१. जब अमरलाई शास्त्रीका विद्यार्थीले भने – सेतो धरतीबाट यौन हटाएको भए उपनिषद् हुन्थ्यो
कुरो तपाईं–हामी सबैका प्रिय आख्यानकार अमर न्यौपानेको हो । तर अमरका बारेमा एउटा कुरा थाहा पाइहालौं ।
तनहुँको देवघाट हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलमात्र होइन, आख्यानकार अमरको प्रिय ठाउँ पनि हो । उनलाई पहिलो उपन्यास अर्थात् सेतो धरती लेख्ने प्रेरणा यही ठाउँले दिलाएको हो । अझ भनौं – सेतो धरतीको क्यानभास हो देवघाट । अर्को महत्त्वपूर्ण कुरा यो छ कि, अमर जीवन, जगत् र साहित्यका बारेमा चिन्तन गर्न बेलामौका देवघाट पुगिरहन्छन् ।
कुरो पुरानो होइन । हालसालैको हो । अमर देवघाटस्थित महेश संन्यास आश्रममा विश्राम गर्न पुगे । चार दिन बसे । त्यही मेसोमा उनले शास्त्री र आचार्य पढ्दै गरेका विद्यार्थीहरूसामु आफ्नो लेखकका अनुभवहरू साझा गरे । साझा गर्ने क्रममा शास्त्री पढ्दै गरेका एक विद्यार्थीले भने, ‘सेतो धरतीमा यौनको पक्ष हटाउने हो भने उपनिषद् जस्तै हुन्थ्यो ।’
साँच्चै ! हो, विद्यार्थीको कुराले अमरलाई पनि सोचमग्न बनायो । अमरले सेतो धरतीलाई लिएर धेरै किसिमका प्रतिक्रियाहरु सुनेका थिए, तर यस किसिमको प्रतिक्रिया पहिलो थियो । उनी खुसी पनि भए ।
अनि के त ! कुरो सकियो ? छैन । तपाईंले आख्यानकार अमर न्यौपानेसँग प्रत्यक्ष भेट्नुभएको छ कि छैन, मलाई थाहा छैन । छैन भने चाहिँ सुन्नुहोस् – अमरका कुराहरु सूक्तिमय हुन्छन् । साना–साना कुरालाई सुन्दर मालाझैं उनेर सरल र सरस कुरा गर्न उनी माहिर छन्, जस्तो लेखनमा छन् ।
अँ, केही समयअघि ‘पन्ध्रौं चुली’का लेखक खिमलाल गौतमसँग सगरमाथा आधारशिवरसम्म पुगेका थिए अमर । त्यतिबेला उनलाई लागेको थियो – संसारमा हिमालबाहेक अरु केही छैन, यो पृथ्वी ‘आइस प्लानेट’ हो । तर नि, हिमालहरु त संसारमा एकदमै थोरै छन् । हाम्रो दृष्टिमा धेरै नै सीमा छ ।
अमरले हिमालको उदाहरण दिँदै विद्यार्थीलाई भने, ‘मेरो विचारमा ती हिमाल वेद र उपनिषद् हुन् । ती हिमाल बुद्ध हुन्, जो करोडौं वर्षदेखि ध्यान गरिरहेछन् । त्यहाँ मानिसहरू गएर हल्ला गरेको, बसेको, आरोहण गरेको मन पर्दैन । तर तिनै वेद र उपनिषद् जस्ता हिमालहरूले प्रकाशका सहायताले आफूलाई नै पगाल्दै हिमनदी बनाएर अविरल पठाइरहेका छन् । हिमालमा त एउटा झार पनि सृष्टि हुँदैन । एउटा कीरा पनि सृष्टि हुँदैन । तर त्यही हिमालले संसारमा सृष्टि हुनुपर्छ भनेर आफूलाई पगाल्दै नदी बनाएर पठाएका छन् ।
नदीहरू बगेको ठाउँमा हरियाली छ । अनेक जीवहरू छन् । मानिसहरू छन् । सृष्टि छ । तपाईं पनि तपाईंको मातापिताको यौनको परिणाम हो । त्यसैले यौनलाई घृणा गर्नुहुँदैन । यो संसारमा हिमालहरू जस्ता संन्यासी भूगोलहरू पनि छन् र पहाड र मैदान जस्ता सांसारिक भूगोलहरू पनि छन् । एउटाले मात्र संसार पूरा हुँदैन ।’
प्रश्नकर्ता विद्यार्थीको चित्त बुझेछ क्यारे, उनी शान्त देखिए ।
अब चाहिँ कुरा सकियो । तपाईंलाई पनि अमरको कुरामा पक्कै चित्त बुझेको हुनुपर्छ । छैन भने, ईकागजमा ‘आख्यानकार अमरलाई प्रश्नः यौन मनोवैज्ञानिक साहित्यले समाजलाई के दिन्छ ?’ पढ्न सक्नुहुन्छ ।
===
२. बालकृष्ण समको परिवारलाई किन ‘पाउडर परिवार’ भन्थे सिद्धिचरण श्रेष्ठ ?

