आफैँ हामी आफ्नो हैनौँ । कोही पनि कहिल्यै कसैको भइरहँदैन । आफैँ पनि सधैँभरि रहिरहिँदैन । आफ्नै घर पनि आफ्नो हुँदैन । आफन्त र प्रियजन पनि आफ्नै भइरहँदैनन् । टाढिनुपर्छ एक दिन सबैले आफ्नै देह त्यागेर जानुपर्छ । सबैलाई छोडेर, धेरैलाई रुवाएर, हँसाएर थोरैलाई । आफैँलाई थाहा नभएको ठाउँ जानुपर्छ । त्यसैले अधुरै, अपूरै, अपूर्ण कामतमाम चटक्कै छोडेर फेरि कहिल्यै नफर्किने बाटो रोज्नुपर्छ नचाहेर पनि । त्यतिबेला पैसाले बचाउँदैन । बुद्धिले रोक्न र बलले छेक्न सक्दैन । कतै लुकेर लुक्न र भागेर भाग्न पनि सकिन्न । कसैको अजम्बरी मायाले पनि बचाइ राख्दैन ।

सम्झनाका बाडुलीहरू लागेर केही हुँदैन । कसैको निर्मायाले पनि केही हुँदैन । तर त्यस्तो अशुभ दिन कहिले, कसरी आउँछ थाहा कसैलाई पनि हुँदैन । रिसराग, मायामोह सारा सांसारिक बन्धन छिनालेर एक दिन सबैको जीवन परमधामको बाटो लाग्छ ।

दोष देखाउनु र खोट देखाउनु, रोष प्रकट गर्नु र रिस देखाउनु किन !? बाँच्नुसम्म न हो आपसी मित्रता र ममता । मरेपछि सम्झना बाँकी रहनुको के अर्थ ? मरेपछिको माया दुई थोपा आँसुसम्म न हो । बाँकी भन्नु सम्झनाहरूका राम्रा-नराम्रा विस्मृत पाटाहरू । मर्ने मरेर जान्छ बाँच्नेले जे गरे पनि मर्नेले केही देख्ने हैन, सुन्ने हैन । संवेदना शून्य ऊ आस र सास नभएको लास भइसकेको हुन्छ । जहाँ माया गरेको देखिन्न । गाली गरेको सुनिन्न । यो झुटो संसार । यो अपूरो जीवनवय । यो मरणशील अस्थायी जीवन ।

कतै ठोक्किएर अलिकति रगत बग्दा पनि डराउने मन । टाउको, पेट दुख्दा पनि तुरुन्तै ओखतिमूलोले ठिक हुन हतार गर्ने तन । घामपानी, रुघाखोकी, जाडोगर्मीबाट सुरक्षित राख्दै ल्याएको ज्यान । कठै, कतै छिसिक्क केही हुनु हुन्न । त्यस्तो प्रिय ज्यान-प्राण कति मायालु र कति दयालु !

आखिर सास रहुँन्ज्याल हो मायाको ‘महत्त्व’ । जीवन भएसम्म हो चिनाजानीको ‘साइनो’ । जीवन नभएपछि केही हुन्न दोहोरो सम्बन्ध । रहेसम्म, भएसम्म र गरेसम्म माया अमृतसमान हुन्छ । अन्यथा माया पनि विष समान भएर जीवनले मरणको बाटो रोज्छ । माया यसरी ‘निर्माया’ बनिदिएर ‘निर्मोही’ भएपछि रहँदैन बाँकी ‘उल्लासमय दिनहरू’ । रहँदैन उत्साह र उमङ्गका ‘हर्षोल्लासका पलहरू’ । रहन्छ त केवल उदास-उदास प्रत्येक क्षणहरू ।

