साउने झरी भर्खरै थामिएको थियो तर निख्रिसकेको थिएन । साउन महिनाको अन्तिम खुट्किला तिर उक्लिंदै गरेकोले हरियालीको सघनता  चारैतिर गाढा थियो । बारीमा मकैका पातमा पानीको  थोपा टप्किंदै प्राकृतिक संगीत हावाभरि फिंजिन्थ्यो । रेडियोमा मास्टर रत्नदास प्रकाशको उही पुरानो गीत, “झमझम पानी पर्‍यो…” बारम्बार गुञ्जिरहेको थियो ।

खेतीपातीको काम लगभग सकिसकेकोले गाउँ शान्त थियो । सबैजना आ, आफ्ना घर गृहस्थीको छेउकुना मिलाउँदै हुँदा हुन् शायद । हाम्रो घर गाउँको पुछारमा पर्दथ्यो । पुछारमै भए पनि चौरतिर निस्कने र पथलैया बजार जाने बाटो हाम्रो घर छोएर निस्किन्थ्यो ।

गाउँमा असार, साउन एउटा पिलो भएर आउँथ्यो । किनकि गाउँदेखि पश्चिममा अवस्थित रातु खोला बर्खामा गाउँ पस्न हतारिए झैं पूर्वको डीलमा सिङौरी खेल्न थालेको थियो विगत केही वर्षदेखि । सबै जनालाई डर एउटै मात्र थियो कि यदि यो रफ्तार निरन्तर चलिरहने हो भने पानीढलो भएर बाढी सिधै गाउँमा धावा बोल्नेवाला थियो । यसबाट अरू चिन्तित भए पनि हामी भने कुनै नौलो घटनाको परिणाम सोचेर उत्साहित थियौं । नजिकै कुनै ठूला नेता वा सांसद आउने छनक पाएपछि बुवा र गोपीदाइहरू तटबन्ध गरिपाऊँ भनेर लामालामा ज्ञापन पत्र लेख्नुहुन्थ्यो र सारा गाउँलेको सहीछाप गराएर बुझाउनु हुन्थ्यो । तर कतैबाट खुद्रे आश्वासन बाहेक केही हात लागेको थिएन ।

त्यो खोला रातुको मूल खोला नभएर भोटेखोला थियो जुन रातुकै प्रशाखा थियो । अग्रजहरूले बताए अनुसार त्यो एउटा सानो पैनी थियो वर्षातमा सिंचाइ गर्ने उद्देश्यले स्थानीय भोटेहरूले बनाएको तर कालान्तरमा त्यो पैनीको बाटो नै खोला सोझिएर भोटे खोला हुन पुग्यो । त्यसैले रातुखोला र भोटेखोला पर्यायवाची थिए स्थानीयको जन जिब्रोमा । तर यो नितान्त बर्खे खोला थियो ।

हरि, केशव र म लगायत खोलासँगको हाम्रो सम्बन्ध अरूभन्दा विशेष थियो । फुर्सद हुने बित्तिकै हाम्रो खुट्टाको चाल त्यतैतिर सोझिन्थ्यो । खोलाको काँशघारीमा बट्टाईको गुँड खोज्नु, किराँती जुधाउनु, बाढीमा पौडनु हाम्रा नियमित तर सर्वप्रिय काम थिए ।

“ओइ !”, मैले बोरा च्यातेर बनाएको प्वालबाट भित्र चियाएँ र बोलाएँ । हरि र केशव दाजुभाइ ग्वालीभित्र गोबर सोहोर्दै ढाकिमा हाल्दै रहेछन् ।

“खोलातिर जाने हैन ?” मैले जवाफ पर्खें ।

“जाने…. एकछिन है..”, हरिले जवाफ दियो ।

खोलातिर जानुको विविध कारणहरू थिए । त्यसबेला किन खोलातिर जान प्रस्ताव राखें त्यसको छनक उनीहरूले पाइसकेका थिए । हतारो थियो तैपनि पर्खिएँ । मलाई चाँडै निवृत्त हुनुथियो । भर्खरै खाएको खानाले दबाब सृजना गर्न थालिसकेको थियो । हुन त शौचालय घर छेउमै थियो तर शौचालय साँघुरो र पानी बोकेर जानुपर्ने हुँदा झन्झटिलो लाग्थ्यो । एकदिन बुवाले शौचालयको छानामा लुकेर बसेको करेत सर्प मारेर लट्ठीमा झुन्ड्याउँदै ल्याउनुभएको देखेपछि अति आकस्मिक बाहेक त्यहाँ जान दकस लाग्न थाल्यो ।

