‘स्व’ ले रूढीग्रस्त, पुरुष प्रधान समाजले नारीमाथि थोपरेका अन्याय, दोहरो मापदण्ड र कुण्ठाहरूमाथि प्रहार गर्छ । परिवार र समाजले महिलालाई हेर्ने दृष्टिकोणलाई चुनौती दिन्छ । समाजलाई नारीको शरीर, मन र इच्छाको स्वायत्तताप्रतिको आदर गर्न बाध्य पार्छ ।

सरस्वती प्रतीक्षाको ‘स्व’ केवल उपन्यास मात्र होइन, एक दार्शनिक अनुसन्धान हो । यस कृतिमा ‘स्व’ भन्ने अवधारणाको खोजी गरिएको छ । उपन्यासले व्यक्तिको आन्तरिक संसार, उसको अस्तित्वगत पीडा, अस्तित्वको सार्थकता र ‘स्व’ प्राप्तिका लागि गरिएको आत्म सङ्घर्षलाई आकर्षक शैली, मीठो भाषा, स्पष्ट मार्ग चेतसहित सुन्दर ढङ्गले उठाएको छ । पात्रहरूको मनोवैज्ञानिक यथार्थवादी चित्रणले पाठकलाई ‘स्व’सँग साक्षात्कारको यात्रामा लाग्न प्रेरित गर्छ ।

यो उपन्यासलाई नेपाली साहित्यमा नारीवादी लेखनको कोसेढुङ्गा मान्न सकिन्छ । प्रतीक्षाले नारी मनको जटिलता, उसको आकाङ्क्षा, यौनिकता र सामाजिक बन्धनविरुद्धको विद्रोहलाई अभूतपूर्व साहस र इमानदारीका साथ चित्रण गर्नुभएको छ । सप्तम हिँडिसकेपछि काव्याको ‘स्व’ खोजी र आत्मनिर्णयको सङ्घर्षले गर्दा यो कृति झन् विशेष बनेको छ ।

उपन्या स्व

‘स्व’ ले रूढीग्रस्त, पुरुष प्रधान समाजले नारीमाथि थोपरेका अन्याय, दोहरो मापदण्ड र कुण्ठाहरूमाथि प्रहार गर्छ । परिवार र समाजले महिलालाई हेर्ने दृष्टिकोणलाई चुनौती दिन्छ । समाजलाई नारीको शरीर, मन र इच्छाको स्वायत्तताप्रतिको आदर गर्न बाध्य पार्छ ।

आफूलाई चिन्ने, आफ्नो इच्छा र आकाङ्क्षालाई स्वीकार गर्ने र समाजका लागि नभएर ‘स्व’को लागि जिउन उत्प्रेरित गर्छ । निरन्तर अज्ञात व्यक्तिबाट पत्र प्राप्त गर्दा प्रश्नहरूले रन्थनिएको सप्तमको चेतन मन र अचेतन मनको संवाद गजब छ ! संवाद मार्फत मन र मस्तिष्कको द्वन्द्व, अध्यात्म र भौतिकवादको द्वन्द्व प्रस्ट हुन्छ । जब सप्तम आफैँले आफैँलाई चिठी लेखेको थाहा हुन्छ, काव्याले या उसकी आमाले लेखेको हुनसक्ने मेरो अनुमान फेल खान्छ ।

काव्याले सप्तमलाई छरिएर भन्दा पनि एक भएर बाँच्न प्रेरित गरिरहन्छिन् । भौतिक विज्ञानसँगै अध्यात्ममा विश्वास गर्न भन्छिन्, ”तिमी बिजुलीले बल्ब बाल्न सक्छौ, पङ्खा चलाउन सक्छौ, मोबाइल चार्ज गर्न सक्छौ तर के बिजुलीको तारमा बहने बिजुलीलाई देख्न सक्छौ ? अहँ सक्दैनौ । सम्झ, म त्यही बिजुली हुँ ।… म तिमीभित्रको त्यही पञ्चतत्त्व पनि हुँ । तिमीभित्रै छु तर तिमी देख्न सक्दैनौ । ”

जब सप्तम बोधिनगरमा हुन्छ सात दिने ‘देशना’ एक एक आफैँमा पूर्ण उपन्यास जस्ता लाग्छन् । सप्तमसँगै बोधि नगर छिर्दा ‘देशना’ दिन आएका पात्रहरूले सप्तमलाई मात्रै होइन पाठकलाई पनि ‘स्व’को खोजमा प्रेरित गरेर जान्छन् । यति कथानक छ कि, पढ्दापढ्दै पाठक कतै खलखली हुन्छ, कतै जिरिङ्ग हुन्छ, कतै त्यसपछिको कथा जान्न व्याकुल हुन्छ । मलाई भने यस्तै भयो ।

खसीलालको भयानक सपनाले एकफेर पढ्दापढ्दै आफैँलाई चिट्चिट् बनायो । मुखबाट ‘छी !’ शब्द फुत्त निस्कियो । कस्तो भयानक ! कस्तो बीभत्स । हैट !

