नेपालमा मेरो यो पहिलो साहित्य-यात्रा थियो। ८०को दशकमा आउँदा  देखेको दमक र आजको दमकमा आकाश र पातालक‍ो अन्तर थियो । त्यति बेर नेपाल-नेपाली फिलिङ धेरै हुन्थ्यो।

जीवन यात्राका पाइलाहरू थुप्रै उपपथ र गोरेटा हुँदै सानाठुला लक्ष्य खोज्दै हिँड्छन्। मेरा पाइला पनि काव्यजगतको फन्को मार्न एसियन हाइवे र नेपाल राजमार्ग हुँदै दमकतिर लम्केका थिए।  २०२३ सनको मार्च महिनाको कुनै एउटा दिन  कल आयो – नेपाल गौरादहका युवा साहित्यिक दीपक सुवेदी भाइको।

“अप्रिल महिनाको ८ तारिख दमकमा एउटा भव्य साहित्यिक कार्यक्रम छ। आठ जना राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक हरूलाई  ‘साहित्य कला सङ्गम’ले ‘भवानी मिश्र ‘ पुरस्कार, ‘साहित्य कलाश्री पुरस्कार’ दिइनेछ। असमका युद्धवीर राणासर पनि हुनुहुन्छ । तपाईं र पुरुषोत्तमकाका कसैगरी आउनुहोला।”- दीपक भाइको निम्तो साथमा ई-निमन्त्रणपत्र।

यो भन्दा पहिल्यै पनि उहाँले ‘धरानको एक कार्यक्रममा बोलाउँछु’ भन्नुभएको थियो। तर त्यो कार्यक्रम केही कारणले रद्द भएको खबर पनि पछि दिनुभयो।

भोलिपल्टै सिक्किमकी कवि गीताश्री शर्माको फोन आयो- ‘दीपकसरले तपाईंहरूलाई दमकको कार्यक्रममा निम्तो गर्नुभएको रहेछ। हामीलाई पनि बोलाउनुभएको छ। सिलीगुडीसम्म आउनुहोस् अनि हामी सँगै जाऔँला।’

मैले हुन्छ भनिदिएँ।

अब जाने तयारीमा जुट्ने समय थियो। चाहिने चीज र रम्बास कविता सङ्ग्रह “तानाबाना”का केही प्रति ब्यागमा राखेर म आठ अप्रिलको प्रतीक्षामा बसेँ।

‘पातको फिरफिरे’ नामले कविता सङ्ग्रह नै निकाले पनि ‘बुढी’ शीर्षकमा लेखेको एउटै कविताले चर्चित भएका पुरुषोत्तम उपाध्याय दाहाल भाइलाई यात्राको टिकट अग्रिममै गरिराख्न भने। ‘ए दाजु चिन्तै नगर्नु, म गरिहाल्छु नि’- उनले आफ्नो सहजात पाराले भनेपछि म ढुक्क भएँ।

मायाले पुरु भनेर बोलाउँछौ हामी। कोरोना कालमा मृत्युको दैलैदेखि फर्किएर आएपछि पुरुभाइभित्र एउटा आमूल परिवर्तन आएको देख्छौँ हामी। कायाकल्प भएका। कोभिडमा स्टेरइडको प्रभावले पार्श्वक्रिया भएर एउटा खुट्टा बेलाबेला दुख्ने भएको छ। तैपनि मनको जोडले जाने भएँ। जीवनको अर्थ बुझ्ने मान्छे फराकिलो मन र हँसमुख हुँदा रहेछन्। ‘सर्वे भवन्तु सुखीना, सर्वे निरामया’का कुरा गर्छन्। पुरुभाइ काव्य प्रेमले आशक्त भए, खास गरी छन्दकविताको। रसास्वादन गर्ने मात्रै- लेख्न सिक्दै छन्।  श्वान-सेवक र समाजसेवक भए। आफूलाई चाहिने राखेर बाँकी बचत लावारिस गल्लीका बिमार कुकुरको सेवामा लगाउँछन् यी भाइ।

कुनै गरिब कविका कविता सङ्ग्रह छपाउन मद्दत गर्छन्। कटन विश्वविद्यालयमा नेपाली भाषा पठनपाठन गराउने अभियानमा लागेका छन्। रम्बास कविताको अन्तर्राष्ट्रिय सङ्ग्रह ‘वरपीपल’को खडानन्द दुलाल र उनी प्रकाशक बने। साँच्चै नामले सुहाएका मान्छे। यस्ता भाइ ६ अप्रिल २०२३को दिनदेखि मसँगै छाया जसरी थिए। स्व. हरिभक्त कटुवालको कविता सङ्ग्रह उनको यात्राको साथी हुँदो रहेछ।

