२०७७ को दशैँ (कार्तिक १० गते सोमबार)

दशैँको लागि केही किन्नु थिएन, केही दिनु थिएन, केही लिनु थिएन, कहीँ जानु थिएन, कसैलाई बोलाउनु वा भेट्नु थिएन । हामीले फेसबुकमा सूचना राखेकै थियौँ— हामी घर घरमा बसौँ, यसपालिको दशैँ आफैँ आफैँ मानौँ, महाव्याधिले भयङ्कर रुप लिँदैछ ।

यो सर्ला कि भन्नु प-यो । आफू भित्रै सुषुप्त बसेको पो छ कि, सारिएला कि भन्नु प-यो । सद्धे छ मानिस खाँदै खेल्दै हिँडेको, व्याधिले छोपिसकेको छ तर प्रकट हुन पर्खिरहेको । त्यस्तो पनि खबर ल्याउँछन् । त्यसैले नै हो भयको मात्रा धेरै बढेको ।

दाजु भाउजूले निम्ता गर्नु भो ‘तिमीहरू आउनू, यसो प्रसाद ग्रहण गरौँ सँगै ।’

गाडीको मुश्किल छ दाजु, सार्वजनिक चलेका छैनन् । ट्याक्सीहरू एक दुई भेटिन्छन् होला कि ! तर तिनमा सुरक्षित होला ?

त्यसको चिन्ता नगर प्रमोद लिन आउँछ, पु-याउन जान्छ काका–काकी के भो र !

हामीले सोच्यौँ— छोरालाई चारपल्ट अपडाउन, त्यतिमात्र होइन अरु भाइ बैनी कोही पनि कतै हिँड्ने छैनन् । नाता–गोता सारामा यही सन्देश पुगेछ । त्यसैले मनलाई फकाएर सम्झाएँ— यसपल्ट दाजु भाउजूको आशीर्वाद मनैले मागौँ, नित्य पाइरहेका छौ के दशैँ चाहिन्छ र ?

कुनै तयारी परेन । म प्रातै उठेँ, स्टडीमा बसेर सार्त्र पढिरहेँ, सार्त्रको आत्मजीवनी ‘शब्दहरू’ (वर्डस) सकेर सारांश लेख्तै थिएँ, त्यो सकेँ । आज दिनमा नोजिया पढ्न थाल्छु भन्ने थियो ।

दुई घण्टा लेखेँ नोट बनाएँ । त्यसपछि स्नानमा झरेँ । नयाँ वस्त्र लुकाइरोखका ती झिकेर लगाएँ । लुकाउने ठाउँ छन् ठूलाठूला भित्ताभरिका दराज खानाखाना भएका । अञ्जनाको रहर सानो होइन । तिनमा लुगा वस्त्र भरी छन् तर लाउने दिन कहिल्यै आउँदैन । अझ यो वर्ष ता आठ महीनादेखि कतै जानु छैन । एकजोर लगायो, दुई तीनदिनमा नुहायो, फे-यो । नयाँ झिकेर लाएर कहाँ जानु ? पुराना पनि नयै छन् ।

बेलुकै ससुराली भाइहरू श्रीरञ्जन र निरञ्जनलाई फोन ग-यौँ । यस्तै भो यसपालि आशा नगरौँ, प्रार्थना मात्र गरौँ भन्ने सल्लाह भयो । नत्र उनीहरू पनि आशीर्वाद लिन–दिन आउँथे सधैँ । भाइ चूडामणिले गरे— यस्तै भो रोकिएर बसौँ भन्यौँ । उनले ता अझ अर्काे संकट सुनाए— हामीले दूध र शब्जी किन्ने ठाउँको भाइलाई पोजिटिव भएछ । चारदिन भो पसल बन्द छ, भिनाजु, हामीलाई पनि डर पसेको छ ।

होसियार गरौँ बाबु आआफ्नो रक्षा आफैँ गरौँ यसबेला कोही रहेनछ । नहुने रहेछ ।

यस्तै बात ग-यौँ । सार्त्र पढ्दै छु, सार्त्रले भनेको, हाइडेगरको, युसुको भाग्य लेखान्त यही होला, भोगाइ नियति यही होला । जब संकट आउँछ मानिसलाई कालले एक्लै पारेर नङ्ग्याउँछ । परिवारमा सयौँ जना भए पनि लड्ने एक्लै हो । वरिपरि भयङ्कर आक्रामक समाज भएपनि एक्लै हो । राष्ट्र गले, परराष्ट गले, मान्छ बेहोस हुँदै उठ्तै यो अदृश्य युद्धमा मृत्युसित पौठेजोरी खेल्दै छन्, खेल्दैछन्, दिनमा बीस–पच्चीसले आत्मसमर्पण गरेको देख्छु सुन्छु ।

