नेपालमा केही छैन भन्ने कुरा भ्रम मात्र हो । समस्या ‘अभाव’ भन्दा बढी ‘मनस्थिति’मा छ । हामी सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न थाल्यौं भने समृद्ध नेपालको सपना कुनै एकादेशको कथा होइन, हाम्रै हातले लेख्न सकिने यथार्थ हुनेछ ।
००००००
हामी विदेशमा बस्ने नेपाली प्रायः आफू बस्ने विकसित देशसँग नेपालको तुलना गर्छौं र निष्कर्ष निकाल्ने गर्छौं, ‘नेपालमा केही छैन’ । तर यो धारणाले नेपालको वास्तविकता प्रतिनिधित्व गर्दैन । साँचो कुरा के हो भने नेपालमा ‘केही छैन’ होइन, ‘हुनुपर्ने जति छैन’ मात्र हो । यही दृष्टिकोणबाट सोच्न सकेमा देशको विकासमा नयाँ सोच, ऊर्जा र सम्भावना खोज्न सकिन्छ ।
विश्वव्यापीकरणको प्रभावले नेपालमा पछिल्ला वर्षहरूमा उल्लेखनीय परिवर्तन ल्याएको छ । इन्टरनेट, मोबाइल प्रविधि, यातायात, स्वास्थ्य सेवा र शिक्षाजस्ता सुविधाहरू पहिलेभन्दा धेरै सुलभ भएका छन् । नेपाली युवा यी सुविधाहरूको उपयोग र विस्तारमा निरन्तर प्रयासरत छन् । तर यी सुविधाहरूको पहुँच र वितरणमा देखिएको असमानता भने अझै मुख्य चुनौती बनेको छ । बेलायत जस्ता देशहरू रातारात सम्पन्न भएका होइनन् । युद्ध, आर्थिक संकट र सामाजिक द्वन्द्वजस्ता कठिन कालखण्ड पार गर्दै उनीहरूले दीर्घकालीन योजना, नागरिक सहभागिता र सुशासनका माध्यमबाट समृद्धि हासिल गरेका हुन् । नेपालले पनि यस्ता अनुभवहरूबाट सिक्दै छोटो समयमा गुणात्मक फड्को मार्न सक्छ ।
बेलायतमा ग्रामीण क्षेत्रमा समेत तीव्र इन्टरनेट र डिजिटल साक्षरता कार्यक्रमहरू छन् । नेपालले निजी क्षेत्रसँग सहकार्य गरेर सस्तो इन्टरनेट र डिजिटल तालिम दुर्गम क्षेत्रमा विस्तार गर्न सके शिक्षा र रोजगारीका अवसरहरू बढ्नेछन् । यस क्षेत्रमा महावीर पुनजस्ता व्यक्तित्वको योगदान प्रेरणादायी उदाहरण हो । सडक सञ्जाल विस्तार पछिल्ला वर्षहरूमा उल्लेखनीय उपलब्धि बनेको छ, तर मर्मत र दिगोपनमा कमजोरी स्पष्ट देखिन्छ । विकसित देशहरूमा पूर्वाधार दीर्घकालीन योजनाअनुसार निर्माण र नियमित मर्मत गरिन्छ । नेपालले पनि स्थानीय सरकार र समुदायसँग सहकार्य गर्दै मर्मत र गुणस्तरमा लगानी बढाउनुपर्छ ।
ट्राफिक नियमको पालना र अनुशासनमा सुधार आएको छ । मापसे नियन्त्रण र अनावश्यक हर्न रोक्ने अभियानले राम्रो उदाहरण दिएको छ । यस्ता सचेतना र नीतिगत निरन्तरताले यातायात व्यवस्थापनमा ठूलो सुधार ल्याउन सक्छ । स्वास्थ्य क्षेत्रमा पनि नेपालले प्रगति गरेको छ, तर सेवा पहुँचमा असमानता छ । बेलायतको एन.एच.एस प्रणालीले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्छ । नेपालले स्वास्थ्य बिमा विस्तार र प्राथमिक स्वास्थ्य केन्द्रहरू सुदृढ गर्दै यो असमानता घटाउन सक्छ ।
