अध्ययनले मानिसलाई खार्छ र परिपक्व पार्छ । सिर्जनाले दृष्टि र दर्शन दिने भएकाले अध्ययनले सृष्टिलाई परिपक्व पार्छ । तर साहित्य सिर्जनाका लागि अध्ययन आवश्यक हो कि यो स्वतः छङछङे प्रवाह हो भन्ने विषयमा मतैक्य छैन । साहित्य सिर्जना सधैँ छङछङे छहरा जस्तो हुन्छ बा डोर्याएर झारिएको सुन्दर झरना हो ? बहसको विषय हो । स्रष्टाहरू यस बहसमा कित्ताकाट हुँदा आफूलाई छङछङे झरना नै भन्न रुचाउलान् । तर सिर्जनाको सुन्दरता अभ्यास र सचेत संरचनाले पनि हुन्छ भन्ने तर्क पनि त्यत्तिकै ओजनदार छ ।

कतिपय सर्जकहरू भावनामा डुब्छन् र स्वच्छन्दतामा उड्छन् । भावकको आफ्नै दृष्टि हुन्छ, अध्ययन किन चाहियो भन्नेहरू पनि छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाका, किट्स, शेली र इमिली डिकिन्सनका कविताहरु भावनाको वयेलीमा स्वच्छन्द उडान भर्छन् । मौलिक सिर्जनाले जीवनको अध्ययन, अझ भनौं अन्तर्दृष्टिको अध्ययन गरे पुग्छ भनिन्छ । प्राय तः रोमासेलीहर, प्रकृति हेरेर मख्ख पर्ने र आफूलाई प्रकृतिमै लीन गराउने स्रष्टाहरू यस कोटीमा पर्छन् ।

साहित्यकार म्याक्सिम गोर्की साहित्यसम्बन्धी आफ्नो धारणामा भन्छन्– साहित्यमा दुई धारा वा प्रवृत्ति हुन्छन्, स्वच्छन्दतावाद र यथार्थवाद । यथार्थवादको अर्थ जनता र तिनको अवस्थाको रङ्गरोगनबिनाको साँचो (स्वनिष्ठ) चित्रण र प्रस्तुति हो । स्वच्छन्दतावादका परस्पर प्रतिस्पर्धी दुई उपप्रवृत्ति छन्, सक्रिय र निष्क्रिय । निष्क्रिय स्वच्छन्दतावादले मानिसलाई यथार्थबाट अलग गरी आन्तरिक जगतको गहिराइमा लैजाने गर्दछ । जीवनमा समाधान हुन नसक्ने कल्पनामा लैजाने गर्दछ । सक्रिय स्वच्छन्दतावादले भने मानिसको बाँच्ने आकाङ्क्षालाई तीव्र पार्ने प्रयत्न गर्छ । मानिसको आफू बाँचिरहेको जीवनको र सबै प्रकार उत्पीडनका विरुद्ध विद्रोहको भावना उत्पन्न गराउँछ । सिर्जना मूलतः यही दुई प्रवृत्तिका उपधारहरूमा वर्गीकृत छन् । स्वच्छन्दतावादका लागि त्यति अध्ययन आवश्यक पर्दैन, यो स्वनिसृत आत्मविरेचन हो तर यथार्थको प्रस्तुति अध्ययनले खार्छ भन्ने निष्कर्ष गोर्कीको छ ।

तर त्यसो भन्दैमा कुनै विधा–प्रविधामा सिर्जना गर्न अध्ययन नै चाहिँदैन भन्ने होइन । स्वच्छन्दताका पारखी महाकवि देवकोटामा पनि प्रशस्तै अङ्ग्रेजी–संस्कृत साहित्य र पूर्वीय–पाश्चात्य दर्शनको ज्ञानको पाउला थियो । यी दर्शन र अध्ययनले उनका सिर्जना आफैमा माझिएका छन् । आत्मिक छन् तर माझिएका छन् । स्वच्छन्दताको उडान छ, त्यहाँभित्र पनि खारिएको जीवनदृष्टि छ । प्रकृति छ, प्रकृतिलाई जीवन सापेक्षमा हेर्ने, बुझ्ने र प्रस्तुत गर्ने फराकिलो दृष्टिसामर्थ्य छ । दृष्टिकोण मौलिक छ । तर मौलिक निष्कर्ष खिच्ने अन्तर्दृष्टि ज्ञान र अध्ययनको मझाइबाट निखारिएको छ ।