बालकृष्ण सम
कुरो नेपाली साहित्यका त्रिमूर्तिमध्येका एक नाट्यसम्राट बालकृष्ण समको हो । तर नाटकको होइन । न त कविताको नै हो । अँ, कुरा उनको परिवारको हो ।
सबैलाई थाहा भएकै कुरो हो, बालकृष्ण ‘समसेर’बाट ‘सम’ बनेका हुन् । राणा खानदानमा जन्मिएका समले अन्य साहित्यकारहरुले जस्तो अभाव सायदै भोग्नु पर्यो होला । अँ, कुरो समको परिवारको सौन्दर्य चेतको हो ।
नेपालमा छोरी मान्छेहरुले मेकअप गर्ने चलन राणाकालबाटै सुरु भएको हो, विशेषतः दरबारबाट । तर त्यस समय नेपाली साहित्य वृत्तमा छोरा मान्छेले पनि मेकअप गर्ने कुरा कमैलाई थाहा थियो । अझै भन्दा, नेपाली साहित्य वृत्तले बालकृष्ण समबाट छोराले पनि मेकअप गर्ने कुरा थाहा पायो ।
चुरो कुरो के भने, युगकवि सिद्धिचरण श्रेष्ठ समको परिवारलाई ‘पाउडर परिवार’को उपनामले जिस्काउने गर्थे । कारण, समको परिवारका छोरा मान्छेहरुसमेत घरबाट बाहिर निस्कदा पाउडर लगाएर जान्थे । कतिसम्म भने, समका छोराहरु सानैदेखि यस्तै चलनमा हुर्केका हुनाले उनीहरु मेकअप नगरी हिँड्नै सक्दैन थिए ।
कुरा बुझ्नु भो ? पख्नुहोस् ! यो परिवार आफ्नो सौन्दर्यप्रति कतिसम्म सजग थियो भन्ने कुरा यो एउटा घटनाले प्रस्ट पार्छ । कुरो ०३७ सालको हो । सम बिरामी भएर लामो समय अस्पताल भर्ना भए । समकी श्रीमती मन्दाकिनीले लामो समय अस्पताल बसेपछि मात्रै उनको कपाल फुलेको कुरा थाहा पाइन् ।
कुरो सकियो । तपाईंलाई पनि पुराना साहित्यकारका यस्तै रोचक कुरा थाहा पाउने इच्छा भए वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई भेट्नुहोस् ।
===
३. कवि बन्न चाहन्थे दयाहाङ, बने अभिनेता
योचाहिँ, वर्तमान समयका चल्तीका सफल अभिनेता दयाहाङ राईको हो । दयाहाङ राई, नाम नै काफी छ । छैन त ?
छ नि ! उसो भए चुरो कुरोकै निरुपणतिर लागौं ।
भोजपुरबाट काठमाडौं पस्दै गर्दा दयाहाङसँग कवि हृदयमात्र थिएन, कविताहरु पनि थिए । एसएलसी सकिएपछि उनी थप पढाइका लागि सहर पस्ने योजनामा थिए । प्रतीक्षा भने नतिजाको थियो ।
एकदिन, उनले खेतमा काम गरिरहेका बखत अशुभ समाचार सुने । उनी एसएलसीमा फेल भएका थिए, खबर भाइले सुनाएका थिए । खबरसँगै दयाहाङ बिरक्तिए । सहरको सपना बोकेर बसेका उनी, सायद रन्थनिए पनि । र, त्यही बिरक्तभावको उकुसमुकुसलाई कवितामा पोखे । दयाहाङ कवि भए ।
यही हो चुरो कुरो ? होइन । यो त पृष्ठभूमि हो । चुरो कुरो अब सुन्नुहोस् ।
काठमाडौं आइसकेपछि दयाहाङ कवि–लेखकसँग नजिकिए जुन स्वभाविकै भइहाल्यो । एकदिन, सहरमा कविता सुनाउने कार्यक्रम थियो । दयाहाङ कविता त लेख्थे, तर सुनाउन भने सक्दैन थिए । लाज मान्थे । तर त्यस कार्यक्रममा हिम्मत गरे । कविता सुनाउने भए ।
त्यस कार्यक्रममा कविता सुनाउनका लागि दयाहाङका मित्र बनिसकेका बुद्धिसागर पनि उपस्थित थिए । दयाहाङ बुद्धिसागरभन्दा पहिले कविता सुनाउन चाहन्थे । तर चाहना पूरा भए । बुद्धिसागर हतारमा रहेछन् । उनले पालो मिचे । स्टेजमा उक्लिएर, र कविता सुनाए । तर बुद्धिसागरले कविता भनिरहँदा दयाहाङ भने पुनः रन्थनिए । उनलाई आफ्नो कविता अत्यन्तै झुरो लाग्यो, र आफ्नो कविता नसुनाई त्यहाँबाट टाप कसे ।
कुरो सकियो ? सकियो, कविताको चाहिँ । दयाहाङको त चलेको चलै छ, तपाईंलाई थाहै छ ।
अँ, कविता लेखेर पार नलाग्ने देखेपछि दयाहाङ नाटकतर्फ फर्किए । नाटक लेखन कार्यशालामा सहभागी बने । प्रशिक्षक थिए, अनुप बराल । बरालकै छत्रछायामा नाटकको अवयव पहिल्याए । अभिनय सिके । र, रङ्गमञ्चमा पर्दापण गरे । पछि ठुलो पर्दामा छलाङ मारे । अनि, नामै काफी बन्यो – दयाहाङ राई ।
कुरो सकियो । तपाईंलाई थाहा छँदैछ, पत्याउने या नपत्याउने अधिकार सधैं झैं तपाईंसँगै सुरक्षित छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