उनीहरूको ग्वालीछेउमै सानो बयरको बोट थियो । बोटमा कलिला बयरहरू छ्पक्कै थिए । मैले रोइरहनुभन्दा गाइरहनु बेस भन्ठानेर काँचा बयर चपाउन थालें । एकछिन पछि दुवै हात धोएर आइपुगे ।

हामी छड्के बाटो हुँदै चौर निस्कियौं । चौरबाट केही मिनेट जतिको दूरी हुँदो हो हाम्रो मुकाम पुग्न ।

मैले प्रस्ताव राखें – “लु दौडौं ।”

हामी मृगको चालमा  बताससँगै खोलामा पुग्यौं ।

समानान्तर दूरीमा बसेर हामी व्यस्त हुन थाल्यौं । यो हाम्रो नियमित आकस्मिकता एक अंश जो थियो । छेवैबाट खोला तीव्र गतिमा बगिरहेको थियो । बिहान मात्र खोलाको शिरतर्फ पानी परेकोले धमिलो थियो र पानीको घनत्व पनि ज्यादा थियो । केशवले आकाशतर्फ नियाल्दै भन्यो , “लौ हेर त बादल त खोलाको शिरतिर पो जाँदैछ त भरे ठूलो बाढी आउने भो ।”
हामीले देख्यौं काला न काला बडेमानको अजिङ्गर लठारिए जस्ता भयानक बादलका भीमकाय झुन्ड उत्तरतिर हतार हतार जाँदै थिए । हामीले प्रायः बादल कि त पूर्वबाट पश्चिम या पश्चिमबाट पूर्वतर्फ गएको देखेका थियौं । यो परिदृष्य हाम्रो निम्ति सर्वथा नौलो थियो ।

सानाठूला निरन्तरको बाढीले गर्दा होला खोलाभरी बडेमानका ढुङ्गाहरू बिस्कुन सुकाएझैं फिंजारिएका थिए । हेर्दाहेर्दै खोलाको आकार निक्कै बढिसकेको थियो । हरि र केशवको खेतमा खोला कुद्न थालिसकेको थियो ।

“न्वाउने कि खोलामा ?”, मैले प्रस्ताव राखें ।

केशव केही नबोली जमीनको एउटा ढुङ्गामा कान लाएर निकै घोरिइरहयो र भन्यो, “ठूलो बाढी आउँदैछ जस्तो छ , घर जौं ।”
आकाशमा बादल मात्रै होइन पानी पनि त थियो, सिमसिम पर्न थालिहाल्यो । हामी अनियमित गतिमा यावत वक्ररेखाहरू तोड्दै घर फर्कियौं ।

घरको आँगन टेक्न मात्र के भ्याएको थिएँ, पानीको मुसलले छाना र आँगन हिर्काउन थालिहाल्यो । मम्मीले दाउरा ओत लगाउनै भ्याउनुभएन । बुवा खाना खाइवरी दाम्ला बाट्न कुत्रुङ उधार्दै हुनुहुन्थ्यो । पानीले आँखा झिमिक्क गरेन ।

एकतमासको पानी दर्किरह्यो । दिउँसै अँध्यारो भयो । वर्षातको यत्तिको तीव्रता शायदै महसूस गरेको थिएँ जीवनमै । हामी सपरिवार जम्मा भएर दलानको खाटमा बस्यौं । बुवाले आकाशतर्फ गोचर गर्दै भन्नुभयो, “हेर हेर दर्केको यो कुकुरको मुत ।” अनावश्यक पानी पर्दा जनाउने अभिव्यक्ति थियो बुवाको ।

साँझतिर गोपीदाइ, काका बडाबा र अन्य छाता घुम ओढ्दै आउनुभयो र दलानको खाटमा बस्नुभयो । वहाँहरूको स्वर र बोलीको भाव पर्गेल्दा अब ठूलै संकट आउला जस्तो लाग्दैथ्यो ।

