-कौशल, वर्णन चातुर्य, वाक्य विन्यास, शिल्प सौष्ठव, कलात्मकता, गहन अध्ययन, अध्यात्म, मिथकीय प्रयोग, विषयमाथिको पकड, गाम्भीर्य, पूर्वीय/पाश्चात्य दर्शनका ज्ञान आदि सम्पूर्ण कुराहरूमा उनी तिखारिएकी छिन् ।

वस्तुतः यसरी प्रथम कृतिअन्तर्गत नै यति माझिएको शैलीसँग प्रस्तुत हुने यी सर्जकबाट भावी दिनहरूमा अझ उत्कृष्ट कृतिहरूको अपेक्षा साँच्न सकिन्छ । शारदीय पीडा झेलेर साहित्यजगत्लाई जीवनजगत्को खानीबाट यति उत्कृष्ट हीरा अर्पण गर्न जान्ने विदुषी शैलीकाप्रति यो पाठक कृतकृत्य रहनेछ ।