१. भैरव अर्याल र रोचक घिमिरेको त्यो ‘केटाकेटी झगडा’

रोचक घिमिरे र भैरव अर्याल

कुरो नेपाली हास्यव्यङ्ग्यका बादशाह भैरव अर्यालको हो । कुरो नेपाली साहित्यिक पत्रकारिताका चुली रोचक घिमिरेको पनि हो । अँ, खास कुरो भैरव–रोचकको दोस्तीभित्रकै हो, तर दोस्तीकै चाहिँ होइन । बरु एक झगडाको हो ।

झगडा ? नेपाली साहित्य क्षेत्रमा दोस्तीका नमूना भैरव–रोचकबिच कस्तो झगडा ? – केटाकेटी पाराको झगडा क्यार ! हतार नगर्नुस्, म बताइहाल्छु नि ।

पहिले थोरै पृष्ठभूमि बुझिहालौं । ‘सम्झनामा फर्किएका थुँगाहरू’ संस्मरणमा रोचक घिमिरेले भैरव केही कुरामा ज्यादै लापर्वाही गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘केही कुरामा भैरव ज्यादै लापर्वाही गथ्र्यो र ऊसँग मेरो खट्पट पथ्र्यो, जङ्गाजङ्गी हुन्थ्यो ।’ यहाँ उप्काउन खोजिएको खास कुरो तिनै खट्पटमध्येको प्रतिनिधि झगडा हो ।

एकपटक, रोचकबाट भैरवले एक दुलर्भ पुस्तक लगेका थिए । तर फर्काउँदा पुस्तकको गतिमति बिग्रिएको थियो । के–कति पानाहरू नै गायब बनेका थिए । रोचकलाई झोँक चल्ने नै भयो । त्यही झोँकलाई बल दिन अर्को घटना पनि थपियो । त्यो के भने, रोचककै शब्दमा पढ्नुहोस् । भैरवमाथिको संस्मरणमै रोचकले लेखेका छन् – ‘… एक जना साथीले विदेशबाट ल्याइदिएको गतिलै पार्कर कलम लेख्न भनेर उसले (भैरवले) लिएको थियो, कुन सुरमा त्यो केटाकेटीको हात परेछ र त्यसको निबले फालीको रूप लिन पुगेछ । मलाई उसको यस्तो हुस्सुपन देखेर साह्रै नै जङ चल्यो र झपारेँ ।’

अनि ? अनि त के थियो र ! राताराता आँखा पार्दै भैरव गर्जे, ‘पढ्दा किताब च्यातिन्छन्, लेख्दा कलम भाँचिन्छन् । शोकेसमा सजाएर ताल्चा मारेर राखे रहन्छन् ।’

भैरवको त्यो उग्र रूप र जवाफ सुनेर रोचक ‘रोचक’ भइरहन सकेनन्, छक्क परे । ठाने – आफ्नै मालको दुर्गति देखेर पनि मैले सहनशील हुनुपर्ने रहेछ । बस ठाने, केही बोलेनन् । बरु भैरवले नै थपे, ‘मैले जानीजानी यसो गरेँ त ?’

अब भने रोचक बोले, ‘चाहे जानेर गर या नजानेर, कसैको नासो लिएपछि त्यसको जतन गर्ने काम पनि त तिम्रै हो ।’

कुरो सकियो ? छैन । खास्सा कुरो बाँकी नै छ । स्तम्भकारले सुरुमै ‘केटाकेटी पाराको झगडा’ त्यसै कहाँ भनेको छ र !

अँ, भैरव रोचकको बाँकी कुरा नसुनी आफ्नै सुरमा के के फलाक्दै हिँडे । केहीबेरमै उनले भाइमार्फत रोचकबाट लिएका सारा किताब फिर्ता पठाइदिए । नराम्रो रोचकलाई पक्कै लाग्यो होला, तर सोचे – गल्ती उसकै हो, रिसाए रिसाओस् !

तर अचम्म त तब भयो, जब नयाँ घामसँगै भैरव रोचककहाँ आए । र भने, ‘हिजो अधिकारीजी (क्षेत्रप्रताप) भेटिएका थिए, व्यास प्रेसका लागि किताब छाप्न मागेको छु । हुन्छ भनेका छन् । हिँड जाऊँ साझातिर ।’

रोचकलाई भैरवको कुरा ‘रोचक’ त पक्कै लाग्यो नै होला, तर उनमा अघिल्लो दिनको घटनाको प्रतिबिम्ब बाँकी नै थियो । केही बोलेनन् । फेरि पनि भैरव नै बोले, ‘छोड्देउ हिजोको कुरा । हिजो गल्ती मेरै थियो । जोसँग साधिकार सम्बन्ध हुन्छ फन्कने र रिसाउने पनि उसैसँग त गरिन्छ नि ।’

भैरवले यति भनिनसक्दै रोचकको रिस खै कता हराइसकेको थियो । दुबै जनाले खाना खाए, र अधिकारीलाई भेट्न साझातिर लागे । यसरी भैरव–रोचकको ‘केटाकेटी झगडा’ सकियो ।

अँ, तपाईंले भैरव–रोचकबिचको रोचक झगडा पढिरहँदा कुन साथीलाई सम्झनु भयो ? मलाई भन्नु पर्दैन, सम्झिएकै साथीलाई चाहिँ सुटुक्क भनिहाल्नुहोस् ल !