गोपीदाइले भन्नुभयो, “काका पानी यसैगरी खोलाको शिरतिर परेको हो भने त बाढी छिर्छ है गाउँमा !” दाइको तर्कमा बल थियो । यसलाई  कसैले नकार्न सकेन । हामी सस्यानालाई चैं पीर भन्दा बढी उत्तेजना थियो । बाढी गाउँमै आए कस्तो हुन्छ ? बाढी हेर्न खोला जानै नपर्ने भो इत्यादि इत्यादि । अन्तरकुन्तरमा कतै हर्ष कतै भय एक आपसमा झगडा गरिरहेका थिए । त्यो साँझ सकेसम्म र परिस्थिति ले भ्याएसम्म थान्कोमुन्को सिध्याएर बुवाले भूतप्रेतसँग जम्काभेटका अनेकन् किस्सा सुनाउन थाल्नुभयो । हामी मग्न भएर सुन्न थाल्यौं । उता पानीको संगीत भने कर्कश हुँदै गइरहेको थियो ।

बिहान आँखा खुल्दा उज्यालो भुइँ ओर्लिसकेकै थिएन । आकाशबाट पानीको फोहरा निरन्तर खसिरहेको थियो । एकोहोरो स्वाँ गरेको आवाज एकतमासले आइरहेको थियो । एकैछिनमा गाउँकै वयोवृद्ध धमलाबूढा “खबरदार बाढी गाउँमा पस्न आँट्यो होशियार !” भन्दै ठाडो डगर निस्किए ।

हामी चनाखा भएर उठ्यौं । मम्मीले भान्सामा खाना पकाउन थालिसक्नु भएको रहेछ । हामी सबै मिलेर आवश्यक चाँजोपाँजो मिलाउन के खोज्दैथ्यौं घर पछाडिको ठाडो डगरमा घुँडा माथिसम्म पानीको भेल उठ्यो । पानी धमिलो थियो । बाढीको पानी हो भन्नेमा दुबिधा रहेन ।

एकैछिनमा हाम्रो घरको र ग्वालीको चेपबाट भेल हाम्रो आँगनमा आइपुग्यो । चप्पल र अन्य हलुका बस्तुहरू तैरिन थाले । लौ है गाउँमा बाढी पस्यो । खैलाबैला मच्चिन थाल्यो । सबैजना सुरक्षित र सतर्क रहन भरमग्दुर प्रयास गर्न थाले । जे होला भन्ने आम डर थियो आखिर त्यही नै भयो ।

हाम्रो बडाबाको घर तुलनात्मक रूपमा उच्च भूभागमा थियो । त्यसैले वरिपरिकाहरू त्यतै जम्मा हुन थाले । हाम्रो भान्सामा पकाएका खाना लगायत अन्य भाँडाकुँडा बगाएर लगिसकेको रहेछ । हामी पनि कम्मरसम्म आइपुगेको पानीमा हेलिंदै बडाबाको आँगनमा पुग्यौं । त्यहाँ धेरै छर छिमेकीका मान्छेहरू जम्मा भइसकेका रहेछन् भने कोही अझै आउँदै थिए । त्यहाँदेखि पश्चिम तर्फ हेर्दा समुद्र त्यहाँ  बेग्लै रवाफमा हिंडिरहेको थियो ।

हेर्दाहेर्दै ठाडो डगरको भेलमा एउटा परालको टाल बग्दै आयो, त्यसलाई पछ्याउँदै एउटा घुम, जुवा, केही कपडाहरू, चप्पल र केही भाँडा पनि बग्दै आएको देखियो । हामी केही उत्साहित र केही दुखित हुँदै बग्दै आएका सामानको गन्ती गर्न बाहेक केही सकिएन ।

आफ्नो बालीनाली र घर गोठको चिन्ताले सबैजना व्याकुल देखिन्थे । कोही बलियाहरू आकस्मिक सहयोग र उद्धारको निम्ति तैनाथ थिए । के होला र कसो गर्ने भन्ने प्रश्न पेचिलो भएर आयो त्यहाँ । कसैले के भने कसैले केही । ठोस निष्कर्ष निस्किने अवस्था भएन । दिन त्यसै अलमल र छलफल मै बित्यो । तर त्यो सामूहिक जमघट र खानापानमा व्यक्तिगत भन्दा सामूहिकताको भावना प्रगाढ देखिएको थियो । संकटको यो सौन्दर्य हामीले गहन रूपमा अनुभूत गर्यौं ।

