नसोचेको बिहानी !
दिनहरू नर्मल भए । देखावटीपनमा मात्र । खेम तीन महिना पछि इन्दुलाई भेट्न बाजुरा गयो । इन्दुको एक हप्ताको छुट्टि भएकाले ऊ कर्णाली घुम्न जाने बताएको थियो । गएदेखि फोन पनि गरेको थिएन । न उसले, न मैले । म खुब रमाउँथे उनीहरुको प्रेम सम्बन्ध देखेर । यता आफ्नो भने टुंगो थिएन । उनी आउने नआउने केही सुरसार छैन । कहाँ छिन् त्यो पनि थाहा छैन ।
सोमबार, बिहानको उज्यालो झ्यालको पर्दा चिर्दै कोठाभित्र पस्यो, तर त्यो उज्यालोमा उत्साह थिएन । मन नलागी नलागी उठेँ । शरीर उठे पनि मन भने बिस्तारामै निदाइरहेको थियो । मुख धोएँ । ब्रस गरेँ । उही कपका ओठमा रसिलो चुम्बन गरेँ र कलेज जान तयार भएँ । कोठाबाट निस्किएर झोला बरन्डामा राखेँ । म बस्ने घरको सिँढी बाहिरबाटै छतसँग जोडिएको थियो । तयार भइसकेपछि त्यसै बिहान पत्रिकावालाले गेटमा टाँगेर राखिदिएको पत्रिका समाएँ र पढ्न थालेँ । पत्रिका पल्टाउने बित्तिकै बाँकी निद्राले पनि सास फेर्न बिर्सियो । इन्डेक्स पृष्ठमा आँखा लगाउँदै गर्दा अचानक एउटा हेडलाइनमा नजर अडियो । बोल्ड, कालो अक्षरमा लेखिएको थियो,-
‘प्रेमिकासँग घुम्न गएका बि.क.को शव भेटियो कर्णालीमा’
म केही सेकेन्ड स्तब्ध भएँ । एकाएक आँखा तिर्मिराए, दिमाग शून्य भयो । मनमा एक चिसो तुसारोको स्पर्श जस्तै केही पस्यो । अज्ञात, तर गहिरो । म छेउकै सिँढीमा थचक्क बसेँ, जसरी दुःखले थिचिएको शरीर अन्ततः थकित भएर भत्किन्छ ।
पत्रिकाको पूर्ण समाचार पढेँ,- ‘शनिबार आफ्नी प्रेमिकासँग कर्णाली घुम्न गएका बि.क.लाई केटीका गाउँका मान्छेहरूले जातको आधारमा लखेटी लखेटी कुटपिट गरेका थिए । कुटपिटपछि बि.क. अचेत भए, र मृत्यु भएपछि दोषीहरूले उनको शव कर्णालीमा बगाइदिएको स्वीकारेका छन् ।’
कसरी हुन्छ यस्तो ? के प्रेम अब जातको बन्धनमा लेखिने छ ? के कर्णाली नदी अब प्रेमीहरूको चिहान बन्ने हो ? एक प्रेम नष्ट भयो, त्यसमा दोष के थियो ? त्यो केटीले माया गरेकी थिई । उसले हात समाउने आँट गरेकी थिई तर समाजले त्यो आँट माफ गरेन । किनभने प्रेमभन्दा ठूलो ‘जात’ थियो । जात, अदृश्य तर राक्षस । जसले मान्छेलाई ‘मान्छे’ हुन नदिने अनुमति पत्रमा हस्ताक्षर गरिदिन्छ । त्यो खबर पढ्दा मेरा आँखाहरू आफ्नै आँसुमा पौडिन थाले पत्रिका नराम्रो गरी भिज्यो । म सिँढीमा बसिरहेँ । मनमा एक युद्ध चलिरहेको थियो । यथार्थको घाउ र असहाय विवेकबीच ।
कठै ! मेरो देश, जहाँ जात अझै आकाशभन्दा माथि उचालिन्छ । जहाँ प्रेम जुन शुद्ध हुनु पर्ने थियो, त्यही सबभन्दा ठूलो अपराध ठहरिन्छ । एक प्रेम जोडीले माया गर्यो । गल्ती यति थियो, उनीहरू फरक जातका थिए तर के माया जात हेरेर गरिन्छ र ? के हृदयले थरको सूची माग्छ ? तर समाजले त थरअनुसार मृत्युको फैसला सुनाइदिन्छ ।
साँच्चै, कहिले आउला त्यो बिहान जहाँ हामी जात होइन, आत्मा देख्न थाल्नेछौं ? जहाँ नदीहरू प्रेम बगाउनेछन्, शव होइन । जहाँ पत्रिकाले हत्या होइन, विवाहको खबर छाप्नेछ । जहाँ आँसुहरू लज्जाको होइन, खुसीको कारण बग्नेछन् ।