बेलाबेला -‘मिलनदाजु, सुन्नुहोस् त यो कविता। छोटो गहिरो छ भन्दै ‘म चैतको एउटा हुरी मात्र, बस् त्यति, बिजुलीको एउटा चम्काइ मात्र, त्यत्ति’  कविता सुनाए-   राजधानी एक्सप्रेसको बर्थमा।

म कटुवालका कविताका प्रेममा परेको थिएँ। पुरु कोरोनाक्रान्त पछि भेटेको नयाँ जीवन उपभोग गर्दै थिएँ।

त्यस दिनको सिलीगुडीको साँझ अविस्मरणीय थियो। ठाउँ थियो सालबारीको ‘सविता गोम्देन साहित्य कक्ष’। तारुण्यपूर्ण प्रौढत्व लिएर जिउने सर्वपरिचित स्रष्टा नरबहादुर दाहाल अनि कालुसिं रनपहेलि, मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, खड्गराज गिरी, लीलबहादुर सोनार आदिसँग कपमा ‘ग्रिन टी’ र प्लेटमा मीठा कविता राखेर रमाउने मौका पाएका थियौँ- अनौपचारिक पाराले। तर वरिपरि नै हुने वरेण्य साहित्यिक भविलाल लामिछाने, लोकनाथ चापागाईँ र सुकराज दियालीसँग केही कारणवश भेट हुन नसकेको गुनासो मनमै रह्यो।

त्यस रातको आतिथ्य गीताश्री र पुण्यप्रसाद शर्माजीहरूको घरमा थियो। उहाँहरू दुवैको साहित्यप्रेम अतुलनीय छ। सिक्किमको चार दशक पुरानो ‘जनपक्ष प्रकाशन’ मार्फत आफ्ना निजी कृतिहरूसितै स्थापित एवं नवोदित साहित्यकारका हजारौँ कृतिहरू प्रकाशित गरेर साहित्यको विकासमा अतुलनीय सेवा गरिरहेका छन्, यसको छुट्टै इतिहास हुनेछ । दुवै जनाकै कैयौँ पुस्तक पनि साहित्यको दुनियाँमा आइसकेकाछन्।

भोलिपल्ट ७ तारिख बिहानै हामी चारजना शर्मा परिवारको गाडी लिएर लाग्यौँ काँकरभिट्टातिर। साथमा गाडी हाँक्दै विनयी अल्प भाषी कुमारभाइ। निकै वर्षअघि हिँडेको बाटो भएता पनि रूप अर्कै थियो- कायाकल्प भएको।

नक्सालबाडी पुग्दा पुरुभाइले भने, ‘मलाई त माइत हिँडे जस्तै लाग्दै छ। फुरुक्क छु खुसीले।’

मैले सोधेँ, ‘आमा-बा भएको न्यानो माइत कि  नभएको चिसो माइत ?’ उनले केही जवाफ दिएनन् । मलाई अजिब पाराले हेरे मात्रै।

म पनि सोच्न थालेँ, ‘कस्तोखाले माइत हिँडेका हौँला हामी ?’ त्यसपछि कोही बोलेनन्।

पानीटंकी पुगेपछि पुरुभाइ छन्दमा गुनगुनाउँदै थिए- ‘कहिले ताप्लेजुङ कहिले तेह्रथुम भन्दै बिते मेरा जिबा’।

हामी सुन्दै गयौँ, सोच्दै गयौँ- ‘हाम्रा जिबा कुन ठाउँलाई सम्झिँदै बिते होलान् ?’

पुरुभाइको जस्तरी मेरो उत्तर थिएन। शर्मा दम्पतीलाई हेरेँ- मुसुमुसु हाँसेजस्तो अनुहार थियो।

८ तारिख एघार बजे गोर्खा डिपार्टमेन्टल भवनको सभाकक्ष जुनेली रातको  तारामण्डल जस्तै थियो- साहित्यका ग्रह-उपग्रह र नक्षत्रले जगमगाएको। आठ जना पुरस्कृत साहित्यिक, प्रज्ञाप्रतिष्ठानका कुलपति श्री भूपाल राई, डा. गोविन्दराज भट्टराई, कमलराज भट्टराई , बिन्दु दहाल मूकदर्शक जस्ता युवा कविहरूले अलङ्कृत त्यो सभामा आफूलाई पाउँदा प्रकाश गर्न नसक्ने आनन्द लागेको थियो।