अँधेरीको ‘नयाँ पञ्चशील’मा लैङ्गिक विभेदको वृत्तान्तले भावुक बनाउँछ । त्यसकै पछिल्लो किस्साले भने कता कता एक्स्ट्रामेरिटल अफियरलाई ग्लोरिफाइ गरेको भान हुन्छ र मन खल्लो हुन्छ ।

सुशीलाको कथाले चुम्बकले फलाम ताने झैँ तान्यो । यसमा आइमाईको विषयमा बनाइएका अनेकौँ मिथक र उखान टुक्काले पारेको प्रत्यक्ष अप्रत्यक्ष असर छ । संस्कारको गलगाँडको कथाले यसरी लेखिएको छ कि पाठक दोहर्‍याएर पढ्न बाध्य हुन्छ ।

सात दिनको ‘देशना’पछि सप्तमले सबैभन्दा ठूलो गुरु आफ्नै अनुभवहरू हुन् भन्ने बुझ्छ । ‘स्व’को खोजी गर्नु उसका लागि अनिवार्य भइदिन्छ । ”मन आफैँ खाडल, मन आफैँ त्यो खाडलबाट निकाल्ने डोरी पनि । मन आफैँ बाटो बिराएको यात्री, मन आफैँ सही बाटो देखाइदिने मार्ग निर्देशक पनि । मन आफैँ अन्धकार, मन आफैँ अन्धकार चिर्ने उज्यालो पनि । अप्प दीपो भव:ले जुन उज्यालोको कुरा गर्छ, त्यो मान्छेभित्रको आफ्नै अन्त:करणको उज्यालो हो भन्ने उसले बुझिसकेको छ ।”

अस्पतालबाट घर फर्केको सप्तम तत्कालै ‘स्व’को खोजीमा हिँड्छ । काव्या निःशब्द हुन्छे । ”के स्वास्नी मान्छेको ‘स्व’ हुँदैन ? के स्वास्नी मान्छेको ‘स्व’को मूल्य हुँदैन ? यस्तो लाग्छ, अहिलेसम्म पृथ्वीको इतिहास लोग्ने मान्छेको इतिहास हो । अब हर स्वास्नी मान्छेले आफ्नो ‘स्व’ आफैँ खोज्नुपर्छ ।” सप्तम हिँडेपछि निःशब्द भएकी काव्याका मनमा अनेकौँ प्रश्न दौडन्छन् । त्यसपछि ”काव्यले गाडी स्टार्ट गरिन् । एक्सलेरेटर दबाएर स्टेरिङ घुमाइन् । गाडीले गति लियो । उनलाई लाग्दै थियो- गाडीले मात्र होइन, जीवनले नै नयाँ गति लियो ।”

आखिर आफ्नो आड आफैं, आफ्नो भर आफैँ, आफ्नो सहारा आफैँ, आफ्नो आधार आफैँ । आखिर सबैभन्दा स्थायी साथ त आफूले आफैँलाई दिने साथ मात्र त रहेछ नि !

प्रतीक्षाको भाषा संवेदनशील, काव्यात्मक र गहन छन् । शब्दहरूको कलात्मक जादुमयी प्रयोगले जीवनका जटिल सत्यहरूलाई पनि सहजै उद्घाटन गर्न सफल हुनुभएको छ । अत्यन्त सुन्दर कलात्मक लेखाइ, पृथक् शैली कथा उस्तै कथानक भएपछि शुद्धतामा ध्यान पुर्‍याउन सकेको भए भन्ने चाहिँ लाग्यो । हुन त म भाषाको ज्ञाता होइन तर पृष्ठ ५१- ‘कुरा कुरा’ (कुरा), पृष्ठ ७० ‘छक्क गर्दै’ (छक्क पर्दै), पृष्ठ ९८ ‘सहयो पर्‍यो’ (सहयोग गर्‍यो), पृष्ठ १०८ ‘ल्यापटमा’ (ल्यापटपमा), पृष्ठ ११५ ‘कोल्छे’ (कोल्टे), ‘कलेजमा महिनाभिर’ (महिनाभरि), पृष्ठ १३२ ‘हुनुहन्छ’ (हुनुहुन्छ), पृष्ठ १४८ उही पुरानौ (उही पुरानै), पृष्ठ १५२/१५४ ‘गन्धुकटी’ (गन्धकुटी), पृष्ठ १५४ सोही पृष्ठ ‘हुनुहन्छ’ (हुनुहुन्छ), पृष्ठ १६० ‘हनुहन्छ’ (हुनुहुन्छ), पृष्ठ २४३ ‘उड्नुहन्छ’ (उड्नुहुन्छ), सोही पृष्ठ ‘भावमा साथ’ (भावका साथ), ‘बस्नुहन्थ्यो रे’ (बस्नुहुन्थ्यो) आदि सामान्य कम्प्युटर त्रुटिजस्ता देखिन्छन् । हुन त ‘स्व’ उपन्यास यति शक्तिशाली छ, यसले पाठकलाई यसरी खिच्छ कि यस्ता सामान्य त्रुटि प्रकाशमा आउँदैनन् ।

अप्प दीपो भव: