पृष्ठभूमि:

नेपाल दक्षिण एशिया अवस्थित स्वतन्त्र राज्य हो । उत्तरतर्फ हिमालैहिमालले पहरा दिएको छ। हिमालका काखमा रहेको सुन्दर देश हो नेपाल । दक्षिणतर्फ समथर भूभागले भारतसँग जोडिएको छ । नेपाल प्रकृतिहरूको सुन्दर उपहारले सुसज्जित देश हो । हिमाललाई उद्गमस्थल बनाएर आएका नदीनालाहरू, झरनाहरू नेपालका अनमोल प्राकृतिक सम्पदाहरू हुन् । यहाँका आकाशलाई स्पर्श गरिरहेका उच्च हिमालहरू धरतीकै अग्ला शिखरहरू हुन् । संसारकै उच्च स्थानमा रहेका प्रसिद्ध तालहरू संसारमै प्रसिद्ध छन् । यहाँका वनजंगलमा अमूल्य वनस्पति र बोटबिरुवाहरू छन् ।

सुरेन उप्रेती

हिमाली भेगमा पाइने जनवारहरू कस्तुरी, हिमचितुवा,र डाँफे, मुनाल, आदि चराचुरूङ्गीहरू प्रसिद्ध छन् । हिमाली भेगका पाइने यार्सागुम्बा जस्ता बहुमूल्य जडिबुटीहरूले संसारभरि नै नेपालको नाम स्वर्ण अक्षरले लेखिएका छन् । नेपालमा प्राचीनकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञानप्राप्त गरेको तपोभूमि र ज्ञानभूमि हो भनेर धेरै मानिसहरू नेपालको नाम लिएर नतमस्तक हुन्छन् । शीर झुकाएर अभिनन्दन गर्छन् ।

नेपाल आकारको दृष्टिकाेणले सानो भए पनि जातजातिका मानिसहरूको भिन्नभिन्न भाषा र संस्कृतिका विविधताहरू छन् । जसले गर्दा नेपाललाई विविध संस्कृति भएको संस्कृति र सम्पदाको धनी देश मान्न सकिन्छ । युनेस्कोले काठमाडौँ उपत्यका र लुम्बिनीलाई सांस्कृतिक र चितवन राष्ट्र निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्जलाई प्राकृतिक विश्वसम्पदामा राखेको छ ।

पशुपतिनाथ, बौद्धनाथ, स्वयंभूनाथ, काठमाडौँ दरबार स्क्वाएर, पाटन दरबार स्क्वाएर, भक्तपुर दरबार स्क्वाएर, चाङ्गुनारायण,  चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज गरी दसवटा विश्वसम्पदामा सूचित सम्पदाहरू छन् । यहाँको राष्ट्रभाषा नेपाली भए पनि सयौँ जातजातिका आआफ्नै भाषा, कला र संस्कृतिहरू रहेका छन् । अलग भाषा र साँस्कृतिक विवधता भए पनि नेपालीहरूको मेलमिलाप लोभ लाग्दो छ ।

आज विज्ञान र प्रविधिले संसारलाई नै एउटा गाउँजस्तो बनाइदिएको छ । एउटा गोलार्धको मानिसले अर्को गोलार्धका मानिससँग भलाकुसारी गर्ने र विचार आदानप्रदान गर्ने सजिलै सक्दछ ।अझ नयाँ प्रविधिले गर्दा प्रत्यक्ष हेराहेर गरेर कुरा गर्न सकिन्छ । यसलाई सताब्दीकै उपलब्धि मान्नु पर्दछ । मानिस मानिसले आफ्नो परिचय र पहिचानलाई स्थापित गराउन भनौँ लोप हुन नदिन अनेक प्रयासहरू थालनी भएका छन् ।

