
१. किताब लेखेरै १ करोड १६ लाख* कमाउने नेपाली ‘लेखक’ !

चूडामणि शर्मा
किताब लेखेरै प्राप्त रोयल्टीबाट जीविकोपार्जन गरिरहेका लेखकहरू हामीकहाँ हातका औंलामा गन्न सकिन्छन् । किताबबाट प्राप्त रोयल्टीबाट कार चढ्ने तथा काठमाडौंमा घरै किन्ने लेखकहरूका बारेमा समेत सुन्ने गरेका छौं । कुनै लेखकले किताबको रोयल्टी नै २३ करोड पाएको खबर भने हाम्रो सोचाइको बुता बाहिरको कुरो हो । तर मलाई विश्वास गर्नुहोस्, नेपाली लेखकले किताबको रोयल्टीबापत २३ करोड लिएको खबर बाहिरिएको ठिक साँचो हो । पत्याउने कि नपत्याउने ? स्तम्भकार आफैं पनि दोधारमा छ ।
* (चूडामणि शर्माले साहित्यपोस्टसँग सम्पर्क गरी २३ करोड नभएर १ करोड १६ लाख राेयल्टी बुझेको जनाएका छन् ।)
कुरो नेपाली निजामती सेवाकै सबैभन्दा धनी कर्मचारीका रूपमा चर्चित, वहालवाला सहसचिव चूडामणि शर्माको हो । शर्माले बुझाएको सम्पत्ति विवरणलाई पत्याउने हो भने किताबको रोयल्टीमार्फत २३ करोड नेपाली रुपियाँ बुझ्ने पहिलो र एकमात्र ‘लेखक’ हुन् चूडामणि ।
हल्लियो हैन त मथिङ्गल ?
चूडामणि शर्मासँग कति सम्पत्ति छ भन्ने उनी आफैंलाई थाहा छैन भन्छन् उनलाई नजिकबाट चिन्नेहरू । खुसी लुकाउने ठाउँ हुँदैन भने जस्तै शर्माले कुनैबेला आफ्ना हितैषीहरूसँग सम्पत्ति लुकाउने ठाउँ भएन भनेर ठट्टा गरेको चर्चा पनि उच्च प्रशासकहरूबिच चल्ने गरेको थियो । –अनलाइनखबर)
हुन पनि, किताब लेखेरै २३ करोड बुझेको व्यक्तिसँग सम्पत्ति लुकाउने ठाउँ नहुनु स्वभाविकै त होला !
अँ, अब चाहिँ चुरो कुरोमा प्रवेश गरौं ।
चूडामणि शर्माले किताब नलेखेका होइनन् । निजामती कर्मचारी शर्माले लोकसेवाका लागि आवश्यक दर्जन बढी पुस्तकहरू लेखेका छन् । र, त्यही लोकसेवाका किताबहरूको रोयल्टीबापत उनले २३ करोड बुझेका हुन् ।
अख्तियारको फन्दामा परेपछि आम्दानीको स्रोत देखाउने क्रममा उनले २३ करोड रुपियाँ किताब बेचेर कमाएको विवरण पेश गरेका थिए । शर्माले सम्पत्ति विवरण बुझाउँदा प्राप्त रकममात्र नभएर, बिक्री भएको प्रमाण (भ्याट बिल) समेत पेश गरेको बताइन्छ ।
कुरो यति नै हो, सकियो । स्तम्भकार चाहन्छ, शर्माले झैं करोडमा रोयल्टी लिने हैसियतमा अन्य नेपाली लेखकहरू पनि पुगुन् । तर अख्तियारको फन्दामा नपरून् ।
===
२. महात्मा गान्धी पनि रिसाए !