जतिसुकै प्रगाढ घनिष्ठता पनि उसरी नै रहिरहँदैन । जतिसुकै माया पनि उत्तिकै रहँदैन । जसरी मौसम सधैँभरि एकनास रहँदैन । बद्लिरहन्छ, परिवर्तन भइरहन्छ । आलोपालो परम्परा धानिन्छ । तर गर्नुपर्ने काम धेरै बाँकी नै रहन्छ । हामी जुन उमेरको भइसक्दा पनि बालापन भने बाँकी रहिरहन्छ । कसैलाई ‘भेट्न’ अझै बाँकी रहिरहन्छ । कतै ‘पुग्न’ बाँकी नै रहिरहन्छ । कसैलाई ‘चिन्न’ बाँकी रहिरहन्छ । कसैको माया पाउने धोको बाँकी रहिरहन्छ । कतै जान, घुम्न, हेर्न र भेट्न बाँकी भइरहन्छ । कसैको प्यारो, मायालु हुन बाँकी रहिरहन्छ ।

लेख्ने र पढ्ने कुरा त झन् कति धेरै बाँकी रहिरहन्छ । यो जिन्दगीमा गर्नुपर्ने काम सबै बाँकी नै रहिरहन्छ । अधुरै छोडेर नचाहेर पनि थाहै नपाई सबैलाई छोडेर जानुपर्छ । आफ्ना सबै प्रिय चिजबिजहरू, घरपरिवार, आफन्त, इष्टमित्र सबै-सबैलाई सधैँका लागि छोडेर एक दिन जानै पर्छ ।

जिन्दगीमा धेरै काम गर्न यो छोटो जीवनमा कहाँ सक्नु ! सिकेर सकिँदैन कहिल्यै,  सिक्ने कुरा सधैँ बाँकी रहन्छ । त्यसैले सधैँ नयाँ हुन्छ ‘ज्ञान-गन्तव्य’ । सधैँ बाँकी रहिरहन्छ सिक्नलाई ‘ज्ञान’ र पुग्नलाई ‘गन्तव्य’ ।

कमाऊ धन्दामा लाग्नेहरू करोडपति भए पनि कमाउनेकै ध्याउन्न हुन्छ । खानलाउन नपाए पनि सन्तोषी मन आनन्दको मीठो निद्रा सुत्छ । मायाले कहिल्यै तिरस्कार खोज्दैन, घृणा मन पराउँदैन । मायाले माया नै खोज्छ । सन्निकट चाहन्छ । हाँसो र खुसीभन्दा पर दुःखीदासी वा अथवा तर्किएर पराइ भएको चाहँदैन ।

हिँडेर भूगोल छिचोल्न कहाँ सक्नु ! देखेको धरती र आकाश त्यतिमै सीमित कहाँ हुनु । माया गर्नेलाई ‘निर्माया’ ठान्नु हुँदैन । माया गर्दैमा ‘अपवित्र’ कहाँ हुनु । मायाले बरु बाँच्न प्रेरित गर्छ । मायाले संसार त्यत्तिकै कहाँ अडिएको छ र ! भाग्यमा लेखेको कुरा मेटेर मेटिँदैन । बिर्सेर माया बिर्सन कहाँ सक्नु !

जति निष्ठुरी, तर्किने र झर्किने भए पनि चोखो मायामा खराब नियत कदापि हुँदैन । कहिलेकाहीँ कोमल मनलाई यति नमिठो शब्द कि जुन कहिल्यै बिर्सन सकिँदैन । कसैप्रति न खराब नियत हुन्छ, न राखिन्छ । तैपनि कति मीठो शब्दको झापट कि जुन सधैँ झलझली यादहरूमा आइरहन्छ । घोचिरहन्छ, पोलिरहन्छ, दुखिरहन्छ बारम्बार । स्मृति-दंशले डसिरहन्छ र भतभती पोलिरहन्छ त्यसले ।

तनावको झोँकमा रिस पोख्नु किन ? नजिकको भएपछि सोध्नु-बुझ्नुले कुनै ठुलो असर पार्दैन । व्यर्थ शब्दमा रडाको सुहाउँदै । यौटा संवेदना भएको मान्छे गैरजिम्मेवार हुन सक्दैन । शब्दवाणले घोच्नु भनेको मन र मुटु भित्रभित्रै छियाछिया हुनु हो । कसैलाई पनि मन दुख्ने र मुटु फुट्ने गरी भन्नु हुँदैन ।