मानिसको पहिचान भनेको उसले बोल्ने लेख्ने या अभिव्यक्त गर्ने भाषामा निर्भर गर्दछ । मानिसको भावना सोच र विचारलाई विनिमय गर्ने साधन नै भाषा हो । भाषाभित्र विभिन्न कला संस्कृति र साहित्यहरु लुकेको हुन्छन् । भाषा सम्पतिको भण्डार Hidden Treasures हो । भाषा लोप भयो भने ती भाषाभित्र रहेका अमूल्य तत्त्वहरु पुनः कहिलै पनि पहिलाकै अवस्थामा पुनर्स्थापन हुन सक्दैनन् । त्यो गाढधन लोप भएर जानेछ । मानिसलाई परिचित गराउने उसको भाषा, भेषभुषा र संस्कृति हो । नेपालीहरूलाई अरू देशका मानिसहरूभन्दा पृथक् रूपमा पहिचान गराउने नेपाली पोशाकले पनि हो ।

नेपालका विभिन्न जातजातिका आआफ्नै प्रकारक पहिरनहरू छन् । नेपाल भौगोलिक बनावटका आधारमा हिमाल पहाड र तराई भए पनि भाषा र जातजातिका आधारमा सयौँ भाषाभाषीहरू रहेका छन् । नेपाली राष्ट्रिय पोशाकमा दौरासुरूवाल, कोट र टोपी पुरूषहरूले लगाउने गर्दछन् । त्यस्तै महिलाहरूका गुन्यूचोलो पटुका, पछयौरा आदि रहेका छन् । गुन्योचोलोहरू सारीचोलोमा रूपान्तरण भएका छन् । गरगहनाहरू पनि छुट्टै प्रकारका छन् ।

नेपाली राष्ट्रिय पोशाकको उच्च र अभिन्न रूपमा टोपी रहेको छ । टोपी नेपालीको पहिचान बनेको छ । नेपालमा भएको २०४६ साल परिवर्तनपश्चात् सन् १९९० को दशकमा नेपालीहरू नेपालबाहिर जाने क्रमले तीव्रता पायो । नेपालीहरू संसारका विभिन्न भागमा पुगे । पढाइ, रोजगारी र व्यापारमा सरिक भए । जब आफ्नो थातथलो छोडेर समुन्द्रमा मान्छे हेलिन्छ । अनि उसलाई आफ्नो पहिचानको महत्त्व थाहा हुन्छ । यसरी नै पहिचानको महत्त्व बुझेर खुलेको हो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ।

त्यस्तै गरी गैरआवासीय नेपाली संघ(एनआरएन) स्थापना भएर विश्वभरि नै फैलिएको छ । यसै क्रममा सन् २०११ मा क्यानडाको टोरन्टो सहरमा बस्ने साहित्य समाज नेपालका डाक्टर गोविन्द सिँह रावत, डाक्टर तुलसी धरेल रविन थपलियाहरूको पहलमा जनवरी एकलाई नेपाली टोपी दिवशका रूपमा मनाउन सुरू भयो । यसले फेसबुक मार्फत व्यापकता पाउँदै विश्वव्यापी बन्यो । त्यसपछि अनेसास क्यानडा अटवाले पनि जनवरी एकलाई टोपी दिवसका रूपमा मनाउन सुरू गर्यो । यो क्रममा क्यानडा ,अष्ट्रेलिया, बेलायत, अमेरिका र ,रसिया, जापान आदि संसारभरिका नेपालीहरूले मनाउन सुरू गरे । नेपाली टोपी दिवसले अन्तराष्ट्रिय रूप लिएको छ ।

टोपीको इतिहास :

