१. जसले उपन्यासको रोयल्टीबाटै कोटेश्वरमा घडेरी जोडे

शङ्कर भारती

शङ्कर भारती

‘पत्याउनुस् / नपत्याउनुस्’को अघिल्लो शृङ्खलामा पुस्तकको रोयल्टीबापत सर्वाधिक कमाइ गर्ने लेखकका बारेमा कुरा गरिएको थियो । त्यसको तुलनामा एक नेपाली लेखकले रोयल्टीबाट कोटेश्वरमा जाबो एक घडेरी किन्नु सामान्य कुरो हो । तर साहित्यिक किताब लेखेरै काठमाडौंमा घडेरी जोड्नु नेपाली साहित्य र बजारको परिप्रेक्ष्यमा भने सामान्य कुरो होइन । यो स्तम्भकारको स्पष्ट मत हो । तपाईंलाई के लाग्छ ?

नेपाली साहित्यमा ४० को दशकलाई उपन्यासको उर्वर समय मानिन्छ । त्यस समयमा नेपाली पाठकहरूलाई मनोरञ्जन दिलाउने कुराहरू कम थिए । वा भनौं, अहिले जे जस्ता प्रविधिहरू छन् ती थिएनन् । भएकाहरूमध्येमा उपन्यास पनि एक थियो । उपन्यासमा पनि प्रकाश कोविद, सुवास घिसिङलगायतका हिन्दी उपन्यासहरू प्रमुख थिए । हो, त्यहीबेलामा नेपाली पाठकहरूको उपन्यासको भोकलाई मेट्न शङ्कर भारती नेपाली उपन्यास लेखनमा लागिपरे ।

लागी मात्र परे ? होइन होइन । भारती लागी मात्र परेनन् । उपन्यासकारका रूपमा स्थापित नै भए । त्यतिमात्रै पनि होइन, उनले उपन्यासको रोयल्टीबाटै घडेरी किने ।

कुरो सकियो ? छैन । बाँकी छ । ल सुन्नुहोस् बाँकी कुरा ।

शङ्कर भारतीले सर्वप्रथम ०४० सालमा ‘अर्को जुनीमा’ उपन्यास प्रकाशनमा ल्याए जुन उपन्यासले नसोचेको चर्चा र पाठक बटुल्यो । ०४६ सालसम्म पुग्दा उपन्यासको पाँचौं संस्करण प्रकाशित भइसकेको थियो । ०४१ सालमै भारतीको अर्को उपन्यास ‘प्रेम तपस्या’ प्रकाशनमा आयो । त्यसले पनि चर्चा र पाठक दुबै पायो । र, यिनै दुई उपन्यासको रोयल्टीबापत ०४४ सालमा भारतीले ११ हजार रुपियाँ हात पारे जुन त्यसबेला कोटेश्वरमा घडेरी किन्न काफी थियो । ७ हजारमा घडेरी किनेर भारतीले ४ हजार बचाए पनि ।

अनि ? अनि, त्यही घडेरीको खेलोफड्को गर्दै उपन्यासकार भारतीले अत्याधिक पैसा कमाए ।

कुरो सकियो । तपाईँ उपन्यासकार भारतीलाई चिन्नुहुन्छ ? भारतीलाई चिन्न मन भए रातोपाटीमा शिखर मोहनले लेखेको व्यक्ति–फिचर ‘जसले उपन्यासको रोयल्टीबाटै कोटेश्वरमा घडेरी किने’ अवश्यै पढ्नुहोला ।

===

२. खगेन्द्र संग्रौलालाई निरीह बनाउने ससुराको मृत्यु

खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला

‘खगेन्द्र सङ्ग्रौला’ नै लेख्न मन थियो । तर खगेन ब्रोलाई ‘संग्रौला’सँगै प्रेम भएको थाहा पाएँ, श्यामलले कान्तिपुरमा उनीमाथि लेखेको संस्मरणात्मक आलेख ‘‘कमरेड ‘गोपीक्याँप’को लीला’’मार्फत । अनि लाग्यो – ‘संग्रौला’ र ‘सङ्ग्रौला’का बिचमा नअल्झिऔं, बरु उनलाई ‘खगेन ब्रो’ नै भनौं ।

भन्नैलाई त ‘खगेन दाइ’ भन्दा पनि हुन्थ्यो । तर फेरि लाग्यो – समयको मागलाई सम्बोधन गर्नै पर्छ । अब ‘ब्रो’को आयतनलाई ‘दाइ’ले थेग्न सक्दैन ।

