पश्चिम नेपालको कपिलवस्तुमा जन्मिएका कवि राम अधिकारी हाल अमेरिकाको भर्जिनियामा रही आइटी क्षेत्रमा कार्यरत छन् । समालोचना, कविता, कथा तथा निबन्ध विधामा कलम चलाउँदै आएका अधिकारीको सपना र छायाहरु पहिलो प्रकाशित कृति हो ।
प्रस्तुत छ, अधिकारीसँग उनको पहिलो कृति कवितासङ्ग्रह ‘सपना र छायाहरुरू’मा केन्द्रित रही साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको कुराकानीको सम्पादित अंशः
===
तपाईंको पहिलो कृति स्वरूप कवितासङ्ग्रह सपना र छायाहरू प्रकाशनमा आएको छ । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
प्रतिक्रिया एकदम सकारात्मक पाइरहेको छु । कृति प्रकाशनलगत्तै अमेरिका फर्किनु परेकाले त्यति धेरै पाठकहरूसँग संवाद हुन पाएको छैन । यता पनि प्रतिक्रिया लिइरहेको छु । सायद नयाँ लेखक, कविको रूपमा स्वीकार गरिदिनुभएको छ । भनिन्छ, कविता सबैभन्दा बढी लेखिने र सबैभन्दा कम पढिने साहित्यको विधा हो । त्यसैले ठूलो पाठक समूहको अपेक्षा छैन तर जति प्रतिक्रिया प्राप्त भएका छन्, सबै उत्साहप्रद् छन् । पहिलो कृतिका रूपमा भएका तमाम गल्तीहरू स्वीकार गरिदिनुभएको छ, यस अर्थमा खुशी छु ।
‘सपना र छायाहरू‘ सपनाका छायाहरू हो कि छायाहरूको सपना हो ?
यो सङ्ग्रहको नामाकरण गर्ने बेलामा सबै कविताहरू पटक पटक पढें । कताकता आफ्नो जन्मभूमिप्रतिका सपना र त्यसका छायाहरू प्रायः कवितामा गुन्जिरहे । अर्को सन्दर्भमा मैले आफ्नै भूमिकामा भने जस्तै सपनाहरू मरेर गए तर छायाहरू मरेनन् । त्यस अर्थमा ती नभेटिएका छायाहरूले ब्युँझाइदिएका सपनाहरू नै कवितामा प्रतिविम्बित भइरहेका छन् जस्तो लाग्छ । खासमा म घर र देश छोडेर हिंडेपछिका मेरा सपनाका ऊहापोह र त्यसभित्र छायाहरूले नछोडेका मनभित्रका उद्धेलन कविताहरू लाग्छ । मैले यसो भनिरहँदा कविताका पंत्तिहरूले त्यो न्याय नगरेका हुनसक्छन् । तर पनि सपना र छायाहरू सुषुप्त अवस्थामा रहेका सपनाहरू र मनभित्र गुम्सिएर बसेका त्यसका छायाहरूको आफ्नै सपना हुन भन्ने लाग्छ ।
कवितासङ्ग्रहको नाम ‘सपना र छायाहरू‘ नै किन राख्नुभयो ?
यो अलि सकसपूर्ण रह्यो । कविताहरूका आआफ्नै शीर्षकहरू छन् । जे लेख्न बसेँ त्यही नै शीर्षक भयो तर सङ्ग्रहको मूल नाम खोज्न अलि गाह्रो हुने रहेछ । धेरै कविहरूले सङ्ग्रहभित्रकै कुनै कविताबाट सङ्ग्रहको शीर्षक राखेको पाउँछु, मेरो सन्दर्भमा त्यस्तो भएन ।
अघिल्लो प्रश्नमा भनें नि, त्यही सपना र छायाहरूका ऊहापोहहरू लामो समयसम्म चलिरहे । देश र मातृभूमि छोडेपछि नोस्टाल्जिक याद आफ्नै गाउँघरका प्रेम र आत्मीयताका विम्बहरू सपना जस्तै भएर कैद भए । अनि नयाँ ठाउँको भूगोल, संस्कृति र यहाँका दैनन्दिनीसँगै ती विम्बहरू आउटसाइडर जस्तै भए, त्यसका छायाका रूपमा परिणत भए । तर ती छायाहरू हराएनन् । झन् जबरजस्त भएर मनका कुनामा बसिरहे र बेलाबेला कविताहरूमा पोखिरहे । त्यसैले कविता सङ्ग्रहको शीर्षक सपना र छायाहरू बन्न पुग्यो ।
सपना र छायाहरू प्रकाशनमा आएपछि आफैंले पनि आफ्ना कविता पटक पटक पढ्नुभयो होला ! पाठकका रूपमा राम अधिकारीले कस्ता कविता लेखेछ ?
प्रकाशन हुनु अघि र पछि आफ्ना कविताहरू धेरै पटक पढेको छु । मेरो आफ्नै मूल्याङ्कन गर्दा कविताहरू औसत नै छन् । प्रकाशन हुनु अघिको प्रयास गद्यमा पनि लय नछुटोस् भन्ने थियो यद्यपि कविता धेरै परिर्माजन गरिएका भने होइनन् । कविता लेख्दा जुन चमात्कारिक मिल्यो, सकेसम्म त्यसमै रहने प्रयास गरेँ । कविता भावनात्मक लेखाइ हो । तसर्थ शब्द चयन र लयको दृष्टिकोणले केही अनर्थ होला कि भन्ने कुरामा सचेत थिएँ ।
आफ्नै आँखाले आफ्नै कविताहरू हेर्दा कविताहरू सरल छन् जस्तो लाग्छ । कविताहरूले देश र गाउँसमाजका नोस्टालजिया पोखिएका छन् । परदेशमा नेपालीहरूका व्यक्तिगत, सामाजिक र सांस्कृतिक अस्तित्वको खोज हुन कि जस्ता लाग्छन् । कविताका सन्दर्भ र भाषामा त्यो गहिराइमा पुग्न सकिनँ होला जस्तो कृति प्रकाशन गरिसकेपछि पनि लागिरहन्छ ।
नेपाली साहित्य बजार आख्यानतिर बगेको छ भन्छन् । नयाँ लेखकहरूको झुकाव पनि आख्यानतिरै बढी देखिन्छ । तपाईंले चाहिं त्यतातिर किन सोच्नुभएन ?
कहिलेकाहीं कथाहरू लेख्छु । उपन्यास लेखनको बारेमा अहिले सोच्नसम्म पनि सकेको छैन । तर कविता लेख्न थालेको धेरै भयो, अभ्यास त्यसमै भएर हो कि ! नेपाली साहित्य बजार मात्र नभएर विश्व साहित्य बजार नै आख्यानतिर केन्दित छ । यद्यपि अहिले नै आख्यानमा जाउँला जस्तो त लागेको छैन । कथा लेखनमा अभ्यास गरिएको हुँदा आख्यानमा आएँ भने कथाबाट आउँछु कि, तर यसै गर्छु भन्ने अवस्था छैन ।
प्रायः पश्चिमा मुलुकमा कर्म गरिरहनुभएका नेपालीहरू साहित्यकार बन्ने गति तीव्र भएको देखिन्छ ? यसका पछाडिको मनोविज्ञान कस्तो पाउनुहुन्छ ? अन्तरमनमा लुकेर रहेका भावना प्रस्फुटित भएको हो या पहिचान र नामले यतातिर डोर्याएको हो ?
पहिलेभन्दा अहिले धेरै नेपाली भाषा साहित्यका पुस्तकहरू निस्कने क्रम तीव्र छ । त्यसै बाढीमा म पनि होमिएको छु (छोटो हाँसो) । यद्यपि, यो कुरालाई दुई पाटोबाट हेर्न चाहान्छु । पहिलो त देशबाहिर बस्दाका प्राविधिक, सामाजिक, सांस्कृतिक अन्तरघुलनका समस्याले नेपालीहरूमा आफ्ना सम्पदा, भाषा, समाज र संस्कृतिप्रतिको माया ह्वात्त बढेर आएको देखिन्छ । यसको परिणाम स्वरूप पश्चिमा मुलुकमा कर्म गरिरहनुभएका नेपालीहरू बढी नोस्टालजिक भएर आफ्नो भाषा साहित्यप्रति ढल्किएका छन् ।
अर्को कुरा, नेपालबाहिर बसिरहेको नेपालीहरूले कुनै न कुनै समयमा अन्य सबै कुरा थाँती राखेर आफ्नो त्यो मुलुकमा स्थायित्व कायम गर्दा यताको सिर्जनात्मक पाटो बिर्सिएको देखिन्छ । अनि एकै पटक आउँदा पहिचान खोज्न आएजस्तो देखिन्छ । मलाई भने त्यस्तो लाग्दैन । सायद आर्थिक रूपले अलि सहज बनाएको भने अवश्य हो ।
आम नेपालीको सपनाको देश अमेरिका हो । तपाईं लामो समयबाट आफ्नो छायासँगै अमेरिकामा हुनुहुन्छ । अमेरिकामै रहेका नेपालीहरूको सपनाचाहिं के र कस्तो हुँदो रहेछ ?