टोपीको उत्पत्ति र प्रयोगको इतिहास बारेमा धेरै जानकारी पाइँदैन । टोपीको जन्म कहिले कहाँ र कसरी भयो भन्ने यकिन पनि छैन । टोपीको नामाकरण, टोपी भनेर कसले गर्यो ? कसरी टोपीले नाम पायो ? भन्ने बारेमा ठ्याक्कै यही हो भन्ने प्रमाणहरु प्राप्त हुन सकेका छैनन् । संस्कृत भाषामा टोप भन्नाले स्तूप अथवा शिरमा लगाउने वरिपरि जालीदार घेरा भएको टोपीलाई बुझाउँछ ।(वशन्त शर्मा नेपाल ,नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ५६४ ) । टोपी प्राकृत नाम शब्द शिर छोप्न वा शोभा बढाउन वा बचाउ गर्न घेरा मिलाई सिलाइएको पहिरनलाई टोपी भनिन्छ (नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ५६४ ) । यसरी यो टोपी शब्द टोपबाट नै आएको भन्न सकिन्छ । टोपलाई सम्मान र प्यारो बस्तुको रुपमा भन्दा टोपी भएको पनि हुन सक्छ ।

नेपाली भाषामा शरीरका अंगहरुसँग जोडिएर प्रयोग हुने थुप्रै बस्तुहरुलाई पनि त्यही अंगसँग जोडेर नामकरण गरिएका उदाहरणहरु पाइन्छन् । जस्तो औंलामा लगाउनेलाई औंठी, कानमा लगाउनेलाई कुन्डल, घाँटी अथवा कण्ठमा लगाउनेलाई कण्ठी, नाकमा लगाउनेलाई,नत्थु ,नथिया आदि । यसलाई आधार मानेर अड्कल गर्ने हो भने टाउकामा लगाउने भएकोले हुनाले टोपी भनिएको हुन सक्छ । त्यस्तै हामीले प्रयोग गर्दै आएका मिल्दा शब्दहरु शिरमा लगाउने, शिरफुल, शिरबन्दी शिरपोस गलबन्दी आदिले पनि टाउकामा लगाउने टोपी नामको पुष्टि गर्दछन् ।

टोपी विभिन्न आकार र प्रकारमा पाइन्छन् । टोपीहरुलाई फरक फरक बनोट र बन्ने बस्तुको आधारमा फरक प्रकारका नामकरण गरिएको पाइन्छ । १. कानेटोपी ,२. माक्कले टोपी, ३. बिर्के टोपी, ४. भादगाउँले टोपी, ५ .पाल्पाली ढाका टोपी , ६.तेह्रथुमे ढाकाटोपी, ७. छत्रे टोपी आदि ।

१. कानेटोपीः

कानेटोपी प्रायः साना बालबालिकाहरुलाई लगाइदिने टोपी हो । कानलाई छोप्ने या ढाक्ने गरी बनाइएको हुनाले यसलाई कानेटोपी भनिएको हो । बालबालिकाहरुलाई चिसोबाट बचाउनका लागि मात्र नभएर जाडोबाट बच्न सबै उमेर समूहका मानिसहरूले लगाउँदछन् । यो टोपी बाक्लो र न्यानो कपडाबाट तयार गरिन्छ । बच्चाहरूलाई तातो फ्लाटिन कपडाबाट भित्री पनि लगाएर बुनिन्छ । तातो बनाउनका लागि भेडाच्याङ्रग्राको ऊनबाट बुनेको टोपीमा भित्रीहालेर दुई पत्रमा बनाइने हुनाले यो न्यानो हुन्छ । सहरबजारतिर शिशुहरुलाई ढाकाको कानेटोपी लगाइदिएको पनि देखिन्छ भने गाउँमा अरु नै न्याना कपडाहरुबाट बनेका कानेटोपीहरु लगाएको पाइन्छ । केही वर्षदेखि ऊन (Wool) बाट बनेको काने टोपीको प्रयोग प्रौढहरुले पनि जाडो याममा गरेको पाइन्छ । टाउकोदेखि घाँटी र कानसम्म ढाक्ने र चिउँडोको तल दुईतर्फबाट झरेका तुना बाँधिन्छ । जसले गर्दा टोपी झर्न पाउँदैन भने हावा पनि टोपी भित्र छिर्न सक्दैन ।