कहिल्यै पनि नभूली आउने भाइ बुहारी छन्, नारद परिवार । हामीलाई पनि काइला काका भेटेझैँ लाग्छ उनीहरू आउँदा । यसपालि पनि भाइ अघि लाग्ने हो कि ठमेलदेखि भनेर फोन गरेँ, गुरु छोराले उठाए— दर्शन बुबा ।

दर्शन छोरा, के कसो छ बाबु ?

अब चाहिँ अलिक बिसेक भो आजदेखि बुबाको स्थिति ।

म झसङ्ग भएँ, नारद भाइ बिरामी परेको थाहा नपाई समय बितेछन् । मानिस त्यसो त ससंकति हुन्छन्, चिन्तित हुन्छन्, परित्यक्त ठान्छन् र भरिसक्तो कसैलाई नसुनाउने होला भन्ने ठान्छन् । बिरामीबाटै अरुलाई सर्ने भयले लुगाकपडा, भाँडा वर्तन, बोली संसर्ग, दृष्टि श्पर्श कहीँबाट सर्ने भन्छ्न् हो यो— त्यसैले बिरामी झन् परित्यक्त बन्ने कारण रहेछ । अलिकति लुक्ता, नभन्दा हुन्छ कि भन्ने लाग्छ होला । कोहीले कुनै सहायता गर्ने छैन, आफ्नो नियतिसँग एक्लै लड्ने रहेछ भन्ने लाग्छ होला ।

यस्तो परिस्थिति सरकारले नै उत्पन्न गरेको हो । कुनै बिरामी पत्ता लागेपछि नेपालगञ्जका एक ३५ वर्षीय पुरुष थला परेका छन् भन्ने खालको समाचार राखेर यस्तो नक्कली तरिकाले के फाइदा हुन्छ । फलानो दाइका यस्तो नाम न म्बरका फलाना भनिदिए भैहाल्थ्यो जस्तो लाग्छ ।

फेरि ऐले कोरोनाबाट उम्किनेलाई भने अत्यन्तै ठूलो विजय प्राप्त गर्ने व्यक्ति झैँ हल्ला गर्छन् मिडिया र मानिस सबैले । फेसबुक गर्छन, लडेर उठ्नेहरू आफैँ कुर्लिन्छन्— कोरोनालाई परास्त गरियो । अलिक नाम चलेका पात्रहरूको यस्तो हुन्छ— हिजो कमल थापाको आयो, अस्ति ज्योति कोइरालाको, कुनै कलाकारको , बेपारीको, मदनमणि दीक्षित पत्नी देवीजीको… उता अनामहरू घुम्ने चुटिएका छन् । लेखान्तले अध्यारा कोठामा थुनेर तिनीहरूलाई गोद्दैछ । यी मूर्खताका दृष्टान्त हुन् । लड्ने एक्लै रहेछ, बेसार पानी पिउने एक्लै रहेछ । डराउने एक्लै, काम्ने एक्लै ।

बिहानै दमक घरमा सोधेँ दाजु भाउजूलाई— यता ठिकै छ, अन्त्यन्तै सानो परिवार भेट भएर पर्व मनाउने निर्णय लिएका छौँ भन्नुभयो । त्यही घरमा बुबाआमा हुँदा सय जना भन्दा बढी आइजाई हुन्थ्यो । तीनवटा खसीले दशैँ टार्न खोज्थ्यौँ, टर्दैनथ्यो । आज बिहानै ठूली छोरीले क्यानाडामा प्रकाशित एक लेख पठाइन्— हजुरआमाको श्लोक र घण्टाको आवाज । उनको बाल मस्तिष्कमा प्रभाव पार्ने त्यो दमकको भव्य दशैँ, कत्रो उत्कर्ष काल थियो परिवारको !