शिक्षामा मात्रात्मक वृद्धि भए पनि गुणस्तर र व्यावसायिकतामा कमी छ । बेलायतमा शिक्षा प्रणालीले सैद्धान्तिक र व्यावहारिक ज्ञान सन्तुलन गर्छ । नेपालले व्यावसायिक तालिम, स्टार्टअप प्रोत्साहन र शिक्षक तालिममा लगानी गरेर शिक्षालाई रोजगारीसँग जोड्न सक्छ । हालै शुरू भएको ‘शार्क ट्यांक नेपाल’ कार्यक्रमले नवउद्यमी सिर्जनाको संस्कृतिलाई बलियो बनाइरहेको छ, जसले दीर्घकालीन रूपमा रोजगारी र आत्मनिर्भरता बढाउने सम्भावना बोकेको छ ।
नेपालमा ‘नेताहरूकै कारण देश अघि बढ्दैन’ भन्ने धारणा बलियो छ । तर कुनै देश नागरिकको सक्रिय सहभागिता बिना समृद्ध भएको छैन । नेपालको तुलनामा धेरै देश अहिले पनि द्वन्द्व र भोकमरीमा फसेका छन्, तर नेपालले ती चुनौतीहरू पार गर्दै प्रजातान्त्रिक यात्रामा अघि बढिरहेको छ । राजनीतिक प्रणालीको परिवर्तनले मात्र विकास सम्भव हुँदैन । त्यसैले, लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई सुरक्षित राख्दै सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्वमा जोड दिन आवश्यक छ । विकसित देशहरूमा नेताहरू नैतिकता र जवाफदेहीताको उच्च मापदण्डमा उभिएका हुन्छन् — नेपालले पनि यही बाटो रोज्नुपर्छ ।
विदेशमा बस्ने नेपालीहरूले ‘केही छैन’ भन्ने नकारात्मक सोच त्यागी हामीले ‘भएकोलाई कसरी व्यापक बनाउने ?’ भन्ने रचनात्मक बहसमा सहभागी हुनुपर्छ । यो बहस राजनीतिक स्वार्थभन्दा माथि रहेर दीर्घकालीन योजनामा केन्द्रित हुनुपर्छ । भौतिक पूर्वाधार निर्माणले मात्र देश विकास हुँदैन । स्कूल, सडक र उद्योगजस्ता संरचना आवश्यक भए पनि ती संरचनाको सार्थकता नागरिकको सहभागिता र जिम्मेवारीमा निहित हुन्छ । भ्रष्टाचार नियन्त्रण, शिक्षाको गुणस्तर, र सामाजिक अनुशासन — यी सबै सरकारी नीतिभन्दा बढी नागरिक चेतनामा आधारित छन् । संस्कृति, नैतिकता र सामाजिक मूल्यले देशको पहिचान बलियो बनाउँछन् । त्यसैले दिगो विकासका लागि भौतिक र मानवीय पक्षबीच सन्तुलन कायम गर्नुपर्छ, जहाँ प्रत्येक नागरिकको दैनिक व्यवहारले ठूलो भूमिका खेल्छ ।
हालै जेन जेड मार्फत अधिकांश नेपालीहरूले विद्यमान नेपालको लामो समय सम्मको राजनीतिक नेक्ससलाई भताभुङ्ग बनाइदिएको छ । तर नयाँको व्यवस्थापन गर्न फेरि लामो समय लियो भने यो परिवर्तनले पनि पूर्णता पाउने छैन । सकेसम्म घोषित समयमा नै निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्नु पर्दछ । संविधानको प्रयोगमा भएका कमीकमजोरीहरूलाई सच्याउन सकिने गरी अग्रगामी पार्टीहरूलाई जिम्मेदारी दिनु पर्दछ ।