तर पनि अध्ययन र उत्कृष्ट सिर्जनाको सापेक्षिक सम्बन्धमा दह्रिलो अध्ययन अनुसन्धान भैसकेको छैन । यसका लागि पनि दर्कार गहन अध्ययन कै पर्छ । समालोचनामा पनि समालोचनात्मक अन्वेषण चाहिन्छ । पूर्वीय साहित्यका भट्ट लोल्लटको उत्पत्तिवादी मत, शंकुकको अनुमितिवादी मत, भट्टनायकको भुक्तिवादी मत, अभिनव गुप्तको अभिव्यक्तिवादी मत जस्तै पाश्चात्य साहित्य विवेचकहरू ए सी ब्रैड्लीको कलावादी मत, आइ ए रिचर्डस्को मूल्यवादी मत, टि एस इलियटको अव्यक्तिवादी मतहरू गहन अध्ययनका निष्कर्ष हुन् । यी मत र वादले साहित्य विवेचनामा मान्यताहरू स्थापित गरेका छन् । इन्द्रबहादुर राई, अभि सुवेदी, कृष्णचन्द्रसिंह प्रधान, गुमानसिंह चामलिङ, मुरारी रेग्मीहरूका समालोचनात्मक आलेख अध्ययनकै कारण गहन छन् । शिल्पका लागि पनि संरचनाका लागि पनि, दृष्टिका लागि पनि दर्शनका लागि पनि अध्ययन एउटा खुराक हो । पाश्चात्य वा पूर्वीय साहित्य सबैतिर यो साझा मान्यता हो ।

कविता, निबन्ध लगायतका विधाका चोखा सिर्जनाहरू प्रज्ञा खुलेका धुरन्धर सर्जकहरू आफ्नै मन–मस्तिष्कको प्रयोगशालाबाट निकाल्दछन् । तर मनभन्दा मस्तिष्क पक्ष बढी चाहिने सिर्जनामा अध्ययनले उत्कृष्टता दिएको पाइन्छ । त्यति मात्र होइन, आख्यान–नाटक पूर्वजका विशिष्ट प्रयोगको जगमा रहन्छन् र पूर्वजको प्रयोग र प्रवृत्तिलाई फराकिलो पार्छन् ।

अध्ययनले सिर्जनामा परिपक्वता मात्र आएको होइन, कतिपय स्रष्टाहरूको प्रवृत्ति, चिन्तन धारा र मौलिकता पनि फेरिएको पाइन्छ । नेपाली आख्यान विधाकी विशिष्ट साधक पारिजातका ‘शिरीषको फूल’, ‘बैंसको मान्छे’, ‘महत्ताहीन’ मा देखिएको निरीश्वरता ‘पर्खालभित्र र बाहिर’ पछिका कृतिहरूमा उग्र प्रगतिवाद पाइन्छ । मार्क्सेली साहित्यको अध्ययन र राल्फा भएपछि पारिजातको लेखनीमा आमूल परिवर्तन पाइन्छ । पाठकले रुचाएका आफ्ना उत्कृष्ट सिर्जनालाई पनि पारिजातले महत्व दिन छाडेकी थिइन । ‘शिरीषको फूल’ र ‘पर्खालभित्र र बाहिर’  प्रयोगधार र जीवन दर्शनका दृष्टिमा आमूल पृथक् छन् । तर दुवै खाले प्रयोग विशिष्ट छन् । त्यसैले साधना र सिर्जनाबीचको सम्बन्ध पैल्याउने कार्य निकै जटिल छ । स्रष्टाका आफ्नै अभिव्यक्ति र वार्ताले अध्ययन र प्रयोगका विषयमा छुपेका कुराहरू खुल्ने गरेका छन् ।