आज माल्दाजुले भन्नु भो— हामी तीन परिवार मात्र । खगेन्द्र, गंगा, खगेन्द्र । त्यस्तै १२—१३ जना । अरु कोही नआउने कतै नजाने । पारिबाट भाइ परिवार कोही नआउने, बजारबाट चन्द्रा बैनी परिवार नआउने, पारि जयपुरबाट पद्मा बैनी परिवार नआउने, इटहराबाट माधवा बैनी परिवार कोही नाअउने । यस्तो बन्दाबन्दी भय र आक्रोसले सीलबन्दी गरेको दशैँ जस्तो केही, मानिस सबै आशङ्कित छ । यो आतङ्क जत्रो यथार्थ ता छैन तर छोएपछि सकियो, सिङ्गसिङ्गै परिवारै लडेका छन् । हाम्रा घरमा (दमकमा) साधारण पनि सय जनाको आवागमन हुने कति खाने खेल्ने, रमाइलो गर्ने, दान दक्षिण गर्ने, नयाँ लुगा जोरका जोर लगाउने, जुत्ता टोपी, चूरा, घडी, सबैसबै दशैका । तल बजार चोकमा खतिवडा डेरीमा दिनको दशमन कुराउनी पाक्थ्यो। कोसेली नपुगेयर ग्राहकहरू उत्रिन्थे । बजारमा आउने फलफूल मिठाइ दिनको दश ट्रकले नपुग्ने हुन्थ्यो । राता टीका लगाएका छन्, छोराछोरी अघि लाएका छन्, गाडी ट्याक्सी, टेम्पो, रिक्सा साइकल स्याँ स्याँ र फ्याँ फ्याँ मान्छे युद्ध मैदानमा हुन्थे।

खेतहरूमा धान हुनेको, सीतले झपक्क, सागबारी शितले झपक्क, भोकले गलेर गाईवस्तु कराउन छाडेका, विवश भएर पराल टोक्तै रिसले घर मालिक मालिक्नी पर्खिरहन्थे । खसी रित्तिएका उजाड खोर, पैसा रित्तिँदै भरिँदै गरेका गोजी । आज घरमा जम्मा १४ जनाले टीका लाउनु भो, एक छाक खानु भो त्यत्ती यस्ता हिसाब हुन्थे ।

टीका लाइदिने कोही छैन । दमकका सबै गौरादह जाने आजै भन्ने सल्लाह थियो । नब्बे वर्षकी बडेमा हुनुहुन्छ । चौरासी वर्षका काकाकाकी । खबर आयो— उहाँहरू बिरामी हुनुहुन्छ । पीसीआर टेष्ट गराउन पनि अस्पताल सारा बन्द छन् । दमक पुग्नुपर्छ दशैको बेला छ । कत्रो भयावह दृश्य छ । वैशाखमा फोन गर्दा काका भन्नुहुन्थ्यो— नानी मानिसले कोरोनाको प्रतीक्षा गरेको आजदेखि होइन, तीन महीना नाघे तर त्यो आएन । आज भन्नु भो— नानी कोरोनाको अवतरण भो साँच्चै आयो, जोगिनै मुश्किल पर्ने गरीको ।

राम भाइ उतै छन् अलिक बिरामी । सोधेँ कस्तो छ, अरु ठिक हुँदै गो आमालाई टाउको दुख्न र ज्वरो निको भएको छैन ।

दशमीको दिन बिहान नौ बज्दा देवेन्द्र–रेनु मोटरसाइकलमा आए । भाइ नै मेरो सम्पूर्ण सहारा भरोसा हुन् । सानो छोरो देवांश हाँस्तै माथि चढ्यो, खेल्न थाल्यो । घरै उज्यालो पार्छ त्यो देवदूत जस्तो । एक कक्षा पुगेको छैन तर कति राम्रो अंग्रेजी बोल्छ मसित म छक्क पर्छु कसरी सिक्यो ।