२. माक्कले टोपीः

यस टोपीलाई ढेडु टोपी पनि भनिन्छ । कति मानिसहरुले मङकीक्याप समेत भनेको सुनिन्छ । यसले टाउकाको पुरैभाग निधार ,कानदेखि घाँटीसम्मको भाग ढाक्दछ । सबैतिर ढाकेर अगाडि मुख मात्रै देखिने भएको हुनाले यसलाइ माक्कले टोपी या ढेडुटोपी भनिएको हो । ढेडुको टाउकोको सबै भाग शरीरजस्तै कमेरे रंगको भए पनि मुख चाहिँ कालो हुन्छ । यो टोपी लगाएपछि ढेडुको टाउको जस्तै देखिने हुनाले ढेडुटोपी भनिएको हो । यसलाई ऊनबाट बनाइने भएको हुनाले धेरै तातो हुन्छ । जाडो महिनामा प्रायः प्रौढ पुरुष र महिलाहरुले समेत लगाउने गरेको पाइन्छ । यसलाई खराब नियत भएका मानिसहरुले समेत पहिचान लुकाएर अपराध गर्न प्रयोग गरेको भेटिन्छ ।

 

३. बिर्केटोपी:

यो बिर्केटोपी वरिपरि एउटा घेरा भएको र घेरा माथि अर्को गोलाकार टुक्राले ढाकिएको हुन्छ । यसको बिचभागमा एउटा डल्लो समेत हुन्छ । कुनै भाँडाहरुको बिर्कोको आकारमा भएको हुनाले यसलाई बिर्केटोपी भनिएको हुन सक्दछ । यसलाई आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतिराम भट्टले लगाएको देखिन्छ । भारतको हिमाञ्चल र गडवालतर्फ पनि यस्तै आकारको टोपी लगाएको पाइन्छ । यो बाक्लो ऊनी कपडाबाट तयार भएको पाइन्छ । तर हिमाञ्चल र गडवालमा प्रयोग हुने टोपीको बाहिरी मध्यभागमा डल्लो भने हुँदैन र यो हाम्रो बिर्के टोपीभन्दा अग्लो पनि हुन्छ । भक्ती थापा अमरसिंह थापाहरूले पनि टोपी लगाउँथे र उनीहरूले लगाएको टोपीमा टोपीको घेरा गाग्रो राख्ने विँडा जस्तो हुन्थ्यो ।आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतिराम भट्टे पनि बिर्केटोपी लगाएको पाइन्छ । बिर्केटोपीलाई साहित्यकर्मीहरुले भानुजयन्ती र मोतिजयन्ती जस्ता समारोहहरुमा आजकाल पनि लगाउने गरेका छन् ।

४. भादगाउँले टोपी:

भादगाउँ भक्तपुरको पुरानो नाउँ हो । यही भादगाउँमा बुनिने र तयार गरिने भएको हुनाले यो गाउँको नामबाट टोपीको नाम पनि भादगाउँले रहेको हो । दुई इन्चदेखि चार इन्चसम्म टोपीको उचाइ हुन्छ । कालो गोलाकारमाथि तीनकुने ढकनी लगाई टोपी तयार गरिन्छ । यसलाई तयार गर्दा दह्रो बनोस् भनेर सिलाई सकेपछि माडमा पकार तयार गरिन्छ । गाढाकालो बनाउनका लागि विशेष रंगको पनि प्रयोग गर्ने चलन छ । खास गरेर नेपाली सेना प्रहरी र सरकारी कर्मचारीहरुले राष्ट्रपोशाकमा भादगाउँले टोपी लगाउने प्रचलन छ । राष्ट्रवादी राजा महेन्द्रले कार्यालयमा अनिवार्य राष्ट्रपोशाकको प्रचलन सुरु गरेपछि यसको प्रयोगले व्यापकता पाएको देखिन्छ । खास गरी नेपाल प्रहरी र नेपाली सेनामा अनिवार्य जस्तै भएको देखिन्छ ।

५. पाल्पाली ढाका टोपीः

पाल्पामा बुनिएको ढाकाबाट तयार गरिएको टोपी भएको हुनाले पाल्पाली ढाका टोपी नामकरण भएको हो । टाउकाको गोलाइअनुसार तीन चार इन्च उचाइमा तीनकुने आकारको अर्को टुक्रा राखी यो टोपी तयार गरिन्छ । यो टोपीलाई सम्म भाग भएको टेवलमाथि राखेर हेर्यो, भने टोपीले हिमालका चुचुराहरु र पहाडका टाकुराहरुको आकार ग्रहण गर्दछ । भित्री सादा कपडा र बाहिर विभिन्न बुट्टा भएको पाल्पामा बुन्न सुरुवात भएको कपडाबाट तयार भएको हुनाले पाल्पाली ढाकाटोपी भनिएको हो ।

६. तेह्रथुमे ढाका टोपीः

भारतमा अंग्रेजहरुले शासन गरेको समयमा नेपालप्रति पनि अंग्रेजको गिद्धे दृष्ट्रि पर्यो । फलस्वरुप नालापानी, किल्ला र काङगडाका युद्धहरु भए । बहादुर गोरखालीहरुको नाङ्गो खुँडा, खुकुरी ,तरवार र भाला, धनुकाँड ,घुँयत्रो बोक्नेहरुसँग , अंग्रेजका बन्दुक र तोपले हार खानु पर्यो । यसरी नेपालीहरुको वीरता र साहससँग अंग्रेज परिचित भयो । त्यस बेलादेखि नै नेपालीहरुलाई भारतीय सेनामा भर्ना गर्ने र नेपालीहरुको साहस र बहादुरीलाई उपयोग गर्ने अंग्रेजले नीति लियो । पूर्वी नेपालका विभिन्न ठाउँहरुबाट अंग्रेजका सेनामा नेपाली युवाहरु भर्ना भए । कालान्तरमा भारतमा अंग्रेज विरोधी युद्ध बढ्दै गयो । महात्मा गान्धिले चर्खा आन्दोलन चलाए । घर घरमा चर्खा चलाएर धागो बाट्ने अनि खादी कपडा बुन्ने अभियान चलाए ।

यसैको प्रभाबबाट तीनै लाहुरेहरु मार्फत नेपालमा पनि चर्खा ऐंटो र कपास खेतीले प्रवेश पायो । ती लाहुरेहरुबाट भित्र्याइएको कपास खेती निकै लोकप्रिय हुँदै तेह्रथुम ताप्लेजुङ पाँचथर इलाम संखुवासभा भोजभुरजस्ता पहाडी जिल्लामा फैलियो । तेह्रथुम जिल्लामा बहुसंख्यक रुपमा लिम्बु जातिको बसोवास रहेको छ । ती जातिबाट कपास खेती गर्ने । कपासलाई टिप्ने ऐंटिने । चर्खाको प्रयोगबाट प्यूरी र धागो बनाउने र खाँडी कपडा बुन्ने कामको सुरुवात भयो ।

राजा महेन्द्रको शासनकालमा दौरासुरुवाल र टोपीलाई कर्मचारीहरुमा तथा सांसदहरुला अनिवार्य राष्ट्रपोशाकको रुपमा लागू गरियो । यस समयसम्म कमरुपमा मात्रै उत्पादन हुने गरेको तेह्रथुमे ढाका टोपीले व्यापकता पायो । आसपासका भेगमा पनि यसको प्रभाव पर्यो । खाँडी कपडाका दौरासुरुवाल र ढाका टोपीको अत्यधिक माग हुन थाल्यो । सरकारी प्रयोजनमा प्रयोग हुने फोटोमा अनिवार्य टोपीको व्यवस्था भयो । चाड पर्व जस्तो दसैं तिहारमा टोपीको उपहार दिने चलन सुरु भयो । तेह्रथुमे ढाका टोपी चारदेखि छ इन्च उचाइसम्मको पाइन्छ । विभिन्न रंग र आकारका बुट्टा राखेर हातले टोपी बुनिन्छ । यसको आकार पनि पाल्पाली ढाका टोपीको जस्तै हिमालका चुचुरा र पहाडका टाकुराहरुलाई बिम्बित गर्दछ ।