===

२. जब मधुपर्कका सम्पादकलाई माओवादी बताउने युवाले भने – तलमाथि गर्नुभो भने राम्रो हुँदैन

श्रीओम श्रेष्ठ ‘रोदन’

कुरो ०६३ सालपछिको हो । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेका थिए । सशस्त्र जनआन्दोलनको रापताप कायमै थियो । र, साहित्यिक पत्रकारिताको विरासत बोकेको मधुपर्कको सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ थिए ।

सञ्चार क्षेत्रसँग राज्यसत्ताका तर्फबाट सञ्चार मन्त्रालय जोडिन्छ नै । सञ्चारमन्त्री थिए कृष्णबहादुर महरा । मधुपर्क भनेपछि गोरखापत्र संस्थान जोडिने नै भयो । गोरखापत्रका अध्यक्ष भने ओम शर्मा थियो ।

भूमिका बाँध्नु आवश्यक थिएन । तर बाँधियो । ठिकै छ । अब ढिला नगरी चुरो कुरोतिर लागौं ।

एकदिन आक्रामक शैलीमा दुई युवा सम्पादकको खोजी गर्दै आए, मधुपर्कको कार्यालयमा । श्रीओम कार्यकक्षमै थिए । बाहिर निस्किएर भने, ‘मैँ हो, के होला ?’

तर ती युवाहरूको आक्रमकता उस्तै थियो । तिनीहरूले श्रीओमलाई भने, ‘हामी माओवादीका मान्छे हौं । यत्रो वर्ष तपाईंहरूले मण्डले–काङ्ग्रेस–एमालेलाई छाप्नुभो, अब हाम्रो पालो । सिंहदरबारमा हाम्रो झण्डा फहरिएको छ । राज्यसत्ता हाम्रो छ । अब तल–माथि गर्नुभो भने राम्रो हुँदैन ।’

उनीहरूले निक्कैबेर बुरुकबुरूक गरे । श्रीओम सुनिरहे । मधुपर्कका अन्य कर्मचारी पनि त्यहीँ थिए, तर कोही बोल्न सकेनन् । अन्ततः श्रीओमले नै सोधे – ‘भाइहरूको कुरा सकियो ? सिद्धिएको भए म बोलूँ ?’

श्रीओमले मोदनाथ प्रश्रितलगायत लुकेर र नाम परिवर्तन गरेर लेख्ने कम्युनिस्टहरूको जानकारी दिए । चिया खान दिएर खगेन्द्र सङ्ग्रौला, आहुतिलगायतको उदाहरणहरू पेस गरे । एक–एक गर्दै सबै कुरा बुझाए । र, अन्त्यमा प्रश्न गरे, ‘रचना छाप्नलाई सिंहदरबारमा झण्डै फहराउनु पर्छ र भाइ ?’

अन्ततः आगो भएर पसेका ती दुई युवा पानी भए । ‘हामी भ्रममा रहेछौं, यत्ति भन्छौं – हामीलाई पनि स्थान दिनोस्’ भनेर निस्किए ।

कुरो सकियो । पत्याउनुभो ? तपाईंलाई थाहै छ – पत्याउने–नपत्यानु अधिकार सधैंझैँ तपाईँसँगै सुरक्षित छ ।

===

३. नारायणगोपालमाथि भोसलेले लेखिन्, ‘मैने बम्बै मे संघर्ष करनेका सल्लाह दिया परन्तु उन को जन्मभूमि प्यारी थी’

नारायणगोपाल

कुरो हाम्रा सर्वप्रिय गायक, स्वरसम्राट् नारायणगोपालको हो । तर उनको गायनको होइन ।

अँ, उनको सम्झनाको हो । अझभन्दा भारतकी सर्वप्रिय गायिका आशा भोसलेको सम्झनामा रहेका हाम्रा नारायण गोपालको हो ।

कुरो केभन्दा खेरी, नारायणगोपालको मृत्युपछि प्रकाशित ‘बागीनाः नारायणगोपाल स्मृति अङ्क’मा भोसलेले नारायणगोपालसँग छोटो संस्मरण लेखेकी छिन् । ‘पत्याउनुस्/नपत्याउनुस्’को आजको शृङ्खलामा त्यही संस्मरण जस्ताको तस्तैः

 

धन्य है वो देशवासी जो कलाकारको प्यार देते हैं

आशा भोसले

मैने सुना था नारायणजी के बारे में कि वे नेपाल के प्रमुख अच्छे गायक हैं । मिलने का मौका नही मिला था । एक दिन नेपाली बूथ फिल्म ‘लाहुरे’ के रिकर्डिङ पर मुझे कान्छा (रनजीत गजमेर) ने दो गाने के लिए बुलाया था, मै स्टुडियो पहुँची तो गाने के बुथ मे कोई गा रहा था । वह आवाज सुनते ही लगा एक अलग आवाज- बिल्कुल ताजी, अन्दर गई कान्छा ने मुझे उन से मिलाया, ‘यही है नेपाल के नेपाली गायक – नारायणगोपाल ।’

मैने उन्हें बम्बै मे ही रहने का, संघर्ष करने का सल्लाह दिया परन्तु उन को अपना ही जन्मभूमि प्यारी थी ।

आज ‘कान्छा’ के जुवान से सुन रही हूँ कि वे चल बसे इस दुनियाँ से । बहुत बुरा लगा उनके गीत कानों में गुंजने लगी ‘बादल हो यो बादल’ भगवान उन की आत्माको शान्ति दें… । उनकी श्रीमती और परिवारको शक्ति दें यह आघात सहनेका । 

वह एक सच्चे कलाकार थे । मैने अन्त्येष्टि की फोटो देखी, औ उन को चाहने वाले का सम्पूर्ण बृत्तान्त सुना – धन्य है वह देश और देशवासी जो अपने कलाकार को इतना स्नेह और प्यार देते हैं …।

भगवान करें उनको स्वर्ग मे भी इतना ही स्नेह मिले ।