नेपाली आख्यान साहित्यका धरोहर विश्वेश्वरप्रसाद कोइरालाका लेखनीमा देखिएको विशिष्टतामा उनको अध्ययन र भोगाइको प्रभाव छ । उनले एक प्रसङ्गमा भनेका छन्–प्रेमचन्द, कौशिक, सुदर्शन जस्ता घाघडान कथाले मलाई छोएन । रविन्द्रनाथ ठाकुरका कथाहरू पनि छेउ र पुच्छरको लाग्यो । अर्को प्रसङ्गमा ‘वार एण्ड पीस’ का पात्रहरूको भिडले पनि उनलाई दिक्क बनाएको उनले भनेका छन् । तर राय साहेवको ‘अमृतपुरको आरम्भ’ ले भने उनको दृष्टिलाई नै बदलिदियो । उनको चिन्तनवृत्ति अन्तरमनको मानिसको खोजी थियो । अस्तित्वको खोजी थियो । आफैमा थुनिएको, आफैमा छोपिएको मानिसको मुक्तिको आग्रह थियो । बालक विश्वेश्वरले आकाश हेरेर कोरेका टिपोटहरू त्यसैका सङ्केत थिए, जसलाई उनका साहित्यिक उत्प्रेरक शान्तिप्रियले औँल्याइदिए, प्रोत्साहन दिए । उनको यो टिपोट ‘वहा’ कथाका रूपमा हंस पत्रिकामा छापिएर तहल्का मच्चाएको थियो ।

भोला चटर्जीले उल्लेख गरे अनुसार विश्वेश्वरप्रसाद कोइराला आठ कक्षा पढ्दादेखि नै युरोपीय लेखकहरूका पुस्तकहरू पढ्थे । वयस्क भएपछि, अझ कारागार र निर्वासनमा रहँदा उनले अध्ययन र चिन्तनलाई साथसाथै लगेका थिए । विश्वेश्वरका अनुसार टिकाउ साहित्यका लागि अध्ययन, चिन्तन, गम्भीर अनुभव, साधनाशीलता र अध्ययन आवश्यक छ । तर समकालीन नेपाली साहित्यमा त्यही कुराको अभाव खट्किएको उनले उल्लेख गरेका छन् । साथै लेखाइ सङ्ख्या र आकारमा नभै गुणमा आधारित हुनुपर्ने, विचार परिपक्व नभै लेख्न हतारिन नहुने, प्रबल संवेदना हुर्केर तीव्र छटपटी अनुभव हुन थालेपछि मात्र लेख्दा लम्बेतान नभई सारभूत कुरा वा घनत्वपूर्ण मात्र लेख्नुपर्ने विचार विश्वेश्वरको थियो । उनका आख्यान, संस्मरण र संवार्तामा उनका यी साहित्यिक मान्यता प्रयोग भएको पाइन्छ ।

विचार र संवेदनाको घनत्व शून्य लेखनमा अल्झेका लेखकहरूप्रति आलोचना गर्दै विश्वेश्वरले भनेका छन्–आजभोलि धेरै लेखकहरू एक दुई पटक रजस्वला बन्द हुँदैमा लौ म गर्भवती भएँ भनी दौडिएका युवती झैँ अलिकति केही घटित भयो कि त ठेली ठेली लेख्न थाल्छन् । विश्वेश्वरका यी विचारले साहित्य सिर्जनाका लागि परिपक्वता चाहिन्छ, चिन्तन चाहिन्छ, भावुकतापूर्ण छनौट चाहिन्छ । मन र मस्तिष्कको सचेत संयोजन चाहिन्छ । त्यसो नहुँदा अक्षरका डङ्गुर त सङ्ग्रह गर्न सकिन्छ, विचार सिर्जना, चिन्तन र जीवन–जगतप्रति स्पष्ट दृष्टि दिन भने सकिँदैन । साहित्यमा हुनै पर्ने कुरा छुटेपछि त्यो के को साहित्य ?