लोकगीत गायक सीताराम ताजपुरियाको बारेमा सुनेको थिएँ, युट्युबमा उहाँको ‘गौरादहको बजारमा हाम्रो माया बस्यो ‘ गीत सुनेको थिएँ। उहाँलाई भेट्न र त्यही गीत सुन्न पाएँ दमकमा । एकछिनको लागि भएता पनि दमकको ‘थकाली’मा विज्ञ साहित्यिक डा. शैलेन्दु प्रकाश नेपाललाई भेट्नु मेरो अहोभाग्य थियो।

आनन्द आयो। नेपालमा मेरो यो पहिलो साहित्य-यात्रा थियो। ८०को दशकमा आउँदा  देखेको दमक र आजको दमकमा आकाश र पातालक‍ो अन्तर थियो । त्यति बेर नेपाल-नेपाली फिलिङ धेरै हुन्थ्यो। टोपी नलगाउने कम नै देखिन्थे।  ससाना चिया पसलमा नेपाली खाजापानी पाइन्थ्यो। इनफ्रास्ट्रक्चर विकास गर्ने सुरुवात मात्र भएको समय। लेकाली र नेपाल बाहिरका नेपालीहरूले आवासीय प्रबन्ध मिलाउँदै गरेको कठिन परिश्रम गरेको समय। आसाम आन्दोलनका समयमा आत्तिएर कतिपय नेपालीहरूले नेपालमा सुरक्षित ठाउँ जोगाड गर्न तम्सिएको समय। राजशासन विरुद्ध कानेखुसी गर्दै हिँडेको समय। “आमा बैनी दिदी हो कति बस्छौ दासी भई…” जस्ता गीत राति राति गाउँघरमा गाउँदै हिँड्ने युवाहरूको समय। त्यस्ता युवाहरूको छाती शासकका गोलीले चाल्नो बनाएको समय।

समान्तराल रूपले भूपी शेरचन, नारायण गोपाल, हरिभक्त कटुवाल, अरूणा लामा, तारा देवी, वैरागी काइँला, ईश्वर बल्लभ, मोहन कोइराला, पारिजात जस्ता कवि, साहित्यिक, गायकहरूले नेपाली जनमानसमा प्रभावी कविता र गीतले मनभित्रको पीडा थुमथुम्याएको समय।   वनजङ्गल फाँडेर पर्यावरणीय विध्वंसको सुरुवात भएको समय।

तर यस पालि त्यहाँको भौतिक विकास देखेर छक्क परेँ। भारत र विदेशका सहरमा भएजस्तै भव्य महल, सुन्दर घरका आवासीय क्षेत्र, सपिङमल, लग्जरी गाडी, चौडा बाटा, कमार्सियल कमप्लेक्स, आधुनिक भेषभुषा आदिले कायाकल्प भएको देख्न पाएँ। उत्सुकताले दीपक सुवेदी भाइलाई भनेँ, ‘यस्तो  विकास देखेर कसरी गरिब देश भन्नु नेपाललाई। घर, बजार र मान्छे देख्दा त ईर्ष्याजनक लाग्यो मलाई। ‘ दीपक भाइले भन्नुभयो, ‘दाजु, नेपाल धनी मान्छेको गरिब देश हो। यी घर धेरैजसो विदेशी डलरको कारणले हो। हाम्रा धेरैजसो युवा खाडीदेश, अमेरिका, युरोप आदिमा गएर डलर कमाउँछन् अनि यता यस्ता घर बनिन्छन्। व्यापार गरेर यतै कमाउने पनि छन् धेरै । रेमिटेन्स हाम्रो देशको अहम् आयस्रोत हो ‘। विकास र परिवर्तनको कारण चित्त बुझ्दो थियो।

सभागृहमा पस्नअगाडि सोचेको थिएँ – हाम्रो आसामजस्तै ठुला साहित्यिक कार्यक्रममा नेपाली छोरीहरू ढाका सारीमा जातीय चेतना जगाउने कोरस गाउनेछन्, आयोजकहरू दौरासुरुवाल र टोपी लगाएर कार्य सञ्चालन गर्नेछन्। तर त्यस्तो केही भएन। त्यहाँ भए जति जेष्ठजनले टोपी लगाएर अलिकति भए पनि नेपाली सुगन्ध छरेका थिए। सोचेँ हाम्रो पारम्परिक जातीय पहिचानलाई जिउँदै राख्ने निरन्तरता यी वरिष्ठजनले कहाँसम्म पुर्‍याउन सक्लान् ?