मेरो मन एक अनौठो भारीपनले भरियो, जसरी हिउँदे साँझमा कुनै पुरानो रुखको छाया गाढा हुँदै जान्छ । मनभित्रै अनगिन्ती भावना खेल्न थाले । डर, आशा, पीडा र एक किसिमको कटु याद । खेमको अनुहार, उसको सौम्य मुस्कान, अनि हाम्रो वास्तविक र काल्पनिक समयहरू मस्तिष्कमा दौडिए । त्यसको गहिराइ यति थियो कि मैले आफूलाई रोक्न सकिनँ, र त्यो भयंकर प्रश्न मेरो मुटुमा घुस्यो, के यो खेम हो ? के उसैले त्यो पीडा भोगिरहेको छ जसको खबर म पढ्दैछु ? नाइँ नाइँ यस्तो हुनै सक्दैन ।
निश्चिन्तताको भरमा भए पनि डर मेरो मनमा थियो । फोन हातमा लिए । पहिलो पटक फोन गर्दा मेरा हात काँपे । चार पटकसम्म फोन गरे उठाएन । मनमा झन् झन् डर बढ्न थाल्यो । प्रत्येक पटक मेरो हृदयको धड्कन तीव्र हुँदै गयो । कसैले फोन उठायो भने पनि केही उल्टो खबर नसुनियोस् भन्ने भगवानसँग प्रार्थना गरेँ ।
पाचौंपल्ट फोन गर्दा फोन उठ्यो तर जब फोन उठ्यो त्यसपछि त्यो आवाज आयो जसको म प्रतीक्षा गरिरहेको थिएँ । हुन पनि त्यही चिनिएको, परिचित आयो । उताबाट आवाज आयो – ‘आज कसरी सम्झिस् ओइ सिङ्गल मान्छे हामीलाई ?’ हेडलाइन पढ्दा सगरमाथा भन्दा चिसो भएको मेरो मुटुमा हलुका आराम भयो । हृदयको गहिराइमा जमेको चिसोपन एकाएक पग्लियो । मैले लामो, गहिरो सास फेरेँ । मुक्त हावा फोक्सोमा भरियो, र हेडलाइन पढ्दा रोकिएको मेरो हृदय फेरि जीवन्त भयो । म ढुक्क भएँ । त्यो आवाज खेमकै थियो ।
‘फोन किन उठाइनस् यत्रो गर्दा पनि ?’ मैले अलिक रिसाउँदै भनेँ, तर त्यो रिसभन्दा बढी डर लुकेको थियो मेरो स्वरमा, अज्ञात कुराको डर ।
‘हग्न गएको थिएँ यार ।’ खेम हँसिलो शैलीमै उत्तर दियो ‘अब हग्ने ठाउँमा पनि मोबाइल लिएर जान त भएन नि ! अनि आज त बिहानै फोन गरिस् ! के भयो ?’
उसको त्यो चिरपरिचित, जीवन्त स्वरले मेरो मनको शंकाको बादल चिरेर एक किसिमको न्यानोपन ल्यायो । ओठमा एक मुस्कानको धर्सो तन्कियो, जसले त्यो बिहानको तातो चियाभन्दा गहिरो राहत दियो ।
फोन काटेपछि म फेरि गम्भीर भएँ । समाजको अवस्था सम्झेर मुटु चसक्क दुख्यो । कहिले धर्मका नाममा र कहिले जातको नाममा मान्छे मारिने देशमा हामी बाँचिरहेका छौँ । कोही धर्मको विरोध गरिरहेको छ, कोही जातको विरोध तर विडम्बना, विरोध गर्नेहरू पनि अन्ततः फेरि अर्को भेदको खाल्डोमा थुनिन्छन् ।
स्मरण भयो,- नेलसन मण्डेलालाई । गोरा शासकहरूको जुवाबाट मुक्त हुन उनले बिताएका तीन दशकभन्दा लामो जेल-जीवन । जब उनी निस्किए, बदला लिएनन् । बरु सबैलाई समेटेर अघि बढे । जो आफैँ सधैं हेपिएका थिए, उनी राष्ट्रपति बने । देशलाई समावेशी बनाउने सपना साकार गरे ।
म सोच्छु, हाम्रो देश पनि त्यस्तै किन बन्न सक्दैन ? किन आज पनि दुई प्रेमी, जातका कारण टुक्रिन्छन् ? किन कर्णालीमा बग्नुपर्छ बि.क. जस्ता निर्दोष युवाको शव ? शायद हामीले अझै साँचो प्रेम, समानता र मानवताको अर्थ बुझ्न बाँकी छ । सायद हामीले बाँच्न, जान्न बाँकी छ । देशले साँचो मुक्ति त त्यही दिन पाउनेछ, जब एउटा बि.क.को मृत्युको खबर बन्ने छैन, जब जातका कारण कोही प्रेमी सधैँका लागि हराउने छैन । हो त्यसै दिन प्रेम पनि जित्नेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
६ मंसिर २०८२, शनिबार 