साहित्य सिर्जना विचार निर्माण र सम्प्रेषणका लागि हुन्, विषयवस्तु त विचार प्रस्तुत गर्ने पृष्ठभूमिका रूपमा मात्र रहने विश्वेश्वरको मत छ । स्रष्टा आफ्नो विचारमा प्रस्ट हुनुपर्छ । सर्जक आफ्नो विचारमा प्रस्ट छैन भने उसको लेखनशैली पनि निकै दुरूह हुने उनको निष्कर्ष छ ।स्रष्टा पारिजात जस्तै स्रष्टा विश्वेश्वरमा पनि अध्ययन परिपक्वता र चिन्तनले लेखनीको आधारभूमि र विचारधारा परिवर्तन भएको पाइन्छ । तर परिवर्तनको धारा ठीक विपरीत छ । विश्वेश्वर भौतिकताबाट मनभित्र पसे, पारिजात मनबाट भौतिकतामा उत्रिइन । स्कुलमा पढ्दा, लेखनीको शुरुका दिनतिर विश्वेश्वर भावुक, रहस्यवादी, छायावादी रोमाञ्चकारी विश्वेश्वर पछि अध्यात्म विमुख भै अस्तित्ववादी, मनोविश्लेषणवादी र मानवतावादी भएको देखिन्छ । राजनैतिक चिन्तनमा पनि गान्धीवादी दर्शनबाट समाजवादी बनेका छन्, भलैकी उनका साहित्य राजनीतिबाट बिल्कुल अलग छन् । विश्वेश्वरको जीवन दर्शन र वैचारिकतामा परिवर्तनको आउनुको कारण निरन्तर अध्ययन, चिन्तन र भोगाइको गतिशीलता (जीवनको अध्ययन) ले प्रभाव पारको छ । छायावादी, रहस्यवादी विश्वेश्वर निजत्वको परम आनन्द र अस्तित्वको पूर्ण उजागर गर्ने प्रवृत्तिमा छन् । साहित्यमा ब्रह्मले देखेको, निजत्वले सम्मति दिएको, अन्तर्दृष्टिले मुक्ति खोजेका कुराहरू देखिनु उनको विशिष्ट चिन्तन र अध्ययनका परिणाम हुन् । त्यसैले उनलाई साहित्यमा अराजकतावादी भनिएको छ । त्यो अराजकता नभै परम स्वतन्त्रता र मुक्तिको खोजी हो ।

आधुनिक व्यवस्थापन विज्ञानले मानिस सिर्जनशील हुन दुई कुरा आवश्यक मानेको छ – पहिलो ‘अवकाश’ र दोस्रो ‘एकान्त’ । अवकाशले सम्पूर्ण वृत्तिबाट निवृत्ति भनेको होइन, जीवनका अध्ययनहरुको पुनर्विचरण गर्ने समय र साधना शक्तिको पूर्णता भनेको हो । साथै अवकाशले मस्तिष्क मन्थनको एकाग्रतालाई पनि जनाउँछ । जीवन निर्वाहको वृत्तिबाट अलग भएपछि व्यक्तिमा आउने स्वायत्त दृष्टिचेत, विवेचनाशक्ति र परिपक्वताले सिर्जनशीलतालाई निख्खर बनाउँछ । एकान्त त हरेक सिर्जनाले माग गर्ने विषय नै भयो ।