रुन नसकी रुनु र हाँस्न नसकी हाँस्ने बहाना गर्न निकै कठिन काम हो । संवेदना नभएको मान्छे, मान्छे नै होइन । अरूलाई रुवाएर, सताएर र तर्साएर हाँस्ने मान्छे त्यो खासमा मान्छे होइन । मायाले माया खोज्छ । घृणाले घिन रोज्छ । सङ्गत गुनाको फल हुन्छ । झिँगाको सङ्गत गरे फोहोरमा पुगिन्छ । मौरीको पछि लागे मगमग वासना फूलसम्मको सुगन्ध-सौन्दर्यमा अघाउँजी भइन्छ । चामलले पानीको साथ पाए ‘भात’ हुन्छ । दूधको साथ पाए ‘खिर’ बन्छ । खासमा मन शुद्ध हुनुपर्छ । हेर्ने आँखामा ‘खराब नियत’ हुनु हुँदैन । देख्ने अनुहारमा ‘गलत आशय’ लिनु हुँदैन ।

जिन्दगी अलिकति चाखेर ‘अचार’ जस्तै  । अलिकति पिएर ‘पानी’ जस्तै । अलिकति रित्याएर शून्य ‘आकाश’ जस्तै । अलिकति भरेर ‘पूणर्कलश’ जस्तै । अलिकति मधुर मन्द मुस्कान खुसी र सन्तुष्टिको । बस् यत्ति नै हो जीवनभरको ‘सर्वोत्तम उपलब्धि’ भन्नु । यत्ति नै हो जिन्दगीको ‘प्राप्ति भन्नु’ र त्यसैलाई ‘कमाइ ठान्नु’ हुँदैन ।

अनित्य संसारमा, स्वार्थले बाँधिएको अलिकति हार्दिकता मित्र-मिजासको । जिन्दगी अलिकति फूल सौन्दर्य र सुगन्धको । अलिकति चाहना लोभिपापी मनस्थितिको । चाहना मनको अनेक । प्राप्ति र अप्राप्ति सबै-सबै सधैँ रहिरहन्छ ।

कसैको नजरबाट त्यत्तिकै कोही पनि गिर्न चाहँदैन । गिराउनु पनि हुँदैन । गिरेको हेर्नु पनि उचित होइन । गल्ती भए सच्याएर गल्ती सुधार्न ‘माफी’ दिनुपर्छ । ‘मबाट मात्रै होइन अरूको नजरबाट पनि गिरेको देख्न नपरोस्’ भनी झन् हैरान पार्नु हुँदैन । सताउनु, तर्साउनु र हायलकायल पार्नु हुँदैन कसैले कसैलाई पनि । कोही पनि कसैलाई गिराएर महान् मानिस बनेको छैन । सबै मानिस आफ्नो उचाइमा स्थापित भइसकेको हुन्छ । आफ्नो गरिमामा गौरवान्वित भएको हुन्छ ।

सानो कुराले पनि संवेदनशील हुन सक्छ । ‘बोल्यो कि पोल्यो’ गर्नु हुँदैन । ‘हेर्यो कि बिझ्यो’ ठान्नु हुँदैन । कसैलाई रुवाउन र हँसाउन सजिलो मान्नु हुँदैन । त्यसको असर अलि नराम्रो पनि हुनसक्छ । त्यत्तिकै कसैको मन दुख्दैन । दुखेको मन पोख्ने भनेको नजिककै मान्छेसँग हो । त्यही मान्छेले पनि झर्किँदै फन्केर उदास-उदास उत्तर फ्यात्त फालिदिँदा मन फतक्कै गल्छ, गल्दो रहेछ ।