तिनै जनालाई टीका लाइदियौँ । केही खान मानेनन् । केही मालपुवा र एक एक कप चिया मात्रै । देवांशले चिया मन पराएको उल्का लाग्छ । छ महीना पछि देख्यौँ— पाँच वर्षे छोरालाई —बाल सुलभ चकचक झगडा विनाको, ठूलो मान्छे सज्जन अर्कै भएको । अञ्जना र मलाई देवांश छोराले टीका लगाइदियो । मैले अञ्जनालाई पनि । दमकको भिडियो हेरेँ दाजु भाउजूले एक अर्कालाई जय–टीकाले एक अर्कालाई, नातिनीहरूले ठूलालाई । अब त्यस्तो कुनै नियम पनि नरहने रहेछ । संस्कृति भनेका समयले आकार दिएको कुरा रहेछ । अब निधार रातो मात्रै जसले लगाइदिन्छ । मैले पनि अञ्जनाबाट लगाएको भए हुने रहेछ, भरे लाग्यो टीकाको गम्भीरता कहाँ खस्कायो करोनाले ।

भाइहरू उता बुढानिलकण्ठ जाने माइत र ससुराली, नखाइ गए, अकस्मात आएर । हामीले पनि टीका फुक्यो जस्तो ढुक्क मान्यौँ र दईतिर बसेर खाना खायौँ । आज जौको चामल पाकेको रहेछ, ज्यामिरको राग आउने गाजरको सिखर्नी, दाल तरकारी, भाइले ल्याएको गाउँ बसाउने दही यस्तै । खाना खाएर फेरि म अध्ययनमा चढेँ । सार्त्रको नोजिया पढ्दै छु । दार्शनिक रुपले नोजिया के हो, जुगुप्सा कसरी उत्पन्न हुन्छ जीवनदेखि वा चेतनादेखि घृणा र वाकवाकी । केही गर्दा नलाग्ने मानिसको वशमा नआउने परिस्थितिहरू छन् । पढ्दे लेख्तै गएँ । बेलाबेला फोन आउँछन् । अमेरिकाको टेक्सास पुगेका छन् ऋचा र अजित । अन्तरे भाइ बुहारीका घरमा । उनीहरूको भव्यता हे-यौँ । तत्काल फोटामा । आशीश छोरो, दक्षिण अमेरिकाकी नौली बुहारी तर होची नेपाली जत्रै, कालो कपाल गरेकी नेपाली चेली जस्तै, मेरा भाइ बुहारी सानो नाति कति राम्रो, हे-यौँ । भाइसित बोलेँ । एउटा दशैँ त्यहाँ गर्दैछन् । भाइलाई सोधेँ— कस्तो छ ? उनले भने— चल्दैछ दाजु । मलाई त्यति रुचि लाग्दैन । हिजो उनीहरू नेपाली रेष्टुराँमा गए, आज जापानीमा जाँदैछन् । बाहिरै रमाइलो छ । आशीष परिवार पनि छुट्टीमा आएका छन् । खुसी भएर ऋचाले राखेका मोमोका चुच्चा र खुसीका डल पनि देख्यौँ । उत्पात रमाइलो ।

एकछिन विश्राम गरेँ बसेकै ठाउँमा । त्यसै शरीर भारी छ टाउको पो दुख्छ कि, घाँटीमा केहीले भेट्छ कि भनी मन सन्देहले भरिन्छ । भारी छ देह । चिया खाने बेला पनि भएछ ।

उठेर जगमा चिया पानी बसालेँ । एकछिन घाममा सुतेर अघाएकी अञ्जना पनि भित्र पसिन् । मैले सोधेँ— तिमी पनि चिया खाने ?

‘हुन्छ नि अकिलति’ उनले भनिन् ।

उम्लेको पानी दुई कपमा पारेँ र एउटा ‘डिलमा’ कम्पनीको ‘अरेन्ज’ फ्लेबर प्याकेट डुबाएँ । हरहर वासना छुट्यो । उनले भनिन्— यो नक्कली वासना हजुरलाई किन मन परेको हो, मलाई त पटक्कै मन पर्दैन । मैले भनेँ— श्रीलङ्कादेखिको भएर ।

नखाने त ?

खाऊँ न अलिकति, यो जिउ उसै भारी भएको छ आज अलिक चङ्गा हुन्छ कि । बिहान बेलुकै इलाम चिया तितो टर्राे, चिनी दूध बेगर कति खानु भनेर एकपल्ट दिउँसो यही फ्लेबर मन पर्छ । चारपाँच खाले छन्, सेवाले ल्याएकी, सकिन लागेछन् ।

त्यसरी चिया बनाएर बाँडेँ, सँगै बसेर पियौँ । उनलाई त बिहानदेखिको पूजा अर्चना, जमरा टीका प्रसादीको तयारीले होला मेरो शरीर त विश्रामनै छ तै पनि यस्तो अर्को हुँदै छ आज !