सर्जकहरू सार्वजनिक बौद्धिक (पब्लिक इन्टेलक्चुएल) हुन् । टी यस इलियटले कवि (सर्जक) लाई वैयक्तिक प्रज्ञा (प्रतिभा) मा रहने दायित्वमा हुन्छन् भनेका थिए । त्यसलाई फराकिलो बनाउँदा हामी सार्वजनिक बौद्धिक भन्न सक्छौं । सार्वजनिक बौद्धिक वैयक्तिक प्रज्ञाको विस्तारित रूप हो, विस्तारित दायित्व हो । सार्वजनिक बौद्धिकका लेखाई, विचार, चिन्तन र दृष्टिकोणले समाजलाई मार्गदर्शन गर्नु पर्दछ, शिक्षा, सन्देश र आनन्द दिनु पर्छ । सार्वजनिक बौद्धिक भएका कारण सिर्जनामार्फत ज्ञान निर्माण, कल्पना शक्ति निर्माण र सामाजिक प्रजननशीलता विकास उसका नैतिक दायित्वका विषय हुन् । अझ कतिपय त व्यक्तिगत जीवन र विचारमा समानता नपाएमा त्यस लेखकले समाजलाई भन्ने नैतिक आधार गुमाउँछ समेत भन्दछन् । सेक्रेटसले चोकमा उभिएर, जेलमा थुनिदा युथाफ्राइनसँग, क्रिटोसँग र मेलिटानसँग गरेको संवाद, व्यास–वाल्मीकिका उपदेश, वेदका ऋचा आदिले यसैलाई पुष्टि गर्दछन् । आधुनिक समाजमा सार्वजनिक बौद्धिकको नैतिक दायित्व बढेको छ, किनकि समाजमा यसैको खाँचो छ ।

आख्यान सम्राट् रमेश विकल लेखनका लागि अध्ययन चाहिने, अध्ययनले सिर्जना खारिने कुरा आफ्ना वार्ता–विचारहरूमा उल्लेख गरेका छन् । उनले लेखनीका शुरुवाती समयमा मार्क्सवादी साहित्य र पछि हिन्दी, बङ्गाली र युरोपीय साहित्य पढेका थिए । उनका अनुसार उनका लेखनीमा बङ्गाली, उर्दू र हिन्दी साहित्यको प्रभाव छ । प्रेमचन्द, विमल मित्र, हरिशङ्कर परसाईका साहित्यको प्रभाव उनका कथामा छ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, गोपालप्रसाद रिमाल, मल्ल बन्धु, दौलतविक्रम विष्ट र पारिजातका सिर्जनाहरूले पनि उनलाई प्रभाव पारेको छ । विकलको साहित्य यात्राको दोस्रो चरणमा भने विश्वेश्वरप्रसाद कोइराला र भवानी भिक्षुको प्रभाव परेको देखिन्छ । विश्वका प्रख्यात साहित्यकारहरू म्याक्सिम गोर्की, अनरे द बाल्जक, एन्तोन चेखव, लियो टाल्सटाय र अर्नेष्ट हेमिङ्वे पनि उनले बेस्सरी पढेको पाइन्छ ।

रमेश विकलले विदेशी साहित्य धेरै अध्ययन गरेकाले उनको सर्वोत्कृष्ट कृति ‘अविरल बग्दछ इन्द्रावती’ लाई मिखाइल शोलोखोभको ‘प्रशान्त दोनु’ को प्रभावमा लेखिएको भन्ने आरोप पनि छ । त्यस्तै लोकप्रिय कथा ‘भञ्ज्याङको चौतारो’ बङ्गाली साहित्यकारको अनुकरण गरिएको पनि भनिएको छ । यी आरोपहरूका सन्दर्भमा विकलले भनेका थिए– ‘साहित्यमा सामान्य प्रभावलाई मैले कहिले नकारिन’ ।