अमेरिका नेपालीको मात्र नभएर विश्वका अन्य देशका लागि पनि आकर्षणको केन्द्र हो । अहिले त अमेरिकामा पनि प्रशस्त नेपालीहरू छन् । अमेरिका आउने प्रायः नेपालीको मुख्य सपना आर्थिक उन्नति नै हो, तर यो सोचे जति सहज भने छैनन् । भाषिक अवरुद्धता, सांस्कृतिक अन्तरघुलन र अन्य कानूनी सञ्जालका बीच जो कोही अमेरिकामा बस्ने मानिस गाँजिएको हुन्छ । खासमा भन्ने हो भने, नेपालमा राजनीतिक अस्थिरता, खस्किएको समाज र बिग्रँदो दैनन्दिनीले पनि नेपालीहरूलाई अमेरिका मात्र नभएर विश्वका अन्य मुलुकमा डोर्याएको देखिन्छ । त्यसैले राजनीतिक स्थिरता र कानूनमा समानताका साथै सुविधा सम्पन्न जीवनशैलीले लोभ्याएको भने अवश्य हो । तर मलाई पनि घरिघरि के लाग्छ भने, अवसरले भरिपूर्ण देश भएर पनि आफ्नो व्यक्तित्व र सांस्कृतिक पहिचानको संघर्ष पेचिलो बनेर आउँछ । त्यसैले आर्थिक सम्पन्नताका साथै भाषिक र सांस्कृतिको संरक्षण पनि अमेरिकी नेपालीहरूको अर्को सपना बनेर उभिएको देख्छु ।
जो जहाँ पुगे पनि मानिसका भावनाहरू आफ्नै भाषा र संस्कृतिबाट प्रस्फुटित हुने रहेछन । देश भूगोलमा भन्दा धेरै भाषा, साहित्य, कला र संस्कृतिमा बाँच्दो रहेछ हो ?
एकदम सही कुरा गर्नुभयो । मानिसको भौगोलिक र शारीरिक स्थानान्तरण सजिलै हुन्छ । यहाँको भाषा र संस्कृतिको एडप्सन भन्ने कुरा धेरै गाह्रो हुँदो रहेछ । अझ म जस्तो हुर्काइबढाइ र पढाइ नेपालमा भएको र त्यसपछि यता आएको मान्छेलाई त आफ्नो भाषा र संस्कृति बिर्सनु असम्भव जस्तै हो । नेपालीहरूको पहिलो पुस्ता पचासौँ वर्ष अंग्रेजी भाषामा खेले पनि आगाध आस्था नेपालीमै रहन्छ, र भाषिक स्वीकार्यता सजिलै नहुने रहेछ । त्यो नभएपछि हामी यहाँको संस्कृति परम्परासँग घुलन हुने कुरै भएन । त्यो नभएपछि यस्ता सिर्जनात्मक कुराहरू आफ्नै भाषा र संस्कृतिबाट प्रस्फुटन हुन्छन् । वास्तवमा देशको भूगोलको फैलावटभन्दा भाषा, साहित्य र संस्कृतिको फैलावट ज्यादा ठूलो हुँदो रहेछ । त्यसैले भनिन्छ – भाषा, साहित्य, कला र संस्कृति मर्यो भने देशको भूगोल रहनु र नरहनुले खासै अर्थ राख्दैन ।
नेपाली लेखकहरूलाई पढदैनन् भन्ने आरोप लाग्छ । एकपटक अमेरिका पुगेर आएकाहरू त्यहाँ पठन संस्कृतिको तारिफ गरेर थाक्दैनन् । तपाईं अमेरिका बसे पनि लेखक त नेपाली नै हुनुभयो । तपाईं आफू चाहिं कत्तिको पढ्नुहुन्छ ?