दिन ढल्दै गयो । पानी पनि क्रमशः थकाइ मार्न थाल्यो । स्वाभाविक रूपमा यो बर्खे खोला थियो । पानी थामिएपछि छिट्टै नै घट्छ र भयो त्यस्तै । अलिकति बादल पन्छाएर पश्चिम दिशाबाट घाम मुसुक्क हाँस्यो । घामको मुस्कानले पानी फतक्कै गल्यो र सतह घट्दै जान थाल्यो । शायद खोलाको शिरतिर पानी पर्न छोडेको थियो । तर यता भने घरीघरी पर्ने सिमसिमे पानीले धर्ती ओभानो हुन दिएको थिएन । साँझ पर्नु अगावै त्यो आततायी समुद्र केही जँघारहरूमा रूपान्तरित भएको थियो । बाढीको  सम्भावित उपद्रवको प्रारम्भिक आँकलन हुन बेर लागेन ।

हाम्रो घरको उत्तरी मोहडामा भर मान्छेको भँड्खालो पारेछ । भान्साभरी मदम नै मदम । आँगनमा ढुङ्गा, गेगर र माटोको विस्तारित बिस्कुन । गाई गोरु ग्वालीभित्र त्रसित नजरले यताउता हेरिरहेका ।

गाउँभरिका मानिस अरूभन्दा पनि बाढी कहाँबाट पस्यो भन्ने कौतुहलताले सकसकाएर हुँदो हो थोत्रो छाता घुम च्याप्दै खोलातिर हान्निन थाले । हामी पनि पछि लाग्यौं । बालीनाली सखाप पारेर बालुवाले छोपेछ । खेतबारी भरी काठ दाउरा असरल्ल । खोलाको पानी केही घटेको भए पनि किनारमा उभिएर हेर्दा माथिमाथि उठेका छालहरूको घमासान युद्द जारी थियो भने चौडा खोलामा पानी महासागरको अवतारमा प्रकट भएको थियो । किनाराको ढिस्कना पानीले पलपलमै खसालिरहेको थियो । सारा गाउँ खोलाको किनारमा थियो । कोही बलिया बाढीमा बगेर आएको काठ तान्न उद्धत  हुँदै थिए ।

खोला गाउँ छिरेको स्थानको किनारा तुलनात्मक रूपमा होचो रहेछ । त्यहाँ सस्यानो मेला थियो । सबैले आ, आफ्नो पानी विश्लेषण गर्दै थिए । कोही भन्दै थिए रातु ठाकुर रिसाए कालो बोको चढाउनुपर्छ । कोही भने बाँध बाँध्ने कुरा गर्दैथिए । कोही भने लड्डु चढाउनु पर्ने कुरामा जोड दिंदै थिए ।

पानी केही दिनसम्म परिरह्यो तर सिमसिम मात्र । खोला पनि संग्लिंदै जान थाल्यो । खोलासँगै पीडाले विक्षिप्त मनहरू पनि संग्लिन लागे । गाउँको जीवन सामान्य लयमा फर्किन केही समय लाग्यो तर फर्कियो । उत्तरी दिशामा कालोमैलो हुने बित्तिकै उही त्रास छातीभरि मडारिन थाल्यो ।

केहिदिन पछि गोपीदाइ, बुवा, काका, बडाबा लगायतका टोली गाउँदेखि केही उत्तर दिशामा जानुभएको थियो । साँझ हाम्रो घरमा कचहरी बस्यो । बाढी र बसाइँ कचहरिको मुख्य एजेन्डा थियो । बसाइँ जाने भनिएको सो स्थान साबिकको गाउँभन्दा १५ मिनेटको यात्रा दूरीमा रहेको र उच्च स्थानमा रहेकोले हर कोणबाट सुरक्षित र सुगम रहेको छलफलको सार थियो ।

“जाने नैं हो त बसाइँ ?” बुवाको प्रश्न थियो ।

“जाने भए जौं न त यो ठाउँमा बसेर पार लाग्ला जस्तो छैन ।” सबैको निचोड थियो ।

त्यसपछि आवश्यक अन्य तयारी गरेर त्यही साल उत्तर तिरको अलि अग्लो स्थानमा योजना मुताबिक जग्गा सट्टापट्टा गर्यौं । हाम्रो घर बनाउने जिम्मा मिस्त्री छेदीलालले लिने भयो भने काका, बडाबाको घर बनाउने जिम्मा गाउँकै मसिने कामीले । हिउँदभरि मै सबैको बस्न लायक घर तयार भयो र बिधिवत रूपमै साबिकको स्थानबाट नजिकै तर नयाँ स्थानमा स्थानान्तरण भयौं ।

र पहिलो पटक त्यस स्थानमा नयाँ वर्ष मनायौं । त्यो २०५२ सालको नयाँ वर्ष थियो ।