महात्मा गान्धी
कुरो गान्धीको हो । मोहनदास करमचन्द गान्धी अर्थात् महात्मा गान्धी ।
गान्धीको एक बानी थियो । उनी भोजनपश्चात नियमपूर्वक नियमित मह सेवन गर्थे । यो कुरो त्यही महसँग जोडिएको हो जुन गान्धी लण्डन भ्रमणमा रहेको बेला घटेको थियो ।
अँ, गान्धी लण्डन भ्रमणमा थिए । मीरा बाई उनको साथैमा थिइन् । मुख्यतः उनको काम गान्धीको खानपानको बन्दोवस्त गर्नु हुन्थ्यो । तर दुर्भाग्यवश मीराले गान्धीले नियमित सेवन गर्ने मह बोक्न बिर्सिइन् ।
अनि ? अनि, मीराले सोचिन् होली – जिम्मेवारीबाट पछि हट्ने कुरो भएन । भोजनपश्चातलाई मह त जुटाउनै पर्यो । र उनले लण्डनमै एक सिसी मह किनिन् ।
महको जोगाड भयो । गान्धी साँझको भोजन गर्न बसे । बसेसँगै महको सिसी देखे जुन भारतमा हुँदा उनले सेवन गरिरहेको थिएन । नयाँ सिसी देख्नासाथै महात्मालाई पनि रिस उठ्यो । वा भनौं, रिसाएको भावभङ्गीमा मीरालाई भने, ‘तिमीले महको यो नयाँ सिसी किन मगायौं ?’
महात्माको रिसअघि को पो नडराईकन रहन सक्ला ! मीरा डराइन्, र सानो स्वरमा भनिन्, ‘मैले महको सिसी ल्याउन भुलेछु बापु !’
मीराले नयाँ सिसी किनेको बारे बताउनु परेन, गान्धीले कुरो बुझिहाले । भने, ‘तिमीले महको सिसी ल्याउन भुल्यौ त के भयो ? एकदिन महको सेवन नगर्दैमा म मर्थें र ? तिमीलाई थाहा हुनुपर्छ – हामी जनताको पैसाले जीवन निर्वाह गर्छौं, जुन एक एक पैसा बहुमूल्य छ । यस्तो बहुमूल्य पैसा फजुल खर्चमा उडाउनु हुँदैन ।’
कुरो सकियो । पत्याउनु भएन ? साँच्चै भन्या, कुरो सकियो । अँ, हामी बहादुर नेपालीहरूले भर्खरै कुन नेताको उपचार पो गर्यौं ?
===
३. तारानाथ शर्मा किन जेल परे ?

डा. तारानाथ शर्मा
कुरो तानासर्माको हो । अर्थात्, विद्वान साहित्यकार तथा समालोचक डा. तारानाथ शर्माको । तर कुरो ‘बेलायततिर बरालिँदा’को होइन । न त नियात्राको नै हो ।
अँ, कुरो उपन्यासको हो । शर्माको ०३० सालमा प्रकाशनमा आएको उपन्यास ‘सुली’को हो ।
कुरो के भने, हामीकहाँ आफ्नो कलमकै कारण जेल पर्ने साहित्यकार/लेखकहरूको इतिहास लामै छ । त्यहीँ छुट्टै अस्तित्वका साथ उभिन्छन् तारानाथ शर्मा ।
शर्मा आफ्नो समालोचना तथा अभिव्यक्तिका माध्यमबाट विवादमा आइरहन्थे । उनले कहिले बालकृष्ण समयको ‘चिसो चुलो’लाई झुसिलोको डकार भने त कहिले राजा महेन्द्रको कवितालाई चोरीको आरोप लगाए । फेरि, समयान्तरमा विनम्रताका साथ ‘सम र समको कृति’ लेखेर समको तारिफ र राज महेन्द्र तथा रानी चाँदनी शाह (ऐश्वर्य) को प्रशंसा पनि गरेँ ।
अँ, खास कुरो उपन्यास ‘सुली’को हो । सुलीले शर्मालाई गराएको थुना यात्राको हो ।
शर्मा लेखेकै कारण जेल परे – यो सर्वमान्य कुरा हो । तर, के के लेखेका कारण उनी जेल परे ? नयाँ शिक्षाको विरोध गरेर कि राजाको विरोध गरेर ? विभिन्न तर्कहरू छन् । विभिन्न कारणहरू पनि छन् । यसमध्ये एक प्रमुख कारण सुली उपन्यास पनि रहेको बताउँछन् जानकारहरू ।
अब चुरो कुरो गरौं । त्यो के भने, ‘सुली’ उपन्यासमा दरबारका सचिवको परिवारभित्रको कथा थियो । सचिवको श्रीमतीको जीवनीलाई छोएर तथा सचिवको एक प्रेमिकालाई केन्द्रित गरेर सुली लेखिएको थियो । र, त्यही कारणले एकपटक उनी जेल परेको बताइन्छ ।
कुरो सकियो ? तपाईंले पत्याउनुभो ? तपाईंलाई थाहै छ, सधैं झैं पत्याउने या नपत्याउने अधिकार तपाईंसँगै सुरक्षित छ ।
(* सम्पादन गरिएको)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