हिमशिखर टेलिभिजनका अन्तर्वाताकार घनश्याम पथिक भाइलाई धेरै धन्यवाद दिन चाहन्छु। दमक छाड्न अगि उहाँले रम्बास कविताबारे विस्तृत जानकारी लिँदै मेरो साक्षात्कार लिएका थिए। उपहारस्वरूप उहाँको ‘छुई’ उपन्यास पाएको थिएँ। समय मिलेको भए ‘छुई’का विद्यार्थीहरूले चुङ्गी खेलेको विद्यालय हेर्ने इच्छा थियो, तर भएन।

दमकको कार्यक्रम सकिएपछि त्यसै दिन साँझमा हामी पुगेका थियौँ विराटनगर- उद्देश्य झोराहाटका नाट्यकार कवि भरत गुरागाईँ बर्बरिकको निम्तो स्विकार्दै ९ तारिखमा हुने एक भारत-नेपाल मैत्री भावनाको साहित्यिक कार्यक्रममा भाग लिन। विराटनगरमा ‘गोल्छा अतिथि गृहमा’ रात बित्यो। भोलिपल्ट बिहान त्यहीँ भेटघाट भएको थियो कवि राजेन्द्र गुरागाईँ, राधिका गुरागाईँ, पूर्वाञ्चल विश्वविद्यालयका डीन बीजु थपलिया, छन्द कवि रोहिणी रसिक, मुक्तककार प्रिन्स प्रमोद ढकाल, शिवनारायण पण्डित सिङ्गल, छत्र काफ्ले, मदनभाइ र प्रतीकवाद माथि चर्चा  गर्ने साहित्यिक हरिप्रसाद बरालसँग।

दिउँसो ‘झोराहाट नाट्य समाज’को मञ्चमा थियौँ- हाम्रो पछाडि “भारत- नेपाल साहित्य सेतु”लेखेको बेनर थियो अनि अगाडि थोरै तर रुचिवान् प्राज्ञ  व्यक्तिहरूको उपस्थिति थियो। रुद्राक्ष र सयपत्री फूलको मालाले स्वागत भयो हाम्रो। आयोजक समितिले प्रशस्ति-पत्र, अर्थोक निकै उपहार र न्यानो मायाले लछ्याप्रै पारिदिएका थिए हामीलाई। दिनभरको कविता वाचन र सिक्किमकी साहित्यकार श्रीमती गीताश्री शर्माको लघुकथालाई नाट्य रूपान्तरण गरेर कवि एवं नाटककार श्री भरत गुरागाईँले सबैलाई मन्त्रमुग्ध मात्र होइन सबैका आँखा अश्रुपूर्ण पारिदिएका थिए ।

त्यहाँ चाहिँ साँच्चिकै आमा-बा भएको न्यानो माया पाइने माइत आएजस्तै लाग्यो मलाई।

कविता र नाटकको रमाइलो अपराह्न बिताएर हामी त्यो राति प्रमोद ढकालको “होटेल एयरपोर्ट”मा बिताउन गयौँ। नेपाली उद्यमीको यो सफल सेवा उद्योगले नेपाली युवाहरूको उद्यमीताबारे निकै सकारात्मक कुरा भनिरहेको थियो।
भोलिपल्ट १० अप्रिल २०२३ का दिन विराटनगरको ख्यातिप्राप्त “मकालु टेलिभिजन” की संस्थापक- सञ्चालिका, वार्ताकार, सम्पादिका, साहित्यकार  एवं “चेतना प्रवाह”की अग्रणी वार्ताकार श्रीमती गङ्गा सुवेदीज्यूले आफ्ना तीखा र गम्भीर प्रश्नहरूद्वारा सबैका पसिना निकालेकी थिइन् । अन्तर्वार्ता निकै रोचक लागेको थियो। रम्बास कविता, असमको साहित्यिक गतिविधि हाम्रो मूल विषय थियो भने शर्माद्वयसित सिक्किमेली साहित्य, भारतेली नेपाली साहित्यिक गतिविधि लगायत भारत र नेपालसम्बन्धी साहित्यिक सेतुमा आइपर्ने कतिपय कठिनाइ मूल विषय भएको कुरा अन्तर्वार्ता सुनेपछि थाहा पाइयो ।

त्यसपछिका दुई दिन हामीले इटहरीमा पुरुभाइका दाज्यू लोमनाथ दाहालको घरमा बिताउने मौका पाएका थियौँ। मृदुभाषी हँसमुख दाजुभाउजुले बिर्सन नसक्ने माया र स्नेह दिनुभयो। सङ्खुवासभाकी शिक्षिका र कवि शारदा भण्डारी दाहालले हामी त्यहाँ भएको थाहा पाएर भेट्न आउँदा मलाई कविताको आकर्षण कति साह्रो हुँदो रहेछ थाहा लाग्यो। उनीसँग मेरो परिचय केवल सामाजिक सञ्जाल मार्फत रम्बास कविताको सन्दर्भमा भएको थियो। त्यसैले आत्मीयता बढायो। धन्य कविता ! त्यहीँ अर्की युवा कवि ज्योति खवाससँग पनि भलाकुसारी भयो। लोमनाथ दाजुभाउजुक‍ो घरमा आफ्नै घरमा भएजस्तो अनुभव भएको थियो।