दुई घण्टा काम गरेँ । तीन बज्यो । सेवा र गिरिशबाबु आइपुगे । उज्यालो अनुहारमा नयाँ वस्त्रमा । सेवाले हाफ वाउले सेतो ब्लाउज र दामी इण्डियन सारी लगाएकी कलेजी । कति सुहाउने नयाँ वस्त लगाएकी सेवा । मैले प्रशंसा गरेँ । जाडो आयो जस्तो लागेर मैले हाफ स्वेटर लगाएको थिएँ बाहिर । अञ्जनाले लगाएको स्वेटर खोलेर राता हाफ ब्लाउज र सामान्य सारी लाइन् । अग्ला जुवाइँ नयाँ प्यान्टशर्टमा झन् उज्याला देखिए ।

त्यसपछि हामीले टीका लगाइदियौँ । विवाहको पहिलो वर्ष बाधा पर्छ कि कतै भन्ने थियो । कोही बिरामी हुइन्छ कि, मान्छेको भागाभाग हुन्छ कि, देशमा कफ्र्यु गर्छ कि यस्तै अनेक चिन्ता थिए । सबै दूर भए र फेसबुकमा फोटा राखेपछि बल्ल कार्य सम्पन्न भएको लाग्यो ।

एकछिन बात ग-यौँ । दिन ढल्कियो । चारदेखि अञ्जना र मैले व्यायाम ग-यौँ । अनि शरीर अलिक चङ्गा भयो र निज कर्ममा लाग्यौँ । बजार गइएन । फेसबुक खोल्दा खालि लडेर उठेको, लड्दै गरेको, सारो परेको मात्रै आउँछ । इटहरीका साहित्यकार भाइ मनुमञ्जिलले आमालाई उठाए फेरि पत्नी सारै छन् ।

काठमाडौँकै भाइ सुन्दर बस्नेत आमा धरापमा हुनुहुन्छ उनी आफैँ लडे । आज मनोज गजुरेल भाइको त्यस्तै खबर आयो । यस्ता लहर देख्छु फेसबुक भिजिट पनि अलिक अप्ठ्यारो लाग्छ अंशिक डर पनि

अबेला भएपछि लक्ष्मण गाम्नागेलाई फोन गरेँ कस्तो छ भाइ आज ?

अलिक विसेक छ दाजु ।

कतिमा झ-यो ।

बीसको सोह्रमा ।

तर गीतालाई कठिन छ, सुगर प्रेसर समेतले गर्दा उनलाई मुश्किल पारेको छ । मेरो पनि अनुभव टाउको दुख्छ, ज्वरो चढ्छ, एक सिँढी माथि चढ्दा पनि हुरुक्क जस्तो हुइन्छ । बेलाबेलै खोकीले छोएपछि हुरुक्क सबै फर्केला जस्तो हुन्छ । यी अहिले पनि खोक्तै उनले फोन राखे ।

यसरी टीकाको भोलिपल्ट एकादशीको बिहान चार बजे उठेर सात सम्मका यति लेखेँछु । साधारणतया तीन घण्टामा यति लेख्न मुश्किल छ तर आजका कुरा सामान्य एकदिने अनुभवका छन् । बौद्धिक वा चिन्तनका ता होइनन् तर सामान्य कुरा भए पनि यो भयप्रद परिवेशले गाँजेको हुँदा अर्थेकमा मन जाँदैन ।

समाचारमा यिनै कुरा सूचना फेसबुकका फोन र डायरीका यिनै मात्र छन् । मनमा चिन्तामा यिनै कुरा ।

यस असहज समयमा कान्छी छोरी बिना पाटन अस्पतालमा छिन् । नानीलाई जन्म दिइन्, एक स्वस्थ बालिका । उनलाई ज्वरोले छोडेको छैन भन्थी लुना । भाइ र लुना छोरी समर्पित भएर दौडधूप गर्दैछन् । विज्ञ डाक्टरहरू पनि छन् । ठीक गर्छन् आज सारा टेष्ट जति गर्ने भन्थे अरु तर आफू जान सकिँदैन र एकोहोरो चिन्ता यसै आइरहन्छ । छिट्टै त्यो नानी पूर्णरुपले खुलेर हाँसेको हेर्ने मन छ ।