उनका भनाइमा एउटा कथा लेख्न उनलाई महिनौं लाग्थ्यो रे । पहिला मानस रचना, त्यसपछि आकृति बिम्ब तय, त्यसपछि मस्यौदा, त्यसपछि पनि परिस्कार र पुन परिष्कारमा माझिएर अन्तिम कथा बन्थ्यो रे । आफ्नै कृतिको पटकौंको पाठक आफै बन्नु भनेको कृतिलाई हरेक दृष्टि अब्बल बनाउनु हो । अध्ययनले, स्वअध्ययनले, कथावस्तु, पात्र, परिवेश र पृष्ठभूमि निर्माण, प्रस्तुति विन्यास र प्रभावोत्पादन परीक्षण जस्ता पक्षमा परिमार्जन अध्ययनले सम्भव बनाउँछ । नाटक जस्ता दृश्यविधामा अध्ययनका साथै अभ्यासको महत्त्व रहन्छ ।

तर केचाहिँ बुझ्नु हुन्न भने अध्ययन भनेको अनुकरण होइन । अनुकरण साहित्यमा सिर्जनाको आत्मा हुँदैन, मौलिकता हुँदैन । अध्ययनले अनुकरण गर भन्दैन, परिष्कृत बन, अनुभव सँगाल, आफै मौलिक बन, फराकिलो बन, समय र समाज चिन भन्छ । आजभोलि ह्वारह्वारती आएका साधनाबिनाका लेखनीले दृष्टिचेत, समयचेत र आत्मचेत नभएको सिर्जना दिइरहेको छ । धेरै माध्यम, अनुवाद, सर्च इन्जिन र प्रविधिको दुरुपयोगले गैरसिर्जनाको बाढी ल्याउन थालेको छ । बुझ्नु पर्छ अनुकरणले न सिर्जनालाई सम्मान गर्छ न मौलिकताको संरक्षण ।

विख्यात उपन्यासकार म्याक्सिम गोर्की साहित्य सिर्जनाका लागि पर्याप्त अध्ययन, त्यसमा पनि विदेशी साहित्यको अध्ययन चाहिने बताउँछन् । उनका अनुसार साहित्यिक सिर्जनशीलता सबै ठाउँमा र सबै मानिसका लागि उस्तै हुन्छ, रूपगत र बाहिरी सम्बन्ध मात्र फरक हो । अन्धविश्वास, द्वेष, पूर्वाग्रह आदिले आत्माहरू कैद हुन्छन् । त्यसैले अध्ययन, शिक्षाले त्यो बुझ्नु र मानिसलाई माथि पुर्याउन सघाउँछ । मानिसहरूको सिर्जनशीलताको इतिहास स्वयम् मानिसलाई चाखलाग्दो र महत्त्वपूर्ण छ । किनभने मानिस सय वर्ष नपुग्दै मर्छ, उसको सिर्जना सदियौं बाँच्छन् । गोर्कीका अनुसार अध्ययनले सिर्जनाको कालजयीता बढाउँछ । इतिहास वा मानव सम्झनालाई पुस्ता पुस्तामा हस्तान्तरण गर्छ । अर्को अर्थमा सिर्जनाको पनि पुस्ता हुन्छ, त्यसलाई पुस्तैनी वंशमा पुर्‍याई अध्ययन एउटा माध्यम हो ।

गोर्की साहित्य र विज्ञानलाई त्यति फरक देख्दैनन् । दुवैका निम्ति निरीक्षण, तुलना र अध्ययनले भूमिका खेल्दछ । लेखक र वैज्ञानिक दुवैमा कल्पना र अन्तरप्रज्ञा हुनै पर्छ । कल्पना र अन्तरप्रज्ञाले तथ्यहरूको शृङ्खलामा रहेको खाली ठाउँ भरिदिन्छ । साहित्यकार र वैज्ञानिक दोस्रो प्रकारको प्रकृति निर्माण गर्छन् । चिन्तन र अन्तरप्रज्ञाले यसको दायरा फराकिलो पार्दछ । कल्पना पनि चिन्तन हो तर बिम्बका रूपमा चिन्तन, विज्ञान चाहिँ आकृतिको चिन्तन । दुवै निमानवीकरणमा हुँदैनन् । अध्ययन त्यसको आधार हो ।