नेपाली लेखकहरू पढ्दैनन् भन्ने कुरामा मेरो कुनै टिप्पणी छैन । सत्य के हो भने, नेपालमा पठनसंस्कृति भने एकदम कमजोर छ । पढ्नु भनेको स्कूल र युनिर्भसिटीका पाठ्यपुस्तक मात्र बुझिन्छ । यद्यपि अहिले यी कुराहरू पनि फेरिंदै गएका छन् । यहाँ बालबालिकाहरूलाई स्कूल तहदेखि नै पुस्तकालय र अन्य रचनात्मक क्रियाकलापसँग परिचित गराइन्छ । त्यसको अलवा सरकारी र स्थानीय तहबाट पुस्तकालय व्यवस्थित हुन्छन् । यी विविध कारणले अमेरिकामा राम्रो पठन संस्कृतिको विकास भएको छ ।
मैले कतिको पढ्छु भन्ने सन्दर्भमा यहाँ आएपछि आफ्नो बसाइको स्थायित्व बनाउन लाग्दालाग्दै नचाहेरै पनि अध्ययन पातलो भयो । अहिले अलि पढ्ने रफ्तार बढाएको छु । मैले त्यसरी धुरन्धर अध्ययन गर्ने त होइन तर गरिरहेको हुन्छु । यस अर्थमा औसत नै पढ्ने बानी छ ।
अहिले कुन किताब पढ्दै हुनुहुन्छ ? पछिल्लो समय पढेका मध्ये सबैभन्दा मन परेका किताब कुन हो ? अनि पढ्न शुरु गरेर आधामै छोडेको किताब चाहि कुन हो ?
अहिले भर्खर मोमिलाको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ ललित निबन्ध पढेर सकेँ । पछिल्लो समय पढेका पुस्तकमध्ये केशव दाहालको मोक्षभूमि अलि विशेष लाग्यो । आफ्ना बानीहरूको व्यवस्थापन गर्न अटोमिक ह्याविटको प्रभाव अहिलेसम्म छ, र अभ्यास पनि गरिरहन्छु । मैले प्रायः पुस्तकहरू रिभ्युका आधारमा पढने गर्छु । तसर्थ पढ्छु भनेर शुरु गरेका पुस्तक सकाउने प्रयास गर्छु । पढदापढदै छोडेको पुस्तक टन्नै छन् । यसको लिस्ट लामो नै होला । त्यसमध्ये बुझाइका कारणले पढ्दा पढ्दै छोडेको पुस्तक स्टेफन हकिन्सको ‘थ्योरी अफ एभ्रिथिङ’ हो । तर विविध कारणले धेरै चर्चा कमाएका पुस्तक पढ्न पाएको छैन । यसको लिस्ट लामै छ ।
अब तपाईंको दोस्रो किताब कहिले आउँछ ? दोस्रो पनि कविताकै आउँछ कि आख्यानतिर हामफाल्नु हुन्छ ?
अहिले नै त्यस्तो कुनै योजना छैन । कविताहरू प्रायः लेखिरहन्छु तर मेरो गति तीव्र भने छैन । अहिले छिटफुट कथाहरू लेखिरहेको छु । हेरौं, कथाका प्लटले कतिको आकर्षित गर्छन्, त्यसमा भरपर्छ । अघि हजुरले भन्नुभयो नि, बजार आख्यानतिर छ, तर आफूलाई लेख्नको मज्जा र आनन्द नभएपछि कहिले अब कता जाने भन्ने नहुँदो रहेछ । त्यसैले अर्को विधा यो नै हुन्छ भनेर भन्न सक्दिनँ तर आख्यानतिर त्यति छल्किन सकिनँ भने आउने कृति कवितासङ्ग्रह नै हो ।
अन्त्यमा तपाईंलाई भन्नै पर्ने लागेको तर मैले सोध्न छुटाएको केही छ ? छ भने दिल खोलेर बताइदिनुस् !
नेपाली लेखन परम्पराले तीव्रता लिएको समय हो यो । त्यसमा मैले पनि आफ्नो प्रयास गरेको छु । स्तुतिगानभन्दा नेपाली साहित्यमा निर्मम समीक्षाको आवश्यकता छ । यो चोट मेरो कृति सपना र छायाहरूले पनि भोगोस् । यसका साथै हामी भाषा साहित्यको विकासमा नेपाली भाषालाई डिजिटलाइज गर्नुपर्छ भन्ने सोच्छु । भाषालाई जति छिटो प्रविधिसँग इन्ट्रिग्रेट गर्न सकियो त्यति हाम्रो भाषा र साहित्य बचाउन र फैलाउन सजिलो हुन्छ । कृति पढेर पाठकबाट जति धेरै प्रतिक्रिया पाउन सकेँ, त्यति बढी भाग्यमानी ठान्नेछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।