१२ तारिख गौरादहमा हुने अर्को एक साहित्यिक कार्यक्रमको निम्तो पनि थियो दीपक सुवेदीभाइको। ‘जेसिज’ क्लबले आयोजना गरेको त्यो साँझ यस्तो लागेको थियो मानौँ कविता भनेको केवल गजल र मुक्तक मात्रै हुँदो रहेछ -जनप्रियताक‍ो आधारमा। जेसिज भनेको लायन्स क्लब अथवा रोटरी क्लब जस्तै अन्तर्राष्ट्रिय क्लब रहेछ।

खुल्ला आकाशमुनि जुनेली साँझमा गजल र मुक्तक सुन्दा मलाई गालिबको गल्लीमा पुगेजस्तै भान भएको थियो। दीपक भाइलाई म एक जना समालोचना साहित्यका खप्पिस सर्जक भन्ठान्थेँ। तर त्यस साँझ उहाँलाई मैले एक जना सफल मञ्च सञ्चालकको रूपमा पाएँ। बिचबिचमा चोटिला मुक्तक वाचन गरेर माहौलमा जोस थप्नुभएको थियो । एक जना मल्टीटेलेन्टेड व्यक्ति । त्यस कार्यक्रममा युवा नेपाली काव्यप्रेमीहरूको उत्साह र भागिदारी देखे मन ढुक्क भएको थियो। सोचेँ, हाम्रो भाषा र साहित्य सुरक्षित नै जिउँदै रहने छ भविष्यमा।

कुल मिलाएर नेपालमा बिताएका ६ दिन बिर्सी नसक्नु खालका थिए। थुप्रै ठाउँ घुम्ने रहर थियो। कृष्ण धरावासी र कुमार भट्टराईले भेटेका अश्वथामालाई भेट्ने तीव्र इच्छा थियो। कीचकबध नामक ठाउँको उत्खनन  प्राङ्गणमा र अर्जुनधारा जलेश्वर धाम जाने प्रबल इच्छा थियो। लेखापानीमा आइपुगेर हराएकी जयमायाले आश्रय लिएको शरणार्थी शिविरक्षेत्र हेर्ने इच्छा थियो। तर समय नै मिलेन। अब फेरि कहिले सौभाग्य जुर्ने हो त्यसैको प्रतीक्षामा छु।

हेर्ने इच्छा नभएका चीज पनि थिए मेरा लागि। कांकरभिट्टादेखि इटहरीसम्मको बाटोमा राजमार्गको दुवैतिर, जहाँ जहाँ संरक्षित वनाञ्चल थिए, थुप्रै चिहानहरू पनि देखेँ । एक त कुनै दिन त्यो बाटो फराकिलो पारेर ६-८ लेनयुक्त बनाइयो भने ती सबै चिहान उच्छेद हुनेछन्। दोस्रो, शान्तिको निद्रामा सुतेका ती पवित्र आत्माहरू दिनरात गाडी कुदेर व्यस्त रहने परिवेशमा के साँच्चिकै शान्तिमा होलान् ? तेस्रो, देश बाहिरदेखि, वा भित्रकै पर्यटक यात्रीहरू खुसी मनाउन, रमाइलो गर्न जब त्यो बाटो हुँदै जान्छन् के उनीहरूको मन थोरै मात्र भए पनि विचलित हुँदैन र? त्यो बाटोमा आनन्द मनले जीवन उपभोग गर्दै हिँड्ने यात्रुले मृत्युको जठर परिवेश महसुस गर्दा जीवन उपभोग गर्न सक्छन् र? बाटो देखि टाढा नदेखिने निर्जन ठाउँमा महाशान्तिको नीरवतामा चिहान बनाउँदा अवश्य नै केही अनुचित कार्य नहोला जस्तो लाग्यो मलाई।

अन्त्यमा, नेपाल यात्रा मेरो लागि केवल साहित्यिक मात्रै थिएन-भावनात्मक अनुभव व्याख्यातीत थियो, आदर सम्मानको स्वागत कल्पनातीत थियो, व्यक्तिगत उपलब्धि आशातीत थियो। साँच्चिकै माया गर्ने माइतीघर गएजस्तै लागेको थियो।
किमाधिकम।

विश्वनाथ, आसाम