गोर्कीले अध्ययनकै क्रममा अनौठो जैविक विकासको तथ्य अघि सारेका छन् । पशुहरूले  कल्पना शक्ति पाएको भए, विचरण शक्ति पाएको भए सिंहहरूले देवतालाई कसैले हराउन नसक्ने विराट सिंह ठान्थे । लामखुट्टे, मुसाहरूले पनि त्यस्तै ठान्थे । मानिसले आफ्नो ईश्वरलाई सर्वज्ञ, सर्वशक्तिमान् सर्वव्यापी बनाएको छ । मानिसलाई अत्युत्तम आकाङ्क्षाले समृद्ध बनाएको छ । ईश्वर मानिसको रचना हो । मजदुरका लागि ईश्वर अर्थहीन बस्तु बन्यो । ईश्वरको बिम्बमा मानिसका उत्तम कुराहरूले उदात्तीकरण गर्नु आवश्यक होइन । ईश्वर साहित्यको पात्र हो । अध्ययनले विचरण र विचरणले मानवीय समृद्धिको विस्तार गरोस् भन्ने आग्रहका साथ गोर्की अध्ययन र साहित्यको सम्बन्ध देखाउँछन् । अध्ययनले मानिसलाई पशु बनाउनबाट मानिसको धरातल (बिम्बको ईश्वर) मा उकाल्छ । किनकि धेरै हदमा मानिस अहिले पनि पशु हो (तर आचार्य रजनिस मानिसको पशुपक्ष मन पराउँछन्, पशु हुन वा प्राकृतिक हुन नसकेकोले मानिस समाधिको आनन्दमा नपुगी दुखी बनेको बताउँछन्) । त्यसैले अध्ययन आवश्यक छ ।

साहित्य किन लेखिन्छ भन्ने सम्बन्धमा म्याक्सिम गोर्कीका आफ्नै मान्यता छन् । उनका अनुसार इच्छा वा रहरले साहित्य लेखिंदैन, आत्मिक अनुभूतिका कारणले लेखिन्छ । यस सन्दर्भमा विश्वेश्वर र गोर्कीको विचार साम्यता पाइन्छ । यस अर्थमा लेख्ने इच्छा दरिद्रता होइन, जीवनको समृद्धि हो, अनुभूतिको विपुलता हो र तिनको बारेमा भन्ने आन्तरिक व्यग्रता हो । शब्दको प्रयोग एकदमै ठीकसँग हुनुपर्छ, भावशून्य र दृष्टिशून्य हुनु हुँदैन । यो दृष्टिकोण कवि भूपि शेरचन र साहित्यकार पारसमणि प्रधानसँग यही रूपमा देखिन्छ ।

साहित्यिक अध्ययनको क्रममा गोर्कीले निकालेको निष्कर्ष के पनि हो भने साहित्यकार आफ्नो वर्गको आँखा, कान र हृदय हो । उसको आवाज उसको समयको आवाज हुनुपर्छ । अध्ययनले उसको समयको आवाज–अनुभूति अरूको समयको आवाज–अनुभूतिको अन्तराल पत्ता लगाउँदै जोड्दै साहित्यलाई समृद्ध बनाउँछ ।

सबै समाज र साहित्यमा गोर्की, विश्वेश्वर, विकल, पारिजात वा अन्य विचारकको समान निष्कर्ष निकाल्न सकिन्छ । त्यो के हो भने अन्य सिर्जनाको अध्ययनले सर्जकलाई मानसिक रूपमा बिथोल्छ,, वैचारिक आक्रमण गर्छ, सिर्जनात्मक तनाव दिन्छ र परिष्कारको अन्तरचेत दिन्छ । जीवन जगतप्रति दृष्टिकोण बनाउने आधार दिन्छ । समयचेत, दृष्टिचेत, भावचेत र विधाचेत दिएपछि सिर्जना अब्बल बन्छ । साथै सर्जकमा गढेर बसेको आग्रह–अनुरागलाई अध्ययनले बिदा गर्छ र कृतिलाई कालजयी बनाउँछ ।