अँ, कुरो सदाबाहार सत्ताका प्रतिपक्षी खगेन ब्रोको हो । तर उनको विद्रोहको होइन । न त लेखनको नै हो । यहाँ स्तम्भकारले त्यतिबेला प्रसङ्ग उप्काउन चाहेको हो जतिबेला सधैं राज्यसत्ताविरुद्ध कलमबाट आगो ओकलिरहने हाम्रा खगेन ब्रो पनि निरीह देखिएका थिए ।

कुरो त्यसबेलाको हो जतिबेला खगेन ब्रोका ससुराको देहान्त भयो । अनामनगरको तमुघरमा अन्तिम संस्कार हुँदै थियो । हरि रोक्का र कवि श्यामल परिवारमा सहानुभूति व्यक्त गर्न तमुघर पुगेका थिए । घरभित्र बाजागाजाको शोकमय धून बजिरहेको थियो ।

कवि श्यामलले देखे, आफ्ना बाबाको पार्थिव शरीरको छेवैमा पङ्खा लिएर शोकग्रस्त जमुना भाउजू (खगेन ब्रोकी श्रीमती) बसिरहेकी थिइन् । खगेन ब्रो भने अछुतझैं निकै टाढा ढोकामा कुचुक्कसँग बसिरहेका थिए । उनी एकदमै निरीह देखिएका थिए ।

कवि श्यामलले खगेन ब्रोलाई सोधे – किन यस्तो ?

बुझ्दा थाहा भयो – खगेन ब्रो बिजाते परेर नजिक जान र भाउजूसँगै काजकिरिया संस्कारमा सहभागी हुन नपाएका रहेछन् । खगेन ब्रोले प्रेम विवाह गरेका थिए । प्रेमकै कारण उनी तमु संस्कारभित्र अटाउन सकेनन्, सायद ।

कान्तिपुरको शनिबारे विशेषाङ्क कोसेलीमा खगेन ब्रोमाथि विस्तृतमा लेखिएको आलेख ‘‘कमरेड ‘गोपीक्याँप’को लीला’’मा कवि श्यामलले लेखेका छन्, ‘ससुराजीका अन्य ज्वाइँ भने संस्कारमा व्यस्त थिए । त्यसबेला प्रेमले जोडेको यो साइनोलाई परम्परागत संस्कारले कमजोर तुल्याइरहेको कारुणिक दृश्य देख्न सकिन्थ्यो ।’

कुरो सकियो । बरु बताउनुहोस् न, तपाईं खगेन ब्रोलाई कसरी सम्झनुहुन्छ ?

===

३. हलिउड अभिनेता ज्याक निकोल्सनः जसले आमा चिन्न ‘दिदी’को मृत्यु कुर्नु पर्यो

ज्याक निकोल्सन

ज्याक निकोल्सन

कुरो फिल्मी जगतको हो । तर बलिउडको होइन । न त कलिउडकै हो । अँ, कुरो हलिउडको हो । हलिउडका चर्चित अभिनेताको हो । तर फिल्मको भने होइन ।

भनेसि केको चाहिँ हो त ? – अस्कर विजेता अभिनेताको ज्याक निकोल्सनको जीवनको हो । ज्याकलाई जन्म दिने र अस्करका लागि योग्य बनाउने ‘दिदी’को हो ।

चुरो कुरामा पुग्न हतार नगरौं । रिलमा जस्तै रियलमा पनि पृष्ठभूमिको विशेष महत्त्व हुन्छ । त्यतै लागौं ।

हलिउड अभिनेता ज्याक निकोल्सनकी ‘दिदी’ फिल्म भनेपछि हुरूक्क हुन्थिन् । सप्ताहान्तमा फुच्चे ज्याकलाई फिल्म हेर्न लैजान्थिन् । उनी प्रत्येक गम्भीर दृश्यमा रून्थिन् । हाँस्ने दृश्यमा दिल खोलेर हाँस्थिन् । उनी ज्याकलाई भन्थिन्, ‘बुझिस्, जिन्दगी त हिरो हिरोइन् को हो ! ठूलो भएसि तँ हिरो हुनू । तेरा बाआमाको नाम उजिल्याउनू । तँ ठूलो भएर कलाकार भएको हेर्ने इच्छा छ मेरो !’