७. छत्रे टोपीः

यो टोपी छाताका रुपमा टाउकाको वरिपरि रहेर पानी र घामबाट जोगाउन प्रयोग गरिन्छ । खेतबारीमा काम गर्दा हातले समाती रहनु नपरोस् भनेर दुईतर्फ डोरी निकाली चिंउडोमुनी बाँध्ने गरिन्छ । यो छत्रेटोपी पाट पात र चोयाहरुबाट बनाइने गरिन्छ । हाल यसलाई कपडाबाट बनाउने गरिन्छ । यो छाताजस्तै वरिपरि हुने टोपी हुनाले छत्रे टोपी भनिएको हो ।

हुन त गाउँ घरहरुमा सबैले ढाका टोपी र भादगाउँले टोपी लगाउन सक्ने स्थिति अझै भएको छैन । तर अरु नै कपडाबाट टोपीहरु सिलाएर लगाएकै हुन्छन् । ती टोपीहरु राता, पँहेला, काला, धर्के बुट्टे आदि विभिन्न रंगका हुन्छन् । आफन्तको वियोगमा वर्ष दिनसम्म सेतो टोपी लगाएर दुख प्रकट गर्ने प्रचलन अझै कायम छ ।

टोपीको महत्त्वः

नेपालीहरुका लागि टोपीले विशिष्ट स्थान लिएको छ । परम्परालाई हेर्ने हो भने टोपी नलगाएको मानिस भनेको कुनै मातृ या पितृ शोकमा परेको मानिस भनेर बुझ्ने चलन थियो । मातापिताको वियोगमा कपाल खौरिएर तेह्र दिनसम्म काजक्रिया गर्ने र वर्ष दिनसम्म शोक बार्ने चलन यद्यपि छ । काजक्रिया गरेको समयमा सेतो कपडाले मात्र टाउको ढाक्ने चलन छ । यसरी आफ्ना श्रद्धेय र प्रियहरुको सम्मान र दुख व्यक्त गर्ने प्रतीक टोपी हो । राजा महाराजाहरुको शोकमा पनि कपाल खौरने र टोपी झिक्ने प्रचलन थियो । कोही मानिसका आफन्त रहेनछन् र मृत्यु भयो भने बिचराको टोपी झिक्ने कोही रहेनछन् भन्ने चलन छ । पञ्चायतकालमा सिंहदरबारभित्र प्रवेश गर्न टोपी अनिवार्य थियो । नेपाली नागरिकता पासपोर्ट परिचय पत्रहरुमा टोपी अनिवार्य छ ।

टोपीले नेपालको प्राकृतिक बनोटलाई बिम्बित गर्दछ । टोपीले हिमालका चुचुराहरु त्यस्तै गरी पहाडका टाकुराहरुको आकार दर्शाउँछ । निधारमाथि बस्ने टोपीले हिमाल र पहाडलाई बुझाउँछ भने निधारले तराईको समथर भूभागलाई दर्शाउँछ । यो भूगोलको उच्च हिमालको प्रतीक हो हाम्रो टोपी । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेझैं चार जात र छत्तिस वर्णको फूलबारी नेपाल हो भने टोपी सबै फूलहरुलाई एउटै मालामा गुँथ्न सफल धागो हो । के जात ,धर्म, सम्प्रदाय टोपी सबैको हो । टोपी नेपालीको गौरव हो, शान हो । एकताको प्रतीक हो टोपी । साँस्कृतिक सम्पदा हो टोपी । संसारको जुन सुकै ठाउँमा रहेका नेपालीहरु बिचको आत्मीयभाव हो टोपी । दशैंको टिकाथाप्न र आशीर्वाद लिन टोपी अपरिहार्य छ । टिका लगाइसकेपछि कानमाथि जमरा सिउरने हो टोपी । मन्दिरलाई गजुरले शोभायमान बनाएझैँ मानिसको व्यक्तित्व टोपीले बढाउँछ ।