म बेलायत आएको झन्डै तीस वर्ष पुगेको छ । यहाँको जीवन र अनुभवले व्यक्तिगत जिम्मेवारी र सामाजिक अनुशासनका गहकिला पाठ सिकाएको छ । मदर टेरेसाको भनाइ, “यदि हामी प्रत्येकले आफ्नो आँगन सफा गर्ने हो भने, सारा संसार सफा हुनेछ,” । संसारमा पूर्ण रूपमा यो लागू नहुन सक्छ, तर यसको मर्मले व्यक्तिगत जिम्मेवारीको महत्त्व देखाउँछ । एक शासकले दूधको पोखरी बनाउने रहरमा सबैलाई दूध ल्याउन आदेश दिँदा ‘म एक्लैले पानी लगें भने कसले थाहा पाउँछ ?’ भन्ने सोचले पानीको पोखरी बनेको नैतिक कथा हामीले सुनेका छौँ । तर, प्रायः जसो हामी यो कथाको मर्मलाइ भने बिर्सन्छौँ ।
बेलायतमा बसेर मैले सिकेको कुरा के हो भने, सभ्य देश बनाउन नागरिकले निम्न कुराहरूमा सधैँ सजग हुनुपर्छ । सबै कामको आफ्नै महत्त्व हुन्छ, त्यसैले सानो होस् वा ठूलो, सम्मानपूर्वक गर्नुपर्छ । आत्मनिर्भर बन्ने अभ्यास गर्दै घरका सक्ने सबै काम आफैँ गर्नुपर्छ र समयको भरपूर सदुपयोग गर्नुपर्छ । व्यक्तिगत सरसफाइ, स्वास्थ्य सुरक्षा, र स्वस्थ खानामा विशेष ध्यान दिनुपर्छ, किनभने स्वच्छ र सन्तुलित जीवनशैलीले राम्रो जीवन सुनिश्चित गर्छ । अरूको बारेमा अनावश्यक चर्चा वा चासो राख्नुहुँदैन, जसले सम्बन्धमा नकारात्मक असर पार्न सक्छ । सबैप्रति सम्मान र बराबरी दृष्टिकोण राख्नुपर्छ । आफ्नो जिम्मेवारीमा इमानदार रहँदा मात्र सफलता सम्भव हुन्छ । नियम र कानूनको पूर्ण पालना गर्नु सभ्य नागरिकको विशेषता हो, र आफ्नो अधिकार प्रयोग गर्दा अरूको स्वतन्त्रता कुण्ठित नहोस् भन्ने ख्याल गर्नुपर्छ ।
कसैको गोपनीयता भङ्ग गर्नुहुँदैन, किनभने विश्वासको जग त्यही हो । आधार र प्रमाण बिना टिप्पणी गर्नु हानिकारक हुन्छ, त्यसैले सधैँ सत्य बोल्नुपर्छ । जीवनमा आउने हरेक परिस्थितिलाई सहज रूपमा स्वीकार गर्नुपर्छ, जसले लचिलोपन र अनुकूलन क्षमता विकास गर्छ । हिजोका नकारात्मक विषयहरू मात्र सम्झिरहने हो भने राम्रा कामहरू गर्न सकिँदैन । सार्वजनिक स्थानमा फोहर गर्नुहुँदैन, किनभने सफा वातावरण स्वास्थ्य र सौन्दर्य दुवैका लागि आवश्यक छ । आफ्नो हैसियतअनुसार परोपकारी काम गर्नु मानवीयता हो । सक्नेले नसक्नेलाई सहयोग गर्नु मानव कर्तव्य हो । धेरै सेवाग्राही भएका स्थानमा पालोको पालना गर्नु सामाजिक अनुशासन हो । इतिहासको संरक्षणबाट वर्तमानको मूल्य र पहिचान कायम रहन्छ । साथै, जीवित रहँदाखेरि नै मृत्युपछि आफ्नो शव र सम्पत्तिको व्यवस्थापनबारे सोच्नुपर्छ, जसले भविष्य सुरक्षित र परिवारलाई सजिलो बनाउँछ ।
नेपालमा केही छैन भन्ने कुरा भ्रम मात्र हो । समस्या ‘अभाव’ भन्दा बढी ‘मनस्थिति’मा छ । हामी सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न थाल्यौं भने समृद्ध नेपालको सपना कुनै एकादेशको कथा होइन, हाम्रै हातले लेख्न सकिने यथार्थ हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ माघ २०८२, आईतवार 