दिदीको उदेकलाग्दो फिल्म मोह देखेर ज्याकले पनि कलाकार हुने रहर उमार्न थाल्यो । ज्याककी दिदी एक-दुई फिल्ममा कलाकार पनि भइन् । उनले अभिनय गरेका फिल्म रिलिज भएका बेला ज्याकलाई सिनेमा हल लिएर जान्थिन् र भन्थिन्, ‘हेर, तेरी दिदी कति प्रख्यात छे !’

ज्याकले प्रख्यातिको अर्थ बुझेको थिएन तर पनि ऊ झिलिक्क आउने दिदीलाई ठूलो पर्दामा देखेर रमाउँथ्यो । दिदीजस्तै कलाकार हुने रहर मनमा पाल्थ्यो ।

एक दिन ज्याककी ‘दिदी’ले एक जना पुरूषलाई चिनाउँदै भनिन्, ‘यी तेरा पिताजी हुन् । दर्शन गर ।’

ज्याकलाई अनौठो लाग्यो । यो कस्तो पिताजी हो ? आपतविपतमा कहिल्यै आउँदैन । जहिले आउँछ, दिदीलाई मात्र माया गर्छ, आफूलाई चाहिँ कहिल्यै माया गर्दैन ।

एकदिन ज्याकले देख्यो, उसकी दिदी र पिताजीबीच भनाभन भयो । कुटपिटसमेत भयो । त्यसपछि पिताजीलाई उसले देख्न पाएन ।

अब चाहिँ खास कुरो गरौं ? हाेइन । एकछिन पखौँ । अलिकति ज्याकको स्कुलको पनि कुरा गरौं ।

अँ, ज्याक स्कुलमा रहँदा सबैलाई लिन बाआमा आउँथे । उसलाई लिन दिदी लिन आउँथिन् । दिदी र उसको उमेरको फरक १७ वर्षको थियो । सबैले ज्याकलाई जिस्क्याउँथे, ‘तेरी दिदी कति बूढी !’

बूढी दिदी देखेर ज्याकलाई लाज लाग्थ्यो । कहिलेकाहीँ झिँजो मान्दै भन्थ्यो, ‘तिमी मलाई लिन नआउन मिल्दैन !’

दिदीले चित्त दुखाउँदै भन्थिन्,’न तेरा बा छन्, न आमा छन् ! दिदीले माया गरेको पनि नपच्ने हुन थाल्यो ?’

हो पनि, ज्याकलाई दिदीले असाध्यै माया गर्थी । त्यसपछि उसले दिदीसँग कहिल्यै गनगन गरेन ।

समय बित्यो । फिल्ममा ज्याक पनि देखा पर्न थाल्यो । हेर्दाहेर्दै ऊ देशकै उम्दा कलाकार बन्यो । अस्कर अवार्ड जित्यो । प्रत्येक अवार्ड जित्दा उसले दिदीलाई पनि सँगै लैजान्थ्यो ।

कति लामो पृष्ठभूमि, अझै सकिएन ? सकियो सकियो । अब चुरो कुराे ।

बूढी भएर दिदीले ज्याककै घरमा देह त्याग गरी । दिदीको देहान्तपछि अचानक ज्याकका हराएका बा देखा परे जो कहिल्यै घरमा छिरेका थिएनन् । उनले ज्याकलाई काँधमा थप्थप्याउँदै भने, ‘तेरी आमाको निधनप्रति म दुःखी छु । मैले पूरा गर्न नसकेको जिम्मेवारी उसले पूरा गरी ।’

ज्याक दुखका बिचमा आश्चर्यचकित बन्यो । जसलाई उसले जीवनभर दिदी भनिरहेको थियो, ऊ त आफ्नै आमा पो रहिछन् !

किशोरावस्थामा आमा बनेकी ज्याककी ‘दिदी’ले हलिउडका पर्दामा छाउन र ‘कुमारी’ नै देखिन आफ्नै छोराबाटा आफूलाई ‘दिदी’ भनाएकी रहिछन् ।

कुरो सकियो । तपाईंलाई लाग्यो होला, यो मुला स्तम्भकारले यस्ता कुरा कहाँबाट थाहा पाउँछ ? – यस्ता कुरा थाहा पाउन कहिलेकाहीँ सोच्नु पर्छ । कहिलेकाहीँ सोच्छु… मार्काका मनुवा अच्युत कोइरालाका फेसबुक स्टाटसहरू नछुटाइकन पढ्नु पर्छ ।