नेपालमा गणतन्त्र र लोकतन्त्रको आगमनसँगै नेपालीहरुमा राष्ट्र राष्ट्रियताप्रतिको अगाध स्नेह र सम्मान बढेर गएको छ । अब त के नारी के पुरुष सबैले नेपाली टोपीलाई पहिचानको प्रतीक बनाएका छन् । सगरमाथाको प्रतीकका रुपमा नेपाली टोपी लगाउन सुरु गरिसकेका छन् । २०१५ को अप्रितमा भएको विनाशकारी भूकम्प र २०१५को सेप्टेम्बरमा भएको भारतीय नाकाबन्दीजस्ता संकटले नेपालीहरुलाई फेरि एक हुन प्रेरित गरेको छ । आफ्नो अस्तित्व र पहिचानका लागि अरुले हैन आफैँ लाग्नु पर्दछ । आफैँ जाग्नु पर्छ भन्ने भावना विकाश गराएको छ । चार्ल्स डार्विनले भनेँझै अस्तित्व र पहिचान जोगाई राख्नका लागि संघर्ष गर्नु पर्दछ । जसले सक्दैन त्यो लोप भएर जान्छ । यो कुरा सबै नेपालीहरुले मनन गरिसकेका छन् । मुलुकमा विपत्ति पर्दा संसारभरिका नेपालीहरुलाई पीडा हुन्छ । सहयोगका हात र भावनाहरु लिएर गाउँ गाउँमा पुग्छन् । परदेशमा पनि कुनै विपत्ति पर्यो भने सबै सहयोगी मनहरु त्यहाँ पुग्न थालिसकेका छन् ।

टोपी दिवशको थालनी भएको एक दशक पुगिसक्यो । एक दशक पार गर्दा संसारभरि नै टोपी दिवश मनाउन थालिएको छ । एकै दिन विश्व नै नेपाली टोपीमय बन्न थालेको छ । यसले नेपाली नेपाली बिचमा आत्मीयता मातृभूमिप्रतिको दायित्वबोध मात्रै गराएको छैन। नेपाल र नेपालीको पहिचानसँगै सभ्यता र संस्कृतिलाई विश्वव्यापी बनाउँदै लगेको छ । अब नेपाल सरकारले राष्ट्रपोशाक दिवशको दिन घोषणा गरोस् । र संसारभरि रहेका नेपालीहरुलाई एकतामा जोड्ने काम गरोस् । संसारभर रहनुहुने नेपालीहरुले जनवरी एकलाई भव्यरुपमा नेपाली टोपी दिवशका रुपमा मनाउन हुनेछ । हामीले प्लेकार्डहरुमा नाराहरुलाई लेखेर हाम्रो भावनालाई प्रस्तुत गर्न सक्दछौँ ।

टोपी हाम्रो शान हो । टोपी नेपालीको पहिचान हो । सगरमाथा नेपालीको शान हो । सगरमाथा हाम्रो पहिचान हो । टोपी लगाऔँ राष्ट्रप्रति सम्मान जनाऔँ । हाम्रो शान हाम्रो मान नेपाली टोपी हाम्रो पहिचान । राष्ट्रिय पोशाक लगाऔँ नेपाली राष्ट्रियता जोगाऔँ । प्लेकार्डहरू साथ जनवरी एकका दिन नेपाली टोपी दिवश मनाइन्छ । यस वर्ष ,२०२३ को टोपी दिवशले संसारभरका नेपालीहरुलाई मन, वचन र कर्मले एकता गराओस् । सुख शान्ति र समृद्धिले सबै नेपालीहरुलाई पूर्ण गराओस् भन्ने हार्दिक शुभकामना चढाउँछु ।