‘यो त सामान्य झिल्को मात्र हो यसरी नै गरिरहे अग्निज्वाला विस्फोट पारिदिन्छु’ भन्नु हुँदैन कसैलाई । जवाफी शब्दवाणको झटारोले हानेर त्रस्त पारिदिँदा त्यसले मानसिक विचलन गराउने हुन्छ । कसैलाई सानो र सामान्य ठान्नु हुँदैन । कोही ठुलो र ठालु पनि हुँदैन । अनादर र बेवास्ता गर्नु पनि हुँदैन । ‘आदर’ गर्नुपर्नेलाई ‘अनादर’ गर्नु हुँदैन । ‘अनावरण’ गर्नुपर्ने कुरा आवरणभित्रै ‘गुम्स्याएर’ राख्नु हुँदैन ।

वास्तवमा गिर्नु र गिराउँछु भन्नु पनि हुँदैन । गल्ती कसले गर्दैन र सबै सधैँ निर्दोष कोही पनि हुँदैन । ‘पानीमाथि कहीँ पनि ओभानो हुँदैन ।’ आफूभन्दा नजिकैको मान्छेलाई कहिलेकाहीँ दोष देखाइन्छ, खोट औँल्याइन्छ । घुर्की लगाइन्छ । टाढिएको जस्तो, रिसाए जस्तो नाटक गरिन्छ । मायाको अभावले, संवादको अन्त्यले यसो भएको हो ।

वास्तवमा मायाको बदला माया नपाएपछिको ‘नाट्यमञ्चन’ हो यो । यसैलाई सत्य ठानेर रिसको आगो बालेर पोल्न खोज्नु, डढाएर खानी पार्छु भन्नु ‘ठुलो मुर्ख्याइँ’ हो । हुन त माया नगर्दैमा भइजाने केही होइन । माया गर्दैमा केही हुने पनि होइन । केवल क्षणिक सन्तुष्टि, सुख र आनन्द हो । आफूलाई माया गर्नेलाई ‘माया’ फर्काउनुपर्छ । माया नगर्नेलाई घृणा गर्नु फरक पर्दैन । कुरा काट्ने र कुरा सुनाउने, कुरा लगाउने कुरौटेका कुरा सुन्नु हुँदैन । सम्बन्धमा तगारो तेर्स्याउने हुन्छन् । बरु तीबाट बच्नुपर्छ, चनाखो रहनुपर्छ ।

कसैले कसैको घरपरिवार बिगार्नु हुँदैन । बिगार्ने चाहना राख्नु पनि हुँदैन । कोही नजिकिँदैमा खत्तमै भइहाल्दैन । कोही टाढिँदैमा नितान्त एक्लो ‘बराविचरा’ भइँदैन । सबैको आ-आफ्नो व्यस्तता, दुःख र तनावहरूले मान्छे आफैँसँग पनि रिसाइरहेको हुन्छ । झर्किरहेको, तर्सिरहेको र एकान्तमा एक्लै चुपचाप रहन रुचाइरहेको हुन्छ ।

यस्तो बेला कसैले पनि कसैलाई आक्रोश ओकल्नु हुँदैन । ‘आफू बदलिएरै हो कि साँच्चै म निष्ठुरी बनेको, साँच्चै म अर्कै भएको’ आफैँले आफूतिर फर्केर मनन-महसुस गर्नुपर्छ ।

कुनै बेला खुसीले एक्लै पनि रमाइरहेको हुन्छ । मनको खुसीसँग मुस्कान साटिरहेको हुन्छ । दुःख बिर्सिँदै उमङ्गले उल्लसित भइरहेको हुन्छ । सधैँभरि एकनास उही मुड, उही चालढाल रहिरहँदैन । कहिलेकाहीँ अलि अर्कै मनको चरित्र फरक भइरहेको हुन्छ । मूलतः आफैँ हामी आफ्नो हैनौँ । आफू आफ्नै भएर सधैँभरि रहिरहन सक्दैनौँ ।